कहिलेसम्म दासताको कलङ्क?
२६ पौष २०८०
•
६ मिनेट पाठ
कहिलेसम्म दासताको कलङ्क?
क्याप्शन
कानुनतः विक्रम संवत् १९८७ मै दास प्रथा उन्मूलन गरेका हुन् प्रधानमन्त्री चन्द्रशमशेरले। तर पनि अवशेषका रूपमा यो प्रथा लामै समय कायम रह्यो। जसको बाछिटाले अहिलेसम्म पनि नेपाली समाजलाई दूषित तुल्याइरहेको छ। चाहे त्यो मुक्त कमैयाको रूपमा होस् या हलियाको। कमलरीका अवतारमा होस् या हरूवाचरुवाको। कुनै न कुनैरूपमा यो समुदायका धेरै मानिस अहिले पनि दासताकै साङ्लोमा बाँधिन विवश छन्, चाहे त्यो नयाँ आवरणमै किन नहोस्।




हेरौँ केही प्रमाण

सरकारले कमैया मुक्तिको घोषणा गरेपछि विक्रम संवत् २०५७ र २०५९ मा लिएको तथ्याङ्कले मुक्त कमैया परिवारको सङ्ख्या ३२ हजार ५ सय ९ देखायो। गणना गर्दा कमैयालाई क, ख, ग र घ गरी ४ वर्गमा विभाजन गरिएको थियो। जसमध्ये क र ख वर्गमा पर्नेलाई मात्र पुनस्र्थापनामा समेटियो।

यसरी सरकारी तथ्याङ्ककै आधारमा हेर्दा २७ हजार ५ सय ७० परिवारलाई पुनस्र्थापना गर्नुपर्ने थियो। तर उसकै जानकारीअनुसार २७ हजार २१ जना पुनस्र्थापित भए। अर्थात् ५ सय ४९ मुक्त परिवार कमैया पुनस्र्थापनामा समेटिएनन्।

सरकारी तथ्याङ्कअनुसार मुक्त कमलरीको सङ्ख्या ९ हजार ४ सय ९० छ। मुक्त कमलरीहरूकै संस्था मुक्त कमलरी विकास मञ्चले भने यस्तो सङ्ख्या १२ हजार ७ सय ६९ जना भएको जनाएको छ।
तर मुक्त घोषित कमलरीले पुनस्र्थापनालगायतका अन्य सुविधा पाउनु त कहाँ हो कहाँ, मुक्त कमलरी हो भन्ने परिचयपत्र पाउनसमेत आन्दोलनमा उत्रनुपरेको छ। यीमध्ये २ हजार ३ सय ५२ जनाले मात्र यस्तो परिचयपत्र पाएका छन्। यो परिचयपत्रको उपादेयताबारे पूर्वकमलरी उर्मिला चौधरीको भनाइ नै काफी छ– ‘बरु क्याम्पसको परिचयपत्र देखाए सार्वजनिक बसमा केही प्रतिशत भाडा छूट मिल्छ, हामीलाई दिइने मुक्त कमलरी परिचयपत्रको भाउ त कौडीको जति पनि छैन ।’ तर विडम्बना, यही खोटो परिचयपत्र दिन पनि आन्दोलनै चाहन्छ सरकार।

हलिया दास प्रथाको अर्को अवशेष हो। सरकारले निकै निफननाफनपछि घोषणा गरेको मुक्त हलिया परिवारको सङ्ख्या १६ हजार ३ सय २२ छ। जसमध्ये सरकारीतवरबाट २ हजार २ सय ३ परिवारका लागि मात्र घर निर्माण भएको छ। १ हजार ६ सय १ परिवारका लागि जग्गा किनिएको छ। अनि ८ हजार ४ सय २७ परिवारलाई चाहिँ घर मर्मत गरेको भनेर ‘पुनर्स्थापना भएका’ मा समेटिएको छ। यसरी हेर्दा ४ हजार ९१ परिवार हिस्स परेका छन्।

