पुनर्वास कञ्चनपुरका कल्लु राना यतिबेला धान रोपाइँ सकेर रासायनिक मलको खोजिमा छन् । कहिले कुनै सहकारी त कहिले कृषि सामग्री पाइने पसल धाउन थालेका छन् । रोपाइँ गरेकै दिन खेतमा हाल्नुपर्ने युरिया अहिलेसम्म उनले हाल्न सकेका छैनन् । ‘धान रोपेको १५ दिन वितिसक्यो, मल हाल्न पाएकै छैन,’ उनले भने,‘धान रोपेकै दिन हाल्नु पर्छ, तर अहिलेसम्म मल नपाउँदा खेतमा हाल्न सकेको छैन ।’ उनी मात्रै हैनन् अहिले सुदूरपश्चिमका आधा भन्दा बढी किसान मल अभावमा भौतारी रहेका छन् ।
सुदूरपश्चिम प्रदेशमा १ लाख ८१ हजार ६ सय ४ हेक्टर जमिनमा गरिने धान खेतीका लागि ८ हजार मेट्रिक टन युरिया, ६ हजार ५ सय मेट्रिक टन डिएपी आवश्यक पर्छ । तर, संघीय सरकार मातहत रहेको कृषि सामग्री लिमिटेड केन्द्रीय कार्यालय काठमाडौंले सुदूरपश्चिमका किसानका लागि युरिया ३ हजार ६ सय ३४ मेट्रिक टन उपलब्ध भएको छ । यति मल आउँदा पनि अझै सुदूरपश्चिममा ४ हजार ३ सय ६६ मेट्रिक टन युरिया अपूग छ । यस्तै यस वर्ष २ हजार ८ सय ८० मेट्रिक टन डिएपी आएको थियो ।
जसमध्ये अझै ३ हजार ६ सय २० मेट्रिक टन डिएपी सुदूरपश्चिमका किसानलाई अपूग रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले बताए । उनले भने,‘सुदूरपश्चिम प्रदेशका किसानलाई आवश्यक पर्ने मल भन्दा ५० प्रतिशत कम मल अपूग भएको छ ।’ संघीय सरकारबाट नै कोटा निर्धारण गरिएका कारण कोटा अनुसार नै सुदूरपश्चिममा मल आउने गरेको बताउँदै उनले भने,‘जति कोटा थियो त्यति नै हो मल आउने, तर यहाँ कोटा भन्दा ५० प्रतिशत बढी मल आवश्यक पर्छ ।’ आफूहरूले वार्षिक कार्य योजनामा हरेक वर्ष सुदूरपश्चिम प्रदेशका किसानलाई आवश्यक पर्ने परिणाममा मल उपलब्ध गराइदिन भन्दै पत्राचार गर्ने गरेको बताउँदै उनले भने, ‘तर केन्द्रबाट हामीले पठाएको परिणामको आधा गरेर कोटा निर्धारण गरी मल पठाइन्छ ।’
कृषि सामग्री कम्पनी लिमिटेड धनगढीले यहाँका सहकारीमार्फत् वितरण गर्ने मल पनि सहज रुपमा किसानले पाउन समस्या भएको अगुवा कृषक रमेश भाट बताउँछन् । ‘किसानलाई आवश्यक रासायनिक मल नै सरकारले पु¥याउन सकिरहेको छैन,’ उनले भने,‘यस्तो अवस्थामा कसरी कृषिमा क्रान्ति ल्याउन सकिन्छ ।’ सरकारी तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशमा किसानलाई चाहिने भन्दा ५० प्रतिशत कम परिणाममा मलको कोटा निर्धारण गर्नु र छुट्याइएको कोटाको मल पनि समयमा वितरण नहुँदा किसान मर्कामा पर्ने गरेको उनको भनाइ छ ।
सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेटमा कृषिलाई प्राथमिकता दिएर बजेट बढाएको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने भन्दै प्रदेश सरकारले मुख्यमन्त्री कृषि कार्यक्रम पनि ल्याएको छ । तर, किसानलाई चाहिने परिणाम भन्दा ५० प्रतिशत कम कोटा निर्धारण गरेर सुदूरपश्चिमलाई मल पठाउँदा कृषि क्षेत्रमा सोचेजस्तो उपलब्ध हात नपार्ने अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका सुदूरपश्चिम संयोजक टंक कोइराला बताउँछन् । ‘प्रदेश सरकारले कृषिमा क्रान्ति गर्ने भन्दै नयाँ नयाँ कार्यक्रम ल्याउँछ,’ उनले भने,‘तर, किसानलाई चाहिने मात्रामा मलको कोटा निर्धारण नगरी ५० प्रतिशत कम मल आयात गर्छ ।’
सुदूरपश्चिम प्रदेशलाई वार्षिक पाँच लाख ६१ हजार ७ सय ४५ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ, जसमध्ये चार लाख ९५ हजार ६ सय ८९ मेट्रिक टन अहिलेको उत्पादन रहेको छ । वार्षिक ६६ हजार ५६ मेट्रिक टन खाद्यान्न सुदूरपश्चिम प्रदेशले अन्य प्रदेशबाट आयात गर्नु परेको छ ।
आधुनिक कृषि प्रणाली, प्रविधिसँगै किसानले पर्याप्त मात्रामा रासायनिक मल पाउन सके कैलाली र कञ्चनपुरकै उत्पादनले सुदूरपश्चिम प्रदेशलाई पर्याप्त खाद्यान्न पुग्ने किसान नेता कोइराला बताउँछन् । ‘आधुनिक कृषि प्रणालीसँगै प्रविधि र यहाँका किसानलाई चाहिने मात्रामा रासायनिक मल पु¥याउन सके सुदूरपश्चिममा खाद्यान्न आयात हैन यहाँबाट निर्यात गराउन सकिन्छ,’ उनले भने ।
धान रोपाइँका लागि उपयुक्त मानिने वर्षातकाे समय असार १५ बितिसक्दा हिमाली जिल्ला म्याग्दीमा ४० प्रतिशत रोपाइँ भएको छ । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीको अधिकांश ठाउँमा रहेका खेतहरूमा धान रोपाइँ गरिएको हो । यसवर्ष समयमै मनसुन सुरु भएको हुँदा जिल्लाको अधिकांश ठाउँमा रोपाइँ भैरहेकाले हालसम्म जिल्लामा ४० प्रतिशतको हाराहारीमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
गएको हिउँदबाट नै पटकपटक हिमपात तथा वर्षा परिरहेको हुँदा यसवर्ष समयमै पर्याप्त मनसुनी वर्षा भएकाले पनि पहाडी क्षेत्रमा खेत रोपाइँ गर्न सहज भएको स्थानीय कृषकहरू बताउँछन् । गत वर्षको तुलनामा यसवर्ष समयमै मनसुन परेको हुँदा धान रोपाइँ गर्न कृषकलाई सहज हुनुका साथै धान उत्पादन समेत बढने कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोईरालाले बताए ।
‘माथिल्लो क्षेत्रसहित मकै खेती नगरिएको तल्लो क्षेत्रमा पनि धमाधम रोपाइँ भैरहेको छ,‘यसपटक धान खेतीको हेक्टर जमिन वृद्धि भएकाले उत्पादन बढ्छ’ उनले भने । कोरोना भाइरसका कारण यसपटक गाउँघरमा खेती किसानी गर्न युवा जनशक्ति भएकाले बाली लगाउन सहज हुनुका साथै उत्पादन बढने कृषि प्राविधिकहरूको भनाइ छ ।
जिल्लाको कुल खेतीयोग्य जमिन ३० हजार आठ सय ५६ हेक्टरमध्ये १९ हजार ४ सय ९८ हेक्टरमा मात्रै खेती गर्ने गरिएको छ भने तीन हजार आठ सय ९८ हेक्टरमा धान खेती हुँदै आएको छ । गत आर्थिक वर्षसम्म कुल खेतीयोग्य जमिनको करिब ११ प्रतिशत जमिनमा मात्रै सिँचाई सुविधा पुगेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । म्याग्दीको बेनी नगरपालिकासहित पाँचवटै गाउँपालिकामा धान खेतीको उत्पादन हुन्छ । म्याग्दीमा गौरिया, जेठोबुढो, छुम्रुङ, खुमल, गुडुरा, दर्माली, मार्सी, आङा, झिनुवा, ताकमारे, माछापुच्छ्रे–३, लुम्ले–२ जस्ता लोकल जातका स्थानीय धानहरू रोप्ने गरिन्छ ।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...