प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा उपहार स्वरूप दिने भनिएका १५ वटा ‘मुर्रा’ राँगा बुधबार बेलुका नेपालगन्ज ल्याइएको छ।
भारतको पञ्जावबाट राँगालाई स्थल मार्ग हुँदै नेपालगन्ज ल्याइएको हो। भारतको पञ्जाबस्थित राष्ट्रिय भैँसी अनुसन्धान केन्द्रबाट ल्याइएको राँगाको क्वारेन्टाइन चेकजाँच गरेर मुलुकका तीन स्थानमा रहेका राष्ट्रिय पशु प्रजनन कार्यालयमा राखिने पशु सेवा विभागका प्रमुख पशु विकास अधिकृत डा. माधवप्रसाद अर्यालले बताए।
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारत सरकार र नेपाल सरकारबीच दुई पक्षीय समझदारी अन्तर्गत नस्ल सुधारका लागि मुर्रा जातको १५ वटा राँगा दिने भारतले प्रतिबद्धता जनाएको थियो।
प्रधानमन्त्रीको भ्रमण पश्चात् पशु सेवा विभागको टोली भारत पुगेर राँगा छनोट लगायतका काम गरेपछि स्थल मार्ग हुँदै रुपैडिहा नाकाबाट नेपालगन्ज प्रवेश गराइएको डा. अर्यालले सुनाए।
‘आफ्नो देशको जैविक विविधता संरक्षण गर्ने हिसाबले कुनैपनि जेनेटिक मेटेरियलहरु बेचबिखन गर्न नदिने भारतको राष्ट्रिय नीति रहेछ, त्यस कारण किनेर ल्याउने सम्भावना पनि रहँदैन, त्यसका लागि दुई देशबिच समझदारी भएर मात्र आउन सम्भव भएको हुँदा प्रधानमन्त्री स्तरीय भ्रमणमा यो कुराको टुंगो लाग्यो,’ उनले भने।
प्रधानमन्त्री दाहालको भ्रमण पश्चात् प्राविधिक काम, राँगा छनोट लगायत काम गर्नका लागि पशु सेवा विभागका पुर्व उप-महानिर्देशक डा. सम्झनाकुमारी काफ्लेको संयोजकत्वमा एक टोली भारत पुगेको थियो। करिब एक साताअघि सोही टोलीले टुंगो लगाएका मुर्रा राँगालाई भारतीय अधिकारी हस्तान्तरण गरेपछि दुई वटा ट्रकमा लोड गरेर नेपालगन्ज ल्याइएको डा. अर्यालले प्रस्ट्याए।
नेपालगन्ज आइपुगेको राँगालाई नेपालगन्जको जैसपुरस्थित पशु क्वारेन्टाइन कार्यालयको होल्डिङ याडमा राखिएको छ। राँगाको स्वास्थ्य परीक्षण लगायत प्राविधिक काम गरेर पशु चिकित्सक सहितको टोलीले राष्ट्रिय पशु प्रजनन कार्यालयमा पुर्याउने बताइएको छ।
‘राँगा स्वस्थ छन् भन्ने प्रमाणित भइसकेपछि हामीले एक/दुई दिनपछि सम्बन्धित ठाउँमा ढुवानी गरेर पुर्याउँछौं, पशु चिकित्सक सहितको प्राविधिक टोली यसमा खटिन्छन्,’ उनले थपे।
विभागका अनुसार पोखरामा रहेको राष्ट्रिय पशु प्रजनन कार्यालयमा ७ वटा, लहानमा ५ वटा र बाँकेको खजुरास्थित गौघाटमा रहेको राष्ट्रिय पशु प्रजनन कार्यालयमा ३ वटा राँगा राखिनेछ।
‘यी राँगाहरू नेपालका भैसीहरुको दूध उत्पादन क्षमता बढाउनका लागि कृत्रिम गर्भाधान गरेर नस्ल सुधार गर्ने प्रयोजनले प्रयोग गर्ने हो, यी राँगाहरूबाट हामी सिमेन (बिर्य) निकाल्छौं, त्यो सिमेनलाई कृत्रिम गर्भाधानको काममा प्रयोग गर्छौ,’ डा. अर्यालले थपे ‘राष्ट्रिय पशु प्रजनन कार्यालयमा पालन पोषण लगायत सिमेन संकलन गर्ने काम गर्छन्, यसबाट भैँसीको वंश सुधार गर्ने काम गर्छौ।’
नेपालगन्ज ल्याइएका राँगाहरू २ देखी ३ वर्षमाथिका रहेका छन् । ‘यी राँगाबाट तत्कालै सिमेन (वीर्य) संकलन गर्न सक्छौं, यिनीहरु सिमेन दिन सक्षम नै छन्, तर त्यो भन्दा अगाडी यिनीलाई तालिम दिनुपर्ने हुन्छ, तालिम दिएपछि कृत्रिम गर्भाधानका लागि सिमेन निकाल्छौं,’ अर्यालले भने।
दूध उत्पादनमा अब्बल
पशु चिकित्सकका अनुसार दूध उत्पादनमा मुर्रा जातका भैँसी निकै अब्बल मानिन्छन्। विश्वव्यापी रूपमै मुर्रा जातका भैँसी दूध उत्पादनमा अब्बल मानिएको पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख विनयकुमार कर्णले बताए।
‘विश्वव्यापी रुपमा धेरै दूध उत्पादन गर्ने भैँसीका रुपमा मुर्रा चर्चित छ,’ उनले भने। मुर्रा भैँसीले एक बेतमा ३ हजार ५ सय देखी ५ हजार किलोसम्म दूध उत्पादन गर्ने पशु चिकित्सक बताउँछन्। भारतले नेपाललाई उपहार दिएका मुर्रा जातका राँगा पनि उन्नत जातकै रहेको विभागले जनाएको छ।
भारतीय राजश्व विभागले रोक्यो झण्डै चार घण्टा
भारतबाट स्थल मार्ग हुँदै ल्याइएका मुर्रा राँगालाई भारतीय राजश्व विभाग (कस्टम) ले झण्डै ४ घण्टा सीमापारि रोकेको छ। दुई देशका प्रधानमन्त्रीबीच भएको समझदारी अनुसार ल्याइएको राँगाको कागजात नमिलेको भन्दै भारतीय राजश्व विभागका कर्मचारीले दुई वटै ट्रकलाई रोकेका हुन्।
‘भारतीय राजश्व विभागले राँगाको बिक्री बील खोज्यो, दुई देशबीचको समझदारी अनुसार आएको उपहारको पनि बील खोजेपछि राँगालाई करिब ४ घण्टासम्म सीमापारि रोक्ने काम भयो,’ एक कर्मचारीले गुनासो गर्दै भने ‘भारतीय राजश्व विभागका कर्मचारीले दुई देशबीचको समझदारी अनुसार आएको उपहारलाई लत्त्याइदिए।’
राँगासँगै भारतबाट पशु चिकित्सकसहितको टोली आएको छ। करिब ३६ घण्टा देखी यात्रामा रहेकाले राँगा भोकै अवस्थामा रहेको उनीहरुको गुनासो थियो।
पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जले बिहीबार दिउँसो १ बजे मुर्रा राँगा नेपालगन्ज आई पुग्ने बताएका थिए। तर, राँगा बोकेका ट्रक दिउँसो करिब साढे ३ बजेतिर सीमापारि रुपैडिहा आईपुगे पनि भारतीय राजश्व विभागले नछाडेपछि करिब ४ घण्टा रोकिएको पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका कर्मचारीले बताएका छन्।
कागजात मिलाएपछि मात्र विभागका कर्मचारीले बिहीबार राती ट्रकलाई छाडेको कर्मचारीले सुनाए। प्रधानमन्त्री दाहाल भारत भ्रमणबाट फर्किएपछि छिमेकी देश भारतले मुर्रा राँगा उपहार दिन लागेको भन्दै प्रतिनिधिसभा बैठक लगायत चोक, चौतारामा यसलाई हाँसो र ठट्टाको विषय बनाइएको थियो।
प्रधानमन्त्री दाहाललाई प्रतिपक्ष दल लगायत अन्य नेताहरुले पटक–पटक यही विषयमा व्यङ्ग्य गरेका थिए। यसलाई प्रधानमन्त्रीको भारत भ्रमणको प्रमुख उपलब्धिका रूपमा अर्थाइएको थियो। प्रधानमन्त्री दाहालले गत जेठ १७ गतेदेखि २० गतेसम्म छिमेकी देश भारतको भ्रमण गरेका थिए।
रोल्पा । घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ। तर, कतिपय घरका बन्द ढोकाभित्र यस्ता पीडा लुकेका हुन्छन्, जसको आवाज भित्रबाट बाहिर निस्कन सक्दैन। चुलोचौकाको धुवाँसँगै निसासिएका सुस्केरा, छोरा र छोरीमाझको खैदेखि गरिने विभेद र ‘इज्जत’को नाममा थुपारिएका मौनताहरूले हजारौँ दिदीबहिनी र बालिकाको जीवनलाई अँध्यारो सुरुङतिर धकेलिरहेका छन्। हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान केवल नाराले भरिएको क्यालेन्डरको पाना मात्र होइन, यो त मौनताको पर्खाल भत्काएर न्याय र समानताको उज्यालो खोज्ने सामूहिक सङ्कल्प हो। घरभित्रको अदृश्य पीडा र विभेदको जरा घरेलु हिंसा सधैँ शरीरमा देखिने नीलडाम वा रगतको दागमा मात्र सीमित हुँदैन। कहिलेकाहीँ अपमानजनक शब्द, आर्थिक नियन्त्रण, निर्णय प्रक्रियाबाट वञ्चितीकरण र मानसिक यातनाले मानिसको आत्मसम्मानलाई भित्रभित्रै गलाइदिन्छ। जन्मदेखिको विभेद: छोरा जन्मिँदा बज्ने खुसीका धुन र छोरी जन्मिँदा छाउने मौनता विभेदको पहिलो पाठ यहीँबाट सुरु हुन्छ। शिक्षा, पोषण र अवसरमा छोरीलाई दोस्रो दर्जामा राख्ने प्रवृत्तिले असमानताको जग बलियो बनाउँछ। घरेलु हिंसाको मौनता: ‘घरको कुरा घरमै मिलाउनुपर्छ’ भन्ने सामाजिक मान्यताले पीडितलाई न्याय माग्नबाट रोक्छ र पीडकलाई थप हौसला दिन्छ। पीडा सहनुलाई नै ‘सहनशीलता’ र ‘आदर्श नारी’को उपमा दिँदा अन्यायलाई संस्थागत रूपमै स्वीकार गरिन्छ। प्रथा र कुसंस्कारको भार: कहिलेकाहीँ जोगीको लोभमा त कहिले छाउपडीजस्ता अन्धविश्वासका नाममा महिलामाथि हुने दुर्व्यवहारले मानवीय संवेदनशीलतालाई नै चुनौती दिइरहेको छ। १६ दिने अभियान: केवल औपचारिकता कि वास्तविक रूपान्तरण? हरेक वर्ष मङ्सिर महिनाको अन्त्यतिर गाउँ–सहरमा र्याली, गोष्ठी र पोस्टर टाँस्ने क्रम चल्छ। तर, १६ दिन सकिएपछि फेरि त्यही पुरानो दैनिकी दोहोरिने हो भने अभियानको मर्म अधुरो रहन्छ। वास्तविक परिवर्तन तब सम्भव हुन्छ, जब यो अभियान सदन र सभाहलबाट निस्केर हरेक परिवारको भान्सा र आँगनसम्म पुग्छ। हिंसा सहनु अपराध होइन, तर हिंसा देखेर पनि चुप लाग्नु र अन्यायलाई सामान्य मान्नु समाजको सबैभन्दा ठूलो कमजोरी हो। हामीले अब सोचाइको दिशा बदल्न आवश्यक छ। छोराहरूलाई सानैदेखि सम्मान, समानता र भावनात्मक संवेदनशीलता सिकाउनुपर्छ भने छोरीहरूलाई डर होइन, आत्मविश्वास र अधिकारको पाठ पढाउनुपर्छ। कानुनका किताबमा लेखिएका धाराहरू व्यवहारमा उतार्न परिवार, समाज र राज्य सबैको हातेमालो अपरिहार्य छ। अबको बाटो: सम्मान र समानताको समाज लैङ्गिक हिंसा अन्त्य गर्न कुनै एक व्यक्ति वा संस्थाको प्रयास मात्र पर्याप्त हुँदैन। घरभित्रको सानो व्यवहारदेखि समाजको ठूलो संरचनासम्म समानताको अभ्यास हुनुपर्छ। जब हरेक घर छोराछोरीका लागि समान रूपमा सुरक्षित र स्नेहमय बन्नेछ, जब पीडितले बिना डर न्याय र साथ पाउनेछन् र जब विभेदको ठाउँ सम्मानले लिनेछ—तब मात्र १६ दिने अभियानले सार्थक रूप लिनेछ। पीडाका सुस्केराहरू अब आशाका गीतमा बदलिनुपर्छ। आवाजको शक्ति र नेतृत्वको यात्रा: १६ दिने अभियानको अर्थ हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पीडा, आँसु र विरोधका नाराहरूमा मात्र सीमित रहनु हुँदैन। यो अभियानले महिलाहरूलाई पीडितको भूमिकाबाट माथि उठाएर नीति बनाउने, निर्णय गर्ने र समाजको दिशा तय गर्ने निर्णायक स्थान अर्थात् राजनीतिक प्रतिनिधित्वसम्म पुर्याउने सेतुको काम गर्न सक्नुपर्छ। लैङ्गिक हिंसाको जरा अक्सर शक्ति असमानता, मौनता र अवसरको वञ्चितीकरणमा जोडिएको हुन्छ। जबसम्म महिलाहरू संसद्, स्थानीय तह र नीति निर्माणका टेबलहरूमा अर्थपूर्ण रूपमा पुग्दैनन्, तबसम्म हिंसा रोक्ने कानुन र बजेट कागजमै सीमित रहने जोखिम रहन्छ। घरको चुलोचौकादेखि टोलको सानो घेरादेखि राज्यको सर्वोच्च निकायसम्म महिलाको उपस्थिति केवल सत्ताका लागि होइन, अनुभव, संवेदनशीलता र न्यायपूर्ण दृष्टिकोणका लागि अपरिहार्य छ। कतिपय महिलाले आज पनि राजनीतिक यात्रामा पाइला चाल्दा चरित्रहत्या, धम्की, दोहोरो कार्यबोझ र अदृश्य बाधाहरूको सामना गर्नुपर्छ। १६ दिने अभियानले समाजलाई यही प्रश्न सोध्नुपर्छ: हामी हिंसाको विरोध त गर्छौँ, तर के हामी महिलालाई शक्ति र नेतृत्व सुम्पिन तयार छौँ? हिंसामुक्त समाजको जग त्यतिबेला बलियो हुन्छ, जब पीडितले न्याय मात्र होइन, नेतृत्व गर्ने अधिकार पनि पाउँछन्। आज आवश्यक छ, यो १६ दिने अभियानले हरेक युवती र महिलालाई भनौँ—तिम्रो पीडा मात्र होइन, तिम्रो विचार र नेतृत्व पनि यो देशलाई चाहिन्छ। जब महिलाको हातमा कलम र निर्णयको अधिकार पुग्छ, तब हिंसाको संस्कृति आफैँ कमजोर हुँदै जान्छ र साँचो अर्थमा लोकतन्त्र समावेशी बन्छ। न्याय, शक्ति र मर्यादाको साझा यात्रा: ‘अनुपम अभियान’ नेपालको महिला अधिकार र लैङ्गिक न्यायको सङ्घर्षमा पुस्तान्तरणको अनुभव र नवीन ऊर्जा जोड्दै अन्तरपुस्ता महिलावादी मञ्चले देशैभरि आफ्नो सञ्जाल विस्तार गरेको छ। यही मञ्चको अगुवाइमा सञ्चालित ‘अनुपम अभियान’ र हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान एउटै गन्तव्य—समानता, मर्यादा र हिंसामुक्त समाज—तर्फ उन्मुख दुई महत्त्वपूर्ण आयाम हुन्। ‘अनुपम अभियान’: शक्ति र मर्यादाको संरचनात्मक रूपान्तरण वि.सं. २०७९ को निर्वाचनपछि सुरु गरिएको पाँचवर्षे ‘अनुपम अभियान’ केवल परम्परागत पैरवी र दातामुखी सहायताको ढाँचाभन्दा माथि उठेर संरचनात्मक रूपान्तरणमा केन्द्रित छ। ‘घर चलाउन सक्ने महिलाले देश चलाउन सक्छन्’, ‘६४ मा महिला हुनुपर्छ पहिला’, ‘कुन पार्टी हो चिन्तै छैनौँ, महिला भएर जाँदैछौँ’ जस्ता नारा बोकेर अभियानमा निरन्तर अनुपम अभियानले १६ दिने अभियानको सार्थकता बोकेको छ। यस अभियानले नेपालको राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा महिलाको निर्णायक पहुँच र स्वायत्ततालाई मुख्य एजेन्डा बनाएको छ। शक्ति संरचनाको विश्लेषण: अभियानले महिला तथा सीमान्तकृत समुदायले भोग्ने दृश्य (राजनीतिक दल र नेतृत्वको तह), अदृश्य (निर्णय प्रक्रिया र पहुँचका अवरोध) तथा गहिरो संरचनात्मक (सामाजिक मान्यताका रूपमा रहेको शक्ति सम्बन्ध) पक्षलाई उजागर गर्छ। दान वा अनुकम्पाभन्दा माथि उठेर न्याय, आत्मनिर्भरता र मर्यादालाई केन्द्रमा राख्दै समुदाय–नेतृत्वको पहल र सुरक्षित संवादस्थल निर्माण गर्नु यसको विशेषता हो। अन्तरपुस्ता ऐक्यबद्धता: अग्रज पुस्ताको ऐतिहासिक सङ्घर्षको स्मृति र युवा पुस्ताको नवीन चेतनालाई जोड्दा नीति निर्माणदेखि स्थानीय तहसम्म महिलाको आवाज बलियो बन्छ। मौनता तोड्ने समय: घर, समाज, कार्यस्थल र डिजिटल माध्यममा हुने हिंसाविरुद्ध बोल्ने, पीडितलाई न्याय र सेवामा जोड्ने तथा दोषीलाई जवाफदेही बनाउने साझा मञ्चका रूपमा यो अवधिलाई स्थापित गर्नुपर्छ। दुई अभियानको अन्तरसम्बन्ध: महिलामाथि हुने हिंसा कुनै अलग घटना होइन, यो असमान शक्ति सम्बन्ध, निर्णय तहमा महिलाको न्यून उपस्थिति र पितृसत्तात्मक संरचनाको परिणाम हो। त्यसैले ‘अनुपम अभियान’ र १६ दिने अभियान एक–अर्काका परिपूरक देखिन्छन्। तुलनाको आधार: ‘अनुपम अभियान’ र १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियानको मुख्य जोड निर्णय तहमा पहुँच, शक्ति संरचनाको रूपान्तरण, आत्मनिर्भरता, लैङ्गिक हिंसा रोकथाम, पीडित संरक्षण र कानुनी उपचारमा छ। १६ दिने अभियानले उठाउने हिंसाका सवाल र ‘अनुपम अभियान’को राजनीतिक तथा सामाजिक बहसलाई अझ यथार्थपरक बनाउँछ। निष्कर्ष: नेपालमा लैङ्गिक न्यायको यात्रा केवल नारामा सीमित नराखी व्यवहार र संरचनामा उतार्न अन्तरपुस्ता संवाद अपरिहार्य छ। ‘अनुपम अभियान’को दीर्घकालीन शक्ति रूपान्तरणको दृष्टिकोण र १६ दिने अभियानको सघन सामाजिक ऐक्यबद्धतालाई जोड्न सके मात्र हरेक महिलाले डर, विभेद र हिंसामुक्त वातावरणमा मर्यादित जीवन जिउन सक्ने आधार तयार हुन्छ।