नवप्रवर्तन, अनुसन्धान र उच्च शिक्षाको दिगोपनका लागि इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पसले अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन पुस ५ र ६ गते गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको प्रचारप्रसारका लागि पूर्वको नाम चलेको धार्मिक स्थल बराहक्षेत्रसँगै आसपासका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रमा विद्यार्थीहरुले शनिबार बिहानदेखि साँझसम्म पदयात्रा गरे ।
जनता बहुमुखी क्याम्पस पूर्वकै महत्वपूर्ण शैक्षिक केन्द्रको रुपमा स्थापित भइरहँदा शैक्षिक, व्यवस्थापन, आर्थिक, सामाजिक, सांस्कृतिक, विज्ञान तथा प्रविधि क्षेत्रमा ज्ञानको खोजी गर्नका निम्ति सम्मेलन गर्न लागिएको हो ।
यसको प्रचारप्रसारका लागि क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीमध्ये स्नातकोत्तर तह र स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीहरुले बराहक्षेत्रको कोशी पुलबाट थालेको पदयात्रा सप्तपुर, झाक्रीगुप्ता, लालकोटगढीको टुप्पो, अर्चले, बागदलबारी हुँदै हिन्तुपति दरबार र छिन्नामस्ताको मन्दिरसम्म पदयात्रा गरेका हुन् ।
प्रचारप्रसार समिति संयोजक एवम् स्वतन्त्र विद्यार्थी यूनियनका सभापति सददेव काफ्लेका अनुसार विश्वका विभिन्न देशका नामूद प्रोफेसहरुलाई डाकेर जनता बहुमुखी क्याम्पसको वृहत्तर विकासका लागि यसले एउटा कोशे ढुंङ्गा हुने आशा र अपेक्षाका साथ अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको हो ।
अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य विष्णु कार्कीका अनुसार जनता बहुमुखी क्याम्पस एउटा शैक्षिक हबको रुपमा अगाडि बढाएर लैजाने र प्राज्ञिक थलोको रुपमा विकास गरेर लैजान महत्त्वपूर्ण उपलब्धी हासिल हुनेछ ।
क्याम्पस प्रमुख डा. गीता अधिकारीका अनुसार सम्मेलनमा विश्वव्यापी रुपमा देखिएका ज्ञान तथा तिनका अभ्यासहरूको विषयमा वौद्धिक छलफल र बहस हुनेछ ।
जनता बहुमुखी क्याम्पसले विशेष गरी कोशी र मधेस प्रदेशका विद्यार्थीहरूलाई उच्चशिक्षा प्रदान गरिरहेको छ ।
सम्मेलन गर्न अलग अलग उपसमिति बनाएर अहिले युद्दस्तरमा तयारी भइरहेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीले बताए । अध्यक्ष केसीकै अगुवाईमा असारमा भारतका दुईवटा प्रतिष्ठित विश्वविद्यालयसँग पाँच वर्षे शैक्षिक, अनुसन्धान र साँस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्न सम्झौता भएको थियो । त्यही सम्झौताको जगमा यो सम्मेलन गर्न लागिएको पनि केसीले बताए । जनता क्याम्पसले पहिलोपल्ट असारमा भारतको हरियाणमा रहेको बाबा मस्तनाथ र भारतकै राजस्थानमा रहेको श्री जे जे टि विश्वविद्यालयसँग सम्झौता गरेको थियो ।
विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता प्रत्यायानको प्रमाणपत्र प्राप्त गर्न सफल जनता क्याम्पसमा स्नातक तहमा बिएड, बिबिएस, बिए, बिआइसिटिई तथा स्नातकोत्तरतर्फ एमएडसँगै एमबिएसका शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ । कक्षा ११ र १२ का शैक्षिक कार्यक्रम पनि सञ्चालन गरेको छ ।
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।
सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।
गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।
सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।
सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।
‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’
पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।
यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।
गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।
यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।
त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए।
सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’
सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।
खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।
अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।
सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।
त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।
यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।
कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...