एकातिर सरकारी तथ्याङ्कभन्दा धेरै यस्ता पीडित भएका पीडितहरूकै सङ्गठनको दाबी छ। जसमा गैरसरकारी संस्थाहरूको पनि सहमति छ। अर्कोतर्फ आफैँले दाबी गरेको सङ्ख्यालाई पनि पुनर्स्थापनामा समेट्न नसक्नु सरकारी अक्षमताको पराकाष्ठा हो।
यस्तो सङ्ख्या भनेको मुक्त भएर पनि त्यसको स्वाद उपभोग गर्न नपाएकाहरू हुन् अर्थात मुक्तिले नसमेटेका कारण पूर्ववत् भन्दा पनि दयनीय अवस्था बिताउन बाध्य परिवार हुन। जसलाई अहिले पनि मालिक/जमिनदारसँगै काम र मामको याचना गर्न विवश तुल्याइएको छ।

हरूवाचरुवा विशेषगरी तराईमा विद्यमान दास प्रथाकै अर्को अवशेष हो। विशेषगरी भूमिहीन दलितहरू हरूवाचरुवाका रूपमा सामेल हुन्छन्। पश्चिममा व्याप्त कमैया प्रथासँग मेल खाने हरूवा प्रथा पूर्णतः भूमिसँग सम्बन्धित छ। आफ्नो केही नभएकै कारण उनीहरू ऋणको पासोमा परेका हुन्छन् र यही तिर्न नसक्दा ऋणकर्ताको बँधुवा मजदूरका रूपमा रहन बाध्य हुन्छन् जसले उसको सम्पूर्ण खेतीपाती धानिदिनुपर्छ।

यसैगरी ऋणकै बन्धनमा परेर उसको गाईवस्तु÷भेडा–बाख्रा हेरिदिने कार्यमा सामेल हुनेलाई चाहिँ चरुवाका रूपमा चिनिन्छ। यी दुवैले चलनचल्ती भन्दा निकै कम मात्र ज्याला पाउँछन्। यस्तो ज्याला परिवार पाल्नसमेत अपुग हुने भएपछि खानकै लागिसमेत पुनः ऋण थप्छन् जसबाट जिन्दगीभर हरूवाचरुवाको चक्रब्यूहबाट निस्कनै नसक्ने बाध्यता सिर्जना हुन्छ।

माथि उल्लेख गरिएका कमैया, कमलरी र हलियाको सङ्ख्या (विवादास्पदै किन नहोस्) मुक्ति घोषणापछि सङ्कलन गरिएको थियो। तर ठूलो सङ्ख्यामा रहेका अनुमान गरिने हरूवाचरुवाको एकिन तथ्याङ्क भने अत्तोपत्तो छैन।
किनकि दास प्रथाका उस्तै अवशेषहरू मुक्त भएको घोषणा गरे पनि आजसम्म हरूवाचरुवा पनि मुक्ति गर्नुपर्छ भन्ने विवेक शासक वर्गमा पलाएको देखिन्न। उनीहरूको आवाज चर्को हुन नसकेर होला, शायद।

खल्लो मुक्ति

सरकारले २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा गरेको थियो। अरूको जमिनमा काम गरेर खाने कमैयालाई मुक्त घोषणा गरिसकेपछि खाने/बस्ने व्यवस्था तत्काल गरिनुपर्थ्याे। तर कमैया श्रम निषेध ऐन ल्याउनै एक वर्ष लगायो सरकारले। ऐन आइसकेपछि पनि पुनस्र्थापनाको काम हुन सकेन। मुक्त कमैया पुनस्र्थापना समस्या समाधान आयोग गठन आदेश २०६५ मा मात्र जारी हुन सक्यो र अझ नियमावली बन्न त २०६८ सम्म कुर्नुपर्‍यो।

त्यसैगरी सरकारले हलिया मुक्तिको घोषणा २०६५ भदौ २१ मा गर्‍यो। अरूको जमिन जोतेर खानेहरूलाई त्यसबाट अलग्याइएपछि तत्काल गाँस र बासको व्यवस्था मिलाउनु सरकारको दायित्व नै हुने गर्थ्याे। तर मुक्त हलिया पुनस्र्थापन तथा अनुगमनसम्बन्धी कार्यविधि ल्याउनै मुक्ति घोषणाको ३ वर्ष लाग्यो। अनि मुक्त हलिया पुनर्स्थापनाको ढाँचा र कार्ययोजना ल्याउन अर्को दुई वर्ष।

कमलरी मुक्तिको घोषणाचाहिँ २०७० साउन ३ मा भयो। तर अहिलेसम्म एकजना पनि मुक्त कमलरी पुनर्स्थापना गर्न आवश्यक नदेखेकाले होला, सरकारले यससम्बन्धी ऐन, नियमावली, कार्यविधि केही ल्याउनु आवश्यकै ठानेको छैन।
अर्थात उनीहरूको मुक्तिपछिको प्रगति ‘परिचयपत्रको लडाइँ’ मा सीमित छ। केहीका लागि शिक्षा र सिपमा सहयोग गरिएको बताइए पनि न त्यो पर्याप्त छ न त दिगो र दीर्घकालीन नै। यी यस्ता वास्तविकता हुन् जसले मुक्त घोषणा भए पनि त्यसको स्वाद नूनिलो थियो कि अलिनो भन्ने चाख्न पाएका छैनन्।

हुन त यी कुनै पनि मुक्ति घोषणा सरकारले स्वःस्फूर्त अर्थात आफ्नै विवेक प्रयोगमार्फत गरेको होइन। वर्षौँको आन्दोलन, लाठो प्रहार, पानीका फोर्रासँग पौँठेजोरी र हिरासतको बास हुँदै धर्ना/जुलुसका परिणाम हुन्। तर पनि पुस्तौँदेखि दासताको जीवन बिताउन बाध्य जनतालाई त्यसबाट उन्मुक्ति र त्यसपछि उनीहरूको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी आदिको दायित्व राज्यको हुन्छ भन्ने शासकीय विवेक शून्यताको सजाय आज पनि दासताकै नियति भोग्न बाध्य समुदायले पाइरहेका छन्।

विवेकहीनताको पराकाष्ठा

मुक्त कमैयालाई सरकारले दिएको जमिन १० वर्षसम्म बेच्न, धितो राख्न वा कसैलाई हस्तान्तरण गर्न नपाइने सर्त छ। २०५७ मा मुक्त भएका कमैयाले यस्तो जमिन पाएको २० वर्ष नाघिसकेको छ। तर सर्त भन्दा दोब्बर समय नाघिसक्दा पनि उनीहरूको पुर्जा न कुनै ऋण/कर्जाका लागि वित्तीय संस्थामा चल्छ न त जरुरी कामका लागि बिक्री गर्नुपर्‍यो भने मालपोतले नै स्वीकृति दिन्छ। अझ यो भन्दा पनि अचम्म त पुर्जावाल बाबुको मृत्यु भइसक्दा पनि अंशका हकदार छोराहरूको नाममा हस्तान्तरण हुँदैन।

तोकिएको अवधि पुगेपछि स्वतः सर्त फुकुवा हुनुपर्ने हैन? तर नेपालका कर्मचारी न हुन्, २/४ अक्षर पढेकाले पनि स्वतः बुझ्ने यति कुरा पनि नगरिदिएर तड्पाइरहेका छन्।

जसको असर कतिले छोराछोरी पढाउनसमेत ऋण लिन पाएका छैनन् भने कतिपयचाहिँ आफ्नो नाममा जमिन नभएका कारण नक्सा पास गर्ने, घर बनाउने, बिजुली बाल्ने, धारा हाल्नेलगायत आधारभूत कामबाट समेत वञ्चित छन्। अर्थात जमिनदारको दासताबाट मुक्त भनिएका कमैया नेपालका कर्मचारीको ‘यान्त्रिकीकरण’ को बन्धनमा जकडिन पुगेका छन्, ‘तावाबाट उछिट्टिएको माछो भुङ्ग्रोमा’ भनेझैँ।
अर्को समाचार
मुक्त कमैयाको गुनासो: हामी सबैलाई सहयोग गर्छौँ, हाम्रा लागि कसले गर्ने?
२७ कार्तिक २०७९
•
४ मिनेट पाठ
मुक्त कमैयाको गुनासो: हामी सबैलाई सहयोग गर्छौँ, हाम्रा लागि कसले गर्ने?
कैलालीको टीकापुर नगरपालिका–१ शक्तिनगर शिविरकी बढ्घर चन्द्रा थारू शनिबार परम्परागत डोक्नीमा अचार कुट्दै थिइन्। शिविरमा रहेको सार्वजनिक भवनमा उनीलगायत अन्य स्थानीयवासी खाना पकाउन व्यस्त थिए। उनले पकाएको खान भोजभतेरका लागि भने होइन। चन्द्रासँगै थुप्रै महिला र पुरुष खाना पकाउनमा निकै व्यस्त देखिन्थे।  




निर्वाचनका लागि प्रचार–प्रसारमा आउने राजनीतिक दलका नेता तथा उम्मेदवारलाई उनीहरूले शिविरमै रहेको सामुदायिक भवनमा खाना पकाएर खुवाउनेसम्मको काम गर्दै आएका छन्। उनीहरूले यो वा त्यो दल नभई जुनसुकै दल तथा उम्मेदवारले सहयोग माग्दा पनि सहयोग गर्दै आएका छन्। उम्मेदवार तथा राजनीतिक दलले खाद्यान्न सामग्रीको व्यवस्थापन गरिदिने र शिविरका बढ्घरको रोहबरमा उनीहरूलाई खानाको व्यवस्थापन गर्दै आएकी थारु रहरले नभई बाध्यताले खाना पकाएर खुवाउनुपरेको बताउँछन्।

‘खाद्यान्न ल्याएर खाना पकाउन आग्रह गर्छन्। आग्रह गरेपछि आफूले सकेको हामीले सहयोग गर्दै आएका छौँ’,उनी भन्छिन्, ‘हामीले सक्ने गरेका छौँ। हामीले पकाएर खाना खाएर गएकाहरू चुनाव सकिएपछि हाम्रो बस्तीमा फर्किँदैनन्।’ टीकापुर नगरपालिका–१ शिवनगर मुक्त कमैया शिविरका बढ्घर श्यामप्रसाद डगौंरा १७ वर्षदेखि शिविरको नेतृत्व गर्दै आएका छन्। विसं २०६३ चैत ११ गते घरबारविहीन भएका मुक्त कमैया सुकुम्बासीले शिविरमा बसोबास सुरु गरेदेखि उनले शिविरका नागरिकको हकहितका लागि काम गर्दै नागरिकको नेतृत्व गर्दै आएका हुन्।  

विसं २०६३ मा बसोबास गरेका मुक्त कमैया सुकुम्बासीका लागि २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचन निकै महत्वपूर्ण हुने अपेक्षा गरिएको थियो। तत्कालीन निर्वाचनमा निर्वाचित भएर नेतृत्वमा गएकाले सुकुम्बासीलाई लालपुर्जा दिनेमा आशावादी हुँदै निर्वाचनमा मतदान गरेको श्यामप्रसाद बताउँछन्।

‘संविधानसभाको निर्वाचनदेखि लालपुर्जाको आशामा बसेका मुक्त कमैया सुकुम्बासीको माग आजसम्म पूरा हुन सकेन। हामीले चुनावमा फरक नेतृत्वलाई जिताएर कसैबाट त आफ्नो माग पूरा होला भन्ने विश्वासले नयाँ अनुहारलाई नेतृत्व तहमा पठायौँ’, उनले भने, ‘नेतृत्व गर्ने अवसर सबैले पाए, हाम्रो समस्याले कसैलाई पनि छुन सकेन।’

सोही शिविरका अर्का बढ्घर रामफल थारू विभिन्न राजनीतिक दलसँग नजिक छन्। उनले मुक्त कमैया सुकुम्बासीका समस्या समाधानका लागि स्थानीय सरकारदेखि सङ्घीय सरकारसँग समन्वय गरेका छन्। बाइस वर्ष पहिले नै कमैया मुक्त घोषणा भए पनि कमैयाको व्यवस्थापनप्रति सरकार जिम्मेवार हुन नसकेको उनी बताउँछन्। ‘१७ वर्षदेखि हामीले आफूहरूको उचित व्यवस्थापनका लागि लालपुर्जा माग्ने राजनीतिक दलले आश्वासन दिनेभन्दा अरु केही काम हुन सकेन’, उनले भने, ‘मुक्त कमैयाहरूले सबैका लागि गरे तर, मुक्त कमैयाका लागि कसले केही गरेन।’

सोही ठाउँकी सेतु चौधरी राजनीतिक दलका लागि आफूहरू फुटबलजस्तै बनेको बताउँछिन्। सबैले आश्वासन दिने चुनाव जितेर जाने, त्यसपछि कोही पनि शिविरमा फर्केर नआउने गरेको गुनासो उनको छ। ‘विसं २०६४ देखि हामी सबै राजनीतिक दलका लागि प्रयोगमात्रै भयौँ। सबै राजनीतिक दलले हामीलाई फुटबलजस्तै बनाएर खेले’, उनले भनिन्, ‘खेलमा विजेताले आफ्नो स्वार्थ पूरा गरे तर आफैँले खेलेको फुटबलको संरक्षण कसैले गरेनन्।’  

शिविरका नागरिक गलत व्यक्तिलाई चुनावमा निर्वाचित गराउने पक्षमा छैनन्। शिवनारायण चौधरी नेतृत्वबाट आश्वासनमात्रै पाएको देख्दा भोट हाल्नै जान मन नलाग्ने बताउँछिन्। ‘भोट हाल्ने मन नै छैन। हामीले भोट नहाल्दा पनि जित्नेले जितेर जाने नै हो’, उनले भनिन्, ‘हामीले मतदान नगरेकै कारण गलत व्यक्ति नेतृत्वमा नपुगोस् भनेर पनि मतदान गर्नुपर्ने बाध्यता छ।’

स्थानीय तहको निर्वाचनमा टीकापुर नगरपालिकाबाट उम्मेदवारी दिएका सबै उम्मेदवारले मुक्त कमैया सुकुम्बासी बस्तीलाई व्यवस्थापन गर्नुका साथै जग्गा उपलब्ध गराउने जनाउँदै उनीहरूसँग लिखित कागजसमेत गरेका छन्। लिखित सम्झौता गरेका राजनीतिक दलबाटै निर्वाचित भएका व्यक्तिले स्थानीय सरकारको नेतृत्व गरिरहेका छन्। विसं २०७४ को निर्वाचनमा पनि भोट दिएपछि जग्गा दिन्छौँ भनेर केही राजनीतिक दलले लिखित कागज गरेका थिए। त्यो कागज सुकुम्बासी बस्तीका नागरिकले अझै पनि सुरक्षित राखेका छन्। उनीहरूले हिजो लिखित कागज गरेका उम्मेदवारलाई प्रचार–प्रसारमा भेटेपछि त्यहीँ कागज देखाउने गरेको निर्मलकुमार डगौंरा बताउँछन्।

‘भोट माग्न आउनुहुन्छ, हामी हिजोको लिखित प्रतिबद्धतापत्र देखाउँछौँ, त्यसपछि उहाँहरुको बोली बन्द हुने गरेको छ’, उनले भने, ‘हाम्रो समस्या जस्ताको तस्तै छ। उहाँहरू पाँच वर्ष पूरा गरेर फेरि हाम्रो बस्तीमा पुग्दा आश गर्ने ठाउँ नै हामीसँग छैन।

टीकापुरका सातवटा मुक्त कमैया सुकुम्बासी शिविरमा चार हजार पाँच सयभन्दा बढी घर छन्। करिब आठ हजार मतदाता रहेको शिविरका मतदाताको भोट नै सबै उम्मेदवारका लागि निर्णायक हुने भएकाले शिविरमा उम्मेदवारको ध्यान बढी केन्द्रित हुने गरेको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस