आआफ्नै अडानमा शिक्षक र सरकार: बिचरा विद्यार्थी, अन्योलमा अभिभावक
०८ वैशाख २०८२
•
७ मिनेट पाठ
आआफ्नै अडानमा शिक्षक र सरकार: बिचरा विद्यार्थी, अन्योलमा अभिभावक
नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरिका सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकहरू सडकमा उत्रिएको तीन साता हुन लाग्यो। उनीहरूले चैत २० गते थालेको काठमाडौं केन्द्रित सडक आन्दोलनले आइतबार १९ दिन पूरा गरेको छ। शिक्षकहरूलाई घर फर्काउन सरकारले पटकपटक वार्तामा बोलाउने मात्र नभएर उनीहरूका माग पूरा गर्ने भन्दै संसद् अधिवेशन आह्वान गरिसक्दा समेत आन्दोलन नरोकिएको अवस्था छ। यस्तो स्थितिमा सडक आन्दोलन कहिले टुंगिने भन्ने कुनै ठेगान पनि छैन।




प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबार शिक्षक महासंघको नेतृत्वलाई भेटे। अहिलेलाई पूरा गर्न सकिने मागहरू सम्बोधन गर्दै अगाडि बढ्ने भन्दै उनले महासंघको टोलीसँग छलफल गरेका थिए। अहिलेको अवस्थामा ऐन नै जारी गरेर अगाडि बढ्दा राज्यले धान्न नसक्ने भएकाले उनले महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीलाई परिस्थिति बुझिदिन भनेका थिए। ‘तपाईं मेरो कुर्सीमा बसेर हेर्नुस् अनि कति गाह्रो छ, थाहा पाउनु हुन्छ। अहिले नै ऐन जारी गर्दा राज्यले अर्थिक भार धान्न सक्ने अवस्था छैन,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले नागरिकसँग भने, ‘अनि मैले पनि जवाफ दिएँ– हजुर पनि हाम्रो ठाउँमा बसेर हेरिदिनुपर्‍यो।’

शिक्षकहरू वर्षौंदेखि निकै पीडामा रहेको भनी प्रधानमन्त्री ओलीलाई सुनाएको अध्यक्ष सुवेदीले बताए। ‘त्यसपछि प्रधानमन्त्रीज्यूले भन्नुभयो– दुःख नगर्नुस्, माग पूरा हुन्छ, घर फर्कनुस् भन्नुभयो। ऐन नआए फर्कन्नौं भनी शिक्षकका २४ बुँदे माग बुझाएर प्रधानमन्त्री निवासबाट बिनानिचोड हामी फक्र्यौं,’ उनले भने।

अध्यक्ष सुवेदीले शिक्षा ऐन जारी हुनेमा विश्वस्त हुन नसके यही वैशाख ११ गते हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष र निरीक्षकमा शिक्षकहरू नबस्ने र परीक्षा सञ्चालनमा पनि शिक्षकको सहभागिता नहुने बताए। साथै उनले एसइई परीक्षाको उत्तरपुस्तिका परीक्षणमा समेत शिक्षकहरू संलग्न नहुने चेतावनी दिए।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार हाल सरकार र दातृ निकायको गरी शिक्षामा कुल रकम दुई खर्बजति छ। त्यसको ८० प्रतिशत रकम शिक्षकको तलब, सेवासुविधा र वृत्तिविकासमै खर्च हुने गरेको शिक्षा मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव नीलकण्ठ ढकालले बताए।

शिक्षाको सुरुआती कालदेखि नै शिक्षकको वृत्तिविकास, तलब, सेवासुविधा, तालिमलगायतमै शिक्षाका लागि छुट्टिने बजेटको ८० प्रतिशत रकम राज्यले खर्च गर्दै आए पनि सामुदायिक विद्यालयको नतिजा भने मुस्किलले ३० प्रतिशत मात्र छ। निजी विद्यालयका शिक्षकहरूको सेवासुविधा र तलब सामुदायिकको भन्दा न्यून छ। नतिजाको सवालमा भने निजी विद्यालय अब्बल हुँदै गएका छन्। निजीको नतिजा भने ९० प्रतिशतसम्म छ।

हाल देशभरिक कुल एक लाख नौ हजार दरबन्दीमध्ये लगभग ९५ हजार शिक्षक स्थायी छन्। हाल सामुदायिक विद्यालयमा राहत, साबिक उच्च मावि, अस्थायी, करार, शिक्षण सिकाइ अनुदान, प्रारम्भिक बालविकास, विशेष शिक्षा र प्राविधिक धारतर्फ गरी एक लाख बढी शिक्षक अझै अस्थायी छन्। ‘ऐन जारी गर्ने हो र ऐनका सबै व्यवस्था कार्यान्वयन गर्ने हो भने अहिलेको शिक्षाको बजेटमा थप १४ अर्ब रुपैयाँजति आर्थिक भार राज्यलाई पर्छ,’ सूचना अधिकारी ढकालले नागरिकसँग भने, ‘अहिलेको अवस्थामा यति ठुलो रकम राज्यले थप्न सक्ने अवस्था देखिन्न।’

उनले शिक्षकको माग सम्बोधन गर्न अन्तरमन्त्रालय छलफल भएको बताए। ‘मन्त्रालयले शिक्षकका मागबारे केलाएर मन्त्रिपरिषद्को र मन्त्रीस्तरीय बैठकबाट सम्बोधन गर्नेबारे पनि छलफल भयो। शिक्षकको ग्रेड समायोजन, तलब समायोजन, मर्यादाक्रम, अस्थायी प्रकृतिलाई स्थायी गर्ने, बिरामी बिदा, आवधिक बढुवा, अस्पताल खर्चलगायत माग सम्बोधन गर्न थप सात अर्ब आर्थिक भार पर्छ ,’ उनले भने।

उनले अगाडि भने, ‘यसका लागि आगामी बजेटमा सम्बोधनको गृहकार्य शिक्षा मन्त्रालयले सुरु गरेको छ।’ शिक्षकको सेवासुविधा बढाउन र शिक्षकहरू विद्यालयबाट बाहिरिँदाको सेवासुविधा पनि थप राम्रो गर्न सके मात्र विद्यालयको शैक्षिक गुणस्तर राम्रो हुने विश्वास सरकारी शिक्षकहरूको छ।

हाल सरकारी विद्यालय बन्द छन्। विद्यार्थीले भर्ना हुन पाएका छैनन्। निजी विद्यालयमा भने नयाँ विद्यार्थी भर्ना भई पठनपाठनसमेत सुरु भइसकेको छ। यसबाट सामु्दायिक विद्यालयलाई ठुलो क्षति हुने विश्लेषण शिक्षाविद् प्राध्यापक डा. बालचन्द्र लुइँटेलको छ। राज्यको सार्वजनिक शिक्षामा लगानी नबढाएसम्म राज्य समृद्ध र सुखी बन्न नसक्ने उनको ठहर छ। ‘सार्वजनिक शिक्षाको सम्पूर्ण व्यवस्थापन राज्यको दायित्व हो।

देशको कुल २८ हजार सार्वजनिक विद्यालयमा करिब ७० लाख विद्यार्थी अध्ययनरत छन्। एक लाख बढी शिक्षक दरबन्दी छ। विद्यार्थी र शिक्षाको अनुपातअनुसार शिक्षक अपुग नै हो,’ शिक्षाविद् लुइँटेलले नागरिकसँग भने, ‘सार्वजनिक शिक्षाको गुणस्तरीय व्यवस्थापनको जिम्मेवारी राज्यको हो।

यसकारण राज्यले अन्यतिर चुहावट भएको रकमलाई खोजेर शिक्षामा लगाउनुपर्छ। संविधानले विद्यालय शिक्षामा आधारभूत र माध्यमिक तह कायम गरेको छ। तर कक्षा ११ र १२ मा दरबन्दी छैन। यसले गुणस्तर कायम हुँदैन।’ उनले थपे, ‘देशमा हाल कायम रहेको शिक्षाको विभेद कम गर्न पनि शिक्षा ऐन अत्यावश्यक छ। यो ऐन राज्यले छिट्टै ल्याउनुपर्छ।’ हाल सामुदायिक विद्यालयमा ५५ लाख विद्यार्थी अध्ययनरत छन्।

शिक्षाविद् लुइँटेलका अनुसार निजी शिक्षाले विदेश जाने एकोहोरो जनशक्ति उत्पादन गर्छ तर गुणस्तरीय सार्वजनिक शिक्षाले स्वदेशमा रहेर आलोचनात्मक रूपमा खोजी गर्ने जनशक्ति निर्माण गर्छ। उनले राज्यले शिक्षा क्षेत्रलाई ऐन ल्याएर व्यवस्थापन नगरे देशका सार्वजनिक विद्यालयहरू बन्द हुने अवस्थामा पुग्ने बताए।

‘हाल राजतन्त्रको पालाको ऐनले बालबालिकामा पुरानै विषयवस्तुहरू कक्षामा शिक्षण सिकाइ भएको छ। यसकारण लोकतन्त्र नै खतरामा छ,’ उनले भने, ‘देशको बदलिँदो परिस्थितिअनुसार शिक्षा ऐन ल्याएर सोहीअनुसार विद्यालयको पुनःसंरचना गर्नुपर्छ। नयाँ पाठ्यक्रम बनाई शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापनलाई चुस्तदुरुस्त बनाए मात्र देश समृद्ध हुन्छ।’

शिक्षक महासंघले प्रधानमन्त्री ओलीलाई बुझाएको २४ बुँदे मागपत्रमा विद्यालय शिक्षा ऐनले सम्बोधन गर्नुपर्ने विषयहरू शिक्षाको स्थायित्वको सवाल, तलबमान र ग्रेडको सवाल, शिक्षाको सेवासुविधाको सवाल, बढुवाको सवाल, अस्थायी अवधि गणना र निवृत्तिभरणको सवाल, स्थानीय तह र शिक्षक व्यवस्थापनको सवाल, प्रधानाध्यापक नियुक्तिको सवाल, सामाजिक सुरक्षा कोषको सवाल, द्वन्द्वपीडित शिक्षकको सवाल, कार्यसम्पादन, मूल्यांकन र सरुवाको सवाललगायत विषय समेटिएका छन्।

यसैबिच सामुदायिक विद्यालयमा शिक्षक आन्दोलनले ठप्प बनेको शैक्षिक गतिविधिका कारण सार्वजनिक विद्यालयका ५५ लाख विद्यार्थीको भविष्य अन्योलमा परेको छ। उनीहरूको पठनपाठन, परीक्षा, नतिजा प्रकाशन, विद्यालय भर्नाजस्ता महत्त्वपूर्ण विषयहरू प्रभावित भएकाले विद्यार्थीको पढ्न पाउने अधिकार हनन भएको भन्दै अभिभावक महासंघ नेपालले मानवअधिकार आयोगलाई ध्यानाकर्षणपत्र बुझाएको छ। ‘शिक्षाका सरोकारवालाहरूको समस्या राज्यले हल गर्न जरुरी छ। शिक्षकका जायज मागहरू तत्काल पूरा गर्न अब राज्यले ढिला गर्नुहुन्न,’ महासंघका संरक्षक सुप्रभात भण्डारीले भने, ‘विद्यार्थीले पढ्न र सिक्न पाउने नैसर्गिक अधिकारलाई सबै पक्षबाट संरक्षण र सम्मान हुनुपर्छ।’

उनले थपे, ‘वैशाख ११ गते सञ्चालन हुने कक्षा १२ को परिक्षा शिक्षक आन्दोलनले प्रभावित हुने संकेत देखिएको छ। यसै विषयमा हामी मानवअधिकार आयोगसमक्ष ध्यानाकर्षण गराउन आइतबार ध्यानाकर्षणपत्र बुझाएका हौं। शिक्षकले पनि विद्यार्थीको पढ्न पाउने अधिकारको सम्मान गर्दै कक्षामा पढाउँदै आन्दोलन गर्नुपर्छ।’

नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले शिक्षक आन्दोलनलाई आड बनाएर केही निजी शिक्षण संस्थानिकट स्वार्थ समूहहरूले सरकारी विद्यालय कमजोर पार्न गम्भीर षड्यन्त्र गरिरहेको बताएको छ। अनेरास्ववियुका अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी गर्दै स्वार्थ समूहले सरकारी विद्यालय कमजोर बनाउने षड्यन्त्र गरिरहेको बताएका हुन्।

‘हालको आन्दोलनलाई आड बनाएर केही निजी शिक्षण संस्थाका निकट स्वार्थ समूहहरूले सरकारी विद्यालय कमजोर पार्न र विद्यार्थीलाई निजी संस्थातर्फ लतार्न गम्भीर षड्यन्त्र गरिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘शिक्षा राजनीति होइन अधिकार हो। राज्य र शिक्षक दुवैका कारण विद्यार्थीको पढ्ने–लेख्ने अधिकार हनन भएको छ।’

विद्यार्थीहरूको भविष्यमाथि खेलवाड असह्य रहेको विज्ञप्तिमा उल्लेख छ। विद्यालय बन्द हुनेबित्तिकै निजी विद्यालयहरू भर्ना खुला गर्दै आकर्षक अफरको प्रचार गरिरहेको जिकिर गर्दै बडालले शिक्षकहरूको आन्दोलका कारण सरकारी विद्यालयमाथि प्रश्न उठिरहेकाले समाधान गर्न आन्दोलनरत शिक्षक र सरकारलाई आग्रहसमेत गरेका छन्।

पछिल्ला पाँच वर्षमा निजी विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या वार्षिक ८ प्रतिशतले बढेको दाबी जारी विज्ञप्तिमा गरिएको छ। ‘सार्वजनिक विद्यालयहरूबाट वार्षिक झन्डै सात लाख विद्यार्थी बाहिरिएका छन्। विद्यालय बन्द हुनेबित्तिकै निजी विद्यालयहरू भर्ना खुला गर्दै आकर्षक अफरको प्रचार गरिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ।
अर्को समाचार
प्रम निवासबाटै चल्छन् विश्वविद्यालय
०१ साउन २०८२
•
५ मिनेट पाठ
प्रम निवासबाटै चल्छन् विश्वविद्यालय
कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको १४ औं बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा।
प्रधानमन्त्री विश्वविद्यालय तथा प्रतिष्ठानहरूको कुलपति हुने व्यवस्थाले पछिलो समय यी संस्थाका पदाधिकारीले निकै सास्ती खेप्नुपरेको छ। सबै विश्वविद्यालय र प्रतिष्ठानमा प्रधानमन्त्री कुलपति हुने तर व्यस्तताले उनले समय दिन नसक्दा विश्वविद्यालयहरू आफ्ना नीति, कार्यक्रम, बजेटलगायतका खातापाता बोकेरै प्रधानमन्त्री निवास बालुवाटार धाउन बाध्य छन्।




यसैको परिणाम हो असार मसान्तभित्र नौ विश्वविद्यालय र एक प्रतिष्ठान प्रधानमन्त्री निवास बालुवाटारमा हाजिर भइसकेका छन्। यसरी विश्वविद्यालय जस्तो प्राज्ञिक क्षेत्रका पदाधिकारीहरू नै प्रधानमन्त्री निवास पुग्नुलाई विज्ञहरूले बौद्धिक जगत्मा तमासाको संज्ञा दिएका छन्।

विश्वविद्यालयहरू स्वायत्त संस्था हुन्। विश्वविद्यालयमा विद्यार्थी तथा प्राज्ञहरू अध्ययन अनुसन्धान गर्छन्। नितान्त बौद्धिकहरूको शैक्षिक निकाय पछिल्लो समय आफ्नो नीति तथा कार्यक्रम र बजेट पास गराउन प्रधानमन्त्री निवास बालुवाटार पुग्ने गरेको देख्दा समस्त प्राज्ञिक क्षेत्र नाजवाफ बनेको त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका सभापति एवं त्रिवि सभा सदस्य वसन्त ढकाल बताउँछन्।

‘त्रिभुवन विश्वविद्यालय र बालुवाटारको दुरी मुस्किलले २० मिनेटको छ,’ तर मुलुककै जेठो र ख्यातिप्राप्त यो विश्वविद्यालय पनि आफ्नो नीति तथा कार्यक्रम र बजेट पारित गराउन असार २६ गते प्रधानमन्त्री निवास बालुवाटार पुग्यो,’ सभापति ढकालले नागरिकसँग भने, ‘५१ सदस्य रहेको त्रिवि सभाका ११ जना सदस्यलाई सभामा बोलाइएन्। स्वतन्त्र विद्यार्थी युनियनका सभापतिलाई पनि बोलाइएन। यसले गर्दा त्रिवि सभा खल्लो बन्यो।’

उनले थपे, ‘यति मात्र होइन, त्रिविमा सभा हल हुँदाहुँदै पनि प्रि–सिनेट बैठक पनि बालुवाटारमै बस्यो। प्रधानमन्त्रीले समय दिन सक्नुहुन्न भने अब विश्वविद्यालयको कुलपति प्राज्ञहरूबाटै हुने व्यवस्था गर्नुपर्छ, गराउनुपर्छ।’

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको त्रिवि सभाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न २८ अर्ब १२ करोड ५७ लाख २१ हजार रुपैयाँको बजेट पारित गरेको छ। सभाले ८९ हजार एक सय ९१ विद्यार्थीसहित ६३औं ग्रेसलिस्ट पनि पास गरेको छ।

यसैगरी वैशाख २८ गते प्रधानमन्त्री निवास बालुवाटारमै बसेको पोखरा विश्वविद्यालयको २५औं सभाले एक अर्ब ५४ करोडको बजेट पास गरेको थियो। असार ३० गते मध्यपश्चिमाञ्चल र राजर्षिजनक विश्वविद्यालयको सभा पनि प्रधानमन्त्रीकै अध्यक्षतामा बालुवाटारमा बस्यो। मध्यपश्चिमाञ्चल विश्वविद्यालयको १७औं सभाले एक अर्ब ३६ करोड ७७ लाख र राजर्षिजनकको १०औं सभाले ३७ करोड ९३ लाख रुपैयाँको बजेट पारित गर्‍यो।

प्रधानमन्त्री निवास बालुवाटारमा असार ३१ गते बसेको पूर्वाञ्चल विश्वविद्यालयको ४१औं सभाबाट एक अर्ब ८७ करोड, सुदूरपश्चिम विश्वविद्यालयको १३औं सभाबाट एक अर्ब ५४ करोड, कृषि तथा वन विश्वविद्यालयको १४औं सभाबाट एक अर्ब ६८ करोड र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १५औं सभाबाट तीन अर्ब १९ करोड बजेट पारित भएको छ।

असार ३२ गते पनि लुम्बिनी र नेपाल संस्कृत विश्वविद्यालयको सभा बालुवाटारमा बस्यो। लुम्बिनी विश्वविद्यालयको १८औं सभाबाट ४९ करोड ५९ लाखको बजेट पारित भएको छ। यसैगरी नेपाल संस्कृत विश्वविद्यालयको ७८औं सभाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ३१ करोड रुपैयाँको बजेट पारित गरेको छ। चिकित्सा शिक्षा आयोगको २०औं बैठक पनि बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ।

काठमाडौं विश्वविद्यालयका प्राध्यापक बालाचन्द्र लुइँटेल विश्वविद्यालयको गरिमा राख्न पनि विश्वविद्यालय सभा विश्वविद्यालयमै बस्नुपर्ने बताउँछन्। ‘प्रधानमन्त्री निवास बालुवाटारको छुट्टै गरिमा होला तर एउटा विश्वविद्यालय जहाँ ज्ञान उत्पादन हुन्छ, अध्ययन–अनुसन्धानका लागि प्राज्ञिक थलोमा सभा नबसेर प्रधानमन्त्री निवासमै बस्दा नकारात्मक सन्देश जान्छ,’ लुइँटेलले नागरिकसँग भने, ‘विश्वविद्यालयमा बढ्दै गएको राजनीतिक हस्तक्षेपकै परिणाम हो पछिलो समय सिलसिलाबद्ध रूपमा विश्वविद्यालय प्रधानमन्त्री निवासमै खाता बोकेर पुग्नु। कुलपति विश्वविद्यालय बुझ्न विश्वविद्यालयमै पुग्नुपर्छ।’

त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाले विगत केही दिनदेखि विश्वविद्यालयहरू लाइन लागेर बालुवाटार पुगेको देख्दा चिन्ता लागेको बताए। उनका अनुसार प्रधानमन्त्री विश्वविद्यालयको आलंकारिक कुलपति हो। कुलपतिले विश्वविद्यालयलाई नीतिगत सल्लाह र सुझाव दिने हो, निवासबाट विश्वविद्यालय चलाउने होइन। ‘म त राजाको पालामा त्रिविको उपकुलपति भएको हुँ। त्यतिबेला पनि राजा बाहिर गएको जानकारी आउँदा मैले आफैंले सभा चलाएको हुँ तर दरबारभित्र विश्वविद्यालय कहिल्यै गएन,’ माथेमाले भने, ‘विश्वविद्यालय नितान्त स्वायत्त संस्था हो। विश्वविद्यालय आफ्नो ऐनले चल्ने हो। तर पछिलो समय सरकारको नियन्त्रणमा विश्वविद्यालय गएको महसुस हुन थालेको छ।’

उनले थपे, ‘देश संघीयतामा गएको छ। शिक्षामन्त्री एवं सहकुलपति र उपकुलपति आफैं सक्षम हुनुहुन्छ। प्रधानमन्त्रीसँग समय छैन भने उपकुलपतिले सहकुलपतिको अध्यक्षतामा बैठक चलाउनुपर्छ। सहकुलपति पनि छैन भने विश्वविद्यालयको कार्यकारी उपकुलपतिले आफैं सभा चलाउन पाउनुपर्ने व्यवस्था छ। हामीले पनि यसरी नै चलाएर आएकै हो। विश्वविद्यालयभित्र सभा बस्दा सबैको अपनत्व बढ्छ।’

उनले आआफ्नै सिनेट र टिम रहेका विश्वविद्यालयहरूलाई प्रधानमन्त्रीको सरकारी निवासबाट नभएर स्वायत्त संस्थाकै रूपमा सञ्चालन गर्न दिनुपर्ने बताए। ‘सरकारका प्रधानमन्त्रीले विश्वविद्यालयलाई कोष दिन सक्छ। देशलाई आवश्यक जनशक्ति उत्पादनको सुझाव दिन सक्छ,’ माथेमाले भने, ‘तर सरकारी निवासबाट विश्वविद्यालयको सभा विश्वमा कतै चल्दैन। नेपालमा चल्नुले राम्रो सन्देश दिँदैन।’

उनले थपे, ‘अब विश्वविद्यालयको कुलपति वा अध्यक्ष विश्वविद्यालयकै प्राज्ञिक व्यक्तिबाटै बनाउनुपर्ने व्यवस्था सबै विश्वविद्यालयमा कार्यान्वयन हुनुपर्छ। अनि मात्र विश्वविद्यालयको शैक्षिक, आर्थिक, प्रशासनिक तथा समग्र प्राज्ञिक क्षेत्रको गुणस्तर वृद्धि हुन्छ।’
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस