इजरायलमा राष्ट्रिय एकता सरकार गठन गर्ने विषयमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र विपक्षी नेता गादी आइसेनकोटबिच भएको वार्ता निष्कर्षविहीन बनेको छ।
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार आइतबार नेतान्याहू र आइसेनकोटबिच भएको बैठकलाई दुवै दलले ‘व्यावसायिक’ भनेका छन्। बैठकअघि सुरक्षा विषयमा जानकारी आदानप्रदान गरिएको थियो। त्यसपछि सरकार गठनबारे छलफल भएको थियो। दुवै पक्षले आपसी मतभेद कम गर्ने प्रयास गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ।
तर, बैठकमा गम्भीर मतभेद कायम रहेपछि दुवै दलका वार्ता टोलीबिच थप छलफल नगर्ने निर्णय भएको हिब्रु सञ्चारमाध्यमले जनाएका छन्। आइसेनकोटले आफ्नो राजनीतिक समूहका साझेदारहरूप्रतिको प्रतिबद्धता कायम रहेको भन्दै लिकुड र उसका सहयोगीलाई सरकार गठनपछि आफ्नो समूहका सर्त र सिद्धान्तका आधारमा सहभागी हुन सक्ने बताएका थिए।
यसअघि नेतान्याहूले आलोपालो प्रधानमन्त्री बन्ने प्रस्ताव अघि सारेका थिए। उक्त प्रस्तावअनुसार आइसेनकोटले पहिलो कार्यकाल प्रधानमन्त्री बन्ने र त्यसपछि नेतान्याहूले जिम्मेवारी सम्हाल्ने योजना थियो। यही प्रस्तावमा सहमति जुटाउन आइसेनकोटले लिकुडलाई २४ घण्टाको समय दिएका थिए। तर, वार्ताबाट सहमति नजुटेपछि उक्त प्रयास अघि बढ्न सकेन।
नेतान्याहूसँगको वार्ता निष्कर्षविहीन भएपछि आइसेनकोटले बेनेटको बयाचद पार्टीसँग सरकार गठनका लागि छलफल अघि बढाएका छन्। तीन घण्टाभन्दा लामो समयसम्म दुवै दलका वार्ता टोलीबिच छलफल चलेपछि आइसेनकोट र बेनेट आफैं पनि भेटेर गठबन्धन गठनबारे छलफलमा जुटेका थिए।
यी दुई दलबिचको छलफलमा अति-अर्थोडक्स यहुदी समुदायका विद्यार्थीलाई अनिवार्य सैन्य सेवाबाट छुट दिने विषय प्रमुख विवाद बनेको छ। बेनेट यस्तो छुटको विपक्षमा छन् भने अति-अर्थोडक्स पार्टी युनाइटेड टोरा जुडाइज्मले आफ्ना विद्यार्थीलाई सैन्य सेवाबाट छुट दिनुपर्ने माग गर्दै आएको छ। आइसेनकोटले पनि येशिवा धार्मिक विद्यालयका विद्यार्थीलाई सैन्य सेवामा सहभागी गराउने पक्षमा अभियान चलाउँदै आएका छन्।
लिकुडका केही नेताले आइसेनकोटको गठबन्धन प्रयासप्रति असन्तुष्टि जनाएका छन्। संस्कृति मन्त्री मिकी जोहरले अति-अर्थोडक्स पार्टीलाई आइसेनकोटको नेतृत्वमा सरकारमा सहभागी भए दक्षिणपन्थी दलहरूसँगको सम्बन्ध पूर्ण रूपमा बिग्रने चेतावनी दिएका छन्।
त्यस्तै, शिक्षामन्त्री योभ किशले राजनीतिक विचारधाराको एउटा पक्षमा मात्र आधारित सरकारले अर्को पक्षलाई बाहिर राख्दा देशमा विभाजन र घृणा बढ्ने बताएका छन्।
यसैबिच, बेनेटले नेतान्याहूको आलोपालो प्रधानमन्त्री बन्ने प्रस्तावलाई समर्थन गरे पनि त्यसको विश्वसनीयतामाथि प्रश्न उठाएका छन्। उनले नेतान्याहूले प्रस्ताव वास्तविक मनसायले गरेको प्रमाणित गर्नुपर्ने बताएका छन्।
यता, यिसरायल बेइतेनु पार्टीका अध्यक्ष एभिग्डोर लिबरम्यानले पनि बेनेटको अडानमाथि प्रश्न उठाएका छन्। सन् २०२१ मा नेतान्याहूले बेनेटलाई आलोपालो प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा उनले अस्वीकार गरेको स्मरण गराउँदै लिबरम्यानले अहिले त्यही नेतान्याहूको प्रस्तावलाई किन विश्वास गरेको भन्दै प्रश्न गरेका छन्।
यसैबिच, आइसेनकोट नेतृत्वको याशर पार्टीले सम्भावित सरकार गठनको तयारी तीव्र बनाएको छ। उसले आफ्नो राजनीतिक समूहका दल र अरब दलहरूलाई आगामी सोमबारसम्म संसद् (नेसेट) मा उपस्थित हुन तयार रहन आग्रह गरेको छ।
१५ मिनेट अघि
•
१ मिनेट पाठ