कांग्रेसमा पुस्तान्तरणः पुरानो दलमा गगन र विश्वले नयाँ उत्साह
०२ पौष २०७८
•
९ मिनेट पाठ
कांग्रेसमा पुस्तान्तरणः पुरानो दलमा गगन र विश्वले नयाँ उत्साह
नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। नयाँ नेतृत्व चयनका लागि मंसिर २७ गते भएको निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न मतगणनामा २०४६ को राजनीतिक परिवर्तनपछि उदाएका दुई युवा नेता कांग्रेस महामन्त्रीको जिम्मेवारीमा पुगेका हुन्।




विद्यार्थी राजनीतिमा मात्र होइन,एउटै ‘स्कुलिङ’ बाट अघि बढेका शर्मा र थापा १४औं महाधिवेशनमा भने अलग समूहबाट महामन्त्रीको प्रतिस्पर्धामा उत्रिएका थिए। पार्टीको १३औं महाधिवेशनसम्म एउटै समूहमा रहेर सक्रिय उनीहरू त्यसपछि भने फरक समूहमा थिए।

१४औं महाधिवेशनमा शर्मा र थापामात्र होइन, धनराज गुरुङ, प्रदीप पौडेलसम्मका नेता एउटै समूहमा अटाउने पार्टीका नेता तथा कार्यकर्ताले अपेक्षा गरेका थिए। तर शर्मा, थापा र पौडेल अलगअलग समूहबाट एउटै पदको प्रत्याशी बने।

थापा नेता शेखर कोइरालाको समूहबाट महामन्त्रीको प्रतिस्पर्धामा उत्रिए भने शर्मा पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग जोडिन पुगे। पौडेल अन्तिम समयमा सभापति शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीको प्रतिस्पर्धामा उत्रिए। महामन्त्रीकै उम्मेदवार बन्ने घोषणा गरेका गुरुङ भने शेखर समूहबाट उपसभापतिको उम्मेदवार बनेर विजयी भएका छन्। नेपाल विद्यार्थी संघको राजनीतिमा गुरुङ सबैभन्दा सिनियर हुन्।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाका कारण १२औं महाधिवेशनपछि संघका पूर्वअध्यक्षमध्येबाट पार्टी केन्द्रीय सदस्यमा नपरेका शर्मा १३औं महाधिवेशनमा देउवा समूहमा जोडिन पुगे। उनले पार्टी प्रवक्ताका रूपमा सभापति शेरबहादुर देउवाको रक्षाकवच बनेर काम गरे।

तर १४औं महाधिवेशनको प्रतिस्पर्धामा उत्रिने अन्तिम समयमा उनै सिटौला फेरि देउवा समूहमा प्रवेश गर्दा शर्मा महामन्त्रीको उम्मेदवारबाट रिङआउट भए। देउवा समूहबाट प्रदीप र प्रकाशशरण महत महामन्त्रीको उम्मेदवार बने। बिपी कोइरालाको जन्मजयन्ती (भदौ २४) मा सुन्दरीजल पुगेर महामन्त्रीको उम्मेदवारी घोषणा गरेका शर्मा सिंहसँग जोडिँदै मैदानमा खडा भए।

कांग्रेसभित्र पुस्तान्तरण र रूपान्तरणका लागि युवालाई पार्टी नेतृत्वमा ल्याउनुपर्ने आवाज उठे पनि दरिलो बनेको गुट प्रभावमा शर्माले महामन्त्रीमा जित निकाल्नेमा धेरैले आशंका गरेका थिए। महाधिवेशन प्रतिनिधिले गुट होइन,विवेकको प्रयोग गर्दै शर्मा र थापालाई महामन्त्रीमा निर्वाचित गरेर पुस्तान्तरणको सन्देश दिएका छन्।

७५ वर्ष पूरा गरेका शेरबहादुर देउवालाई सभापतिमा निर्वाचित गरेका कांग्रेसका महाधिवेशन प्रतिनिधिको रोजाइमा महामन्त्री पदका लागि ५० वर्ष वरिपरिका शर्मा र थापा परे। २०३६ सालमा नेपाल विद्यार्थी संघको उपाध्यक्ष बनेका मीनेन्द्र रिजाल र २०४४ सालमा महामन्त्री बनेका प्रकाशशरण महतलाई पछि पार्दै २०५७ मा संघको अध्यक्ष बनेका शर्माले महामन्त्री सुरक्षित गरे।

उनले १ हजार ९ सय ८४ मत पाएका छन् भने २०५९ माघमा संघको महामन्त्री बनेका थापा झन्डै २० वर्षपछि पार्टी महामन्त्रीमा सर्वाधिक मतसहित पुगेका छन्। शेखर समूहबाट उम्मेदवार बनेका थापा सबैभन्दा बढी ३ हजार २३ मतसहित निर्वाचित भएका हुन्।

नेपाल विद्यार्थी संघको महामन्त्रीको जिम्मेवारीसँगै थापा राष्ट्रिय राजनीतिमा उदाएका हुन्। उनले २०६२÷०६३ को जनआन्दोलनपछि कांग्रेसभित्र मात्र होइन, मुलुकको राजनीतिमा नै सम्भावना बोकेको युवाका रूपमा छवि निर्माण गरेका थिए। नेपाल विद्यार्थी संघको अध्यक्ष बन्ने आकांक्षा पूरा नभए पनि समानुपातिकतर्फबाट संविधानसभा सदस्य बनेका थापा पार्टीको १२औं महाधिवेशन केन्द्रीय सदस्य बनेका थिए। 

१३औं महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहमा जोडिएर थापा महामन्त्रीको उम्मेदवार बनेका थिए। भागबन्डा हुँदा उनकै समूहबाट स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा पुगेका थापा पार्टी नेता तथा कार्यकर्ताको मात्र होइन,आम जनताको पनि मन जित्न सफल भएका थिए। पार्टीलाई देखिने र सुनिने बनाउन नेतृत्व परिवर्तनको पक्षमा उभिएका थापा देउवाविरोधी समूहमा गोलबद्ध हुँदै १४औं महाधिवेशनमा महामन्त्रीको प्रत्यासी बनेका थिए।

झापा धुलाबारीका शर्मा पार्टीभित्र मौलाएको गुटलाई छिचोल्दै महामन्त्रीको जिम्मेवारीमा पुगेका हुन्। २०२७ सालमा जन्मिएका शर्माले मेची क्याम्पसदेखि विद्यार्थी राजनीति थालेका हुन्। राजनीतिक चेत भएको परिवारमा हुर्केका शर्मा ०४८ पछि नेवि संघको केन्द्रीय सदस्य,महामन्त्री हुँदै विद्यार्थी राजनीतिमा उदाए।

उनी ०५७ सालमा नेवि संघको अध्यक्ष बनेका थिए। २०५९ सालमा कांग्रेस विभाजन हुँदा प्रमुख भ्रातृ संगठनका अध्यक्षमध्ये शर्मामात्र कोइराला नेतृत्वको पार्टीमा रहेका थिए। नेवि संघको इतिहासमा २ वर्षे कार्यकालभित्रै महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गरेका शर्मा संसदीय निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न भने असफल बनेका थिए। त्यसले गर्दा राष्ट्रिय राजनीतिमा शर्मा पछि परेको विश्लेषण गरिएका बेला गुटभित्र विद्रोह गर्दै पार्टीको महामन्त्रीको जिम्मेवारीमा पुगेका छन्।

थापा र शर्मा पार्टीका दुई वरिष्ठ नेता मीनेन्द्र रिजाल र प्रकाशशरण महतलाई पछि पार्दै महामन्त्रीको जिम्मेवारीमा पुगेका हुन्। १ हजार ५ सय ५६ मतसहित महत तेस्रो बनेका छन् भने प्रदीप पौडेलले १ हजार ३ सय ९३ मत ल्याएका छन्। रिजाल ८ सय ९ मतमा समेटिएका छन् भने महामन्त्रीका अर्का उम्मेदवार राजाराम कार्कीले जम्मा १ सय ६ मत पाएका छन्। कार्की विमलेन्द्र निधिको समूहबाट खडा भएका थिए।

हिजोसम्म पार्टीका नेताहरूलाई प्रश्न गरेर नेता तथा कार्यकर्तामाझ आफूलाई स्थापित गर्दै आएका थापा र शर्मा अब जवाफ दिने ठाउँमा पुगेका छन्। पार्टीलाई विधिविधानअनुसार सञ्चालन गर्न नसकेको भन्दै नेतृत्वमाथि निरन्तर खबरदारी गर्दै आएका उनीहरू निर्णय गर्ने ठाउँमा पुगेका छन्। कांग्रेस महामन्त्रीका रूपमा थापा र शर्माको भूमिकाले युवापुस्ताप्रतिको आशा र भरोसासमेत निर्धारण गर्नेछ।

महामन्त्रीमा निर्वाचित थापाले आफूलाई एक दिन पनि चुक्ने र थाक्ने सुविधा नभएको बताएका छन्। महामन्त्रीमा निर्वाचित भएपछि राजधानीमा आयोजना गरिएको धन्यवाद ज्ञापन कार्यक्रममा थापाले भने, ‘यो मतप्रति मैले न्याय गर्नुपर्छ। मसँग एक दिन पनि चुक्ने सुविधा छैन,एक दिन पनि थाक्ने सुविधा छैन। म अझै इमानदारीपूर्वक,परिपक्व ढंगले जिम्मेवारी निर्वाह गर्छु।’

१४औं महाधिवेशनले कांग्रेसलाई सम्पूर्ण रूपमा नेतृत्व बदल्ने अवसर दिए पनि त्यो सम्भव नभएको भन्दै उनले थपे, ‘महामन्त्रीको जिम्मेवारी सभापतिलाई सहयोग गर्ने हो। उहाँ चुक्नुभयो भने पार्टीको निर्णय गर्ने ठाउँमा उहाँलाई चुक्दै हुनुहुन्छ,नचुक्नुस् भनेर खबरदारी गर्ने हो, म त्यो जिम्मेवारी निर्वाह गर्नेछु।’

नवनिर्वाचित अर्का महामन्त्री शर्माले बिहीबार साँझै सुन्दरीजल पुगेर बिपी कोइरालाको परिकल्पनाअनुसार कांग्रेसलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन्। सबैको साथ र सहयोगले आफूलाई महामन्त्रीको जिम्मेवारीमा पुर्‍याएको बताउँदै शर्माले सिंगो नेपाली कांग्रेसलाई रूपान्तरित गर्ने,नयाँ ढंगले सुरुवात गर्ने यात्राको प्रारम्भ भएको दाबी गरे। ‘यो एउटा व्यक्तिको विजय पनि होइन, गुटको विजय पनि होइन।

सिंगो नेपाली कांग्रेसलाई रूपान्तरित गर्ने, नयाँ ढंगले सुरुवात गर्ने यात्राको प्रारम्भ हो,’ शर्माले भने,‘फरकफरक विचार समूहमा रहेका सबै साथीको मत प्राप्त गरेर जित्नु भनेको सिंगो कांग्रेसलाई सयौं थुंगा फूलका हामी एउटै माला नेपाली भने जस्तै भावनामा गाँस्नु हो। त्यही भावनाका साथ पार्टीमा काम गर्नेछु।’

कांग्रेसका डाक्टर पराजित

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पार्टी सभापति, उपसभापति र महामन्त्रीको प्रतिस्पर्धामा रहेका सबै डाक्टरहरू पराजित भएका छन्। सभापतिकै प्रतिस्पर्धामा रहेका चिकित्सक डा. शेखर कोइराला सभापति शेरबहादुर देउवासँग पराजित भए। यस्तै दुई उपसभापतिका लागि भएको निर्वाचनमा प्रत्यासी बनेका डा.(विद्यावारिधि) चन्द्रकान्त भण्डारी पनि पराजित भए।

भण्डारीलाई पछि पार्दै पूर्णबहादुर खड्का र धनराज गुरुङले जित निकालेका हुन्। पार्टीको दुई महामन्त्रीका लागि तीन डाक्टरसहित ६ जना प्रतिस्पर्धामा थिए। तीन डाक्टर प्रकाशशरण महत, मीनेन्द्र रिजाल र राजाराम कार्कीलाई पछि पार्दै युवा नेताद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापा निर्वाचित भएका छन्। महत र रिजाल विद्यावारिधि हुन् भने कार्की चिकित्सक हुन्।

सिटौला ‘फेल’

कांग्रेसभित्रको शक्ति संघर्षमा दुई दशकदेखि सफल हुँदै आएका झापाका नेता कृष्णप्रसाद सिटौला १४औं महाधिवेशनबाट भने आफ्नो लक्ष्य हासिल गर्न असफल भएका छन्। कांग्रेसभित्र कूटिल राजनीतिक खेलाडीको छवि बनाएका सिटौला २०५७ पछि पार्टी राजनीतिमा बिस्तारै हावी भएका थिए।

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाप्रसाद कोइरालाको विश्वासपात्र बनेर सिटौलाले काम गरेका थिए। कोइरालाको विश्वास जितेका सिटौला २०५८ मा चक्रप्रसाद बास्तोलालाई प्रधानमन्त्री हुनबाट रोक्न सफल भए। होलेरी काण्डमा नेपाली सेनाले असहयोग गरेपछि गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्रीबाट राजीनामा गरे।

आफ्नो ठाउँमा कोइराला झापाका नेता बास्तोलालाई अघि सार्ने पक्षमा थिए। तर बास्तोला प्रधानमन्त्री हुँदा राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका कमजोर हुने विश्लेषणमा रहेका सिटौलाले कोइराला परिवारमा नेतृत्व ल्याउन कठिन हुने विश्लेषण सुनाए। कोइराला परिवारभित्रको किचलोमा समेत खेल्दै उनले संसदीय दलको नेतामा सुशील कोइरालालाई अघि सारे।

शेरबहादुर देउवासँग सुशील कोइराला पराजित भए। त्यससँगै आफूलाई अझ मजबुत बनाएका सिटौला १२औं महाधिवेशनमा निर्णायक भूमिकामा प्रस्तुत भए। सुशील सभापतिमा निर्वाचित भएपछि सिटौला महामन्त्री बने।

१३औं महाधिवेशनमा सुशील सभापतिमा उठ्ने तयारी गर्दा रोक्न सिटौला सक्रिय भएका थिए। महाधिवेशनअघि नै सुशीलको निधन हुनपुग्यो। बदलिएको परिवेशमा संस्थापन पक्षबाट विद्रोह गर्दै सिटौला सभापतिको प्रत्यासी बने। शेरबहादुर देउवालाई सभापति बनाउन सहयोगी बनेका सिटौला पार्टीभित्र तेस्रो धारका रूपमा स्थापित भए।

१४औं महाधिवेशनसम्म आइपुग्दा देउवा समूहमा नै विलय भएका सिटौला यसपटक भने असफल भएका छन्। उनले देउवा समूहबाट आफू निकट नेता प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाएका थिए तर जिताउन सकेनन्।

सिटौलाको समर्थनपछि पहिलो चरणमै सभापतिमा निर्वाचित हुने देउवा पक्षको बुझाइ थियो। त्यो पनि सफल भए। सभापतिको निर्वाचन दोस्रो चरणमा गयो र अन्य दुई प्रत्यासी प्रकाशमान सिंह र विमलेन्द्र निधिको साथ खोज्नुपर्ने अवस्थामा देउवा पुगे।

त्यतिमात्र होइन, गगन थापा र विश्वप्रकाश शर्मालाई महामन्त्रीमा विजयी हुन नदिन चाहन्थे सिटौला। उनीहरू दुवै जना महामन्त्रीमा निर्वाचित भए। झापाका शर्मा र सिटौलाबीच जिल्लादेखि केन्द्रसम्म प्रतिस्पर्धा छ। १३औं महाधिवेशनमा आफ्नो समूहबाट महामन्त्रीको प्रत्यासी बनेका थापाले बीचमा गुट परिवर्तन गरेको भन्दै सिटौला रुष्ट थिए।

महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दा सिटौलाले थापाविरुद्ध घुमाउरो ढंगले रोष प्रकट गरेका थिए। आन्तरिक र अन्तरपार्टी राजनीतिमा सधैं पास हुँदै आएका सिटौला पार्टीको १४औं महाधिवेशनमा भने ‘फेल’ भएका छन्।
अर्को समाचार
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
३० फागुन २०७९
•
१ मिनेट पाठ
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।




बुधबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा उपराष्ट्रपति निर्वाचन, सरकारमा सहभागिता पार्टीका आन्तरिक विषय, समसामयिक राजनीतिक घटनाक्रम लगायतबारे छलफल हुने बताइएको छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
यो पनि पढौँ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस