धार्मिक गन्तव्य बन्दै पौराणिक भूमि वाल्मीकि आश्रम
२३ माघ २०८०
•
४ मिनेट पाठ
धार्मिक गन्तव्य बन्दै पौराणिक भूमि वाल्मीकि आश्रम
पौराणिक भूमि वाल्मीकि आश्रम नेपाली तथा भारतीय दर्शनार्थीका धार्मिक गन्तव्य बनेको छ। चितवन राष्ट्रिय निकुञ्जको जङ्गलभित्र अवस्थित सो आश्रममा रहेका पौराणिक महत्व बोकेका संरचना हेर्नका लागि विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन्।




नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को त्रिवेणीधाम नजिकै रहेको यस पौराणिक भूमिमा दैनिकरूपमा दर्शनार्थी आउने गरेका वाल्मीकि आश्रमको हरिहर मन्दिरका पुजारी रामशरण गिरीले जानकारी दिए।

नेपाली भूमिबाट आश्रम पुग्न सडक सञ्जाल निर्माण नभएको अवस्थामा समेत दर्शनार्थीको राम्रो उपस्थिति हुने गरेको जनाउँदै उनले स्थालमार्गबाट नेपालसँगै जोड्न सकेमा अझै आकर्षक गन्तव्य बन्ने बताए। ‘नवलपुरको त्रिवेणीधाममा निर्माण भएको झोलुङ्गे पुल सञ्चालनमा आउनसक्यो भने त्रिवेणी आएका धेरै तीर्थयात्री यहाँ आउनुहुन्छ’, उनले भने, ‘झोलुङ्गे पुल तरेपछि करिब एक घण्टाको पैदलयात्रापछि यहाँ आउन सकिन्छ। तर पुल सञ्चालनमा छैन।’

अहिले वाल्मीकि आश्रम पुग्ने तीर्थयात्री त्रिवेणीधामबाट काठको डुङ्गामा जोखिमपूर्ण यात्रा गरेर आउने गरेका छन् भने केही तीर्थयात्री भारतीय भूमि प्रयोग गरेरसमेत आउने गरेका छन्। ‘त्रिवेणी भन्सारमा रहेको गण्डक ब्यारेज (पुल) तरेर भारतीय भूमि हुँदैसमेत तीर्थयात्री आउने गर्नुभएको छ’, उनले भने, ‘भारतीय भूमि प्रयोग गरेर आउँदा त्यहाँको पनि निकुञ्ज हुँदै आउनुपर्ने भएकाले यात्रा अलि कष्टपूर्ण छ।’ गण्डक ब्यारेज तरेर आउँदा जङ्गलको बाटोसँगै भारतको तमसा नदी र नेपालको स्वर्णभद्रा नदी तरेर आउनुपर्ने उनले बताए।

‘यी दुवै नदीमा पुल निर्माण गरिएको छैन’, उनले भने, ‘हिउँदमा दर्शनार्थी सहजरूपमा आए पनि बर्खाको बेलामा यहाँ आउन सहज छैन।’ भौगोलिकरूपमा वाल्मीकि आश्रम चितवनको माडी नगरपालिका–१ मा पर्ने यो भूमि पुग्नका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयीत्रिवेणी गाउँपालिका–६ मा पर्ने त्रिवेणीधामबाट नारायणी नदीमा डुङ्गा तरेर जाने गरिन्छ। त्रिवेणीधामबाट वाल्मीकि आश्रम जोड्नका लागि झोलुङ्गे पुल निर्माण गरिएको भए पनि निकुञ्जको बाधाका कारण पुल सञ्चालनमा आउन नसकेको उनले बताए।

यस पौराणिक भूमि महर्षि वाल्मीकिले रामायण रचना गरेको र लवकुश जन्मेको स्थलका रूपमा रहेको धार्मिक ग्रन्थमा उल्लेख गरिएको गिरीको भनाइ छ। त्रेतायुगमा भगवान् रामले सीतालाई त्याग गरेपछि लक्ष्मणले यही भूमिमा ल्याएर छाडेको, सीताले वाल्मीकि आश्रममै जीवन बिताएको र पछि सीता पातल प्रवेश (धर्तीमुनि विलीन) गरेको स्थानका रूपमा पनि यो स्थल रहेको गिरीको भनाइ छ।

आश्रम क्षेत्रमा रहेका लवकुश जन्मेको स्थल, सीताले प्रयोग गर्ने सिलौटा, लवकुशले घोडा बाँधेको तबेला, विष्णु चक्र, वाल्मीकि ऋषि अन्तरध्यान भएको स्थल, पचासी हजार ऋषिद्वारा वाल्मीकि ऋषिले हवन गरेको हवनकुण्ड, अमृत कुवा, विष्णु चक्रलगायत रामायणकालीन सामग्री खुलारूपमा देख्न सकिने उनको भनाइ छ। विशेषगरी वाल्मीकि आश्रममा माघे औँसी, शिवरात्रि, बोलबमसहित विभिन्न समयमा भक्तजनको भीड हुने गरेको गिरीको भनाइ छ।

महर्षि वाल्मीकिले ब्रह्मज्ञान प्राप्त गर्नुका साथै यहीँ बसेर रामायण लेखेको स्थानका रूपमा वाल्मीकि आश्रम प्रख्यात रहेको सीता मन्दिरका पुजारी शेखर सुवेदीले बताए। सीतामाता वनबास बसेको र लवकुशको जन्म तथा शिक्षा–दीक्षा भएकाले यस ठाउँको विशेष महत्व रहे पनि सरकारी उदासिनताका कारण ओझेलमा परेको सुवेदीको भनाइ छ। प्राचीन त्रेतायुगको हरिहरको मूर्तिसहितका रामायणकालीन संरचना यहाँ रहेका उनले बताए।

आफ्नो मनोकाङ्क्षा पूरा हुने जनाउँदै मानिसले आफूले इच्छाएको कुरा माग्नका लागि यहाँ आउने गरेका बताइएको छ। नेपालीभन्दा बढी भारतीय भक्तजन मन्दिरमा आउने गरेका उनको भनाइ छ। मानिस बाह्रै महिना मन्दिरमा आउने भए पनि नेपाली भूमिबाट आउने बाटो नहुँदा धार्मिक पर्यटकलाई असहज हुने गरेको उनले बताए। नेपालबाट आश्रममा आउन पुल बनेको भए पनि सञ्चालनमा नहुँदा भारतीय बाटो भएर आउनुपर्दा दुःख पाउने गरेका सुवेदीले गुनासो गरे।

कास्कीको पोखरा महानगरपालिका–३३ बाट यहाँ आएका रमेशराज आचार्य किताबमा पढेका कुरा प्रत्यक्षरूपमा देखेर अवलोकन गर्दा प्रभावकारी हुने भएकाले आफूहरू वाल्मीकि आश्रममा आएको बताए। पुरातात्विक ऐतिहासिक ठाउँ भएकाले यसलाई अझ व्यवस्थित बनाउँदा जिउँदो इतिहास बन्ने आचार्यको तर्क छ। ‘यसलाई पढ्नका लागि किताबका पाना पल्टाउनुभन्दा पनि अवलोकनबाट सबै कुरा पत्ता लाग्ने गरी संरक्षण गर्नुपर्छ’, उनले भने, ‘आश्रममा आउनका लागि नेपालकै बाटो प्रयोग गरेर आउने अवस्थाको सिर्जना गर्नसके राम्रो धार्मिक गन्तव्य बन्न सक्ने थियो।’

नेपालबाट आश्रममा आउने भक्तजन भारतको बाटो भएर आउनुभन्दा त्रिवेणीधामस्थित नारायणी नदीबाट जोखिमपूर्ण डुङ्गाको यात्रा गरेर आउने गरेका छन्। वाल्मीकि आश्रमलाई यातायात सञ्जालसँग जोड्दा धार्मिक पर्यटकीय दृष्टिकोणबाट यस ठाउँको महत्व अझै बढ्ने जनाइएको छ। रासस
अर्को समाचार
वाल्मीकि आश्रम पुग्न पुल बन्यो, बाटो बनेन
१९ मंसिर २०७९
•
३ मिनेट पाठ
वाल्मीकि आश्रम पुग्न पुल बन्यो, बाटो बनेन
चितवनको वाल्मीकि आश्रम र नवलपरासी (बर्दघाट सुस्तापूर्व) त्रिवेणीधाम जोड्ने आकर्षक झोलुङ्गे पुल बनेको छ। नारायणी नदीमा बनेको यस पुललाई स्थानीयले लव–कुश झोलुङ्गे पुलको उपनाम दिएका छन्। यहाँ पुग्ने जोकोहीलाई यो पुलले आकर्षित गर्छ। पुल निर्माण सम्पन्न भएको करिब एक वर्ष भइसक्यो तर सञ्चालनमा आएको छैन।  




नेपालकै भू–भाग हुँदै चितवनको वाल्मीकि आश्रम पुग्न यो पुल निर्माण गरिएको हो तर पुल हुँदै चितवन प्रवेश गर्न निषेध गरिएको छ। पुलको चितवनतर्फ जाली लगाएर प्रवेश निषेध गरिएको छ । सूचनामा लेखिएको छ, ‘चितवन राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्न सख्त मनाही छ। जङ्गली जनावरबाट बचौँ र बचाउने हामी सबैको साझा दायित्व हो।’  

वाल्मीकि आश्रम प्रवेशका लागि बनाइएको पुलमा यसरी प्रवेश गर्न रोक लगाएपछि अहिले यो पुल घुम्ने र फोटो खिच्ने ठाउँ बनेको छ। अहिले दैनिक एक सयको हाराहारीमा मानिस घुम्नका लागि पुलसम्म पुग्ने गरेका छन्। पुल तर्न नपाउँदा निराश भएर फर्कनुपरेको स्थानीय नारायणप्रसाद उपाध्यायले बताए। ‘पुल जे प्रयोजनका लागि बनाइएको हो त्यसको काम नै भएन’ उनले भने, ‘अहिले यो ठाउँ घुम्ने ठाउँ मात्रै बनेको छ।’ चाँडै पुल तर्ने वातावरण बनाइदिए यहाँ पर्यटनको विकास हुने भन्दै उहाँले नेपाल हुँदै प्रसिद्ध धार्मिकस्थल वाल्मीकि आश्रम पुग्ने सबै नेपालीको धोको पूरा हुने बताए।

नेपालीलाई चितवनको माडी नगरपालिका–१ मा पर्ने आश्रम पुग्न अहिले भारतीय भूमिको प्रयोग गर्नुपर्छ। गण्डकबाध तरेर झण्डै आठ किलोमिटर भारतीय भूमि हुँदै आश्रम पुग्न सकिन्छ। नेपालीलाई सहजरुपमा प्रवेश गर्न पनि दिइँदैन। त्यसैले यो पुल चाँडै सञ्चालनमा आइदिए आश्रम पुग्न सहज हुने स्थानीय रामचन्द्र चालिसेले बताए। अहिले झोलुङ्गे पुलको मुखैमा पसल सञ्चालनमा छन्। यहाँ घुम्न आउनेले यहाँको व्यापार बढाएको चालिसेले जानकारी दिए। पुलमा आएर फोटो खिच्ने क्रम बढ्दो छ। भारतको विहार, उत्तर प्रदेशबाट मान्छे यहाँ आएर फोटो खिचाउने गरेका उनले बताए।  

चितवन राष्ट्रिय निकुञ्जले व्यवस्थित बाटो र सुरक्षा पोष्ट नबनेकाले पुल सञ्चालनमा रोक लगाइएको जनाएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले पुल बने पनि सुरक्षा पोष्ट नबनेकाले अहिले सञ्चालनमा कठिनाइ भएको बताए। उनले सुरक्षाको दृष्टिकोणले निकुञ्जको कोर एरिया भएकाले सुरक्षा पोष्ट र पैदल रुट बनेपछि पुल सञ्चालन हुने जानकारी दिए। आचार्यले पैदलमार्ग निर्माणका लागि नगरपालिकाले बजेट विनियोजन गरेर निकुञ्जसँग समन्वय गरे चाँडै त्यो कामलाई अगाडि बढाउन सकिने बताए।  

यो पुल निर्माण हुन झण्डै नौ वर्ष लाग्यो। निर्माण कम्पनीसँग ०७० असारमा सम्झौता भएको थियो। दुई वर्षमा काम सक्ने गरी सम्झौता भए पनि यो पुल गत साउनमा मात्रै निर्माण पूरा भएको हो। पुलको लागत रु छ करोड ६० लाख हो। वातावरणीय प्रभाव मूल्याङ्कन नगरी पुल निर्माणको सम्झौता गरेका कारण सुरुमा काम गर्न समस्या निम्त्यिो। चितवन निकुञ्ज विश्व सम्पदामा सूचीकृत रहेकाले युनेस्कोसँग सहमति लिनुपर्छ। पछि युनेस्कोलाई पत्रचार गरेर सबै प्रक्रिया पूरा भएपछि बल्ल निर्माणको काम अगाडि बढेको हो। यसका लागि पूर्वरक्षासचिव आत्माराम पाण्डेले निकै नै दौडधुप गरेका थिए। पहिले सम्झौता भएको निर्माण कम्पनीले काम नगरेपछि चितवनका तारा पौडेलले पुल निर्माणको जिम्मा लिएका थिए। उनले निकै हण्डर खाएर जसोतसो पुल सम्पन्न गरेरै छाडेको बताए। ‘यो पुल बनाउँदा एक जना कामदार नदीमै खसे, बेलैमा उद्धार भएकाले जीवन जोगियो, पुलको लठ्ठा तान्न मात्रै सात महिनासम्म लाग्यो, यो पुल बनाउँदाको दुःख सम्झिएर साध्य छैन’, उनले भने, ‘यो पुल सञ्चालनमा आए वाल्मीकि आश्रम सहजै प्रवेश गर्न सकिन्छ। यहाँबाट आश्रमसम्म एक हजार सात सय मिटर बाटो बनाउनुपर्ने हुन्छ। रासस
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस