महिला नेतृत्वको प्रभावकारिता
२५ चैत्र २०७८
•
६ मिनेट पाठ
महिला नेतृत्वको प्रभावकारिता
देशभरका ७५३ स्थानीय तहमा भएका ३६,६३९ जनप्रतिनिधिमध्ये १४ हजार ३५६ महिला जनप्रतिनिधि छन्। जसमध्ये ७ मेयर, ११ गाउँपालिका अध्यक्ष र ६२ वडाध्यक्ष छन्। बाँकी उपमेयर, उपाध्यक्ष र सदस्य छन्। देशभरका स्थानीय तहमा १८ वटामा मात्रै महिलाको नेतृत्व छ।




स्थानीय तहमा नगन्य महिला नेतृत्व भएपनि उनीहरूको काम भने उल्लेखनीय देखिएको छ। काम र कर्तव्यमा प्रतिबद्ध महिला जनप्रतिनिधिहरू सुशासन कायम गर्ने र बेरुजु कम गर्नेमा पनि अब्बल देखिएका छन्। स्वास्थ्यचौकी विस्तार, एम्बुलेन्स सेवा, प्रसूति सेवा, महिलालाई आर्थिकरूपमा मजबुत बनाउन तरकारी खेती, सिलाइबुनाइ तालिम तथा तरकारी भण्डारणका लागि शीत भण्डार गृह निर्माण गरेर महिला नेतृत्व उदाहरणीय बनिरहेका छन्। महिला नेतृत्वकै पहलमा विद्यालयमा शिक्षक नियुक्ति, विपन्न छात्रछात्रालाई छात्रवृत्ति, साइकल वितरण तथा विद्यालयमा इन्टरनेटको सुविधा उपलब्ध गराइएका छन् भने सडक कालोपत्रे गर्ने कार्यले समेत उत्तिकै प्राथमिकता पाएको छ।

महिला प्रमुख भएका स्थानीय तहमा महिला उत्थानका सवालमा अझ धेरै काम भएका देखिन्छ। सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा, छात्रालाई निःशुल्क स्यानेटरी प्याड र हिंसामा परेका महिलाका लागि सेफ हाउस निर्माण, बालविवाहमुक्त पालिका बनाउने र सिपमूलक कार्यक्रम सञ्चालन गरी महिलालाई रोजगार प्रदान गर्ने जस्ता थुप्रै प्रसशंनीय कार्य भएका छन्। खुला दिशामुक्त क्षेत्र, उज्यालो गाउँपालिका आदि कार्यक्रममार्फत आफ्नो क्षेत्रको विकासमा लागेका महिला प्रमुखले अवसर पाए महिलाले पनि अब्बल काम गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरिरहेका छन्।

आफ्नै गाउँठाउँमा रहेर नमुना काम गरी आफ्नो क्षेत्रलाई समृद्ध बनाउन महिला नेतृत्व कसैले औँला नउठाउने गरी काममा दत्तचित्त छन्। महिला प्रमुख भएका स्थानीय तहमा भ्रष्टाचार र अनियमितताका घटना शून्य जस्तै छन्। मितव्ययिता उत्तिकै देखिन्छ। भ्रष्टाचार र अनियमितताका घटनामाथुप्रै पुरुष नेतृत्व मुछिँदा महिला नेतृत्व भने मुछिएका देखिँदैनन्। यसबाट दलहरूलाई आउँदो स्थानीय तहको निर्वाचनमा महिलालाई टिकट दिन र जिताउन ऊर्जा थपिएको छ।

महिलालाई राजनीतिमा संलग्न गराउने विषयमा दलहरूको दुईमत नभए पनि नेतृत्वमा पुर्‍याउन क्रान्तिकारी बताउने एमाले र प्रजातान्तिक बताउने कांग्रेस दुवै पार्टी चुकेका महाधिवेशनमै देखियो। निर्णय, नेतृत्व र नीति निर्माण तहमा महिलालाई कम आँक्ने प्रवृत्ति सबैजसो दलमा भएकै कारण राजनीतिक क्षेत्र र समाजका विभिन्न निकायमा महिलाको नेतृत्व, पहुँच र सक्रियता सन्तोषजनक छैन। स्थानीय तहका कतिपय कार्यक्रममा महिला नेतृत्वलाई हेपेका, अपमान गरेका र अविश्वास गरेका तीता घटना बाहिरिएका छन्।

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा महिलाले टिकट पाउने कुरामा अनेक बहाना बनाएर वा आर्थिक दबाब थोपरेर सक्षम महिलालाई पाखा लगाउने र प्रतिनिधित्वमै सीमित गराउने कार्य फेरि पनि दलहरूबाट नहोला भन्न सकिन्न। विशेषतः प्रजातान्त्रिक चरित्र बोकेका दलहरू अब यसप्रति गम्भीर हुनु जरुरी छ। राज्यप्रति जिम्मेवार र सक्षम महिलाले पालिकाका प्रमुख र मेयरमा भिड्न सक्षमता रुचि र जनमत पाउने अवस्थाको आकंलन हुँदाहुँदै मोटो रकम बुझाउन नसकेर वा पहुँच नभएकै कारण टिकट पाउन वञ्चित नहोउन् भन्नेमा प्रत्येक दलहरू सचेत हुनैपर्छ।

संविधानमा उल्लिखित प्रावधान कार्यान्वयन नहुनुमा दलहरू नै जिम्मेवार छन्। हालको २५ सदस्यीय मन्त्रिमण्डलमा मुस्किलले ६ जनामात्र महिला रहनुले दलहरूप्रति संसय बढाएको छ। मन्त्रिपरिषद्मा राज्यमन्त्री र स्थानीय तहमा उप जोडिएका पद थमाउने प्रवृत्तिविरुद्ध हाल केही जनप्रतिनिधि महिलाका आवाज उठेपनि यसलाई दलहरूले गम्भीररूपमा लिएका छैनन्। केही समयअघिको दलहरूको महाधिवेशनमा एमालेको आफ्ना १८ सदस्यीय पदाधिकारीमा केवल २ जना महिला छन् भने कांग्रेसको १३ सदस्यीय पदाधिकारीमा १ महिलामात्र संलग्न गराएबाट दलहरूको महिलाप्रतिको दृष्टिकोण प्रष्टै हुन्छ।

दलको संकुचित दृष्टिकोणकै कारण आत्मविश्वास खस्कँदा चुनावी मैदानमा उत्रने शिक्षित सचेत महिलाको संख्या कम हुन गई ३३ प्रतिशत सुनिश्चितताको प्रावधान लागु गर्नसमेत कठिनाइ पर्ने भएकाले स्थानीय तहको चुनावदेखि नै नेतृत्वमा सक्षम र सकृय महिला संख्या बढाउनु आवश्यक छ। दलहरूले अब आफ्नो आन्तरिक संरचना महिलामैत्री र समावेशी बनाउनैपर्छ। नेतृत्वमा महिला उपस्थितिको यथेष्ट सम्भावना हुँदाहुँदै अब महिलालाई पछाडि पार्नुहुँदैन। 

देशको परराष्ट्र सेवा र कूटनीतिक क्षेत्रमा महिलाको संलग्नता अत्यन्त न्यून भएकाले यसलाई उकास्नुपर्छ। प्रजातान्त्रिक शासनकालमा समेत जम्मा दुई महिला सहाना प्रधान र सुजाता कोइरालाले परराष्ट्रमन्त्रीको जिम्मेवारी पाउनु र एकमात्र महिला विद्यादेवी भण्डारीले रक्षामन्त्रीको जिम्मेवारी पाएबाट खास खास नेतृत्वमा महिलाको संलग्नता सन्तोषजनक बनिसकेको छैन। सन् १९९१ देखि नेपाल प्रहरीमा महिलालाई भर्ती गर्न सुरु गरियो।

सशस्त्र प्रहरी बलमा सन् २००३ देखि महिला भर्ती सुरु गरिएको हो। अब यी क्षेत्रमा पनि महिलाको आकर्षण बढाउने योजना ल्याउनुपर्छ। आजको एक्काइसौँ शताब्दीमा पनि महिला सुरक्षा सेवामा प्रवेश गर्न अक्षम छन् भन्ने पितृसत्तात्मक सोचले महिलालाई अघि बढ्न दिँदैन। नेपाली सेनाले सन् २००४ देखि सेनामा महिला भर्ती सुरु गर्‍यो। हाल ६ प्रतिशत महिला सेनामा रहेको तथ्यांकले देखाएको छ।

गरिबी, अशिक्षा र उत्पीडनबाट आममहिलालाई मािथ उठाउन महिलाका पक्षमा भएका कानुन कार्यान्वयनमा सरकारले क्रान्तिकारी कदम चाल्नुपर्छ। घर, समाज र सरकारसम्म महिलाको क्षमतालाई दबाएर, चाहनालाई खुम्च्याएर र अस्तित्वलाई कुल्चिएर अघि बढेसम्म राष्ट्रिय विकास र व्यवस्थापनले गति लिन सक्दैन। देशको आधा जनसंख्यालाई सहयोगीका रूपमा मात्र व्यवहार गर्ने प्रवृत्तिले हामी समृद्धिको अभियानमा अघि बढ्न सक्दैनौँ। विषम परिस्थितिमा विवेक प्रयोग गरी देशलाई सकारात्मक कार्यदिशातर्फ अघि बढाउने हिम्मतका साथ हालनेतृत्वमा रहेका महिलाले आफूलाई नमुनाका रूपमा उभ्याउन सक्नुपर्छ।

स्थानीय तहदेखि नै नीति निर्माण तहमा महिलाको निर्णायक भूमिका बढाउनुपर्छ। प्रतिनिधित्वमात्र खोज्ने र सहायक भएरै रमाउने महिला प्रवृत्तिको अब अन्त्य हुनुपर्छ। महिला नेतृत्वलाई स्वीकार्न हरेकको मन मस्तिष्कमा रहेको पितृसत्तात्मक मानसिकता पूर्णरूपमा उखेल्नुपर्छ। परिवारदेखि समाजसम्मले महिलालाई सार्वजनिक काम गर्न सहयोग र प्रोत्साहित गर्नुपर्छ।

सुरुमा प्रोत्साहित गर्दै अघि बढाउने र पछि कार्यक्षेत्रमा उत्रँदा अनेक शंका र अपजस थोपर्दै हतोत्साहित गर्ने प्रवृत्ति हटाउनुपर्छ। सामान्य जीवनस्तरबाट माथि उठ्न नसकेका र अन्याय अत्याचारविरुद्ध न्याय पाउन तड्पिरहेका कैयौँ महिलाका मुख्य भरोसाराज्य बन्नैपर्छ।

आगामी वैशाखमा हुने स्थानीय तहको चुनावमा गाउँपालिका र नगरपालिकाका प्रमुखमै महिलाको उम्मेदवारी ह्वात्तै बढ्नुपर्नेमा टिकट दिन आफन्त हेर्ने र आर्थिक मोलमोलाइ गर्ने तथामहँगो चुनावका कारण महिलाहरू हच्कन सक्ने सम्भावना भएकाले दलहरूले टिकट दिँदा गम्भीर हुन जरुरी छ।

स्थानीय तहमा आउँदो चुनावमा दलहरूभित्र टिकट लिनै लाखौँको बार्गेनिङ भयो भने महिला फेरि पछाडि पर्ने निश्चित छ। ७५३ स्थानीय तहको प्रमुखमा महिलालाई निर्वाचित गराउँदा भ्रष्टाचारका घटनासमेत घट्न गई देश विकास र महिला सशक्तीकरणले गति लिनेमा अब शंका छैन। त्यसैले महिला नेतृत्वको नमुना बनिसकेको स्थानीय तहमा वडा तहदेखि नै नेतृत्वमा महिलालाई नै पुर्‍याउन र सामाजिक संघ/संस्था र संरचनामा समेत महिला नेतृत्व र सक्रियता बढाउन दलहरूले आफूलाई बदल्नु जरुरी छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस