समाजवादी लोकतन्त्रलाई नियाल्दै एउटा कृति
१६ साउन २०७८
•
५ मिनेट पाठ
समाजवादी लोकतन्त्रलाई नियाल्दै एउटा कृति
‘समाजवाद’ अति आकर्षक जनउपयोगी र प्रगतिशीलता बुझाउने शब्द हो। यो पंक्ति लेखक सामान्यतः भाषा, साहित्य, संस्कृतिको विद्यार्थी भएको र राजनीतिक संगतिभन्दा टाढा बस्न रुचाउने भएकाले होला, यो गुलियो शब्दको शक्तिबाट अनभिज्ञ रहँदै आइरहेको छ। तर, कहिलेकाहीँ कुनै सन्दर्भभित्र पस्न अकस्मात समयले अवसर जुराउँछ र त्यतातिर केही जान्न, बुझ्न रहर उत्पन्न हुने गर्छ। र, मेरो चासो यस्तै एउटा प्रसंगले बढ्यो।




एक दिन एकजना राजनीतिक व्यक्तित्वको हातबाट अध्ययनार्थ एउटा पुस्तक प्राप्त भयो। पुस्तकको वजन, साजसज्जा राम्रो देखियो। पढौँला भन्दै आफ्नो संकलनमा राखियो। नभन्दै एक दिन भारतबाट निस्कने महत्वपूर्ण पत्रिका ‘पहल’ को ४३/४४ अंकको संयुक्तान्त (इतिहास अंक) फेला पारेपछि उल्टाउँदै जाँदा एक ठाउँमा भारतीय समाजमा समाजवादको निर्माण बारेमा एउटा लेख देखेँ र सर्सर्ती पढेँ। उत्सुकता जाग्यो। लेखको भाषाले मलाई झन् अलमलमा पार्ने काम गर्‍यो। के हो समाजवाद?

के हो समाजवाद ?

नेपाल प्रज्ञा–प्रतिष्ठानको शब्दकोश पल्टाएँ। यस्तो भेटेँ– समाजमा रहेका आर्थिक विषमता हटाई समता ल्याउनुपर्दछ भन्ने र देशको सम्पूर्ण सम्पत्तिमा कसैको एकलौटी अधिकार हुन नदिई सबैले मिलेर परिश्रम गर्दै उत्पादन र उपभोक्ताका साधनामा समाजको साझा अधिकार रहनुपर्दछ भन्ने राजनीतिक सिद्धान्त।  

ल यसले त झन् मलाई अलमलायो। माक्र्सवादी चिन्तनभित्र समेटिएका यस्ता विचारले मलाई अझ स्पष्ट हुन मन लाग्यो अनि मलाई केही समयपूर्व प्राप्त त्यो पुस्तकको स्मरण भयो– नेपालको सन्दर्भमा–  समाजवादी लोकतन्त्र। लेखक– उपेन्द्र यादव, हाल जनता समाजवादी पार्टीका नेता।  

अब त यो कृति नपढी भएन। कमसे कम नेपालको सन्दर्भमा समाजवादको स्वरूप र अवस्थाबारे पक्कै केही लेखिएको होला। सबै कामधाम छाडेर पुस्तक पढेँ। पुस्तक पढिसकेपछि केही लेख्नैपर्ने सम्झेर यहाँ उपस्थित भएको छु।  

सामान्यतः राजनेताका कृति आ–आफ्नो आत्मकथा, कुनै घटना विशेषको विवरणमा आधारित हुने गर्छ। मैले पनि सुरुमा त्यही ठानेको थिएँ, सायद नेपालको परिप्रेक्ष्यमा समाजवादी आन्दोलनमा आफ्नो योगदानबारे लेखेको हुनुपर्छ। तर पुस्तक मेरो अनुमानविपरीत रहेछ। लेखकले नेपालमा राणाकाल र त्यसपछिका घटना क्रमलाई विवरणात्मक रूपमा प्रस्तुत गर्दै ऐतिहासिक दस्ताबेजीकरण गरेका रहेछन्। यसमा नेपालको राजनीतिमा विभिन्न समय र परिस्थितिमा हुन गएको वा गर्न बाध्य पारिएका आन्दोलनको पनि बडो सटीक प्रस्तुति छ। यस्ता आन्दोलन र कार्यक्रममा नेपालको प्रजातान्त्रिक आन्दोलन, निर्दलीय पञ्चायती व्यवस्था, विद्यार्थी आन्दोलन र जनमत संग्रह, सन् १९८५ को सत्याग्रह आन्दोलन, जनआन्दोलन (सन् १९९०) रहेका छन्।  

त्यस्तै, माओवादी सशस्त्र जनविद्रोह, जनआन्दोलन– २ र त्यसपछि आएको नेपालको अन्तरिम संविधान– ०६३, ऐतिहासिक मधेस आन्दोलन, जनजाति आन्दोलन, थारु आन्दोलन, महिला आन्दोलन, दलित आन्दोलन, मुस्लिम– खस- किसान, मजदुर आन्दोलनबारे टिप्पणी गरिएको छ।  

यसैबीच आन्दोलनकै कारण सरकारसँग ३० अगस्त २००७ मा मधेसी जनअधिकार फोरमले २२ बुँदे सहमति  गर्‍यो , तर त्यो कार्यान्वयन नहुँदा पुनः फेब्रुअरी २००८ मा दोस्रो मधेस आन्दोलनको प्रखर प्रभावले फेब्रुअरी २००८ मा आठबुँदे सहमति भएको विवरण पुस्तकमा उल्लेख छ। यिनै सहमति, सम्झौताले देशमा संघीयता, समानता, पहिचानको अधिकारसहित अनेकौँ महत्वपूर्ण अधिकार प्राप्त भएको चर्चा पनि पुस्तकमा आएको छ।  

पुस्तक दुई खण्डमा विभक्त छ। प्रथम खण्डमा माथि उल्लिखित घटना क्रमको विस्तारमा चर्चा गरिएको छ। प्रथम खण्डकै एक ठाउँमा लेखक लेख्छन्– आधुनिक नेपाल निर्माण भएको साढे दुई शताब्दी पुगिसक्दा पनि जातीय, भाषिक, सांस्कृतिक तथा क्षेत्रीय उत्पीडन अन्त्य भएन। अझ दुःखको कुरा नेपालमा भएको पटक–पटकको क्रान्ति, विद्रोह र परिवर्तनपछि पनि नेपालका शासक वर्गको मानसिकतामा परिवर्तन भएन, (पृ–६ )। यी विचारले लेखकको आन्दोलनी धारलाई प्रस्ट पार्छ।  

दोस्रो खण्डमा वर्तमान सन्दर्भमा सामाजिक लोकतन्त्र अन्तर्गत विभिन्न विचारधारा र त्यसले पारेको प्रभावबारे जानकारी दिइएको छ। यो खण्डमा  कार्लमार्क्स, स्टालिन, लियोन ट्राटस्की, बर्नस्टिन, रोजा लक्जम्बर्ग, पं. राममनोहर लोहिया, जय प्रकाशनारायण, डा. अम्बेडकरको लोकतन्त्र र समाजवादसम्बन्धी विचारको प्रस्तुतिसँगै सामाजिक क्रान्तिमा गान्धी, अम्बेडकर, लोहियाको योगदानको पनि चर्चा गरिएको छ। लोहिया समाजवादलाई लोकतन्त्रविना अधुरो मान्दथे। लोकतन्त्र र समाजवाद एउटै सिक्काका दुई पाटा उनी ठान्थे।

सारमा भन्नुपर्दा उपेन्द्र यादवको यो पुस्तक पढ्दापढ्दै फेरि एकचोटि समाजवादले मलाई थर्कायो। जब समाजवाद एउटा ठोस आकृतिमा ढलिरहेको थियो, तब त्यसको शक्ति, उच्चता, गम्भीरता र आकर्षणको हाल यो थियो कि घोर परम्परावादी, राष्ट्रिय दम्भले परिपूर्ण, रंगहरू र नश्लको केन्द्रमा राखेर ज्ञानको उत्पादन गर्ने विश्वविद्यालयले महान् इतिहास विज्ञानी जेडी बर्नाल, जोसेफ निद्यम, जेबीएस हाल्डेन, हार्रमैनलेवी र हाँगबैनजस्ता वैज्ञानिक प्रतिभालाई विश्वलाई सुम्पे, (पहल (४३ – ४४ अंक इतिहास अंक, पृ.३३८) ।

हो र ! समाजवादको यस्तो प्रभाव ! ल नेपालको सन्दर्भमा पनि केही सोचौँ न। हाम्रा लेखक के भन्छन्– पहिचान र विविधतामा एकताका लागि संघीयता र वर्ग, वर्ण, लिंग क्षेत्र आदिका आधारमा हुने शोषण, उत्पीडन र विभेदको अन्त्य गरी समानता, स्वतन्त्रता, सम्पन्नता र सामाजिक–आर्थिक न्यायका लागि समाजवादी गणतन्त्र हो।

यसैका लागि समाजवादी फोरम, संघीय स.फो., हाल जनता समाजवादी पार्टी लड्दै आएको र अगाडि पनि लड्ने उद्घोष यस पुस्तकमा लेखकले गरेका छन्। अन्तमा नेपालको सन्दर्भमा समाजवादी गणतन्त्रको मूल तत्त्वको सूची र विवरण दिइएको छ। मलाई लाग्छ, यो नै सम्पूर्ण पुस्तकको सार हो। ३६ बुँदे उक्त विवरणमा पहिलो जातिवाद र भेदभावरहित राजनीतिक तथा आर्थिक प्रणाली र अन्तिम (३६) मा जनताको सर्वोच्चता कायम हुने व्यवस्थालाई पूर्णता दिन, लोकतान्त्रिक गणतन्त्रात्मक राजनीतिको संस्थागत विकास गर्नु नै रहेको छ, जो मलाई लाग्छ आफैँमा पूर्ण छ, (पृ.७१)।

यो पुस्तक नेपालको परिप्रेक्ष्यमा सामाजिक सुव्यवस्था, शासन व्यवस्थालाई जनमुखी बनाउन नागरिकले खेलेको भूमिकाबारे सिलसिलेवार प्रस्तुतिका लागि दस्तावेज सरह हुन गएकाले पाठकको रुचिको विषय बन्न गएको छ। साथै आवश्यक जानकारीका लागि सन्दर्भ ग्रन्थको रूपमा पनि सहायक हुन सक्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
१९ घण्टा अघि
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस