सरकारबाट पाउनुपर्ने रकम नपाएको भन्दै डायलाइसिस सेवा बन्द गरिएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका बिरामी मर्कामा परेका छन्। अस्पतालको डायलाइसिस सेवा गत शुक्रबारबाट बन्द गरिएपछि उपचारका लागि आएका बिरामी मर्कामा परेका हुन्।
अस्पतालमा हरेक दिन बिहान ७ बजेदेखी बेलुका ८ बजेसम्म डायलाइसिस सेवा सञ्चालन हुदै आएको थियो। उक्त अस्पतालमा डायलाइसिस गराउन दैनिक १८ देखी २० जना मृगौलाका बिरामी आउँछन्। डायलाइसिस गर्ने जिम्मा पाएको ‘बिरंग हेल्थ केयर प्रालि’ ले सेवा बन्द गरेको मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका प्रशासकीय अधिकृत सञ्जय पन्तले बताए। ‘डायलाइसिस गराए वापत सरकारले एक वर्षभन्दा बढीको रकम अहिलेसम्म भुक्तानी गरेको छैन, सरकारसँग पैसा नपाएपछि बिरंगले नै सेवा रोकेको हो,’ उनले भने।
हेल्थ केयरले पठाएको सामानबाट केहीदिन सम्म सेवा दिइएको बताउँदै पन्तले भने, ‘सेवा नै बन्द भएपछि अस्पताल आफैले पनि रकम ब्यवस्थापन गरेर सेवा सञ्चालन गर्ने प्रयास गरिरहेको छ।’ शिक्षण अस्पतालका लेखा अधिकृत श्याम धितालका अनुसार सरकारले आर्थिक वर्ष २०७८/७९ को मात्रै एक करोड ६५ लाख ६४ हजार रुपैयाँ भुक्तानी दिनुपर्नेछ। रकम भुक्तानी माग्दा मन्त्रालयले अनेक बहानाबाजी गर्ने गरेको र अल्झाउने काम मात्रै गरेको अस्पतालका कर्मचारी बताउँछन्।
अस्पतालमा दैनिक १८ देखी २० जना बिरामीले डायलाइसिस गराउँछन्। बिरामीको अवस्था अनुसार कसैले हप्तामा दुई पटक र कसैले एक पटक डायलाइसिस सेवा लिने गरेको प्रशासकीय अधिकृत पन्तले सुनाए। बिरामीले एक पटक डायलाइसिस गराए वापत सरकारले २५ सय रुपैयाँका दरले अस्पताललाई रकम भुक्तानी गर्नुपर्छ। ‘अस्पतालले बिरंगलाई डायलाइसिस सेवाको जिम्मा दिएको छ, सरकारबाट प्राप्त हुने रकम बिरंगले मेडिकल कलेजबाट पाउँछ,’ पन्तले भने।
नियमित रुपमा सञ्चालन हुदै आएको अत्यावश्यक सेवा बन्द भएपछि शिक्षण अस्पताल कोहलपुरमा बिरामी अलपत्र परेका छन्। सेवा बन्द भएपछि स्वास्थ्यमा निकै अप्ठ्यारो भइरहेको जानकी गाउँपालिका–६ कैलालीका जनक शाहीले बताए। ‘हप्तामा दुई पटक डायलाइसिस गराउँछु, डायलाइसिस नगरेपछि पेट पुरै फुलिएर आउँछ, असाध्यै पीडा हुन्छ, नियमित डायलाइसिस गराउँदा केही हल्का हुन्छ,’ उनले भने।
डायलाइसिस वार्ड नै खाली भएपछि सेवा लिन अस्पतालमा पुगेका बिरामी मृत्युसँग लडिरहेका छन्। मधुवन नगरपालिका वडा नम्बर ४ बर्दियाका जिलिजमान चौधरी सेवा बन्द हुँदा कहाँ गएर ज्यान बचाउने भन्ने सोच्न नसकेको बताए। ‘सरकारले चाडो भन्दा चाडो सेवा सञ्चालन गराएर हाम्रो ज्यान बचाइदेओस्, हामी यही अनुरोध गर्छौ,’ उनले भने।
आफुले विगत २ वर्षदेखि शिक्षण अस्पताल कोहलपुरमा आएर डायलाइसिस गराउँदै आएको उनले सुनाए। अहिले करिव ७० भन्दा बढीले नियमित सेवा लिइरहेको अस्पताल प्रशासनले जनाएको छ। शिक्षण अस्पतालको सेवा बन्द भएपछि कतिपय बिरामीलाई भेरी अस्पतालमा समेत पठाउने गरिएको छ। तर, भेरीको क्षमता सानो भएकाले सबै बिरामीलाई सेवा दिन सकिदैन।
भेरीमा मृगौलाका बिरामीको चाप बढेको मेडिकल सुपरिटेण्डेन्ट डा.बद्री चापागाईले बताए। ‘डायलाइसिस गराउने बिरामीको चाप बढेको छ, तर हामीसँग जम्मा ४ वटा मात्रै मेसिन छ, धेरै जनालाई एकैपटक सेवा दिन गाह्रो छ,’ नागरिकसँग उनले भने।
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।
अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।
शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।
स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।
गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'
गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।
प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।
सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।
तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।
स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'
उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...