‘घरबाटै लगाएर गएको’ गहनामा भन्सार शुल्क, तस्करका क्वीन्टल सुन भने सजिलै पास
२८ भदौ २०८०
•
५ मिनेट पाठ
‘घरबाटै लगाएर गएको’ गहनामा भन्सार शुल्क, तस्करका क्वीन्टल सुन भने सजिलै पास
वैदेशिक रोजगारबाट गत बिहीबार नेपाल फर्किएका गुल्मीका प्रकाश अर्यालले नेपालमै बनाएर लगाएर गएको सुनमा पनि भन्सार कर लिएको उल्लेख गर्दै फेसबुकमा स्ट्याटस लेखे। 




नेपालमै बनाएर लगाएको गहनामा पनि कर तिर्न लगाइएको बताउँदै उनले लेखेको स्ट्याटसमा त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयप्रतिको आक्रोश प्रष्ट देखिन्थ्यो। अर्यालले लगाएको ६९ ग्रामको सिक्रीमा ५६ हजार ६५८ भन्सार शुल्क तिर्नुपर्‍यो।

प्रकाश अर्यालले नेपालमै बनाएको गहनाको बिल (बायाँ) भन्सारमा तिरेको महसुल रसिद (दायाँ)
‘मैले उक्त गहना नेपालमै बनाएर बिल सहित लगाएर गएको थिए। अहिले फर्कँदा नियम विपरीत भयो भनेर सो गहनामा कर लगाइयो। नेपालमै बनाएको बिल देखाएर अनुरोध गरे पनि भन्सारका कर्मचारीहरूले मान्नुभएन। नियम अनुसार तपाईँले जसरी भएपनि कर तिर्नै पर्छ नत्र हामी सुन दिँदैन भनेपछि कर तिर्न बाध्य भए’, उनले नागरिकन्यूजसँग भने।

पछिल्ला दिनमा तस्करी गरेर ल्याइएका क्वीन्टलका क्वीन्टल सुन त्यही भन्सार कार्यालयबाट सजिलै पास भए। त्यस्ता सुन एजेन्टको हात हुँदै तस्कर र बिचौलियासम्म पुगे। तस्करका लागि त्यहाँ कुनै कानुन आकर्षित भएन। सर्वसाधारणका लागि भन्सार कानुन निर्दयी तरिकाले कार्यान्वयन भयो।

सरकारमा बसेकाहरुले बाहिर जतिसुकै सर्वसाधारण मैत्री कानुन बनाउने आश्वासन र प्रतिवद्घता जनाए पनि त्यो व्यवहारमा लागु हुन सकेको छैन। त्यसैले सर्वसाधारणले ५० ग्राम र २५ ग्राम सुनमै यातना भोगिरहेका छन्। यतिसम्म की नेपालबाटै लगाएर गएको सुनको समेत भन्सार तिर्नुपर्ने कानुनी व्यवस्था छ।

पछिल्लो समय ३ सय ६० किलोभन्दा बढी सुन पनि त्यहीको भन्सार कार्यालयबाट सहजै पास भयो। त्यही भन्सार कार्यालय हो जहाँ महिलाले ल्याएको ५० ग्राम भन्दा माथि र पुरुषले ल्याएको २५ ग्राम भन्दा माथिको सुन भन्सार तिर्नुपर्छ। सर्वसाधारणलाई भने महिलाले ५० र पुरुषले २५ ग्राम सुन मात्र ल्याउन पाउने नियमबारे जानकारी नै नभएको पछिल्ला घटनाक्रमहरुबाट पुष्टि भएको छ। यही नियमको परिबन्दमा सर्वसाधारणले भन्सार निकै सास्ती व्यहोरी रहेका छन्।

नेपाल सरकार भन्सार ऐन, २०६४ अनुसार विदेशबाट आउने यात्रुले २ सय ग्रामसम्म सुन ल्याउन सक्ने व्यवस्था गरिएको छ। महिलाको हकमा ५० र पुरुषको हकमा २५ ग्रामसम्म सुन भन्सार महसुल नतिरी ल्याउन पाइन्छ। त्योभन्दा बढी ल्याउन चाहेमा भन्सार तिरेर दुई सय ग्रामसम्म ल्याउन पाइन्छ।

२०८० साल जेठ १५ गतेदेखि लागू हुने गरी संशोधन गरिएको भन्सार ऐनमा यो व्यवस्था गरिएको उल्लेख छ। यस अघि महिला पुरुष दुवैले ५० ग्रामसम्म भन्सार महसुल नतिरी ल्याउन पाइने व्यवस्था थियो।

गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नहुने कानुनी व्यवस्था रहेको छ। भन्सार महसुल तिरेर ल्याउन पाउने र नतिरी ल्याउन पाउने सुनको सवालमा जानकारी नै नपाउँदा वैदेशिक रोजगारीबाट फर्केका युवाहरू समस्यामा पर्ने गरेका छन्। नेपाली नागरिकले नेपालमै बनाएर लगाएर गएको सुनमा पनि भन्सार तिर्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था छ।

आफूले श्रम गरेर नेपालबाटै किनेको सुनमा पनि कर तिराइनु उचित नभएको पीडित अर्यालको भनाइ थियो।

‘विदेशबाट आउँदा पुरुषको हकमा २५ ग्राम र महिलाको हकमा ५० ग्राम मात्र ल्याउन पाउने नियम छ भन्नु भयो तर नेपालमै बनाएर लगाएर सुनको हकमा बिलसहित छ भन्दा पनि उहाँहरुले प्रष्टिकरण दिन सक्नुभएन। ‘भन्सार कर्मचारीले नियम चित्त नबुझे मुद्दा हाल्नुस् भन्छन् हामी श्रम गर्न गएका श्रमिक कहाँ मुद्दा मामिलाको झन्झट पर्नु र?’ उनले गुनासो गरे। 

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी अम्बिकाप्रसाद खनालले नेपालबाटै बनाएर लगाएर गएको हकमा पनि भन्सार तिर्नुपर्ने कानुनी प्रावधान रहेको जानकारी दिए।

‘सर्वसाधारणका लागि आफूले पहिलै किनेर लगाएको सुनमा पनि वैदेशिक रोजगारबाट फर्कँदा भन्सार तिर्नुपर्ने कुरा दुःखद् छ। हामीले नागरिकको सहजताका लागि यी सबै कुराहरू उल्लेख गरेर यस अघि संशोधनका लागि पठाएका थियौँ। तर कानुन संशोधनमा यी कुराहरू परेनन्’, उनले भने।

उनका अनुसार संशोधित कानुनले नेपाली पुरुषको हकमा २५ ग्राम र महिलाको हकमा ५० ग्राम सम्मको सुनको गहना महसुल नतिरी ल्याउन दिन्छ। विदेशबाट आउँदा कुनै पुरुषले २६ ग्राम सुन ल्याएको छ भने उसले कानुन अनुसार २५ ग्राम मात्र छुट पाउँछ। २५ ग्राम कटाएर बाँकी रहेको १ ग्रामका पनि महसुल तिर्नुपर्ने हुन्छ।

यदि कुनै पुरुषले विदेशबाट आउँदा २६ ग्राम सुन ल्याएको छ भने उसले पहिले स्वयम घोषणा गरेर एक ग्राम सुनको भन्सार महसुल तिर्नै पर्ने हुन्छ। तर, उसले घोषणा गरेन र छानबिनमा पर्याे भने चोरी पैठारीमा राखिन्छ। सुन जफत गरिन्छ। सुनको मूल्य बराबरको जरिबाना तिराइन्छ। अझ तोकिएको भन्दा बढी मात्रामा सुन ल्याएको खण्डमा तस्करीमा समेत पर्छन्।

आफूले सुन चोरी पैठारी नगरेको गुनासो लिएर त्रिभुवन विमानस्थल कार्यालय प्रमुखसँग दैनिक औसत १० वटा यस्तै गुनासो आउने गरेका छन्।

भन्सार विभागका निर्देशक सूचना अधिकारी पुण्य विक्रम खड्काले नेपाल सरकारले तोकेको मापदण्डभन्दा बाहेक अन्य कुनै पनि किसिमले सुनको ओसारपोसार गर्न नपाइने बताए। अधिकांश मानिसहरू छिट्टै धनी बन्न खोज्दा चोरी पैठारीका बढेका हुँदा यसलाई नियुनिकरण गर्न कानुनमा अलि कडाइ गरिएको उनको भनाइ थियो।

‘कानुन नागरिककै सुविधाका लागि बनाइने हो। गरगहना लगाउने सुविधा पनि कानुनले दिएको छ। नेपाली संस्कार, रीतिरिवाज अनुसार महिलाहरूले बढी मात्रामा गरगहना प्रयोग गर्ने हुँदा उहाँहरूलाई ५० ग्राम सम्म कानुनले छुट दिएको छ। पुरुषको हकमा सामान्य गरगहना लगाउने हुँदा २५ ग्रामसम्म छुट दिएको छ’, उनले भने।

खड्काले मानिसहरू वैदेशिक रोजगारीमा जाँदा नेपालमै नक्कली बिल बनाएर लैजाने खालका घटनाहरु पनि देखिएको हुँदा त्यस तर्फ पनि कडाइ गरेको बताए। ‘कतिपय मानिसहरुले नेपालमै केही नक्कली बिल बनाएर छाप लगाएर यो मैले नेपालमै बनाएर ल्याएको हो भन्ने घटनाहरु पनि देखिए। अब कसलाई सही भन्ने कुन कानुनलाई ठिक र बेठिक भन्ने। त्यस कारण कानुन आफैमा पनि कडा हुनै पर्छ।’ उनले कानुन खुकुलो हुँदा दुरुपयोगका घट्नाहरुको बढेका हुँदा सोही अनुसार कानुनी व्यवस्था गरिएको बताए।

यस्तै चाँदीका गहनामा ५ सय ग्रामसम्म महसुल तिरेर ल्याउन पाइन्छ। विदेशबाट नेपाल आउने नेपालीले एक लाख रुपैयाँ सम्मको जवाहिरात जडित सुनका वा चाँदीको गहना महसुल तिरेर ल्याउन पाउने प्रावधान छ। सो भन्दा बढी ल्याए जफत वा पक्राउसम्म पर्न सक्ने उनले बताए। भन्सारका अधिकारीहरूका अनुसार प्रहरीले समाएपछि जति बढी सुन भएपनि त्यो सुन जफत गर्नुका साथै त्यही मूल्य बराबरको जरिबाना तिर्नुपर्ने हुन्छ।
अर्को समाचार
पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन
०४ कार्तिक २०८०
•
३ मिनेट पाठ
पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन
अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७३ वर्षपछि पहिलो पटक पूर्ण क्षमतामा सञ्चालनमा आएको छ। दसैँ सुरु भइसकेको र पर्यटकीय याम पनि भएकाले विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुबैतर्फ हवाई उडान बढेको हो।




मुलुकको पुरानो र अति व्यस्त त्रिभुवन विमानस्थलमा पछिल्लो दुई दिनदेखि हालसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले जनाएको छ। सामान्यतयाः दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा पछिल्ला दिनमा दैनिक दुईतर्फी एक सय १० देखि एकसय १३ उडान÷अवतरण भएको विमानस्थल कार्यालयको भनाइ छ।

विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार दसैँको घटस्थापनायता दैनिक घटस्थापनायता हवाई उडानमार्फत १६ हजारदेखि १७ हजार हवाई यात्रु आवतजावत गरिरहेका छन्। उनका अनुसार गत असोज २९ गते अन्तर्राष्ट्रिय उडानतर्फ एक सय १३ उडान भएका थिए। जुन एक दिनमा भएको अहिलेसम्मकै बढी उडान सङ्ख्या हो। गत असोज ३० गते एक सय १० र कात्तिक १ देखि ३ गतेसम्म दैनिक एकसय १० भन्दा बढी अन्तर्राष्ट्रिय उडान भइरहेका छन्।

'विमानस्थलको उडान इतिहासमा यो सबैभन्दा बढी उडान हो। चाडपर्व र पर्यटकीय सिजनले पनि अन्तर्राष्ट्रिय र आन्तरिक उडान चाप बढिरहेको छ', विमानस्थलका महाप्रबन्धक तिवारीले भने। अन्तर्राष्ट्रिय उडानतर्फ ‘वीन्टर सिजन’का लागि बढी उडानको माग रहेको उनले जानकारी दिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्।

विमानस्थल कार्यालयका अनुसार अहिले आन्तरिकतर्फ दुईतर्फी दैनिक तीन दुई सय ७० उडानमार्फत करिब १४ हजार यात्रुले सेवा लिइरहेका छन्। महाप्रबन्धक तिवारीले विमानस्थलमा अहिले आन्तरिक र अन्तर्राष्ट्रिय दुबै गरी झण्डै पाँच सय उडान भइरहेको बताए। उनले भने, 'दैनिक पाँच सय हाराहारी उडान निकै बढी हो, विमानस्थल स्थापनाभएयता हालसम्मकै बढी उडान र यात्रु आवतजावत भइरहेका छन्।'

विमानस्थल कार्यालयका अनुसार कात्तिक १ गते बुधबार मात्रै आन्तरिकतर्फ १५ हजार बढीले हवाई यात्रा गरेका थिए। उक्त दिन बुद्ध एयरले मात्रै आठ हजार नौ सय यात्रुलाई सेवा दिएको थियो। सो दिन यती एयरलाइन्सले दुई हजार ६ सय ५१, श्री एयरलाइन्सले एक हजार आठ सय ३९ र सौर्य एयरले तीन सय ४० यात्रुलाई सेवा दिएका थिए।

नेपाल वायुसेवा निगमको आन्तरिक उडानका विभिन्न गन्तव्यमा यात्रु भरिभराउ छन्। दुई थान ट्वीनअटर जहाज मात्रै रहेको निगमको आन्तरिक उडानमा सर्वाधिक माग रहेपनि जहाजको सीमितताले थोरै सङ्ख्यामा देशका दुर्गम भेगमा उडान भइरहेको छ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अहिले आन्तरिकतर्फ देशका विभिन्न १६ गन्तव्यमा दैनिक २२ वटा उडान गर्दै आएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिघण्टा अन्तर्राष्ट्रियतर्फ एक हजार पाँच सय र आन्तरिकतर्फ हरेक घण्टा पाँच सय यात्रु व्यवस्थापन गर्ने क्षमता छ।

कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए। कोभिडपछि विमानस्थलमा निरन्तर हवाई उडान र यात्रु सङ्ख्या बढिरहेको विमानस्थलले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस