जनयुद्धको व्यवस्थापन
१६ चैत्र २०७९
•
८ मिनेट पाठ
जनयुद्धको व्यवस्थापन
विस्तृत शान्ति सम्झौता भएको १६ वर्षपछि दुईवटा परिदृश्य देखिएको छ। पहिलो, पीडितहरूले न्यायको ढोका ढक्ढक्याउँदै आफ्नो अर्जीपत्र लिएर सर्वोच्च अदालत पुगेका छन्। सर्वोच्च अदालतले पनि त्यसलाई स्वीकार गरेर सुनुवाइको स्वाभाविक प्रक्रिया अगाडि बढाएको छ। यसको विरोध गर्दै माओवादी पार्टीका सबै घटक एक ठाउँमा उभिएर ‘महान् जनयुद्धलाई अपराधीकरण गर्न खोजियो भने फेरि हतियार उठ्न सक्ने’ चेतावनी दिइरहेका छन्।




दोस्रो, प्रचण्डले आफ्नो तेस्रो प्रधानमन्त्रित्वकालमा जनयुद्ध व्यवस्थापन गर्ने अग्रसरता लिएको देखिन्छ। सर्वत्र विरोधका बाबजुद संक्रमणकालीन न्याय निरूपण विधेयक संसद्मा पेस भएको छ। माओवादीले भन्ने गरेको जनयुद्धमा मारिएका लडाकुहरूलाई सहिदको मान्यता दिइएको र जनयुद्धलाई सार्वजनिक दिवसका रूपमा मनाउन थालिएको छ। यसो गर्दा जनयुद्ध व्यवस्थापन भयो भन्ने बुझाइ नेताहरूमा रहेको देखिन्छ। ‘जनयुद्ध’ वास्तवमा महान् हुन्छ। नागरिकले राज्यका विरुद्ध हतियार उठाउनुपर्ने अवस्थालाई सामान्यरूपमा लिइनु हुँदैन। तर किन यो अवस्था आयो भन्ने औचित्य पुष्टि गर्नै नपर्ने र त्यसमा भएका ज्यादतिहरूमा कसैप्रति जवाफदेही हुनै नपर्ने भन्ने हुँदैन।

बिपी कोइरालाले पनि आफूमाथि सातवटा फाँसी हुने अभियोग हुँदाहुँदै अदालतसामु हतियार उठाएको नैतिक जिम्मेवारी लिएर त्यसको औचित्यता पुष्टि गरेका थिए। तर माओवादीका कतिपय ज्यादतिका कारण जनयुद्ध बदनाम भएको वास्तविकतालाई भुल्नु हुँदैन। जस्तै–जनयुद्धका बेला गरिबका गरगहना राखिएका बैंक लुटिएका, ज्यान जोगाउन चन्दा दिएको, कब्जा गरिएका सम्पत्तिसमेत कति जम्मा भएको थियो र कहाँ खर्च भयो भनेर पारदर्शी ढंगले देखाउने दायित्व माओवादीको हो।

व्यक्तिगत रीसइवीका आधारमा मारिएका निहत्था नागरिकका विषयमा माओवादीले जवाफदेही हुनैपर्छ। त्यस्तै, सरकारको नेतृत्व गरिसकेको पार्टीले त्यसबेला उठाएको हतियार राज्यका मातहतमा दाखिला नगरी ‘खोलाले बगायो’ भन्ने हावादारी बयानलाई जनताले पत्याएका छैनन्। मुख्य कुरो ‘पुरानो संरचना ध्वंस नभई नयाँ बन्दैन’ भन्ने भाष्य बोकेको माओवादीले दूरदराजका स्कुल, स्वास्थ्य चौकी आदि भत्कायो। तर तीनपटक सरकारको नेतृत्व गर्ने अवसर पाउँदा पनि जनताको मुक्ति गर्ने वैकल्पिक ढाँचा तयार पारेर मुलुकलाई उन्नतितिर लैजान सकेन। बरु मुलुक थप गरिबीमा खस्केको छ।

वास्तवमा यसप्रकारको जनयुद्ध वा सशस्त्र युद्ध नेपालमा मात्र भएको होइन। अन्य देशमा पनि भएका छन्। त्यस्ता सशस्त्र युद्धले कति देशलाई समृद्धिको बाटोमा लगे भने कतिले देशलाई बर्बाद गरे। समष्टिगतरूपमा हेर्दा यसमा दुई प्रवृत्ति देख्न सकिन्छ। पहिलो हो, चिनियाँ क्रान्तिको मोडेल। गृहयुद्ध तथा बाह्य अतिक्रमणबाट ‘सुतेको सिंह’ लाई जगाउने प्रयासस्वरूप माओले लामो यात्रा थालेका थिए।

पूर्व अमेरिकी विदेश मन्त्री हेनरी किसिन्जरको ‘अन चाइना’ पुस्तकमा माओले चीनको अग्रगामी परिवर्तन गर्दा मार्क्स–लेनिनको दर्शनका साथै चीनको इतिहास संस्कृति एवं ताओ, कन्फ्युसियस जस्ता दार्शनिकहरूको मार्गदर्शन पछ्याएका थिए भन्ने उल्लेख गरेका छन्। माओले चीनका विभिन्न शक्तिलाई दातोङ (मेलमिलाप) नीतिबाट एक ठाउँमा ल्याएका थिए। माओको सिद्धान्तमा परिवर्तनकारी शक्तिहरूमा उच्च अनुशासन र नैतिकता हुनुपर्छ भन्ने थियो।

क्रान्तिपछि कम्युनदेखि राष्ट्रिय तहसम्मका संस्थागत संरचना र अनुगमन संयन्त्रको मिहीन ढङ्गले निर्माण गरी व्यवस्थापन क्षमता सुदृढ बनाइएको थियो। तर त्यसरी व्यवस्थापन गरिएको पद्धतिले पनि उत्पादन वृद्धि गर्न सकेन। सन् १९५८ मा चीनमा ठूलो अनिकाल लाग्यो र करोडौँ मानिस मरे। त्यसका लागि सदियौँदेखि जकडिएको सामन्ती सांस्कृतिक अवशेषलाई दोष दिइयो र सन् १९६० को दशकमा सांस्कृतिक क्रान्ति गरियो।

यसको परिणाम अरू क्रूर र भयाबह भयो। त्यसैबेला ‘मुनाफाको आशा नभइकन उद्यमशीलताको विकास हुँदैन’ भन्ने भनाइ राख्ने देङ सियायो पिङलाई गैरकम्युनिस्ट विचारको नेता भनेर जेल हालिएको थियो। माओको निधनपछि पुनः देङ सियाओ पिङ राज्य सञ्चालनमा देखापरे। उनी रोजगारी र आम्दानी वृद्धि भएर जनताको आयस्तर बढेन भने क्रान्ति सफल हुँदैन भन्ने कुरामा विश्वास गर्थे। त्यही कुरालाई उनले व्यवहारमा उतारे। “मुसो मार्‍यो भने बिरालो कालो होस् कि सेतो” भन्ने उनको प्रख्यात भनाइ चीनको विकास पद्धतिको आधारभूत सिद्धान्त बन्यो जसले आजको चीन निर्माण गरेको छ।

दोस्रो मोडेल पश्चिमा शक्तिहरू मिलेर सन् १९५० को दशकमा इन्डोनेसियामा चालिएको कम्युनिस्ट क्रान्तिलाई लिन सकिन्छ। त्यहाँ विभिन्न टापुमा जातीय एवं भाषिक पहिचान तथा आत्मनिर्णय सहितको स्वायत्तता जस्ता माग राखेर कम्युनिस्टहरूले छापामार युद्ध गरिरहेका थिए। त्यसबेलाका राष्ट्रपति सुकार्नोले पञ्चशीलको सिद्धान्तअनुसार पारस्परिक सम्मानका आधारमा राज्य सञ्चालन गर्ने प्रस्ताव ल्याए पनि सशस्त्र आन्दोलन साम्य पार्न सकेनन्।

सुकार्नो सरकारलाई अपदस्थ गरी सत्तामा आएको जनरल सुहार्तोको सैनिक सरकारले सशस्त्र बलद्वारा १० लाख भन्दा बढी कम्युनिस्टलाई सखाप पारेर सत्ता हत्यायो। त्यहाँका तेल भण्डार, सुन, फलाम तथा कोइलाखानीहरूमा आधिपत्य जमाउन पश्चिमा देशका कम्पनीहरू सफल भए। तिनै राष्ट्रहरूको पृष्ठपोषणमा जनरल सुहार्तोले ३० वर्ष राज गरे। त्यसबेला त्यहाँ कार्यरत पत्रकार रोनाल्ड चालिसले अमेरिकी गुप्तचर संस्था सिआइएले ४० वर्षपछि सार्वजनिक गरेको दस्ताबेजलाई साभार गरेर लेखेका पुस्तक स्याडो अफ रिभोलुसन (क्रान्तिको छाया) ले के देखायो भने त्यसबेलाको कम्युनिस्ट छापामार युद्ध पश्चिमा राष्ट्रहरूको प्रायोजन र आर्थिक सहयोगमा सञ्चालन भएको थियो।

यो जनयुद्ध आफ्नै मौलिक चिन्तनबाट नेपाली जनताको मुक्तिका लागि गरिएको थियो कि कसैको पृष्ठपोषणमा भएको थियो भन्ने अझै खुलेको छैन। तर शान्ति सम्झौता भइसकेपछि नेपालीको उन्नतिको वैकल्पिक मार्ग तय गर्ने कुनै सोच नभएको देख्दा यो आफ्नो मौलिक विचार थिएन कि जस्तो देखिन्छ।

यस सिलसिलामा म पनि यो देशको नागरिक भएको नाताले केही कुरा प्रत्यक्ष रूपमा माओवादीहरूसमक्ष राख्न चाहन्छु। २०५२ सालको खुला प्रजातान्त्रिक परिवेशमा हतियार उठाउन आवश्यक थिएन भन्ने बलियो मत हुँदाहुँदै तपाईहरूले जनयुद्ध थाल्नुभयो। डरको यो राजनीतिले तपाईहरूलाई सत्ता, शक्ति र ऐश्वर्य दिए तापनि मुलुक कंगाल भएको छ। ‘भालेको डाँकमा’ खेतमा पुग्ने हाम्रो गाउँघरमा अमनचैन छैन।

देशका प्रायः सबै उद्योग बन्द छन्। रोजगारी छैन। युवाहरू विदेशमा पलायन भएका छन्। मुलुक आयातमा निर्भर छ। युवाशक्तिबाहेक निर्यात गर्ने वस्तु छैन। वैदेशिक ऋण बढ्दो छ। जनयुद्धले ल्याएको भनिएका धर्म निरपेक्षता, गणतन्त्र र संघीयताले मुलुकलाई अरू कमजोर बनाएको छ भन्ने बुझाइ समाजमा पाइन्छ। त्यसैले यसलाई चिरेर जनयुद्धलाई नेपाली सन्दर्भमा महान् क्रान्ति बनाउने दायित्व तपाईँहरूको हो।

त्यस्तो राजनीतिक इच्छाशक्ति छ भने सब भन्दा पहिले जनयुद्धको चरीत्र र यसले समाजमा ल्याएको असरका बारेमा गम्भीर चिन्तन गरी आत्मसमीक्षा गर्नुहोस्। हाल देखिएको राज्यसत्ता हत्याउने र राज्यको स्रोतसाधनको दोहन गर्ने प्रवृत्तिले प्रश्रय पायो भने इतिहासले यसलाई अपराधीकरण गरिएको ठान्नेछ। त्यसैले म माओवादीलाई के सुझाव दिन चाहन्छु भने अहिले तपाईहरू शक्तिमा हुनुहुन्छ। यो शक्तिलाई सिर्जनशील रूपमा उपयोग गरेर निम्न तीनवटा कार्य गर्नुहोस् जसले नेपाललाई उन्नतिको मार्गमा लैजान मद्दत पुर्‍याउँछ।

पहिलो, डरको राजनीतिको व्यवस्थापन गर्नुहोस्। आफूले भनेजस्तो भएन भने ‘सिध्याइदिन्छु’ भन्ने धम्की माओवादी नेता/कार्यकर्ताहरूबाट आउन छाडेको छैन। त्यसैले, आफ्ना नेता-कार्यकर्ताहरूलाई शान्तिपूर्ण राजनीतिको प्रशिक्षण दिइ युवाहरूलाई गाउँमा बस्ने वातावरण बनाउन मद्दत गर्नुहोस्।

जनयुद्धबाट प्रत्यक्ष तथा परोक्ष रूपमा प्रभावित भएका लाखौँ परिवारलाई आम्दानी तथा रोजगारी जगाउने कार्यमा लगाउन सकियो भने उनीहरूका विदेशिएका सन्तानसमेत फर्कनेछन्। डा.बाबुराम भट्टराईले जसरी कार्यकर्तालाई रकम बाँडेर हुँदैन। समुदाय तहदेखि स्रोतको परिचालन र विकास गर्नुपर्छ। गैरसरकारी संस्थाहरूसँग अनुभव र विज्ञता पनि छ। तर यसमा विदेशी दाताहरूको सहयोग काम लाग्दैन। सरकारमा तपाईहरू स्वयं भएकाले सरकारबाट स्रोतसाधन र प्रतिबद्धता जाहेर गर्न सक्नुभयो भने आशा भरोसा उत्पन्न हुनेछ।

दोस्रो–राज्यले उद्योग चलाउने होइन भनेर ठूला उद्योग निजीकरण गरिए। जनयुद्धकालमा कति उद्योग बन्द गरिए। देशभित्रै रोजगारी सिर्जना गर्न राज्यको आर्थिक र प्राविधिक सहयोगबाट बन्द गरिएका उद्योग खोल्ने पहल गर्नुहोस्। धेरैजसो उद्योग नेपालकै कच्चा पदार्थमा आधारित भएकाले तिनीहरूको कच्चा पदार्थ उत्पादन र संकलन गर्ने पहल गरियो भने धेरै रोजगारी सिर्जना हुन सक्छ।

त्यस्तै, जलविद्युत्को उत्पादनबाट मुलुकको कायापलट हुने गफ गरिए तापनि अरूण तीन, चार र पश्चिम सेती जस्ता परियोजनाहरू बिनाप्रतिस्पर्धा भारतीय कम्पनीलाई सुम्पिएको छ। त्यस्तै, भारतसँग कुनै समझदारी नभएकाले नेपालमा उत्पादित बिजुली आधा दाममा भारतमा बेच्नुपरिरहेको छ। त्यसैले, हाम्रो औद्योगिक विकासको स्पष्ट खाका बनाउने पहल गर्नुहोस्।

तेस्रो, उत्पादन वृद्धि भयो भने पनि त्यसलाई प्रशोधन गर्ने, भण्डारण गर्ने पूर्वाधार छैन र बेच्ने बजार पनि छैन। तीनतिरबाट घेरिएको भारतसँग सिमाना खुला छ तर नेपाली वस्तुहरूका लागि भारतीय बजार खुला छैन। उत्पादनलाई बजारीकरण गर्न देशका कुनाकाप्चामा छरिएर रहेका उत्पादनलाई संकलन गर्ने गोरेटो, घोडेटो र मोटर बाटोको सञ्जाल, प्रशोधन र भण्डार केन्द्र आदि निर्माण गर्ने व्यवस्था गर्नुहोस्। बजारका लागि भारतसँग बृहत् सम्झौताको पहल गर्नुहोस् जसले गर्दा भारतीय लगानी नेपाल भित्र्याउन र नेपाली उत्पादनहरूको पहुँच भारतीय बजारमा पुग्न सम्भव हुनेछ।

अन्त्यमा, स्वतन्त्र सार्वभौम नेपाल रहे पनि वा नरहे पनि माओवादी जनयुद्ध नेपालको इतिहासको एउटा अध्याय त भएकै छ। इतिहासलेयसलाई समृद्ध नेपालको कारक तत्व बनाउँछ वा समाप्तिको बनाउँछ, त्यसलाई भावी सन्ततिले मात्र पढ्न पाउनेछन्। तर, यसको नेतृत्वकर्ता तपाईहरूले भोलि यसलाई समृद्ध नेपालको कारक तत्वका रूपमा सम्झियोस् भनेर हेक्का राख्न आवश्यक सम्झने हो भने त्यो बेला अहिले नै हो।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस