गहन निद्रा जीवनको गहना
०७ भदौ २०७९
•
८ मिनेट पाठ
गहन निद्रा जीवनको गहना
स्वस्थ मानिसले ६ देखि ८ घण्टा सुत्न अति आवश्यक रहेको स्वास्थ्य विज्ञानका क्षेत्रका अन्वेषणहरूले बताएका छन्। राम्रो निदाउन नसक्ने समूहमा कार्डियो भास्कुलर समस्यादेखि अल्जाइमर्स मात्र होइन, बरु मानसिक रोग र विभिन्न किसिमका क्यान्सरले समेत अत्यधिक सताएको प्रमाणहरूले देखाएका छन्। आखिर सुत्न कठिन हुनेबित्तिकै किन विभिन्न रोगले सताउँछ त ? यससम्बन्धमा बायोलोजिकल उत्खनन भए। तथ्यांकलाई प्रयोगशाला परीक्षणले समर्थन गरेको छ। त्यसपछि निद्रा नरोकौँ भन्ने मान्यता बनेको छ। भौतिकवादी समाजका प्रतिस्पर्धा जित्न सुताइसँग संझौता गर्दा विभिन्न रोगले सताउने भएकाले निन्द्रासम्बन्धी नवीन अवधारणा बनेका छन्। निद्रा र रोगबीचको अन्तरसंबन्ध स्थापित गर्न भएका अन्वेषणको जानकारी र सुताइलाई प्रभावकारी बनाउन पालन गर्नुपर्ने संहिताको चर्चा यहाँ गरिएको छ।  




बिहान उज्यालो भएपछि उठ्ने अनि रात परेपछि सुत्ने चक्रलाई सार्केडिएन रिदम्स भनिन्छ। सुताइको चक्रलाई दिमागमा रहेको सार्केडिएन पेसमेकरले नियन्त्रित गर्छ। निद्रा लगाउन सघाउने हर्मोनलाई मेलाटोनिन भनिन्छ। अँध्यारो अवस्थामा मेलाटोनिन उत्पादन गर्ने काम मस्तिष्कमा रहेको पिनिएल ग्ल्यान्डको हो। चम्किलो प्रकाश आँखामा परेपछि उक्त ज्योति रेटिना भएर मस्तिष्कमा पुग्छ। चम्किलो प्रकाश मस्तिष्कमा पुगेपछि पिनिएल ग्ल्यान्डले मेलाटोनिन बनाउने विधि अवरोध हुन्छ। अनि, निन्द्रा हर्मोनको उत्पादन रोकिएपछि सुत्न कठिन हुन्छ। तसर्थ, निद्रा चक्र खल्बलिन नदिन शरीरलाई उज्यालो र अँध्यारो स्थितिमा राख्नुपर्छ। निद्रालाई किन धेरै महत्व दिनुपर्छ त ?

सन् २००२ मा जर्नल क्लिनिकल अटोनोमिक रिसर्चमा स्विजरल्यान्डको साइकियाट्रिक युनिभर्सिटी क्लिनिकका प्राध्यापक कर्ट क्राउचीले निन्द्रा, शरीरको तापक्रम अनि मुटुको धड्कनबीचको अन्तरसम्बन्ध स्थापनाका दिशामा भएको अन्वेषण प्रस्तुत गरे। सुतेका बखत मानिसको तापक्रम झण्डै १ डिग्री सेल्सियस कम हुने अनि मुटुको चाल करिब १० धड्कन प्रतिमिनटको दरले न्यून हुने उक्त अन्वेषणको नतिजा हो। आखिर सुतेका बखत शारीरिक तापक्रम र मुटुको चाल किन घट्छ अनि उक्त प्रक्रियाले हाम्रो कार्डियो भास्कुलर समस्या न्यून गर्न कसरी मद्दत गर्छ त भन्ने प्रश्नको उत्तर आवश्यक पर्छ।  

शारीरिक परिश्रम गर्ने दिनको समय र सुत्दाको रात्रिकालीन अवस्थाबीच शारीरिक चलखेल फरक हुन्छ। सुतेका बखत बाह्य क्रियाकलाप नहुने भएकाले निदाउँदाको शारीरिक तापक्रमका लागि मुटु, पाचन प्रणाली, मिर्गौला, कलेजो जस्ता महत्वपूर्ण आन्तरिक अंगका मेटाबोलिक एक्टिभिटीको योगदान अत्यधिक हुन्छ। अध्ययनले आन्तरिक महत्त्वपूर्ण अंगका क्रियाशीलतालाई निदाएका बखत उत्पादन हुने कुल ७० प्रतिशत (क्यालोरी) तापक्रमको कारक देखायो। झण्डै सत्तरी प्रतिशत तापक्रम उत्पादन गर्ने महत्वपूर्ण अंगहरूको तौल भने शारीरिक वजनको झण्डै ८ प्रतिशत मात्र हुन्छ।  

दिउँसोको शारीरिक क्रियाकलापका कारण मुटुले अत्यधिक काम गर्नुपर्छ, मुटुको धड्कन बढछ, रक्तचाप उकालिन्छ। निदाएका बखत बाह्य शारीरिक क्रियाकलाप नहुने भएकाले मुटुले गर्नुपर्ने काम सामान्य क्रियाकलापमा खुम्चन्छ। परिणामस्वरूप मुटुको धड्कन प्रतिमिनेट दिउँसोको भन्दा १० धड्कन हाराहारीले कम हुन्छ, रक्तचापसमेत घट्छ। धड्कन केही घट्नु भनेको मुटुले आराम गर्ने अवसर पायो भन्ने ठान्छन् युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्नियाका प्राध्यापक राज दाश गुप्ता। अब, रात्रिको समयमा व्यक्तिले निदाउन नपाउँदा के हुन्छ त ? राति सुत्न कठिन हुने व्यक्तिको मुटुको चाल र रक्तचाप दिउँसो र रात्रिको समयमा ताŒिवक फरक पर्दैन भन्छिन् युनिभर्सिटी अफ् क्यान्टकिकी प्राध्यापक लौरेन ह्वाइटहर्ट। केही अध्ययनले रात्रिकालीन समयमा सुत्न नपाएको व्यक्तिको मुटुको धड्कन अनि रक्तचाप दुवै बढेको भन्छ। उल्लिखित अध्ययन र विश्लेषणले राति राम्रोसँग निदाउने व्यक्तिको मुटुले आराम गर्ने अवसर पाउँछ भने निद्रा नलाग्दा मुटुले अतिरिक्त क्रियाकलाप गर्नुपर्ने हुन्छ। सुत्न नपाएका कारण थप काम गर्नुपर्ने अवस्था हुँदा मुटु लखतरान भई व्यक्ति कार्डियो भास्कुलर डिजिजको सिकार हुन्छ।  

मस्तिष्कका कोस (न्युरोन)हरूले एकापसमा सम्बन्ध स्थापित गर्न नसक्नु तथा प्रोटिनका टुक्रा दिमागी सतहमा जम्नुलाई अल्साइमर्सको कारक ठानिन्छ। गत वर्ष पिएलओएस बायोलोजीमा प्रकाशित एउटा अनुसन्धानले राम्रोसँग राति निदाउने अवस्था सिर्जना गर्न सके दिमागमा जम्ने प्रोटिनका थिग्रा पखालिँदै गई व्यक्तिमा अल्साइमर्सका लक्षण कम हुँदै जाने देखायो। तसर्थ, राम्रो निदाउनुलाई जटिल स्मरण रोगबाट मुक्तिका रूपमा पनि लिन सकिने देखियो।  

हाम्रो शरीरमा क्यान्सरका कोसहरू नियमितरूपले बन्ने गर्छन्। उत्पादन हुनेबित्तिकै क्यान्सरका कोसलाई पत्ता लगाउने अनि अविलम्ब नास गर्न हाम्रो प्रतिरक्षा (इम्युन सिस्टम) अन्तर्गत विशेष प्रकृतिका कोस न्याचुरल किलर सेल अविरलरूपमा सक्रिय हुन्छन्। प्रतिरक्षा प्रणालीअन्तर्गतको न्याचुरल किलर सेलले हामीलाई क्यान्सर लाग्न नदिने हो। प्रकाशित अनुसन्धानले दैनिक ८ घण्टा निदाउने व्यक्तिको तुलनामा दैनिक ४ घण्टा मात्र सुत्ने मानिसमा न्याचुरल किलर सेलको उत्पादन ७० प्रतिशत घटेको देखियो। धेरै मात्रामा न्याचुरल किलर सेल उत्पादन हुने व्यक्तिलाई क्यान्सरलगायतका अन्य संक्रमणले कम सताउनु अन्यथा भएन। अल्पनिद्राले रक्षात्मक कोसको उत्पादन घट्नु अनि क्यान्सर रोगीको संख्या बढ्नुलाई आधार मानेर डब्लुएफओले कम निदाउने लक्षणलाई क्यान्सरको संभाव्य कारण ठानेर सदस्य राष्ट्रहरूलाई आफ्ना नागरिक निम्ति पर्याप्त सुत्ने वातावरण मिलाउन सल्लाह दिएको छ।  

दैनिक अनुभव दिमागको हिप्पोक्याम्पसमा संकलित हुन्छन्। तर हिप्पोक्याम्पसको भण्डारण क्षमता धेरै हुँदैन। त्यसैले दिनभर जम्मा भएका अनावश्यक तथ्यांकलाई नष्ट गर्ने अनि महत्वपूर्ण तथ्यांकलाई दीर्घकालीन प्रयोगका लागि दिमागको अर्को भाग, कर्टेक्समा सार्ने पद्धति स्थापित छ मानवमा। तर डाटा ट्रान्सफरका लागि व्यक्ति राम्रो निदाएको हुनुपर्छ। गहिरो निन्द्राका समय शरीरका अन्य भागहरू शिथिल हुन्छन् भने मस्तिष्कको फाइल ट्रान्सफर र डिलिट गर्ने प्रक्रिया भने तीव्ररूपमा चल्छ। दैनिकरूपले जम्मा भएका विवरणहरू सान्दर्भिकताअनुसार नष्ट गर्ने तथा भण्डारण गर्ने काम निदाएको समयमा हुने भएकाले गहिरो निद्रा स्वास्थ्यका लागि आवश्यक देखिएको छ। स्मरणलाई मस्तिष्कका विभिन्न स्थानमा अविलम्ब भण्डारण गर्नु दिमागी स्वास्थ्यका लागि अत्यावश्यक भएकाले निद्राको अनियमितताले मानसिक समस्या भित्र्याउनु अस्वाभाविक भएन।  

संकलित तथ्यांक र बायोलोजिकल उत्खननले अनियमित र अपर्याप्त सुताइलाई मुटु रोग, क्यान्सर, अल्साइमर्सलगायत धेरै किसिमका दिमागी समस्याको कारकका रूपमा औल्याएकाले निन्द्राको व्यवस्थापन महत्वपूर्ण पक्ष रह्यो। अब निन्द्राको नियमिततका लागि विज्ञको सुझावको चर्चा गरौँ।  

सुत्नु स्वास्थ्यका लागि अति आवश्यक हो भन्ने कुरा धेरै अघिदेखि जानकारी भए पनि कस्तो कोठाको सुताइ अत्यधिक लाभप्रद् हुन्छ भन्ने सम्बन्धमा यसै वर्षको पूर्वाद्र्धमा नर्थ बेस्टर्न विश्वविद्यालय, न्युरोलोजी शाखा मातहतको स्लिप मेडिसिनका विभागीय प्रमुख फिलिस झीले निष्पट्ट अँध्यारोमा सुत्नु अत्यधिक फाइदाकारक भएको तथ्य प्रस्तुत गरिन्। मधुरो प्रकाशमा निदाउनु र निष्पट्ट अँध्यारोमा सुत्नुबीच दीर्घकालीन स्वास्थ्यका लागि धेरै फरक रहेको देखियो।

कडा परिश्रम गरेका बखत शरीरको मेटाबोलिक एक्टिभिटिज बढ्ने भएकाले शरीरको तापक्रम बढ्छ। बायोलोजिकल सिस्टमले शरीरलाई चिस्याउन जिउभर फिजिएको रक्त सञ्चारको जालोको सहारा लिन्छ। तातो रगतको प्रवाह शरीरको बाह्य भागमा पुग्दा त्वचामा रहेका झण्डै ४० लाख एक्रिन ग्ल्यान्डसहरू क्रियाशील हुन्छन्। एक्रिन ग्रन्थीले पसिना उत्पादन गर्न थाल्छ। शारीरिक तापक्रमका कारण पसिना वाष्पीकरण हुने भएकाले हामीले ठण्डाको अनुभूति गर्छ।  

राम्रो निन्द्राका लागि शरीरको तापक्रम जागा अवस्था भन्दा झण्डै २ डिग्री सेल्सियस कम हुन आवश्यक रहेको ठान्छन् युनिभर्सिटी अफ् क्याम्ब्रिजमा निद्रा र तापक्रमबीचको अन्तरसम्बन्धका क्षेत्रमा अध्ययनरत डा. एड हार्डिङ। मानव उत्पत्तिदेखि निदाउने बखत शरीरको तापक्रम घटाउन बायोलोजीले पसिनाको सहारा लिँदै आएको ठान्छन् डा. हार्डिङ। सुत्नुअघि शरीरले तापक्रम घटाउनका लागि स्वाभाविकरूपले पसिना निस्कन्छ, शरीरको तापक्रम घट्छ अनि राम्रोसँग सुत्न सक्ने अवस्था बन्छ। नुहाएपछि पनि शरीरको आन्तरिक तापक्रम घट्न केही समय लाग्ने भएकाले स्नान गर्नेबित्तिकै सुत्नु भन्दा करिब एक घण्टापछि ओछ्यानमा जान सल्लाह दिन्छन् डा. हार्डिङ। नुहाएपछि शरीरको तापक्रम घट्न गई निन्द्रा सहज हुन्छ।  

सुत्नुअघि कोठालाई निष्पट्ट अँध्यारो बनाउनुपर्ने, ओछ्यानमा पल्टनु एक घण्टाअघि नुहाउनुका अतिरिक्त अमेरिकाको मेयो क्लिनिकले गहिरो निन्द्राका लागि केही संहिता स्थापित गरेकाले त्यसको चर्चासमेत सान्दर्भिक देखियो। सधँै एकै समयमा ओछ्यानमा जानु, भरिशक्य दिउँसो नसुत्ने कदाचित आवश्यक परे पनि एक घण्टा भन्दा बढी नढल्कने, दैनिक शारीरिक परिश्रम गर्ने बानी बसाल्ने अनि सुत्ने बेलामा चिन्ता बढ्ने कुरा नसोच्ने जस्ता संहिताको पालनले निन्द्रालाई नियमितता दिने ठान्छन् मेयो क्लिनिकका विज्ञहरू। खाने र पिउने कुराले निद्रालाई धेरै असर पर्ने भएकाले खान्कीमा समेत सजग हुनुपर्छ। सुत्ने बेला अत्यधिक खाने अनि पूरै पेट खाली हँुदासमेत निदाउन असुविधा हुन्छ। सुत्ने बेलामा चुरोट, खैनी जस्ता निकोटिनजन्य पदार्थको सेवन अनि चिया कफी पिउँदा निन्द्रालाई प्रतिकूल असर पार्ने कुरामा ध्यान दिन आवश्यक देखियो। जाँड रक्सी खाँदा प्रारम्भमा सुत्न मन लागेजस्तो अनुभूति भए पनि मध्यरातमा निद्रा भंग हुन्छ। बृहत्तर स्वास्थ्य हितका लागि गहिरो निद्रा आवश्यक पर्ने भएकाले अल्कोहल सेवनमा पुनर्विचारको आवश्यकता देखिन्छ। कहिलेकाहीँ सुत्न कठिनाइ भए केही क्षण सामान्य घरायसी धन्दा गर्दा लाभ हुने देखियो। गहिरो निद्राले बहुआयामिक स्वास्थ्य लाभ दिने भएकाले राम्रो सुताइको वातावरण बनाउन आवश्यक देखियो ।  
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस