हजुरआमाहरू शिक्षाको उज्यालो खोजाइमा
३१ असार २०८१
•
७ मिनेट पाठ
हजुरआमाहरू शिक्षाको उज्यालो खोजाइमा
बूढानीलण्ठ नगरपालिका-१२, कपन फैँकाकी नीरा कोइराला उमेरले ५१ वर्ष पुगिन्। उनी ओखलढुङ्गाको रातमाटेमा जन्मिएकी हुन्। सानोमा उनले विद्यालय टेक्नै पाइनन्।




“छोरी मान्छेको जात अरूको घर जाने हो किन पढ्नुपर्‍यो भन्ने चलन थियो”, उनले भनिन्, “पढ्ने उमेर घाँसपात मेलापात गर्दैमा बित्यो। बिहेपछि छोराछोरी हुर्काउँदै ठिक्क भइयो।”

उनका चार सन्तानमध्ये जेठी छोरी राष्ट्रिय वाणिज्य बैङ्कमा जागिरे छिन्। कान्छी छोरी र जेठो छोरो अष्ट्रेलिया छन्। कान्छो इन्जिनीयरिङ अध्ययनरत छन्। उनको श्रीमानको पेशा शिक्षण हो।

पढाइ नहुँदा नीराले जीवनमा धेरै हन्डर भोगिन्। श्रीमानको कमाइमा मात्र कति भर पर्नु भनेर छोराछोरी हुर्काउँदै उनले चप्पल उद्योगमा चार वर्ष काम गरिन्। नाम लेख्न नजान्दा सबै ठाउँमा ल्याप्चे लगाउनुपर्थ्याे।

“अरू सबै लेखपढ गर्न जान्ने थिए। म मात्रै अनपढ। अनपढ हुनु भनेको त मान्छे नै नहुनु जत्तिकै पो रहेछ”, उनले भनिन्।

एक वर्षअघिको कुरा हो। छिमेकी दिदी कलम कापी बोकेर साँझमा घर फर्कँदै गरेको देखिन। ती दिदीलाई सोध्दा बालकुमारी माध्यमिक विद्यालयमा पढेर आएको सुनाइन्। वयस्क उमेरका मान्छेलाई दैनिक दुई घण्टा पढाइ हुने खबर सुनेपछि उनी भोलिपल्टैदेखि जान तयार भइन्।  

पढ्न गएको पहिलो दिन उनी कक्षाकोठामै राेइन्। “सबै पढ्न लेख्न जान्ने देखेँ, मलाई क, ख पनि नआउने”, पहिलो दिन सम्झिँदै भनिन्, “मेरो जिन्दगी त बेकार नै रहेछ भन्ने लाग्यो अनि म त रोएँ।”

लगातार एक वर्ष कक्षा धाइसकेपछि उनको जीवनमा अहिले उज्यालो छाएको छ।

हिजोआज उनलाई दिउँसोको धरधन्दा सकिनेबित्तिकै कापी कलम बोकेर स्कुल जाने हतारो हुन्छ। बेलुकी चारदेखि छ बजेसम्म सञ्चालन हुने कक्षामा सक्रिय भएर पढ्छिन्। नाम लेख्न, सामान्य लेखपढ गर्न, कतै बाहिर निस्किदा साइनबोर्डहरु पढ्न मज्जाले आउँछ उनलाई। घरायसी किनमेल गर्दा जोड, घटाउ, गुणन, भाग गर्न अरूलाई सोध्नु पर्दैन। “अहिले त फेसबुक पनि चलाउन जान्ने भएकी छु”, मुसुक्क हाँस्दै उनले भनिन्, “पढ्ने हुटहुटी यस्तो जागेर आयो कि एसइईसम्मै पढ्ने रहर लागेको छ।”

कपनकै स्थायी बासिन्दा गङ्गा ढुङ्गानाको कपाल फुलिसके। उमेरले ६३ औं वसन्त टेकिसकिन। नातिले यसपालि एसइई पास गर्‍यो। उनी पनि नीराकी सहपाठी हुन्। सिन्धुपाल्चोक माइत भएकी उनको बिहे नौ वर्षमै भयो।

“विद्यालय जाने र पढ्ने कुरा थाहा पाउनु त परै जावस्। बिहे के हो भन्ने थाहा नहुने उमेरमै बिहे भयो”, उनले ती दिन सम्झिइन्, “छोरी मान्छेको जात बिहे गरेर अरूको घर जाने र छोराछोरी जन्माउने मात्रै होला जस्तो लाग्थ्यो।”

उमेर बढ्दै जाँदा थाहा भयो पढाइको महत्व। साइनबोर्ड पढ्न नजान्दा काठमाडौँमै पटकपटक हराउनुपर्‍यो। कुनै गाडी चढ्न खोज्दा कता जाने हो भनेर सोध्नुपर्ने बाध्यता। उनका पाँच नातिनातिना हुर्किसके। उनी पनि एक वर्षदेखि बालकुमारी माविमै सञ्चालित अनौपचारिक शिक्षा कक्षामा पढ्दै छन्।

छोरी मान्छेले पढ्यो भने पोइला जान्छन् भन्ने सुनेकी उनी बुढेसकालमा पढ्न पाउँदा औधी खुसी छिन्। कक्षा दुईसम्मको किताब पढ्न सक्ने भएकी छन् उनी। “पढाइ भन्ने कुरा नमरेसम्म काम लाग्ने रहेछ। पढ्नु जान्नुको मज्जा बुझेपछि पढाइ छोड्नै मन छैन”, उनी भन्छिन्।

काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने ४४ वर्षिया निरु पराजुलीसँग पढाइलेखाइ नहुँदाका मर्मस्पर्शी घटना छन्। लेखपढ नभए पनि गीत गाउन, कविता भन्नमा उनको सानैदेखि रुचि थियो। विसं २०५५ मा धादिङको एउटा साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर पाइन्।

उक्त कार्यक्रममा कविता भन्ने पालो आयो उनको। मञ्चमा जाँदा खै त कविता भनेर सोधियो। उनले मलाई लेख्न आउँदैन मुखैले भन्छु भन्दा अवसर दिइएन। उनले आयोजकसँग धेरै अनुरोध गरेपछि कविता वाचन गर्न पाइन्। उनको मौखिक कवितालाई निर्णायकले लेख्य रुपमा उतार्‍यो र पुरस्कृत गर्‍यो।

“पढ्न लेख्न जान्नैपर्ने रहेछ भन्ने महत्व मैले त्यसैबेला महशुस गरेँ”, उनले भनिन्, “लेख्नै नजान्नेको कविता पनि पुरस्कृत भयो भनेर धेरैले कुरा काटे। त्यहाँदेखि मलाई पढाइको भोक जागेको हो। तर, पढ्ने अवसर पाइएन।”

काभ्रेको कोशीपारि धुसेनीमा जन्मिएकी उनलाई बुबाआमाले पढ्नै नदिएको भने होइन। चार दिदीबहिनीमा साहिंली निरुले त्यतिबेला पढ्ने मन गरिन।

उनकी जेठी छोरी बेलायतमा छन्। कान्छीको बिहे भइसक्यो। छोरो सानै छ। सुरुमा विकल्प महिला शिक्षा ज्ञान केन्द्रमा पढ्न थालेकी उनी पनि एक वर्षदेखि बालकुमारी माविमा सञ्चालित सन्ध्याकालीन अनौपचारिक कक्षामा सहभागी भएकी हुन्। अहिले गीत, कविता आफ्नै डायरीमा लेख्छिन्। सामान्य अङ्ग्रेजी लेख्न, पढ्न आउँछ। मोबाइलमा फेसबुक चलाउन सक्छिन्।

“पढ्न जानेपछि जो कोहीको अगाडि बोल्न डर नलाग्ने रहेछ”, उनको अनुभव छ, “मनमा लागेका सबै कुरा गीत कविताको माध्यमबाट लेख्नु सजिलो हुने रहेछ।”

उमेरले तीन बिसा (६० वर्ष) नाघ्ने तरखर गरिसक्यो देवकी ढकालको। तर, उनमा पढ्ने जोश १६ वर्षेझैँ छ। “पढ्ने कुरा सम्झिँदा त भर्खर १५ कटेकी छु जस्तो लाग्छ”, जोशिलो हुँदै उनले भनिन्, “मलाई त कम्तीमा एसइई पास गर्न पाए कस्तो हुन्थ्यो भन्ने पो लाग्दैछ।”

सिन्धुपाल्चोकको सिन्धुकोट सिन्धुमसुरे माइत भएकी देवकीको लाखेपोखरीमा बिहे भयो। पछि काठमाडौँ आएकी उनको स्थायी बसोबास बुढानीलकण्ठ नगरपालिका–१२ मा छ। श्रीमान बितिसकेपछि उनी एक्लो जस्तो भएकी थिइन्। एक वर्षदेखि अनौपचारिक शिक्षामा कक्षा लिएकी उनी कक्षाकै ‘ट्यालेन्ट’ मध्येकी एक हुन्।

अहिले उनलाई सामान्य लेखपढ, हिसाब गर्न आउँछ। अस्पतालमा शय्या नं हेर्न, बैङ्कमा भौचर भर्न आफैँ सक्ने भएकी छन्। कुन रुटको बस कता जान्छ भन्ने हेर्नेबित्तिकै थाहा पाउँछिन्। “मलाई त पनातिसँगै भए पनि एसइई दिउँ जस्तो लाग्दैछ”, उनले भनिन्।

अनौपचारिक शिक्षाको अवधारणा राम्रो भए पनि यसलाई थप व्यवस्थित गर्नुपर्ने उनको सुझाव छ। अहिले कक्षा सञ्चालन भइरहेको विद्यालयमा कक्षाकोठा साँघुरो छ। बेलोबलामा सबै कक्षामा अट्नै गाह्राे हुन्छ। भर्खरै पढ्न आउने र एक वर्षदेखि पढिसकेका एकै ठाउँमा हुँदा पढाइको तालमेल नमिल्ने उनको गुनासो छ।

तेह्र वर्षको उमेरमा बिहे गरेर २०५४ को स्थानीय निकाय निर्वाचनमा वडा सदस्य निर्वाचित भएकी देवकीलाई पढ्नु भनेको जीवनलाई अँध्यारोबाट उज्यालोतर्फ लैजानु रहेछ भन्ने लागेको छ। “पढ्नलाई उमेरले नछेक्ने रहेछ। लेखपढ नगरी मरेको भए त स्वर्ग पनि गइन्न थियो कि जस्तो लाग्न थालेको छ”, उनी भन्छिन्।

उल्लिखित पात्रहरुभन्दा जेठी छिन् गोमा आचार्य। कपनमै बस्ने आचार्य ६९ वर्षकी भइन्। उनी पनि नीरा, गङ्गा, निरु र देवकीकै सहपाठी हुन्। बाह्र वर्षको उमेरमा बिहे गरेकी उनी २०४५ सालमा काठमाडौँ आएकी हुन्। एक वर्षअघि कखरा पढ्न थालेकी उनले औँठाछापबाट मुक्ति पाएकी छन्। “अर्को सालदेखि त भत्ता पाउँछु भनेका छन्। सबै कागजात बुझाइसकेँ”, उनले भनिन्, “अब भत्ता बुझ्ने बेला ल्याप्चे गर्नुपर्दैन, नाम लेख्न सक्छु।”

सोलुखुम्बुको नेचासल्यानमा जन्मिएर ओखलढुङ्गाको च्यानम बिहे गर्नुभएकी दुर्गा अधिकारी ५३ वर्षकी भइन्। सानोमा दाजुले पढेपछि हुन्छ भन्ने लागेर उनी स्कुल गइन। सत्र वर्षमा बिहे भएको उनले त्यसपछि मात्र पढाइको महत्व बुझिन्। उनी सानो हुँदा कक्षा चारसम्म विद्यालय गएकी हुन्। त्यतिखेर पाटीमा माटो दलेर सिटाले लेख्नुपर्थ्याे। पढाइमा खासै ध्यान दिइएन।

अहिले दुर्गाले अनौपचारिक शिक्षाको कक्षा लिँदै छिन्। एक वर्षमा जोड, घटाउ, गुणन, भाग गर्न सक्ने भइन्। ए, बी, सी, डी जानिन्। मोबाइल चलाउन सिक्दै छन्।

“नातिनातिनासँगै स्कुल जाउँ कि भनेको थिएँ तर त्यतिखेर जान सकिएन”, उनले भनिन्, “अहिले पढ्न पाउँदा खुसी छु। तर, हामीले पढे अनुसार कक्षा चढ्दै जाने भए हुन्थ्यो।”

बालकुमारी मावि फैँकामा उनीहरू जस्ता ४५ जना वयस्क र वृद्धा उमेरका महिला अनौपचारिक शिक्षाअन्तर्गत वडाले सञ्चालन गर्दै आएको कक्षामा पढ्छन्। उनीहरूलाई ‘निरन्तर शिक्षा तह–१’ पुस्तक पढाउने गरेको स्वयंसेवी शिक्षिका रीता सिलवालले बताइन्। उक्त पुस्तकमा कक्षा एकदेखि दुई सम्मका विद्यार्थीले पढ्नेस्तरका नेपाली, अङ्ग्रेजी र गणितका पाठ्यसामग्री समावेश छन्।

सामान्य लेखपढसमेत नभएका धेरै गृहिणी महिलाहरु कक्षामा आउन चाहेको उनको भनाइ छ। “यदि दिउँसो ११ बजेदेखि ३ बजेभित्र कक्षा सञ्चालन गर्ने हो भने कपनमै एक सय ५० जति गृहिणीहरू पढ्न आउँछन्”, उनले भनिन्, “तर हामीसँग त्यति सङ्ख्यामा पढाउने कक्षाकोठा र पढाउने जनशक्ति छैन।”

बूढानीलकण्ठ–१२ मा अनौपचारिक शिक्षा कक्षा २०७० सालदेखि सुरु भएको हो। त्यतिखेर वडा नं १० मा बिन्दा गौतम, सावित्री भट्टराई लगायतका महिलामैत्री भन्ने एउटा मञ्च थियो। सोही मञ्चको नेतृत्वमा अनौपचारिक शिक्षा कक्षा सञ्चालन भएको हो।

तत्कालीन वडा नागरिक मञ्चका संयोजक शम्भुप्रसाद भट्टराईले २०७४ सालको स्थानीय तह निर्वाचनमा वडा नं १२ मा अध्यक्ष निर्वाचित भएपछि यो कक्षा सञ्चालनलाई निरन्तरता दिए। “यो कक्षा तीनवटै वडामा लोकप्रिय भएपछि नगरपालिकाको सबै वडामा सञ्चालन गर्ने कि भन्ने छलफल भइरहेको छ”, उनले भने, “हामीले वार्षिक दुई लाख ५० हजार बजेट विनियोजन गरेर तीन वडामा कक्षा चलाइरहेका छौँ।”

नगरपालिकाको नगर सुशासन समितिका संयोजकसमेत रहेका भट्टराईले अनौपचारिक शिक्षा कक्षा जुनजुन विद्यालयमा सञ्चालन भइरहेका छन्, सोही विद्यालयसँग समन्वय गरी पढाइअनुसार कक्षा चढाउँदै लैजाने तयारी गरिरहेको बताए।

अहिले तीन वटा वडामा दुईजना स्वयम्सेवी शिक्षिकाहरुले पढाउँदै आएका छन्। उनीहरूलाई मासिक आठ हजार तलब सुविधा वडाले उपलब्ध गराएको छ। विविध कारणले सानोमा विद्यालय जान नपाएका गृहिणी महिलाहरु यी कक्षाका लक्षित समूह हुन्। “शिक्षा त्यस्तो शक्तिशाली हतियार हो, जसको माध्यमबाट तपाईं संसार बदल्न सक्नुहुन्छ”, भन्ने दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाको भनाइ झैँ शिक्षाप्रति उनीहरुले देखाएको उत्साहले पक्कै समाज रुपान्तरणमा सहयोग गर्नेछ।  
अर्को समाचार
दस दिनदेखि पढाइ ठप्प भएपछि इन्जिनियरिङका विद्यार्थी आन्दोलनमा
०५ साउन २०८२
•
४ मिनेट पाठ
दस दिनदेखि पढाइ ठप्प भएपछि इन्जिनियरिङका विद्यार्थी आन्दोलनमा
सुन्दा पनि आश्चर्य लाग्ने। शिक्षकले पढाउने र विद्यार्थीले पढ्नुपर्ने वातावरण बन्नुको साटो त्रिभुवन विश्वविद्यालय पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थी पढ्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रनुपर्ने विडम्बना छ।




आइतबार पुल्चोक अध्ययन संस्थानका विद्यार्थीले विश्वविद्यालयका उपकुलपतिको कार्यालय घेराउ गरे। पठनपाठन सुचारु गराउनुपर्ने विभिन्न नारासहितको प्लेकार्ड बोकेका विद्यार्थीले उपकुलपति दीपक अर्यालको कार्यालय केहीबेर घेराउ गरेका थिए।

उपकुलपति अर्यालको कार्यकक्षअगाडि पुगेर कक्षाकोठा खुलाइदिन र पठनपाठन सुरु गराइदिन सन्देश लेखिएका प्लेकार्ड बोकेर आन्दोलनमा उत्रिएका ती विद्यार्थीको एउटै माग छ, ‘कक्षाको ढोका खोलाइदेऊ सरकार !’, ‘क्लास कहिले हुन्छ ?’ ‘परीक्षा कहिले हुन्छ ?’ ‘त्रिवि, हामी टुलुटुलु हेर्दैनौं।’

१० दिनदेखि ठप्प रहेको कक्षाकोठाको पठनपाठन तत्काल सुचारु गराइनुपर्ने एक मात्र माग बोकेर ती विद्यार्थी आन्दोलनमा उत्रिएका छन्।

संस्थानअन्तर्गतका पुल्चोक इन्जिनियरिङ कलेज, थापाथली इन्जिनियरिङ कलेज, पोखरा इन्जिनियरिङ कलेज, चितवन इन्जिनियरिङ कलेज र धरान इन्जिनियरिङ कलेज गरी पाँच कलेजका साढे दुई सय शिक्षक संस्थानको स्वायत्तताको माग गर्दै १० दिनयता आन्दोलनमा उत्रिएका छन्।

त्रिविले २०५५ सालदेखि स्वायत्तता प्रदान गरेको उक्त संस्थानलाई २०८० सालमा स्वायत्तता खारेज गरिदिएपछि चालु आर्थिक वर्षमा त्यहाँ कार्यरत प्राध्यापक तथा पदाधिकारीमाथि बेरुजु थपियो। यसकारण संस्थानअन्तर्गतका प्राध्यापकहरू स्वायत्तताको माग गर्दै १० दिनदेखि कक्षाकोठा ठप्प पारेर आन्दोलनमा उत्रिँदा संस्थानअन्तर्गतका १० हजार विद्यार्थीको भविष्य नै चौपट बनेकाले आइतबारदेखि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्।

संस्थानका शिक्षकले गत १९ असारदेखि आन्दोलन सुरु गरेका थिए। त्रिविले माग सम्बोधन नगरेपछि असार २५ देखि पठनपाठन बन्द गरेका छन्। आइतबार दिउँसो विद्यार्थी विभिन्न नारा लगाउँदै कीर्तिपुर पुगेका थिए। स्वायत्तता र पठनपाठनको माग राखेर उपकुलपतिको कार्यालयमा गएको उनीहरूको भनाइ छ।

संस्थानका सहायक डिन सुरज लामिछानेका अनुसार त्रिविले २०८० सालमा संस्थानलाई प्रदान गरेको २७ वर्षको स्वायत्तता खारेज गरेपछि आर्थिक एवं प्रशासनिक व्यवस्थापनमा चुनौती थपिएको छ। ‘२०५५ सालमा त्रिविले पहिलोपटक इन्जिनियरिङ अध्ययन संस्थानलाई आफैं आत्मनिर्भर बन्ने गरी विनियमअनुसार स्वायत्तता प्रदान गरेको थियो।

सोहीअनुसार संस्थानले शिक्षक व्यवस्थापन, आर्थिक व्यवस्थापन र प्रशासनिक व्यवस्थापन आफैं गर्दै आएको थियो’, सहायक डिन लामिछानेले नागरिकसँग भने, ‘तर अन्य संकाय र संस्थानमा स्वायत्ततामाथि केही समस्या आयो। यसको मारमा इन्जिनियरिङ अध्ययन संस्थानलाई पारियो। स्वायत्तता खारेज गरेपछि २०८० यता अतिरिक्त कक्षाको पारिश्रमिक लिएका प्राध्यापक बेरुजुमा पर्नुभो।’

नियमअनुसार हप्ताको १५ पिरियड अनिवार्य पढाउनुपर्नेमा मेहनत गरेर २० पिरियडसम्म पढाउनुपरेको उनले बताए। उनी भन्छन्, ‘जसले मेहनत गर्‍यो उनीहरू नै बेरुजुमा पर्नुभयो। राम्रो काम गर्नेलाई पुरस्कारको साटो दण्ड पो दिइयो। यसकारण शिक्षकहरू आन्दोलनमा उत्रनुभएको छ।’

क्याम्पसका शिक्षकहरू २०८० देखि नै आन्दोलन गर्दै आएका छन्। यसपटक भने शिक्षकहरूले पठनपाठन नै रोकेका छन्। संस्थाको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामाथि गरिने कुनै पनि प्रकारको हस्तक्षेप तुरुन्त खारेज गर्नुपर्ने माग विद्यार्थी र शिक्षकहरू आन्दोलनमा उत्रनुपरेको सहायक डिन लामिछानेले बताए।

उनका अनुसार संस्थानलाई स्वायत्तता प्रदान गरी त्रिविले निकास दिनुपर्छ। ‘क्याुल्क उठाएर आत्मनिर्भर भएर चलेका छन्’, उनले भने, ‘यसले गर्दा विद्यार्थीको कक्षाकोठाको शिक्षण सिकाइ, अतिरिक्त कक्षाले थप गुणस्तर बनाएको छ।’

उनले थपे, ‘संस्थानलाई त्रिविले स्वायत्तता दिनुपर्छ।’ उनका अनुसार संस्थानमा ३५ कार्यक्रम चल्छ। ३५ कार्यक्रममा ३५ संयोजक छन्। ती सबैको विभिन्न खर्चसमेत बेरुजु छ।

कलेज स्ववियु सभापति स्वयं श्रेष्ठले त्रिविले इन्जिनियरिङ अध्ययन संस्थानलाई शैक्षिक निकासको बाटो दिनुपर्ने बताए। ‘मुख्य रूपमा हाम्रा कक्षाकोठा खुल्नुपर्‍यो, पठनपाठन र परीक्षा समयमै हुनुपर्‍यो’, सभापति श्रेष्ठले आन्दोलन स्थलबाटै नागरिकसँग भने, ‘इन्जिनिरिङ अध्ययन संस्थानको गुणस्तर कायम राख्न स्वायत्तता दिनुपर्‍यो।’

त्रिविका प्रवक्ता यमनसिंह बोहराले त्रिवि, शिक्षक र विद्यार्थीबिच वार्ता भइरहेको र वार्ताबाटै समाधान खोजी गरिने जनाए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस