कोरोना भाइरस महामारीको समयमा देशभर अक्सिजनको चरम अभाव थियो। यसबाट भरतपुर अस्पताल पनि अछुतो थिएन। अस्पताल प्रशासनलाई अक्सिजन जोहो गर्दैमा रात दिन जान्थ्यो। चिकित्सक पेसामा लागेदेखि कोभिड–१९ को समयमा अक्सिजन व्यवस्थापन गर्नु सबैभन्दा अफ्ठयारो परिस्थिति बनेको अस्पतालका तत्कालीन व्यवस्थापन समिति अध्यक्ष डा.भोजराज अधिकारी बताउँछन्।
‘एकै पटक ५० सिलिन्डर प्रयोग हुन्थ्यो। त्यो एक घण्टामा सकिँदैछ भन्ने थाहा हुन्थ्यो। यहाँ आउने भनेको अक्सिजन अन्यन्त्र गइरहेको हुन्थ्यो। त्यो एक डेढ घण्टाको बिच निकै तनाव हुन्थ्यो,’ पूर्व अध्यक्ष डा. अधिकारीले विगत सम्झँदै भने, ‘अक्सिजन र बिरामी व्यवस्थापनमा नै रात भरी सुत्न पाइँदैनथ्यो।’
कोरोना भाइरसको दोस्रो लहरको समयमा अस्पताललाई अक्सिजन व्यवस्थापन गर्न कठिन भएको थियो। त्यो अभावबाट पाठ सिक्दै अस्पतालले विषम परिस्थितिलाई पुग्ने गरी आफैँ अक्सिजन उत्पादन गरेको छ।
अहिले दैनिक २ सय ५० सिलिण्डर उत्पादन गर्ने प्लान्ट निर्माण गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राध्यापक डाक्टर कृष्णप्रसाद पौडेलले बताए। गैर आवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा दैनिक १ सय ७५ सिलिण्डर उत्पादन गर्न सक्ने अक्सिजन प्लान्ट निर्माण भएको छ।
‘यसअघि हामीसँग दैनिक ७५ सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट थियो,’ उनले भने ‘अब हामी अक्सिजन किन्न बाहिर जानु पर्दैन।’
कोरोनाको समयमा २ सय ३० वटा सिलिण्डर बाहिरबाट ल्याउने गरिएको थियो। अहिले यहाँ दैनिक १ सय सिलिण्डरको हाराहारीमा अक्सिजन खपत हुने उनले बताए। दुःख गरेर कमाएर दिएको पैसालाई आफुहरुले सदुपयोग गर्ने उनले बताए।
एनआरएनएको ६९ हजार ८ सय ६ डलर र अस्पतालको करिब २० लाखको लगानीमा नयाँ प्लान्ट निर्माण गरिएको हो। अनौपचारिक रुपमा ६ महिना अघिदेखि सञ्चालनमा आएपनि एनआरएनएको सहयोगमा निर्माण भएको प्लान्टको औपचारिक रुपमा शुक्रबार हस्तान्तरण गरिएको छ।
प्लान्ट हस्तान्तरण गर्दै एनआरएनएका महासचिव डा.केशव पौडेलले नेपाल बाहिर भएपनि जन्मस्थानसँग जोडिनको लागि सहयोग गरिएको बताए।
‘कोरोनाको समयमा अक्सिजन अभावका कारण कति मानिसहरुले ज्यान गुमाए, दीर्घकालीन सोचका साथ हामीले प्रत्येक प्रदेशमा अक्सिजन प्लान्ट निर्माण गर्ने योजना बनाएका थियौँ,’ उनले भने ‘बागमती प्रदेशमा हामीले भरतपुर अस्पताललाई रोज्यौँ।’
तत्कालीन समयमा नेपाल सरकार, भरतपुर अस्पताल र एनआरएनएको त्रिपक्षीय सम्झौता अनुसार निर्माण गरिएको उनले बताए। एनआरएनएले पर्यटन, शिक्षा, स्वास्थ्य, विद्युत् लगायतको क्षेत्रमा लगानी गरेको उनले सुनाए।
नयाँ प्लान्ट निर्माण गर्न करिब १ करोड खर्च भएको अस्पतालले जनाएको छ। अस्पतालका व्यवस्थापन समिति अध्यक्ष राजु पौडेलले अक्सिजन प्लान्ट निर्माण गरिदिएकोमा धन्यवाद व्यक्त गरे। अहिले अस्पतालका प्रत्येक शय्यामा अक्सिजनका पाइप जोडिएको छ।
अक्सिजन आफैँ उत्पादन गर्न थालेपछि दैनिक करिब ६१ हजार रुपैयाँ बचत भएको अस्पतालका बायो मेडिकल इन्जिनियर तुलसी खनालले जानकारी दिए। अहिले नयाँ प्लान्ट मात्र सञ्चालन गरिएको छ। पुरानो प्लान्टबाट पनि उत्पादन गरेर अक्सिजन बिक्री गर्न सकिने उनको भनाई छ। तर, यसका लागि अस्पताल विकास समितिबाट निर्णय हुनुपर्ने इन्जिनियर खनाले बताए।
अहिले विशेष परिस्थिति आउन सक्ने भन्दै टेण्डरको प्रक्रिया भने खुल्ला नै राखेको उनले जनाए। सङ्घीय सरकार मातहत रहेको यस अस्पतालमा ६ सय शय्या रहेका छन्। यहाँ दैनिक १ हजार ५ सयको हाराहारीमा बिरामी उपचार गर्न आउने गर्दछन्।
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।
अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।
शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।
स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।
गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'
गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।
प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।
सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।
तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।
स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'
उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...