अहंकारको अवसान
१८ जेष्ठ २०८१
•
४ मिनेट पाठ
अहंकारको अवसान
२०७९ सालको आमनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको शानदार सफलतापछि समाजिक सञ्जालमा नेपाली कांग्रेस, एमाले तथा माओवादी केन्द्र जस्ता पार्टीहरूलाई अब सच्चिने कि सक्किने हो भनेर खिसीटिउरी गर्ने तथा अर्थपूर्ण कडा प्रहार गर्ने कार्य भैरहेका छन्। कतिपयले त यहाँसम्म भन्ने गरेका छन्, बरु गधा गाई बन्न सक्ला तर पुराना ठूला पार्टी र पार्टीमा कब्जा जमाएर बसेका बूढा नेताहरू सुध्रिनेवाला छैनन्।




आमनागरिक मात्र होइन, तत्तत् पार्टीका कतिपय कार्यकर्ता तथा युवा नेताहरूले समेत यस्तै आशय व्यक्त गरेका छन्। कांग्रेस नेता शेखर कोइराला तथा गगन थापा समूहले यही मौकामा जोडतोडका साथ पार्टी रूपन्तरणको मुद्दा उठाउँदै आएका छन् भने देउवा समूह भने मौन छ। मानौं, देउवा नेतृत्वको कुनै गल्ती तथा कमजोरी छैन, उनीभन्दा सक्षम नेता कांग्रेसमा अर्को छैन।

देउवा, ओली तथा प्रचण्डहरू यस विषयमा मौन भए पनि माधव नेपालले भने अब पनि हामी सच्चिएनौं भने ठूलो मूल्य चुकाउनुपर्छ भनेका छन्। तर यो उनको ओठे गफ मात्र हो। त्यो किनभने स्वयं उनी नै प्रधानमन्त्रीको आशमा र्‍याल काढेर ढुकेका छन्। देउवा, ओली, प्रचण्ड तथा माधव जस्ता पटक पटक मन्त्री तथा प्रधानमन्त्री भएका कोही पनि नेता सच्चिनेवाला छैनन्। सच्चिन आवश्यक पनि ठान्दैनन्। देउवा पाँच–पाँच पटक प्रधानमन्त्री हुँदासमेत सच्चिएनन् भने अब कहिल्यै सच्चिएलान् ?

कुनै पनि व्यक्तिले कार्य गर्दा आफ्नो गल्ती तथा कमी कमजोरी देख्यो भने पो सच्चिन्छ वा सच्चिने प्रयास गर्छ। मैले जे गरेको छु, ठीक गरेको छु, मभन्दा सक्षम व्यक्ति अर्को को छ भन्ने अहं छ भने व्यक्ति सच्चिने कुरै भएन। मनोविज्ञानको एक गहन विषय के हो भने प्रायः व्यक्तिले आफैं बनाएको अंहकारको पहाड आफैं भत्काउने साहस नै गर्दैन। यस्ता व्यक्तिमा के भ्रम हुन्छ कि यही अहं नै उसको सम्पत्ति हो। तर वास्तविकता भने के हो भने अंहकारको त्यो पहाड नभत्काएसम्म कसैले सच्चिने कल्पना नगरे पनि हुन्छ। सच्चिनुपर्ने व्यक्ति नसच्चिएसम्म सफलताको शिखरमा झण्डा गाड्न सक्ने सवालै भएन।

समस्याको जड भनेको नै अंहकार हो। यही अंहकारका कारण नै ठूलाठूला नेता, पार्टी तथा साम्राज्यहरू गल्र्यामगुर्लुम ढलेका छन्। श्रीमद्भगवत् गीतामा श्रीकृष्णले दम्भ, घमण्ड, अभिमान तथा क्रोधलाई आसुरी सम्पदा भनेका छन्। यिनै दुर्गुणहरूले मानिसलाई अधोगतितिर लान्छ, मानिसको विनाश गर्छ भनेका छन्।

मन्दोदरीले रावणसँग सीतालाई ससम्मान रामलाई फिर्ता दिई माफी माग्न हजार विन्ती गरेकी थिइन्। तर रावणले ठाडै अस्वीकार गरे। रावणमा विश्व विजेताको अहंकार थियो कि ब्रह्माण्डको कुनै पनि शक्तिले उसलाई हराउन सक्दैनन्। रावणको यही अहंकारका कारण लंका नै ध्वस्त भयो। रावणको पतन भयो।

कृष्णले धृतराष्ट्रको दरबारमा दुर्योधनको उपस्थितिमा पाण्डवको तर्फबाट सन्धिको प्रस्ताव राखेका थिए। पाण्डवलाई पाँच गाउँ दिने हो भने युद्ध रोकिन्छ भनेका थिए। तर अहंकारी दुर्योधनले कृष्णको प्रस्ताव ठाडै अस्वीकार गरे। नतिजा महाभारत युद्ध भयो। कौरवको विनाश भयो।

अहंकार यस्तो नकारात्मक मानवीय भावना हो जसका कारण मानिसले आफूलाई जीवनको हरक्षेत्रमा उत्कृष्ट मान्न थाल्छन्। अरूलाई निचो देखाउने प्रयास गर्छन् र अरूलाई निचो देखाएर नै अगाडि बढ्ने सोच्छन्। केही उचाइमा पुगेपछि उसको अहंकार झनै बढ्छ। अनि मदोन्मत्त हुन्छन्। अहंकारको मातमा मानिसले अरूको ज्ञान र अनुभव ठीकसँग उपयोग गर्न पाउँदैनन्। अंहकारकै कारण मानिसले पाप गर्छन्, अपराध गर्छन्। अहंकार कारण नै जीवनमा दुःखद घटनाहरू पैदा हुन्छन्। अहंको कारण नै मानिसको पतन हुन्छ। त्यसबेला उसलाई साथ दिने कोही हुँदैनन्। यसरी नै मानिसको व्यक्तित्व नष्ट हुन्छ। अनेक मानसिक समस्या पनि यही अहंकारका कारण नै पैदा हुन्छन्।

सबैले बुझ्नुपर्ने कुरा के हो भने यस संसारका हरेक व्यक्ति चाहे शारीरिकरूपमा कति नै कमजोर तथा मानसिकरूपमा कति नै खराब किन नहोस्, उसमा कुनै न कुनै गुण अवश्य हुन्छ भने मानिस जति नै शक्तिशाली वा असल किन नहोस् उसमा कुनै न कुनै अवगुण अवश्य हुन्छ। भनिएको नै छ, गुण नभएका राक्षस हुँदैनन्, अवगुण नभएका देउता हुँदैनन्। त्यसैले अहंले मदोन्मत्त भएर कसैले कसैलाई अवमूल्यन गर्नुहुँदैन।

अहंकारको जन्म आत्मप्रशांसाको बिजबाट पैदा हुन्छ। स्वयंको सर्वोच्चता मान्ने भावनाले पैदा हुन्छ। तर यो एक झुटो सत्य हो। त्यो किनभने जसलाई मानिसले आत्मविश्वास भन्छन्, त्यो एक झुट हो, जो मानिसले आफैँ निर्माण गरेको हुन्छ। वास्तवमा अहं मानिसको छायाँ जस्तै हो। जस्तो कि शरीर छ भने छायाँ पनि हुन्छ। छायाँ न राम्रो हुन्छ न नराम्रो। सूर्य माथि भयो भने छायाँ सानो हुन्छ, सूर्य ढल्दै जाँदा छायाँ अग्लो हुन्छ। यसरी हेर्दा अहंकारले मानिसलाई लक्ष्यको बाटोबाट भड्काउँछ। 
अर्को समाचार
अहंकारको अवसान र उदीयमान ध्रुव
२३ चैत्र २०८२
•
७ मिनेट पाठ
अहंकारको अवसान र उदीयमान ध्रुव
सन् १९९० मा बर्लिनको पर्खाल ढल्दा फ्रान्सिस फुकुयामाले ‘द इन्ड अफ हिस्ट्री’ (१९९२) लेखेर उदारवादी पुँजीवादको अन्तिम विजय भएको घोषणा गरे तर त्यो विजयोत्सवमा ‘एलिमिनेट’ गरिएका अन्तरविरोधहरू फेरि पलाए। पुँजीवादभित्रको अहंकार र कर्पोरेट संस्कृतिको विलासिताले आफ्नै जग खनिरहेको थियो, जसको संकेत कार्ल माक्र्सले धेरै पहिले आफ्नो कृति ‘क्यापिटल’मा गरेका थिए। आज पश्चिमा मुलुकहरूमा माक्र्सका पुस्तकहरूको बढ्दो बिक्रीले पुँजीवादी संकटको पुनरागमनलाई पुष्टि गर्छ।




अर्कोतर्फ, सोभियत संघको पतन अरूले भन्दा पनि आफ्नै भित्रका ‘लाल अभिजात’ र ‘नोमेनक्लातुरा’ (विशेषाधिकार प्राप्त वर्ग) का कारण भएको थियो। कम्युनिस्टहरूले बुर्जुवाबाट त सिके तर पुँजीवादका राम्रा पक्षलाई आत्मसात गर्न सकेनन्। इजरायलको ‘किब्युज’ वा जापानको सहकारी मोडलजस्तो सफल कम्युन बनाउन चुके। मानवीय चिन्तन मेकानिकल आदेशमा चल्न सक्दैन भन्ने पाठ इतिहासले सिकायो।

फुकुयामाले  ‘द इन्ड अफ हिस्ट्री’ लेख्दै गर्दा चिनियाँ प्राध्यापक तथा वर्तमान राजनीतिज्ञ वाङ हुनिङ भने ‘अमेरिका एगेन्स्ट अमेरिका’ लेख्दै थिए। आज ३५ वर्षपछि त्यसले सान्दर्भिकता पाएको छ।  यसले धेरैलाई अचम्मित पनि तुल्यायो। फुकुयामा सान्दर्भिक भएनन् तर वाङको संकेत घटनाक्रमहरूले पुष्टि हुँदै छन्। अमेरिकी सेनापतिहरूको बर्खास्ती, महान्यायाधिवक्ताको राजीनामा र देशव्यापी विशाल प्रदर्शन, वाङ हुनिङको त्यसबेलाको भविष्यवाणीसँग मेल खाएका छन्।

वाङले आफ्नो पुस्तकमा अमेरिका कुनै बाह्य शक्तिबाट नभई आफ्नै आन्तरिक अन्तर्विरोधका कारण कमजोर हुने तर्क गरेका थिए। उनले अमेरिकी समाजमा व्यक्तिवाद, सामाजिक मूल्यहरूको क्षय र संस्थागत अस्थिरताले अन्ततः ‘अमेरिकाले नै अमेरिकाको विरोध गर्ने’ स्थिति आउने व्याख्या गरे। अहिले अमेरिकाका प्रमुख सहरहरूमा भइरहेको  विशाल प्रदर्शन (नो किंग्स प्रोटेस्ट वा युद्ध विरोधी प्रदर्शन) ले त्यही आन्तरिक विभाजनलाई पुष्टि गर्छ।

हालैका दिनमा (मार्च–अप्रिल २०२६) रक्षा सचिव पिट हेगसेथ र राष्ट्रपति ट्रम्पद्वारा महान्यायाधिवक्ता पाम बोन्डीको बर्खास्ती, साथै शीर्ष जनरलहरू (जस्तै जनरल रेन्डी जर्ज) लाई पदमुक्त गर्नुले अमेरिकी संस्थागत संरचनामा आएको गहिरो ‘सिस्टम ब्रेकडाउन’ देखाउँछ। वाङ हुनिङले भनेका थिए कि जब राजनीतिक नेतृत्व र स्थायी संस्थाहरूबिचको सन्तुलन बिग्रन्छ, तब महाशक्ति राष्ट्रको पतनको प्रक्रिया तीव्र हुन्छ।

टकर काल्र्सनजस्ता प्रभावशाली सञ्चारकर्मीहरूले अहिले यो युद्ध ‘अमेरिकाको नभई इजरायलको हो’ भन्नुले अमेरिकी राष्ट्रवादको एउटा नयाँ र कट्टर धारलाई प्रतिनिधित्व गर्छ। वाङले अमेरिकी विदेश नीति र घरेलु राजनीतिबिचको खाडल बढ्दै जाने संकेत गरेका थिए। काल्र्सनजस्ता राष्ट्रपतिका कट्टर समर्थक प्रभावशाली व्यक्तिको तर्कले के देखाउँछ भने अब अमेरिकी जनता आफ्नै करको पैसा र सैनिकहरू अर्को देशको स्वार्थका लागि खर्च गर्न तयार छैनन्। जब समाजको एउटा ठुलो हिस्साले आफ्नै सरकारको रणनीतिक गठबन्धनलाई बोझ मान्न थाल्छ, तब वाङको ‘अमेरिकाविरुद्ध अमेरिका’को भाष्य प्रमाणित गर्छ।

अमेरिकाका ५० वटै राज्यमा भएका प्रदर्शनले पनि अमेरिकी जनमानसमा व्याप्त ‘एन्टी–इस्टाब्लिसमेन्ट’ भावनालाई देखाउँछ। इरानसँगको युद्ध, आर्थिक मन्दी र आन्तरिक राजनीतिक प्रतिशोधको खेलले गर्दा सर्वसाधारण सडकमा उत्रिए। यो वाङ हुनिङले औंल्याएको त्यही ‘सामाजिक अस्थिरता’ हो, जसले व्यवस्थालाई भित्रैबाट खोक्रो बनाउँछ।

वाङ हुनिङको विश्लेषण ‘भविष्यवाणी’ साबित भए। उनले अमेरिका ‘बाहिरबाट बलियो तर भित्रबाट खोक्रो र विभाजित’ थियो भन्ने हो। चिनियाँ एआई र अमेरिकी एआईबिचको भाष्य निर्माणको युद्ध, डेमोक्य्राट र रिपब्लिकनबिचको शत्रुतापूर्ण सम्बन्ध, सैन्य शीर्ष नेतृत्वमा भइरहेको फेरबदल।

यी सबैले गरेको  संकेत भनेको अमेरिका अहिले कुनै बाह्य शत्रुसँग भन्दा पनि आफ्नै छायाँसँग लडिरहेको छ। वाङ हुनिङले ३५ वर्षअघि जुन सिस्टमेटिक कोल्याप्सको परिकल्पना गरेका थिए, अहिलेको अमेरिका त्यही मार्गमा हिँडिरहेको छ। चिनियाँ नेतृत्व (जसमा वाङ हुनिङ अझै शक्तिशाली छन्) ले अमेरिकाको यही आन्तरिक कमजोरीलाई आफ्नो रणनीतिक जितको आधार बनाएको बुझ्न गाह्रो छैन।

फुकुयामा र वाङ हुनिङ व्याख्याले हामी अहिलेको अमेरिकी इजरायली र इरान युद्धलाई नियालौं। एक्काइसौं शताब्दीको विश्व राजनीति केवल भूगोल र सिमानामा सीमित छैन। यो मानिसको मनोविज्ञान, प्रविधिको ‘अल्गोरिदम’ र अदृश्य शक्तिको तानातानमा जेलिएको छ। एकातिर सूचनाको बाढी छ भने अर्कातिर सत्यको अनिकाल। यही अन्योलबिच विश्वका शक्ति राष्ट्रहरूबिच चलिरहेको द्वन्द्वले मानव सभ्यतालाई फेरि एकपटक जटिल मोडमा उभ्याइदियो।

सूचनाको युद्ध र सत्यको निर्माण आधुनिक मानिस आफूलाई जे विश्वास लाग्छ, त्यही मात्र हेर्न, सुन्न र देख्न चाहन्छ। यसलाई मनोविज्ञानमा ‘कन्फर्मेसन बायस’ भनिन्छ। आजका उपभोक्ताहरू गम्भीर विश्लेषणभन्दा ‘फ्यास्ट न्युज’मा रमाउँछन्,तर विडम्बना ! तिनै उपभोक्ता अहिले इरान युद्धका विभत्स दृश्य र विश्लेषणमा झुम्मिएका छन्।

युद्धमा सबैभन्दा पहिला सत्यको हत्या हुन्छ, अर्थात् रणमैदानको सिपाहीभन्दा पहिला समाचार घाइते हुन्छ। अहिले मिडियामा समाचार मात्र छैनन्, ‘कुसमाचार’ र प्रायोजित भाष्यहरूको लडाइँ छ। सामाजिक सञ्जालका अल्गोरिदमले मानिसको रुचिअनुसारकै एउटा कृत्रिम संसार (इको च्याम्बर) बनाइदिन्छ, जहाँ ऊ आफूलाई मन पर्ने झुटलाई नै परम सत्य मान्न पुग्छ। पश्चिमा एआईले लोकतन्त्र र उदारवादको जलप लगाएको भाष्य पस्कन्छ भने चिनियाँ एआईले स्थिरता र राज्य–नियन्त्रित समृद्धिको अर्को पाटो। यसरी प्रविधिले आज मानिसको ‘क्रिटिकल थिंकिङ’ अर्थात् आलोचनात्मक चेतलाई भुत्ते बनाइदिएको छ।

मानवभित्रको हिंस्रक आदिम चरित्र मानिस कस्तो प्राणी हो, जो रणमैदानमा रगत बगेको देखेर ताली बजाउँछ ? रेस्लिङको रिङ होस् वा फुटबलको मैदान, मानिसले त्यहाँ युद्धको झल्को खोज्छ। आज इजरायल–अमेरिकी र इरान युद्धमा मानिसले कुनै अनलाइन गेम वा स्टेडियमको खेलजस्तै गरी ‘पक्ष’ छान्ने र मनोरञ्जन लिने विषय बनाएका छन्। यो हिंस्रक प्रवृत्ति मानव सभ्यताको ‘जेनेटिक क्यारेक्टर’ हो कि भन्ने प्रश्न उब्जिएको छ। सभ्यताको विकासले मानिसलाई बाहिरबाट त सुसंस्कृत बनायो तर भित्र लुकेको आदिम हिंस्रक स्वभाव अझै जीवितै छ, जुन युद्धको बेला वीभत्स रूपमा प्रकट हुन्छ।

‘हाइटेक’लाई ‘लोटेक’को चुनौती

अमेरिकी–इजरायल र इरानबिचको हालैको युद्धले एउटा ठुलो भ्रम चिरेको छ। त्यो हो– मनी, मिडिया र हतियारले मात्र संसार नियन्त्रण गर्न सकिँदैन। वर्षौंदेखि बनाइएको ‘अजेय इजरायल’ वा ‘सर्वशक्तिमान अमेरिका’को भाष्य लोटेक र सस्तो प्रविधिले पनि भत्काइदियो।

ज्ञान र शक्ति कसैको निजी पेवा होइन। महँगा प्रतिरक्षा प्रणालीहरूलाई सस्तो ड्रोन वा सामान्य रणनीतिको भरमा चुनौती दिन सकिन्छ भन्ने देखियो। प्रचार युद्धले बनाएका ‘हाइपर–रियालिटी’हरू बिस्तारै जमिनी यथार्थसँग ठोक्किएर चकनाचुर हुँदै गए। हाम्रा सोच र मिडियाका स्रोत  एग्लो भाष्यअनुसार छन्। युद्धको सन्देश त सबै चुलाचौकामा पुगे मात्रै हैन, यस युद्धले चिन्तनका आधारमा पनि हस्तक्षप गरिदियो।

अब भाष्यकारहरूमा नयाँ बहस सुरु भयो– इतिहासको अन्त्य कि अहंकारको सुरुवात?

बदलिँदो शक्ति सन्तुलन र चीनको ‘मौन विजय’

शक्ति, रूप र धन असाध्यै चञ्चल हुन्छन्। अमेरिका र इजरायली अभेद्य किल्लाहरू ध्वस्त हुनुले पुरानो शक्ति सन्तुलन भत्किएको संकेत गर्छ। नाटो देशहरूले समेत अमेरिकालाई अन्धभक्त भएर साथ नदिनुले पश्चिमा एकतामा दरार आएको प्रस्ट देखाउँछ।

यो सम्पूर्ण युद्धको कोलाहलमा एउटा रोचक दृश्य देखिएको छ– चीन। चीनले एउटा गोली नपड्काई र एकजना सैनिक नगुमाई रणनीतिक रूपमा विश्व राजनीति जित्दै छ। अमेरिका र इजरायलले इरानलाई पूर्ण रूपमा पराजित गर्न सक्ने अवस्था छैन। संयुक्त राष्ट्र संघको औचित्यमाथि प्रश्न उठिरहेको बेला अब विश्वमा कुनै पनि मध्यस्थताका लागि चिनियाँ ग्यारेन्टी नै बढी विश्वसनीय बन्ने देखिएको छ।

पुरानो विश्व व्यवस्था भत्किँदै छ तर नयाँले अझै पूर्ण आकार लिइसकेको छैन। ‘युनिपोलर’ (एकध्रुवीय) विश्वको भाष्य अब इतिहासको पानामा सीमित हुने देखिन्छ। अबको विश्व ‘मल्टिपोलर’ अर्थात् बहुध्रुवीय हुने निश्चित छ तर प्रश्न बाँकी नै छ– के नयाँ शक्तिले मानव सभ्यतालाई युद्ध र हिंसाबाट जोगाउन सक्ला त? वा फेरि नयाँ अल्गोरिदमले नयाँ भ्रमको खेती मात्रै गर्नेछ? इतिहास सधैं शक्तिको पछि दौडिन्छ तर सत्य भने सधैं शक्ति र भ्रमबिच कतै घाइते भएर बाँचिरहेको हुन्छ। भाष्य फेरिँदै जाँदा के हामी पनि आलोचनात्मक चेतना विकास गरेर हरेक घटनालाई भेडावाद (भिडको भाष्य)मा नफसी घटनापछिको नियत नियालेर धारणा बनाउने अवस्थामा पुगौंला!
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस