पर्यटन क्षेत्र अन्योलग्रस्त
१९ असोज २०८१
•
५ मिनेट पाठ
पर्यटन क्षेत्र अन्योलग्रस्त
पृथ्वी राजमार्गमा केहीदिन अघि पहिरोमा परेको पोखराबाट काठमाडौं जाँदै गरेको पर्यटक सवार बस। बसलाई पहिरोले क्षति गरेपनि यात्रु भने सुरक्षित थिए। तस्बिरः नागरिक
पोखरामा होटल बुकिङ गरेका विदेशी पाहुनाको एक समूह केहीदिन अघि काठमाडौंबाट बिहान ११ बजे हिँडे। सरासर आउन पाएको भए ती विदेशी पर्यटक बेलुकी ५ बजे नै पोखरा आइपुग्थे। बेलैमा पोखरा आउन पाएको भए उनीहरुले खाना खान र आराम गर्न पनि पाउँथे।  




तर, बाटोको अवरोधले गर्दा ती विदेशी पाहुना पोखरा आइपुग्दा भोलिपल्ट बिहान ३ बज्यो। बेलुकी ५ बजे आइपुग्नुपर्ने ती पाहुना थप १० घण्टा बाटोमा रोकिए। काठमाडौं–पोखराको स्थलमार्गको दूरी ६ घण्टा हो।

पृथ्वी राजमार्ग बिस्तारको कारणले गर्दा पोखरा–मुग्लिन खण्डको यात्रा अवधि केही थपिएको थियो। तर, पछिल्लो पछिल्लो समयको बाढी पहिरोले राजमार्गमा क्षति गर्दा यात्रा अवधि झनै लम्बिएको छ। काठमाडौंबाट बिहान ११ बजे हिँडेर भोलिपल्ट बिहान ३ बजे पोखरा आइपुग्दा ती पर्यटकले १६ घण्टा बाटोमै बिताउनुपरेको व्यवसायीले बताए।

‘पर्यटकीय सिजनको सुरुवातमै विदेशी पाहुनाले यस्तो सकस खेप्नुपरेको छ की भनिसाध्य छैन, होटल बुकिङ गरेका तर, बस्न नपाएका ती पाहुनासँग मूल्य लिन पनि गाहे पर्ने अवस्था सिर्जना गरिदियो,’ उक्त होटलका एक उच्च कर्मचारीले भने, ‘उनीहरुकै नाममा होटलको कोठा बुकिङ गरिसकेकोले पैसा त लिनैपर्ने अवस्था आयो। तर, ती पाहुनाले निकै नै बढी सास्ती खेप्न बाध्य भए। लामो समय राजमार्गमा गुर्जानुपर्दा ती पाहुनासँग खुसीको चमक थिएन, बरु त्रास झल्किएको थियो।’

पछिल्लो पटकको विपद्ले पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौं खण्ड छियाछिया छ। राजमार्गका ठाउँ ठाउँमा पहिरो खस्दा यात्रा समय अनिश्चित छ। चाँडबाँड मान्न घर फर्किन थालेका र नेपाल घुम्न भनेर टाढाटाढाबाट आएका विदेशी पाहुना अहिले मारमा छन्। ‘काठमाडौं–पोखरा यात्रामा १६ घण्टा लागेको त एउटा प्रतिनिधि घटनाक्रम मात्र हो। त्यो भन्दा डरलाग्दो त अहिले हिँडडुल नै सकसपूर्ण बन्यो।

यसले पर्यटन क्षेत्रमा पनि उत्तिकै क्षति गरेको छ। आाएका पाहुना गन्तव्यमा पुग्न सक्ने अवस्था छैन भने यात्रा पनि जोखिमपूर्ण बनेको छ,’ ती कर्मचारीले भने, ‘स्थलमार्गमा कहाँ कतिखेर पहिरो खस्ने भन्ने त्रास छ। यसले सिजनको पर्यटन क्षेत्रलाई अन्योलपूर्ण बनाएको छ।’

यो बेला पर्यटकीय सिजन हो। विदेशी पर्यटकको धुइरो लाग्ने यो बेलामा अहिले विपद्ले गर्दा यात्रा जोखिमपूर्ण बनेको उनले बताए। ‘१६ घण्टा लगाएर काठमाडौंबाट पोखरा आएका विदेशी पर्यटकले नेपालबारे सन्देश कस्तो लैजालान् भन्ने चिन्ता पनि छ। किनकि पर्यटकीय सिजन चलिरहँदा यात्रा नै असुरक्षित र अनिश्चित बनेको छ,’ उनले भने, ‘स्थलमार्ग मात्र नभई हवाईयात्रा पनि अहिले चुनौतीपूर्ण छ। किनकि यो बेला यात्रुको भार थपिँदा हवाई सेवा पनि सकसपूर्ण बनेको छ। घन्टौ कुरेर मात्र हवाई उडान गर्न पाइने अवस्थाले सकस बढाएको छ।’  

पर्यटन व्यवसायीले यो बेला विदेशी मात्र नभई स्वदेशी पर्यटकसँग पनि उत्तिकै अपेक्षा राखेका थिए। तर, पछिल्लो विपद्ले विदेशी पाहुना त प्रभावित हुने नै भए स्वदेशी पनि प्रभावित हुने चिन्ता उनीहरुमा छ।

अर्का पदयात्रा पर्यटन व्यवसायी धर्मराज पन्थी भन्छन्, ‘हामीले यो सिजनमा विदेशी पाहुनाको आगमन ह्वात्तै बढ्नेमा आशावादी थियौ। तर, नेपालमा घटेका केही घटनाक्रमले पर्यटक भित्रिने मुख्य सिजनलाई नै मार परेको छ। सिजनको आगमन प्रभावित भइसकेको छ। अझ पछिल्लो बाढी पहिरोको घटनाले त झनै अप्ठेरो थपिएको छ।’ हवाई र स्थलमार्गका दुर्घटनादेखि स्थलमार्गमा पहिरोको त्रासले पर्यटन क्षेत्रमा अन्योल थपिदिएको उनले बताए।

उनका अनुसार यति बेला पोखराका होटलको अकुपेन्सी कम्तीमा पनि ७० प्रतिशत हाराहारीमा हुनुपर्ने हो। तर, निकै नै कम अकुपेन्सीमा अहिले होटल चलिरहेको पन्थीले बताए।

‘पाहुना आउनै पाएनन्। पाहुना भित्रिने समयमा प्राकृतिक विपद्ले सर्वत्र क्षति गरेको छ,’ उनले भने, ‘आउने तयारीमा रहेका पाहुना समेत अब अन्यत्र डाइभर्ट हुने पक्का छ। नेपालको यात्रा असुरक्षित रहेको भन्ने सन्देश अन्तर्राष्ट्रिय बजारमा फैलिने पक्का छ।’ पर्यटकीय सिजन भएपनि पर्यटकीय क्षेत्र लेकसाइड सुनसान बनेको उनले सुनाए।

होटल क्षेत्रमा उच्च तहमा कार्यरत प्रशासक गुप्त गिरी पनि पछिल्लो घटनाक्रमले पर्यटन क्षेत्र प्रभावित हुने पक्का भएको बताउँछन्। ‘पर्यटन क्षेत्र सामान्य घटनाक्रमले त प्रभावित हुन्छ। अहिले त सबैतिर तहसनहस हुनेगरि विपद् निम्तिएको छ। यसले पर्यटन क्षेत्रलाई प्रभावित पारेको छ,’ उनले भने, ‘नेपालको यात्रा अनिश्चित र असुरक्षित हुन्छ भन्ने सन्देश प्रवाह भएको छ। त्यसले सिजनको बेलाको आगमनलाई प्रभावित पार्नेछ।’  

अर्का पर्यटन व्यवसायी बोबरजंग गुरुङ पनि पर्यटन क्षेत्रलाई अहिलेको विपद्ले निकै नै त्रसित बनाएको बताउँछन्। ‘होटल र रेस्टुरेन्ट क्षेत्रलाई त अहिले निकै नै अप्ठेरो पारेको अवस्था हो। यातायात क्षेत्रमा भने चाँडबाँडका कारण आन्तरिक यात्रुले गर्दा केही राहत मिलेको छ। तर, विदेशीको आगमनमा भने प्रभाव पारेको छ,’ उनले भने, ‘सिजनको आगमन प्रभावित भयो। विदेशी पाहुना आउने सिजनमा अहिले सबैतिर सुनसान बनेको छ।’  

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार यो सिजनमा नेपाल आउनेगरि बुकिङ गरेका विदेशीले धमाधम बुकिङ रद्द गरिरहेका छन्। ‘विदेशी पाहुनाले धमाधम बुकिङ क्यान्सिल गरेको भनेर व्यवसायीले गुनासो सुनाईरहेका छन्’ व्यवसायीको भनाई उद्धृत गर्दै लामिछानेले भने, ‘नेपालमा पछिल्ला केही घटनाक्रमले पाहुना आगमन त प्रभावित भएको थियो । त्यसैमाथि झनै प्रभाव पार्नेगरि प्राकृतिक विपद् निम्तियो। त्यसले गर्दा पाहुना आउन त्रसित भएका छन्।’

उनका अनुसार यो बेला पदयात्राका लागि उत्तम समय मानिन्छ। पदयात्राका लागि विदेशी पाहुना नेपाल आउन चाहने हुन। तर बाढीपहिरोले गर्दा नेपालको यात्रा असुरक्षित र अनिश्चित भन्ने सन्देश फैलिँदा प्रभावित भएको उनले बताए । ‘नेपालप्रति विदेशी पाहुनाको भिन्दै बुझाई थियो। तर,यात्रा अनिश्चितताले गर्दा पाहुनाहरु हच्किएका छन्,’ लामिछानेले भने।  

उनले यो बेला आन्तरिक पाहुनाको समेत यात्रा गर्ने समय भएपनि अहिलेका घटनाक्रमले आन्तरिक पाहुना पनि बढी प्रभावित हुने पक्का भएको बताए। ‘आन्तरिक पनि अहिले हत्तपत्ति बाहिर निस्कने अवस्थामा छैनन्। किनकि राजमार्गको यात्रा असुरक्षित र सकसपूर्ण बनेको छ। त्यसले गर्दा पाहुनाको हिँडाइ अघिल्ला वर्षभन्दा कमजोर हुने पक्का छ,’ लामिछानेले भने।
अर्को समाचार
पर्यटन क्षेत्रमा निराशाको चाङ
१५ माघ २०७९
•
६ मिनेट पाठ
पर्यटन क्षेत्रमा निराशाको चाङ
पर्यटन व्यवसायीका अनुसार फेब्रुअरीपछि पर्यटकीय सिजन सुरु हुन्छ। यो सिजन अप्रिलसम्म रहिरहन्छ। व्यवसायी यो समयलाई पर्यटनको दोस्रो सिजन मान्छन्। पहिलो सिजन सेप्टेम्बर–नोभेम्बरलाई मान्दै आएका छन्। दोस्रो सिजन सुरु हुन धेरै समय बाँकी छैन तर पर्यटन क्षेत्र भने यतिबेला निकै नै अन्योलग्रस्त अवस्थाबाट गुज्रिरहेको छ। यतिसम्म कि सिजनमा पनि विदेशी पाहुना आगमनको छेकछन्द व्यवसायीले देखेका छैनन्।




कोरोना भाइरस संक्रमणले करिब दुई वर्ष पर्यटन क्षेत्र नोक्सानमा रह्यो। संक्रमण कमजोर हुँदै जाँदा सन् २०२३ मा कोरोनाको त्यो नोक्सान थोरै भए पनि घट्ने अपेक्षा पर्यटन क्षेत्रको थियो। कोरोनाले करिब शून्यमा झरेको पर्यटनले सन् २०२२ मा ६५ प्रतिशत रिकभर गरेको तथ्यांक पर्यटन बोर्डले केही दिनअघि सार्वजनिक गर्दा व्यवसायी अझै हौसिएका थिए। त्यो तथ्यांकसँगै सन् २०२३ को सुरुकै सिजनमा पर्यटनले थप गति लिने अपेक्षा पर्यटन क्षेत्रमा थियो। तर, अपेक्षा गरेको समयमै पर्यटन क्षेत्रले झनै अन्योलको बाटो लिएको व्यवसायीको गुनासो छ।  

पर्यटन व्यवसायीका अनुसार सिजनका महिना (फेब्रुुअरी–अप्रिल)को अग्रिम बुकिङ करिब ४० प्रतिशत हाराहारीमा उक्लिसकेको थियो। सिजनको बुकिङ उकालो लागिरहँदा पर्यटन क्षेत्र निकै नै आशावादी थियो। तर, पछिल्ला घटनाक्रमले पर्यटन क्षेत्रलाई अन्योलतिर धकेल्दै लगेको व्यवसायी बताउँछन्। ‘यो बेला पर्यटन क्षेत्र पाँच प्रतिशत अकुपेन्सीमा छ। सिजनको मुखको यो अकुपेन्सी निकै नै कमजोर बनेको छ,’ रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्षसमेत रहेका माउन्ट कैलाश रिसोर्टका सञ्चालक नरेश भट्टराई भन्छन्, ‘बुकिङको आकार हेर्दा हामी सन्तोषजनक थियौं। तर पछिल्लो समय धमाधम बुकिङ रद्द हुँदै जाँदा व्यावसायीमा निराशापन छाएको छ।’

भट्टराईका अनुुसार नेपाल आउन नचाहेर विदेशी पाहुनाले गरेको बुकिङ धमाधम रद्द भइरहेको छ। नयाँ बुकिङ आउने क्रम निकै नै घटेको छ। ‘बुकिङ गरेका पाहुनाले पनि आउने वा नआउने निश्चित गरेका छैनन्, सबै बुकिङ होल्डमा छ,’ उनले भने, ‘पाहुना आउलान् भन्या त धमाधम रद्द गर्न थालेका छन्। यसले पर्यटन क्षेत्रमा चिन्ता पलाएको छ।’  

कोभिडको मार केही कभर हुनेमा विश्वास मानिएको सिजनप्रति नै अविश्वास जन्माएको उनले बताए। सन् २०२२ को आगमनको हिसाबले यो वर्षको पहिलो सिजनमा व्यापक सुधार हुने अपेक्षा रहेकामा अब कम्तीमा ६/७ महिना कुर्नुपर्ने अवस्था आएको उनले बताए।

सिजनको मुखमा किन रद्द ?

व्यवसायीका अनुसार अहिले पर्यटन क्षेत्रमा निराशाको चाङ थपिएको थपियै छ। सिजनको मुखमा भएको बुकिङ पनि धमाधम रद्द भइरहेको छ। पाहुना स्वागतार्थ प्रतीक्षामा रहेका व्यवसायीले अहिले धमाधम बुकिङ रद्द भएको जानकारी पाउने गरेका छन्। ‘नेपालमा हिँडडुल नै सहज भएन भन्ने गुनासो पाहुनाको छ। स्थलमार्ग साह्रै झन्झटिलो बन्यो, हवाई यात्राबारे अन्योल रह्यो,’ रेबान अध्यक्ष भट्टराई भन्छन्, ‘नेपालको यातायात सुविधाप्रति सर्वत्र अविश्वास बढिरहेको छ। सडकमार्गको यात्रा झन्झटिलो बनेको छ। तीनघण्टामा पार हुने सडक अहिले पूरा गर्न ६ घण्टा लाग्छ। यसले झन्झट थपेको छ।’

स्थलमार्ग झन्झटिला भएको गुनासो त थियो नै, हवाई यातायातप्रति पनि अहिले पर्यटकले अविश्वास गर्न थालेका छन्। दुई साताअघि पोखरामा भएको विमान दुर्घटनालाई देखाएर नेपाल आउन चाहेका विदेशी पर्यटकले अहिले हवाई यातायातप्रति अविश्वास गर्न थालेको उनले बताए। ‘हवाई दुर्घटना जहाँ पनि हुन्थ्यो तर पोखराको यो दुर्घटनाप्रति विदेशी पाहुनाले पनि औंला ठड्याए,’ उनले भने, ‘स्थलमार्ग सहज भएन, हवाई यातायात सुरक्षित देखिएन भनेर धेरैतिर गुनासो आउन थालेको छ।’

पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का गण्डकी धर्मराज पन्थीका अनुसार विदेशी पाहुनाले अहिले नेपालको हवाई यात्राप्रति गुनासो सुनाउन थालेका छन्।  

होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी पनि यतिबेला पोखराको होटलको अकुपेन्सी बढीमा १० प्रतिशत रहेको बताउँछन्। उनका अनुसार अहिले पोखराका होटलमा लामो समय बसोबास गर्नेबाहेक अरू खालका पर्यटक छैनन्।

सुवेदीका बुुझाइमा हवाई दुर्घटना नेपालमा मात्र नभई संसारभर हुन्छन् तर नेपालको हवाई सुरक्षाबारे अनेकन प्रश्न उठेका छन्, जसले गर्दा आन्तरिक र विदेशी सबै यात्रु हवाईजहाज चढ्न डराएका छन्। ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय सबै सञ्चारमाध्यमबाट हवाई दुर्घटनापछि नकारात्मक सन्देश फैलिएको छ। अत्यावश्यक कामबाहेक अहिले जोकोही हवाईजहाज चढ्न डराएका छन्। गन्तव्यमा नपुगेसम्म के कसो होला भन्ने त्रास छाएको छ,’ उनले भने, ‘विज्ञले पनि नेपालको हवाई यात्रालाई असुरक्षित भन्न थालेकाले यो अवस्था आएको हो।’

पर्यटन बोर्डका पूर्व सदस्य टीकाराम सापकोटा पनि नेपालको हवाई सेवा सुरक्षित नरहेको भन्ने सन्देश पुग्दा अहिले पर्यटन मारमा परेको बताउँछन्। ‘पर्यटनमा निकै नै झड्का यो पटकको हवाई दुर्घटनाले दिएको छ। विश्व पर्यटन बजारमै नकारात्मक सन्देश दुर्घटनाले दिएको छ,’ सापकोटाले भने, ‘आगामी सिजनमा पर्यटनमा राम्रो हुने संकेत देखिएको थियो। तर, सिजनलाई नै असर पार्नेगरी घटना घट्यो।’

लगानीकर्ता नै हतोत्साही

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्न थालेपछि पर्यटन व्यवसायी निकै नै हौसिएका थिए। त्यही अनुसार लगानी पनि व्यवसायीले बढाएका थिए। केहीले नयाँ लगानी गरिरहेका थिए भने कतिपयले पुरानैमा लगानी थपिरहेका थिए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखरालाई सिधै अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुग्नेमा व्यवसायी आशावादी देखिएका थिए। तर दुर्घटनाले लगानीमाथि नै प्रश्नचिन्ह उठाएको उनीहरू बताउँछन्।  

‘पर्यटन क्षेत्रमा विमानस्थलले निकै नै आशा देखाएको थियो। तर, लगानीकर्तालाई घटनाले नैराश्य बनाएको छ,’ रेबानका अध्यक्ष भट्टराई भन्छन्, ‘पोखराको यो विमानस्थल अन्तर्राष्ट्रिय उडान सुरु नभएसम्म खोल्न जरुरी थिएन कि भन्ने सवाल उठेको छ। किन कि आन्तरिकका लागि त पहिलेकै विमानस्थल काफी थियो। तर हतारहतार अन्तर्राष्ट्रिय विमानस्थल मात्र खुल्यो, अन्तर्राष्ट्रिय उडान खुलेको छैन।’  

व्यवसायीले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि निकै नै हौसलाका साथ पर्यटन क्षेत्रमा लगानी बढाइरहेकोमा अहिलेको दुर्घटनापछि सोच्न बाध्य तुल्याएको उनले बताए। ‘कतै पर्यटन क्षेत्र नै धराशायी हुने हो कि भन्ने चिन्ता पलाएको छ,’ उनले भने।

होटल संघका अध्यक्ष सुवेदी पनि पर्यटनमा लगानी गरिरहेका लगानीकर्ता अहिले निराश बनेको बताउँछन्। विमानस्थल सञ्चालनमा आउँदाको खुसियाली साट्न नपाउँदै निराश बन्नुपरेको गुनासो व्यवसायीको रहेको सुवेदीले बताए। ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकै कारण व्यवसायीले लगानी पनि गरेका थिए। ठुलो आकारको लगानी गरेका व्यवसायी अब के र कसो होला भन्ने तनावमा छन्,’ उनले भने।  

आन्तरिक पाहुना पनि छैनन्

पोखरामा भएको विमान दुर्घटनापछि विदेशी पाहुना त आएकै छैनन नै आन्तरिक पाहुना पनि यात्रामा निस्केका छैनन्। यतिसम्म कि आन्तरिक स्रोतबजार नै सुकेको व्यवसायीको चिन्ता छ। ‘आन्तरिक पाहुनाको पहिलो गन्तव्य पोखरा हो। तर दुर्घटनापछि त्यही आन्तरिक बजार पनि सुक्यो,’ बोर्डका पूर्वसदस्य सापकोटा भन्छन्, ‘यो बेला बाध्य भएर हिँड्नेबाहेक कोही छैनन्। किन कि घुमघाम बाध्यकारी भएन।’  

उनले पनि पोखरासम्मको पहुँचमा समस्या हुँदा पर्यटन व्यवसायमा सन्नाटा छाएको बताए। ‘पोखराको पहुँच राम्रो हुन सकेन। चिनियाँ पनि आएका छैनन्। आन्तरिक र भारतीय मात्र यो बेलाका पाहुना हुन्,’ सापकोटाले भने, ‘त्यही पनि रोकियो।’  

रेबानका अध्यक्ष भट्टराई पनि दुर्घटनापछि आन्तरिक पाहुना हिँडडुल गर्न छाडेको बताउँछन्। दुर्घटनाको त्यही त्रासका कारण अहिले पोखराबाट हुने हवाई उडान पनि आधाको संख्यामा झरेको हवाई कम्पनीले बताएका छन्। हवाई उडान मात्र नभई यात्रु पनि आधामा झरेको उनीहरूको भनाइ छ।  

‘दुर्घटनाअघिको उडान संख्या अहिले कटौती भएर आधामा झरेका छन्। त्यस्तै हवाई यात्रु पनि निकै नै कम भएका छन्,’ एक हवाई कम्पनीका पोखरास्थित स्टेसन म्यानेजरले भने, ‘हवाई यात्रु घट्नु भनेको त्यसको मार पर्यटन क्षेत्रमा पर्नु हो। अब पोखराले यसबारे पनि केही सोच्नुपर्छ।’
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस