संयुक्त राष्ट्र संघले सोमबार ‘युक्रेनमा व्यापक, न्यायपूर्ण र दिगो शान्तिको विकास’ शीर्षकको प्रस्ताव पारित गरेको छ। यो प्रस्तावले रुसी आक्रमणको निन्दा गर्दै युक्रेनबाट रुसी सेना फिर्ता गर्नुका साथै शान्तिको आह्वान गरेको छ।
यो प्रस्तावकाे पक्षमा ९३ मुलुकले समर्थन गरे, १८ ले विराेध र ६५ ले भाग लिएनन्। यो मतदानले विश्व राजनीतिमा गहिरो विभाजन देखाएको छ, जसले प्रमुख शक्तिहरूको भूमिका र तटस्थ मुलुकहरूको रणनीतिलाई उजागर गरेको छ।
अमेरिकाले पहिलोपटक युक्रेनविरुद्ध रुस, उत्तर कोरिया, बेलारुससहित १८ मुलुकको पक्षमा मतदान गरेको छ। ट्रम्प प्रशासनको यो कदमले युक्रेनको समर्थनमा रहेको पुरानो नीतिबाट पछि हटेर रुससँग नजिक भएको देखाउँछ।
यसले यूरोपेली सहयोगीहरूसँग तनाव बढाएको छ भने विश्व राजनीतिमा अमेरिकाको नेतृत्वमाथि प्रश्न उठाएको छ। सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा यो निर्णयलाई लज्जास्पद र विश्व शान्तिको लागि खतरा भनी आलोचना गरिएको छ।
नेपालले भने प्रस्तावको समर्थन गरेको छ, जसले युक्रेनको सार्वभौमिकता र शान्तिको पक्षमा उसको प्रतिबद्धता देखाउँछ। विगतमा पनि नेपालले युक्रेन सम्बन्धी प्रस्तावहरूमा समर्थन जनाउँदै आएको थियो। तर यो पटक अमेरिकाको विपक्षमा उभिएको छ।
चीन र भारतले मतदानमा भाग लिएनन्, जसले रुससँगको सम्बन्ध र पश्चिमसँग सन्तुलन कायम राख्ने उनीहरूको रणनीति झल्काउँछ। दुवै मुलुकले रुसी आक्रमणको खुला निन्दा गर्न अस्वीकार गरेका छन्।
प्रस्तावलाई जर्मनी, बेलायत, फ्रान्सजस्ता यूरोपेली मुलुकले समर्थन गर्दा रुस र उसका सहयोगीले विपक्षमा मतदान गरेका छन्। यसमा अमेरिकाको अप्रत्याशित सहभागिता विशेष चासोको विषय बनेको छ। यस प्रस्तावलाई लिएर अफ्रिकासहित धेरै विकासशील मुलुक तटस्थ रहेका छन्।
रुसी रक्षा मन्त्रालयले १ जुनमा युक्रेनले पाँच सैन्य हवाई अड्डालाई लक्षित गरेर गरेको ड्रोन आक्रमणमा भएको क्षतिबारे जानकारी गराएको छ। मन्त्रालयका अनुसार केही रणनीतिक विमानमा क्षति पुगेको छ।
मस्काेले मुर्मन्स्क, इर्कुत्स्क, इभानोभो, रियाजान र अमुर क्षेत्रका हवाई अड्डामा ड्रोन प्रयोग गरेर ‘आतंकवादी आक्रमण’ गरिएकाे आरोप लगाएको छ। रुसले इभानोभो, रियाजान र अमुर क्षेत्रका आक्रमण विफल पारेको दाबी गरेको छ।
तर मुर्मन्स्कको ओलेन्या र इर्कुत्स्कको बेलाया हवाई अड्डामा भएको आक्रमण रोक्न सकेन। मन्त्रालयले कुनै मानविय क्षति भने नभएको जानकारी गराएको छ। आक्रमणमा संलग्न भएको आरोपमा केही संदिग्धलाई पक्राउ गरिएको छ।
युक्रेनले यो गोप्य कारबाहीलाई ‘स्पाइडर वेब’ नाम दिएको छ। उसको दाबी अनुसार ४१ रुसी सैन्य विमान (ए-५० राडार विमान, टीयू-९५, टीयू-२२एम३ र टीयू-१६०) जस्ता रणनीतिक बमवर्षक नष्ट भएका छन्। युक्रेनले ती विमानले युक्रेनी सहरमा बारम्बार क्रूज मिसाइल आक्रमण गर्दै आएका थिए। युक्रेनले यो आक्रमणमार्फत रुसलाई करिब ७ अर्ब अमेरिकी डलरको क्षति पुर्याएको अनुमान गरेको छ।
यो कारबाहीको तयारी १८ महिनादेखि चलिरहेको जानकारी किभले दिएको छ। युक्रेनले ड्रोनलाई काठका संरचनामा लुकाएर ट्रकमा रुसभित्र तस्करी गरिएको थियो। रिमोटमार्फत ती संरचनाको छत खोलेर ड्रोन उडाइएको थियो।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र सुरक्षा-सेवा प्रमुख भासिल माल्युकले यो कारबाहीको नेतृत्व गरेका थिए। युक्रेनले ११७ ड्रोन प्रयोग गरेर कृत्रिम बुद्धिमत्ताको सहयोगमा विमानका कमजोर भागमा आक्रमण गरेको थियो।
यो आक्रमण भएको साइबेरियाको बेलाया हवाई अड्डा युक्रेनबाट चार हजार किलोमिटर टाढा पर्छ। युक्रेनले यो आक्रमणलाई रुसी बमवर्षकविरुद्ध आत्मरक्षाको कदम भनेको छ। सुरक्षा-सेवा स्रोतले भनेको छ, ‘हामीले रुसी बमवर्षकलाई नष्ट गर्न ठूलो मात्रामा विशेष कारबाही सञ्चालन गरेका छौं, जसले हरेक रात युक्रेनी सहरमा बम खसाल्छन्।’
यो आक्रमण २ जुनमा टर्कीको इस्तानबुलमा हुने रुस-युक्रेन शान्ति वार्ताको ठीक अघि भएको हो। युक्रेनी रक्षा मन्त्री रुस्तेम उमेरोभले वार्ता टोलीको नेतृत्व गर्नेछन्। रुसी बमवर्षक विशेषगरी टीयू-९५ जस्ता विमानको उत्पादन रुसले हाल गर्न नसक्ने भएकोले यो आक्रमणले रुसको रणनीतिक हवाई क्षमतामा ठूलो धक्का पुर्याएको छ। एजेन्सी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...