उद्योगलाई सरकारसँग जोड्न लागिपरेका छौं: भागीरथ सापकोटा
२५ भदौ २०८१
•
४ मिनेट पाठ
उद्योगलाई सरकारसँग जोड्न लागिपरेका छौं: भागीरथ सापकोटा
भागीरथ सापकोटा, संयोजक, नेपाल उद्योग तथा व्यवसायी महासंघ नेकपा एमाले
सत्तारुढ दल नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघका संयोजक भागीरथ सापकोटा २०८१ वैशाख ७ देखि संगठनको नेतृत्वमा छन्। उनी अहिले उद्योगी–व्यवसायीका बिच ‘सुदृढ अर्थतन्त्र निर्माणको आधार सबल निजी क्षेत्र र बलियो पूर्वाधार’ अन्तत्र्रिmया कार्यक्रम गरी सरकारी र निजी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सहजीकरणको अग्रसरता लिइरहेका छन्। सापकोटासँग तेजेन्द्र काफ्लेले गरेको कुराकानीको संक्षेप:




नेपालमा रहेका उद्योगहरूको वर्तमान अवस्था के हो?

नेपालमा रहेका उद्योगहरू पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन्। सञ्चालनमा रहेका उद्योगहरूले आफूलाई ४० प्रतिशत हाराहारीमा सञ्चालन गर्दै गर्दा घाटामा व्यवसाय गरिरहेका छन्। यसको प्रत्यक्ष असर राज्यको आर्थिक कारोबार, वित्त तथा बैंकिङ क्षेत्रमा देखिएको हो।

उद्योग तथा व्यवसाय न्यून क्षमतामा सञ्चालन हुँदा रोजगारीमा त्यसको प्रत्यक्ष असर परेको छ। नेपालमा उद्योग व्यवसाय क्षेत्रमा परेको असरले रोजगारी सिर्जना नहुँदा दक्ष जनशक्ति विदेश पलायन हुने क्रम बढ्दो छ। कोभिडको असरले बैंकिङ क्षेत्रमा ब्याजदर ह्वात्तै बढ्यो। यसले पनि व्यवसायमा प्रत्यक्ष असर पुर्‍यायो। धेरै व्यवसाय बन्द भए। यसको असर अझै पनि छ।

देश विकासमा मेरुदण्ड मानिएका उद्योगहरू बलिया बन्न नसक्दा रोजगारी अभावमा युवाहरू पलायन हुने क्रम जारी छ, यसलाई कसरी रोक्न सकिन्छ? केही योजना छन्?

नेपालबाट युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न देशमै साना तथा मझौला उद्योगहरू सञ्चालनमा जोड दिइनुपर्छ। राज्यले नयाँ सुरुवात गरेको छ–स्टार्टअप उद्यमी कर्जा सुविधा। यसले पनि नेपालमै केही गर्न चाहने युवाहरूलाई नयाँ जोस बढाउन सक्छ, तर यसलाई व्यवस्थित ढंगबाट सञ्चालन गर्न आवश्यक छ।भविष्यमा पहुँचका आधारमा योजना वा कर्जा बाँडफाँट भएमा युवा पलायन हुने सम्भावना अझ बढेर जाने छ।

विदेशमा नेपालमा भन्दा बढी तलब सुविधा प्राप्त हुने, आवास, यातायात अनि अन्य धेरै कुरामा सहज हुने भएकाले पनि युवा नेपालमै बसेर जागिर खाने सोचमा छैनन्। अब तत्काल युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देशहरूको जस्तो आर्थिक वद्धि गरेर सुविधासम्पन्न गराउने अवस्था नेपालको छैन। अब यसलाई विस्तारै घटाउन युवाहरूलाई उद्योग तथा व्यवसायमा समेट्दै जानु पर्दछ। अब राज्यले उद्योग व्यवसायसँग सम्बन्धित कानुन, नीति, ऐन, नियम, व्यवहार लगायतमा सुधार गर्नुपर्ने हुन्छ।

सरकारी तथा निजी साझेदारीमा रहेका रुग्ण उद्योगहरू सञ्चालनको कार्ययोजना बन्दै छ भनिन्छ, यसमा तपाईंको अवधारणा के हो?

नेपालमा सरकारी तथा निजी साझेदारी कार्ययोजना बनाई लागु गरिनुपर्छ भन्ने विगतदेखिकै विषय हो। तथापि यसलाई हामीले सक्रिय बनाउन सकेका छैनौं। नेपालमा सामुदायिक वन र खानेपानीमा सरकारी तथा निजी साझेदारीको अवधारणा लागु गर्ने प्रयास भएको छ। जहाँ सरोकारवालासँग प्रत्यक्ष सम्बन्ध तथा कार्यान्वयनको पाटो जोडिएको हुन्छ, जसले एउटा नुमना उदाहरणसमेत प्रस्तुत गरेको छ, जुन तपाईंहामी आफैंले देखेका छौं।

अहिले दक्षिण एसियाली मुलुकमै सामुदायिक वनको कार्यगत उदाहरणलाई प्रयोगमा ल्याउन खोजिएको पाइन्छ। नेपाल उद्योग तथा व्यवसायी महासंघले आफ्नो पहलमा उद्योग तथा व्यवसायलाई राज्य तथा निजी क्षेत्रमा देखिएका समस्याको समाधान तथा सुधार गर्दै आर्थिक विकासका लागि के गर्न सकिन्छ भन्ने विभिन्न कार्यक्रम तथा संवादको आयोजना गर्दै आएको छ, जसबाट आएका महत्वपूर्ण सल्लाह, सुझाव तथा प्रस्तावहरूलाई दस्ताबेजीकरण गरी राज्यको मुख्य निकाय सरकार तथा अन्य सम्बन्धित क्षेत्रसम्म पुर्‍याउन पहल गरेको छ।

तपाईंको पार्टी एमालेका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा लिएका छन्, सम्भव देख्नुहुन्छ?

‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नेपाल सरकारको नारालाई साकार बनाउन राज्य र निजी क्षेत्रको एकत्रित प्रयास आवश्यक छ। अब हामीले पूर्वाधार तथा उद्योगको पाटोलाई विकास गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ।

सर्वप्रथम आर्थिक अवस्था बलियो हुनुपर्छ, त्यसका लागि निजी क्षेत्र बलियो हुनुपर्‍यो। यसले रोजगारी सिर्जना गर्दछ अनि व्यक्तिको क्रयशक्तिमा वृद्धि हुन्छ तथा अर्कातर्फ व्यक्ति वा व्यवसायीको क्रयशक्ति बढे पनि राज्यलाई तिर्नुपर्ने कर तथा अन्य दायित्व तिर्ने वातावरण सिर्जना हुन्छ।

यी कुराले राज्य बलियो बनाउँछ अनि राज्यले आफूले खर्च गरेर राज्यमा सुधारका कार्य गर्न सक्छ। सबैभन्दा बढी पूर्वाधार सुधारका कार्यमा राज्यले ध्यान दिनुपर्दछ। पूर्वाधार विकास भएमा उद्योगधन्धा सञ्चालनमा सहजता आउँछ। यसले व्यापार तथा सेवा क्षेत्रमा विकास हुन्छ। सरकारले छिमेकी राष्ट्रहरू तथा अन्य राष्ट्रबाट आयात हुँदै आएको कच्चा पदार्थ न्यूनीकरण गर्नेतर्फ योजना बनाउन आवश्यक छ।

नेपाली उद्योगलाई प्रोत्साहन र विदेशी उद्यमीलाई आमन्त्रण गर्न सके नेपाललेफट्को मार्न सक्ने थियो, सम्भावना छ यसमा?

वैदेशिक लगानी भित्र्याउन सर्वप्रथम देशभित्रका उद्योगी–व्यवसायीहरूको मनोबल उच्च बनाउनु पर्छ। राज्यले उद्योग–व्यवसायप्रतिको दृष्टिकोण फराकिलो बनाएर लगानीको वातावरण सिर्जना गर्ने, व्यवसायीका पक्षमा उभिने र राम्रो कामको सही मूल्यांकन गर्ने हो भने पनि वैदेशिक लगानी भित्र्याउन निजी क्षेत्र उत्साहित हुन्छन्।

आगामी दिनमा उद्योग–व्यवसाय वृद्धि गर्दै देशको आर्थिक उन्नतिमा लाग्न र सबै पक्ष एक भएर राम्रालाई पुरस्कृत तथा नराम्रालाई दण्ड–जरिवानाका आधारमा अगाडि बढ्न सक्नुपर्छ। नेपालका कृषि तथा खनिजजन्य उद्योग दक्षिण एसियामै सबैभन्दा राम्रो सम्भावना बोकेका उद्योग हुन्। सबै क्षेत्रको पहलमा यसलाई विस्तार गर्न सके अबको एक दशकमा नेपाललाई उत्कृष्ट आर्थिक विकास गर्ने देशका रूपमा प्रस्तुत गर्न सक्छौं।
अर्को समाचार
‘चीनको आर्थिक समृद्धिबाट हामीले जति सक्दो लाभ लिनुपर्छ’
२९ असार २०८२
•
१३ मिनेट पाठ
‘चीनको आर्थिक समृद्धिबाट हामीले जति सक्दो लाभ लिनुपर्छ’
चीन नेपालको एक प्रमुख लगानीको स्रोत मुलुक रहँदै आएको छ। विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनबाट नेपालमा लगानीका लागि प्रशस्त अवसर छन्। यसै वर्ष चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव पनि परेको छ। चीन नेपालको एक प्रमुख व्यापारिक साझेदार, वैदेशिक लगानी तथा पर्यटनका लागि स्रोत मुलुक पनि भएकाले दुई पक्षीय सम्बन्ध अझ फराकिलो बनाउँदै लैजान राजनीतिक उच्च तहबाट मात्र नभई जनस्तरबाट पनि थुप्रै काम भएका छन्। प्रस्तुत छ, दुई देशको मैत्री सम्बन्ध, सहयोगका क्षेत्रहरू एवं पछिल्लो समय भएका प्रयासहरुबारे चीनका लागि नेपालका राजदूत डा. कृष्णप्रसाद ओलीसँग चीन भ्रमणका अवसरमा गरिएकाे कुराकानी




नेपाल–चीनबीचको कूटनीतिक सम्बन्धलाई कसरी हेर्नुभएको छ?

चीन नेपालको घनिष्ठ एवं असल छिमेकी तथा नेपालको एक महत्वपूर्ण विकास साझेदार मुलुक हो। नेपाल–चीन मित्रताको आधारस्तम्भका रुपमा शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त छन्। चीन नेपालको एक प्रमुख व्यापारिक साझेदार, वैदेशिक लगानी तथा पर्यटनका लागि स्रोत मुलुक पनि हो। चीनले बिआरआइ फ्रेमवर्कअन्तर्गत नेपाललाई ऊर्जा, सडक, रेलजस्ता भौतिक पूर्वाधारका क्षेत्रलगायत नेपालको आर्थिक सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ।

चीनले गरेको अभूतपूर्व प्रगतिमा नेपालले गर्व गर्दछ र मैत्रीपूर्ण छिमेकी भएको नाताले चीनको आर्थिक समृद्धिको लाभ लिन चाहन्छ। नेपालको प्राथमिकताका क्षेत्रमा रहेका राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजनाहरू जस्तै अन्तर्देशीय रेलमार्ग, आधुनिक पूर्वाधार, सामजिक र आर्थिक विकास, ‘इकोसिस्टम’ संरक्षण र सुशासनमा सफल सहकार्यको कार्यान्वयन मार्फत दुई देशको सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन सकिनेमा म विश्वस्त छु।

तपाईं राजदूत भएर आइसकेपछिको कूटनीतिक सम्बन्धको मूल्याङ्कन कसरी गर्नुहुन्छ?

नेपाल र चीन सदियौँदेखि भूगोल, संस्कृति एवं परम्पराहरुले घनिष्ठ रूपमा जोडिएका छन्। सन् १९५५ अगस्टमा कूटनीतिक सम्बन्ध कायम भएदेखि यो सम्बन्ध अझ घनीभूत हुँदै गएको छ।

हाम्रो सम्बन्धको जग धेरै मजबुत एवं अटल छ। नेपाल–चीन मित्रताको आधार स्तम्भका रूपमा शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त छन्। नेपालले निरन्तर रूपमा एक चीन नीति अवलम्बन गर्दै आएको छ र चीनविरुद्ध कुनै पनि गतिविधिका लागि आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता जनाएको छ।

ताइवान तथा तिब्बत चीनको अभिन्न अङ्ग रहेकामा नेपाल स्पष्ट छ। चीनले पनि नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राजनीतिक स्वतन्त्रताको सम्मान गर्दै आएको छ। यस वर्ष चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव हो। यस अवधिमा चीन र नेपालको परम्परागत मित्रता निरन्तर सुदृढ हुँदै आएको छ र मैत्रीपूर्ण सहयोग निरन्तर गहिरो हुँदै आएको छ।

चिनियाँ राष्ट्रपति महामहिम सी चिनफिङको अक्टोबर २०१९ मा भएको नेपालको राजकीय भ्रमणको अवसरमा द्विपक्षीय सम्बन्धलाई विकास र समृद्धिउन्मुख मैत्रीपूर्ण रणनीतिक सहयोगी साझेदारी सम्बन्धमा स्तरोन्नति भएको थियो। हालैका केही वर्षमा दुई देशबीच विभिन्न स्तरमा भ्रमणहरूको आदानप्रदान तथा द्विपक्षीय सहयोगमा बढोत्तरी भएको छ भने दुई देशबीच महत्त्वपूर्ण सम्झौता समेत भएका छन्।

गत वर्ष डिसेम्बरमा सम्पन्न सम्माननीय प्रधानमन्त्रीको भ्रमण र उक्त अवसरमा हस्ताक्षर भएका सम्झौताहरूले नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउन भूमिका खेलेको छ। ती सम्झौताहरूको कार्यान्वयनको सुरुआत भएको छ र मेरो विचारमा दुवै देशको सम्बन्ध अत्यन्तै सुमधुर र प्रगाढ बनेको छ।

चीनबाट नेपालमा लगानी भित्र्याउने प्रयासहरूमा तपाईंको भूमिका कस्तो रहेको छ?

चीन नेपालको एक प्रमुख लगानीको स्रोत मुलुक रहँदै आएको छ। विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनबाट नेपालमा लगानीका लागि प्रशस्त अवसर छन्। चीनबाट नेपालका प्राथमिकताका विभिन्न क्षेत्रमा लगानीका लागि म राजदूत भएदेखि प्रयास गरिरहेको छु। यहाँको परराष्ट्र मन्त्रालय, वाणिज्य मन्त्रालय तथा अन्य सम्बन्धित निकायमा भेट गरी उक्त विषय प्राथमिकताका साथ राखेको छु। विभिन्न समयमा आयोजना हुने प्रदर्शनी तथा मेलाका कार्यक्रममा एवं चिनियाँ लगानीकर्तासँग छुट्टाछुट्टै भेटघाट गरी लगानीका लागि आग्रह गरेको छु।

चीनमा रहेका अन्तर्राष्ट्रिय व्यापार तथा लगानीसँग सम्बन्धित निकाय चाइना काउन्सिल फर द प्रोमोसन अफ इन्टरनेशनल ट्रेड (सिसिपीआइटी), चाइना ओभससिज डेभलपमेन्ट एशोसिएसन (सिओडिए) लगायतका संस्थासँग समन्वय गरी नेपाली राजदूतावासले नियमित रूपमा लगानी प्रवर्द्धन सम्बन्धी कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ।

लगानीकर्तासँगको सहकार्यमा चिनियाँ कम्पनीहरूलाई नेपालको लगानी सम्बन्धी हालका कानुनी व्यवस्थाहरूबारे जानकारी दिलाउनुका साथै लगानीकर्ताको नेपाल भ्रमण गराउने कार्य भएको छ।

बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत नेपालले कुन परियोजनाहरूको कार्यान्वयन कसरी अघि बढ्दैछ?

सन् २०१७ मा बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) सम्झौतामा हस्ताक्षर भएपछि सन् २०१८ मा ट्रान्स हिमालयन मल्टिडाइमेनसनल कनेक्टिभिटी नेटवर्क अन्तर्गत पूर्वाधार क्षेत्रमा सहकार्यका लागि संयन्त्र तयार गरिएको हो जस अन्तर्गत सिमापार रेल, राजमार्ग, बन्दरगाह, टेलिकम्युनिकेशन तथा हवाई कनेक्टिभिटीहरू पर्दछन्।

यस संयन्त्रअन्तर्गत कार्यान्वयनको तहमा सहमति गर्नलाई मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भइसकेको छ र छिट्टै कार्यान्वयनको तहमा जानेछ। केरुङ–काठमाडौँ सीमापार रेलवेको सम्भाव्यता अध्ययन सकिनेछ र आशा छ यो परियोजनाले साकार रूप लिने छ।

उक्त मितिसम्ममा सिजाङको सिगात्सेसम्म चीन सरकारले रेल सञ्जाल पुर्‍याइसक्ने सम्भावना छ। सोहीअन्तर्गत चीन सरकारको सहयोगमा केरुङ्ग रसुवागढी चिलिमे २२० केभी सीमापार ट्रान्समिसन लाइनको सम्भाव्य अध्ययनका लागि कामहरू पनि अगाडि बढेका छन्।

त्यस्तै राजमार्ग विस्तार तथा स्तरोन्नतिको कामहरू पनि भई नै रहेका छन्। टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भई सम्भाव्यता अध्ययन गर्ने कार्य सुरु भएको छ।

विश्व तापक्रमको वृद्धिसँगै हाम्रा हिमालहरू पग्लिनुका साथै जलवायु परिवर्तनको अह्म प्रभाव हामी जस्तो पहाडी मुलुकमा पर्न लागेको छ। उदाहरणका लागि यही जुलाई ८ को रसुवागढीको प्राकृतिक प्रकोप हेराैं। रसुवागढी मुख्य नाका केरुङ र चीनको स्वशासित क्षेत्र सिजाङ जोड्ने मितेरी पुल र सो का आसपासका सम्पूर्ण संरचना बाढीले बगाएको छ। त्यो वर्षाका कारणबाट मात्रभन्दा पनि अन्य कारणले भएको हुन सक्छ। उच्च भागमा रहेका हिमतालहरू विस्फोट भएमा तल्लो तटीय भागमा भयङ्कर प्रलयकारी घटना हुन जान्छ।

तसर्थ भविष्यमा बन्ने पूर्वाधारहरू अन्तर्राष्ट्रिय राजमार्ग र रेल्वे लाइनहरू यस्ता अप्रिय घटनाहरूबाट नबिग्रने आइसोलेटेड खालका बनाउन र सुरुङ प्रविधिको बढी उपयोग गर्नुपर्नेमा मेरो जोड हुनेछ।

प्राकृतिक प्रकोपका घटनाहरूबाट विनाश भएका संरचना र पुनर्निर्माणमा नेपालले कूल गार्हस्थ उत्पादनको झन्डै तीनदेखि पाँच प्रतिशत बर्सेनि खर्च गर्नुपर्दछ। यस्तो किसिमको खर्च बढ्दै गएको अवस्थामा नेपालले धान्न गाह्रो पर्ने हुँदा यसलाई कम गर्न विपद् सूचना प्रणालीको विकासका लागि चीनसँग समन्वय र सहकार्य गर्नुपर्दछ।

चीनको सहयोगमा निर्माणाधीन प्रमुख पूर्वाधार परियोजनाहरूको कार्यान्वयनमा किन ढिलाइ भएको होला?

यहाँलाई जानकारी नै छ, पूर्वाधार परियोजनाहरू निर्माणकार्य विभिन्न सरोकारवाला निकायहरूसँग विभिन्न चरणमा समन्वय गर्नुपर्ने र स्वभावतः समय लाग्ने प्रकृतिका हुन्छन्। यसका साथै जग्गा अधिग्रहण, वन सम्बन्धी विषयहरूले नेपालमा धेरै आयोजना कार्यान्वयनमा लामो समय लाग्ने गरेको छ। यसका बाबजुद नेपाल र चीन दुवै पक्षले कार्यान्वयनको विषयलाई तदारुकताका साथ अगाडि बढाउनुपर्ने देखिन्छ।

गत महिना काठमाडौँमा नेपालको परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय तथा अन्य सरोकारवाला मन्त्रालयहरू एवं चिनियाँ राजदूतावासबीच नेपाल–चीन सहयोग अन्तर्गतका आयोजना कार्यान्वयनमा सहजीकरण गर्ने नेपालमा नेपाल–चीन सहयोग कार्यक्रम र परियोजनाको कार्यान्वयनमा सहजीकरणका लागि संयन्त्रको बैठक बसेको थियो। मैले बेइजिङ आएदेखि यसअघि सम्पन्न सम्झौताअनुसार कार्यान्वयन हुन बाँकी रहेका आयोजनाको कार्यान्वयनका लागि पहल गरिरहेको छु।

दुई देशबीचको व्यापार असन्तुलन घटाउन के उपायहरू अपनाइँदै छन्?

नेपालको चीनसँगको व्यापार घाटा ठूलो रहेको छ। चीनसँग बढ्दै गएको व्यापार घाटा कम गर्न चीनमा नेपाली वस्तुहरुको व्यापार सहजीकरण, नेपालको उत्पादन क्षमता अभिवृद्धि, रुल अफ ओरिजिन प्रक्रियामा सरलीकरण तथा नेपाली वस्तुहरूलाई भन्सार छुटका लागि चीन सरकारसँग आग्रह गरिँदै आएको छ। चीनले अति कम विकसित देशहरूले पाउने छुट अन्तर्गत आठ हजारभन्दा बढी नेपाली वस्तुहरूमा छुट दिँदै आएको छ।

नेपालले हाल निर्यात गरिरहेका परम्परागत वस्तुहरूबाहेक चीनमा निर्यात सम्भावना भएका दुग्धजन्य वस्तुहरू, जुनार, भैँसीको मासु, पराल आदि चीनमा निर्यातका लागि हालैका केही वर्षमा सम्झौताहरू भएका छन्। ती सम्झौता सम्पन्न भएपछि पनि निर्यातका लागि विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। म यहाँ आएदेखि नै यहाँको भन्सार प्रशासनसँग उक्त प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन निरन्तर पहल गरिहेको छु र यसमा ठोस प्रगति पनि भएको छ।

नेपालको कृषि उत्पादकत्व वृद्धिका लागि मल तथा उन्नत बीउबीजन र प्रविधिको सहयोग, निर्यात गरिने वस्तुहरूको परीक्षणका लागि बहुउपयोगी प्रयोगशालाको स्थापना लगायतका लागि चिनियाँ कृषि मन्त्रालयसँग अनुरोध गरिरहेको छु। कृषि सम्बन्धी द्विपक्षीय बैठकका लागि तयारी भैरहेको छ।

त्यसैगरी चीनमा आयोजना हुने व्यापार मेलाहरूमा नेपाली व्यापारीहरुको अधिकतम् सहभागिता तथा दुवै देशका व्यवसायी व्यवसायीको सम्बन्ध र सम्पर्क अभिवृद्धिका लागि पहल गरिरहेको छु।

नेपालमा चिनियाँ पर्यटकको सङ्ख्यामा वृद्धि गर्न नेपाली पक्षबाट के कस्ता पहलहरू गर्नुपर्ने देख्नुहुन्छ?

चीनबाट हाल करिब एक लाख जति पर्यटकहरुले नेपालको भ्रमण गरेको देखिन्छ। करीब डेढ अर्ब जनसङ्ख्या भएको चीनबाट पर्यटक सङ्ख्या वृद्धिका सम्भावनाहरू छन्। चिनियाँ पर्यटकहरूका लागि आजको समयमा सामाजिक सञ्जाल तथा सूचना प्रविधिको प्रयोग गरी युवालाई आकर्षित गर्न सकिन्छ भने चिनियाँहरूको आम्दानीको स्तर वृद्धिसँगै उनीहरूका लागि आरामदायी एवं उच्चस्तरका होटल एवं सोहीअनुसारका सुविधाहरू दिन सके सङ्ख्या अझ वृद्धि गर्न सकिन्छ।

राजदूतावासले सीमित स्रोतसाधनका बाबजुद चीनमा विभिन्न पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमहरू आयोजना गर्ने, पर्यटन मेलामा भाग लिने कार्य गरिहरेको छ। आगामी आर्थिक वर्षमा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा स्थानीय टेलिभिजन तथा सामाजिक सञ्जालहरू मार्फत नेपालको पर्यटनबारे थप प्रचारप्रसार गर्ने कार्यक्रम रहेको छ।

नेपालमा चिनियाँ पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले नेपालका सातै प्रदेशका आधुनिक र परम्परागत खानाका परिकारहरू तयार पारी चिनियाँ मित्रहरूलाई भोजनको स्वाद लिन र पर्यटन प्रवर्द्धनमा भएका प्रयासहरूको जानकारी गराउनुका साथै साहसिक पर्यटनमा विश्वको शिखर सगरमाथा आरोहीहरुको भेला गरी पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने कार्य गरिएको छ।

नेपाली व्यवसायी र पर्यटकलाई सहज बनाउन तपाईंले के–कस्ता प्रयास गर्नुभएको छ?

राजदूतावासले नेपाली व्यवसायी चाहे चीनमा बसेर व्यवसाय गरेका अथवा नेपालबाट चीनमा व्यापार गरिरहेका सबैलाई सहजीकरण गरिरहेको छ। उहाँहरूका लागि विभिन्न मेला तथा प्रदर्शनीमा भाग लिन प्रोत्साहन र सहयोग गर्ने तथा व्यापारिक ठगी तथा विवादका विषय समाधान गर्न सहयोग गर्दै आइरहेको छ।

केही समययता विशेषगरी चीनबाट नेपालमा आयात गरिने कारोबारमा ठगीका घटना बढ्दै गएका सन्दर्भमा आफूले कारोबार गर्दा चिनियाँ पक्ष विश्वासिलो भए नभएको विश्वस्त भएर मात्र कारोबार गर्नुहुन म यहाँमार्फत चीनमा व्यापारिक कारोबार गर्नुहुने व्यावसायी मित्रहरुलाई अनुरोध गर्न चाहन्छु।

चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई यहाँका विश्वविद्यालयसँग परेका एवं अन्य समस्यामा राजदूतावासले सक्दो सहयोग गर्दै आएको छ। बेलाबखत पर्यटक भिसामा चीन आएर समस्यामा परेका नेपालीलाई राजदूतावासले सहजीकरण गर्दछ। कहिलेकाहीँ चीनलाई ‘ट्रान्जिट’ बनाएर तेस्रो मुलुकमा मानव तस्करीका केही घटनामा हामीले उद्धार गर्दै आएका छौँ।

नेपाली विद्यार्थीहरूका लागि चीनमा अध्ययनको अवसर कस्तो छ?

हालैका वर्षमा चीन नेपाली विद्यार्थीहरूका लागि एक आकर्षक गन्तव्य बन्दै गएको छ। केही विद्यार्थी चीन सरकारले प्रदान गर्ने छात्रवृत्तिअन्तर्गत अध्ययन गरिरहेका छन् भने केही विश्वविद्यालयले प्रदान गर्ने छात्रवृत्तिमा र केही आफ्नै खर्चमा अध्ययन गरिरहेका छन्। विश्वभरिका सर्वोत्कृष्ट भनेर चिनिएका केही उच्चकोटीका विश्वविद्यालयहरू चीनमा छन्। अन्य देशहरुभन्दा कम खर्चमा गुणस्तरीय शिक्षा  प्राप्त हुने भएकाले नेपाली विद्यार्थीहरूका लागि चीनमा राम्रो अवसर रहेको छ।

नेपाली भाषा, संस्कृति र संस्कार चिनियाँ जनतासँग परिचय गराउन कस्ता गतिविधि भइरहेका छन्?

नेपाल र चीनबीच ऐतिहासिककालदेखि नै भाषा संस्कृतिको आदानप्रदान भइरहेको छ। नेपाली कलाकार अरनिको नेपाली राजकुमारी भृकुटी अथवा बुद्ध भिक्षुहरू मार्फत दुई देशबीच निकट सांस्कृतिक सम्बन्ध र आदानप्रदान रहेको थियो।

गत महिना जुन महिनामा अरनिकाले निर्माण गरेको श्वेत चैत्यमा नेपाली संस्कृति झल्किने प्रदर्शनीको उद्घाटन गरिएको थियो। यसै वर्ष अप्रिल महिनामा राजदूतावासले नेपाली खानाको प्रचारप्रसारका लागि ‘फुड फेस्टिभल’ को आयोजना गरेको थियो जसमा नेपाली मौलिक नृत्यहरूसमेत प्रस्तुत गरियो।

त्यसैगरी, राजदूतावासले नेपालका विभिन्न चाडपर्वको अवसरमा कार्यक्रम आयोजना गर्ने तथा नेपाली वेषभूषा, मौलिक कला संस्कृति झल्किने वस्तुहरूको प्रर्दशनी एवं कलासङ्गीतको प्रस्तुति गर्ने गरेको छ। चिनियाँ सरकारसँग नेपालमा चिनियाँ भाषा प्रवर्द्धनका लागि सहयोग मागी कार्य अगाडि बढेको छ।

द्विपक्षीय सम्बन्ध सुधारका लागि तपाईंको कार्यकालमा के कस्ता नवीन पहलहरू भएका छन्?

नेपाल र चीनको द्विपक्षीय सम्बन्ध अत्यन्तै घनिष्ठ  छ। समयसमयमा दुवै पक्षबाट भइरहेका उच्चस्तरीय भ्रमण र उच्च तहका नेताहरूबीच हुने प्रत्यक्ष संवादले आपसी विश्वास र सद्भाव अझ वृद्धि भएको छ। चिनियाँ सहयोगलाई जनस्तरमा प्रभाव पर्ने र निम्नस्तरका जनताको जीवनस्तर माथि उठाउने परियोजनामा लैजान र तिनको प्रभावकारी कार्यान्वयनका लागि प्रयास गरिरहेको छु। अवश्य पनि चीनको समृद्धिबाट नेपालले बढीभन्दा बढी लाभ लिने गरी द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने र हाल कार्यान्वयनको चरणमा रहेका आयोजनालाई समयमै सम्पन्न गर्न नेपाल र चीन दुवै देशका सरकारसँग निरन्तर पहल गरिरहेको छु।

साथै, दुवै देशका जनतासँगको आदानप्रदान कार्य गर्न पालिकास्तरका जनप्रतिनिधिहरूको भ्रमण, नेपाली र चिनियाँ युवाहरुबीच भ्रमण आदानप्रदान, नेपाली र चिनियाँ विद्यालयका विद्यार्थीबीच भ्रमणको आदानप्रदानलगायत राष्ट्रिय राजनीतिमा उच्च ओहोदामा पुगी सेवा निवृत्त नागरिकहरुको भ्रमण आदानप्रदान रहेका छन्।

यस्ता भ्रमणहरूले एक अर्काका समस्या, चुनौती र अवसरहरू बुझ्ने र सोही अनुसार कार्य गर्ने बाटो देखाउने अपेक्षा छ। दुवै देशमा भएका आर्थिक र सामाजिक विकास सम्बन्धी कुरा जनसमक्ष पुर्‍याउन पत्रकारहरुको आदानप्रदानलाई पनि जोड दिइएको छ।

हाम्रा नेपाली उत्पादनहरूको प्रचारप्रसारका लागि विभिन्न चिनियाँ र नेपाली कम्पनीहरूबीच समन्वयमा मेलाको आयोजना गरिएका छन्। उदाहरणका लागि ‘टि टेस्टिङ फेस्टिबल’ को आयोजना गरी नेपालमा उत्पादित विभिन्न खालका चियाको स्वाद चखाउने कार्य गरिएको थियो।

आज विश्व जलवायु परिवर्तनको प्रभावको चपेटामा परेको छ। सो प्रभाव कम गर्न, जागरूकता जगाउन विभिन्न गोष्ठी, सेमिनार गरी विभिन्न देशका कूटनीतिक नियोग समेतको सहभागितामा विभिन्न कार्यक्रमहरुमा जोड दिइएको छ।

यसैगरी द्रुतगतिमा हाम्रा हिमाल पग्लिँदै गएको परिप्रेक्षमा चिनियाँ सङ्घसंस्थासँग समन्वय गरी शोध प्रक्रिया अगाडि बढाइएको छ।

- रासस, कृष्ण अधिकारी
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस