४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

आमा-छोरीको हत्या, बाबु-छोरा फरार, सासू-जेठानी प्रहरी नियन्त्रणमा

अबोध बालिकासहित आमाको हत्या गरी फरार भएको आशंका गरिएका बाबु छोरा अझै पनि पक्राउ परेका छैनन्। प्रहरीले खोजी कार्य जारी रहेको भए पनि दुवै जनामध्ये कोही पनि फेला नपरेको प्रहरीको भनाइ छ।

शुक्रबार राति मौलापुर नगरपालिका ४ पतौरामा २४ वर्षकी कवितादेवी साह र उनकी २० महिनाकी अबोध छोरी आरुही साहको हत्या गरिएको अवस्थामा शव भेटिएको थियो। २० महिने अबोध बालिकाको शव सिलिङ पंखामा झुन्डिएको अवस्थामा फेला परेको थियो भने २४ वर्षीय महिलाको शव आगोले जलाएर घरभित्र हत्या गरिएको अवस्थामा फेला परेको थियो।

मृतक महिलाका पति तथा अबोध बालिकाको पिता धीरेन्द्र साह घटनापश्चात् फरार छन्। साथै धीरेन्द्रका पिता नागेन्द्र साह पनि घटनापश्चात् फरार रहेका छन्। घरका अन्य पुरुषहरू पनि बेपत्ता छन्। घटनापछि घरमा पुगेका प्रहरीको टोलीले सोधपुछका लागि मृतक कवितादेवी साहकी सासू मैनादेवी र जेठानी निशा देवीलाई नियन्त्रणमा लिई अनुसन्धानलाई अगाडि बढाएको छ।

मृतक कविताका बुबा माधव नारायण नगरपालिका ५ विजयकुमार साहले आफ्ना ज्वाइँ धीरेन्द्र साहले दाइँजोको लागि पहिलेदेखि नै छोरीलाई सताउने गरेको बताएका छन्। सुनको सिक्री, सुनको औँठी तथा पलङ र अन्य सामग्रीको निरन्तर माग गर्दै ज्वाईँ साहले छोरीलाई कुटपिट गर्ने गरेको तथा अन्य शारीरिक र मानसिक यातना दिने गरेको बताए।

पहिलेदेखि नै दाइँजोको विषयमा झैँझगडा हुने गरेको मृतकका बुबाले बताएको र घटनापछि घरका पुरुषहरू फरार रहेकाले बाबु र छोरा मिलेर नै आमा छोरीको हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ।

घटनाबारे अत्यन्त गम्भीर भएर प्रहरीले अनुसन्धान गरिरहेको र फरार दुवै जनाको खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी गराएका छन्।

घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र अपराधीहरुले कडाभन्दा कडा सजाय पाउनु पर्ने माग मृतक कविताका बुबाले गरेका छन्।

यसैबिच मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनाकुमारी साहले घटनाको निष्पक्ष छानबिन गरेर दोषीमाथि कडा कारबाहीको माग गरेकी छन्।

प्रकाशित: १७ असार २०८० १४:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App