कुलमानले दिए स्पष्टीकरण: मलाई मन्त्रालयले सेवाबाट हटाउन मिल्दैन(पूर्ण पाठ)
१५ फागुन २०८१
•
११ मिनेट पाठ
कुलमानले दिए स्पष्टीकरण: मलाई मन्त्रालयले सेवाबाट हटाउन मिल्दैन(पूर्ण पाठ)
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई सरकारले सोधेको स्पष्टीकरणको जवाफ पेस गरेका छन्। मङ्गलवार ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले कुलमानसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो। जसको बिहीबार उनले जवाफ पेस गरेका हुन्। 




कुलमानलाई सोधिएको स्पष्टीकरणमा पहिलो विषय उनलाई पदबाट किन नहटाउने भन्ने प्रश्न थियो। जुन उनलाई मन्त्रालयले दोस्रो पटक सोधेको थियो। 

यस्तै दोस्रो विषय उनको भ्रमण, काजसँग सम्बन्धित थियो। 

पदबाट किन नहटाउने भन्ने प्रश्नको उत्तरमा उनले ६ बुँदामा उत्तर फर्काएका छन्। पहिलो बुँदामा उनले आफूलाई पदबाट हटाउने अधिकार मन्त्रालयसँग नरहेको भन्ने आशयसहित दिएका छन्।  

यस्तै दोस्रो बुँदामा आफूलाई कसुर यकिन नगरी गोश्वारा आरोपमा कारबाही गर्न नमिल्ने दाबी गरेका छन्। 

तेस्रो बुँदामा आफ्नो पहिलो स्पष्टीकरण के कति कारणले चित्तबुझ्दो नभएको हो, त्यसको कारण थाहा नभई प्रतिवादको मौका नै नरहेको उल्लेख गरेका छन्। 

चौथो बुँदामा उनले आफूमाथि लगाइएका आरोप मनोगत रहेको दाबी गर्दै स्पष्टीकरण नै कानुन र न्यायको मान्य सिद्धान्त प्रतिकुल रहेको उल्लेख गरेका छन्। 

पाँचौँ बुँदामा कुलमानले स्पष्टीकरण २४ घण्टाभित्र पेस गर्नुपर्ने जरुर पना र तत्कालै कारबाही गर्नुपर्ने अवस्था विद्यमान नै नभएको दलिल पेस गर्दै आफूलाई प्रतिवाद गर्ने उचित मौका र पर्याप्त समय नदिएको दाबी गरेका छन्। 

छैटौँ बुँदामा उनले आफ्नो कार्यसम्पादन मूल्याङ्कन मन्त्रालयकै अभिलेखमा रहेको भन्दै पछिल्लो कार्यसम्पादनको मूल्याङ्कन नै नगरी स्पष्टीकरण माग गर्नु अपरिपक्व र अनुचित रहेको दाबी गरेका छन्। यस्तै पुस २८ गते पेस गरेको स्पष्टीकरण डेढ महिनासम्म कारबाही नगरी अहिले २४ घण्टे स्पष्टीकरण सोध्नु गम्भीर त्रुटिपूर्ण रहेको भन्दै पूर्वाग्रह प्रेरित रहेकाले त्यस्तो स्पष्टीकरणका आधारमा आफूलाई सेवाबाट हटाउन नमिल्ने अर्को दाबी गरेका छन्।

यस्तै स्पष्टीकरणको अर्को प्रश्न(अन्य विषय)मा दुई वटा बुँदामा लामो जवाफ दिएका छन्। 

जसमा ११ फेब्रुअरी २०२५ मा भारतको नयाँ दिल्लीमा ज्वाइन्ट स्टेरिङ कमिटीको बैठकमा सहभागिताको विषय उल्लेख छ। 

यस्ताे छ कुलमानकाे जवाफ

श्री ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय,

सिँहदरवार, काठमाडौं।

विषयः स्पष्‍टिकरण बारे।

तहाँको मिति २०८१।११।१३ को च.नं. ५६४, को माननीय मन्त्री स्तरीय निर्णयानुसार सोही मितिको पत्रद्वारा निम्नानुसार दुइवटा विषयमा स्पष्‍टिकरण माग गरिएको देखिन्छ।  

क) पदबाट हटाउने विषय (दोस्रो पटक स्पष्‍टिकरण),

ख) अन्य विषय (पहिलो पटक स्पष्‍टिकरण)।

(क) पदबाट हटाउने विषय (दोस्रो पटक स्पष्‍टिकरण)ः उपरोक्त विषयहरु मध्ये अद्योहस्ताक्षरीको सेवा सम्बन्धी विषयमा पहिले पेश भएको स्पष्‍टिकरण बस्तुनिष्‍ठ र सन्तोषजनक नभएको भन्‍ने सम्बन्धमा निम्नानुसार व्यहोरा अनुरोध छः

१.  म नेपाल सर‌कार मन्त्रीपरिषदको मिति २०७८।०४।२५ को निर्णायानुसार नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ कोदफा १७ (१) बमोजिम ४ वर्षको निम्ति नियुक्त भएको हुँ। निवेदकलाइ सेवाबाट हटाउने विषयमा स्पष्‍टिकरण सोध्‍ने र कारवाही गर्ने अधिकार कानून व्याख्‍या सम्बन्धी ऐन,  २०१० को दफा १६  नेपाल सरकारको कार्य सञ्‍चालन नियमावली, २०६४ काे  नियम २१ (अनुसूची १ को क्र.स. ३३) र नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रवन्धकको सेवा शर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ को विनियम २४ बमोजिम मन्त्रालयलाइ नभएको व्यहोरा पुनः निवेदन गर्दछु।

२. क्षेत्राधिकारको उक्त बुँदाको अतिरिक्त नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रवन्धकको सेवा शर्त तथा सुविधा सम्वन्धी विनियमावली, २०६१ को विनियम २२ मा उल्लिखित अवस्थामध्ये कुन आरोपमा कारवाही गर्न लागिएको हो ? तहाँबाट कसुर नै एकिन नभएको स्पष्‍टिकरणबाटै प्रकट भएको छ। स्पष्‍टिकरणमा कसुर एकिन नगरी गोश्‍वरा आरोपमा कारवाही गर्न मिल्दैन।

३.  मेरो पूर्व स्पष्‍टिकरण के कति कारणले चित्तबुझ्दो भएन ? स्पष्‍टिकरणमा आधार र कारण खुलेको छैन।आधार र कारणको अभावमा थप पुष्ट्याइ पेश गर्ने अवस्था भएन। आधार र कारणको अभावमा उचित प्रतिवादको मौका रहेन।

४. म उपर लगाइएका सबै आरोपहरु मनोगत हुन। मेरो नियुक्तिपश्‍चातको प्रगतिको सूचकांकले सबै प्रगति उजागर गर्दछ। तसर्थ आत्मगत रुपमा जवाफ चित्तबुझ्दो नभएको भनी पुनः स्पष्‍टिकरण माग गरिएको कानून र न्यायको मान्य सिद्धान्त प्रतिकुल छ।

५. स्पष्‍टिकरण २४ घण्टा भित्र पेश गर्नुपर्ने जरुरपना र तत्कालै कारवाही गर्नुपर्ने अवस्था विद्यमान नभएको कुरा स्पष्‍टिकरणमा उल्लिखित विषयबाट प्रष्‍ट हुन्छ।तसर्थ स्पष्‍टिकरण माग गर्दा प्रतिवाद गर्ने उचित र पर्याप्‍त समय नदिर्इएको समेत प्राकृतिक न्यायको मान्य सिद्धान्त प्रतिकुल छ।

६. मेरो विगत दुइ आ. व. को कार्यसम्पादन मूल्याङ्कन भएको व्यहोरा तहाँको अभिलेखमा रहेको छ। तहाँ समक्ष पेश गरेको आ. व. २०८०।८१ को कार्यसम्पादनको मूल्याङ्कन नै नगरी स्पष्‍टिकरण माग गरिएको विषय आफैमा अपरिपक्व र अनुचित छ। मिति २०८१।९।२८ मा पेश गरेको स्पष्‍टिकरणको सम्बन्धमा लगभग डेढ महिनासम्म कुनै कारवाही नगरी अचानक चौविस घण्टाको अवधि दिइ स्पष्‍टिकरण माग गरिएको कार्य प्रकृयागतरुपमा गम्भिर त्रुटीपूर्ण, अनाधिकारयुक्त एवम् पूर्वाग्रह प्रेरित रहेकोले त्यस्तो स्पष्‍टिकरणको आधारमा सेवाबाट हटाउन नमिल्ने व्यहोरा प्रष्‍ट गर्दछु।

(ख) अन्य विषय (पहिलोपटक स्पष्‍टिकरण) अन्य विषयमा पहिलो पटक स्पष्‍टिकरण मागिएको सम्बन्धमा निम्नानुसार व्यहोरा प्रष्ट्याउँदछुः  

१)  बुँदा नंं.  १ को सन्दर्भमाः ११ फेब्रुअरी, २०२५ मा नयाँ दिल्ली भारतमा आयोजना भएको Joint Steering Committee (JSC) को बैठकमा सहभागी हुन तहाँ मन्त्रालयको च.नं. १००७ मिति २०८१।१०।२३ को पत्रबाट प्राधिकरणको कार्यकारी निर्देशक समेतलाइ मनोनयन गरिएको थियो। सो बैठकमा सहभागी भइ सोको भोलिपल्ट अर्थात पूर्व निर्धारित १२ फेब्रुअरी २०२५ का दिन द्विपक्षीय विद्युत विनिमय समितिको बैठकमा विगतदेखि (प्रथम बैठक नोभेम्बर ५, १९९२ मा सम्पन्‍न) को अभ्यास बमोजिम सहभागी भएको व्यहोरा अनुरोध छ। उक्त बैठक ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, नेपाल विद्युत प्राधिकरण र भारतको केन्द्रीय विद्युत प्राधिकरण (Central Electricity Authority) बीच छलफल भइ तय भएको थियो।  

उक्त समितिको बैठक भारतको केन्द्रीय विद्युत प्राधिकरणको सदस्य र नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको सहअध्यक्षतामा बस्ने व्यवस्था रहेको छ। सोहि बमोजिम बसेको बैठकबाट सन् २०२५ को अप्रिलबाट २०२६ को मार्च सम्मका लागि १३२, ३३ र ११ केभी. प्रसारण लाइनमार्फत आदान प्रदान गरिने विद्युतको प्रतियुनिट दर तय गरिएको थियो।विगतका वर्षहरुमा औसत रुपमा ५.५ प्रतिशत मूल्यबृद्धि हुने गरेकोमा यस वर्षको बैठक सन् २०२४ अप्रिलदेखि २०२५ मार्चसम्मका लागि तय गरिएको दरमा १.५ प्रतिशत मात्र बृद्धि हुने व्यवस्था गरिएको छ। हाल तय गरिएको दर अहिलेसम्मकै सबैभन्दा कम बृद्धि भएको दर हो।आवश्यक परेमा मात्र यस सम्झौता बमोजिम सुखायामका महिनाहरुमा मुख्यरुपमा साँझ ४ बजेदेखि राति ९ बजेसम्म, र भारतीय इनर्जी एक्सचेन्जबाट प्रतिस्पर्धा गरी विद्युत आयात स्वीकृति नभएको अवधिमा मात्र आयात गरिने छ। हाल तय गरिएको नयाँ दर भारतीय इनर्जी एक्सचेन्जमा पिक समयमा पर्ने करिब प्रति युनिट १० रुपैयाँ भा.रु. भन्दा सस्तो रहेको छ। आवश्यकता अनुसार विद्युत आयात गर्नुपर्दा मात्र उक्त दर तिर्नु पर्नेछ। विद्युत आयात नगरेकोअवस्थामा तय गरिएको दर या अन्य कुनै जरिवाना तिर्नु पर्ने र लिनैपर्ने बाध्यकारी व्यवस्था गरिएको छैन।

विगतमा भएगरेका प्रचलन तथा अभ्यास बमोजिम ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा बैठकका एजेण्डाका विषयमा छलफल गरिएको थियो। नेपाल–भारत सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक अघिल्लो दिन र विद्युत आदान– प्रदान समितिको बैठक भोलिपल्ट राख्न दुवै पक्षबीच सहमति भएको थियो। सोही बमोजिम तय गरिएको नेपाल तथा भारतका सम्बद्ध अधिकारीहरु सम्मिलित उक्त समितिको बैठकमा तहाँ मन्त्रालयकै प्रतिनिधि उपसचिव श्री सञ्‍जिव राय र दिल्ली स्थित नेपाल राजदुताबासको प्रथम सचिव श्री बिजय राज तन्डुकारसमेतको सहभागिता रहेकोथियो। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री माननीय श्री दीपक खड्का र सचिव श्री सुरेश आचार्य सोही समयमा भारत भ्रमणमा रहेकोबेला दुवै जनासँग छलफल गरी नयाँ दर तय गर्ने विषयमा म्याण्डेट लिईएको थियो। विगतका वर्षहरुमा पनि यसरी नै दर कायम गर्ने प्रचलन तथा अभ्यास रहेको थियो।  

उक्त दर नेपाल विद्युत प्राधिकरण सञ्‍चालक समितिबाट अनुमोदन र विद्युत नियमन आयोगबाट स्वीकृति प्राप्‍त भएपछि मात्र लागू हुनेछ। यसबारेमा निर्णय गर्न दुवै निकाय सक्षम छन्। सञ्‍चालक समिति र नियमन आयोगबाट स्वीकृत भए पश्‍चात अप्रिल २०२५ देखि मात्र तय गरिएको नयाँ दर लागू हुनेछ। सदस्य सचिव तहबाट सञ्‍चालक समितिको बैठक बस्न पत्राचार गरेको अवस्थामा समेत लामो समयदेखि बैठक बस्न नसकेको कारणले प्रस्तुत विषय सञ्‍चालक समितिमा प्रस्ताव पेश हुन सकेको छैन। यदि सञ्‍चालक समिति र नियमन आयोगबाट स्वीकृत नभएमा विद्युत आदान प्रदान सम्झौता बमोजिमको विद्युत आयात नहुने पनि प्रष्‍ट पार्न चाहन्छु।  

नेपालमा विद्युतको उच्चतम माग हुने समयको विद्युत मागरआपूर्ति व्यवस्थापन गर्न विगतदेखि नै यसप्रकारको सहमतिलाई मूर्तरुप दिर्इ कार्यान्वयन गरिएको हुँदा सो समेतलार्इ दृष्‍टिगत गरी हालसम्मको विद्युत आयातमा सबै भन्दा न्यून बृद्धि दरमा आयात गर्ने प्रबन्धलार्इ मन्त्रालयबाट स्वामित्व ग्रहण गर्नुपर्नेमा अनावश्यकरुपमा प्रश्‍न उठाउनेएवम् जिम्मेवार अधिकारीलाइ हतोत्साही गर्ने कार्य भएको हुँदा यस्तो कार्यबाट पर्न सक्ने दुरगामी प्रभाव र द्विपक्षीय सम्बन्धमा पर्न सक्ने असरसमेतलार्इ विचार गरेर मात्र प्रश्‍न उठाउने कार्य गर्न गराउनु हुन अनुरोध छ।

२. बुँदा नं २ को सन्दर्भमाः विद्युतको उत्पादन, प्रसारण र वितरणलाइ नियमित र भरपर्दो रुपमा सञ्‍चालन गर्नका लागि मुलुकभर यससँग सम्बन्धित प्राधिकरणका सहायक कम्पनी तथा आयोजना र विभिन्‍न कार्यालयहरुमाआइपर्ने समस्या निरुपणका लागि आवश्यकतानुसार सम्बन्धित क्षेत्रमा स्थलगत भ्रमण गर्नुपर्ने हुन्छ।

यस्तो अवस्थामा माननीय ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीज्यूलाइ जानकारी गराइ कतिपय अवस्थामा मन्त्रीज्यूसँग सँगै र कतिपय अवस्थामा म (कार्यकारी निर्देशक) मात्र भ्रमणमा गइ विद्युत उत्पादन, प्रसारण र वितरणसँग सम्बन्धित समस्या निरुपण गरी तुरुन्त कार्यालयमा फर्केको अवस्था छ।त्यसमध्ये पनि मैले अधिकांश समय सार्वजनिक विदाका दिनको उपयोग गर्दै प्राधिकरणका विभिन्‍न कार्यालय, आयोजना तथा सहायक कम्पनीहरुको निरिक्षण, अनुगमन तथा कुनै समस्या भए त्यस्तो समस्या समाधानका लागि स्थलगत भ्रमणमा गएको छु। २०८१ श्रावणदेखि २०८१ फागुन १३ गतेसम्म करिव १४ पटक स्वदेश तथा २ पटक भारत भ्रमणमा गएकोमा सो मध्ये माननीय मन्त्रीज्यूसँग संगै  ४ पटक (मिति २०८१।५।१२ मा मध्य भोटेकोशी जलविद्युत कम्पनीको साइट कार्यालय, मिति २०८१।०५।२४ मा संखुवासभा, मिति २०८१।०६।१०मा सुस्ता र मिति २०८१।०७।०३ मा माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको साइट कार्यालय) काजमा गएको र सो बाहेक अन्य दिन एक्लै पनि गएको अवस्था छ।

२०८१ साल भाद्र र असोज महिनाको भ्रमण गर्दाको हकमा माननीय मन्त्रीज्यूबाट भ्रमण आदेश स्वीकृत भएको तर त्यसपछिका दिनहरुमा पूर्व जानकारी गराइ भ्रमणमा गइ फर्केकोमा सो अवधिको भ्रमण आदेश स्वीकृतिको लागि विधिवत पेश भएकोमा हालसम्म पूर्व अभ्यास बमोजिम निकासा दिइएको छैन। यसबाट मलाइ स्पष्‍टिकरण सोध्नकै लागि उक्त भ्रमण आदेश स्वीकृत नगरिएको प्रस्तुत स्पष्‍टिकरणबाट प्रकट भएको छ।

बाढी र पहिरोले क्षतिग्रस्त अपर तामाकोशी जलविद्युत आयोजना, कावेली करिडोर प्रसारण लाइन र केही वितरण लाइन तत्काल सञ्‍चालनमा ल्याउन साइटमै गएर मैले गरेको कार्य संस्था र राष्‍ट्रको हितमा रहेको छ। अर्वौको थप घाटा हुनबाट बचाइ देशमा लोडसेडिङ्ग हुने सम्भावनालाइ समाधान गर्नकालागि सम्बद्ध क्षेत्रमा उपस्थित हुन आवश्यक थियो र कार्यक्षेत्रमा उपस्थित भइ देखापरेको समस्या समाधान गर्न गरिएको निर्णयले तत्कालै समस्या समाधान भएको थियो। अवरुद्ध विद्युत प्रणालीलाइ सुचारु गर्ने र सम्भावित लोडसेडिङ्गको जोखिम अन्त्य गर्नका निम्ती गरिएको कार्य संस्थागत हितमा भएको प्रमाणित हुँदा हुँदै यस प्रकारको कार्यलाइ प्रोत्साहन गर्नुपर्नेमा कारवाहीको विषय बनाउँदा कर्तव्यनिष्ठ कर्मचारी दुखित हुनुपरेको छ।

विद्युत जस्तो अत्यावश्यक सेवा सञ्‍चालन गर्ने दायित्व बोकेको प्राधिकरणको कार्यकारी निर्देशकले विधिसम्मत रुपमा उल्लेखित लक्ष्य र प्रगति हासिल गरिरहेकै अवस्थामा सो कार्यलाइ थप टेवा र मद्दत पुग्नेगरी तहाँ मन्त्रालयबाट आवश्यक सहयोग, समर्थन, प्रोत्साहन र हौसला प्रदान गर्नुपर्नेमा उल्टै अति गौण र स–साना विषय उठान गरी असजिलो पारी मानमर्दन र हतोत्साही गराउने गरी पटक पटक स्पष्‍टिकरण सोध्ने जस्तो कार्य गरिएको अवस्था हुँदा यसबाट राज्यको हित र समृद्धिका लागि राज्यले प्रदान गरेको पदिय दायित्व, हैसियत, जिम्मेवारी, भूमिका र स्रोत साधन एवम् समयको अवमूल्यन हुने गरी कार्य भइरहेकोले यस प्रकारका दुःख र हैरानी दिने कार्य नगर्न नगराउन अनुरोध छ।

नेपाल सरकार मन्त्रिपरिषदको निर्णयले नेपालको ऊर्जा क्षेत्रको दिगो विकासको लागि विद्युत प्राधिकरणको नेतृत्व प्राप्‍त गरी राष्‍ट्र विकासमा योगदान गर्न दिर्इएको जिम्मेवारीबाट अनुप्राणित भइ कार्य गरिआएको छु। यस अवस्थामा मलाइ हतोत्साहित गराउने उद्देश्यले श्रृङ्खलाबद्ध स्पष्‍टिकरण, विवरण एवम् कागजात माग गर्ने, गर्नलगाउने लगायतका क्रियाकलापहरु भइरहेता पनि त्यस्ता क्रियाकलापहरुबाट किन्चित् विचलित नभइ नेपाल सरकारले दिएको जिम्मेबारी अत्यन्‍त लगन र निष्‍ठाका साथ पुरा गरी रहेको छु। विविध प्रतिकुलता, असहयोग र अवरोधका बाबजुद प्रचलित कानून र पदीय  जिम्मेवारी भित्र रही विवेकसम्मत र निष्‍ठापूर्वक कर्तव्य पूरा गरिआएको छु। प्राधिकरणको कार्यकारी निर्देशकको पदमा रहेसम्म राष्‍ट्र, जनता र प्राधिकरणको हितलाइ सर्वपरी ठानी प्रचलित विधि र स्थापित मूल्य मान्यतासमेतका आधारमा कार्य गरिरहने प्रतिबद्धता व्यक्त गर्दछु।

कुलमान घिसिङ

कार्यकारी निर्देशक
अर्को समाचार
बहराइनबाट कुलमानका तीन सन्देश: साथ दिनुस्, अगाडि बढ्न तयार छु
२२ असार २०८२
•
४ मिनेट पाठ
बहराइनबाट कुलमानका तीन सन्देश: साथ दिनुस्, अगाडि बढ्न तयार छु
नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ अहिले बहराइनको भ्रमणमा छन्। ‘उज्यालो नेपाल' अभियान लिएर गत असार १७ गते बहराइनतर्फ लागेका घिसिङलाई त्यहाँस्थित नेपाली समुदायले संयुक्त अभिनन्दन गरेको छ।




गत २०८१ चैत ११ गते कार्यकाल सकिनु चार महिनाअगावै सरकारले बर्खास्त गरेपछि राजनीतिमा आउने छनक दिइरहेका घिसिङले बहराइन पुगेर ‘जनताको साथ’ खोजेका छन्। उनले साथ पाए आफू अगाडि बढ्ने बताएका छन्।

खासगरी विदेशी भूमिमा कार्यरत नेपाली युवा र त्यहाँस्थित नेपाली समुदायलाई लक्षित गरेर भ्रमणमा निस्केका घिसिङ दुबई, कतारलगायतका देश पनि पुग्दैछन्। ती देशहरूमा पनि उनले एवम्-रीतले नेपाली युवा र त्यहाँस्थित नेपाली समुदायसँगै अन्तर्क्रिया गर्नेछन्। यता नेपालमा विभिन्न पार्टी तथा मोर्चाबाट आउँदो उपनिर्वाचनमा रुपन्देही-३ मा उम्मेदवार बन्ने चर्चा चलिरहँदा घिसिङ भने डायस्पोराकेन्द्रित छन्। उनले आफ्ना कुरा राख्ने र उनीहरूलाई पनि सुन्ने गरिरहेका छन्।

यसैबीच बहराइनमा उनलाई नेपाली समुदायले संयुक्त अभिनन्दन गरेको छ। अभिनन्दनपछि आफ्ना कुरा राख्दै ‘उज्यालो नेपाल’ अभियानमा सरिक हुनका लागि आह्वानसमेत गरेका छन्। आफ्नो कुरा राख्ने क्रममा उनले मुख्यत: तीन विषय भनेका छन्।

पहिलो- सम्मान गर्नुपर्ने व्यक्तिलाई अपमान

घिसिङले नेपालमा सम्मान गर्नुपर्ने व्यक्तिलाई अपमान गर्नुपर्छ भन्ने भाष्य सृजना हुँदै गएको औँल्याएका छन्। आफ्नो धारणा राख्ने क्रममा उनले भनेका छन्, ‘वास्तवमा नेपालमा जसलाई सम्मान गर्नुपर्ने हो, त्यसलाई सम्मान गरिँदैन। जसलाई कारबाही गर्नुपर्ने हो, त्यसको सम्मान हुन्छ भन्ने एउटा भाष्य क्रियट हुँदै गयो भने कसरी नेपाल बन्छ, कसरी नेपाली युवाहरू देशभित्र रहन्छन् ?'

उनले देशभित्र केही हुन्छ, केही आस जगाउँछौँ भनेर केही युवाहरू राजनीतिमा आएको पनि बताएका छन्। 'केही आत्मविश्वास जनाउँछौँ भनेर केही युवाहरू राजनीतिक क्षेत्रमा पनि आएको देखिन्छ। बालेनजी, हर्क साम्पाङ, गोपाल हमाललगायत केही आस जगाएर आउनुभयो। उहाँहरूले पनि केही समस्याहरू बेहोरिरहनुभएको छ, तपाईंहरूलाई जानकारी छ। रविजी पार्टी नै खोलेर आउनुभयो, उहाँहरूका समस्याहरू पनि तपाईं आम दाजुभाइ-दिदीबहिनीहरूलाई थाहा भएकै कुरा हो। मैले यसमा धेरै कुरा गर्न चाहन्नँ तर, जति पनि आस, सम्मान र आत्मबललाई अगाडि बढाउनुपर्ने विषयहरूमा राज्यले कतिको महत्त्व दिएको छ भन्ने विषयले हामी दाजुभाइ दिदीबहिनीहरू देशभित्र रहने कि नरहने भन्ने विषय छ,’ उनले भनेका छन्।

संयुक्त अभिनन्दनका क्रममा कुलमान घिसिङ।
त्यसो त घिसिङ सरकारको बर्खास्तीमा परेका हुन्। नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको कार्यकाल सकिनु चार महिना मात्रै बाँकी रहँदा सरकारले उनलाई गत २०८१ चैत्र ११ गते पदबाट बर्खास्त गर्‍यो। उनले यही विषय उधिन्दै यो विषय बोलेका हुन्।

‘विद्युत् प्राधिकरणबाट निस्कनु ४ महिना हुँदा मलाई निकाल्नुपर्ने बाध्यता के पर्‍यो ? आज जनताले सोधिरहनुभएको छ, म पनि सोधिरहेको छु। म निस्किनेबित्तिकै विद्युत् प्राधिकरण त घाटामै थियो, यो त फेब्रिकेटेड नाफाको बनाइएछ, जति पनि डेटा छन्, त्यो त म्यानिपुलेटेड डेटा रहेछन् भनेर जुनखाले मेसेज बाहिर पठाउन खोजियो, त्यो राम्रो थिएन,’ उनले भने।

उनले आफूले प्राधिकरणबाट सम्मानपूर्वक बहिर्गमनको अपेक्षा राखेको पनि बताए। ‘राज्यले एउटा सम्मानपूर्वक बिदाइ गर्छ जस्तो लागेको थियो तर, ४ महिना हुँदा बर्खास्त गर्‍यो। ४ महिनाभन्दा अगाडि ९ महिनासम्म हरेक दिन, हरेक महिना स्पष्टीकरण सोधियो, किन राम्रो काम गर्‍यौ भनेर,’ उनले भने।

दोस्रो- नेपालको लिडरसीपले आशा जगाउनै सकेनन्

घिसिङले नेपालमा लिडरसीपले आशा जगाउनै नसकेको बताएका छन्। तर, यसबेला नेपालमा आशा, आत्मविश्वास लगाउने खाले लिडरसीपको आवश्यकता रहेको उनले औँल्याए। ‘अब नेपालको अभियान उज्यालो अभियान हुनुपर्छ। समृद्धिको अभियान, सामाजिक न्याय, सुशासन र डेलिभरीको अभियान हुनुपर्छ। कुरा मात्रै गरेर हुँदैन, रिजल्टमा दिनुपर्‍यो। अब सबैका लागि विश्वास, आत्मविश्वास आवश्यक छ। तर, नेपालका लिडरसीपले आशा जगाउनै सकेनन्। अब त्यस्तो लिडरसीपको आवश्यकता छ,’ उनले भनेका छन्।

कुलमान घिसिङ अभिनन्दन कार्यक्रमा सहभागीहरू।
अब आर्थिक क्रान्ति, सामाजिक न्याय, सुशासका र समृद्धिका लागि अभियान हुनुपर्ने उनले बताएका छन्। यो अभियानले मात्रै आशा, आत्मविश्वास र भरोसा जगाउन सक्ने भनाइ घिसिङको छ। त्यस्ता खाले लिडरसीपका लागि पनि अभियान अगाडि बढाउनुपर्ने जोड उनको थियो।

तेस्रो- साथ दिनुस्, अगाडि बढ्न तयार छु

घिसिङले आफ्नो अभियानलाई साथ दिनका लागि आह्वानसमेत गरेका छन्। उनले अभियानले आशा जगाउने बताएका छन्। ‘यो अर्थतन्त्र, सामाजिक जीवन र आत्मविश्वास जागृत गर्ने अभियान हो। यो भएन भने युवाहरूको पलायन रोकिँदैन,’ उनले भने।

आफ्नो कुरा राख्दै कुलमान घिसिङ।
उनले साथ पाए आफू अगाडि बढ्ने पनि बताए। त्यसका लागि अभियानमा जोडिनका लागि उनले आह्वान गरे। ‘उज्यालो अभियान लिएर अगाडि बढौँ, यो अभियान भनेको देशलाई उज्यालो बनउने, तपाईंको अनुहार उज्यालो बनाउने, हाम्रा बा-आमा, बालबच्चाहरूको अनुहार उज्यालो बनाउने अभियान हो, तपाईंहरू साथ दिनुस्, म अगडि बढ्न तयार छु,’ उनले प्रतिबद्धता जनाए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस