राहदानी लिने जानेको संख्या ह्वात्तै बढेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले राहदानीको काम गर्ने समयावधि थप गरेको छ।
जिल्ला प्रशासन कार्यालय रौतहटले विद्युतीय राहदानीको लागि कार्यालयमा बढेको भीडसँगै कार्यालयले दिने सेवाको समय विस्तार गरेको हो।
रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको विशेष पहलमा बिहान ७ बजेदेखि विद्युतीय राहदानीको काम सञ्चालनमा ल्याएको जानकारी गराएका छन्। कार्यालयमा सेवाग्राहीको चापको कारण बिहान सात बजेदेखि दिउँसो पाँच बजेसम्म राहदानी सेवाको काम विस्तार गरिएको प्रजिअ मिश्रले जानकारी गराएका छन्।
आइतबारदेखि बिहीबारसम्म बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म र शुक्रवार बिहान सात बजेदेखि दिउँसो तिन बजेसम्म विद्युतीय राहदानीको काम सञ्चालनमा ल्याइएको प्रजिअ मिश्रले जानकारी गराए।
विद्युतीय राहदानीको फर्म भराउने तथा बायोमेट्रिक सेवा जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशन गरी निःशुल्क गराइरहेको छ। सेवाग्राहीको सुविधाको लागि कार्यालय परिसरभित्र सन्देश प्रसारण गर्न लागि साउन्ड सिस्टम जडान गरिएको छ। यसै गरी गर्मीमा सेवाग्राहीलाई राहतको लागि बढी चहलपहल हुने ठाउँमा प्रतीक्षालयमा पंखाहरु पनि जडान गरिएको प्रजिअ मिश्रको भनाइ छ।
कार्यालयको तर्फबाट प्रदान हुने सेवा तथा सुविधामा सम्भव भएसम्म सहज बनाउने प्रयास गरिरहेको बताउँदै कर्मचारीलाई दुई सिफ्टमा काम गर्ने गरी व्यवस्था मिलाइएको प्रजिअ मिश्रको भनाइ छ।
कार्यालयको काम प्रभावित नहुने र भीड भाडमा धेरै बेर सेवाग्राहीलाई बस्न नपर्ने गरी सेवा र सुविधाको विस्तार पनि गरिएको प्रजिअ मिश्रले बताए।
काठमाडौं। जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रतिबद्धतासहित ‘काठमाडौं जलवायु घोषणा, २०८३’ जारी गरेको छ।
जलवायु न्याय, समावेशी विकास र उत्थानशील सहर निर्माणलाई केन्द्रमा राखेर महानगरपालिकाले आइतबार एक सातादेखि सञ्चालन भइरहेको काठमाडौं जलवायु कार्य सप्ताहको समापनका अवसरमा उक्त घोषणा सार्वजनिक गरेको हो।
मंसिर ७ देखि १३ गतेसम्म आयोजित सप्ताहबाट प्राप्त ज्ञान, अनुभव, सुझाव र सिकाइलाई कार्यान्वयनमा रूपान्तरण गर्ने उद्देश्यले घोषणा जारी गरिएको महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताइन्।
घोषणामा जलवायु परिवर्तन मानव सभ्यताको साझा चुनौती भएको उल्लेख गर्दै यसको सामना गर्न स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म सहकार्य, समन्वय र समावेशी सहभागिता आवश्यक रहेको औँल्याइएको छ।
जलवायु न्यायको सिद्धान्त आत्मसात् गर्दै विकसित राष्ट्रको जिम्मेवारी तथा विकासशील राष्ट्र र जोखिममा रहेका समुदायका आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
घोषणापत्रले सात क्षेत्रमा प्रतिबद्धता जनाएको छ। यी प्रतिविद्धतामा, पहिलो, जलवायु परिवर्तनलाई साझा चुनौतीका रूपमा स्वीकार गर्दै साझा समाधानको प्रयास गर्ने रहेको छ भने दोस्रोमा जलवायु परिवर्तनसम्बन्धी विषयलाई नयाँ पुस्ताको सरोकार बनाउने विषय समावेश छ।
यसैगरी, तेस्रोमा प्रकृतिमैत्री विकास र प्रकृतिमा आधारित समाधानलाई प्राथमिकता दिने तथा चौथोमा , काठमाडौं उपत्यकाको विशिष्ट पहिचान संरक्षण गर्दै जलवायु उत्थानशील सहर निर्माण गर्ने विषय समावेश छ।
यसैगरी पाँचौँ प्रतिविद्धतामा जलवायु अनुकूलन र न्यूनीकरणका कार्यक्रममा नागरिक तथा समुदायको सहभागिता बढाउने र छैटौँमा जलवायु न्यायको केन्द्रमा नागरिक र जोखिममा रहेका समुदायलाई राख्ने विषय समावेश छ। सातौँ तथा अन्तीम वुदामा प्रतिबद्धतालाई कार्यान्वयनमा लैजाने कुरा समेटिएको छ।
महानगरपालिकाले विद्यालय तहदेखि नै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, वातावरण संरक्षण, जलस्रोत व्यवस्थापन र दिगो विकाससम्बन्धी विषयलाई स्थानीय पाठ्यक्रममा समावेश गर्ने जनाएको छ।
बालबालिका, युवा तथा नयाँ पुस्तालाई जलवायु परिवर्तनका असर र समाधानका विषयमा सचेत बनाउँदै निर्णय प्रक्रियामा समेत सक्रिय सहभागी गराउने घोषणा गरिएको छ।
त्यस्तै, विकासका नाममा प्रकृति, नदी, खोला, वन, सिमसार, खुला क्षेत्र र जैविक विविधतामाथि पर्ने दबाब घटाउन रैथाने ज्ञान, स्थानीय सीप र वैज्ञानिक अनुसन्धानलाई विकास आयोजनासँग जोड्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
विकासका हरेक योजना तथा आयोजनामा जलवायु जोखिम मूल्याङ्कन, वातावरणीय संवेदनशीलता र दीर्घकालीन प्रभावलाई अनिवार्य रूपमा समेटिने घोषणामा उल्लेख छ।
काठमाडौं उपत्यकाको भौगोलिक बनावट, वन तथा जलाधार क्षेत्र, परम्परागत पानीका स्रोत र नदी सभ्यतासहितको विशिष्ट पहिचान संरक्षण गर्दै जलवायु उत्थानशील सहर निर्माण गर्ने प्रतिबद्धता पनि गरिएको छ।
यसका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना कार्यान्वयन, वायु प्रदूषण नियन्त्रण, आकाशे पानी तथा वर्षाको पानी सङ्कलन, रिचार्ज काठमाडौं अभियान, नदी तथा खोलाको पुनर्जीवन र हरित क्षेत्र विस्तारलाई प्राथमिकता दिइनेछ।
हिटी, पोखरी, राजकुलो तथा सांस्कृतिक सम्पदाको संरक्षण र सफा टेम्पो तथा बिजुली बसजस्ता विद्युतीय सार्वजनिक यातायातको प्रवद्र्धन पनि घोषणामा समेटिएको छ।
जलवायु अनुकूलन र न्यूनीकरणका कार्यक्रमलाई सम्मेलन र नीतिमा मात्र सीमित नराखी नागरिकको दैनिक जीवनसँग जोड्ने महानगरको प्रतिबद्धता छ। सहरी नीति, योजना, बजेट तथा कार्यक्रम तर्जुमा गर्दा स्वच्छ ऊर्जा, ऊर्जा दक्षता, फोहोरमैला व्यवस्थापन, मिथेन उत्सर्जन न्यूनीकरण, सार्वजनिक यातायात, हरित पूर्वाधार, पानीको मितव्ययी उपयोग र दिगो उपभोगलाई प्राथमिकता दिइनेछ। विपद् आउनुअघि तयारी गर्ने, जोखिम घटाउने र क्षति भएपछि पुनःस्थापना गर्ने क्षमता पनि संस्थागत गरिनेछ।
घोषणाले जलवायु न्यायको केन्द्रमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विपन्न समुदाय, अनौपचारिक बस्तीका बासिन्दा तथा जलवायु जोखिममा रहेका अन्य समूहलाई राखेको छ।
स्थानीय ज्ञान, परम्परागत सीप, रैथाने खाना र दिगो खाद्य प्रणालीलाई वैज्ञानिक अनुसन्धानसँग जोड्दै समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ। जलवायु सुरक्षा सुविधा नभई प्रत्येक नागरिकको अधिकारका रूपमा स्थापित गर्ने घोषणामा उल्लेख छ।
घोषणा सार्वजनिक गर्दै कार्यवाहक प्रमुख डंगोलले जलवायु सप्ताहबाट प्राप्त ज्ञान, अनुभव र सुझावलाई कार्यान्वयनमा रूपान्तरण गर्न महानगरपालिका प्रतिबद्ध रहेको बताइन्।
उनले जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण गर्दै काठमाडौंलाई उत्थानशील सहर बनाउने अभियानमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरिन्।
‘जलवायु परिवर्तन मानव सभ्यताको साझा चुनौती भएकाले स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म सहकार्य, समन्वय र समावेशी सहभागिता सुनिश्चित गर्दै जलवायु न्यायको सिद्धान्त आत्मसात् गर्नेछौँ,’ उनले भनिन्।
जलवायु सप्ताहमा उठेका विषय, छलफल र निष्कर्षलाई कार्ययोजना, समयसीमा, जिम्मेवार निकाय र मापनयोग्य उपलब्धिसहित कार्यान्वयनमा लैजाने महानगरपालिकाले जनाएको छ।
यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार, विकास साझेदार, गैरसरकारी संस्था, निजी क्षेत्र, प्राज्ञिक तथा अनुसन्धान संस्था र समुदायबीच दीर्घकालीन साझेदारी तथा सहकार्य संयन्त्र विकास गरिनेछ। जलवायु वित्त, प्रविधि र ज्ञानमा स्थानीय तहको पहुँच विस्तार गर्दै पारदर्शी अनुगमन, नियमित समीक्षा र सार्वजनिक जवाफदेहिताको व्यवस्था गर्ने प्रतिबद्धता पनि घोषणामा गरिएको छ।
घोषणापत्रमा प्रतिबद्धता कार्यान्वयन गर्नु साझा दायित्व भएको उल्लेख गर्दै बहुक्षेत्रीय समन्वय, संस्थागत साझेदारी, स्रोत परिचालन र नियमित अनुगमनमार्फत काठमाडौं जलवायु घोषणा, २०८३ कार्यान्वयन गर्ने सङ्कल्प व्यक्त गरिएको छ।
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...
उनी आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन्। पार्टी प्रवेशसँगै उनले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगर...
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले अमेरिकी सेनाविरुद्धको सैन्य अभियानमा स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको...