काम उही, बराबर ज्याला खोई !
१९ वैशाख २०८१
•
७ मिनेट पाठ
काम उही, बराबर ज्याला खोई !
पुरुषसँगसँगै काम गर्दै शर्मिला तामाङ/ रञ्जना तामाङ/ सुनिता लामा, तस्बिर: सविता/ नागरिक
बलियाबांगा पुरुषले मात्र गर्ने भनिएका काम महिलाले पनि त्यसरी नै गरिहेका हुन्छन्। जस्तै: घर ढलान गर्ने, बालुवा–सिमेन्ट बोक्ने, मसला घोल्ने, घर रंगाउने, बेल्चा चलाउने आदिआदि। तर नेपालमा महिला श्रमको मूल्यमा चर्को विभेद छ। महिला र पुरुषले एउटै समय, एउटै स्थान र एउटै काम गरे पनि ज्यालामा असमानता छ।




प्रत्येक वर्ष अन्तर्राष्ट्रिय श्रमिक दिवसका बेला नेपाल सरकार विभिन्न कार्यक्रमसहित श्रमिकका हितमा कुरा गर्छ। तर काठमाडौं उपत्यकाभित्रै इँटाको भारी बोक्दै गरेकी मकवानपुरकी ४८ वर्षीया सुनिता लामालाई यो दिवसबारे अत्तोपत्तो हुन्न। ‘काम नगरी पेट भरिन्न,’ उनी भन्छिन्, ‘त्यसैले हाम्रो काम नै श्रमिक दिवस हो।’

उनी र सहकर्मी रञ्जना तामाङ पनि घामपानी नभनी काममा भिड्छन्। डोकाभरि इँटा राखेर सुइँसुइँ ओसार्नु उनीहरूको बाध्यता हो। एकछिन यताउता ढिम्किन पाउँदैनन्। उनीहरूलाई थकाइ त लागेको हुन्छ तर अभिव्यक्त गर्न भ्याएका छैनन् भनेर बुझ्न कठिनाइ हुन्न।

डोकाभरि इँटा हालेर तीन तलामाथि स्वाँस्वाँ गर्दै भर्‍याङ उक्लिरहेकी सुनिता पसिनैपसिनाले भिजेकी थिइन्। तीन सन्तानकी आमा सुनिताले निधारबाट बगेको पसिनाले आँखा पोल्ने गरेको सुनाइन्।

३५ डिग्री सेल्सियस गर्मीमा भारी बोक्नुपर्ने बाध्यताको पछाडिको कारण रहेछ, घरव्यवहार चलाउन पैसाको जोहो गर्नु। घर बनाउन मसला बनाउने, इँटा–बालुवा–सिमेन्ट बोक्ने र घर प्लास्टर गर्ने काममा बिहान ९ देखि बेलुका ६ बजेसम्म नौ घन्टा खटिँदा पनि सुनितालाई दैनिक ६०० देखि ७०० रूपैयाँसम्म मात्र हात पर्छ । सुनिताको घरखर्चको एउटा हिस्सा उनकै कमाइबाट धानिएको छ।

पसिना पुछ्दै सुनिता भन्छिन्, ‘यो पापी पेट पाल्नैपर्‍यो, छोराछोरी ससाना हुँदा मर्लान् कि भन्ने डर हुन्छ, हातगोडा चल्ने भएपछि छाडेर जान्छन् कि भन्ने चिन्ता। नभन्दै ठुल्ठुला भएपछि छोराछोरीले छाडेर गए, अहिले सँगै छैनन्।’

सुनिताका दुई छोरा छन्। बुहारी ल्याएपछि ती छोराले आमाबुवासँग भान्छा अलग गरेका छन्। छोरी बिहे गरेर गएको तीन वर्ष भयो तर सम्पर्कविहीन छिन्।

यस्तैयस्तै पीडाका बीचमा समान ज्याला नपाउने विषयले उनलाई थप पीडा दिइरहेको हुन्छ तर उनी त्यसलाई बाहिर देखाउँदिनन्। सुनिता र उनका पति एकै ठाउँमा नभए पनि एकै प्रकृतिका काम गर्छन् तर ज्याला फरक–फरक छ। ‘भन्ने नै हो भने केटा मान्छेले भन्दा बढी काम केटी मान्छेले गर्छन्। सिमेन्टको भारी हामी नै बोक्छौं, मसला हामी नै घोल्छौं। उनीहरू (पुरुषहरू) ले त इँटा र सिमेन्टको चुली मात्रै लाउने हुन्। ज्यामी काम गर्ने केटी मान्छेलाई धेरै गाह्रो छ। तैपनि समान ज्याला पाइन्न,’ सुनिता भन्छिन्।

पुरुषको जति महिलाको पनि ज्याला हुनुपर्छ भनेर माग राखेको उनी बताउँछिन्। ‘तर साहुजीले सुने पो। साहुजी त रिसाएर काममै आउनुपर्दैन पो भन्छन्। बरु अरू नै मान्छे खोजेर काम लाउने कुरा गर्छन्। अब नआएर भो त,’ उनी गुनासो गर्छिन्, ‘आफूलाई काम चाहिएको छ। लोग्ने मान्छेले जत्तिकै काम गर्छौं तर महिला भनेर पैसा भने कम दिन्छन्। काम नगरी खान पाइँदैन। चुप लागेर बस्नुबाहेक कुनै उपाय छैन।’

घरखर्च थेग्न गाह्रो भएर पतिले जस्तै उनले पनि काम गर्न थालेकी हुन्। ज्याला कम मिले पनि मेलमिलाप भने बढेको उनी हाँस्दै सुनाउँछिन्। दुवैले कमाउने भएपछि झैझगडाचाहिँ कम हुने गरेको अनुभव उनले बटुलेकी छन्। ‘उत्तिकै मेहनत गर्छु तर बुढाबुढीको ज्यालामा विभेद छ। के गर्नु भोकै बस्न त सकिँदैन,’ उनी भन्छिन्।

असमान ज्यालाबाट वञ्चित सुनिता पैसाको आवश्यकताले नै चुपचाप काम गर्न बाध्य छिन्। त्यस्तै ललितपुरको नल्लुकी शर्मिला तामाङले पनि एउटै प्रकृतिको काम गर्दा पुरुषसरहको ज्यालाबाट वञ्चित छिन्।

उनी बिहान ७ देखि साँझ ६ बजेसम्म सिमेन्टको इँटा बनाउने काममा व्यस्त हुन्छिन् तर दैनिक ४०० देखि ५०० रूपैयाँ मात्र पाउँछिन्। बिहान ५ बजे उठेर छोराछोरीलाई खाना पकाएर आफूलाई पनि खाना र खाजा बोकेर काममा आउने गरेको उनले सुनाइन्। सुक्खा ज्यालादरमा काम गर्ने उनको पारिश्रमिक निकै कम छ।

शर्मिला आफ्नो दैनिक कमाइबाट बालबच्चा पढाउने र घरखर्च टार्ने गर्छिन्। दुई सन्तानकी आमा उनी आफूले पढ्न नपाउँदा यतिधेरै दुःख खेप्नुपरेको बताउँछिन्। ‘पढ्न पाइएन, त्यसैले यस्तो ज्यामी काम गर्नुपरेको छ।

दुइटै छोरोछोरीलाई सरकारी स्कुलमा हालेकी छु। उनीहरूलाई बोर्डिङमै पढाउने रहर थियो नि तर कमाएको जति खानलाई ठिक्क हुन्छ,’ उनी भन्छिन्। पति प्रायः भट्टीतिर जाने हुनाले पैसा बचाउन गाह्रो परेको उनी बताउँछिन्। बाहिर ज्याला कम भएपछि घरमा परिवारको पनि हेपाइ खानुपरेको उनी सुनाउँछिन्। श्रम ऐन, २०७४ मा लिंगका आधारमा श्रमिकबीच समान मूल्यको कामका लागि पारिश्रमिकमा भेदभाव गर्न पाइँदैन भनिएको छ।

तर श्रम ऐन लागु भएको वर्षौं बित्दा पनि पारिश्रमिकको विभेद अझै हटेको छैन। कानुनी व्यवस्था जे भए पनि महिला–पुरुषमा काम एउटै ज्याला फरक हुने गरेको उनी बताउँछिन्। ‘दिनभरि चर्को घाममा पटुकी कसेर पुरुषले जति नै काम गर्छौं तर ज्याला भने फरक छ,’ उनी भन्छिन्।

एउटै काम तर ज्याला फरक हुने हुँदा सँगै काम गर्ने महिला कामदारको मनोबल कम हुने गरेको छ। गाउँघरदेखि सहरबजारसम्मै ज्यालामा विभेद छ। ‘ज्याला समान पाउन सकियो भने बालबच्चासँगै घरखर्च चलाउन सजिलो हुने थियो,’ उनी भन्छिन्, ‘सरकारले पारिश्रमिकमा भेदभाव गर्न पाइँदैन भने पनि नियम लागु हुन नसक्दा हामी महिला कामदार ठुलो मारमा परेका छौं।’

ज्यालादारीमा काम गर्दा पुरुषहरू ‘लाठे’ हुन्छन् र महिलाहरू काम कम गर्छन् भन्ने बुझाइ छ। तर ज्यामी काममा महिला बढी लगनशील, इमानदार हुन्छन्। त्यही इमानदारीको फाइदा उठाएर ज्यालामा साहुले शोषण गर्छन्। महिला र पुरुषमा असमान ज्याला नेपालको दूरदराज गाउँमा मात्रै नभएर उपत्यकाभित्रै पनि छ।

ज्यामी काममा पुरुषभन्दा बढी महिला खट्नुपर्नेे अनुभव सुनिता र शर्मिलाले मात्रै सुनाएका होइनन्, ललितपुरको ठेचोमा घर निर्माण कार्यमा सुनितासँगै खटिने रञ्जनाको भनाइ पनि उस्तै हो। उनी पनि पुरुषले भन्दा बढी काम गरेर साहुजीबाट कम ज्याला पाउँदा विभेद परेको र शोषित भएको बताउँछिन्।

वर्षौंदेखि ज्यामी काम गर्दै आए पनि पुरुषसरह पारिश्रमिक नपाएको तितो अनुभव उकेल्दै उनी भन्छिन्, ‘ज्यामी काम धेरै गरियो। पुरुषभन्दा कम काम गरेनौं। तर पुरुषको जति ज्याला कहिल्यै पाएनौं। थोरै ज्यालामै परिवारको आर्थिक अवस्था बढाउन धेरै गाह्रो छ। खेतीकिसानी गर्दा खान कहिल्यै पुगेन। जसरी पनि अरू काम गरेर कमाउनैपर्ने अवस्था छ।’

रञ्जनाका पति रोजगारीका सिलसिलामा बिदेसिएका छन्। एक जनाको कमाइने घरव्यवहार धान्न गाह्रो भएपछि ज्यामी काममा लागेको उनले बताइन्। रञ्जना मसला बनाउनदेखि भारी बोक्नेसम्म जुनसुकै काममा पोख्त छिन्।

पुरुषले मात्रै गर्ने भनिएको प्लास्टरको काममा पनि उनी उत्तिकै अब्बल छिन्। महिलाले पुरुषले भन्दा बढी मेहनत गर्छन्। त्यसैले निर्माण व्यवसायीहरू पुरुषभन्दा महिलालाई काममा राख्न रुचाउँछन्। किनकि उनीहरूबाट काम धेरै लिएर कम ज्याला दिए पनि हुने सोच राख्छन्।

महिलाले समान ज्याला पाउनुपर्छ भनेर विभिन्न संघसंस्थाबाट पटकपटक आवाज उठाए पनि त्यसको सुनुवाइ भएको छैन। आजको युगमा पनि महिलाले समान कामको समान ज्याला पाएका छैनन्। महिलालाई हेर्ने दृष्टिकोण नै विभेदपूर्ण छ। महिलालाई कमजोर ठान्नु, महिलाले धेरै राम्रो काम गर्न सक्दैनन् भन्नु गलत हो।

त्यसैले पुरुषको तुलनामा महिला कमजोर छैनन्। हिजो मात्रै नभएर आज पनि वैदेशिक रोजगारीमा पुरुषजसरी महिला पनि बिदेसिएका छन्। स्वदेशमै पनि आयआर्जनलगायत विभिन्न क्षेत्रमा पुरुषभन्दा महिला अगाडि छन्। तर पनि महिलालाई हेर्ने दृष्टिकोणमा भने भिन्न छ र ज्यालामा विभेद छ।

मजदुरहरूको संगठन नेपाल ट्रेड युनियन (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठ समान कामको समान ज्याला हुनुपर्ने माग उठाउँदै आए पनि कार्यान्वयन हुन नसकिरहेको बताउँछन्। ‘अनौपचारिक क्षेत्रमा धेरै विभेद छ,’ उनी भन्छन्, ‘समान कामको समान ज्याला नै छैन। एक त काममै विभेद छ। पुरुषले जसरी महिलालाई काम पाउनै गाह्रो छ। काम पाएकै खण्डमा पनि पारिश्रमिकमा ठुलो विभेद छ।’

महिला श्रमिकहरू लामो समय काम गर्न मात्र नभएर कार्यस्थलमा हुने विभेद र दुव्र्यवहार भोग्न पनि विवश रहेको उनी बताउँछन्। ‘समान काममा फरक ज्याला हुनु भनेको संविधानविपरीत काम हो, नैसर्गिक मानवअधिकारको उल्लंघन हो। त्यसकारण यस्तो हुनुहुँदैन,’ उनी भन्छन्, ‘महिला वा पुरुषले ढुंगा बोके पनि डोको एउटै हो, काम उत्तिकै हो। त्यसकारण पारिश्रमिक पनि बराबर हुनुपर्छ। त्यसो गर्न नसक्नु अपराध हो।’ उनका अनुसार अनौपचारिक क्षेत्रमा ८० प्रतिशतभन्दा बढी श्रमिकले काम गर्ने गरेका छन्।

नेपालको संविधान २०७२ को धारा १८ मा सबै नागरिक कानुनको दृष्टिमा समान हुने उल्लेख छ। त्यसै धाराको उपधारा ४ मा समान कामका लागि लैंगिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव गरिनेछैन भनी उल्लेख गरिएको छ। नेपालमा कानुनी व्यवस्था त छ तर कार्यान्वयन पक्ष अत्यन्तै फितलो छ। यसलाई प्रभावकारी बनाउन स्थानीय तहले नै गहन रूपमा कानुन कार्यान्वयनमा लाग्नुपर्ने जिफन्टका अध्यक्ष श्रेष्ठ जोड दिन्छन्।
अर्को समाचार
गरिब गिजरावासीमाथि निर्मम राजनीति
१७ फागुन २०८०
•
४ मिनेट पाठ
गरिब गिजरावासीमाथि निर्मम राजनीति
जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउन आएका गिजराका भूमिहीन तथा सुकुम्वासी । तस्बिर : नागरिक
नेपालगन्जस्थित फुटाहामा बस्दै आएका तिलकबहादुर भुजेल सामान्य ज्यालादारी काम गर्थे। उनको कमाइले घरपरिवार पाल्न धौधौ थियो। जग्गा किनेर घर हाल्ने उनले कल्पनासमेत गरेका थिएनन्। जो कल्पना थिएन, त्यसैलाई कसैले साकार पारिदिने खबर सुनाउँदा उनमा खुसीको सीमा नै रहेन।  




२०६१ सालतिर तत्कालीन नेकपा माओवादीका केही नेताले उनलाई खजुरा–६ सिमलघारी गिजरामा सार्वजनिक जग्गा उपलब्ध गराउने आश्वासन दिए। त्यो आश्वासनलाई उनले सहजै स्वीकार गरे र गिजरामा टहरा बनाएर बसे। उनले जग्गा त पाए तर लालपुर्जा अहिलेसम्म पनि पाउन सकेका छैनन्।

उनीजस्तै द्वन्द्वमा माओवादीबाट विस्थापित भएर हजरा बम कालीकोटबाट नेपालगन्ज पुगिन्। उनलाई नेपालगन्जका व्यवसायी रतन, हिरा र राहुत टण्डनले गिजरामै बसाइदिए। उनीहरू जस्तै यहाँ पहाड तथा हिमालबाट मान्छे ल्याएर बस्ती बसाउने काम राजनीतिक दलले गरे।  

२०६२ सालपछाडि माओवादीले ‘जसको जोत, उसकै पोत’ भनेर पहाडबाट सर्वसाधारण ल्याई बस्ती बसायो। थोरै घरधुरी भएको गिजरामा अहिले ठुलो बस्ती भइसकेको छ। यहाँ करिब तीन हजार परिवार बसोबास गर्छन् तर सबै लालपुर्जाविहीन छन्। जतिजति चुनाव आए त्यति त्यतिबेला उम्मेदवारको प्रमुख चुनावी कार्यक्रम गिजरा बस्तीमा हुन्छ र मुख्य चुनावी नारा हुन्छ यहाँका अव्यवस्थित, भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने।  

२०६२ सालतिर टण्डन परिवारले सञ्चालन गरेको चिनी उद्योगमा माओवादीले तोडफोड गरी जग्गा कब्जा गरेको थियो। विभिन्न राजनीतिक दलका आस्था राख्ने यहाँका बासिन्दाले त्यतिबेला माओवादीलाई सघाएका थिए। सघाउनुको एउटै कारण थियो, ‘जसले भोगचलन गर्छ, उसैलाई जग्गा दिने आश्वासन दिइएको थियो।’

लालपुर्जाको आशाले सामूहिक रूपमा कहिले कुन दललाई त कहिले कुन दलका उम्मेदवारलाई मतदान गर्छन् यहाँका बासिन्दा। तर, जसलाई जिताए पनि उनीहरूको मत मात्र जान्छ, लालपुर्जा आउँदैन। यसभन्दा अघिल्लो स्थानीय तहको चुनावमा एमालेलाई यहाँका अधिकांश जनताले मतदान गरे।

एमालेबाट उम्मेदवार भएका किस्मतकुमार कक्षपति अध्यक्षमा निर्वाचित भए। जनतालाई दिएको आश्वासनअनुसार उनले लालपुर्जा वितरणका लागि प्रक्रिया अगाडि बढाए। तर, नेकपा माओवादीले यो प्रक्रियामा अवरोध गरेको नेकपा एमालेले बताएको छ। 

कक्षपतिको समयमा जग्गा नापजाँच, अव्यवस्थित, भूमिहीन तथा सुकुम्वासीको पहिचान भएको थियो। जब लालपुर्जा वितरण गर्ने अन्तिम चरणमा थियो, त्यतिबेला चुनाव आयो र स्थानीय सरकारको नेतृत्व फेरियो। अहिले नेकपा माओवादी केन्द्रका डम्बर विक (तुफान) गाउँपालिकाको अध्यक्षमा निर्वाचित छन्। यस वडामा माओवादीकै फारुख शेख वडाध्यक्ष छन्।

कक्षपति अध्यक्ष हुँदा एक परिवारलाई दुई कट्ठाका दरले जग्गा दिने सहमति भएको थियो। त्योभन्दा बढी भोगचलन भएको भए बाँकी जग्गा स्थानीय सरकारको दररेटअनुसार पैसा तिर्ने वा जग्गा फिर्ता दिने भन्ने सहमति पनि भएको थियो।

त्यतिबेला १३० बिघा जग्गामा अव्यवस्थित, भूमिहीन र सुकुम्वासीले बसोबास गर्दै आएका थिए। अहिले फेरि जग्गा वितरणको काम अगाडि बढ्दै गर्दा विवाद उत्पन्न भएको छ। यसलाई नेकपा एमालेले राजनीति गरिरहेको स्थानीय सरकारको आरोप छ।

खजुरा–६ का २८३ जना मात्र वास्तविक अव्यवस्थित, भूमिहीन तथा सुकुम्वासी भएको भन्ने वडामा लगत संकलन भएको छ। २८३ जना मात्र अव्यवस्थित, भूमिहीन तथा सुकुम्वासी भए अरू कहाँ जाने र के गर्ने भन्दै यहाँका बासिन्दा आन्दोलित भएका छन्। उनीहरूले वडा कार्यालय, स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका छन्।

उनीहरूले हिजो ‘जसको जोत, उसकै पोत’ भन्दै बस्ती बसाउने र आज व्यवस्थित नगरेको बताउँदै आएका छन्। ‘हाम्रो ठुलो माग केही छैन,’ दलबहादुर सुनारले भने, ‘हामी जहाँ जसरी बसेका छौं, त्यसरी नै सरकारले सही ढंगले व्यवस्थित गर्नुपर्छ।’

सरकारले बसेकालाई व्यवस्थित गर्ने र यहाँबाट उठिबास नलाउने आश्वासन दिएपछि यहाँका धेरै व्यक्तिले सहकारीबाट ऋण लिएर बस्न मिल्ने घरसमेत बनाएका थिए। अहिले यसरी राजनीतिक चंगोलमा फस्दा लगानी जोखिममा परेको शारदाकुमारी शाहीले बताइन्। ‘त्यतिबेला आश्वासन पाएपछि सहकारीबाट ऋण लिएर घर बनाएँ,’ उनले भनिन्, ‘अहिले ऋण नै तिरिसकेको छैन तर लगानी जोखिममा परेको छ।’

वडाभित्रका अव्यवस्थित, भूमिहीन तथा सुकुम्वासीलाई व्यवस्थित गर्दा विवाद झिक्न खोजिएको वडा नम्बर ६ का वडाध्यक्ष फारुख शेखले बताए। उनका अनुसार ती समुदायका व्यक्तिलाई व्यवस्थित गर्न लगत संकलन भई प्रमाणीकरण गरिएको छ र जग्गा नापजाँचसमेत भइरहेको छ।

वडा नम्बर ६ मा २८३ जना वास्तविक अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासी भएको उनको भनाइ छ। ‘तीन पुस्तासम्म जग्गा नभएका घरपरिवारलाई छनोट गरेका छौं,’ उनले भने, ‘लगत संकलनभन्दा बाहिरकालाई कसरी व्यवस्थित गर्ने र कहाँकहाँ व्यवस्थित गर्ने भन्ने अर्काे विषय हो। यसलाई पनि छलफल गर्छाैं।’ लालपुर्जा वितरण गरेकाबाहेक अरू बासिन्दालाई पनि यहाँबाट नउठाउने उनको भनाइ छ।

गिजरा बस्तीमा व्यक्तिको जग्गासमेत हडपेर बस्ती बसेको उनले बताए। ‘केहीले व्यक्तिको जग्गा पनि हडपेका छन्। केही सार्वजनिक जग्गामा छन् भने कोही सरकार र टण्डन परिवारको नाममा रहेको संयुक्त जग्गामा बसोबास गरेका छन्,’ शेखले भने, ‘व्यक्तिको जग्गा हडपेर बसेकालाई हामीले के भन्ने। अर्काेको सम्पत्तिमा कसरी हक दाबी गर्ने ?’

अहिले यहाँका निर्दाेष नागरिकमाथि निर्मम राजनीति हुँदा उनीहरू लालपुर्जा पाउनबाट वञ्चित भएका छन्। कसैलाई लाजपुर्जा दिने र कसैलाई नदिने स्थानीय सरकारको निर्णयले जनतालाई काखा र पाखा गरेको यहाँका स्थानीयको भनाइ छ। एउटा नीति लिएर सबैलाई व्यवस्थित गरेर बसोबासको व्यवस्था मिलाउन उनीहरूले स्थानीय सरकारलाई आग्रहसमेत गरेका छन्।
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस