रायमाझी प्रतिवेदन कार्यान्वयन नहुँदाको परिणाम
१८ चैत्र २०८१
•
८ मिनेट पाठ
रायमाझी प्रतिवेदन कार्यान्वयन नहुँदाको परिणाम
जनआन्दोलनका क्रममा सत्ताको दुरुपयोग, ज्यादती, मानवअधिकार उल्लंघन, राष्ट्रिय ढुकुटी दुरुपयोग लगातयमा दोषी ठहरिएका तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई गणतान्त्रिक सरकारले उन्मुक्ति दिँदा उनी पुनः राजतन्त्र फर्काउने अभियानमा जुटेका छन् । १९ वर्ष अघिको जनआन्दोलनमा सत्ताको दुरूपयोग गर्न उक्साएका पूर्वराजा ज्ञानेन्द्रले विभिन्न आवरणमा अहिले पनि चलखेल गरिरहेका छन्।




कहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नाममा त कहिले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उचालेर आफ्नो अभीष्ट पूरा गर्न लागिरहेका छन्। गणतान्त्रिक नेताहरू १९ वर्षदेखि शासनसत्तामा रहे पनि सर्वोच्च अदालतका पूर्वन्यायाधीश कृष्णजंग रायमाझीको अध्यक्षतामा बनेको शक्तिशाली आयोगले दिएको प्रतिवेदन कार्यान्वयन हुन सकेको छैन। सो प्रतिवेदनले पूर्वराजा ज्ञानेन्द्रसहित करिब तीन सय व्यक्तिलाई कसुरअनुसारको कारबाही सिफारिस गरेको थियो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको सरकारले सो आयोग गठन गरेको थियो।

२०६३ वैशाख ११ गते प्रतिनिधिसभा पुनःस्थापना भयो। वैशाख १५ गते पहिलो बैठक बस्यो र वैशाख १९ गते कोइरालाको नेतृत्वमा नयाँ सरकार बन्यो। १५ गतेको प्रतिनिधिसभाको बैठकले जनआन्दोलनमा निरंकुश सरकारद्वारा भएको ज्यादतीको जाँचबुझ गर्न आयोग गर्न सरकारलाई निर्देशन दियो।

२२ गते सरकारले सर्वोच्च अदालतका कृष्णजंग रायमाझीको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गर्‍यो। त्यसका सदस्यहरूमा हरिहर विरही, रामप्रसाद श्रेष्ठ, रामकुमार श्रेष्ठ, डा. किरण श्रेष्ठसहित पाँच जना थिए । आयोगले २०६३ वैशाख २७ गतेदेखि काम थालेको थियो ।

आयोगलाई राजाको नेतृत्वमा भएको सरकारले जनआन्दोलनका क्रममा भएका सत्ताको दुरूपयोग, ज्यादती, मानवअधिकारको उल्लंघन, राष्ट्रिय ढुकुटीको दुरूपयोग लगायत विषयहरूमा जाँचबुझ गरी प्रतिवेदन दिन कार्यादेश दिइएको थियो। सो आयोगले जनआन्दोलनका क्रममा बढी दमन भएका ठाउँहरूको स्थलगत अध्ययनका साथै तत्कालीन सरकारका उपाध्यक्षद्वय तुलसी गिरी र कीर्तिनीधि विष्ट, गृहमन्त्री कमल थापा, सञ्चारमन्त्री टंक ढकाल, कानुनमन्त्री निरञ्जन थापा, तत्कालीन सेनापति प्यारजंग थापा, तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक वासुदेव ओली, तत्कालीन रथी रुक्मांगत कटुवाल, तत्कालीन प्रहरी महानिरीक्षक श्यामभक्त थापा, गुप्तचर प्रमुखहरू, क्षेत्रीय प्रशासकहरू, गोली चलाइएका ठाउँका प्रमुख जिल्ला अधिकारीलाई आयोगमै बोलाएर बयान लिएको थियो। आयोगको प्रतिवेदनमा उल्लेख भएअनुसार तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई चाहिँ त्यस समयमा तपाईंको के भूमिका थियो जानकारी दिनू भनेर लिखित पत्र राजदरबारमा पठाएको थियो। तर दरबारले पत्र बुझेर पनि जवाफ पठाएको थिएन।

राजा राष्ट्राध्यक्ष रहे पनि माघ १९ को कदममा संविधानको भावनाविपरीत उनी स्वयं मन्त्रिपरिषद्को अध्यक्ष बनेको थिए । देशको धनजनका क्षतिसहित महत्त्वपूर्ण घटनाको जिम्मेवारी मन्त्रिपरिषद्मै जाने एवं यो जिम्मेवारीबाट मन्त्रिपरिषदका अध्यक्ष मुक्त हुन नमिल्ने भएकाले तत्कालीन मन्त्रिपरिषद्का अध्यक्षको हैसियतमा राजा ज्ञानेन्द्रलाई जाँचबुझ आयोगका दायरामा राख्ने र लिखित प्रश्न पठाउने निर्णय आयोगले गरेर निर्मल निवासमा पत्र पठाइएको भए पनि उनले अटेर गरेर जवाफ फर्काएका थिएनन्।

यस विषयमा तत्कालीन प्रधानमन्त्री कोइरालाले समितिका एक सदस्यलाई बोलाएर राजा तथा प्रधानसेनापति प्यारजंग थापा र रुक्मांगत कटुवाललाई बयान नलिन दबाब दिए पनि आयोगले पत्राचार गरेको थियो । दबाबका बिच थापा र कटुवालको बयान लिइएको थियो भने ज्ञानेन्द्रलाई पत्राचार गरिएको थियो।

तीन पटक चिठी लेखेर बोलाएपछि मात्रै प्रधानसेनापति थापा बयानका लागि उपस्थित भएका थिए। कटुवालले पनि पहिलो पटकको म्यादलाई बेवास्ता गरेको सोही प्रतिवेदनमा उल्लेख गरिएको छ। दोस्रोपटक मात्रै उनी बयान दिन आएका थिए। पूर्वराजा शाहलाई बयानका लागि लेखेको चिठी प्रतिवेदनमा प्रमाणका रूपमा राखिएको छ।

त्यसपछि आयोगले सम्पूर्ण विवरणहरूको अध्ययन संलग्न गरी सरकारलाई २०६३ मंसिर २ गते प्रतिवेदन बुझाएको थियो। आयोगले तत्कालीन मन्त्रिपरिषद् र सुरक्षा निकायका प्रमुखहरूका अतिरिक्त सरकार प्रमुख रहेका राजालाई समेत दोषी ठहर गरेको छ। आयोगले तत्कालीन राजालाई कारबाही गर्न आवश्यक कानुनको अभाव भएकाले नयाँ कानुन बनाएर भए पनि सजाय दिनुपर्ने उल्लेख गरेको थियो। तर कारबाही गर्ने तहमा रहेका नेताहरू र कारबाही भोग्नेहरू नै सत्ताको एउटै डुंगामा बसेका थिए।

आयोगका एक सदस्यले दिएको विवरणअनुसार २०६३ मंसिर २ मा प्रतिवेदन बुझाउँदा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए। प्रतिवेदनमा उल्लेख भए अनुसार मन्त्रिपरिषद्का उपाध्यक्ष डा. तुलसी गिरी, कृतिनिधि विष्ट, गृहमन्त्री कमल थापा, कानुनमन्त्री निरञ्जन थापा, सेनापति प्यारजंग थापा, सशस्त्र प्रहरी महानिरीक्षक वासुदेव ओलीलगायत तीन सयभन्दा बढीलाई कारबाहीको सिफारिस गरेको थियो।

शाही शासनकालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको नेतृत्वमा डा. गिरी र विष्ट उपाध्यक्ष र कमल थापा गृहमन्त्री थिए । तथ्यहरू छानबिन गर्दा जनआन्दोलन दमन गर्न व्यापक रूपमा सत्ताको दुरूपयोग, ज्यादती, मानवअधिकार हनन, राष्ट्रिय ढुकुटी दुरूपयोग गरेको ठहर आयोगले गरेको थियो । शाही शसानविरुद्ध जनआन्दोलन देशभर चलेको थियो ।

यस क्रममा उपत्यकाका विभिन्न स्थानसहित ३७ जिल्लामा अत्यधिक दमन भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार काठमाडौंको कलंकी, गोंगबु, कोटेश्वर, तीनकुने, बुद्धनगर, गौशाला, चावहिल, कीर्तिपुर, त्रिपुरेश्वरमा बढी दमन भएको थियो। कलंकीमा सशस्त्र प्रहरीका एसएसपी दुर्जकुमार राईले गोली चलाएका थिए। उनलाई पनि आयोगले दोषी ठहर गरेको थियो तर पछि लोकतान्त्रिक सरकारले नै आइजिपी बनायो। त्यस्तै ललितपुरको सातदोबाटो, मंगलबजार र सुन्धारामा पनि दमन भएको सो प्रतिवेदनमा उल्लेख छ।

यसैगरी काठमाडौंबाहिर काभ्रे, चितवनको नारायणघाट र टाँडी, सप्तरीको राजविराज, बाराको निजगढ, रूपन्देहीको बुटवल, झापा, नवलपरासी, दाङ, बाँके, बर्दिया, कैलाली, महेन्द्रनगर, डोटी, डडेलधुरा, दैलेख, कास्की, पर्वत, लमजुङ, धादिङ, उदयपुर, दोलखा, इलाम, सर्लाही, मोरङ, सुनसरी, सिरहा, धनुषा, महोत्तरी, मकवानपुर, पर्सा, तनहुँ, कपिलवस्तु, सुर्खेत, बागलुङ र पाल्पामा बढी दमन, ज्यादती र मानवअधिकार उल्लंघन भएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले दोषी ठहर गरेका सुरक्षा निकायका प्रमुखलाई पुरस्कृत गरिएको थियो। कमल थापाहरू पटकपटक मन्त्री भएका थिए। कांग्रेस र एमालेलगायत दलले रायमाझी आयोगले कारबाहीको सिफारिस गरेका नेताहरूसँग उठबस मात्रै गरेनन्, एउटै चुनाव चिह्नमा निर्वाचनमा भाग लिए। एउटै क्याबिनेटमा कामसमेत गरे । दोषी ठहरिएका रुक्मांगत कटुवाल प्रधानसेनापति भए, वासुदेव ओली र दुर्जकुमार राई सशस्त्र प्रहरी महानिरीक्षकमा बढुवा भए।

सोही प्रतिवेदनमा उल्लेख भएअनुसार कमल थापा गृहमन्त्री हुँदा र टंक ढकाल सञ्चारमन्त्री हुँदा आफूनिकट व्यक्ति र पत्रकारलाई हण्डीसमेत बाँडिएको थियो। तत्कालीन शाही शासन समर्थन गर्नेलाई लागि मनपरी ढुकुटीबाट अन्धाधुन्ध रकम बाँडिएको थियो। जनआन्दोलन दमन गर्न राष्ट्रिय ढुकुटीको दोहन गरिएको थियो। प्रतिवेदनमा तत्कालीन जिम्मेवार मन्त्रालय र तिनका मातहतबाट करोडौं रकम दुरूपयोग गरिएको देखिएको छ।

सरकारी ढुकुटीबाट निकालिएको रकमको प्रयोजन, खर्चको प्रयोजन र बिल भरपाईसमेत राखिएको थिएन। आयोगको प्रतिवेदनअनुसार गृह मन्त्रालयबाट पाँच करोड ४५ लाख, रक्षा मन्त्रालयबाट दुई करोड १२ लाख २९ हजार, सूचना तथा सञ्चार मन्त्रालयबाट ६ करोड ३७ लाख ८६ हजार बिनाप्रयोजन खर्च गरिएको थियो । त्यतिबेला गृहमा कमल थाप र सञ्चारमा टंक ढकाल थिए।

२०६३ सालपछि बनेको आयोगको प्रतिवेदन मात्र कार्यान्वयन नभएको होइन। २०४७ जेठ ९ गते तत्कालीन मुख्य न्यायाधीश जनार्दनलाल मल्लिकको अध्यक्षतामा शक्तिशाली आयोगको गठन भएको थियो। सो आयोगले २०४७ असार १० गते काम सुरु गरेको थियो।

सो आयोगका सदस्यमा तत्कालीन न्यायाधीशद्वय उदयराज उपाध्यय र इन्द्रराज पाण्डे सदस्य थिए। आयोगलाई चारवटा काम दिइएको थियो । जनआन्दोलन २०४६ फागुन ७ देखि चैत मसान्तसम्म भएका जनधन क्षतिबारे छानबिन गर्ने, जनधनको क्षति के–कसको त्रुटिका कारण हुन गएको हो सो कारण पत्ता लगाउने, जनआन्दोलनका क्रममा सरकारले के–कस्तो कारबाही गर्न हुन्छ भन्ने ठहरसहित प्रतिवेदन पेस गर्ने कार्यादेश आयोगले पाएको थियो। ६ महिनाको अध्ययनपछि आयोगले प्रतिवेदन बुझायो। प्रतिवेदनले हाल राजा फर्काउने संयोजक रहेका नवराज सुवेदीलगायत पञ्चहरूलाई कारबाहीको सिफारिस गरेको थियो। तर तत्कालीन सरकारमा रहेका कांग्रेस–एमाले पूर्वपञ्चहरूलाई बोकेर पालैपालो सरकारमा सहभागी भए ।

पुनरुत्थावादीलाई उदारता वरदान

हरिहर विरही

हरिहर विरही
२०६३ सालपछि बनेका सरकारले मौजुदा कानुनबमोजिम वा कानुन बनाएर प्रतिवेदनअनुसार कारबाही गरेको भए राजतन्त्र पुनःस्थापनाको कल्पनासम्म पनि कसैले गर्ने थिएनन् होला।

त्यसबेला जनआन्दोलनकारीहरूको संयुक्त सरकार थियो। पछि माओवादीहरूसमेत सरकारको नेतृत्वमा गए। तर परिस्थिति फेरिनासाथ दलहरूको मानसिकता पनि परिवर्तन भयो। परिवर्तनकारी सबै दल राजावादीहरूलाई आफ्नो पक्षमा ल्याउने प्रयत्नमा लागे। त्यसैको परिणामस्वरूप राजावादीहरूको आत्मबल बढ्दै गएको हो। अहिले राजावादीहरू सल्बलाउने अवस्थामा आइपुगे।

लोकतान्त्रिक सरकारबाट लोकतन्त्रलाई सुरक्षित गर्ने सन्दर्भमा पहिलो कमजोरी यो मात्र होइन। यसअघि २०४६ सालको जनआन्दोलनमा राजा वीरेन्द्र शाहको नेतृत्वको सरकारबाट भएका ज्यादतीहरूका सन्दर्भमा २०४७ जेठ ९ गते तत्कालीन मुख्य न्यायाधीश जनार्दनलाल मल्लिकको अध्यक्षतामा मल्लिक आयोग गठन भयो। त्यो आयोगले ६ महिना लगाएर आफ्नो प्रतिवेदन तयार पार्‍यो। सो प्रतिवेदनमा उल्लेख गरिएका व्यक्तिहरूलाई कारबाही नगर्नु अर्को त्रुटि थियो। परिवर्तनकारीहरूको उदारता पुनरुत्थावादीहरूका लागि वरदान साबित भएको छ।

(रायमाझी आयोगका सदस्य)
अर्को समाचार
तीनकुने घटना: छानबिन समिति बनाउन सरकार अनिच्छुक
२८ चैत्र २०८१
•
५ मिनेट पाठ
तीनकुने घटना: छानबिन समिति बनाउन सरकार अनिच्छुक
सरकारले काठमाडौंको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शन आपराधिक प्रकृतिको भन्दै छानबिन समिति बनाउन अनिच्छा देखाएको छ। राजा फर्काउने उद्देश्यसहित गरिएको प्रदर्शनका क्रममा दुईजनाको ज्यान गएको र अर्बौं रूपैयाँबराबर क्षति भएको थियो।




गृह मन्त्रालयले आपराधिक प्रकृतिको घटना भएकाले छानबिन समिति बनाउनुपर्ने आवश्यकता नभएको बताउँदै हिंसामा संलग्नलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन निर्देशन दिइसकेको छ। गृह स्रोतले भन्यो, ‘सरकारले अहिले छानबिन समिति बनाउँदैन।’ गृहमन्त्री रमेश लेखकले समिति गठन नगर्ने संकेत गरिसकेका छन्।

यही चैत १५ गते शुक्रबार राजावादी समूहबाट भएको हिंसात्मक आन्दोलनका क्रममा पत्रकार सुरेश रजक र अर्का सर्वसाधारण सविन महर्जनको ज्यान गएको थियो। सरकारले उनीहरूलाई १०/१० लाख रुपैयाँ क्षतिपूर्ति दिने र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरिसकेको छ। गृहमन्त्री लेखक स्वयंले अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिइसकेका छन्।

आन्दोलनकारीले काठमाडौंको तीनकुनेमा पुर्‍याएको जनधनको क्षतिबारे सरकारले एउटा छानबिन समिति बनाउने र त्यसले दिएको प्रतिवेदनका आधारमा कारबाही गर्ने जनाएको थियो। तर सो घटना भएको १५ दिन बितिसक्दा पनि समिति बनाइएको छैन। गृह सहसचिव एवं प्रवक्ता रामचन्द्र तिवारीले आन्तरिक रूपमा छानबिन भइरहेकाले अन्य कुनै प्रकारको समिति आवश्यक नभएको स्पष्ट पारे।

‘प्रहरीका विभिन्न युनिटले आन्तरिक रूपमा अनुसन्धान गरिरहेका छन्,’ उनले भने, ‘त्यसकारण समिति आवश्यक छैन।’ सरकारले व्यवस्थाविरोधी आन्दोलन र हिंसात्मक घटनाको छानबिन गर्न मन्त्रालय वा अन्य तहबाट तत्काल समिति नबनाई अनुसन्धानका लागि प्रहरीलाई नै जिम्मा दिएको संकेत गरेको छ। ‘व्यवस्थाविरोधी आन्दोलन र हिंसाको कहीँ पनि छानबिन समिति बन्दैन,’ गृहको उच्च स्रोतले भन्यो, ‘त्यसकारण तीनकुने घटनाको अनुसन्धान गर्न प्रहरीलाई नै जिम्मा दिइएको हो।’

पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक श्रीपेच लगाइदिने अभियानमा लागेको समूह अराजक देखिएपछि तीनकुने रणमैदानमा परिणत भएको थियो। सरकारले तोकेको तीनकुने क्षेत्रमा राजावादीले गरेको प्रदर्शन उग्र बन्दा एक पत्रकारसहित दुई जनाको ज्यान मात्रै गएन, थप २० जना घाइतेसमेत भए। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले सो घटनामा संलग्नहरूलाई पक्राउ गर्दै कानुनी कारबाहीका लागि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट समय लिएको छ। सोही घटनामा संलग्न भएके आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं प्रतिनिधिसभा सदस्य धवलशमशेर राणाको अनुसन्धन गर्न बुधबार मात्र थप १५ दिनको समय लिएको छ। बुधबारसम्ममा काठमाडौं प्रहरी परिसरले ७७ जनालाई पक्राउ गरिसकेको छ।

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाई समूहको अराजकता नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीसहित दर्जनौं घाइते भए। अर्बौंको निजी सम्पत्ति नोक्सान भएको छ। राजा ल्याउने अभियानको ‘कमान्डर’ भनिएका प्रसाईं आफैं सुरक्षाकर्मीमाथि गाडी चलाएर आक्रमणमा उत्रिएका थिए। त्यसपछि उत्तेजित बनेको भिड ढुंगामुढा गर्नतिर लागेको थियो। भिड अनियन्त्रित बनेपछि ‘सभाका नायक’ बनेका नवराज सुवेदी भागेका थिए भने प्रसाईं पनि गाडी लिएर फरार भएका थिए।

चैत १५ गते आन्दोलनका नाममा भिडलाई उत्तेजित बनाउँदै उक्साउने प्रसाईं हिँडेपछि अराजक व्यक्तिहरूले निजी घरमा आगजनी गरेका थिए। प्रदर्शनकारीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका आठवटा गाडीमा आजगनी गरेका थिए। आन्दोलनकारीको आक्रमणबाट जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले २८ करोडमाथिको नोक्सानी बेहोरेको छ।

आक्रामक देखिएको भिडले ट्राफिक बिट पनि भत्काएको थियो। त्यही भिडले पेरिसडाँडास्थित माओवादी केन्द्रको मुख्यालयमा मोटरसाइकल तोडफोड गरेको थियो भने नेकपा एकीकृत समाजवादीको मुख्यालयमा पनि आगजनी गरेका थिए। उनीहरूले कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटभित्र पसेर लुटपाट मच्चाउनुका साथै तोडफोड गरेका थिए।

उनीहरू हातहातमा बियरका सिसी, ह्विस्कीका बोतल र लुटिएका अन्य सामग्री बोकेर हिँडेका देखिन्थे। राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले तीनकुने र आसपासका क्षेत्रमा कफ्र्यु आदेश जारी गर्नुपर्ने अवस्था निम्तिएको थियो।

अहिले प्रसाईंबाहेक लुटपाट र हिंसामा संलग्नलाई प्रहरीले भटाभट पक्राउ गरिरहेको छ। अझै पक्राउ पर्ने प्रहरीको दाबी छ। राजावादीहरूको प्रदर्शनलाई तितरबितर पार्ने क्रममा प्रहरीले तीनकुने क्षेत्रमा साढे दुई सय राउन्ड गोली प्रहार गरेको स्विकारेको छ। प्रहरीले प्रदर्शन हिंसात्मक भएपछि नियन्त्रणका लागि गोली चलाएको प्रस्टीकरण दिएको छ। सोही क्रममा व्यक्तिलक्षित ५८ राउन्ड गोली प्रहार भएकोमा २० जनालाई लागेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दिनेश आचार्यले बताएका छन्।

प्रहरीको गोली लागेर रेबिका खत्रीसहित अन्य केहीको गम्भीर अवस्थामा उपचार भइरहेको छ। स्थिति अनियन्त्रित हुन थालेपछि प्रहरीले एक सय ९२ पटक हवाई फायर गरेको डिआइजी आचार्यको दाबी छ। भिड नियन्त्रणका लागि प्रहरीले सात सय ४६ राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो। प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोड्दै संसद् भवनतर्फ अघि बढ्न खोजेपछि पहिले अश्रुग्यास प्रहार गरेको र विमानस्थलतर्फ अघि बढेपछि गोली प्रहार गरेको डिआइजी आचार्यको दाबी छ। रेबिका र उनका दाजुसहित केही व्यक्तिलाई भने झुक्किएर गोली लागेको उनको भनाइ छ।

आन्दोलनको नेतृत्व गरिरहेका प्रसाईंकै कारण भिड उत्तेजित भएको निष्कर्षमा प्रहरीको छ। प्रहरीले निषेधित क्षेत्रबाट हटाएपछि तीनकुनेको मञ्चबाट प्रसाईंसहित रवीन्द्र मिश्रले संसद् भवन, सिंहदरबार र विमानस्थल कब्जा गर्न माइकिङ गरेपछि प्रदर्शनकारी तोडफोडमा उत्रिएका थिए। सुरक्षा निकायका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा प्रसाईंको समूहलाई कार्यक्रम गर्न दिँदा यस्तो दुर्घटना भएको दाबी गरिएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस