हाम्रो हिजो, अब्दुल्लाहको आज
३० मंसिर २०८१
•
५ मिनेट पाठ
हाम्रो हिजो, अब्दुल्लाहको आज
यतिबेला अन्तर्राष्ट्रिय समाचारको शीर्षमा सिरिया छ। भर्खरै विद्रोहीले सत्ता लिएपछि २४ वर्षदेखि शासन गरिरहेका बसर अल असद देश छाडेर भागेका छन्। ९० प्रतिशत नागरिक गरिबीमा रहेको सिरियामा फेरि एकपटक आशा देखिएको छ। ठूला विद्रोह सफल भएपछि आशावाद छताछुल्ल हुनु स्वाभाविक हो। यो मानिसको स्वाभाव हो।




बिबिसी पत्रकारसँग कुरा गर्दै गरेका २१ वर्षका अब्दुल्लाह भन्छन्, ‘म अहिले स्वतन्त्र महसुस गरिरहेको छु। स्वतन्त्र भएको छु। म मेरा विचारलाई निःसंकोच व्यक्त गर्न सक्छु।’ अब्दुल्लाहको कुरा सुनिसकेपछि मलाई हामीकहाँ २०४६ र २०६२/६३ को जनआन्दोलन सफल हुँदाको क्षण सम्झना भयो। हामी पनि त्यस्तै सोचिरहेका थियौँ। हामी स्वतन्त्र भयौँ, अब धेरै काम गर्न सकिन्छ भन्ने लागेको पनि हो।

२०६२/६३ को आन्दोलन सफल भएलगत्तै अति उत्साहको समय थियो। देश अगाडि बढ्न अब केहीले रोक्न सक्दैन भन्ने हामीलाई लाग्थ्यो तर देश अगाडि बढ्न सकेन। देश विकासको समग्र मापन व्यक्तिको जीवनमा आएका परिवर्तनसँग हुन्छ। तिनै अब्दुल्लाहले थप आशा व्यक्त गरेका छन्– ‘पहिले भन्दा अब अर्थतन्त्र राम्रो हुन्छ भन्नेमा म आशावादी छु। आशा गर्छु मैले कार किन्न सक्नेछु। मेरो सपनाको कार हुनेछ। अब युद्ध हुने छैन, शान्ति हुनेछ।’ दमास्कसमा भेटिएका अब्दुल्लाहको आशा त्यतिबेला चुलिनेछ, जतिबेला उनले आफ्नो सपनाको कार किन्नेछन्। देशमा शान्ति छाउनेछ र उनले आफ्ना सन्तानको भविष्य उज्ज्वल देखेपछि त्यहाँको व्यवस्था सफल भएको मानिनेछ।

अब्दुल्लाहको जस्तै अवस्था हाम्रो पनि नभएको होइन। अहिले सबैको ध्यान र धारणा एउटै छ, यहाँ केही हुँदैन। जनआन्दोलन २०६२/६३ सफल भएपछि मुलुकमा शान्ति छाउँछ। शान्तिले समृद्धि ल्याउँछ भन्ने भावना थियो। मुलुकमा एक किसिमको शान्ति पनि छाएको छ। कम्तीमा हिंसा हत्याको राजनीति सकिएको छ। कसैले बोल्न नपाउने भन्ने छैन। जसले जे बोल्न पनि पाउने अवस्था यो मुलुकमा रहेकै हो। तर समृद्धिको सपना भने यहाँ अल्मलिएको छ।

नागरिकको सुखानुभूति सुशासनमा निर्भर गर्छ। सर्वसाधारणले राजनीतिक व्यवस्था परिवर्तनपछि आफ्नो जीवनमा सुख आयो वा आएन भनेर तुलना गर्छन्। आफूसँगै हिजो आन्दोलनमा गएका दलका कार्यकर्ताको जीवन र आफ्नो जीवन उस्तै भयो भने स्वाभाविकरूपमा त्यहाँ सुखद अनुभूति हुन्छ। प्रायः हामीकहाँ तुलना गरिन्छ– हिजो चप्पल लगाएर आएको मानिस आज महँगो गाडी चढेर हिँडेको छ। आफू भने उस्ताको उस्तै अवस्थामा छ भने स्वाभाविकरूपमा दोष राजनीतिक प्रणालीतिर जान्छ। प्रणालीतिरभन्दा बढी त्यसलाई चलाउनेतिर जान्छ।

त्यसैले राजनीतिको उद्देश्य जहिल्यै सर्वसाधारणको जीवन परिवर्तनमा लगाउने हुनुपर्छ। त्यसका लागि सबैका निम्ति समान अवसर सिर्जना पहिलो सर्त हुन्छ। वास्तवमा हाम्रो मुलुकमा दुई किसिमका नागरिक छन्– पहिलो दलगत, दोस्रो दलबाहिरका नागरिक। कुनै पनि अवसर वा नियुक्तिमा दलगत नागरिकले पहिलो प्राथमिकता पाउँछन्। कुनै दलको पनि हुन नसक्ने नागरिक कतैको हुँदैन। योग्य व्यक्तिलाई खोजेर नियुक्ति दिने ठाउँमा स्वाभाविकरूपमा सबैको आकर्षण हुन्छ। प्रणालीले नै योग्य व्यक्तिलाई छानेर जिम्मेवारी दिने भएपछि व्यक्ति आफ्नो योग्यता बढाउनतिर लागेका हुन्छन्।

पछिल्ला वर्षहरूमा हाम्रा नागरिक बढी  उद्वेलित छन्। यसको कारण छ– शिक्षा/स्वास्थ्य महँगो छ। सार्वजनिक यातायातमा अव्यवस्था छ। सरकारी कार्यालयमा जाँदा सबैभन्दा धेरै दुःख पाइन्छ। क्षमताका आधारमा काम पाइँदैन। कतै केही काम गराउनुप¥यो भने ‘सोर्सफोर्स’ चाहिन्छ। सर्वसाधारणका निम्ति सस्तो स्कुल चलाउँदै आएका एक अभियन्ता भन्छन्– सरकारी कार्यालयमा काम नपरोस् भन्ने सोच्नुपर्छ। परिहाल्यो भने झन्झट थेग्न सकिँदैन। उनले एउटा नगरपालिकाबाट अर्को नगरपालिकामा स्कुल सार्नुपर्ने भएछ। त्यो स्कुलछेउमा आउँदा आफ्नो निजी स्कुललाई समस्या पर्ने भएपछि नगरपालिका पदाधिकारीले त्यसलाई आउँनै दिएनन्।

यस्तो समस्यामा पर्ने मानिसले अहिलेको प्रणालीप्रति के खुसियाली मनाउनु र ? वर्तमान राजनीतिक प्रणालीमा करिब ३५ हजार राजनीतिक कार्यकर्ताले विभिन्न तहका राज्यका निकायमा निर्वाचन र नियुक्तिमार्फत रोजगारी पाएका छन्। संघीयता लागु भएको छ तर त्यसमा राज्यले पाल्नुपर्ने संख्या ठूलो छ। त्यसले कसै गरे पनि आमसन्तुष्टि ल्याउँदैन।

निजामती कर्मचारीकै हकमा यो संख्या घटाउनुपर्छ भन्ने छ। नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारीका साथै तलब भत्ता खाने राजनीतिक दलका नेता तथा कार्यकर्तासमेत गर्दा यो मुलुकले निकै ठूलो लगानी गर्छ। चार आनाको तरकारी पकाउन बार आनाको मसला चाहिन्छ। यस्तो अवस्थामा देशमा कसरी सन्तुष्टि हुन्छ ?

देशमा विकास खर्च एकतिहाइ पनि नहुने र दुई तिहाइभन्दा बढी तलबभत्तामा खर्च गर्ने मुलुकले कस्तो आर्थिक उपलब्धि हासिल गर्छ र ? अनि जतिसुकै सकारात्मक हुन खोज्दा पनि बाटो भेटिँदैन। सर्वसाधारण देशभित्र रोजगारी नपाएर विदेश जान तयार छन्। प्रत्येक घरको हुर्केको सन्तान विदेश कसरी जाने भन्ने सोचमा हुन्छ। पढेलेखेको घरको सन्तान अमेरिका, अस्ट्रेलिया, बेलायत, क्यानाडा जान चाहन्छ। नपढेको सन्तान मलेसियादेखि खाडीसम्मका मुलुकमा एकपटक जान पाए हुन्थ्यो भन्नेमा छ।

कृषि व्यवसाय परित्यक्त भइसकेको छ। कृषिमा लागेर पनि के गर्नु ? उत्पादनले बजार पाउँदैन। यहाँका किसानलाई निरुत्साहित गरेपछि विदेशमा कमाएर ल्याएको रकमले विदेशीकै कृषिजन्य वस्तु र फलफूल खानुपर्ने अवस्था छ। अन्यथा हाम्रा बजारमा थाइल्याण्डको अम्बा यतिबेला छेलोखेलो हुने थिएन। भारतीय तरकारी र फलफूलको नेपाल एकलौटी बजार हुँदै हो।

चीनसँग व्यापार गर्ने भनेर १४ वटा नाका खुलेका छन्। रसुवागढी नाका उसैको सहयोगले खुलिसकेको छ। त्यो पूरै कालोपत्र हुन त वर्षौँ लाग्छ। तर त्यही बाटोबाट काठमाडौँ आउने विद्युतीय गाडीले अहिले रसुवागढी यताको खोच सबै भरिएको छ। चीनबाट आउने गाडी त्यहाँबाट गुडाएरै काठमाडौँ र अन्य बजारसम्म पुग्छन्। भारतबाट आउने सामानको होस् वा चीन, सबैको बजार मात्र हो नेपाल। यहाँबाट विदेशमा सामान उत्पादन गरेर पठाउने भन्ने सोच कमै छ। त्यही भएर यहाँ धेरैले सपना देख्न छाडिसकेका छन्। बरु सकेसम्म चाँडै देश छाड्न पाइयोस् भन्ने चाहना भएका मानिस हाम्रा वरिपरि प्रशस्त भेटिन्छन्।

अरू त अरू केही वर्षपछि देशकै अस्पतालमा डाक्टर र नर्स नपाइने अवस्था आइसकेको छ। नयाँ पत्रिका दैनिकले शनिबार दिएको समाचारअनुसार मुलुकमा नो अब्जेक्सन लेटर (एनओसी) लिएका ९० प्रतिशत नर्सले देश छाडिसकेका छन्। विदेश जान एनओसी लिइसकेका नर्सको संख्या ४३ हजार पुगिसकेको छ। नर्सिङ काउन्सिलमा दर्ता एक लाख २१ हजार नर्समध्ये सबै जनशक्ति बाहिरिइसकेको छ।

हो, यस्तै अवस्थामा हो देशप्रति आशा हुने खबरको खोजी हुने। यतिबेला सिरियाका अब्दुल्लाहले देखेको सपना हामीकहाँ पनि प्रत्येक आन्दोलनपछि सर्वसाधारणले देखेका थिए। तर, त्यो सपना विघटन भएका कारण अहिले ती फेरि अर्को विद्रोहको प्रतीक्षामा रहन थालेका छन्। अहिले भइरहेका नेतालाई तिनले देख्न सकेका छैनन्। भएका नेतालाई बसर अल असद वा सेख हसिना वा यस्तै केही बनाउन पाए हुन्थ्यो भन्ने लागिरहेको छ। सिरियाको अहिलेको उत्साहलाई म भने हाम्रो विगतको उत्साहसँग तुलना गरिरहेको छु। कति चाँडै यस्तो उत्साह सुकेर खङ्ग्रङ्ग हुन्छ।  
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस