घुसबापतको रकम विदेशी बैंकमै भुक्तानी हुने र जम्मा हुने गरेको समाचार प्रकाशित भइरहेको बेला नेपाल टेलिकमका पूर्वप्रबन्ध सञ्चालक डिल्लीराम अधिकारीले डलरमा घुसबापतको रकम लिएको फेला परेको छ। अधिकारीकी पत्नी इन्दु ढकालको नाममा जापानको ओसन टेक्नोलोजी लिमिटेडले घुसबापत हरेक महिना २ हजार ९२४ डलर पठाएको भौचर फेला परेको हो।
टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलले भ्रष्टाचार गरेको रकम सिंगापुरमा राखेको र उनको मुद्दा अदालतमा पुगिसकेको अवस्थामा टेलिकमकै पूर्वप्रबन्ध सञ्चालक अधिकारीलाई पत्नीका नामबाट आएको रकमबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान थालेको छ।
संस्थालाई नोक्सान पुर्याई व्यक्तिगत लाभ लिएको आशंकामा अख्तियारले अधिकारीमाथि छानबिन सुरु गरेको हो। स्रोतका अनुसार जापानको ओसन टेक्नोलोजी लिमिटेडसँग अन्तर्राष्ट्रिय आगमन कल (इन्टरनेसन इन्कमिङ कल) को आम्दानी बाँडफाँटमा नेपाल टेलिकमलाई कम शुल्क दिनेगरी सम्झौता गरेर अधिकारीले व्यक्तिगत लाभ लिने क्रममा पत्नीको नाममा सो रकम जम्मा हुने व्यवस्था मिलाएका थिए। अधिकारीकी पत्नीका नाममा रहेको हिमालयन बैंक ठमेलको खाता नम्बर ००१००९९४२८००१७ मा ओसन टेक्नोलोजी लिमिटेड जापानले मासिक २ हजार ९२४ अमेरिकी डलर जम्मा गरिदिएको भौचर अख्तियारले फेला पारेको हो।
अधिकारीले टेलिकमको इन्टरनेसनल बिजनेसको प्रमुखको जिम्मेवारी सम्हाल्दा सो सम्झौता गरिएको र त्यसबापत मासिक रूपमा ओसन टेक्नोलोजीले उनकी पत्नी इन्दुको खातामा राखिदिने गरेको थियो। दुई देशबीच इन्टरनेसनल इन्कमिङ कलको आम्दानी बाँडफाँड गर्दा टेलिकमलाई करोडौं रूपैयाँ घाटा पारी व्यक्तिगत लाभ लिने अधिकारीमाथि उजुरी परेको थियो।
अधिकारी २०१२ देखि २०१५ सम्म नेपाल टेलिकमको अन्तर्राष्ट्रिय व्यापार हेर्ने शाखाका प्रमुख थिए। अन्तर्राष्ट्रिय कल आदानप्रदान हुने देशहरूबीच नेगोसिएसन (वार्ता) का आधारमा आम्दानी बाँडफाँट हुने गर्छ। अधिकारीले आफू जिम्मेवारीमा हुँदा अन्तर्राष्ट्रिय कलको आम्दानी बाँडफाँटमा नेपाललाई घाटा पारेको स्रोतको दाबी छ। जापानको सो कम्पनीले नेपाल टेलिकमलाई अझै करोडौं रूपैयाँ तिर्न बाँकी रहेको पनि स्रोतले जनाएको छ।
‘अधिकारी टेलिकमको इन्टरनेसनल बिजनेसको प्रमुखको जिम्मेवारीमा रहँदा जापानको कम्पनीले तिर्नुपर्ने पैसासमेत बाँकी छ, यसबाट टेलिकमका लागि करोडौं घाटा भएको छ,’ टेलिकमकै एक उच्च अधिकारीले भने।
ओसन टेक्नोलोजी कम्पनीबाट पत्नीको नाममा पैसा आएको विषयमा प्रश्न गर्दा सो सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको बताए। ‘यस्तो विषय मलाई थाहा भएन। लामो समय भयो, म त्यहाँको प्रमुख पनि होइन,’ हाल जावलाखेल शाखामा कार्यरत अधिकारीले भने, ‘जापानको ओसन टेक्नोलोजीसँग सम्झौता त सन् २०१२ भन्दा अघि नै भएजस्तो लाग्छ। खातामा पैसा आएको बारेमा मलाई जानकारी छैन।’
पत्नीको खातामा कम्पनीको नामबाट अमेरिकी डलरमा पैसा जम्मा भएको देखिएपछि अख्तियारले अधिकारीमाथि अनुसन्धान सुरु गरेको हो। टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलको सिंगापुरको बैंक खाताको विवरण पाएपछि अख्तियारले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान मात्रै गरेको छैन, विशेष अदालतमा मुद्दा दायर गरी आदेशसमेत आइसकेको छ।
पौडेललाई नेसनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा विशेष अदालतले दोषी ठहर गरिसकेको छ। पौडेलको जस्तै विदेशी बैंकको बंैक खातामा पूर्वप्रबन्ध निर्देशक अधिकारीले समेत भ्रष्टाचारको रकम जम्मा गरेको स्टेटमेन्टसहित अख्तियारमा उजुरी परेको थियो।
त्यसलगत्तै अख्तियारले अधिकारीकी पत्नी ढकालका नाममा रहेका विभिन्न बैंकका खाता विवरण माग गर्दा हिमालय बैंकमा रकम जम्मा भएको देखिएको हो। अख्तियारले हङकङ, सिंगापुर र दुबईमा खाता खोलेको हुन सक्नेतर्फ पनि अनुसन्धान अघि बढाएको छ। अधिकारी एमडी रहँदा जुन देशको भ्रमणमा पनि हङकङ एयरपोर्ट प्रयोग गर्ने र दुई दिन त्यहीँ बस्ने गरेको सूचना पनि अख्तियारले पाएको बताइएको छ।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...