बाँके (अगैया)–निर्माणसम्पन्न नहुँदै राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर ठाउँ–ठाउँमा चर्केको (दरार) तथ्य फेला परेको छ ।
बाँके, कचनापुर–१ अगैयास्थित मूल बाँध निर्माणस्थलदेखि ३५ किलोमिटर मूल नहरका अधिकांश भाग चर्केको फेला परेको हो । मूल नहरका स्लोप कतै चर्केका छन् भने कतै दबेर भास्सिएका ।
ठेकेदारले आफ्नो गल्ती ढाकछोप गर्न केही भागमा सिमेन्टको घोलले पोतेको देखिन्छ, केही ठाउँमा भने चर्केका चिरा प्रस्ट देखिन्छन् । मूल नहरको ठाउँठाउँमा दरार देखिए पनि अहिलेसम्म आयोजना कार्यालयले यसलाई सार्वजनिक गरेको थिएन ।
आयोजना कार्यालयका अनुसार मूल नहरको चौडा साढे २० मिटर र सतह साढे ८ मिटर छ । मूल नहरको प्रत्येक ठाउँमा साढे ७ मिटरका स्लोप निर्माण गरिएको छ । स्लोप चार इन्च बाक्लो छ जसमा ७ एमएम साइजको सरिया २० सेमीको फरकमा राखिएको छ । मूल नहरको प्रत्येकजसो स्लोपका कुनै न कुनै भाग चर्केको छ । स्लोप चर्केको ठाउँबाट पानी चुहिँदा परीक्षणकै क्रममा महादेवपुरी–५ ढकेरीस्थित झिझरी खोलाछेउ मूल नहर दुई दिनअघि भत्किएको थियो ।
मूल नहर भत्किएपछि अन्य ठाउँको पनि अनुगमन गर्दा धेरै ठाउँमा चर्केको फेला परेको हो । सरकारको उच्च प्राथमिकतामा रहेको आयोजनाको काम गुणस्तरहीन हुनुमा कमसल निर्माण सामग्री प्रयोग मुख्य कारण भएको मूल नहर निर्माणस्थलका स्थानीय बताउँछन् । महादेवपुरी–२ का स्थानीय एवं पूर्वसांसद अशोक रोकायले दुई वर्षअघि नै मूल नहर निर्माणका क्रममा काम चित्तबुझ्दो नदेखेपछि सम्बन्धित ठेकेदारको ध्यानाकर्षण गराए पनि आलटाल गरेको स्मरण गर्छन् । ‘मूल नहर बनाउने क्रममै हाम्रो मनमा खुल्दुली जागेको थियो, त्यतिबेला ठेकेदारले केही फरक पर्दैन भनेर हामीलाई पन्छायो, त्यसको परिणाम मूल नहर ठाउँठाउँमा चर्कियो,’ उनले भने ।
मूल नहर चर्किनुमा अन्य कुनै कारण नभएर निर्माणमा चरम लापरबाही भएको पूर्वसांसद रोकायको भनाइ छ । रोकायले थपे, ‘ठूलो ठेकेदारले ठेक्का सम्झौता गर्ने, सबै काम पेटी ठेकेदारले गर्ने, अनि पेटी ठेकेदारले जथाभाबी काम गर्दा नहर गुणस्तर हुन सकेन ।’
सञ्चालनमा नआउँदै नहरमा दरार परेपछि सिक्टा सिँचाइ आयोजना दिगो हुनेमा उनको आशंका छ । सिक्टामा भएको कमजोरीको अध्ययन गर्न एउटा छुट्टै आयोग बनाएर निर्माणमा संलग्न ठेकेदार, प्राविधिक लगायतलाई कारबाही गर्नुपर्ने पूर्वसांसद रोकायको सुझाव छ ।
आयोजनाको बाँध निर्माणस्थल कचनापुरका बासिन्दा पनि ठेकेदारको कामप्रति सन्तुष्ट छैनन् । कचनापुरका स्थानीय एवं पूर्वमन्त्री प्रेमबहादुर भण्डारीले काममा गुणस्तर नहुँदा सिक्टाको नहर ठाउँ–ठाउँमा चर्किएको बताए ।
‘हाम्रो गाउँतिर नहर बन्दा नै गुणस्तरका विषयमा पटक–पटक आवाज उठेकै हो तर सम्बन्धित निकायले चासो दिएनन्,’ पूर्वमन्त्री भण्डारीले भने, ‘त्यसको परिणाम नहर चर्कियो र एक ठाउँमा त भत्किइसक्यो ।’ सम्बन्धित ठेकेदारलाई दिगो रुपले मर्मत गर्न लगाएर कानुनी कारबाही गर्नुपर्ने उनको माग छ ।
सिक्टा सिँचाइ आयोजनाका निर्देशक सरोज पण्डित मूल नहर विभिन्न ठाउँमा चर्केको स्वीकार गर्छन् । ‘मूल नहरको ३५ किमी खण्डको ठाउँ–ठाउँमा चर्केको छ, कतिपय ठाउँमा त चर्केको ठाउँबाट पानी खसेर ठूलो भ्वाङ परेको छ,’ उनले भने ‘ठेकेदारलाई हामीले केही ठाउँमा सामान्य मर्मत गर्न लगाएका छौं, केही ठाउँमा त भत्काएर पनि बनाउन लगाएका छौं ।’
निर्माणसम्पन्न भएको एक वर्षभित्रै मूल नहरको ३५ किमी खण्डमा यस्तो समस्या देखा परेको उनले सुनाए । उक्त खण्ड निर्माणमा ठूलो हिस्सा लिएको ‘कालिका सिटिसिई जेबी’ ले काम गरेबापतको भुक्तानी लिइसकेको निर्देशक पण्डितले बताए । ‘ठेकेदारले भुक्तानी लिइसके पनि मूल नहर जहाँ–जहाँ चर्केको छ, त्यो ठाउँमा पुनः निर्माण गर्न लगाउँछौं,’ उनले थपे । २०६३ बाट निर्माण सुरु भएको आयोजनाले एक दशक अवधिभित्र दायाँ मूल नहर निर्माण गर्न कालिका सिटिसिई जेबीसहितका साना–ठूला ठेकेदारसँग सम्झौता गरेको थियो ।
मूल नहरको कुल लम्बाइ ४५ किमीमध्ये ३५ किमी खण्डको काम गत वर्ष मात्र सम्पन्न भएको थियो । त्यसमध्येको १७ किमी ७ सय मिटर क्षेत्र ठेकेदारबाट हस्तान्तरण भए पनि बाँकी खण्ड हस्तान्तरण हुने क्रममा थुप्रै कमजोरी फेला परेका छन् । आयोजना निर्माण हुन बाँकी रहेको १० किमी मूल नहरको काम चालु वर्षबाट सञ्चालन क्रममा छ जसको ठेक्का पनि कालिका सिटिसी जेबीले नै पाएको छ । आयोजना कार्यालयका अनुसार बाँधस्थलदेखि ३५ किमी मूल नहर खण्ड सम्पन्न हुँदासम्म साढे १२ अर्ब रुपैयाँ सरकारले खर्च गरिसकेको छ । २०७३/७४ सम्म सम्पन्न भइसक्ने लक्ष्य राखिएको आयोजनाको कुल लागत खर्च २५ अर्ब पुग्ने अनुमान छ ।
आयोजनाको मूल नहरमै कमजोरी फेला पर्दासमेत सरकारले अहिलेसम्म छानबिन नगरेको भन्दै स्थानीय आक्रोशित छन् । ‘सरकारको लगानीमा बन्न लागेको सिक्टामा ठेकेदारको कमी, कमजोरी पत्ता लाग्दा पनि छानबिन गरी कारबाही नगर्नु दुःखद हो,’ कचनापुरका स्थानीय पवन शाहले भने ।