‘चीनको आर्थिक समृद्धिबाट हामीले जति सक्दो लाभ लिनुपर्छ’
२९ असार २०८२
•
१३ मिनेट पाठ
‘चीनको आर्थिक समृद्धिबाट हामीले जति सक्दो लाभ लिनुपर्छ’
चीन नेपालको एक प्रमुख लगानीको स्रोत मुलुक रहँदै आएको छ। विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनबाट नेपालमा लगानीका लागि प्रशस्त अवसर छन्। यसै वर्ष चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव पनि परेको छ। चीन नेपालको एक प्रमुख व्यापारिक साझेदार, वैदेशिक लगानी तथा पर्यटनका लागि स्रोत मुलुक पनि भएकाले दुई पक्षीय सम्बन्ध अझ फराकिलो बनाउँदै लैजान राजनीतिक उच्च तहबाट मात्र नभई जनस्तरबाट पनि थुप्रै काम भएका छन्। प्रस्तुत छ, दुई देशको मैत्री सम्बन्ध, सहयोगका क्षेत्रहरू एवं पछिल्लो समय भएका प्रयासहरुबारे चीनका लागि नेपालका राजदूत डा. कृष्णप्रसाद ओलीसँग चीन भ्रमणका अवसरमा गरिएकाे कुराकानी




नेपाल–चीनबीचको कूटनीतिक सम्बन्धलाई कसरी हेर्नुभएको छ?

चीन नेपालको घनिष्ठ एवं असल छिमेकी तथा नेपालको एक महत्वपूर्ण विकास साझेदार मुलुक हो। नेपाल–चीन मित्रताको आधारस्तम्भका रुपमा शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त छन्। चीन नेपालको एक प्रमुख व्यापारिक साझेदार, वैदेशिक लगानी तथा पर्यटनका लागि स्रोत मुलुक पनि हो। चीनले बिआरआइ फ्रेमवर्कअन्तर्गत नेपाललाई ऊर्जा, सडक, रेलजस्ता भौतिक पूर्वाधारका क्षेत्रलगायत नेपालको आर्थिक सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ।

चीनले गरेको अभूतपूर्व प्रगतिमा नेपालले गर्व गर्दछ र मैत्रीपूर्ण छिमेकी भएको नाताले चीनको आर्थिक समृद्धिको लाभ लिन चाहन्छ। नेपालको प्राथमिकताका क्षेत्रमा रहेका राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजनाहरू जस्तै अन्तर्देशीय रेलमार्ग, आधुनिक पूर्वाधार, सामजिक र आर्थिक विकास, ‘इकोसिस्टम’ संरक्षण र सुशासनमा सफल सहकार्यको कार्यान्वयन मार्फत दुई देशको सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन सकिनेमा म विश्वस्त छु।

तपाईं राजदूत भएर आइसकेपछिको कूटनीतिक सम्बन्धको मूल्याङ्कन कसरी गर्नुहुन्छ?

नेपाल र चीन सदियौँदेखि भूगोल, संस्कृति एवं परम्पराहरुले घनिष्ठ रूपमा जोडिएका छन्। सन् १९५५ अगस्टमा कूटनीतिक सम्बन्ध कायम भएदेखि यो सम्बन्ध अझ घनीभूत हुँदै गएको छ।

हाम्रो सम्बन्धको जग धेरै मजबुत एवं अटल छ। नेपाल–चीन मित्रताको आधार स्तम्भका रूपमा शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त छन्। नेपालले निरन्तर रूपमा एक चीन नीति अवलम्बन गर्दै आएको छ र चीनविरुद्ध कुनै पनि गतिविधिका लागि आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता जनाएको छ।

ताइवान तथा तिब्बत चीनको अभिन्न अङ्ग रहेकामा नेपाल स्पष्ट छ। चीनले पनि नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राजनीतिक स्वतन्त्रताको सम्मान गर्दै आएको छ। यस वर्ष चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव हो। यस अवधिमा चीन र नेपालको परम्परागत मित्रता निरन्तर सुदृढ हुँदै आएको छ र मैत्रीपूर्ण सहयोग निरन्तर गहिरो हुँदै आएको छ।

चिनियाँ राष्ट्रपति महामहिम सी चिनफिङको अक्टोबर २०१९ मा भएको नेपालको राजकीय भ्रमणको अवसरमा द्विपक्षीय सम्बन्धलाई विकास र समृद्धिउन्मुख मैत्रीपूर्ण रणनीतिक सहयोगी साझेदारी सम्बन्धमा स्तरोन्नति भएको थियो। हालैका केही वर्षमा दुई देशबीच विभिन्न स्तरमा भ्रमणहरूको आदानप्रदान तथा द्विपक्षीय सहयोगमा बढोत्तरी भएको छ भने दुई देशबीच महत्त्वपूर्ण सम्झौता समेत भएका छन्।

गत वर्ष डिसेम्बरमा सम्पन्न सम्माननीय प्रधानमन्त्रीको भ्रमण र उक्त अवसरमा हस्ताक्षर भएका सम्झौताहरूले नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउन भूमिका खेलेको छ। ती सम्झौताहरूको कार्यान्वयनको सुरुआत भएको छ र मेरो विचारमा दुवै देशको सम्बन्ध अत्यन्तै सुमधुर र प्रगाढ बनेको छ।

चीनबाट नेपालमा लगानी भित्र्याउने प्रयासहरूमा तपाईंको भूमिका कस्तो रहेको छ?

चीन नेपालको एक प्रमुख लगानीको स्रोत मुलुक रहँदै आएको छ। विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनबाट नेपालमा लगानीका लागि प्रशस्त अवसर छन्। चीनबाट नेपालका प्राथमिकताका विभिन्न क्षेत्रमा लगानीका लागि म राजदूत भएदेखि प्रयास गरिरहेको छु। यहाँको परराष्ट्र मन्त्रालय, वाणिज्य मन्त्रालय तथा अन्य सम्बन्धित निकायमा भेट गरी उक्त विषय प्राथमिकताका साथ राखेको छु। विभिन्न समयमा आयोजना हुने प्रदर्शनी तथा मेलाका कार्यक्रममा एवं चिनियाँ लगानीकर्तासँग छुट्टाछुट्टै भेटघाट गरी लगानीका लागि आग्रह गरेको छु।

चीनमा रहेका अन्तर्राष्ट्रिय व्यापार तथा लगानीसँग सम्बन्धित निकाय चाइना काउन्सिल फर द प्रोमोसन अफ इन्टरनेशनल ट्रेड (सिसिपीआइटी), चाइना ओभससिज डेभलपमेन्ट एशोसिएसन (सिओडिए) लगायतका संस्थासँग समन्वय गरी नेपाली राजदूतावासले नियमित रूपमा लगानी प्रवर्द्धन सम्बन्धी कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ।

लगानीकर्तासँगको सहकार्यमा चिनियाँ कम्पनीहरूलाई नेपालको लगानी सम्बन्धी हालका कानुनी व्यवस्थाहरूबारे जानकारी दिलाउनुका साथै लगानीकर्ताको नेपाल भ्रमण गराउने कार्य भएको छ।

बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत नेपालले कुन परियोजनाहरूको कार्यान्वयन कसरी अघि बढ्दैछ?

सन् २०१७ मा बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) सम्झौतामा हस्ताक्षर भएपछि सन् २०१८ मा ट्रान्स हिमालयन मल्टिडाइमेनसनल कनेक्टिभिटी नेटवर्क अन्तर्गत पूर्वाधार क्षेत्रमा सहकार्यका लागि संयन्त्र तयार गरिएको हो जस अन्तर्गत सिमापार रेल, राजमार्ग, बन्दरगाह, टेलिकम्युनिकेशन तथा हवाई कनेक्टिभिटीहरू पर्दछन्।

यस संयन्त्रअन्तर्गत कार्यान्वयनको तहमा सहमति गर्नलाई मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भइसकेको छ र छिट्टै कार्यान्वयनको तहमा जानेछ। केरुङ–काठमाडौँ सीमापार रेलवेको सम्भाव्यता अध्ययन सकिनेछ र आशा छ यो परियोजनाले साकार रूप लिने छ।

उक्त मितिसम्ममा सिजाङको सिगात्सेसम्म चीन सरकारले रेल सञ्जाल पुर्‍याइसक्ने सम्भावना छ। सोहीअन्तर्गत चीन सरकारको सहयोगमा केरुङ्ग रसुवागढी चिलिमे २२० केभी सीमापार ट्रान्समिसन लाइनको सम्भाव्य अध्ययनका लागि कामहरू पनि अगाडि बढेका छन्।

त्यस्तै राजमार्ग विस्तार तथा स्तरोन्नतिको कामहरू पनि भई नै रहेका छन्। टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भई सम्भाव्यता अध्ययन गर्ने कार्य सुरु भएको छ।

विश्व तापक्रमको वृद्धिसँगै हाम्रा हिमालहरू पग्लिनुका साथै जलवायु परिवर्तनको अह्म प्रभाव हामी जस्तो पहाडी मुलुकमा पर्न लागेको छ। उदाहरणका लागि यही जुलाई ८ को रसुवागढीको प्राकृतिक प्रकोप हेराैं। रसुवागढी मुख्य नाका केरुङ र चीनको स्वशासित क्षेत्र सिजाङ जोड्ने मितेरी पुल र सो का आसपासका सम्पूर्ण संरचना बाढीले बगाएको छ। त्यो वर्षाका कारणबाट मात्रभन्दा पनि अन्य कारणले भएको हुन सक्छ। उच्च भागमा रहेका हिमतालहरू विस्फोट भएमा तल्लो तटीय भागमा भयङ्कर प्रलयकारी घटना हुन जान्छ।

तसर्थ भविष्यमा बन्ने पूर्वाधारहरू अन्तर्राष्ट्रिय राजमार्ग र रेल्वे लाइनहरू यस्ता अप्रिय घटनाहरूबाट नबिग्रने आइसोलेटेड खालका बनाउन र सुरुङ प्रविधिको बढी उपयोग गर्नुपर्नेमा मेरो जोड हुनेछ।

प्राकृतिक प्रकोपका घटनाहरूबाट विनाश भएका संरचना र पुनर्निर्माणमा नेपालले कूल गार्हस्थ उत्पादनको झन्डै तीनदेखि पाँच प्रतिशत बर्सेनि खर्च गर्नुपर्दछ। यस्तो किसिमको खर्च बढ्दै गएको अवस्थामा नेपालले धान्न गाह्रो पर्ने हुँदा यसलाई कम गर्न विपद् सूचना प्रणालीको विकासका लागि चीनसँग समन्वय र सहकार्य गर्नुपर्दछ।

चीनको सहयोगमा निर्माणाधीन प्रमुख पूर्वाधार परियोजनाहरूको कार्यान्वयनमा किन ढिलाइ भएको होला?

यहाँलाई जानकारी नै छ, पूर्वाधार परियोजनाहरू निर्माणकार्य विभिन्न सरोकारवाला निकायहरूसँग विभिन्न चरणमा समन्वय गर्नुपर्ने र स्वभावतः समय लाग्ने प्रकृतिका हुन्छन्। यसका साथै जग्गा अधिग्रहण, वन सम्बन्धी विषयहरूले नेपालमा धेरै आयोजना कार्यान्वयनमा लामो समय लाग्ने गरेको छ। यसका बाबजुद नेपाल र चीन दुवै पक्षले कार्यान्वयनको विषयलाई तदारुकताका साथ अगाडि बढाउनुपर्ने देखिन्छ।

गत महिना काठमाडौँमा नेपालको परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय तथा अन्य सरोकारवाला मन्त्रालयहरू एवं चिनियाँ राजदूतावासबीच नेपाल–चीन सहयोग अन्तर्गतका आयोजना कार्यान्वयनमा सहजीकरण गर्ने नेपालमा नेपाल–चीन सहयोग कार्यक्रम र परियोजनाको कार्यान्वयनमा सहजीकरणका लागि संयन्त्रको बैठक बसेको थियो। मैले बेइजिङ आएदेखि यसअघि सम्पन्न सम्झौताअनुसार कार्यान्वयन हुन बाँकी रहेका आयोजनाको कार्यान्वयनका लागि पहल गरिरहेको छु।

दुई देशबीचको व्यापार असन्तुलन घटाउन के उपायहरू अपनाइँदै छन्?

नेपालको चीनसँगको व्यापार घाटा ठूलो रहेको छ। चीनसँग बढ्दै गएको व्यापार घाटा कम गर्न चीनमा नेपाली वस्तुहरुको व्यापार सहजीकरण, नेपालको उत्पादन क्षमता अभिवृद्धि, रुल अफ ओरिजिन प्रक्रियामा सरलीकरण तथा नेपाली वस्तुहरूलाई भन्सार छुटका लागि चीन सरकारसँग आग्रह गरिँदै आएको छ। चीनले अति कम विकसित देशहरूले पाउने छुट अन्तर्गत आठ हजारभन्दा बढी नेपाली वस्तुहरूमा छुट दिँदै आएको छ।

नेपालले हाल निर्यात गरिरहेका परम्परागत वस्तुहरूबाहेक चीनमा निर्यात सम्भावना भएका दुग्धजन्य वस्तुहरू, जुनार, भैँसीको मासु, पराल आदि चीनमा निर्यातका लागि हालैका केही वर्षमा सम्झौताहरू भएका छन्। ती सम्झौता सम्पन्न भएपछि पनि निर्यातका लागि विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। म यहाँ आएदेखि नै यहाँको भन्सार प्रशासनसँग उक्त प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन निरन्तर पहल गरिहेको छु र यसमा ठोस प्रगति पनि भएको छ।

नेपालको कृषि उत्पादकत्व वृद्धिका लागि मल तथा उन्नत बीउबीजन र प्रविधिको सहयोग, निर्यात गरिने वस्तुहरूको परीक्षणका लागि बहुउपयोगी प्रयोगशालाको स्थापना लगायतका लागि चिनियाँ कृषि मन्त्रालयसँग अनुरोध गरिरहेको छु। कृषि सम्बन्धी द्विपक्षीय बैठकका लागि तयारी भैरहेको छ।

त्यसैगरी चीनमा आयोजना हुने व्यापार मेलाहरूमा नेपाली व्यापारीहरुको अधिकतम् सहभागिता तथा दुवै देशका व्यवसायी व्यवसायीको सम्बन्ध र सम्पर्क अभिवृद्धिका लागि पहल गरिरहेको छु।

नेपालमा चिनियाँ पर्यटकको सङ्ख्यामा वृद्धि गर्न नेपाली पक्षबाट के कस्ता पहलहरू गर्नुपर्ने देख्नुहुन्छ?

चीनबाट हाल करिब एक लाख जति पर्यटकहरुले नेपालको भ्रमण गरेको देखिन्छ। करीब डेढ अर्ब जनसङ्ख्या भएको चीनबाट पर्यटक सङ्ख्या वृद्धिका सम्भावनाहरू छन्। चिनियाँ पर्यटकहरूका लागि आजको समयमा सामाजिक सञ्जाल तथा सूचना प्रविधिको प्रयोग गरी युवालाई आकर्षित गर्न सकिन्छ भने चिनियाँहरूको आम्दानीको स्तर वृद्धिसँगै उनीहरूका लागि आरामदायी एवं उच्चस्तरका होटल एवं सोहीअनुसारका सुविधाहरू दिन सके सङ्ख्या अझ वृद्धि गर्न सकिन्छ।

राजदूतावासले सीमित स्रोतसाधनका बाबजुद चीनमा विभिन्न पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमहरू आयोजना गर्ने, पर्यटन मेलामा भाग लिने कार्य गरिहरेको छ। आगामी आर्थिक वर्षमा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा स्थानीय टेलिभिजन तथा सामाजिक सञ्जालहरू मार्फत नेपालको पर्यटनबारे थप प्रचारप्रसार गर्ने कार्यक्रम रहेको छ।

नेपालमा चिनियाँ पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले नेपालका सातै प्रदेशका आधुनिक र परम्परागत खानाका परिकारहरू तयार पारी चिनियाँ मित्रहरूलाई भोजनको स्वाद लिन र पर्यटन प्रवर्द्धनमा भएका प्रयासहरूको जानकारी गराउनुका साथै साहसिक पर्यटनमा विश्वको शिखर सगरमाथा आरोहीहरुको भेला गरी पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने कार्य गरिएको छ।

नेपाली व्यवसायी र पर्यटकलाई सहज बनाउन तपाईंले के–कस्ता प्रयास गर्नुभएको छ?

राजदूतावासले नेपाली व्यवसायी चाहे चीनमा बसेर व्यवसाय गरेका अथवा नेपालबाट चीनमा व्यापार गरिरहेका सबैलाई सहजीकरण गरिरहेको छ। उहाँहरूका लागि विभिन्न मेला तथा प्रदर्शनीमा भाग लिन प्रोत्साहन र सहयोग गर्ने तथा व्यापारिक ठगी तथा विवादका विषय समाधान गर्न सहयोग गर्दै आइरहेको छ।

केही समययता विशेषगरी चीनबाट नेपालमा आयात गरिने कारोबारमा ठगीका घटना बढ्दै गएका सन्दर्भमा आफूले कारोबार गर्दा चिनियाँ पक्ष विश्वासिलो भए नभएको विश्वस्त भएर मात्र कारोबार गर्नुहुन म यहाँमार्फत चीनमा व्यापारिक कारोबार गर्नुहुने व्यावसायी मित्रहरुलाई अनुरोध गर्न चाहन्छु।

चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई यहाँका विश्वविद्यालयसँग परेका एवं अन्य समस्यामा राजदूतावासले सक्दो सहयोग गर्दै आएको छ। बेलाबखत पर्यटक भिसामा चीन आएर समस्यामा परेका नेपालीलाई राजदूतावासले सहजीकरण गर्दछ। कहिलेकाहीँ चीनलाई ‘ट्रान्जिट’ बनाएर तेस्रो मुलुकमा मानव तस्करीका केही घटनामा हामीले उद्धार गर्दै आएका छौँ।

नेपाली विद्यार्थीहरूका लागि चीनमा अध्ययनको अवसर कस्तो छ?

हालैका वर्षमा चीन नेपाली विद्यार्थीहरूका लागि एक आकर्षक गन्तव्य बन्दै गएको छ। केही विद्यार्थी चीन सरकारले प्रदान गर्ने छात्रवृत्तिअन्तर्गत अध्ययन गरिरहेका छन् भने केही विश्वविद्यालयले प्रदान गर्ने छात्रवृत्तिमा र केही आफ्नै खर्चमा अध्ययन गरिरहेका छन्। विश्वभरिका सर्वोत्कृष्ट भनेर चिनिएका केही उच्चकोटीका विश्वविद्यालयहरू चीनमा छन्। अन्य देशहरुभन्दा कम खर्चमा गुणस्तरीय शिक्षा  प्राप्त हुने भएकाले नेपाली विद्यार्थीहरूका लागि चीनमा राम्रो अवसर रहेको छ।

नेपाली भाषा, संस्कृति र संस्कार चिनियाँ जनतासँग परिचय गराउन कस्ता गतिविधि भइरहेका छन्?

नेपाल र चीनबीच ऐतिहासिककालदेखि नै भाषा संस्कृतिको आदानप्रदान भइरहेको छ। नेपाली कलाकार अरनिको नेपाली राजकुमारी भृकुटी अथवा बुद्ध भिक्षुहरू मार्फत दुई देशबीच निकट सांस्कृतिक सम्बन्ध र आदानप्रदान रहेको थियो।

गत महिना जुन महिनामा अरनिकाले निर्माण गरेको श्वेत चैत्यमा नेपाली संस्कृति झल्किने प्रदर्शनीको उद्घाटन गरिएको थियो। यसै वर्ष अप्रिल महिनामा राजदूतावासले नेपाली खानाको प्रचारप्रसारका लागि ‘फुड फेस्टिभल’ को आयोजना गरेको थियो जसमा नेपाली मौलिक नृत्यहरूसमेत प्रस्तुत गरियो।

त्यसैगरी, राजदूतावासले नेपालका विभिन्न चाडपर्वको अवसरमा कार्यक्रम आयोजना गर्ने तथा नेपाली वेषभूषा, मौलिक कला संस्कृति झल्किने वस्तुहरूको प्रर्दशनी एवं कलासङ्गीतको प्रस्तुति गर्ने गरेको छ। चिनियाँ सरकारसँग नेपालमा चिनियाँ भाषा प्रवर्द्धनका लागि सहयोग मागी कार्य अगाडि बढेको छ।

द्विपक्षीय सम्बन्ध सुधारका लागि तपाईंको कार्यकालमा के कस्ता नवीन पहलहरू भएका छन्?

नेपाल र चीनको द्विपक्षीय सम्बन्ध अत्यन्तै घनिष्ठ  छ। समयसमयमा दुवै पक्षबाट भइरहेका उच्चस्तरीय भ्रमण र उच्च तहका नेताहरूबीच हुने प्रत्यक्ष संवादले आपसी विश्वास र सद्भाव अझ वृद्धि भएको छ। चिनियाँ सहयोगलाई जनस्तरमा प्रभाव पर्ने र निम्नस्तरका जनताको जीवनस्तर माथि उठाउने परियोजनामा लैजान र तिनको प्रभावकारी कार्यान्वयनका लागि प्रयास गरिरहेको छु। अवश्य पनि चीनको समृद्धिबाट नेपालले बढीभन्दा बढी लाभ लिने गरी द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने र हाल कार्यान्वयनको चरणमा रहेका आयोजनालाई समयमै सम्पन्न गर्न नेपाल र चीन दुवै देशका सरकारसँग निरन्तर पहल गरिरहेको छु।

साथै, दुवै देशका जनतासँगको आदानप्रदान कार्य गर्न पालिकास्तरका जनप्रतिनिधिहरूको भ्रमण, नेपाली र चिनियाँ युवाहरुबीच भ्रमण आदानप्रदान, नेपाली र चिनियाँ विद्यालयका विद्यार्थीबीच भ्रमणको आदानप्रदानलगायत राष्ट्रिय राजनीतिमा उच्च ओहोदामा पुगी सेवा निवृत्त नागरिकहरुको भ्रमण आदानप्रदान रहेका छन्।

यस्ता भ्रमणहरूले एक अर्काका समस्या, चुनौती र अवसरहरू बुझ्ने र सोही अनुसार कार्य गर्ने बाटो देखाउने अपेक्षा छ। दुवै देशमा भएका आर्थिक र सामाजिक विकास सम्बन्धी कुरा जनसमक्ष पुर्‍याउन पत्रकारहरुको आदानप्रदानलाई पनि जोड दिइएको छ।

हाम्रा नेपाली उत्पादनहरूको प्रचारप्रसारका लागि विभिन्न चिनियाँ र नेपाली कम्पनीहरूबीच समन्वयमा मेलाको आयोजना गरिएका छन्। उदाहरणका लागि ‘टि टेस्टिङ फेस्टिबल’ को आयोजना गरी नेपालमा उत्पादित विभिन्न खालका चियाको स्वाद चखाउने कार्य गरिएको थियो।

आज विश्व जलवायु परिवर्तनको प्रभावको चपेटामा परेको छ। सो प्रभाव कम गर्न, जागरूकता जगाउन विभिन्न गोष्ठी, सेमिनार गरी विभिन्न देशका कूटनीतिक नियोग समेतको सहभागितामा विभिन्न कार्यक्रमहरुमा जोड दिइएको छ।

यसैगरी द्रुतगतिमा हाम्रा हिमाल पग्लिँदै गएको परिप्रेक्षमा चिनियाँ सङ्घसंस्थासँग समन्वय गरी शोध प्रक्रिया अगाडि बढाइएको छ।

- रासस, कृष्ण अधिकारी
अर्को समाचार
‘राजावादी आन्दोलन राजावादीले नै तुहाए’
२७ असार २०८२
•
१६ मिनेट पाठ
‘राजावादी आन्दोलन राजावादीले नै तुहाए’
कर्णाली प्रदेशबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई प्रतिनिधित्व गर्ने सांसद ज्ञानबहादुर शाही त्यस दलका प्रवक्ता एवं संसदीय दलका प्रमुख सचेतक हुन्। सामाजिक अभियन्ताबाट राजनीतिमा प्रवेश गरेका उनी ज्ञानेन्द्र शाहीका नाममा बढ्ता चिनिन्छन्। स्पष्ट वक्ता शाहीले राजसंस्था स्थापना गर्ने आफ्नो दलको आन्दोलनदेखि संसदीय अभ्याससम्मका अनुभवबारे खुलेर बोलेका छन्। प्रस्तुत छ– ‘नागरिक फ्रन्टलाइन’ को बुधबारको संस्करणमा प्रधान सम्पादक गुणराज लुइँटेलसँग सांसद शाहीले व्यक्त गरेका धारणाको सम्पादित अंश।




संसदीय अभ्यासको साढे दुई वर्षको अनुभव कस्तो रह्यो?

पब्लिकमा उठाउनु र संसदमा उठाउनु फरक कुरा हो। संसदमा राखेका कुरा लागु हुन्छन् भन्ने सुनेको थिएँ। सरकार पनि संसदबाटै प्रतिनिधित्व गर्ने भएका कारण सांसदले उठाएका कुरा लागु गरिन्छ भन्ने थियो। म त त्यो नियमावली बनाउने समुहको सदस्य पनि हुँ। संसदको जुन निमावली बनेको छ, त्यसमा हामीले स्पष्ट तीन बुँदा राखेका छौं, जसमध्येको एउटा प्रधानमन्त्री र मन्त्रीको प्रश्नोत्तर हो। तर सरकारले संसदमा उठाएका विषयवस्तु पनि रत्नपार्कको चौतारामा उठाएजस्तो सोचेर त्यो कार्यान्वयन गर्ने पक्षमा देखिँदैन। सरकार संसद्प्रति जवाफदेही छैन।

किन यति कमजोर भयो संसद?

२०४८ सालको संसद र अहिलेको संसदको अधिकारमा आकाश–जमिनको फरक छ। त्यतिबेला संसदसँग बजेट प्रयोग गर्ने पूर्ण अधिकार हुन्थ्यो। अहिले विकासको कुरा माथि आवश्यकता नै छैन भनिन्छ। जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउने व्यवस्था हुन्थ्यो भने अहिलेको संसद्को अधिकार ठिक छ तर हामी संसदबाटै प्रधानमन्त्री र गृहमन्त्री बनाइरहेका छौं।

संसदमा बोल्न पाइने रहेछ कि नपाइने रहेछ?

संसदीय अभ्यासमा बोल्न त पाइन्छ। मैले अहिलेसम्म बोल्ने अवसर पाएकै छु।

ठुला दलहरूले साना दलहरूलाई पेल्ने वा सत्तारूढ दलहरूले सत्ता बाहिरका दलहरूलाई कमजोर सोच्ने खालको परिस्थिति छ कि?

संसदमा त्यो हुँदैन तर व्यवहारले त्यस्तो हुन्छ। जस्तो - भिजिट भिसा प्रकरण। अब त सभामुखको छविमाथि नै प्रश्न खडा हुने बेला भयो। सभामुख त सबैको साझा हो। अहिले संसदको चौथो ठुलो दल र पाँचौं ठुलो दलले संसद बहिष्कार गरिरहेका छन्। तर सभामुखले संसद निरन्तर चलाइराख्नुभएको छ। यो भनेको तपाईंहरूलाई हामी मान्दैनौं, जनताको विश्वास र जनताको जनमतलाई हामी अपमान गर्छौं भनेको हो नि।

संसदका समितिहरूमा पक्ष–विपक्ष नभएका कारण धेरै कुरा सहमति गरेर फुल हाउसमा जान्छन्।

संसदका समितिमा पनि त छलकपट भयो। जस्तो– ‘कुलिंग पिरियड’ का कुरामा गरिएको हेरफेर बदमासी हो। आर्थिक बदमासी त हुन्थ्यो हुन्थ्यो, अब त नीतिगत र कानुन निर्माणकै तहमा पनि बदमासी भयो। यो त नैतिकतामाथिको ठुलो प्रश्न हो।

यदि म माननीय रामहरि (राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा) ज्यूको ठाउँमा भएको भए राजीनामा दिएर सांसद पद नै खाली गर्दिन्थें। यो त गर्नेलाई भन्दा देख्नेलाई लाजको विषयवस्तु हो। अहिले छानबिन समिति बनेको छ, त्यो छानबिन समितिले भने टुंगो लगाउला। तर सामान्य मान्छेले बुझ्ने कुरा समितिका सभापति र सचिवको सहमतिविना त्यो काम हुनै सक्दैन।

सभामुखको कार्यशैलीमा तपाईंहरूको प्रश्न छ?

संसदको चौथो र पाँचौं दलले वैशाखदेखि संसद अवरुद्ध गरिरहेका छन्। बजेट पारित गर्ने बेला हामीले बहिष्कार गरे पनि सभामुखलाई बाध्यता थियो। त्यो हामीले बुझेका छौं तर अब त बाध्यता छैन नि। चौथो र पाँचौं ठुलो दलले संसद बहिष्कार गरिरहेका बेला संसद चलाउनु त इतिहासमा नयाँ रूपरेखा भयो।

जनताको संख्याको कुरा गर्ने हो भने पनि हामी १६/१७ लाख भोट प्राप्त दलहरू हौं। हामीले संसद् बहिष्कार गरेका बेला संसद चलाइराख्नुपर्ने कुनै आवश्यकता थिएन। यसले सभामुखज्यूमाथि नै प्रश्न खडा हुने देखिन्छ। हामी यसको जवाफ सभामुखसँग बैठकमा माग्छौं। के सभामुखजी सरकार वा सत्तापक्षको मात्रै सभामुख हो र?

पछिल्लो समय राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगसँगै देखिनुहुन्छ, यो संयोग मात्रै हो कि मुद्दाले एकै ठाउँमा ल्याएको हो?

हामीले यो मुद्दा पहिल्यैदेखि उठाइराखेका थियौं। उहाँहरू (रास्वपा) माओवादीसँग मिलेर उठाइराख्नुभएको थियो। सायद रास्वपाका ५/६ जना माओवादी पृष्ठभूमिका भएका कारण त्यसप्रति ‘लोयल’ (बफादार) देखिनुहुन्छ। जस्तो– धर्म भन्नु हुँदैन, प्रदेश संरचना चाहिन्छ, हिन्दु राष्ट्र, राजा र धर्मको विषय उठाए रास्वपामा नबस भन्ने स्वर्णिम वाग्लेको कुरा नै आइसक्यो।

कहीं न कहीं उहाँहरू गणतन्त्रवादीसँगको बफादारीले उतै मिल्न जाने स्थिति छ। फेरि प्रमुख सचेतक (सन्तोष परियार) राजाको नाम सुनेपछि एलर्जी हुने खालका हुनुहुन्छ। छुवाछुतको विरुद्धमा हामी आन्दोलन भन्छौं, तर उहाँहरू हामीले राजा बोकेकै कारण छुवाछुत गरिराख्नुभएको छ।

यो राजाले बनाएको देश हो। राजा अहिले आवश्यकता हो। यो माओ, लेलिन, स्टालिनले बनाएको देश होइन। न प्रचण्ड, न बिपी कोइराला न मदन भण्डारीले बनाएको देश हो। राजसंस्था र जनता मिलेर बनेको देश हो। न राजाले देश बेचेका छन्, न त राजाले यिनीहरूको जस्तो भ्रष्टाचार गरेका छन्। अहिलेसम्म राजामाथि भ्रष्टाचार मुद्दा लागेको कहीं सुन्नुभएको छ ?

प्रचण्डजीलाई उहाँहरूले काँध हाल्नुभएको थियो। प्रचण्डजीले उहाँहरूका काँधमै पिसाब फेरिदिनुभयो। त्यसकारण रास्वपाका साथीहरू अहिले हामीसँग आइरहनुभएको छ। हामीले कहिल्यै पनि हाम्रो ढोका बन्द गरेका छैनौं। रवि लामिछाने गृहमन्त्री हुँदा पनि प्रतिपक्षमै बसेरै समर्थन गरेका हौं। आज उहाँलाई प्रतिशोध भयो भन्दा पनि समर्थ नै गरिरहेका छौं। फेरि रविजी जेल कुनै सरकारका कारण होइन संसदीय छानबिन समितिको कारणले गर्दा जानुभएको हो।

प्रचण्डजीसँग धेरै विश्वास गर्नाले रवि (लामिछाने) जी डुब्नुभयो र यसरी प्रचण्डसँग विश्वास गर्दै गए उहाँको पार्टीको भविष्य पनि कालान्तरमा राम्रो हुँदैन।

रविजी सञ्चार क्षेत्रबाटै आएर गृहमन्त्रीसम्म हुनुभयो, तपाईं अभियन्ताबाट संसदमा प्रवेश गर्नुभयो। त्यतिबेला मात्र भित्री कुरा खोल्न थाल्छु भनेपछि थुनामा पुगेको रास्वपाले भन्दै आएको छ। तपाईं पनि खरो हिसाबले बोल्नुहुन्छ। यस्ता कुरा गर्दा तपाईंलाई डर लाग्दैन?

मलाई त्यो डर लाग्दैन र त्यो कुरा हुँदा पनि होइन। किनभने मैले केही अपराध पनि गरेको छैन, कसैलाई ठगेको पनि छैन। फेरि राजनीतिमा आउनुअगाडि अलिकति ‘ब्यागेज’ हुनु पनि हुँदैन। त्यसले वाधा गर्छ। ‘बार्गेनिङ पोइन्ट’ बनाउँछ। जस्तो– अहिले माओवादीलाई बनाइदियो। भिजिट भिसा प्रकरणमा अग्नि सापकोटा प्रकरण आएपछि पछि हट्नुपर्‍यो।

त्यति मात्रै नभएर भिजिट भिसा प्रकरणमा त सबैभन्दा बढी पैसा त माओवादीले कमाएको छ। किनकि नारायणकाजी श्रेष्ठकै पालामा सबभन्दा बढी मान्छे भिजिट भिसामा विदेश गएका छन्। भोलि छानबिन गर्दै जाँदा प्रचण्डजीको सुपुत्री पनि आउँछिन्। कहीं न कहीं आफैंमाथि औंला ठडिनुभन्दा त विभिन्न बहाना गरेर त्यहाँबाट उम्किनु बेस हो। यस्तो ‘ब्यागेज’ ले राजनीतिमा पनि समस्या हुन्छ।

रविजीका सन्दर्भमा संसदीय छानबिन समितिले बुझाएको रिपोर्टका आधारमा उहाँमाथि छानबिन भएको हो। संसदीय छानबिन समितिमा उहाँबाट गएका शिशिर खनालले हस्ताक्षर गर्नु हुँदैनथ्यो। शिशिर खनालज्यूले हस्ताक्षर नगरेको भए प्रस्तुति अर्कै हुन सक्थ्यो। त्यो किन गरेको भनेर रविजीलाई सोध्दा जवाफ दिनुभएको छैन।

रविजीसँग मेरो व्यक्तिगत सदासयता छ। उहाँको पार्टीसँग लिनुदिनु केही छैन। उहाँले सहकारीमा के गर्नुभयो। उहाँ मन्त्री बन्नुभयो। पार्टी बनाउनुभयो, त्यो उहाँको प्रोफेसनल पाटोको कुरा हो। त्यो पाटोमा मलाई जानु छैन। व्यक्तिगत रूपमा म उहाँको शुभचिन्तक हुँ। रविजी भोलि दोषी नै ठहर भई जेल गए पनि मेरो अहिलेजत्तिकै सदासय रहिरहने छ। किनभने त्यो कुनै स्वार्थमा जोडिएको सम्बन्ध होइन।

यस्तो खालको सम्बन्ध कसरी बन्यो?

जब देशमा केही गर्नुपर्छ भनेर मैले सडकबाट अलिअलि सुरुवात गरिराखेका बेला उहाँ टेलिभिजनमा हुनुहुन्थ्यो। मैले आवाज उठिरहेका बेला यो मान्छे गलत भन्ने लाइनमा सयौं मान्छे थिए। केही मूलधारका मिडियाले त मेरो नामको अगाडि ‘कथित’ लेख्थें। ज्ञानेन्द्र शाही भनेर लेख्नुअगाडि ‘कथित’ लेखिन्थ्यो। किनकि हामीले केपी ओली, प्रचण्ड र शेरबहादुर देउवाको विरोध गर्थ्याैं। तिनले नियुक्त गरेका मान्छेहरू त्यतिखेर मिडिया चलाउँथे।

त्यस्तो विषम परिस्थितिका बेला यो मान्छेले आवाज सही हो भन्ने रवि लामिछाने मात्र एकजना मान्छे हुनुहुन्थ्यो। उहाँले एउटा स्थान दिनुभएको थियो।

राप्रपाको आन्दोलन झरीबादलले रोकिएको हो?

राजावादी आन्दोलन राजावादीले नै तुहाए। एयरपोर्टमा राजा (पूर्वराजा ज्ञानेन्द्र शाह) को स्वागत कार्यक्रमको मुख्य योजनाकार म थिएँ। मैले बाहिर भनिनँ अरूलाई। स्वागतअगाडि ७० भन्दा बढी सानाठुला कार्यक्रम गरेको छु। एयरपोर्टमा जम्मा भएको भीडले नेपालका नेता मात्रै होइन, अन्तर्राष्ट्रिय जगत् पनि तर्सियो। पूर्वराष्ट्र प्रमुख एक जिल्लाबाट अर्को जिल्ला आउँदै गर्दा स्वागत गरेर घर ल्याउनेको लहर नेपाल मात्र होइन समग्र इतिहासकै सबभन्दा बढी जनमानस होला।

यसबाट कांग्रेस र एमालेसँगै विदेशी शक्तिहरू पनि डराए। अब राजा फक्र्यो भन्ने माहोल बनिसकेको थियो। आजभन्दा ४०/४५ वर्षअगाडि सक्रिय राजनीतिकबाट ‘फेजआउट’ भइसकेका, जनताले धिक्कार गरिसकेका मान्छेहरूको नेतृत्वमा समिति बन्यो, जुन समितिमा मलाईसम्म जानकारी छैन। जो म निर्वाचित सांसद हुँ। म उहाँहरूजस्तो वडाध्यक्ष नजित्ने मान्छे होइन।

राजाको अगाडि–पछाडि लागेर सधैं राजा, राजा भनेर खाइराखेको जस्तो म होइन। म जनमत प्राप्त मान्छे हुँ। मेरो पार्टीको अध्यक्षसम्मलाई जानकारी छैन। कमान्डर नवराज सुवेदी बनेको कुरा मैले पत्रिकाबाट थाहा पाएँ। मैले त नवराज सुवेदीलाई चिनेको पनि थिएन। आन्दोलन तुहाउन शक्ति खडा गरेको त्यही दिन लागेको थियो। जीवनमा कहिले एमाले, कहिले माले भएका कमल थापाहरू आइपुगे। कमल थापाको अनुहार हेर्न चाहँदैनन् जनता। कमल थापा, शेरबहादुर देउवा र केपी ओलीलाई हेर्ने जनताले एउटै नजर हो।

म विचरा हेरेको हेर्‍यै भएँ। अनि मैले पार्टी अध्यक्षलाई यो कमिटीलाई हामीले ‘भ्यालिड’ मान्न हुँदैन भनें अनि दरबारसँग भेटघाट भयो। राजा ज्ञानेन्द्र सरकारसँग भेटघाट भयो। मैले त सीधै भनें– यो कमिटी किन ? यो कमिटी आधिकारिक हो भनी सोध्दा सरकारले होइन भन्नुभयो। त्यसपछि पनि मलाई विश्वास लागेन। पर्सिपल्ट हाम्रा अध्यक्षज्यूले नवराज सुवेदीजीलाई लिएर जानुभयो। उहाँले परैबाट सरकार म कमिटीको अध्यक्ष भएको छु भनेर जानकारी गराउनुभयो रे। सुवेदीलाई पुरानो दरबारको संवाद सचिव पशुपतिभक्त महर्जनले बनाइदिएका रे। कसैले राजा ल्याउन चाहँदैन भने त्यो दरबारभित्रकै केही मान्छेले ल्याउन चाहँदैन।

त्यसपछि त्यो कमिटी बन्यो। बनिसकेपछि आन्दोलनको घोषणा गरे। न कुनै सल्लाह, कुनै होमवर्क, न कुनै एक्साइज। नवराज सुवेदीलाई कमान्डर बनाएर जनताले पत्याउँछन् ? सत्य कुरा यही हो। त्यसपछि यो तुइन्छ भनेका थियौं तुहियो। अब नयाँ शिराबाट जानुपर्छ।

त्यसो भए तीनकुने आन्दोलनमा जानीबुझी जानुभएन?

बुझेरै त्यहाँ म गइनँ। किनकि तुलसी गिरी ल्याएर राजसंस्था गयो। नवराज सुवेदी ल्याएर आन्दोलन तुइन्छ भन्ने लाइनको मान्छे हुँ म। जसको कुनै भिजन छैन, जसको नेतृत्वमा देश बन्दैन अनि विचरा जनतालाई किन भ्रममा पार्ने? कुनै पनि आन्दोलन होस् या कुनै पनि काम होस्, त्यहाँ स्वच्छ व्यक्तिको आवश्यकता हुन्छ। नवराव सुवेदी ‘इज अ फेलियर’। उहाँको हिजोको इतिहास पनि पास छैन। उहाँ पास भएको भए त पञ्चायत टिक्नुपथ्र्यो। उहाँ त राष्ट्रिय पञ्चायतको जाँचबुझ समितिको अध्यक्ष पनि हो। उहाँ हुनेबित्तिकै पञ्चायत सकियो। यसकारण उहाँ फेलियर हो। फेलियरबाट आन्दोलन हुन्छ?

तर जनता त आए भनिन्छ?

जनता त राप्रपा भनेर आएका थिए। हामी थियौं, त्यहाँ अध्यक्ष थिए, पछि दुर्गा प्रसाईं थिए। दुर्गा प्रसाईंको जोस थियो।

दुर्गा प्रसाईं र तपाईंहरूका बिचमा मेलमिलाप थियो?

प्रसाईं एउटा आवाज उठाएका मान्छे हुन्। एकजना व्यापारी हुन्। उनलाई जसरी अहिले थुनेका छन्, यसरी थुन्नु हुँदैनथ्यो भन्ने लाग्छ। उहाँको बोलीमा नियन्त्रण त छैन तर एउटा भुईंमान्छे हो। म भुईंमान्छेलाई साथ दिन्छु। मलाई षड्यन्त्रकारीभन्दा भुईंमान्छे मन पर्छ। मुखनिर चिप्लो बोलेर पछि छुरा हान्नुभन्दा तीतो बोल्ने मान्छे सही हुन्।

आन्दोलनको नेतृत्व ठिक ढंगले भएन भन्ने तपाईंको बुझाइ हो?

व्यवस्था नै परिवर्तन गर्ने आन्दोलन मैले गरेको छैन होला, तर ज्ञानेन्द्र शाहीको इतिहास भनेको सडक आन्दोलन हो। म सडकबाटै आएको हुँ। रविजी जस्तो पत्रकारिता र बालेन (काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह) जी जस्तो एउटा हुइममा आउनुभयो। बाहिर सडक के हो उहाँलाई केही पनि थाहा थिएन। धुलो के हो? पिठो के हो? ओठ कसरी फाट्छ? पुलिसको कुटाइ के हुन्छ? भन्ने त मैले भोगेको छु। मेरो त खुट्टा भाँच्चिएको हो नि। आक्रमण के हो बुझेको छु। त्यसको अनुभव छ। हरेक आन्दोलनमा एउटा व्यवस्थापन पक्ष भन्ने हुन्छ नि। त्यो आन्दोलनको मेरुदण्ड हो।

घाइतेको उपचार कसरी गर्ने ? प्रहरीसँग मुडभेडका बेला स्थिति कसरी कन्ट्रोल गर्ने ? तीनकुनेमा कन्ट्रोल नभएर घटना भएको हो। सरकार वा सत्तापक्ष, राज्यले षड्यन्त्र कसरी गर्दै छ भन्ने मूल्यांकन भएन। धेरै कुरा हुन्छ त्यसभित्र तर यी आन्दोलनमा केही पनि थिएन। यो कुरा बुझेनौं।

निर्णायक भनिएको यो आन्दोलन तुहिएको हो?

सकिएको होइन। कमान्डर अगतिलो भएको हो। विगत हेर्ने हो भने उहाँ असफल बाटोबाट आउनुभयो। कमान्डर छान्ने कुरामा गल्ती भएकै हो। नयाँ कमान्डर छानेर हामी सशस्त्र रूपमा अगाडि जान्छौं।

फेरि देश र जनताको इच्छाले पनि फरक पर्छ। आन्दोलन ज्ञानेन्द्र शाहीले चाहेर मात्रै हुँदैन। रहरले हुने कुरा पनि होइन। के हामी देशलाई यही व्यवस्था, यही नीतिनियम र कानुनअनुसार समृद्धिको बाटोमा लिएर जान सक्छौं ? सक्दैनौं भने हामीसँग दुइटा विकल्प छन्। पहिलो– संविधान संशोधन गर्ने हो। संविधान संशोधनका लागि चाहिने जनमत भनेको एक सय ८५ जना हो। चुनाव एक सय ६५ स्थानमा हुन्छ। के सम्भव छ त ?

दोस्रो कुरा आन्दोलन नै हो। शान्तिपूर्ण आन्दोलन हो। दबाब हो। त्यो दबाब गर्नैपर्छ। किनभने धेरै कुरा परिवर्तन गर्नु छ।

अहिलेको व्यवस्थामा रविजी, बालेनजी र म गए पनि असफल हुन्छौं। किनभने जोसुकै व्यक्ति गए पनि असफल हुने संविधान हामीले बनाएका छौं। धारा २८४ ले संवैधानिक परिषद्को व्यवस्था गरेको छ। संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री हुन्छ। सदस्य सभामुख, उपसभामुख राष्ट्रियसभाको अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्ष दलको नेता हुन्छ। त्यो संवैधानिक परिषद्ले अदालतको प्रधानन्यायाधीश, अख्तियारका आयुक्त, महालेखा परीक्षक, निर्वाचन आयोगको प्रमुख पनि उसैले नियुक्ति गर्छ। त्यहाँ क्षमता र क्वालिटीका मान्छेभन्दा आफ्ना अन्धभक्त र कार्यकर्तालाई राखिन्छ। त्यसकारण अख्तियारले मुद्दा हेर्दैन।

अहिले त्यही भएको हो। अहिलेको अख्तियारको प्रमुख आयुक्त प्रेमकुमार राई नेकपा एमाले, त्यो पनि केपी शर्मा ओलीका कार्यकर्ता हुनुहुन्छ। त्यहाँ पार्टी सिस्टमबाट जान्छ। कांग्रेस, मधेसवादी दल र माओवादीका एकएकजना छन्। त्यहाँ त भागबन्डा लाग्छ।

भोलि मेरो पक्षका मान्छे भए मैले भ्रष्टाचार गरे पनि तिनले सहयोग गर्छन्। मेरो विरोधी भयो भने केही नगरे पनि मुद्दा लगाउँछन्, जसरी काठमाडौं महानगरपालिकाका मेयरलाई लगाइराखेका छन्। काठमाडौं महानगरका मेयरले भ्रष्टाचार गर्छन् भन्ने कुरा मेरो कल्पनाभन्दा बाहिरको विषय हो।

धारा १५३ ले न्यायपरिषद्को व्यवस्था गरेको छ। न्यायपरिषद्को अध्यक्ष प्रधानन्यायाधीश र सदस्य नेपाल बार एसोसिएसनबाट एकजना पार्टीको कार्यकर्ता आउँछ। अर्को प्रधानमन्त्रीले नियुक्ति गरेको मान्छे आउँछ, जो पार्टीको कार्यकर्ता हुन्छ। अर्को कानुनमन्त्री र अर्को सर्वोच्च अदालतको वरिष्ठ न्यायाधीश हुन्छ। पाँचमध्ये दुईजना स्वतन्त्र हुन्छन्। तीनजना पार्टीका कार्यकर्ता हुन्छन्। यही धाराबाट उच्च र जिल्ला अदालतका न्यायाधीश सबै उसैले नियुक्ति गर्छ। यस्तोमा पार्टीका कार्यकर्ताभन्दा बाहिरका मान्छे न्यायाधीश बन्नै पाउँदैन। त्यसका लागि धारा १५३ खारेज गर्नुपर्छ।

अर्को धारा १५७ मार्फत प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्ति गर्छ। महान्यायाधिवक्ता भनेको सरकारको कानुनी सल्लाहकार मात्र होइन। देशैभरिका सरकारी वकिलको हाकिम पनि हो। मुद्दा चलाउने कि नचलाउने उसैका हातमा हुन्छ। अहिले मुद्दा पुलिसले होइन सरकारी वकिलको कार्यालयले चलाउँछ। यस्तो व्यवस्थाले विधिको शासन हुँदैन। भोलि म प्रधानमन्त्री भए पनि मैले त आफ्ना मान्छेलाई सेवा गर्न लाग्छु। अनि देश चल्दैन।

अर्को धारा ७६ अनुसार प्रधानमन्त्री जनताले चुन्न पाउँदैन। सांसदले छानेको प्रधानमन्त्री नबनाऊँ; कार्यकारी प्रमुख छान्न सीधै जनतामा जाऊँ। जहाँ प्रधानमन्त्रीका लागि जनताले प्रत्यक्ष भोट हालून्। धारा ६२ कामै नलाग्ने। त्यो राष्ट्रपति व्यवस्था। पार्टीको कार्यकर्ता हुनुपर्ने व्यवस्था त्यो हटाएर राजा ल्याऊँ। प्रदेश खारेज गरिदिऊँ। यी मुद्दा खारेज गरे जोकोहीले काम गर्न सक्छ।

सरकारको कामलाई कसरी हेर्नुभएको छ?

जोसुकै आए पनि त हिँड्छ। सरकारै नभए पनि देश चल्छ। अहिलेजति मन्त्रीपरिषद भएन भने पनि देश यस्तै चल्छ। देशको सुरक्षा चलाउने प्रहरीले हो। गृहमन्त्री नहुँदा पनि केही फरक पर्दैन। आइजिपीले चलाइहाल्छ। सबै मन्त्रालयका काम गर्ने सचिवले हो। मुख्य सचिव र सचिवले मन्त्री नभए पनि चलाइहाल्छन्।

कांग्रेस र एमालेको सरकार २०८४ सम्मै टिक्छ?

टिक्छ जस्तो लाग्छ। फाल्ने कसले उहाँलाई ? उनीहरूकै बहुमत छ। सबै फाइदामा छन्। कांग्रेस–एमालेका मान्छेले ठेक्का पाएकै छन्। म शुभकामना दिन्छु– २०८४ मा तपाईंहरू एउटै गठबन्धनमा आउनुहोस्। हामी अर्को गठबन्धन गरेर जनमतमा जान्छौं।

यो बिचमा अवसर पाए सरकारमा जानुहुन्छ ?

हाम्रा मुद्दा केही सम्बोधन नभइकन सरकारमा नजाने। पहिला पनि हामीलाई सरकारमा लिन ठुलै प्रयास भएको हो। त्यतिखेर केपी ओली र शेरबहादुर देउवाजीहरू सबैले सरकारमा जाने मन्त्री लिनुस् भनेर कांग्रेस र एमालेको प्रस्तावै थियो तर हाम्रा एजेन्डाहरू हुन्छन्। जस्तो– पहिलोपटक सरकारमा सामेल हुँदा हामीले पृथ्वीनारायण शाहलाई राष्ट्रपिता मान्यौं। त्यो हाम्रो एउटा अजेन्डा भए पनि पार लाग्यो। अब हिन्दु राष्ट्रका पक्षमा कांग्रेसले समर्थन गर्‍यो भने सरकारमा सहभागी हुन्छौं।

कर्णालीको प्रतिनिधित्व गर्नुहुन्छ, कहीले फेरिन्छ त कर्णालीको अनुहार ?

कर्णालीको अनुहार फेरिन त त्यहाँको विकास हुनुपर्‍यो। राजा ज्ञानेन्द्र शाहले सडक पु¥याइसकेपछि विकासको एउटा लहर फुटेको छ। म राजावादी भएर भनेको होइन, सत्य कुरा यही हो। जुम्लामा बाटो नहुँदा हामी त्यतिखेर ६/७ दिन हिँडेर सुर्खेत आउँथ्यौं।

जुम्लाका स्याउ बारीमै कुहिन्थे। राजा महेन्द्रले संरक्षण नगरिदिनुभएको भए आज रारा गनाउने पोखरी हुन्थ्यो। जुम्लामा २०२९ सालमा एयरपोर्ट बनेको हो। ४० वर्षअगाडि बहुमुखी क्याम्पस बनेको हो। सुर्खेतमा बिजुली थिएन, जुम्लामा बिजुली थियो। २०४३ सालमा कर्णाली सडक काट्न सुरु गरिएको हो।

भोलिको भविष्य बन्छ भनेर राजाले कश्मीरबाट स्याउ ल्याएर रोपिदिनुभएको हो। त्यही स्याउ आज हाम्रो मुख्य आम्दानी भइराखेको छ। किसानले उन्नत जातको भेडा पाऊन् भनेर २०२५ सालमा भेडा फार्म सञ्चालन गरिदिनुभयो। पञ्चायत ढलेपछि राजा नआउँदासम्म यी दलहरूले एउटा कुटो पनि खोज्न दिएनन्। २०४८ सालदेखि २०५९ सालसम्म जुम्लाको सडक खन्न सुरु भएन। राजाले ‘कु’ गरेपछि अनि आर्मी राखेर कालिकोटको पिलीमा सडक खन्न सुरु भयो। त्यहीं बसेका आर्मी मारिए। कर्णालीका लागि असली सहिद कोही हुन् भने ती कालिकोटको पिलीमा मारिएका ६० जना सैनिक हुन्। ती हतियार बोकेका मान्छे होइनन्, सडक खन्न बसेका मान्छे हुन्।

गणतन्त्रपछि विकास भइरहेको छ नि?

छैन। बजेटका पुराना तथ्यांकले भन्छ। कर्णाली अहिले पनि ठगिएकै छ। तर मेरो जिल्लामा अलि फरक छ। भगवान् कृपाले भन्छु अलिकति गरेकै छ। बाटो पिचका लागि अहिले पनि जुम्लामा बजेटहरू हामीले पाइराखेका छौं। जुम्लाबाट जाजरकोट बढ्ने बाटो जुम्लापट्टि काटिसक्यौं। ज्ञानेन्द्र शाहीको पालो सकियो अब जाजरकोटका नेता शक्ति बस्नेतको पालो हो। एक अर्बको ठेक्काबाट बिजुली अहिले गाउँमा पुर्‍याइरहेका छौं।

यो त लोकतन्त्रकै योगदान रहेछ नि?

लोकतन्त्रकै योगदान हैन, व्यक्तिगत योगदान हो। मभन्दा अगाडि हरिश्चन्द्र महत हुनुहुन्थ्यो। उहाँभन्दा अगाडि नरेशजी हुनुहुन्थ्यो। खै त गरेको ? व्यक्तिगत रूपमा पहल नगरी त सम्भवै छैन। मैले त दुईचारजना सचिवलाई कान समातेर उठबस नै गराइदिएको छु। १० करोडको योजना हाले एक करोड सचिवलाई दिनुपर्ने रहेछ। त्यो कसैले दया गरेको होइन। कसैले भिख दिएको कुरा होइन। हाम्रो अधिकार हो।

समग्रमा यो वर्ष चार अर्बको बजेट परेको छ। हामी गुणस्तरीय काममा ध्यान दिन्छौं। जस्तै– जुम्लामा बनेको पुल उद्घाटन अगाडि भत्कायौं। मलाई उद्घाटन गर्न बोलाइएको थियो। भोलि उद्घाटनअघि जाँच गर्दा शंका लागेपछि भत्कायौं। अहिले पुल बनिसकेको छ। घुस खाने मान्छे भएको भए पचास–साठी लाख रूपैयाँ खान्थ्यो अनि त्यो पुल पास गर्दिन्थ्यो। हामीले बाटोमा पनि त्यही गरेका छौं। मापदण्डभन्दा क्वालिटी तलमाथि भए बिल पास गर्ने कर्मचारीलाई अख्तियार ल्याउने। सकेनौं भने पनि अहिले मुद्दा दर्ता गरिराख्ने। १० वर्षपछाडि भए पनि कारबाही हुन्छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस