मधेस प्रदेशमा अवैध क्रसरको रजगजः झुटो विवरण बनाएर अनुमति दिनेलाई कारवाही भएन
२० माघ २०७८
•
९ मिनेट पाठ
मधेस प्रदेशमा अवैध क्रसरको रजगजः झुटो विवरण बनाएर अनुमति दिनेलाई कारवाही भएन
सिरहाको मारुती सिमेन्ट उद्योगनजिक घुर्मी खोलाको पूर्वी किनारमा दर्ताबिना सञ्चालित कमलदह वालुवा प्रशोधन (क्रसर)उद्योग। तस्बिरः मिथिलेश/नागरिक
मधेस प्रदेशको गोलबजार नगरपालिका–९, मारुती सिमेन्ट उद्योगको पश्चिम छेउमा घुर्मी खोला र पूर्व–पश्चिम राजमार्गमा टाँसेर कमलदह गिट्टी बालुवा प्रशोधन उद्योग (क्रसर) सञ्चालन भइरहेको छ। यो उद्योग २ वर्षदेखि बिनादर्ता चलिरहेको छ।




दर्ताबिना सञ्चालित क्रसर उद्योगले नदीजन्य पदार्थ उत्खनन गर्ने, प्रशोधन गर्ने र क्रसिङ गर्ने काम गर्दै आएको छ। यो क्रसर उद्योग आन्तरिक राजस्व कार्यालयको अभिलेखमा समेत छैन्।

यस उद्योगले सरकारी नियम लत्याएको मात्र छैन राजस्व समेत छलिरहेको छ। स्थानीय तह, स्थानीय प्रशासन र प्रहरी मूकदर्शक बनेर उद्योगको मनपरीलाई धाप दिँदै आएको छ।

गोलबजार नगरपालिका–९ स्थित घुर्मी पुलमै टाँसिएको शिवम् क्रसर उद्योगले पनि कानुनको धज्जी उडाउन थालेको ७ वर्ष भइसक्यो। तर नियामक निकायले यसलाई कानुनी दायरामा ल्याउन कुनै कदम चालेको छैन।

गोलबजार–९, घुर्मी खोलाको पूर्वी किनारमा पुष्पदिप गिट्टी बालुवा प्रशोधन केन्द्र (क्रसर) सञ्चालनमा छ। खोलाको पूर्वी किनारमा सञ्चालित यो उद्योगले पनि कानुनको खिल्ली उडाउन थालेको ३ वर्ष भइसक्यो।

कर्जन्हा नगरपालिकास्थित जानकी क्रसर उद्योग चुरेको फेदमै सञ्चालित छ। यो उद्योग कानुन मिचेर सञ्चालनमा आएको दशक भयो। जिल्लाका प्रशासक र यो क्षेत्र हेर्ने इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुखको इच्छाअनुसार यो उद्योग चल्ने र बन्द हुने गरेको छ।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि क्रसर उद्योग सबैभन्दा बढ्ता फस्टाएको पालिका कर्जन्हा र धनगढीमाई हुन्। जनप्रतिनिधि आएपछि जिल्लामा १० वटा क्रसर उद्योग र वालुवा प्रशोधन केन्द्र दर्ता भएका छन्। जसमध्ये ६ वटा धनगढीमाई नगरपालिकामा दर्ता भई सञ्चालनमा छन्।  

ढुंगा, रोडा उद्योग (क्रसर) स्थापनासम्बन्धी ऐनअनुसार यी उद्योग कानुनविपरीत सञ्चालन भइरहेका छन्। यहाँका क्रसर उद्योग मात्र कानुन विपरीत छैनन्, सरकारी निकायले समेत कानुन मिचेर दर्ता अनुमति दिएको पाइएको छ। क्रसर वा बालुवा प्रशोधन उद्योगको दर्ता अनुमति दिने क्रममा स्थानीय तहदेखि घरेलु कार्यालयसम्मले कानुन मिचेको पाइएको छ।

२०७५ भदौ ३ गते घरेलु तथा साना उद्योग कार्यालय लहानले गोलबजार नगरपालिका–९ मा पुष्पदिप बालुवा–गिटी प्रशोधन केन्द्रलाई दर्ता अनुमति दिएको छ। त्यस्तै घरेलु तथा साना उद्योग कार्यालय लहानले २०७५ साउनमा गोलबजार नगरपालिका–८ स्थित गोलबजार गिटी–बालुवा उद्योगलाई अनुमति दिएको छ।

सोही अवधिमा धनगढीमाई नगरपालिका–९ मा भीम बालुवा गिटी प्रशोधन केन्द्र र धनगढीमाई नगरपालिका–१३ मा लरुख भगवती गिटी बालुवा प्रशोधन उद्योगलाई अनुमति दिएको छ। धनगढीमाई–८ स्थित तिरूपति वालुवा प्रशोधन उद्योगलाई कानुन मिचेर कसहा खोलाको पश्चिमी किनारमै सञ्चालन अनुमति दिइएको छ। यो उद्योगको पश्चिमतिर बाक्लो मानव बस्ती छ।

अनुमति नै कानुनविपरीत दिएपछि यस भेगका क्रसर उद्योगको सञ्चालन पनि कानुन विपरीत हुनु स्वाभाविक ठान्छन् स्थानीय। चार किल्ला प्रमाणित गर्ने बेला स्थानीय निकायबाट कानुन मिच्न सुरु हुन्छ र दर्ता गर्ने घरेलु तथा साना उद्योग कार्यालयमा यो प्रक्रिया सकिन्छ। त्यसपछि स्थानीय प्रशासन र प्रहरीलाई मिलाएर मनपरी ढंगबाट क्रसर सञ्चालन हुन्छ।

पत्राचार हुन्छ, कारवाही हुँदैन

अदालतले संकटमोचान क्रसर उद्योगलाई स्थान्तरण गर्न गराउन विपक्षीको नाममा आदेश गरेपछि ०७७ मंसिर २१ गते घरेलु तथा साना उद्योग कार्यालय धनुषाले संकटमोचन क्रसर उद्योगलाई पत्राचार गरी (चलानी नम्बर २३३९) उच्च अदालत जनकपुरबाट भएको परमादेश बमोजिम नियमानुसार क्रसर स्थानान्तरण गर्न भन्यो।

उद्योग अधिकृत देवेन्द्रकुमार झाको हस्ताक्षरमा क्रसर उद्योगलाई काटिएको पत्रमा भनिएको छ– अटेर गरेमा नियमानुसार कारबाही भई जाने व्यहोरासमेत यसै पत्रबाट जानकारी गराइन्छ।

जिल्ला प्रशासन कार्यालय धनुषाले ०७७ असोज १९ गते जिल्ला प्रहरी कार्यालय धनुषालाई पत्राचार गरी (चलानी नम्बर १०९९) निवेदक भगत महतोको निवेदनमाथि आवश्यक कारबाही गर्न आदेश गर्‍यो।

तर अदालत, घरेलु, प्रशासनको आदेशलाई लत्याउँदै संकटमोचन क्रसर उद्योग निर्वाध सञ्चालन भइरहेको निवेदक महतो बताउँछन्। ‘क्रसर उद्योगका सञ्चालकको पहुँच र पैसाकाअगाडि सबै फिक्का भएको छ,’ महतोले भने, ‘अदालतको आदेश कार्यान्वयन गराइदिन सिडिओ, घरेलुदेखि नगरपालिका र सबै प्रमुख नेता गुहारिसक्यौं।

सबैले एक्सन लिन्छु भन्दै ढाडस दिए। तर कसैले एक्सन लिएनन्।’ निवेदक महतोले थपे, ‘यो देशमा कानुन मिचुवा डनको हालिमुहाली भएको बेला हामीजस्ता नागरिकले कानुन कार्यान्वयनका लागि लड्नु पनि अपराधै रहेछ।’

दर्तादेखि नै सेटिङ

क्रसर उद्योग दर्तादेखि नै सेटिङ हुने गरेको प्रमाण हो–धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ स्थित संकटमोचन क्रसर उद्योग। यो उद्योग दर्ता सिफारिसदेखि नै कानुन मिचेको प्रमाणित भइसके पनि संलग्नउपर कारवाही भएको छैन। झुटो विवरण बनाई यस क्रसरलाई सञ्चालन अनुमति दिने अधिकारी र झुटो विवरण तयार पार्ने अधिकारीउपर कानुनी कारवाही भएको छैन।

घरेलु कार्यालय धनुषामा गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ८ ले उक्त क्रसर उद्योगबाट विद्यालय र बस्तीको दुरी ५ सय मिटर भएको प्रमाणित गरेको छ। तर उच्च अदालत जनकपुरबाट खटिएको डोरले राष्ट्रिय प्राथमिक विद्यालय चितहादेखि क्रसरको सिधा दुरी ४२२.५ मिटर रहेको देखिएको कागजात पेस गरेको छ।

धनुषा जिल्ला अदालतका अमिन मनोजकुमार यादव, उच्च अदालत जनकपुरका शाखा अधिकृत दिनेश भुजेल, नायबसुब्बा सेवक वाग्ले, अमिन जगदीश महतो समेतले काम तामेल गरी उक्त विवरण ०७६ मंसिर २० गत्ते उच्च अदालतमा पेस गरेका थिए। उक्त क्रसर उद्योगलाई दर्ता अनुमति दिने विवरण नै झुटो बनाएको पाइएको छ। घरेलु कार्यालयले स्थानीय र विद्यालयको निवेदनलाई समेत बेवास्ता गरेर झुटो विवरणको भरमा संकटमोचनलाई अनुमति दिएको पाइएको छ।

२०७५ सालमा घरेलु तथा साना उद्योग कार्यालय धनुषाले गणेशमान चारनाथ नगरपालिका–८ स्थित राष्ट्रिय प्राथमिक विद्यालय चितहा, लवटोलीमा टाँसिएको संकटमोचन ढुंगा–रोडा उद्योग (क्रसर) लाई दर्ता अनुमति दियो।

विद्यालयको पश्चिमपट्टि घना बस्ती, लवटोली छ। क्रसर मेसिन चलेका बेला उद्योगको धुलोले बस्ती र विद्यालय परिसर कुइरिमण्डल भएपछि स्थानीय विरोधमा उत्रिएका थिए। क्रसरको चर्को आवाज विद्यार्थीको कानमा ठोक्किएर पठनपाठनमा निरन्तर असर गरेको भन्दै विद्यालय पक्षले घरेलुलाई पत्राचार गरेर निकास दिन भन्यो।

गाउँबस्ती र विद्यालयसँगैको सो क्षेत्रमा क्रसर उद्योग सञ्चालन नगर्न स्थानीय तथा विद्यालय पक्षले निरन्तर घरेलु गुहारिरहे। विद्यालयमार्फत गाउँका अगुवाहरू घरेलुको कार्यालयमा पुगेर असहमतिसहित निवेदन दर्ता गराए। तर घरेलुले सो क्रसर उद्योगलाई अनुमति दिएरै छाड्यो। ‘हामी छक्क पर्‍यौं, जनस्तर र विद्यालयबाट विरोध हुँदाहुँदै सो क्षेत्रमा क्रसर सञ्चालन अनुमति कसरी दिइयो,’ स्थानीय भगत महतो भन्छन्, ‘पछि त सबै खेल छताछुल्ल भयो।’ उद्योगसँग टाँसिएको पूर्वतर्फको ४ (ग) को ६ नम्बर कित्ताको जग्गाधनी भगतका बुबा रामलोचन महतो हुन्। ‘चारकिल्ला प्रमाणित गर्दा बुबा (रामलोचन) को किर्ते हस्ताक्षर गरेर प्रमाण पेस गरिएको रहेछ,’ रामलोचनका छोरा भगतले भने।

घरेलु तथा साना उद्योग कार्यालय धनुषाका तत्कालीन प्रमुख सञ्जीव द्विवेदीले भने सो उद्योगलाई कानुनी प्रावधान पूरा गरेर अनुमति दिएको दाबी गरे। संकटमोचन क्रसर उद्योग कमला नदीको पश्चिमी बाँधनजिकै छ। द्विवेदीले स्थानीयको गुहार टेरपुच्छर नलगाएपछि कानुन मिचेर सो क्रसर उद्योगलाई दर्ता अनुमति दिएको भन्दै स्थानीयले घरेलु तथा साना उद्योग कार्यालय धनुषासमेतलाई विपक्षी बनाएर उच्च अदालत जनकपुरमा रिट हाले।

०७६ पुस २२ गते उच्च अदालत जनकपुरले विपक्षीको नाममा आदेश गर्दै क्रसर उद्योगलाई तीन महिनाभित्र स्थानान्तरण हुन भन्यो। न्यायाधीश पुष्पराज कोइराला र रमेश ढकालको संयुक्त इजलासले विपक्षीको नाममा परमादेश गरेको हो।

अदालतको आदेशबाट यस ठाउँमा झुटो विवरण तयार पारेर कानुनविपरीत संकटमोचान क्रसर स्थापना गरिएको पुष्टि भएको निवेदक भगत महतोले बताए। ‘नगरपालिका तथा घरेलु साना उद्योग कार्यालयको मिलेमतोमा झुटो विवरण बनाएर अवैध ढंगबाट संकटमोचन ढुंगा–रोडा उद्योग (क्रसर) लाई दर्ता अनुमति दिएको प्रमाणित भइसक्दा पनि संलग्नउपर कारवाही नुहुनु दुर्भाग्य हो,’ महतोले भने।

दोषीउपर कारवाही त परको कुरा अदालतको आदेश समेत कार्यान्वयन हुन सकेको छैन। अदालतले क्रसरलाई स्थान्तरण गर्न तीन महिनाको समय तोकेको थियो। तर दुई वर्ष नाघिसक्दा पनि क्रसर सोही ठाउँमा सञ्चालनमा छ। आदेश कार्यान्वयन नभएपछि महतोले पुनः अदालतको ढोका ढकढक्याए। उनले पुनः उच्च अदालतमा रिट निवेदन दर्ता गराए। र, अदालतले आदेश कार्यान्वयनका लागि गणेशमान चारनाथ नगरपालिका र घरेलु तथा सना उद्योग कार्यालय धनुषालाई आदेश जारि गर्‍यो। ०७८ वैशाख २५ गते आदेश जारी भएपछि वैशाख २७ गते सोको जानकारी पत्रसहित नगरपालिकामा बुझाएको निवेदक महतोले बताए।

अदालतले नगरपालिकालाई प्रशासनको सहयोग लिएर आदेश कार्यान्वयन गराउन भनेको गणेशमान चारनाथ नगरपालिकाका निमित्त प्रमुख लखनदेव यादवले बताए। नगरपलिका क्रसर सञ्चालकलाई पत्र लेख्ने तयारीमा रहेको उनले बताए।

कानुन कार्यान्वयन हुँदैन

सिरहाको धनगढीमाई नगरपालिका पछिल्लो समय क्रसर उद्योग र अवैध उत्खननका लागि उर्वर भूमि नै बनेको छ। सिरहामा सबैभन्दा बढी क्रसर उद्योग यसै नगरपालिकामा छ। र, सबैभन्दा बढी अवैध उत्खन्न पनि यसै नगरपालिकामा छ। यी उद्योगहरू सञ्चालनको स्रोत(ढुंगा) चुरे क्षेत्र हो। क्रसरको दर्ता अनुमति सिफारिसदेखि सञ्चालन र स्रोतको बन्दोबस्त नगरपालिकाकै संरक्षणमा हुँदै आएको छ।

चुरे दोहनको दुष्परिणामको मूल्यांकन गरेर सरकारले २०६६ सालपछि पटक–पटक ढुंगागिट्टी निकाल्ने मापदण्ड तोक्दै आएको छ। तर ती कार्यान्वयन भएनन्। क्रसर उद्योग चलाउने र तिनका संरक्षक सरकारभन्दा बलिया भए।

चुरेको अत्यधिक दोहनबाट वातावरण तथा जनजीवनमा परेको असर देखेर तत्कालीन राष्ट्रपति रामवरण यादवले चुरे दोहन रोक्ने कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरे। प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारमा वनमन्त्री रहेका महेश आचार्यको अगुवाइमा राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति गठन भयो।

यसले पूर्वदेखि पश्चिमसम्म फैलिएको चुरे क्षेत्रको अनधिकृत दोहन रोक्न विभिन्न मापदण्ड निर्धारण गर्‍यो। चुरे क्षेत्रबाट ढुंगागिटी उत्खनन गर्न बन्देज र निकासीमा रोक लगायो। क्रसर उद्योगलाई चुरेको फेदी, मानवबस्ती, नदी, राष्ट्रिय राजमार्ग, विद्युत् प्रसारण लाइनबाट पाँच सय मिटरदेखि दुई किलोमिटरसम्म टाढा सार्ने गरी मापदण्ड लागू गर्‍यो।

यस मापदण्डले क्रसरलाई चुरेबाट तल त झार्‍यो। तर पछिल्लो समय यी क्रसरहरू नदी किनारमा कब्जा जमाएर सञ्चालन भइरहेका छन्। नदी किनारमा क्रसर राख्दा ढुंगागिटी खोस्रन सजिलो हुन्छ। कम लागतमै धेरै कमाइ गर्न सकिन्छ।

नाफामूलक उद्देश्य राख्ने निजी क्षेत्र स्वाभाविक रूपले त्यस्तो ठाउँमा मात्र लगानी गर्न इच्छुक हुन्छ, जहाँ उसले लाभको ग्यारेन्टी देख्छ। सडक र बिजुली पुगेको तथा भारतीय बजार नजिकै रहेको चुरे क्षेत्र नै क्रसर डनको नजरमा पर्ने गरेको पाइन्छ।
अर्को समाचार
तीन दिनयता अवरुद्ध टिफर सहमतिपछि सञ्चालन
०८ वैशाख २०८१
•
२ मिनेट पाठ
तीन दिनयता अवरुद्ध टिफर सहमतिपछि सञ्चालन
टिफर आवागमनमा रोक लगाउँदै स्थानीय। तस्बिर : नागरिक
विगत तीन दिनयता अवरुद्ध मारुती सिमेन्ट उद्योगका टिफर शुक्रबारदेखि सुचारु भएको छ। कटारी नगरपालिका ४ गबुवाका स्थानीयबासीसँग उद्योगको सहमतिपछि शुक्रबारदेखि टिफर सुचारु भएको हो।




गत ४ गतेदेखि विभिन्न माग राख्दै गबुवाबासी टिफर सञ्चालनमा रोक लगाएका थिए। टिफरका कारण स्थानीय ककरु खोलाको उचाइ बढ्दै गएर तटबाँधभन्दा अग्लो हुन पुगेकाले सिंगो गबुवा गाउँ जोखिममा परेको, धुलो धुवाँले प्रदूषण बढेकोलगायत समस्या देखाउँदै स्थानीयले सो बाटो भएर टिफर सञ्चालनमा रोक लगाएका थिए। स्थानीयको अवरोधपछि उद्योगका लागि चुनढुङ्गा ओसार्ने टिफरहरू पूर्णतः बन्द भएका थिए।

टिफर अवरुद्ध भएपछि उद्योगलाई चाहिने चुनढुंगा ढुवानी रोकिएसँगै दुई पक्षबीच छलफल सुरु भएको थियो। मारुती सिमेन्टका लागि सिन्धुलीको ककरुखोला र उदयपुरकै कटारी नगरपालिका ८ पट्नाभञ्ज्याङदेखि आवश्यक चुनढुङ्गा ढुवानी हुँदै आएको छ। ढुवानीकर्ता कम्पनी ओम शिवम मल्टिपर्पाेज र कसमस सिमेन्टका प्रतिनिधिसमेतसँग भएको छलफलबाट सहमति गरी टिफर सुचारु भएको हो।

छलफलका लागि बिहीबार स्थानीय अमृतबहादुर मगरको संयोजकत्वमा गठित समितिले उद्योग प्रतिनिधि र ढुवानीकर्ता कम्पनीसँग गबुवामा बहुपक्षीय छलफल भएको थियो।
 छलफलको क्रममा मारुती र कसमस सिमेन्ट उद्योगले ८० घण्टासम्म जेसिवी चलाएर ककरु खोलाको तटबन्धन्ध निर्माण गरिदिने सहमति भएको छ।

त्यस्तै तटबन्ध बाँध्दा आवश्यक पर्ने तारजालीबारे आगामी बैठकमा यकिन गरी निर्णय गर्ने तथा दुवै उद्योगको तर्फबाट हरेक दिन एकएक ट्याङ्कर पानी छर्किएर धुलो मार्ने प्रतिबद्धता जनाएपछि टिफर सुचारु गर्न स्थानीय राजी भएका हुन्।

गबुवाका स्थानीयले आफुहरू पीडित भएको भन्दै अनिश्चितकालीन टिफर सञ्चालनमा रोक लगाएका थिए। टिफर अवरुद्ध भएपछि नगरपालिकाले उद्योग र स्थानीयलाई सँगै राखेर छलफल गराइरहेको थियो।

स्थानीय राजनीतिक दल, प्रहरी प्रशासन र सरोकारवाला व्यक्तिसँग चलाइएको छलफलमा उद्योग र स्थानीयबीच सहमति जुटेपछि टिफर सुचारु भएको नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए।

प्रदुषण नियन्त्रणको प्रयास गर्ने, होचिदै गएको ककुर खोलाको बाँध मर्मत गरिदिनेलगायत सहयोग गर्न उद्योग राजी भएपछि हाललाई टिफर सुचारु गर्न स्थानीय राजी भएका हुन्।
बाँध मर्मतका लागि आवश्यक तारजालीको परिमाण यकिन गर्न बाँकी रहेकाले मेयर श्रेष्ठकै उपस्थितिमा समाधान निकाल्ने गरी अर्को बैठक राख्ने सहमति पनि दुई पक्षबीच भएको छ।

स्थानीय कोपिला सामुदायिक वन समूहको जङ्गल क्षेत्र भएर आउजाउ गर्ने टिफरका कारण गबुवाबासीलाई प्रदूषणको मार खेप्नुपरेको तथा पूरै गाउँ बकुर खोला बाढीको जोखिममा पर्दै गएकाले स्थानीय आन्दोलित बन्न पुगेका हुन्।

निकट भविष्यमै समस्याको दीर्घकालीन समाधानको उपाय खोज्नुपर्ने हुनाले नगर प्रमुख श्रेष्ठसहितको सहभागितामा अर्को चरणमा निर्णायक छलफल गर्ने सहमति पनि दुई पक्षबीच भएको वन समूहका अध्यक्ष दीपक राईले बताएका छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस