८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

कोशी ब्यारेज क्षेत्रका सीमा स्तम्भको अनुगमन

सीमा स्तम्भ अनुगमन गर्दै सरकारी नियमनकारी निकाय। तस्बिर : नागरिक

सुनसरीको कोशी गाउँपालिका क्षेत्रका सीमा स्तम्भको शुक्रबार अनुगमन गरिएको छ। कोशी गाउँपालिका ८ कोशी ब्यारेज क्षेत्रका सीमा स्तम्भको अवस्थाबारे जानकारी लिन सरकारी नियमनकारी निकायले अनुगमन गरेको हो।

केही वर्षअघि सप्तकोशी नदीले कोशी ब्यारेजभन्दा दक्षिण–पूर्वतर्फ धार परिवर्तन गरेसँगै त्यहाँ नेपाल(भारतको सीमा स्तम्भ गायब हुन पुगेको थियो।

त्यहाँ अहिले नेपालले भारतसँग सीमा मानेको भन्दा केही माथि अर्थात् नेपालतर्फ नै सीमा स्तम्भ नं २०७-९ रहेको नागरिक दैनिकमा समाचार प्रकाशन भएपछि सरकारी नियमनकारी निकायले अनुगमन गरेको हो।

सशस्त्र प्रहरी बल नेपाली बिओपी भण्टाबारीका गुल्मपति डिएसपी सन्तोष अधिकारीको नेतृत्वमा रहेको टोलीले अनुगमन गरेको हो। सो क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी), नेपाल प्रहरी, जनप्रतिनिधि, अधिकारकर्मीलगायतको सहभागिता रहेको थियो।

सीमा स्तम्भ नदीले बगाएर ‘गायब’ भएपछि नेपालतर्फको भूमि मिचिएको स्थानीयको दाबी छ। स्थानीयका अनुसार कोसी नदीले धार परिवर्तन गरेर बगाएपछि सन् २०१४ पछि सो सीमा स्तम्भ स्थापना गरिएको हो।

२०४५ सालमा मन्त्रिपरिषद्को निर्णयबाट सीमासम्बन्धी ‘फिक्स्ड बाउन्ड्री प्रिन्सिपल’ लागु भएको थियो। सीमासम्बन्धी यो सिद्धान्तले सुगौली सन्धि हुँदाका बखतको नक्सालाई आधार मानेर सीमा क्षेत्रमा जहाँ नदी बगेको थियो, त्यसैलाई दुई देशबीचको सीमा मानेर सन् २०१४ पछि समस्या समाधान गरिएको नापी विभागले जनाएको छ।

सुनसरीमा २३ वटा सीमा स्तम्भ रेकर्डमा भए पनि फिल्डमा नभएको सशस्त्र प्रहरीको सीमा सुरक्षा बल सुनसरीले जनाएको छ। फिल्डमा नभएका सीमा स्तम्भमध्ये १९ वटा सहायक र चारवटा मुख्य स्तम्भ फिल्डमा भेटिएका छैनन्। सुनसरीभर मुख्य, सहायक, सानो र रिफ्रेन्स गरी कुल २९० वटा सीमा स्तम्भ रहेका छन्।

सशस्त्र प्रहरीको रेकर्डअनुसार २०७४-०७५ मा सुनसरीमा ११ वटा नयाँ सीमा स्तम्भ निर्माण गरिएको थियो भने चारवटा पुनर्निर्माण गरिएको थियो। यस्तै, २०७५-०७६ मा तीनवटा नयाँ सीमा स्तम्भ निर्माण गरिएको थियो।

प्रकाशित: २८ वैशाख २०८१ १८:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App