नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको १५ रोपनी जग्गा एउटा निजी व्यापारिक कम्पनीलाई ३० वर्षसम्म भोगचलन गर्न दिने तयारीसम्बन्धी थप प्रमाण फेला परेका छन्।
इमु प्रोपटिज प्रालिले प्रतिष्ठान प्रमुखका नाममा दिएको निवेदन नै यसको बलियो प्रमाण हो। प्रालिकी प्रबन्ध सञ्चालक शर्मिला तामाङका तर्फबाट गत जेठ १४ गते प्रतिष्ठानलाई बुझाइएको निवेदनमा ‘बहुउद्देश्यीय कम्प्लेक्स निर्माण गर्ने प्रयोजनका लागि जग्गा उपलब्ध गराउन अनुरोध’ गरिएको छ।
प्रतिष्ठानमा उक्त पत्र प्राप्त भएदेखि यसका सदस्यसचिव कुश्मा महरालगायतले निरन्तर कुलपति निशा शर्मा पोखरेललाई जग्गा इमु प्रोपटिज प्रालिलाई उपलब्ध गराउन दबाब दिँदै आएका छन्। त्यति मात्र होइन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले समेत ‘यतिका जग्गा प्राइम लोकेसन’मा रहेको भन्दै व्यावसायिक प्रयोजनमा लगाउनुपर्ने धारणा प्रतिष्ठानको वार्षिकोत्सव कार्यक्रमकै बेला स्वयं कुलपति शर्मालगायतका अगाडि राखेका थिए।
यहाँसम्म कि कुलपति शर्मा पोखरेलले आफूलाई १० प्रतिशत कमिसन दिने प्रलोभनमा उक्त जग्गा निजी कम्पनीलाई दिन दबाब दिइएको जानकारीसमेत मन्त्री किरातीलाई गराएकी थिइन्। नागरिकमा यससम्बन्धी समाचार प्रकाशित भएपछि खण्डन गर्ने होडबाजी मन्त्री राईदेखि प्रतिष्ठान पदाधिकारीसम्ममा चलेको छ।
मन्त्री किरातीका प्रेस संयोजक राजन राईले खण्डन प्रकाशित गरिदन आग्रह गर्दै मंगलबार नागरिकलाई पठाएको पत्रमा उल्टै प्रश्न गरेका छन्, ‘समाचारमा निजी क्षेत्रलाई ठेक्का दिने अन्तिम तयारी भएको भनिएकोमा त्यस्तो निजी क्षेत्र के, कुन हो? के, कुन प्रक्रियाबाट ठेक्का दिन अन्तिम तयारी भएको भन्ने कुनै तथ्य प्रमाणबिना पर्यटनमन्त्री सुदन किराती र मन्त्रालयका पदाधिकारीहरूविरुद्ध समाचार सिर्जना गरिनुले प्रेस स्वतन्त्रता, सूचनाको हक र लोकतन्त्रमाथि नै प्रहार भएको छ।’
मन्त्रीका प्रेस संयोजक राईको तर्फबाट आएको उक्त प्रश्नको जवाफ इमु प्रोपटीजकै निवेदनले प्रष्ट पारेको छ। निवेदनमा लेखिएको छ, ‘त्यस प्रतिष्ठानको सानो गौचरणस्थित जग्गामा बहुउद्देश्यीय सुविधासम्पन्न व्यापारिक पूर्वाधार निर्माण कम्पनीको आफ्नै लागतमा निर्माण गरी उक्त पूर्वाधारमा सर्वसाधारणको सुविधाका लागि विविध सेवामूलक संस्थालाई बहालमा उपलब्ध गराउने लक्ष्य रहेको छ।
उक्त बहुद्देश्यीय (मल्टीपर्पोज कमर्सियल कम्प्लेक्स) मा त्यस प्रतिष्ठानका लागि एक संगीत एवं नाट्यशाला हल उपलब्ध गराई उक्त पूर्वाधारको निर्माणपश्चात् ३० (तीस) वर्षसम्म भोगचलन गरी त्यसपश्चात् आवश्यकता अनुसार सहमतिमा पूर्वाधार पुनः बहालमा लिने/दिने वा प्रतिष्ठानलाई स्वामित्व हस्तान्तरण गर्नेछौं।’
मन्त्रीका प्रेस संयोजक राईको तर्फबाट आएको उक्त प्रश्नको जवाफ इमु प्रोपटीजकै निवेदनले प्रष्ट पारेको छ।
यस्तो विषयमा समाचार छापिएपछि मन्त्री र सम्बन्धित पदाधिकारीले आफू मातहतका निकायमा खोजी गर्ने कि? प्रेसलाई उल्टै सही समाचार छाप्दासमेत झूट भन्दै विज्ञप्ति निकाल्ने? मन्त्री किरातीलाई प्रतिष्ठानका तर्फबाट प्रष्टसँग यस्तो विषयमा जानकारी नगराएको हो भने त्यो खोजीको विषय हुनुपर्छ। तर प्रतिष्ठानकै पदाधिकारीहरूबीच यसलाई लिएर निरन्तर बाझाबाझ भएको सुन्नेहरू त्यहीभित्र धेरै छन्।
प्रतिष्ठानकै कुलपति शर्मा पोखरेलले समेत उक्त समाचारबारे आफ्नो अनविज्ञता प्रकट गर्दै फेसबुकमा लेखेकी छन्। तैपनि उनले लेखेको एउटा पंक्ति भने विचारणीय छ, ‘नभएको, नबोलेको कुरा जनमानसलाई अन्योल सिर्जना गरी जग्गा हडप्ने गिरोहको पनि भत्र्सना गर्दछु।’
मन्त्री किरातीका प्रेस संयोजक राईले पठाएको खण्डनमा लेखिएको छ, ‘संगीत तथा नाट्य प्रतिष्ठानको स्वामित्वमा रहेको १५ रोपनी जग्गा हडप्ने तयारी भई मन्त्री सुदन किराती र प्रतिष्ठानकै कर्मचारीले कुलपति निशा शर्मा पोखरेललाई दबाब दिएको भन्ने कुरा निराधार हो।’
निजी व्यापारिक कम्पनी इमु प्रोपटिज प्रालिले नेपाल संगीत तथा नाट्य प्रतिष्ठान प्रमुखका नाममा दिएको निवेदन नै यसको बलियो प्रमाण हो। प्रालिकी प्रबन्ध सञ्चालक शर्मिला तामाङका तर्फबाट गत जेठ १४ गते प्रतिष्ठानलाई बुझाइएको निवेदनमा ‘बहुउद्देश्यीय कम्प्लेक्स निर्माण गर्ने प्रयोजनका लागि जग्गा उपलब्ध गराउन अनुरोध’ गरिएको छ।
सार्वजनिक जग्गा निजी कम्पनीहरूका नाममा विभिन्न हथकन्डा प्रयोग गरी लगिएका उदाहरण धेरै छन्। नाट्य प्रतिष्ठानका नाममा आएको जग्गा पनि यसै गरी उम्काउन योजनाबद्ध तयारी भएको देखिन्छ। जग्गा दिने प्रक्रिया सुरु भइसकेपछि आएको समाचारको समेत खण्डन गर्न खोजेर सत्यलाई छोप्न खोजिएको छ।
इमु प्रोपटिज प्रालिको निवेदनमा प्रष्ट लेखिएको छ, ‘विविध सुविधासम्पन्न बहुद्देश्यीय व्यापारिक पूर्वाधार निर्माण गरी सञ्चालन गर्ने उद्देश्य रहेको यस इमु प्रोपटिज प्रालि कम्पनीलाई त्यस प्रतिष्ठानको स्वामित्वमा रहेको निश्चित क्षेत्रफलको जग्गा उपलब्ध गराउन अनुरोध गर्दछु।’
प्रतिष्ठानकी सदस्य-सचिव कुश्मा महराले समेत समाचारको खण्डन सम्बन्धमा भन्दै नागरिकलाई पठाएको पत्रमा लेखेकी छिन्, ‘मन्त्री सुदन किरातीज्यू र प्रज्ञा प्रतिष्ठानका पदाधिकारीज्यूहरूको मानमर्दन र प्रतिष्ठानमा आँच आउने गरी समाचारमा उल्लेख गरिएका कुराहरू भ्रामक, कपोलकल्पित र झूटा भएको व्यहोरा अवगत गराउँछौं।’
नेपाल-भारत खुला सीमामा वारिपारि आफन्तको घर आउजाउ गर्नु मधेसको पुरानो दैनिकी हो। छठजस्ता चाडपर्वमा पारिका आफन्तकहाँ प्रसाद पुर्याउन जाने र फर्किंदा कोसेली लिएर आउने चलन सीमामा चेकपोस्ट बस्नुभन्दा धेरै पुरानो हो।
केही दिनअघि रौतहटका चार जना किसान पनि त्यही परम्पराअनुसार भारतस्थित आफन्तको घरमा छठपूजाको प्रसाद पुर्याएर घर फर्किंदै थिए। फर्किंदा आफन्तले खेतीका लागि कोसेलीका रूपमा चार बोरा गहुँको बीउ दिएका थिए। घर पुग्न नपाउँदै बाटैमा सशस्त्र प्रहरीको बीओपी सरमुजवाको टोलीले उनीहरूलाई रोक्यो।
किसानले आफ्नो परिस्थिति बताए। खेतीका लागि कोसेली ल्याएको बीउ भएको सुनाए। तर, सुरक्षाकर्मीले उनीहरूको कुरा सुनेनन् चार बोरा गहुँको बीउ नियन्त्रणमा लिइयो। स्थानीय बासिन्दाका अनुसार बीउ खोसिएको भन्दा पनि सुरक्षाकर्मीले प्रयोग गरेको अपमानजनक शब्द र किसानमाथि लगाएको तस्करीको आरोपले गाउँभरि आक्रोश फैलायो।
आफ्नै खेतमा छर्न ल्याएको बीउ बोकेका किसानलाई तस्करसरह व्यवहार गरिएको घटना सीमावर्ती बस्तीमा छिट्टै फैलियो। सीमामा हुने अवैध कारोबार रोक्नु सुरक्षा निकायको काम हो भन्नेमा यहाँका सर्वसाधारणको कुनै विमति छैन।
तर, वास्तविक तस्कर र सामान्य किसान छुट्याउन नसक्ने वा नचाहने प्रवृत्तिप्रति गाउँलेको चित्त दुखेको छ। कानुन कार्यान्वयनको नाममा सोझा सर्वसाधारणलाई हप्काउने र अनावश्यक दुःख दिने गुनासो सीमामा पहिलेदेखि नै थियो, चार बोरा गहुँको बीउ प्रकरणले त्यसलाई झन् सतहमा ल्याइदियो।
किसानका चार बोरा गहुँको बीउमा त्यति नजर राख्ने सशस्त्र प्रहरीको सक्रियता मंसिर ६ गते भने एकाएक हरायो। त्यो दिन गौर-चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत यमुनामाई गाउँपालिका-५ झुनखुनवा चोकबाट करिब ५० मिटर दक्षिणमा राजपुर नगरपालिका-१ भगवानपुरका ३५ वर्षीय राजेश यादवमाथि दिनदहाडै धारिलो चक्कु प्रहार भयो।
अपरिचित व्यक्तिको आक्रमणबाट यादव रक्ताम्य भएर ढले।
घटना भएको ठाउँबाट नजिकै सशस्त्र प्रहरीको टोली चेकजाँचमा खटिएको थियो। आक्रमणकारी भाग्दै गरेको देखेर स्थानीयले गुहार मागे। तत्कालै पिछा गरेर आक्रमणकारी समात्न सुरक्षाकर्मीलाई आग्रह गरे। तर, त्यहाँ रहेका सुरक्षाकर्मीले ‘यो हाम्रो इलाका होइन’ भन्दै हस्तक्षेप नगरेको स्थानीयको आरोप छ।
आँखैअगाडि मान्छेमाथि चक्कु चल्दा पनि वर्दीधारी टोलीले आक्रमणकारी समात्न अग्रसरता नदेखाएपछि स्थानीयको आक्रोश सडकमै पोखियो। आक्रोशित भीडले गौर-चन्द्रनिगाहपुर सडक अवरुद्ध गर्यो। सुरक्षा व्यवस्थाप्रति नाराबाजी र विरोध चलिरहँदा गम्भीर घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइयो। त्यहाँ प्राथमिक उपचारपछि अवस्था गम्भीर देखिएकाले चिकित्सकले उनलाई वीरगन्ज रेफर गरे।
घटनाको चौतर्फी आलोचना भएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटका गणपति एसपी चेतराज जोशीले आफ्नो तर्फको विवरण सुनाए। उनका अनुसार त्यतिबेला त्यहाँ रहेको बीओपी सरमुजवा बंकुलको टोली नियन्त्रणमा लिएको सामान बुझाएर फर्किने क्रममा थियो।
घटनास्थल बंकुल बीओपीको आधार इलाकाभित्र नपर्ने भएकाले तत्कालै अर्को टोली परिचालन गरिएको एसपी जोशीले बताए।
उनका अनुसार घटनालगत्तै फतुवा बेसलाई परिचालन गरिएको थियो। तर, फतुवा बेस घटनास्थलबाट टाढा भएकाले टोली आइपुग्नुअघि नै आक्रमणकारी भागिसकेका थिए। घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल पठाउन सशस्त्र प्रहरीले नै एम्बुलेन्समा राखिदिएको दाबी एसपी जोशीले गरे।
एसपी जोशीको यही भनाइमा रौतहटका बासिन्दाले अर्को विडम्बना देखेका छन्। जुन बीओपी सरमुजवा बंकुलको टोली जफत गरेको सामान बुझाएर फर्किंदै थियो, त्यही टोलीको आँखाअगाडि मान्छेमाथि चक्कु चल्दा इलाकाको पर्खाल ठडियो।
तस्करीको सामान बोकेर अर्को इलाका हुँदै हिँड्न मिल्ने, तर त्यही सडकमा घाइते रक्ताम्य हुँदा र आक्रमणकारी भाग्दा भने इलाकाको नक्सा हेरेर फतुवा बेसको बाटो कुर्नुपर्ने अवस्था कसरी आयो ? स्थानीयले अहिले यही कुरा बुझ्न सकेका छैनन्।
रौतहटमा ‘इलाका’ को सिमाना देखाएर पन्छिएको सशस्त्र प्रहरी चार दिनपछि छिमेकी जिल्ला बारामा भने आफ्नै नियमको सिमाना नाघेर विवादमा तानियो। मंसिर १० गते बाराको कोल्हवी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नगर सचिव मनोजप्रसाद चौधरीकी आमा सरली थरुनीको अन्त्येष्टि थियो।
अन्त्येष्टिमा रास्वपाका बारा क्षेत्र नम्बर-१ का प्रतिनिधिसभा सदस्य गणेश धिमालसमेत सहभागी थिए। त्यही बेला सशस्त्र प्रहरीका ११ जना कर्मचारीको टोली त्यहाँ पुग्यो र सरली थरुनीको अन्त्येष्टिमा औपचारिक शोक सलामी दियो।
चौधरी सशस्त्र प्रहरीका पूर्वकर्मचारी हुन्। संगठनको नियमअनुसार बहालवाला कर्मचारीका आफन्तको निधन हुँदा शोक सलामी दिने परम्परा छ, तर जागिर छाडिसकेका पूर्वकर्मचारीका आफन्तलाई फौजी टोली खटाएर सलामी दिने व्यवस्था छैन।
नियमविपरीत पूर्वकर्मचारीको पारिवारिक अन्त्येष्टिमा ११ जनाको टोलीले सलामी दिएको खबर बाहिरिएपछि बारादेखि काठमाडौंसम्म चर्चा सुरु भयो।
विवाद बढ्दै गएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका गणपति एसपी विशाल सिलवालले त्रुटि भएको स्वीकार गरे। चौधरी अझै बहालवाला कर्मचारी नै रहेको भन्ने जानकारीका आधारमा टोली पठाइएको उनको भनाइ छ। पछि उनी अवकाशप्राप्त कर्मचारी रहेको खुलेपछि कसको आदेशमा टोली खटाइयो भन्नेबारे संगठनभित्रै छानबिन थालिएको एसपी सिलवालले बताए।
यता, मनोजप्रसाद चौधरीले भने यो विषयलाई फरक ढंगले व्याख्या गरेका छन्। आफू कुनै सार्वजनिक पदमा नरहेको र पूर्वकर्मचारी भएकाले आफूले विगतमा सेवा गरेको संगठनबाट आमाप्रति सम्मानस्वरूप शोक सलामी दिइएको उनको दाबी छ।
तर, बाराको यो घटनाले सशस्त्र प्रहरीको आन्तरिक व्यवस्थापन कति फितलो छ भन्ने देखाइदियो। सम्बन्धित व्यक्ति अझै सेवामा छन् कि अवकाश पाइसके भन्ने सामान्य अभिलेखसमेत नहेरी ११ जना सुरक्षाकर्मीको टोली खटाइनु सामान्य भुल मात्र मान्न स्थानीय तयार छैनन्।
राजनीतिक दलका नेता र सांसद उपस्थित कार्यक्रममा व्यक्तिगत चिनजान वा अपुष्ट सूचनाकै भरमा फौजी टोली पठाइँदा संगठनको अनुशासन र निष्पक्षतामाथि स्वाभाविक शंका उब्जिएको छ।
रौतहटको सरमुजवामा किसानको गहुँको बीउ खोसिएको घटना, झुनखुनवामा चक्कु चल्दा देखाइएको इलाकाको तर्क र बाराको कोल्हवीमा नियम नहेरी दिइएको सलामी- यी तीनवटा घटनालाई जोडेर हेर्दा मधेसमा सशस्त्र प्रहरीको प्राथमिकता कता ढल्किएको छ भन्ने प्रस्ट चित्र आउँछ।
सशस्त्र प्रहरीको ध्यान नागरिकको सुरक्षाभन्दा तस्करीका मालसामान बरामद गर्नेतर्फ बढी भएको सीमा क्षेत्रका बासिन्दाको आरोप छ। सामान बरामद गर्दा आउने कमिसनको लोभमा सुरक्षाकर्मीहरू आफ्नो आधार इलाकाभन्दा धेरै टाढासम्म पुगेर छापा मार्न पछि पर्दैनन्। तर, नागरिकको जीउधनमाथि आक्रमण हुँदा वा संकट पर्दा भने उही सक्रियता हराउँछ।
सशस्त्र प्रहरीको जिम्मेवारी भन्सार छलीका सामान समात्ने र सीमाको ढाटमा चेकजाँच गर्नेमा मात्र सीमित छैन। सीमा सुरक्षासँगै विपद् व्यवस्थापन, अपराध नियन्त्रणमा अन्य सुरक्षा निकायसँग समन्वय र आम नागरिकको जीवनरक्षा गर्नु पनि उसको उत्तिकै महत्त्वपूर्ण दायित्व हो।
कुनै घटना आफ्नो प्रत्यक्ष बीओपीको कार्यक्षेत्रमा नपर्ने अवस्था आउन सक्छ। तर, प्रशासनिक सहजताका लागि कोरिएको इलाकाको सिमानाले आँखैअगाडि अपराध हुँदा हात बाँधेर बस्ने छुट दिँदैन।
त्यस्तो घडीमा पीडितलाई तत्काल जोगाउने, आक्रमणकारी रोक्न प्रयास गर्ने र नजिकका प्रहरी एकाइसँग तुरुन्त समन्वय गर्ने काम कुनै पनि सुरक्षाकर्मीको पहिलो कर्तव्य हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...