मिठो सांस्कृतिक विम्बमा अल्झिएको कमजोर ‘जलाकी’
०६ मंसिर २०८३
•
६ मिनेट पाठ
मिठो सांस्कृतिक विम्बमा अल्झिएको कमजोर ‘जलाकी’
मगर समुदायको सांस्कृतिक परम्परामा आस्था, माया, पर्खाइ र सम्झनाको प्रतीकका रूपमा ठड्याइने ढुङ्गाको स्तम्भलाई ‘जलाकी’ भनिन्छ।




यही सांस्कृतिक विम्बलाई केन्द्रमा राखेर निर्देशक अशोक थापा मगरले चलचित्र ‘जलाकी’ लाई पर्दामा उतारेका छन्। त्रिकोणात्मक प्रेम, वर्षौंको पर्खाइ, आस्था र सम्झनाका तन्तुहरू जोडेर बुनिएको यो चलचित्रले बाहिरबाट हेर्दा एउटा सामान्य प्रेमकथाको छनक दिन्छ। तर भित्र पस्दै जाँदा यसले नेपाली समाजको एक तीतो यथार्थलाई समेत छुन खोजेको छ।

चलचित्रको प्रचारप्रसारको शैली हेर्दा धेरै दर्शकलाई यो कलेज पढ्ने युवा-युवतीको हलुका प्रेमकथा मात्र होला भन्ने भान पर्न सक्छ। तर, पर्दामा कथाको उठान अलि फरक धरातलबाट हुन्छ।

आजको नेपाली समाजमा आर्थिक अवस्था सुधार्न विदेश नै जानुपर्छ, स्वदेशमा बसेर केही हुँदैन भन्ने जुन निराशाजनक भाष्य निर्माण भइरहेको छ, ‘जलाकी’ ले त्यही मनोविज्ञानलाई आफ्नो कथाको प्रस्थानबिन्दु बनाएको छ।

खाडी मुलुक नै किन नहोस्, केही गर्नका लागि देश छाड्नैपर्छ भन्ने युवापुस्ताको सोच कसरी नेपाली समाजको नियति र राष्ट्रका लागि घातक बन्दै गएको छ भन्ने यथार्थबाट चलचित्रको यात्रा सुरु हुन्छ।

कथाको सुरुवात शिल्पा मास्केले निभाएको आमाको पात्रबाट हुन्छ। घरको आर्थिक अवस्था उकास्ने र छोरी लिसारा अर्थात् उपासना सिंह ठकुरीको भविष्य उज्यालो बनाउने सपना साँचेर उनी वैदेशिक रोजगारीमा जान्छिन्।

तर, परदेशको संघर्षले उनको जीवनमा खुसी होइन, त्रासदी निम्त्याउँछ। विदेशमा जुन घरमा उनी हेरचाहको काम गरिरहेकी हुन्छिन्, त्यहीँका घरधनीबाट बलात्कृत हुन पुग्छिन्।

केही वर्षपछि गर्भवती अवस्थामा स्वदेश फर्किएकी उनलाई आफ्नै परिवारले अस्वीकार गर्छ। समाज र परिवारको तिरस्कार सहन नसकेर उनी अन्ततः आत्महत्याको बाटो रोज्न बाध्य हुन्छिन्।

आमाको यो कारुणिक अवसानसँगै कथाको मुख्य धार छोरी लिसारातर्फ मोडिन्छ। आमाको मृत्युपछि मामाघरको आश्रयमा हुर्किएकी लिसाराको बाल्यकालदेखि युवावस्था, उनको प्रेम, पर्खाइ र जीवनका उतारचढाववरिपरि नै ‘जलाकी’ को बाँकी कथा घुमेको छ।

मगर र गुरुङ समुदायको सांस्कृतिक पृष्ठभूमिमा निर्माण भएका कतिपय नेपाली चलचित्रहरू केवल समुदाय विशेषको चिनारी वा प्रचारमा मात्र सीमित देखिन्छन्। त्यसको तुलनामा ‘जलाकी’ ले समुदायभन्दा बाहिरका दर्शकलाई समेत अपरिचित रहेको एउटा सुन्दर सांस्कृतिक शब्द र त्यसको मर्मलाई फरक विषयवस्तुसँग जोड्ने प्रयास गरेको छ।

विषय चयनका हिसाबले निर्देशकको सोच सराहनीय छ। तर, जब त्यही सोचलाई पर्दामा विश्वसनीय ढंगले पस्कने कुरा आउँछ, निर्देशक अशोक थापा मगर धेरै ठाउँमा चुकेको महसुस हुन्छ।

चलचित्रको सबैभन्दा ठूलो कमजोरी पात्रको चरित्र निर्माणमा देखिएको लापरबाही हो। कथाको मागअनुसार पात्रको पहिरन, शृङ्गार र शारीरिक हाउभाउमा ध्यान नदिँदा धेरै दृश्यहरू स्वाभाविक लाग्दैनन्।

नायकलाई जस्तोसुकै परिस्थितिमा पनि ‘हिरो’ जस्तै चिटिक्क देखाउने पुरानै प्रवृत्ति यहाँ हाबी छ। उदाहरणका लागि, अभिनेता सोनम तोप्देन (नजीम) एक वर्षपछि बिरामी परेर स्वदेश फर्किएको प्रसङ्गलाई लिन सकिन्छ।

बिरामी भएर फर्किएको मान्छेमा न त शारीरिक कमजोरीको छनक छ, न त अनुहारमा पीडा वा थकानको भाव नै। उनी अचानक चिटिक्कको पहिरनमा लिसाराको सामुन्ने उभिन्छन्। यस्तो अस्वाभाविक प्रस्तुतिले दर्शकलाई पात्रको दुःख र संवेदनामा भिज्न दिँदैन।

यस्तै असावधानी सहायक पात्रको हकमा पनि दोहोरिएको छ। भेडाबाख्रा चराउने गोठालोको जीवनशैली र पहिरन कस्तो हुन्छ भन्ने सामान्य यथार्थलाई समेत निर्माण पक्षले बेवास्ता गरेको छ।

नजीमका बुबाको भूमिकामा देखिएका बुद्धि तामाङको सफाचट र चिटिक्क परेको पहिरनले उनी कतैबाट पनि लेकबेँसी गर्ने भेडा गोठालो जस्तो देखिँदैनन्। जब पर्दाका पात्र नै आफ्नो पेसा र परिवेशसँग मेल खाँदैनन्, तब दर्शकलाई कथाको संसारमा बाँधिराख्न कठिन हुन्छ।

प्रमुख पात्रका रूपमा स्थापित गर्न खोजिएकी लिसाराको चरित्र चित्रण पनि पर्दामा निकै फितलो लाग्छ। मुख्य पात्रमा हुनुपर्ने सङ्घर्ष, द्वन्द्व र चारित्रिक अभाव खट्किन्छ।

कथामा लिसाराले चाहेका प्रायः कुराहरू बिनाकुनै ठूलो सङ्घर्ष सहजै प्राप्त गरेको देखाइँदा उनको पात्रले दर्शकमा अपेक्षित प्रभाव छाड्न सक्दैन। यसका साथै निर्देशक मुख्य कथामा अडिग रहनुभन्दा अन्य झिनामसिना विषयवस्तुमा बढी अल्मलिएको देखिन्छ।

चलचित्रभित्र यति धेरै स-साना उपकथाहरू कोचिएका छन् कि दर्शक नै अलमलमा पर्छन् आखिर कुन पात्रको पीडामा डुब्ने र कसको कथालाई पछ्याउने ? कमजोर पटकथा, चोटिलो र स्मरणीय संवादको अभाव, अनावश्यक स्थानमा राखिएका गीतहरू र पटकपटक दोहोरिने अनावश्यक क्लोजअप सटहरूले चलचित्रको गतिलाई सुस्त बनाइदिएका छन्।

कतिपय ठाउँमा कथाको प्रवाहलाई नै अवरुद्ध पार्ने गरी गीत आउँदा दर्शकलाई झर्को लाग्ने अवस्थासमेत सिर्जना हुन्छ।

अभिनयको कसीमा हेर्दा ‘जलाकी’ मा कलाकारहरूको प्रस्तुति मिश्रित देखिन्छ। चलचित्रको भावनात्मक आधारलाई बलियो बनाउने काम शिल्पा मास्केले गरेकी छन्। आर्थिक अवस्था सुधार्न बिदेसिनुपरेको बाध्यता, परदेशमा भोगेको पीडा र स्वदेश फर्किएपछि परिवारबाटै सहनुपरेको अवहेलनालाई उनले अत्यन्त स्वाभाविक रूपमा पर्दामा उतारेकी छन्। सीमित समयमै भए पनि उनको पात्र र अभिनयले दर्शकको मन चसक्क छुन्छ।

यता, मुख्य भूमिका लिसारामा देखिएकी उपासना सिंह ठकुरीको अभिनय भने अपेक्षाअनुसार प्रभावकारी हुन सकेको छैन। चलचित्रको केन्द्रमा रहेकी उनको प्रस्तुति धेरै दृश्यमा कमजोर देखिन्छ र उनलाई आफ्नो अभिनय निखार्न अझै मेहनतको आवश्यकता रहेको झल्किन्छ।

नजीमको भूमिकामा रहेका गायक तथा अभिनेता सोनम तोप्देनले पढाइ सकेर आर्थिक अवस्था सुधार्न बिदेसिनुपरेको युवाको प्रतिनिधित्व गरेका छन्। तर, पर्दामा उनको अभिनय स्वाभाविकभन्दा बढी नाटकीय लाग्छ, जसले गर्दा उनको पात्रसँग दर्शकको भावनात्मक तादात्म्य बलियो बन्न सक्दैन।

यसै चलचित्रमार्फत अभिनय यात्रा सुरु गरेकी नवअभिनेत्री साहारा हाङमा लिम्बू अस्मिताको भूमिकामा देखिएकी छन्। डेब्यु चलचित्रका हिसाबले उनको प्रयास देखिन्छ, तर संवाद प्रस्तुति र भावभंगीमा अझै धेरै सुधार गर्नुपर्ने ठाउँ छ।

मुख्य पात्रहरूमा केही कमजोरी देखिए पनि चलचित्रका अन्य सहायक कलाकारहरूले भने आफ्नो भूमिकालाई न्याय गर्दै सन्तोषजनक अभिनय प्रस्तुत गरेका छन्।

निर्देशन र पटकथामा थुप्रै कमजोरीहरू रहे पनि ‘जलाकी’ पूर्ण रूपमा निराश पार्ने चलचित्र भने होइन। यसका केही सबल पक्षहरूले दर्शकलाई अन्त्यसम्म बाँधिराख्न मद्दत गर्छन्।

विशेषगरी शिल्पा मास्केको कथाले चलचित्रलाई एउटा बलियो भावनात्मक आधार दिएको छ। वैदेशिक रोजगारीको पीडा र त्यसले नेपाली परिवारमा पारेको असरलाई चलचित्रले इमानदारीपूर्वक छोएको छ। त्यस्तै, लिसारा र नजीमको प्रेममा देखाइएको वर्षौँको पर्खाइ, धैर्य र एकअर्काप्रतिको अटुट विश्वास हेर्न लायक छ।

प्राविधिक पक्षमा चलचित्रको छायाङ्कन र दृश्य संरचना आकर्षक बनेको छ। स्थान विशेषको सौन्दर्यलाई क्यामेराले राम्ररी कैद गरेको छ भने चलचित्रका गीतसङ्गीत कर्णप्रिय र मिठा छन्।

समग्रमा, माया, सम्झना, बिछोड र परदेशिनुको पीडालाई एउटै मालामा उन्न खोजिएको ‘जलाकी’ ले एउटा राम्रो विषयवस्तु उठाएर पनि बलियो पटकथा र कसिलो निर्देशनको अभावमा उत्कृष्ट बन्ने अवसर गुमाएको छ।

यद्यपि, नेपाली समाजको कथा, मिठा गीतसङ्गीत र सामान्य मनोरञ्जनका लागि यो चलचित्र एक पटक हेर्न योग्य छ।
अर्को समाचार
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
१५ घण्टा अघि
•
१ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
काठमाडौँ। रमेशप्रसाद तिमल्सिनाकाे ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।

 

‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन लाेकार्पण गरेका हुन्।

 

कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्श समेत गरियो।

 

लाेकार्पित पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन्। पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ।

 

सञ्चारकर्मी दाहालले लोकतन्त्र जीवनपद्धति भएकाले हाम्रा अभ्यास र व्यवहारले अझै प्रश्नको घेरामा रहेको बताए।

 

ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोडदिए।

 

कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।

अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित नगरी घरघरको व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्नेमा जोड दिए।

 

जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समयसमयमा समीक्षाको आवश्यकता औँल्याए। गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र त्यसको उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने प्रतिक्रिया दिए।



डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस