बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ असमानपुरस्थित ‘जयेन्दु बाल सुधार गृह’ बाट फरार भएका मध्ये ९ जना बाल कैदी बन्दी अझै सम्पर्कमा आएका छैनन्।बाल सुधार गृहभित्र दुई पक्षबिच बिहीबार राती झडप हुँदा रुपन्देहीका १८ वर्षीय सुलभ केसीको मृत्यु भएको थियो, भने १० जना घाइते भएका थिए।मृतक केसीमाथि अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीको कसुर थियो।
बाल सुधार गृहमा भएको तनाव साम्य भए पनि फरार रहेका ९ जना शुक्रवार अपराह्नसम्म पनि सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक(डिएसपी) नारायण डाँगीले जानकारी दिए।उनका अनुसार बिहीबार राती १० बजे कैदी बन्दी बिच झडप सुरु भएको थियो । त्यसपछि सुधार गृहमा रहेका २ सय ५४ जना कैदी बन्दी बाहिर निस्केका थिए। तीमध्ये २ सय ४५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।सम्पर्कमा नआएका ९ जनाको खोजी गर्न प्रहरी टोली विभिन्न ठाउँमा परिचालन भएको जिप्रका बाँकेले जनाएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) सन्तोषसिंह राठौंर सहितको टोली शुक्रवार दिनभर वार्ताका लागि बाल सुधार गृहमै रहेको छ। असन्तुष्ट बाल कैदीबन्दीसँग अहिले छलफल चलिरहेको डिएसपी डाँगीले बताए।‘बाल सुधार गृहमा असहज अवस्था सिर्जना भएपछि त्यहाँ रहेका बाल कैदी बन्दी बाहिर निस्केका हुन्, पछि सम्पर्कमा आए, तर अझै ९ जना भने सम्पर्कमा आएका छैनन,’ डाँगीले नागरिकसँग भने ‘उनीहरु पनि आफै सम्पर्कमा आउने विश्वास छ।’बाल सुधार गृहमा भएको तनाव साम्य भइसकेको उनले जानकारी दिए ।
झडपमा उत्रिएका सुधार गृहका बालकहरूले राती भवन तथा पर्खाल तोडफोड गर्नुका साथै झ्यालका सिसा फुटाएका थि ।यस्तै उनीहरुले ड्युटीमा खटिएका प्रहरीमाथि पनि ढुङ्गा तथा इँटा प्रहार गरेका थिए।बाल सुधार गृहमा यसअघि पनि पटक–पटक विवाद हुने गरेको थियो।उक्त सुधार गृह नेपालगन्ज बजार क्षेत्रदेखि करिब ३ किलोमिटर पूर्वमा अवस्थित छ।
बाँके जिल्लामा सञ्चालित बाल सुधार गृहको व्यवस्थापनमा चुनौती देखिएको छ। १८ वर्षभन्दा माथिका बालबिज्याईंकर्ता (बालबन्दी) हरुलाई कारागार चलान नगरी बाल सुधार गृहमै राख्दा यहाँको व्यवस्थापनमा चुनौती देखिएको हो।
बाँकेमा जयेन्तु बाल सुधार गृह र तीन हजार क्षमताको नौबस्ता बाल सुधार गृह सञ्चालनमा छन्। अहिले यी दुई बाल सुधार गृहलाई उनीहरूको व्यवस्थापनमा सुरक्षा चुनौती बढेको छ। जयेन्तु बाल सुधार गृहमा बेलाबेला झडप हुँदै आएको छ। झडपमा मानवीयसँगै ठूलो धनजनको समेत क्षति भएको छ। त्यस्तै उद्घाटन अगावै सञ्चालनमा रहेको नौबस्ता बाल सुधार गृहमा पनि उस्तै प्रवृत्ति देखिएको छ। शुक्रवार (पुस १३ गते) देखि सोमबारसम्म यहाँको अवस्था तनावग्रस्त रह्यो। सुरक्षा अधिकारीहरूका अनुसार यहाँ रहेका एक सय १६ जनामध्ये केही बालबिज्याईंकर्ताहरु फरार भएका छन्।
यहाँ झडपको अवस्था सिर्जना हुनुको मुख्य कारण, ‘बाल सुधार गृहका बालबिज्याईंकर्ताहरु दुई समूहमा विभाजित हुनु हो।’ उनीहरु समूहमा विभाजित हुँदा एक समूहले अर्को समूहलाई दबाउन खोज्दा झडपको अवस्था सिर्जना हुँदै आएको छ। १८ वर्षभन्दा माथिका बालबिज्याईंकर्ताहरुलाई पनि बाल सुधार गृहमा राख्दा यहाँको व्यवस्थापनमा चुनौती देखिएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक श्रवणकुमार पोखरेलले जनाए।
‘बाल सुधार गृहको व्यवस्थापन चुनौतीपूर्ण हुँदै गइरहेको छ। १८ वर्षभन्दा कम उमेर भएकाबाट हुने कानुन विपरीतको कार्यलाई अपराध नभनी बिज्यांई भन्ने गरिन्छ र त्यस्तो बिज्यांई गर्ने व्यक्तिलाई बाल बिज्यांईकर्ता भनिन्छ,’ उनले भने, ‘अनि त्यस्ता बालबिज्याईंकर्तालाई थुनामा राखिने स्थानलाई बाल सुधार गृह भनिन्छ। तर बाल सुधार गृहमा १८ वर्ष उमेर कटिसकेकालाई पनि राख्ने प्रचलनले द्वन्द्वको स्थिति सिर्जना हुन्छ।’ बाँकेमा आफ्नै साथीहरूबाट एक जनाको मृत्युसमेत भएको र अर्को १८ वर्षमाथिका बिज्याईंकर्ताहरुलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको नौबस्ता बाल सुधार गृहमा बेलाबेलामा झडप हुने गरेको उनको भनाइ छ।
झडपपछि बाल सुधार गृहमा स्वच्छ खानेपानी, उपचारको व्यवस्था, शिक्षा, सीप विकास, मनोरञ्जनजस्ता माग सम्बोधन हुने सहमति हुन्छ। तर, यहीभित्रका बालबिज्याईंकर्ताहरु बिच झडप हुँदा यो मागसँग कुनै साइनो हुँदैन। बालबिज्याईंकर्ताहरुले भने सुधार गृहमा व्यवस्थापकीय पक्ष कमजोर भएको बताएका छन्। ‘स्वच्छ खानेपानी खान पाएका छैनौँ। खाना पनि त्यति राम्रो हुँदैन,’ एक जना बालबिज्याईंकर्ताले भने, ‘बाल सुधार गृह पनि कारागार जस्तो छ। आफन्त भेट्न पनि काँडे तारले छेकिन्छ।’ बाल सुधार गृह नाम मात्रको भएकाले यसलाई सहीरुपले व्यवस्थापन गर्नुपर्ने बालबिज्याईंकर्ताहरुले बताएका छन्। बाल सुधार गृहमा चुस्त दुरुस्त व्यवस्थापन नभएको बाल अधिकारकर्मी साहिल अन्सारीले जनाए। ‘सुधार गृहमा राखिएका बालबिज्याईंकर्ताहरुलाई सुधार हुने खालका गतिविधि गर्नुपर्छ,’ उनले भने, ‘बालबिज्याईंकर्ताहरुको शिक्षा, सीपमूलक कार्य तथा उत्पादन, खेलकुद लगायतका क्रियाकलाप गर्नुपर्छ। जसले गर्दा उनीहरूमा सकारात्मक सोच विकास हुन्छ।’ उनीहरूलाई सुधार गृहमा कोचाकोच गरेर राख्दा उनीहरूको सोच आपराधिक गतिविधितिर जाने भन्दै उनले भने, ‘सुधार गृहमा रहेका बालबिज्याईंकर्तालाई सुधार्ने हो। आपराधिक क्रियाकलापतिर ढकेल्ने होइन।’
बाल सुधार गृहमा व्यवस्थापनमा चुनौती हुँदा यहाँका बालबिज्याईंकर्ताहरु कुलतमा फस्ने बढी सम्भावना भएको आफन्तहरु बताउँछन्। ‘सुधार गृहमा सुध्रिएला भन्ने ठूलो आशा थियो,’ बालबिज्याईंकर्ताकी एक आफन्तले भनिन्, ‘तर सुधार गृहमा समूहगत झडप हुँदा आफन्त सुध्रिने त परकै कुरा हो उनीहरूको सुरक्षाको कुरामा चिन्ता लागिरहेको छ।’ बाल सुधार गृहमा रहेका बालबिज्याईंकर्ताहरुलाई सुध्रिने खालका गतिविधि गर्नु पर्ने उनको भनाइ छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...