'जुजु धौ व्यवसायीलाई माग धान्ने चटारो'
१४ असार २०७९
•
७ मिनेट पाठ
'जुजु धौ व्यवसायीलाई माग धान्ने चटारो'
भक्तपुरका जुजु धौ व्यवसायीहरुलाई यतिबेला माग धान्ने चटारो परेको छ। नेपाली लोकपरम्परा अनुसार भोलि बुधबार असार १५ रोपाइँ महोत्सव गरी दही चिउरा खाने दिन। असार १५ को अवसरमा दहीको माग उच्च हुने भएकाले भक्तपुरका जुजु धौ व्यवसायीलाई माग धान्न चटारो परेको हो।




भक्तपुरमा जुजु धौ व्यवसायी करिब एक सयको हाराहारीमा छन्। ती व्यवसायीले औषतमा दैनिक १३ हजार लिटर दूधको जुजु धौ उत्पादन गर्दै आइरहेका छन्। असार १५ को अवसरमा जुजु धौको माग २० हजार लिटर पुग्ने हुँदा यतिखेर यहाँका जुजु धौ व्यवसायीलाई मागअनुसारको आपूर्ति गर्न भ्याइनभ्याइ छ।

दूधको जोहो गर्न, दही जमाउने माटोको कटारो, प्लाष्टिकका बट्टाका साथै पछिल्लो समय लोकप्रिय बन्दै गएको मट्काको जोहो गर्नुपर्ने हुँदा अन्य काम छाडेर यसमै व्यस्त छन्। ‘जुजु धौ’ लाई ‘दहीको राजा’ भनेर पनि चिनिन्छ। नेवारी भाषामा ‘जुजु’को अर्थ राजा र ‘धौ’ को अर्थ दही भन्ने हुन्छ।

असार १५ मा दही चिउरा खाने परम्परा राष्ट्रिय पर्वको रुपमा विकास भइसकेको छ। संस्कृतिकर्मी ओम धौभडेलका अनुसार असार १५ मा दही चिउरा खाने चलन लिपिबद्ध गरेको इतिहास नभएको बताए। उनले असारमा माना रोपेर मुरी फलाउने महिना भएकाले यस महिनाको आधासम्ममा रोपाइँ सकिएको सन्देश मुलुकभर फैलाउन दही चिउरा खाने पर्वको रुपमा विकास भएको बताए।

जुजु धौ व्यवसायीले पहिलेपहिले भक्तपुरका ग्रामीण भेग र आसपासका काँठ क्षेत्रबाट दूध सङ्कलन गरी दही उत्पादन गर्दै आएका थिए। काँठ क्षेत्रमा बढ्दो सहरीकरण र आवादीले भैँसीपालन व्यवसाय लोप हुँदै गएपछि जुजु धौ व्यवसायीहरुले अहिले काभ्रेपलाञ्चोकका ग्रामीण भेग, चितवन, झापा, बुटवल र नेपालगञ्जसम्म पुगेर दूध सङ्कलन गरी ल्याउने गरेको भक्तपुर जुजु धौ व्यवसायी सङ्घका अध्यक्ष कृष्णगोपाल सैँजुले बताए।

‘जुजु धौ’ को अर्को विशेषता भनेको यसमा भैँसीको दूध बढी प्रयोग गरिन्छ। भैँसीको दूध गाईको दूधको तुलनामा बाक्लो र मीठो हुन्छ। पछिल्लो समय किसानले भैँसीभन्दा गाई धेरै पालेकाले पनि दूध कम मात्रामा उत्पादन भएको भन्ने ठम्याइ छ उनको। 'उपत्यकाको काँठ क्षेत्रबाट आवश्यक मात्रामा दूध आउँदैन। झापा, चितवन, बुटवल र नेपालगञ्जबाट सङ्कलन गरेर ल्याउनुपर्छ,' उनले भने, 'त्यो पनि यतिबेला समयमा महँगो तिर्नुपर्छ। दूध महँगो मूल्यमा खरिद गर्नु परे पनि जुजु धौको मूल्य भने बढाउन सकिएको छैन।'

सैंजुले असार १५ लगायत विवाह, व्रतबन्धजस्ता ठूला भोजभतेरको समयमा जुजु धौको माग अत्यधिक हुने गरेको बताउँछन्। यस्तो बेला थप दूधको जोहो गर्न गर्न नसक्दा व्यवसायीलाई जुजु धौको माग धान्न हम्मेहम्मे पर्ने गरेको उनको भनाइ छ। उनका अनुसार दहीको माग बढ्दा दूधसँगै माटोको कटारोको समेत अभाव हुने गरेको छ।

जुजु धौ परम्परागत शैलीबाट बनाउने गरिन्छ। जुजु धौ तयार गर्न सबभन्दा पहिले दही बनाउने स्थानमा आवश्यकताअनुसार भुस बिछ्याइन्छ। जुजु धौ बनाउन सामान्य डेरीको दही बनाउन भन्दा उच्च कोटीको दूध आवश्यक पर्ने भक्तपुर नगरपालिका–३ वंशगोपालकी बाराही जुजु धौ भण्डारकी व्यवसायी संगीता कर्माचार्यले बताए। उनका अनुसार जुजु धौको लागि कम्तिमा पाँच प्रतिशत फ्याट भएको दूध आवश्यक पर्दछ। 'डेरीलाई कम फ्याट भएपनि हुन्छ तर जुजु धौको लागि कम्तिमा पाँच प्रतिशत फ्याट भएको दूध चाहिन्छ', कर्माचार्यले भने, 'दूधको फ्याटअनुसार जुजु धौको स्वाद र गुणस्तर कायम हुन्छ।'

जुजु धौ बनाउन डेरीको सामान्य दही बनाउन भन्दा धेरै समय, परिश्रम र लगानी आवश्यक पर्छ। जुजु धौ बनाउन दूधलाई बाक्लो हुने गरी राम्रोसँग चलाउँदैं कराईमा उमाल्नुु पर्दछ। दूध उमाल्दा एक क्यान (१० लिटर) बराबर ४ केजी चिनी हालेर नडढ्ने गरी चलाउँदै राम्रोसँग उमाल्नुपर्छ। उमाल्न पुगेपछि भुसमाथि राखेको माटोको कटारामा पहिले कटाराको आधा भाग मात्र दूध राख्नु पर्दछ।

त्यसरी राखेको दूध सेलाएर ४० डिग्री तापक्रममा पुगेपछि बाँकी आधा भागमा दूध हालेर त्यसमा धौ पुसा (दहीको बिऊ/जोरन) राखिन्छ। त्यसपछि दही जमाएको कटारामाथि अर्को कटाराले छोपेर त्यसको माथि न्यानो हुने गरी सिरक र जुटको बोराले छोपेर राख्नु पर्दछ र यसरी छोपेर राखेको पाँच घण्टामा जुजु धौ तयार हुन्छ। तयार भएको दहीलाई चिसो पार्न फ्रिजमा राख्ने गरिन्छ।

पछिल्लो सयम प्रविधिको विकाससँगै जुजु धौको उत्पादनमा पनि प्रविधिको प्रयोग बढ्न थालेको भक्तपुर नगरपालिका–२ व्यासीस्थित आर एस जुजु धौ सप्लार्यसका रक्की सुवालले बताए। उनले दुध उमाल्न दाउराको सट्टामा ग्यास र पछिल्लो समय हट एण्ड कोल्डको प्रयोग बढेको जानकारी दिए।  

परम्परागत शैलीमा दही उत्पादन गरे माग धान्न निकै गाह्रो भएकाले छिटो जमाउनका लागि सबैले आधुनिक प्रविधि अँगालेको उनले बताए। 'आवश्यक तापक्रममा दूध उमालेर बट्टा वा कतरामा राखेपछि ४० डिग्री तापक्रम भएको बेला हट एण्ड कोल्डमा राखेर दही जमाउने गरिन्छ। यसमा दही जमाउन चार घण्टा राखेपछि कोल्ड बटम थिचे पुग्छ। यसले गर्दा दही चाँडै जम्ने गर्छ,' उनले भने।

जुजु धौको प्रमुख विशेषता चक्कुले टुक्रा टुक्रा पारेर काट्न मिल्नु हो। माटोको कटारोको दहीलाई घोप्ट्याए पनि नपोखिने यसको अर्को विशेषता हो। यस्तो विशेषता भएको जुजु धौ दही मात्र नभई भक्तपुरको पहिचान बनिसकेको छ। भक्तपुरको दहीले मल्लकालीन समयदेखी जुजु धौ अर्थात राजा दहीको उपमा पाएको संस्कृतिविद्हरु बताउँछन्।

जुजु धौको स्वाद र गुणस्तर नेपालमा मात्र नभई विदेशमा समेत प्रख्यात छ। भक्तपुर आउने आन्तरिक पर्यटकदेखि विदेशी पर्यटकले समेत जुजु धौको स्वाद लिएर मात्र फर्कने गर्दछन्। जुजु धौको माग धान्न मुस्किल भएपनि यसको परम्परागत स्वाद, मौलिकता र गुणस्तर जोगाउन दिन प्रतिदिन चुनौतीपूर्ण बन्दै गएको व्यवसायीहरु बताउँछन्।

पछिल्लो समय जुजु धौको माग बढेसँगै बजारमा जुजु धौको विज्ञापन गरेर सामान्य दही बेच्नेहरुको पनि कमी छैन। बजारमा नक्कली नाका व्यवसायीले जुजु धौ व्यवसायलाई ठूलो असर परेको देखिन्छ। दूधमा पाउडर मिसाएर बनाएको जुजु धौको वास्तविक स्वाद र गुणस्तर हराएसँगै जुजु धौ व्यवसायी माथि प्रश्चचिह्न उठ्ने गरेको सङ्घका अध्यक्ष सैँजुले बताए।

जुजु धौको मुख्य मौलिकता भनेको यसको स्वाद हो भने दोस्रो माटोको भ्यगः अर्थात कटारो हो। 'काँठ क्षेत्रमा गाईभैंसी पालन व्यवसाय हराउँदै जानु, कुमालेहरुले पनि माटोको कटारो बनाउन छाड्नु र बजारले पनि प्लाष्टिकका बट्टाको माग गर्नुले जुजु धौको मौलिकता जोगाई राख्न चुनौतीपूर्ण बन्दै गएको छ,' अध्यक्ष सैंजुले भने। एक पटक यसको स्वाद चाखेपछि यसैमा मन बस्ने भएकाले पनि काठमाडौं उपत्यकामा मात्र नभई काभ्रेको बनेपा, पनौती र धुलिखेलसम्म जुजु धौको माग बढेको सैंजुले बताए। 

'असार १५, दशैँ, तिहार, गाईजात्रा र आमाबुवाको मुख हर्ने औँशीको समयमा त माग धान्नै मुस्किल हुने गर्दछ।' बजारले माटोको कटारोको तुलनामा प्लाष्टिकको बट्टाकै धेरै माग गर्ने र व्यवसायीले पनि सरल र सस्तो हुने भएकाले प्लाष्टिक बट्टाकै प्रयोग गर्न रुचाउने भएकाले भक्तपुरको मौलिक माटोको कटारोमा जमाएको जुजु धौको परिचय भने मेटिंदै जाने सम्भावना बढेकामा उनी चिन्ता व्यक्त गर्छन्।

उनले सङ्घले जुजु धौको मौलिकता जोगाई यसको स्वाद र गुणस्तरमा एकरुपकता ल्याउन जुजु धौको ‘ब्राण्डिङ’ गरी गुणस्तर चिह्न प्रदान गर्ने तयारी थालिएको बताए। 'जुजु धौको पहिचान कायम गर्न सङ्घले ट्रेडमार्क लागू गरी अगाडि बढ्ने योजना अघि सारेका छौं। यसले गर्दा भोलि कुनै पनि डेरीलगायत अन्यले जुजु धौको नाममा अन्य दही उत्पादन र व्यापार गर्न नमिल्ने गरी कानुनी प्रक्रिया अगाडि बढाइसक्यौं।' उनले भने, 'यसमा कसैले जुजु धौ व्यवसाय सञ्चालन गर्नुपर्‍यो भने सङ्घमा आवद्ध हुन अनिवार्य गर्नेछौँ।'

माग बढेसँगै भक्तपुरको जुजु धौं व्यवसाय पनि फस्टाएको छ। जुजु धौ को माग बढेपछि भक्तपुर नगरका टोल टोलमा जुजु धौ पसल खोलिएका छन्। विवाह ब्रतवन्ध, बेलविवाह जस्ता भोजमा डेरीको दही प्रयोग गर्ने पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीले समेत अचेल जुजु धौ प्रयोग गर्दछन्। सगुन दिन, गर्भवती महिलालाई पोषण पुर्‍याउन, नातागोताकामा जाँदा कोसेलीका रूपमा पनि जुजु धौको प्रयोग गरिन्छ।

नेवारी परम्परामा जन्मोत्सव, शुभकर्म, यात्रा, सफलता र ठूलो दुर्घटना पार लागेको अवस्थामा दिइने सगुनमा पनि दहीको उपयोग अनिवार्य मानिन्छ। कुनै पनि उद्देश्य प्राप्त होस्, मनले चिताएको पुगोस्, सुख तथा सुस्वास्थ्यको कामना र सफलताको कामना गर्नका लागि दहीको टीका सगुन दिने चलन छ।

भक्तपुर नगरपालिकाको स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ मा जुजु धौलाई पनि समावेश गरिएको छ। भक्तपुरको यही जुजु धौको मौलिकता जोगाउन, यसको उपयोगिता, बनाउने विधि, यसको महत्वलाई संरक्षण गर्न भक्तपुर नगरपालिकाले केही वर्षअघि यसलाई स्थानीय पाठ्यक्रममा पनि समावेश गरिएपछि यसको पहिचानलाई जीवन्त राख्न सकिने विश्वास गरिएको छ। 
अर्को समाचार
जुजु धौ व्यवसायीलाई माग धान्ने चटारो
१५ असार २०८३
•
४ मिनेट पाठ
जुजु धौ व्यवसायीलाई माग धान्ने चटारो
सोमबार असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको दिन घरघरमा दही चिउरा खाने प्रचलन छ। नेपाल कृषि प्रधान मुलुक भएकाले असार १५ को समेत आफ्नै महत्व छ। यो दिन अधिकांश नेपालीले दही चिउरा खाने गर्छन्। स्वदेश र विदेशमा समेत चर्चामा रहेको भक्तपुरको दहीको राजा (जुजु धौ) को नाम लोकप्रियता अहिले पनि छ।




भक्तपुरका दही व्यवसायीलाई असार १५ का दिन जुजु धौ बनाएर बिक्री गर्न भ्याइनभ्याई छ। बिहानैदेखि जुजु धौ पसलमा उपभोक्ताको भीड छ। अरू बेला दिनको करिब २०० लिटर जुजु धौ बिक्री गर्ने व्यवसायीले आज दुई हजार लिटर दही पनि मध्याह्नसम्म बिक्री गरिसकेका छन्।

भक्तपुर जुजु धौ व्यवसायी सङ्घका अध्यक्ष कृष्ण गोपाल सैजुले आज एकै दिनमा एक लाख लिटर दही भक्तपुरबाट बिक्री भएको बताउछन्।

उनले भने, ‘आजको दिन हामी दही व्यवसायीलाई भ्याइनभ्याइ छ, आज मध्याह्नसम्ममा अधिकांश पसलमा दही सकिसक्यो। माग धेरै छ, मेसिनमा उत्पादन गरे जस्तो होइन माटोको कतारोमा परम्परागत शैलीमा दही बनाउन  गाह्रो हुन्छ, आज एक दिनमा कतारोका दही मात्रै ५० हजार लिटरभन्दा बढी बिक्री भएको छ।’

भक्तपुरमा सङ्घमा आबद्ध जुजु धौ उत्पादन गर्ने ४९ व्यवसायी छन्। त्यसबाहेक सङ्घमा आबद्ध नभई दही उत्पादन गर्ने र खुला दही उत्पादन तथा बिक्री गर्ने व्यवसायीको सङ्ख्या त्योभन्दा बढी रहेको व्यवसायी बताउँछन्।

कतारोको जुजु धौ र खुला दही गरी आज एकै दिनमा भक्तपुरबाट करिब एक लाख लिटरभन्दा बढी दही बिक्री हुने व्यवसायी बताउँछन्।

दैनिक २५ हजार लिटर दूध जुजु धौ बनाउनकै लागि भक्तपुर आयात गर्ने गरेको बताउँदै सङ्घका अध्यक्ष सैजुले आजकै दिनका लागि दोब्बर दूध आयात गरिएको बताउछन्। एक लिटरदेखि पाँच लिटरसम्म माटोको भाँडामा बनाउने दही आज प्रतिलिटर रु २५० मा बिक्री भएको छ।

उनी भन्छन्, ‘दहीको माग अत्यधिक छ, हिजोदेखि नै बिक्री ह्वात्तै बढेको छ, तीन दिनदेखि दही बनाउन व्यस्त हामीले रातदिन दही बनाएर व्यवस्थापन गर्ने व्यस्त छौँ, आज बिहानैदेखि पसल पसलमा दही लिन आउनेहरुको सङ्ख्या धेरै छ, एक सातादेखि अर्डर भएको ठाउँमा पनि पुर्याउनै पर्यो, साँझसम्म दहीको माग हुन्छ, त्यसैले दही बनाउने काम पनि भइरहेको छ।’

अर्का व्यवसायी रामसुन्दर सैजुले शुद्ध दूधको अभाव र पर्याप्त पाउन छाडेपछि माग अनुसारको दही बनाउन नसकिएको उनी बताउछन्।

उपत्यकाका विभिन्न ठाउँबाट दहीको ‘अर्डर’ भएको भन्दै उनले आजको दिन विशेषगरी दही व्यवसायीलाई भ्याइनभ्याइ नै हुने बताए।

भक्तपुरको जुजु धौको नाम सुन्दैमा कतिपयको मुख रसाउने गर्छ। भक्तपुरमा राम्रो दही पाइन्छ भनेर उपत्यकाका विभिन्न ठाउँबाट भक्तपुर दही लिन आउने पनि धेरै हुन्छन्। तुलनात्करुपमा माटोको भाँडो अर्थात् कतारो, भिउँट र कपमा बनाइने दही स्वादिलो हुने गर्छ।

दूधलाई दाउराको चुलोमा भकभकी उमालेर बाक्लो बनाएर पछि त्यसमा चिनी, मसला हालेर माटोको भाँडोलाई भुसमाथि राखेर उम्लिएको दूध हालेर माथिबाट माटोकै भाँडो र जुटको बोराले छोपेपछि करिब तीन घण्टामै दही तयार हुने गर्दछ।

परम्परागत प्रक्रियाबाट उत्पादन हुने दहीको माग उच्च रहेको बताउँदै व्यवसायी सैंजूले आफूहरुले परम्परालाई शैलीलाई नछाडे पनि धेरैले आधुनिक प्रविधिमा दही बनाउदा जुजु धौको गुणस्तर घट्दै गएकामा उनी चिन्ता व्यक्त गर्छन्।

जुजु धौ भन्दैमा हुँदैन यो पनि धेरै प्रकारका हुन्छन्, सामान्य दही, मसलादार दही, खुवा हालेको दहीलगायत फरक फरक दहीको मूल्य पनि फरकफरक पर्ने गरेको छ।

अहिलेका कैयौँ व्यवसायीले भने जुजु धौकै नाममा मेसिनमा दही जमाएर बिक्री गर्ने गर्दा जुजु धौको गुणस्तर र महत्व घट्दै गएको सुकुलढोकामा पुस्तौँदेखि जुजु धौ बनाउँदै आएको राम सैजु बताउछन्।

उनले भने, ‘जुजु धौलाई चक्कुले टुक्राटुक्रा पारेर काट्न सकिन्छ, त्यसबाट पानी आउँदैन, दहीको कतारोलाई घोप्ट्याउँदा पनि दही हल्लिने र पोखिने हुँदैन तर अचेल बजारमा पाइने कतारो सामान्य हल्लियो भने पनि दहीबाट पानी आउने एवं स्वाद नै नहुने, ‘फ्रिज’मा दही जमाउने र प्लाष्टिकका भाँडोमा बनाएको दहीको स्वाद र गुणस्तर हुँदैन।

परम्परागत शैलीलाई बिर्सिएर अहिले मानिसले आधुनिक शैलीमा डेरी तथा पाउडर दूधलाई ‘फ्रिजिङ’ गरेर जमाएको दहीलाई समेत जुजु धौ नाम दिएकाले दहीको गुणस्तरमा ह्रास आएको व्यवसायीको गुनासो छ।

संस्कृतिकर्मी प्रकाशचन्द्र अमात्यले दहीको राजा अर्थात् उत्कृष्ट दही भएकाले मल्लकालमा राजाले समेत यहाँको दही खाने भएकाले भक्तपुरको दहीलाई जुजु धौ भनिएको बताए।

भक्तपुरका व्यवसायीले ताप सन्तुलन, मौलिक भिउँट र उच्च गुणस्तरयुक्त दूधको प्रयोग गरेर जुजु धौ बनाउने गरेकाले भक्तपुरको दहीलाई उत्कृष्ट दहीकारुपमा लिने गरेको उनको भनाइ छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस