बजेटमा अराजकताः पुँजीगत बजेटबराबर थप माग
२७ फागुन २०७८
•
५ मिनेट पाठ
बजेटमा अराजकताः पुँजीगत बजेटबराबर थप माग
चालु आर्थिक वर्षमा खर्च गर्न नसकेर आलोचित विकासे मन्त्रालयहरूले नयाँ कार्यक्रमका नाममा झन्डै पुँजीगत बजेट हाराहारी थप रकम मागेका छन्।




चालु बजेटमा पुँजीगत शीर्षकमा ३ खर्ब ७८ अर्ब रूपैयाँ विनियोजन भएकोमा अहिलेसम्म नयाँ कार्यक्रमका नाममा ३ खर्ब ६८ अर्ब रूपैयाँ मागिएको छ। यो कुल पुँजीगत बजेटभन्दा १० अर्ब रूपैयाँमात्र कम हो।

चालु आवको फागुन २४ गतेसम्म १९.५ प्रतिशतमात्र पुँजीगत बजेट खर्च भएको छ। पुँजीगततर्फको कुल ३ खर्ब ७८ अर्ब रूपैयाँमध्ये अहिलेसम्म ७२ अर्ब ३८ करोडमात्र खर्च भएको छ। विनियोजित बजेटको २० प्रतिशत खर्च नगर्ने तर थप बजेट वर्षकै बराबर माग हुनुले प्रश्न खडा गरेको छ।

अर्थ मन्त्रालयले वर्षको बीचमा नयाँ कार्यक्रम बनाएर थप बजेट माग्नुलाई ‘वित्तीय अनुशासनहीनता’ भन्दै आएको छ। बजेट बाहिरबाट (गैरबजेटरी) पैसा माग्ने क्रम बर्सेनि बढ्दै गएपछि अर्थ मन्त्रालयले लाइन मिनिस्ट्री बजेटरी सिस्टम (एलएमबिआइएस) प्रणाली लागु गरेको छ। बजेटभन्दा बाहिर बनाएको कुनै पनि कार्यक्रमलाई रकम नदिने भनिएको यो प्रणाली लागु भए पनि व्यवहारमा आउन भने सकेको छैन।

अर्थसचिव मधुकुमार मरासिनीले बजेट प्रणालीभन्दा बाहिर गएर थप रकम माग्ने क्रम नरोकिएको बताए। ‘यो वर्ष अहिलेसम्म ३ खर्ब ६८ अर्ब रूपैयाँ थप बजेट माग आएको छ,’ सचिव मरासिनीले बिहीबार नागरिकसँग भने, ‘पुँजीगत बजेट हाराहारी नै थप रकम माग्नुले वित्तीय अनुशासन कायम भएको देखिँदैन।’

अर्थसचिव मरासिनीले मागिएको थप बजेटमध्ये केही जायज भए पनि धेरैजसो नियमविपरीत भएको जानकारी दिए। वर्षको बीचमा नयाँ कार्यक्रमका नाममा थप बजेट माग हुनु वित्तीय अनुसाशनभित्र नपर्ने जानकारी दिँदै मरासिनीले भने, ‘अहिले बजेट माग भएमध्ये अधिकांश कार्यक्रम अस्वाभाविक छन्।’ मरासिनीका अनुसार औचित्य नखुलेका कार्यक्रमका लागि पैसा माग्ने रोग पुरानै हो। अघिल्ला वर्षहरूमा पनि थप बजेट माग हुन्थ्यो।

पुँजीगत बजेट खर्चबारे बुधबार विकासे मन्त्रालयका अधिकारीहरूसँग भएको छलफलमा पनि अर्थसचिव मरासिनीले भनेका थिए, ‘बजेट कार्यान्वयन हेर्‍यो भने २० प्रतिशत पनि पुगेको छैन तर थप बजेटको माग गर्ने स्थिति हेर्‍यो भने विकराल छ।’ उनले व्यंग्य गर्दै दिएको बजेट कार्यान्वयन गर्न र थप बजेट माग गरेर क्षमताभन्दा बढी काम गर्ने प्रयत्न नगर्न सुझाएका थिए।

विगतमा वर्षको बीचमा नयाँ कार्यक्रमका नाममा मागिने बजेटको धेरैजसो हिस्सा दुरूपयोग भएको फेला परेको थियो। अर्कोतिर विगतमा नयाँ कार्यक्रममा राजनीतिक दलका कार्यकर्तालाई संलग्न गराई बजेट पोस्ने काम पनि गरिँदै आएको देखिएको छ। संसद्ले पास गरेका कार्यक्रम र बजेटबाहेक वर्षको बीचमा नयाँ कार्यक्रमका लागि थप बजेट माग्नु गैरकानुनी काम हो।

बजेटमा पेस भएका कार्यक्रमबाहेकलाई पैसा माग्नु र दिनु दुवै असंवैधानिक पनि हो। बजेटमा राखिएका कार्यक्रमलाई पैसा अपुग भए थप बजेट माग्न र दिन सकिन्छ। नयाँ कार्यक्रमलाई दिने काम गैरकानुनी हो। विगतमा पनि संसद्ले पास गरेको र रातो किताबमा परेका कार्यक्रम कार्यान्वयन गर्नुको साटो नयाँ कार्यक्रमका लागि पैसा मागेर अनियमितता गर्न खोजिएको आरोप लाग्दै आएको छ।

अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका एक अधिकारी दिएको बजेट खर्च नगर्ने तर वर्षको बीचमा नयाँ कार्यक्रमका लागि भन्दै थप पैसा माग्नुमा मनपरी खर्च गर्ने नियत लुकेको बताउँछन्। ‘विकास आयोजनका लागि विनियोजित बजेट खर्च नगर्ने मन्त्रालयले नयाँ कार्यक्रमका नाममा अर्बौं रकम थप माग्नुको अर्थ मनपरी खर्च गर्ने मानसिकता हो,’ ती अधिकारीले भने, ‘विगतमा पनि थप मागेको बजेट वर्षको अन्त्यमा जथाभाबी खर्च गरेर अनियमितता गरिँदै आएको छ। नयाँ कार्यक्रमको औचित्य पुष्टि नभएसम्म अर्थले विभिन्न बहाना बनाएर भए पनि बजेट रोक्ने गरेको छ। उच्च तहबाट दबाब आयो भने त हामीले पनि रोक्न सक्दैनौं।’

चालु वर्षको बजेटको अर्धवार्षिक समीक्षामा पनि दिएको बजेट खर्च नगर्ने तर आर्थिक वर्षको बीचमा नयाँनयाँ कार्यक्रम बनाएर थप बजेट माग गर्ने डरलाग्दो प्रवृत्ति बढ्दो रहेको औंल्याइएको छ। यस्तै खर्च गर्ने निकायलाई स्वीकृत बजेट र कार्यक्रम कार्यान्वयन गर्न थप जिम्मेवार बनाई बजेट अनुशासन कायम राख्ने अहिलेको सबैभन्दा ठूलो चुनौती बनेको छ। विगतमा थप दिएको बजेटमा ५० प्रतिशतभन्दा बढी अनियमितता भएको फेला परेको छ। राजनीतिक दलका नेता तथा कार्यकर्ता र उच्च सरकारी अधिकारीको दबाबमा बन्ने यस्ता कार्यक्रमका बजेटको सदुपयोग ५० प्रतिशतभन्दा माथि हुँदैन।

प्रत्येक वर्ष बजेट खर्च नभएर आलोचित हुने सरकारले वर्षको अन्त्यमा हुने खर्चलाई बढी ध्यान नदिने परम्परा छ। महालेखा परीक्षकले प्रतिवेदनहरूमार्फत वर्षको अन्त्यमा हुने खर्चका कारण अनियमितता बढेको र बेरुजु बढाएको औंल्याएको छ। अर्थ मन्त्रालयका अधिकारीहरू बजेटमा राखिएको रकम खर्च गर्नुभन्दा नयाँ कार्यक्रममा पाएको पैसा खर्च गर्न सजिलो हुने भएकाले धेरैको आकर्षण त्यतातिर बढेको बताउँछन्।

ती अधिकमारीका अनुसार पुँजीगत बजेटमध्ये धेरैजसोको स्रोत दातृनिकायले दिने ऋण र अनुदान हो। यस्तो बजेट खर्च गर्दा दातृ निकायका सर्त र नियम पालना गर्नुपर्ने हुन्छ। कार्यक्रम स्वीकृत गराउनुपर्ने हुन्छ। तर बीचमा पाएको बजेट खर्च गर्न भने सार्वजनिक खरिद नियमावली अनुसरण गरेमात्र पुग्छ।

विकास बजेट धेरै गर्नेमध्येको एक भौतिक पूर्वाधार मन्त्रालयले यो वर्ष पाएको बजेटमध्ये फागुन २४ सम्म २०.६९ प्रतिशत मात्र खर्चेको छ। तर यही मन्त्रालयले नयाँ कार्यक्रमका लागि भन्दै थप १ खर्ब ६९ करोड रूपैयाँ मागेको छ। भौतिक मात्र होइन, अन्य धेरै मन्त्रालयको अवस्था यस्तै छ। विकासका ठुला आयोजना सञ्चालन गर्ने ऊर्जा तथा जलस्रोत, सहरी विकास, संघीय मामिला, कृषि, स्वास्थ्य, शिक्षा, वन, पर्यटन, खानेपानीलगायत मन्त्रालयले पनि दिएको पुँजीगत बजेट अपेक्षाकृत खर्च गर्न सकेका छैनन्।

तर यिनै मन्त्रालयले अर्बौं रूपैयाँ थप बजेट मागेका छन्। अर्थ मन्त्रालयका अनुसार अहिलेसम्म एक खर्ब रूपैयाँभन्दा धेरै थप बजेट माग्नेमा भौतिक पूर्वाधार र ऊर्जा तथा जलस्रोत मन्त्रालय छन्। ऊर्जाले पनि यो वर्ष दिएको बजेटको अहिलेसम्म २१.२७ प्रतिशत मात्र खर्च गरेको छ। थप बजेट माग्ने अन्य मन्त्रालयको अवस्था पनि भौतिक र ऊर्जाको भन्दा भिन्न छैन।
अर्को समाचार
अर्थ मन्त्रालयले दियो सरकारी खर्चमा तीव्रता
०२ वैशाख २०८१
•
३ मिनेट पाठ
अर्थ मन्त्रालयले दियो सरकारी खर्चमा तीव्रता
अर्थ मन्त्रालयले सरकारी खर्चले तीव्रता दिएको छ। मन्त्रालयले खर्च नभएको आयोजनाबाट रकमान्तर, कार्यक्रम संशोधन र  विविध शीर्षकबाट खर्च बढाइएको हो।




पछिल्लो एक महिनामा सरकारी निकायबाट एक अर्ब ६३ करोड रकमान्तर गरी खर्च भएको छ। यस्तै दुई अर्ब ६३ करोडको कार्यक्रम संशोधन गरिएको छ। विविध शीर्षकमा राखिएको तर हालसम्म खर्च नभएको बजेटबाट ३६ अर्ब ५० करोड खर्च गरिएको छ।

बजेटको एउटा शीर्षकबाट अर्को शीर्षकमा पैसा पठाएर खर्च गर्ने कामलाई रकमान्तर भनिन्छ। एउटै शीर्षकभित्र बजेट परेका एउटा निकायबाट अर्को निकाय वा एउटा कार्यक्रमबाट अर्को कार्यक्रममा पैसा पठाएर खर्च गर्ने कामलाई कार्यक्रम संशोधन भनिन्छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी ऐनमा चालु आर्थिक वर्षको बजेट खर्च हुन नसकेपछि रकमान्तर, कार्यक्रम संशोधन र थप निकासाबाट खर्च गर्न पाउने व्यवस्था छ।

ऐनको व्यवस्थाभित्रै रहेर खर्च बढाउने प्रयास मन्त्रालयले गरेको हो। कुल रकमान्तर भएको १ अर्ब ६३ करोड  रुपैयाँमध्ये सबैभन्दा बढी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट भएको छ। स्वास्थ्य मन्त्रालय मातहतका सरकारी निकायले ६४ करोड ४१ लाख रुपैयाँ रकमान्तर गरेका छन्। त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ४८ करोड ८६ लाखको रकमान्तर गरेको छ।

२८ स्थानीय तहका लागि पालिका अन्तर्गत निर्माणाधीन आधारभूत अस्पतालको कार्य प्रगति तथा मोबिलाईजेसन भुक्तानीको रकमान्तर गरिएको छ। उक्त शीर्षकमा ४९ करोड २४ लाख ३१ हजार रुपैयाँ खर्च भएको छ।

छात्रवृत्ति करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको पारिश्रमिक र भत्ता भुक्तानी गर्न स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमका लागि ३२ लाख रुपैयाँ रकमान्तर भएको छ। यस्तै मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरूदण्ड पक्षघातका बिरामीहरूलाई औषधि उपचार खर्चबापत मासिक ५ हजार रुपैयाँका दरले उपलब्ध गराइने रकम भुक्तानी गर्न १४ करोड ८५ लाख निकासा भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत महाकाली कोरिडोर (ब्रम्हदेव–झुलाघाट–दार्चुला–टिङकर) अन्तर्गत विकास निर्माण निर्देशनालयका लागि ७० लाख रुपैयाँ रकमान्तर गरी खर्च भएको छ। सडक निर्माणको दायित्व प्राथमिकताको आधारमा भुक्तानी गर्न सडक डिभिजन, घोराही (दाङ) लाई ९ करोड ४ लाख रुपैयाँ पैसा निकासा दिइएको छ।

उत्तर दक्षिण राजमार्ग (कर्णाली, काली गण्डकी र कोशी) का लागि करार सेवा शुल्क स्वीकृत दरबन्दीको करार कर्मचारीमा नपुग रकम बराबर २ लाख ९६ हजार पठाइएको छ।

रणनीतिक सडक पुल निर्माण तथा पुल पुलेसा संरक्षणअन्तर्गतका कार्यालयहरूमा २५ करोड ९ लाख रुपैयाँ रकमान्तर भएको छ। तमोर कोरिडोर चतरा–मुलघाट–सुभाडखोला सडक योजना मुलघाट ९सुनसरी० का लागि १४ करोड निकासा गरिएको छ। 

मन्त्रालयले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई ऋण लगानी गर्नका लागि औद्योगिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत ऋण लगानी गर्न दुई करोड २४ लाख दिएको छ।

रक्षा मन्त्रालय मातहत जङ्गी अड्डा, सैनिक हवाई महा–निर्देशनालय, वीरेन्द्र अस्पताल (पोष्ट एक्सीडेन्ट सेन्टर समेत) र राष्ट्रिय सेवा दलअन्तर्गतका कार्यक्रममा थपघट र रकमान्तर गरिएका छन्।

स्थानीय तहहरूबाट खर्च हुने गरी स्वास्थ्य मन्त्रालयअन्तर्गतको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको ५५ करोड ७२ लाख रुपैयाँको कार्यक्रम संशोधन गरी रकम पठाइएको छ। कृषि विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागको आग्रहमा  ४८ करोड बराबरको कार्यक्रम संशोधन भएको छ।

शहरी विकास मन्त्रालयअन्तर्गतका ४५ करोड ४५ लाख तथा प्रदेशअन्तर्गतका एक करोड ८१ लाखका कार्यक्रम संशोधन भएका छन्। नेपाल विद्युत् प्राधिकरणमा सरकारको ऋण लगानी रहने गरी एक अर्ब ६३ करोड १७ लाख रुपैयाँ निकासा गरिएको छ।
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस