राष्ट्रपतिमा घुमेको राजनीति
१४ फागुन २०७९
•
६ मिनेट पाठ
राष्ट्रपतिमा घुमेको राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो राजनीतिक भविष्यलाई दाउमा राखेर नेपाली कांग्रेसबाट प्रस्तावित उम्मेदवारलाई राष्ट्रपति बनाउने सक्रियता देखाएका छन्। फेरि एकपटक दाहालले मुलुकको राजनीतिको ‘किङमेकर’ का रूपमा आफूलाई स्थापित गरेका छन्।




नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दाहाललाई गत पुस १० गते प्रधानमन्त्री बनाएपछि तत्कालीन सत्ता गठबन्धन टुंगिएको थियो। तत्कालीन अवस्थामा कांग्रेस सत्ता राजनीतिक अभ्यासमा एकाएक शून्यमा झरेको महसुस भयो। भुइँको उठाउन खोज्दा पोल्टाको पनि पोखिएको स्थितिमा कांग्रेस सभापति शेरबहादुर देउवा पुगेका थिए।

प्रधानमन्त्री बनाउने पूर्वप्रतिबद्धताबाट देउवा हटेका कारण दाहाल ओली शिविरमा पुगेका थिए। देउवाले दाहाललाई प्रधानमन्त्री बनाउन नसकेका कारण मात्र उनले बालकोटको कौसीबाट ओलीसँगै हात हल्लाउनुपर्ने अवस्था आएको थियो। दाहाल प्रधानमन्त्री नियुक्ति भए पनि मन भने ओलीतिर थिएन। कुनै गठबन्धनमा बस्न र त्यसबाट सरकार चलाउन सहज नभएसम्म त्यो टाढा जाँदैन। वास्तवमा ओलीसँगको दाहालको गठबन्धन ‘म्यारेज अफ कन्भिनियन्स’ अर्थात् त्यो सत्ता प्राप्तिका निम्ति मात्र थियो, हार्दिकता थिएन।

प्रधानमन्त्री बनेको २० दिनपछि सम्पादकहरूसँगको बालुवाटार छलफलमा दाहालको देउवा प्रेम प्रष्ट देखिन्थ्यो। एक, कांग्रेसले दाहाललाई विश्वासको मत दिइसकेको थियो। दुई, उनलाई काममा सहज हुनुपर्ने वातावरण पनि आवश्यक थियो। दाहालले त्यो दिन आफूलाई कांग्रेसले पनि विश्वासको मत दिइसकेको हुनाले ‘राष्ट्रिय सहमति’ भएको र त्यसअनुरूप आफूले व्यवहार गर्नुपर्ने आफ्नो दायित्व भएको बताएका थिए।

दाहालले राष्ट्रपति निर्वाचन गर्दा राष्ट्रिय सहमति हुनुपर्ने बताएका थिए। उनी एउटा कुरामा प्रष्ट थिए, त्यो के भने देउवा उनलाई प्रधानमन्त्री बनाउन तयार हुँदाहुँदै पनि केही पक्षबाट जालझेल भएको थियो। त्यही भएर उनले सम्पादकहरूसँग अनायासै भनेका थिए, ‘मलाई देउवाजीको माया लाग्छ।’

प्रधानमन्त्रीको कुर्सी ओलीले दिए पनि त्यसको स्थायित्वका निम्ति देउवा आवश्यक छन् भन्ने दाहालले बुझेका हुन्। राजनीतिक सुझबुझ नहुने हो भने २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा ३२ स्थान मात्र ल्याएको दाहालको नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री प्राप्त गर्ने अवस्था हुँदैनथ्यो। दाहालले आफू प्रधानमन्त्री भए पनि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख लगायतका पदमा कुनै सहमति नभएको बताएका थिए।

सभामुख नेकपा (एमाले)का देवराज घिमिरे र उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले प्राप्त गरे पनि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनले ६१ दिनमै सत्ता समीकरण फेरिएको छ। गत मंसिर ४ को निर्वाचनले राष्ट्रिय राजनीतिमा नयाँ दलको उपस्थिति भए पनि यसलाई रिङ्याउँने भूमिकामा भने प्रधानमन्त्री दाहाल र केही पूर्वप्रधानमन्त्रीहरू नै देखिएका छन्। देउवाले आफूबाट बिग्रिएको राजनीतिलाई राष्ट्रपति निर्वाचनमार्फत फेरि सोझ्याएका छन्। अन्यथा, आगामी पाँचै वर्ष कांग्रेस सत्ता राजनीतिबाट बाहिर पर्न सक्ने थियो। ओलीले केन्द्रदेखि प्रदेशसम्म एकछत्र आफ्नो भूमिका देखाउन थालिसकेका हुन्। धेरै नबोली राजनीतिक बाटो बदल्न सक्नेमा देउवा देखिएका छन्।

दाहालका निम्ति ओलीले निर्माण गरेको गठबन्धन धेरै हिसाबले असजिलो रहेको हो। एक, ओली आफैँ उच्चस्तरीय संयन्त्रको नेतृत्वमा बसेर सरकार चलाउन तयार थिए। दुई, दाहालका निम्ति ओलीले तयार पारिदिएको गठबन्धन भएका कारण यसका प्रमुख पात्रहरू उनलाई सोधेर मात्र चल्न थालिसकेका थिए। सरकार गठनको सुरुका दिनमा केही मन्त्रीहरू ओलीको मन्त्रणा लिएर मात्र मन्त्रिपरिषद् बैठकमा जाने गरेका थिए। दाहालसँग मन्त्रिपरिषद्मा तिनले विरोध प्रकट गर्नसमेत थालिसकेका थिए।

वामपन्थीहरूबीच गठबन्धन भएर सरकार चलाउने अभ्यास यसअघि नै असफल भइसकेको छ। उनीहरूले सरकार मात्र होइन दल पनि चलाउन सकेनन्। बल्ल बनाएको नेपाल कम्युनिस्ट पार्टी छिन्नभिन्न हुने अवस्था रह्यो। अदालतको आदेशले दलको नाम फेरिए पनि एकै ठाउँमा बस्न सक्ने अवस्था बनाउन ओली असफल रहे। तर, कांग्रेस सभापति शेरबहादुर देउवा, दाहाल र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल लगायतको गठबन्धनले निकै सहज ढंगले निर्वाचनसम्म सरकार चलाएको हो। त्यति मात्र होइन, निर्वाचनका बेला पनि तिनले आपसी समझदारीमै अघि बढ्नसमेत सम्भव भएको हो।

मुलुकको संविधान र निर्वाचन प्रणालीका आधारमा कुनै एउटा दलको मात्र सरकार बनाउन सम्भव छैन। यस्तो बेला गठबन्धन सरकार बन्ने हो। गठबन्धन चलाउने संस्कृति र संस्कारको विकास नहुने हो भने पटक-पटक असफलता भोग्नुपर्ने हुन्छ। सरकार फेरिइरहन सक्छन्। कतिपय युरोपेली मुलुकमा आवधिकरूपमा प्रमुख नेताहरूबीच सरकारको नेतृत्व गर्ने आलोपालो हुने गरेको छ। सम्भवतः त्यही किसिमको अभ्यासमा अब नेपाल अगाडि बढ्न खोजेको देखिँदैछ। सरकार फेरिइरहनुलाई अस्थिर मान्नु पर्ने अवस्था छैन। मुख्यतः मुलुकका संस्थाहरू बलियो भएर काम गर्न थाल्ने हो भने राजनीतिको यो खेलले खासै फरक पर्दैन।

हामीकहाँ पनि गठबन्धन संस्कृति नभएको होइन। तर आफूले पालो पुगेर अर्कोलाई छाड्ने बेलामा जहिल्यै गडवडी गरेका कारण आपसी अविश्वास धेरै छ। यस्तो अविश्वासको वातावरण कांग्रेससँग गठबन्धन गर्दा सहज हुने गरेको देखिएको छ। त्यही भएर अहिले पनि आठदलीय गठबन्धन बन्न सम्भव भएको हो। दाहालाई विश्वासको मत दिएपछि निरन्तर रूपमा देउवाले खेलेको भूमिकाका कारण नयाँ गठबन्धन बन्न र चल्न सम्भव भएको हो।

यस्तो गठबन्धन बनेर मात्र मुलुकमा देखिएको अविश्वासको वातावरण सुध्रिँदैन। पहिलो, सबै दलका प्रमुख नेता आफूले सहमति गरेका पक्षमा इमानदार हुन सकेनन् भने फेरि अहिलेकै अविश्वास रहन्छन्। दोस्रो, दलहरूबीच सहमतिको वातावरण बनेन भने तेस्रो पक्षको प्रवेश हुन्छ। यसपटक पनि राजनीतिक दलबाट होइन, बाहिरबाट राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने धारणा व्यापक बनेको थियो। त्यसैगरी पूर्वप्रधानन्यायाधीशले पनि राष्ट्रपति बन्न सक्ने विचार अगाडि नआएको होइन। पहिल्यै एकपटक प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने खेल भइसकेको छ।

ढिलै होस्, दुईजना शालीन नेता रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बन्न पाएका छन्। यी दुईमा जो राष्ट्रपति बने पनि सहज ढंगले संविधानले निदृष्ट गरेको जिम्मेवारी पूरा गर्न सक्छन्। वास्तवमा यी दुईको नाम राष्ट्रपति निर्वाचन सम्बन्धी चर्चा सुरु हुनासाथ सार्वजनिक हुनुपथ्र्यो। त्यसले निर्वाचनको वातावरण बनाउन मात्र होइन, सहमतिका निमित पनि सहज बनाउन सक्थ्यो।  

राष्ट्रपतिको उम्मेदवारी दिने दिन शनिबारसम्ममा धेरै पक्ष खुला भइसकेका छन्। एक, मुलुकको अहिलेको सत्ता गठबन्धन फेरिने निश्चित भइसकेको छ। दुई, फेरि मुलुक दुई महिनाअघिकै स्थितिमा फर्किएको छ। पटक–पटक सरकार परिवर्तन भइरहने र सत्ताकै खेलमा अधिकांश समय व्यतीत हुँदा भने आमनागरिकमा उत्साह कम हुन सक्छ। झण्डै ६ महिनादेखि मुलुक निर्वाचनमय छ। कसले कसलाई झुक्यायो र कसले कसरी पद पायो भन्ने चर्चापरिचर्चा भइरहेका छन्। राष्ट्रपति निर्वाचनपछि काम हुन थाल्यो भने अहिलेको आलोचना कम हुन्छ।

राष्ट्रपति निर्वाचनकै निम्ति पनि अहिले जति चर्चा र चासो छ, त्यस्तो हुनु नपर्ने हो। आलंकारिक राष्ट्रपतिको पदसमेत प्रधानमन्त्रीको निर्वाचन गर्ने भन्दा बढ्ता महत्त्वको देखिएको छ। राष्ट्रपतिलाई आफ्नो राजनीतिक अभीष्ट पूर्तिका निम्ति प्रयोग गर्ने परिपाटीले यस्तो भएको हो। अब बन्ने राष्ट्रपतिले यसअघिका राष्ट्रपतिले बसाउन नसकेका परम्परा बसाउनु आवश्यक छ। सबभन्दा महत्त्वपूर्ण नयाँ राष्ट्रपतिले सुरुमै साइरन हटाउने र जतिबेला पनि ट्राफिक जाम गराउने परिपाटी बन्द गराउन सक्नुपर्छ। त्यसो भयो भने आमनागरिकले दिने सम्मान बढ्छ। अन्यथा, राष्ट्रपति बन्ने व्यक्तिले सबै भन्दा धेरै गाली खाने अवस्था अहिले मुलुकमा छ।

अबका पाँच वर्ष मुलुकको लोकतन्त्र टिक्ने वा नटिक्ने बाटो तय गर्न महत्त्वपूर्ण हुनेछन्। अहिले सत्ता राजनीतिमा आफ्नो समय व्यतीत गरिरहेका मुख्य नेताहरू पाँच वर्षपछि सक्रिय रहने सम्भावना कम छ। त्यसैले अहिलेको यो अन्तिम मौकालाई देश घुमाइरहेका यी शीर्षले कसरी सदुपयोग गर्ने हुन्? प्रतीक्षा भइरहेको छ। आफू पनि डुब्ने र लोकतन्त्रलाई पनि धराशायी बनाउने कि यसलाई अझ बलियो बनाउने तिनकै हातमा छ।  
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस