सधैं कुपोषणको मारमा कर्णालीका बालबालिका
३० साउन २०८०
•
८ मिनेट पाठ
सधैं कुपोषणको मारमा कर्णालीका बालबालिका
कुपोषण लागेका बालबालिका। तस्बिरः गोल्डेन बुढा/जुम्ला ।
जुम्लाको गुठीचौर गाउँपालिका-२ मुरुल्ली गाउँका २४ वर्षीय हरिलाल बुढा ४ वर्षीया छोरी स्याहारसुसार गरिरहेका छन्। छोरी जन्मेको एक वर्ष नपुग्दै श्रीमतीले दोस्रो विवाह गरि गइसकेपछि आमाको जिम्मेवारीसहित उनले नै छोरीलाई रेखदेख गर्दैआएका छन्।




छोरी जन्मेको एक वर्ष नपुग्दै आमाले छोडेपछि छोरीले दूध खान पाइनन्। फलस्वरूप ४ वर्षकी छोरीलाई अहिले कुपोषण देखा परेको छ। ४ वर्षकी छोरीको तौल ९ किलोग्राम मात्रै छ। दुई हप्तादेखि हरिलालले छोरीलाई जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको पोषण पुनर्स्थापना गृहमा भर्ना गरेका छन्।

गाईभैँसी र बाख्राको दूध खुवाउँदै अहिलेसम्म हुर्काएको उनले बताए। उनले भने, 'घरमा गाईभैँसी पनि पालेको थिएन। केही दिन त, छिमेकीको सहयोगले पाले,कति अर्कासँग दूध मागेर खुवाउनु भनेर ज्याला मजदुरी गरेको पैसा जम्मा भएको १५ हजार रुपैयाँ हालेर दूध दिने एउटा बाख्रो किनेँर ल्याए। त्यसको एक थुन छोरीले खाने अर्को थुन बाख्राको पाठाले खाने गर्थे।'

हरिलालको घर जुम्लाको सदरमुकाम खलंगादेखि पूर्वी विकट भेगमा पर्छ, जहाँ अहिले कच्ची सडक भए पनि नियमित सवारीसाधन सञ्चालन हुँदैन। सिँचाइ लाग्ने खेतीयोग्य जमिन पनि छैन। आकाशे वर्षाको भरमा बालीनाली लगाउने भएकाले उत्पादन पनि बाह्रै महिना पुग्ने हुँदैन। वर्षमा एउटा बाली आलु, सिमी, कोदो, कागुनो, गहुँ र जौ मात्रै उत्पादन हुन्छ। उनले भने,'घरको उत्पादनले २/४ महिना मात्रै खान पुग्छ। घरमा खेतीपाती गर्ने मान्छे पनि कोही पनि छैनन्। मेरो घरमा एक छोरी र म मात्रै हो।'

छोरी कुपोषणले बिरामी भएपछि उनी पोषण सुधार तथा पुनर्स्थापना गृहमा बस्दै आएका छन्। 'दुई महिना अघि यहाँ भर्ना गरेर केही सुधार भएपछि घर लगेका थिए तर अहिले फेरि दुई हप्तादेखि यतै छु,' उनले भने। हातखुट्टा र पेट सुनिएपछि उनले छोरीलाई फेरि अस्पताल पुर्‍याएको बताए।  

यस्तै चन्दननाथ नगरपालिका-२ खोलीकोटकी २३ वर्षीया भावना बुढ्थापाले पनि एक वर्षकी छोरीलाई पोषण पुनर्स्थापना गृहमा भर्ना गरेकी छिन्। उनकी छोरीलाई कडा कुपोषण देखिएपछि पोषण सुधार तथा पुनर्स्थापना गृहमा भर्ना गरेकी हुन्। उनको एक वर्षकी छोरीको तौल ६ किलोग्राम छ। उनले भनिन्, 'बाथरोग भएका कारण बच्चालाई दूध खुवाउन मिलेन, जन्मेदेखि बच्चाले दूध खान नपाएपछि कुपोषण भयो, गएको असार २२ गतेदेखि पोषण पुनर्स्थापना गृहमा भर्ना गरेको छु।'

यता, तातोपानी गाउँपालिका– १ राँका गाउँकी देवु महतले पनि जुम्ल्याहा बच्चालाई पोषण सुधार तथा पुनर्स्थापना गृहमा भर्ना गरेकी छिन्। ८ महिनाका ५र५ किलोग्रामका जुम्ल्याहा बच्चा कुपोषित भएपछि उनले पोषण गृहमा भर्ना गरेकी हुन्। जुम्लाका ८ वटा स्थानीय तहमध्ये कनकासुन्दरी गाउँपालिकाको हाँडसिजा स्वास्थ्य चौकी र चन्दननाथ नगरपालिकामा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पोषण सुधार तथा पुनर्स्थापना गृह सञ्चालन छन्।  

प्रतिष्ठानले सञ्चालन गरेको पोषण सुधार तथा पुनर्स्थापना गृहमा अहिले १२ जना आमाका १४ बच्चा भर्ना छन्। तीमध्ये दुईजना आमाका जुम्ल्याहा बच्चा छन्। पोषण सुधार तथा पुनर्स्थापना गृहका व्यवस्थापक महेन्द्र हमालका अनुसार बाजुरा, हुम्ला, मुगु, दैलेख, कालिकोट, डोल्पा र जुम्ला जिल्लाका बच्चा र आमाले लाभान्वित छन्। उनका अनुसार गत वर्ष १ सय २८ जनाले सेवा लिएका थिए। त्यस अघिल्लो वर्ष १ सय ३० जनाले सेवा लिएका थिए।  

२०७८ फागुन १६ गतेदेखि यो पोषण सुधार तथा पुनर्स्थापना गृह सञ्चालनमा आएको हो। स्वास्थ्य मन्त्रालयअन्तर्गत पोषण महाशाखामार्फत सञ्चालित पोषण सुधार तथा पुनर्स्थापना गृहका लागि चालू आर्थिक वर्षका लागि ४८ लाख बजेट विनियोजन भएको व्यवस्थापक हमालले बताए। गरिबी, अशिक्षा तथा बच्चाको खानपानमा अभिभावकले राम्रो हेरचाह र व्यवस्थापन नगर्दा बालबालिका कुपोषित हुने गरेको कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिंजा स्वास्थ्य चौकीका इन्चार्ज वीरेन्द्र उपाध्यायले बताए।

उनले भने, 'हाँडसिंजा स्वास्थ्य चौकीअन्तर्गत २० जना क्षमताको पोषण सुधारगृह सञ्चालन गर्दै आएका छौँ। गत वर्ष यहाँबाट २० बच्चाले सेवा लिएका थिए। यहाँ पोषण सुधार हुन नसकेको अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रिफर गर्ने गरिएको छ। '

उनका अनुसार गत वर्ष दुई बच्चा रिफर गरिएको थियो। चालू आर्थिक वर्षका लागि गाउँपालिकाले ६ लाख ५० हजार बजेट विनियोजन गरेको छ। 'अहिले कुपोषित बालबालिकाको स्क्रिनिङ गरिरहेका छौँ। भदौ महिनादेखि भर्ना गरेर पोषणगृहमा उपचार गर्ने तयारी गरेका छौ' स्वास्थ्य चौकी इन्चार्ज उपाध्यायले भने।

गत वर्ष जनस्वास्थ्य कार्यालय जुम्लाका १५ वडाका ६–५९ महिनाभित्रका ३ सय ७५ बालबालिकाको पोषण सर्वेक्षण गरेको थियो। जसमा पुड्कोपना ४५.२ प्रतिशत, उमेरअनुसार काम तौल २०.५ प्रतिशत, बिरामीपना ३३.७ प्रतिशत र ख्याउटेपना ५.९ प्रतिशत रहेको जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटाले बताए।

जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७९/८० मा मध्यम कुपोषण भएका बालिका १ सय ८३ जना र कडा कुपोषण भएका ५८ जना रहेका छन्। मध्यम कुपोषण भएका बालक २ सय १ र कडा कुपोषण भएका ३७ जना रहेका छन्।आर्थिक वर्ष ०७९/८० मा नवजात शिशुको जन्मेको ७ दिनभित्र मृत्यु संख्या २३ र ८ देखि २८ दिनभित्र मृत्यु हुनेको संख्या ५ रहेको छ। यस्तै, स्वास्थ्य संस्थाबाहिर जन्मेको ७ दिनभित्र १ जना शिशुको मृत्यु भएको तथ्यांक छ। आर्थिक वर्ष ०७८/७९ मा प्रसूति अवस्था एकजना मातृ मृत्यु भएको जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्यांक छ।

कर्णालीमा पाँच वर्षमुनिका ३६ प्रतिशत बालबालिकामा पुड्कोपन, १८ प्रतिशतमा कम तौल र ४ प्रतिशतमा ख्याउटेपन छ। पाँच वर्षमुनिका ४० प्रतिशत बालबालिकामा रक्तअल्पता छ। कर्णाली प्रदेशका तीन जिल्लामा मात्रै पोषण पुनर्स्थापना गृह छन्। सुर्खेतमा प्रदेश अस्पतालमातहत ११ बेड, जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमातहत ११ बेड र दैलेखमा जिल्ला अस्पतालमातहत ५ बेडको पोषण पुनर्स्थापना गृह सञ्चालनमा छन्। पोषण पुनर्स्थापना गृहका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत पोषण महाशाखाले केही सहयोग गर्छ। अन्य व्यवस्थापन भने अस्पतालको आन्तरिक स्रोतमार्फत नै हुने गरेको प्रदेश अस्पताल सुर्खेतस्थित पोषण पुनर्स्थापना गृहकी व्यवस्थापक प्रभा सिंहले बताइन्। सिंहका अनुसार पुनर्स्थापना गृह भएका जुम्ला र दैलेखबाहेकका अन्य सबै ८ जिल्लाका कुपोषित बालबालिका यहाँ आउने गरेका छन्।  

'कुपोषितको उपचारका लागि छुट्याइएको ११ बेडको अस्पतालमा कहिलेकाहीँ त व्यवस्थापन गर्न नै असहज हुन्छ' ,सिंहले भनिन्, 'पालिका र स्वास्थ्य संस्थाबाट सिफारिस लिएर आउनेलाई हामीले निश्चित समयसम्म राखेर हेरचाह तथा उपचार गरेपछि घर पठाउँछौँ। यस्ता गृहहरू स्थानीय तहमै भएको भए नागरिकलाई अझै सहज हुन्थ्यो।'

यस क्षेत्रमा कुपोषणको प्रमुख कारण बालविवाह देखिएको छ। सानै उमेरमा विवाह गरेकाहरूबाट जन्मिएका बालबच्चालाई कुपोषणको समस्या बढी देखिएको छ। बालविवाह न्यूनीकरणलाई जोड दिए मात्र यो समस्या केही हदसम्म न्यूनीकरण हुने देखिन्छ।पोषण पुनर्स्थापना गृह सुर्खेतबाट प्राप्त पछिल्लो पाँच वर्षको तथ्यांक विश्लेषण गर्दा सबैभन्दा बढी सुर्खेत जिल्लाका पालिकाले पोषण पुनर्स्थापना गृहमा सिफारिस गरेर पठाएको देखिन्छ। यो जिल्लाका पालिकाहरूले आर्थिक वर्ष ०७४/७५ मा ७९ जना, ०७५/७६ मा ६८ जना र ०७६/७७ मा ६९ जना बालबालिका सिफारिस गरेर पठाएको तथ्यांकको छ।यस्तै, आर्थिक वर्ष ०७७/७८ मा ५३ जना, ०७८/७९ मा ६३ जना र ०७९/८० को फागुनसम्ममा सुर्खेतका १३ कुपोषित बालबालिकाले पोषण पुनर्स्थापना गृहबाट सेवा लिएका छन्।  

पछिल्ला ६ आर्थिक वर्षमा कर्णाली प्रदेशका सुर्खेतबाहेक कालिकोट, हुम्ला, डोल्पा, दैलेख, जुम्ला, सल्यान, जाजरकोट, मुगु र रुकुम पश्चिमबाट १ सय ७८ जनाले गृहबाट सेवा लिएका छन्। यस क्षेत्रमा कुपोषणको समस्या रहेको र त्यसमा प्रभावकारी उपचार पद्धतिको खाँचो रहेको यो तथ्यांकले प्रस्ट देखाउँछ। विकासमा पछाडि परेको कर्णाली प्रदेशमा बहुसंख्यक जनसंख्या गरिबीको रेखामुनि छन्। कर्णाली आर्थिक रूपमा विपन्न र सामाजिक हिसाबले पिछडिएको ठाउँमा पर्छ। केही वर्षयता कर्णालीमा कुपोषणको दर पनि निकै डरलाग्दो गरी बढिरहेको छ। पोषण पुनर्स्थापना गृहको पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा यहाँ सेवा लिन आएका २ सय ७३ जना आमाहरूमध्ये १ सय ९८ जना २० वर्षमुनिका किशोरी छन्। आर्थिक वर्ष ०७७/७८ मा १ सय ८ जना, ०७८/७९ मा १ सय १५ जना र ०७९/८० को फागुनसम्म ५० जना आमाहरूले पुनर्स्थापना गृहमार्फत सेवा लिएका छन्। सेवा लिन आउनेहरूको संख्या बढिरहेको र पुनर्स्थापना गृहमा आएकामध्ये ८० प्रतिशत किशोरीहरू २० वर्षमुनिका रहेको व्यवस्थापक सिंहले बताइन्।लामो समयसम्म प्रदेश अस्पताल सुर्खेतमा बाल रोग विशेषज्ञका रूपमा काम गरिसकेका डाक्टर नवराज केसीले बालविवाह, आमाको शिक्षा, घरपरिवारले आमाप्रति हेर्ने दृष्टिकोण, सामाजिक मूल्यमान्यताजस्ता कारणले कुपोषणको समस्या निम्त्याउन सक्ने बताए।  

स्थानीय र प्रदेश सरकारले पोषणका क्षेत्रमा राम्रो लगानी गर्न नसकेको र भएको लगानी पनि प्रभावकारी नदेखिएको उनको भनाइ छ। कर्णालीका स्थानीय तहहरूले पोषणका क्षेत्रमा एक प्रतिशतभन्दा कम बजेट छुट्याएको पाइएको छ। कर्णाली प्रदेशले राष्ट्रिय स्वास्थ्य नीतिको सिको गर्दै 'प्रदेश स्वास्थ्य नीति–२०७६' ल्याएको छ। यो नीतिको बुँदा ५/१५ मा प्रदेशवासीको पोषण अवस्थामा दिगो सुधार गर्न स्थानीयस्तरमै उत्पादन हुने स्वास्थ्य प्रवर्द्धक रैथाने खाद्यवस्तुको प्रयोग र पहुँचलाई बिस्तार गरिने,भनिएको छ। तर, यो नीति अहिलेसम्म कार्यान्वयनमा आएको छैन। नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण (एनडिएचएस) २०२२ अनुसार कर्णालीमा पाँच वर्षमुनिका ३६ प्रतिशत बालबालिकामा पुड्कोपन, १८ प्रतिशत बालबालिकामा कम तौल र ४ प्रतिशत बालबालिकामा ख्याउटेपन रहेको छ। यस्तै, पाँच वर्षमुनिका ४० प्रतिशत बालबालिकामा रक्तअल्पता रहेको तथ्यांक छ। १५ देखि ४९ वर्षका २१ प्रतिशत किशोरी तथा महिलामा पनि रक्तअल्पता हुने गरेको छ। यो तथ्यांकले कर्णाली प्रदेशमा कुपोषणको समस्या विकराल रहेको प्रस्ट पार्छ। तर, पोषण सुधारका लागि कुनै प्रभावकारी कदम चालेको पाइँदैन। कर्णालीमा पोषणको अवस्थामा सुधार ल्याउन तत्कालै प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ।
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
११ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस