शान्तिपूर्ण शिक्षक आन्दोलनप्रति सरकारले बेवास्ता गरेको भन्दै नेपाल शिक्षक महासघ, उदयपुरले सोमबारदेखि शैक्षिक हड्ताल आह्वान गरेको छ । गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री शिक्षा ऐन जारी गराउन जारी शिक्षक आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउन महासङ्घले आम शैक्षिक हडताल आह्वान गरेको जनाएको छ ।
चैत २० गतेदेखि काठमाडौ केन्द्रित आन्दोलनरत शिक्षकहरुको मागप्रति यतिका दिनसम्म सरकारले कुनै सुनुवाइ नगरेको प्रतिक्रियास्वरुप आन्दोलन चर्काउन शैक्षिक आमहडताल गर्ने निष्कर्षमा पुगेको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।
महासङ्घ उदयपुरका अध्यक्ष सुवास विष्टद्वारा जारी विज्ञप्तिमा जारी शिक्षक आन्दोलनलाई निर्णायक बनाउन आम हड्ताल गर्ने निर्णय भएको उल्लेख छ । विज्ञप्तिमा आमहड्तालमा सबै शिक्षक कर्मचारीलाई अनिवार्य सहभागी हुन अपिल पनि गरिएको छ ।
विज्ञप्तिमा जिल्लाभरका शिक्षक तथा कर्मचारीलाई माध्यमिक शिक्षा परीक्षा र कक्षा ८ को आधारभुत तह परीक्षाको उत्तरपुस्तिका परीक्षण कार्यमा सहभागी नहुन पनि उर्दी जारी गरिएको छ । साथै आन्दोलनमा ऐक्यबद्धता जनाउन सबै विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति र सरोकारवालालाई समेत विज्ञप्तिमा आग्रह गरिएको छ ।
चालु आर्थिक वर्ष ०८१–८२ पहिलो ९ महिनामा उदयपुरमा सवा ३८ करोडभन्दा बढी राजश्व सङ्कलन भएको छ । करदाता सेवा कार्यालय गाईघाटले साउनदेखि चैत मसान्तसम्म ३८ करोड २७ लाख ८४ हजार रुपैँया राजश्व सङ्कलन गरेको हो ।
यो कर सङ्कलन अङ्क लक्ष्यको ७२ प्रतिशत रहेको कार्यालयले जनाएको छ । आर्थिकवर्ष सुरुको साउनदेखि चैत मसान्तसम्ममा आकारको हिसावले सबभन्दा बढी आय करवापत उठेको छ भने प्रतिशतका हिसावले बढी व्याज कर जम्मा भएको कार्यालय प्रमुख कर अधिकृत अशोकप्रसाद कुशवाहाले बताए ।
उनका अनुसार कार्यालयले आय करवापत ९ महिना अवधिमा २० करोड १८ लाख २४ हजार रुपैँया सङ्कलन गरेको छ । ९ महिनाको अवधिमा २९ करोड ८३ लाख ३५ हजार राजश्व उठाउने लक्ष्य लिएको कार्यालयले सङ्कलन गरेको रकम लक्ष्यको ६७.६५ प्रतिशत पुगेको हो ।
त्यसैगरी दोस्रो ठूलो रकम मूल्य अभिबृद्धि कर (भ्याट)वापत १६ करोड १ लाख ९६ हजार सङ्कलन भएको हाकिम कुशवाहाले बताएका छन् । उनका अनुसार यो अवधिमा भ्याटवापत २१ करोड १ लाख ६३ हजार उठाउने लक्ष्य कार्यालयको थियो । तर, भ्याटवापत सङ्कलित रकम लक्ष्यको ७६.२२ प्रतिशत पुगेको छ ।
तेस्रो ठूलो आकारमा सङ्कलित कर अन्तशूल्कवापत उठेको छ । अन्तशूल्कवापत कार्यालयले १ करोड २२ लाख २९ हजार रुपैँया उठाएको छ । कार्यालयले यो अवधिमा अन्तशूल्क १ करोड ३२ लाख ३४ हजार उठाउने लक्ष्य लिएको थियो । लक्ष्यनजिक अर्थात ९२.४ प्रतिशत अन्तशूल्क सङ्कलन गर्न सफल भएको कार्यालयले जनाएको छ ।
व्याज करवापत भने लक्ष्यभन्दा बढी ४९ लाख ७५ हजार रुपैँया राजश्व उठेको छ, जवकि यो अवधिमा व्याज कर ४५ लाख ४१ ह्जार उठाउने लक्ष्य कार्यालयले लिएको थियो । यो अङ्क लक्ष्यको १०९.५६ प्रतिशत भएको कार्यालयले जनाएको छ । सबभन्दा कम राजश्व वहाल करवापत उठेको छ । अहिलेसम्म ३५ लाख ६० हजार वहाल कर सङ्कलन गरेको कार्यालयले यो अवधिमा ८९ लाख १५ हजार उठाउने लक्ष्य लिएको थियो । वहाल कर अहिलेसम्म ३९.९३ प्रतिशत मात्र उठेको छ ।
सूचना अधिकारी कम्प्युटर अप्रेटर रेक मगरका अनुसार कार्यालयले विभिन्न ५ शीर्षकमा राजश्व सङ्कलन गर्ने गरेको छ । आय कर, भ्याट, अन्तशूल्क, व्याज कर र वहाल कर शीर्षकमा राजश्व उठाउने गरेको मगरले बताए । विगत केही महिनायता राजश्व सङ्कलन दर बढ्दै गएको पनि उनले बताए ।
आर्थिक वर्ष सुरुका ३÷४ महिनासम्म न्यून अङ्क दरले राजश्व उठ्ने गरेकोमा असोजयता बृद्धि हुँदै गएको छ । साल तमामी (असार मसान्त) नजिकिदै जाँदा राजश्व उठ्ने क्रम बढ्दै गएको उनले बताए । चालुवर्षको ९ महिने अवधिमा ७१.५२ प्रतिशत राजश्व उठ्नुले लक्ष्य चुम्न सक्ने आँकलन कार्यालयको छ । चालुवर्ष कार्यालयले ५३ करोड ५१ लख ८८ हजार राजश्व उठाउने लक्ष्य तय गरेको अप्रेटर मगरले बताएका छन् ।
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...