अन्तिम सन्देश
०९ जेष्ठ २०८३
•
९ मिनेट पाठ
अन्तिम सन्देश
विवाह केवल दुई शरीरको मेल होइन, आत्माको सम्बन्ध हो। कहिलेकाहीं जीवनको भिडमा, जिम्मेवारीको बोझमा, अत्यधिक भावनात्मक भिन्नता वा दुरीका कारण मानिस आफ्नो मन अरू कसैसँग बाँड्न पुग्छ।




काठमाडौंको एउटा सामान्य घरमा कमला र रामप्रसादको विवाह भएको दश वर्ष भइसकेको थियो। बाहिरबाट हेर्दा उनीहरूको जीवन भरिपूर्ण देखिन्थ्यो– सुन्दर घर, दुइटा सन्तान, राम्रो व्यवसाय तर घरमा भित्रभित्रै सम्बन्ध चिसिँदै गएको थियो। रामप्रसाद बिहानैदेखि व्यवसायमा व्यस्त देखिन्थे। कमला पनि एउटा अस्पतालमा नर्सको काम गर्थिन्, पाँच–छ घण्टा मात्र। उनको प्राथमिकता भनेको घर–परिवार नै थियो। विवाह भएको केही समयसम्म उनीहरूको दाम्पत्य जीवन अरूले हेर्दा पनि निकै राम्रो थियो। बिस्तारै–बिस्तारै काम, घर–परिवार अनि केही समय अस्पतालमै बित्न थाल्यो। रामप्रसादको भने अधिकांश समय व्यवसायकै सिलसिलामा घरबाहिर बित्न थाल्यो। उनले घर र परिवारको जिम्मेवारी के हो भन्ने कुरा बिर्सन थालेका थिए।

कमला र रामप्रसादको सम्बन्ध चिसिँदै गइरहेको थियो। यो कुरा कमलाले स्पष्ट बुझिसकेकी थिइन्। रामप्रसाद बेलुका आउँथे, बिहान फेरि काममा निस्किहाल्थे। कमला भने रातदिन रामप्रसादको प्रतीक्षामा हुन्थिन्। एकदिन, दुईदिन गर्दै समय आफ्नो गतिमा दौडिरहेको थियो। अब त दुवै छोरा–छोरी पनि स्कुल पढ्ने भइसकेका थिए। कमलासँग अब खाली रामको मायाको सम्झना मात्र बाँकी थियो। कमलालाई अलिकति दुःख पर्दा पनि राम धेरै चिन्ता लिएर त्यसको समाधान गर्न लाग्थे। कमलाको खुसीका लागि राम संसार जित्नेसम्म प्रयास गर्थे। विवाहपछि केही वर्षसम्म रामले कमलालाई यति धेरै माया दिएका थिए कि उनले संसारै बिर्सेर आफ्नो जीवन रामलाई सुम्पेकी थिइन्। तर बिस्तारै–बिस्तारै कुन बेला, कसरी राम कमलाबाट टाढा भए, यो उनले थाहै पाइनन्।

अब कमला आफूलाई घर–परिवार अनि अस्पतालमै सीमित राख्न थालिन्। जीवन उनलाई निराश लाग्न थाल्यो। लाउन, खान, कुनै कुरामा पनि उनको इच्छा रहन छोड्यो।

एक दिन साँझ सामाजिक सञ्जाल हेर्दै गर्दा उनले आफ्नो कलेजको साथी आदेशलाई देखिन्। त्यसपछि उनका मनमा कलेजका दिनहरू सरर आउन थाले। कमलाले इनबक्समा एउटा सन्देश पठाइन्। अब त के थियो र, सामाजिक सञ्जालमार्फत उनीहरू एकअर्कासँग नियमित कुरा गर्न थाले। कमलालाई फेरि पुराना दिनहरूको सम्झनाले व्याकुल बनाउन थाल्यो आदेशले।

कमला सम्झिन थालिन्– कलेज पढ्दाका ती दिनहरू। आदेश पढाइमा राम्रो थियो, खेलकुदमा पनि अब्बल। सबैजना उनीसँग मित्रता गाँस्न चाहन्थे तर ऊ भने कमलाकै साथ खोज्थ्यो। बिस्तारै उनीहरूको मित्रता मायामा परिणत भएको थियो। कलेजको लाइब्रेरीदेखि बगैंचासम्मका ठाउँहरू उनीहरूका लागि अत्यन्त प्रिय थिए। उनीहरू मायामा यति गहिरिँदै गएका थिए कि कलेजका साथीभाइ हुँदै घरपरिवारसम्म कुरा पुग्यो। कमलाका आमाबुबाले पनि थाहा पाए।

एकदिन कमलालाई बोलाएर उनका बाबाले सबै कुरा सोधे। जब आदेश श्रेष्ठ भएको थाहा पाए, उनका बाबाले त्यो मित्रता कुनै हालतमा स्वीकार नगर्ने बताए। त्यसपछि कमला र आदेश लुकीलुकी भेट्न थाले। तर कहिलेसम्म र कतिसम्म? बिस्तारै उनीहरूको भेटघाट पनि बन्द हुन थाल्यो किनकि उनीहरू भेटेको खबर बाबाको कानसम्म पुगिहाल्थ्यो। एकदिन त आदेशले ‘हामी भागौं’ पनि भनेको थियो तर कमलाले नै ‘हुन्न’ भनिन्।

आमाबाट पाएको संस्कार उनमा गहिरोसँग बसेको थियो । उनले बुझिसकेकी थिइन्– यो संस्कार, यो रीतिरिवाज, यो जातभातका कारण उनका आमाबुबाले आदेशलाई स्वीकार गर्ने छैनन्। बिस्तारै समय बित्दै गयो। आमाबुबाले उनलाई कलेज जानसमेत रोक लगाउन थाले। अन्ततः कमलाको विवाह रामप्रसादसँग भयो। विवाह भएको केही समयसम्म रामले उनलाई यति धेरै माया गरे कि कमलाले आफ्ना सबै पुराना कुरा बिस्तारै बिर्सिंदै गइन्।

आदेशसँग सामाजिक सञ्जालमा कुराकानी झन् बढ्दै गयो। कुराकानीकै सिलसिलामा कमलाले थाहा पाइन्– आदेशले अहिलेसम्म विवाह गरेका रहेनछन्। यो सुन्दा उनलाई नराम्रो पनि लाग्यो, सायद कताकता मन भारी पनि भयो। अहिले आदेश डाक्टर भइसकेका रहेछन्। धेरै समयपछि कमला फेरि खुसी हुन थालिन्। उनले जीवनलाई सकारात्मक तरिकाले हेर्न थालिन्।

जीवन बाँच्नका लागि मायाको अत्यन्तै ठुलो महत्त्व रहेछ। साथै आफूले गरेका काम, आफ्ना भावना र दिनचर्याको वर्णन सुनेर साथ दिने व्यक्ति पनि चाहिँदो रहेछ। जबदेखि कमलाले आदेशसँग कुरा गर्न थालेकी थिइन्, उनमा धेरै परिवर्तन आएको थियो। अब रामले समय नदिँदा, कुरा नगर्दा पनि उनलाई त्यति फरक पर्न छोडेको थियो। आदेश काठमाडौंमा बस्थ्यो, म पोखरामा तर मायाका दुई शब्दले, हामी टाढा भएर पनि खुसी–खुसी बाँच्न सिकेका थियौं। आदेश पनि मसँग कुरा गर्न पाउँदा खुसी थियो, म पनि खुसी थिएँ।

हामी एकअर्काको फोनमै दुईचार मायाका शब्द साट्थ्यौं। अब त कमलाको दैनिकीमा धेरै नै परिवर्तन आएको थियो। दुवै खुसी थियौं । दिनभरि के–के गरियो, एकअर्कालाई सुनाउँथ्यौं। एकअर्कासँग सुझाव लिन्थ्यौं। यसरी नै खुसी–खुसी दिन बितिरहेका थिए। कमला पनि घरपरिवार व्यवस्थित गर्दै आफ्नो दिनचर्या राम्ररी बिताइरहेकी थिइन्।

तर केही समय भयो, आदेशको फोन अनि सन्देश केही पनि आएको थिएन। कमलाको मन उदास थियो। उनलाई केही गर्न मन लाग्दैनथ्यो। मन सम्हालेर आफ्नो घर अनि अफिस सम्हाल्दै आइरहेकी थिइन्। कहिलेकाहीं आफ्नो पूजा कोठामा बसेर भगवान्सँग गुनासो गर्थिन– ‘हे भगवान्! खुसीको सपना देखाएर फेरि किन निराश बनायौ? मैले फोनमा कुरा गरेको त हो नि, त्यो पनि रामलाई चिन्नुभन्दा अगाडिको साथीसँग। म खुसी थिएँ, सुखी थिएँ। किन निलो आकाशमा कालो बादल छाएजस्तै मेरो जीवनमा कालो औंसीको रात बनाइदियौ?’

यति भन्दै कमला पूजा कोठामै रुन्थिन्। उनको पीडा सुन्ने कोही थिएन। श्रीमान् घरमा हुँदा कि सामाजिक सञ्जालमा व्यस्त हुन्थे, कि टिभी हेर्थे, नभए चुपचाप मुख बिगारेर बसिरहन्थे। फेरि कमला आफैंसँग भन्थिन्– ‘मैले त यो सबै कुरा स्वीकार गरिसकेकी थिएँ। किन आदेशलाई मेरो जीवनमा फेरि ल्यायौ ? अनि फेरि किन खोस्यौ?’

कमलाको मनमा फेरि अनेक कुरा खेल्न थाले। ‘ऊ कतै बिरामी त होइन? कतै दुर्घटनामा त परेन?’ यस्ता नचाहिने कुरा मनमा आउन थालेपछि कमला झन् चिन्तित हुन थालिन्। अनि सोच्थिन्– ‘हे ईश्वर! मलाई भेट्नु वा कुरा गर्नु छैन तर उसलाई निरोगी र स्वस्थ राख। उसले त मलाई बिर्सन नसकेर आजीवन एक्लै बस्ने प्रण गरेको रहेछ।’

त्यसपछि फेरि कमला सोच्न बाध्य हुन्थिन्– ‘आदेश मेरो मायाको यादमा डुबेर जिन्दगी बिताउने अनि म चाहिँ उसलाई बिर्सेर आफ्नो बेग्लै संसार बनाउने? धिक्कार छ मलाई!’

फेरि कमलाका दिनहरू उस्तै हुन थाले– दुःखी अनि चिन्तित। जीवन बाँच्ने कुनै इच्छा नै नभएकोजस्तो लाग्थ्यो। उनी मेसिनझैं भएकी थिइन्। केही दिनदेखि उनी घरबाट बाहिर निस्केकी थिइनन्। फोन दिनमा दशचोटि खोलेर हेर्थिन्, उल्टाइ–पल्टाइ गर्थिन्– घण्टी सानो छ कि, फोन चार्ज छैन कि भनेर। फोनलाई उनी आफूसँग त्यसरी च्यापेर राख्थिन्, जसरी कुनै आमाले आफ्नो सानो बच्चालाई च्यापेर राख्छिन्।

कमला बिहानै उठेदेखि घरको काममा आफूलाई व्यस्त राख्न थालेकी थिइन्। अस्पताल नगएको पनि धेरै दिन भइसकेको थियो। चिन्तित अनुहार, रसिला आँखा अनि डिल वरिपरि निलो घेरा! तर उनको घर–परिवारले कहिल्यै सोधेन, ‘तिमीलाई सन्चो छैन?’

बच्चाहरू सानै थिए। श्रीमान् रामप्रसादसँग न मन थियो, न समय। विवाह गरिसकेपछि महिलाहरू बिरलै त्यस्ता भाग्यमानी हुन्छन्, जसलाई श्रीमान्ले धेरै माया अनि सम्मान दिएका हुन्छन्।

एकदिनको कुरा हो। कमलालाई अस्पतालबाट फोन आयो। नयाँ अस्पताल इन्चार्जले सबैको कागजपत्र हेर्दा उनको पनि खोजी भएको रहेछ। ‘तिमी आऊ’ भनेर खबर आयो। अर्को दिन उनी तयार भएर अस्पताल गइन्। खुरुखुरु काम गर्न थालिन्। अस्पतालका बिरामीहरूले पनि ‘किन नआएको? के भयो?’ भन्दै प्रश्नमाथि प्रश्न गर्न थाले। प्रायः बिरामी भन्थे, ‘तपाईंको धेरै माया लाग्छ, तपाईं आउनुस् है।’

सबैको माया पाएर उनी केही खुसी पनि भइन्। लन्च खाइसकेपछि आफूसँग भएका कामका कागजपत्र लिएर नयाँ नियुक्त भएका डाक्टरको कोठामा गइन्। ढोका ढकढक गरी भित्र पसिन्। डाक्टर ढोकातिर पिठ्युँ फर्काएर कुनै फाइल हेरिरहेका थिए। उनले भने,  ‘मिस कमला, बस्नुस्।’

कमला चुपचाप बसिन्। त्यो स्वर उनलाई कताकता सुनेकोजस्तो लाग्यो– उनको मुटुले चिनेको एउटै स्वरजस्तो। अनुहारभरि अनेक तरंग उठ्न थाले। ‘यी सबै भ्रम हुन्’ भन्दै आफूलाई सम्हालेर उनी बसिरहिन्। लगभग दश मिनेट बितिसकेको थियो। डाक्टर अझै फाइलमै व्यस्त थिए।

अन्ततः डाक्टर घुमेर बोले, ‘माफी चाहन्छु, यो अलि जरुरी थियो। ल, भन्नुस् मिस कमला...’

जसै उनी घुमे, दुवै अकमक्क परे। केही बोल्न सकेनन्। कमलाको आँखाबाट बलिन्द्र आँसु बग्न थाल्यो। आदेश पनि आफूलाई सम्हाल्न सकिरहेका थिएनन्। झन्डै दुई दशकपछि दुई प्रेमीको भेट भएको थियो। अब आँसु पीडाको होइन, खुसीको बगिरहेको थियो।

केही बेरपछि दुवै शान्त भए। अनि एकैचोटि बोले– ‘यहाँ कसरी?’

कमलाले भनिन्– ‘म यहीं नर्स हुँ।’

आदेशले मुस्कुराउँदै भने, ‘म यहाँको नयाँ डाक्टर।’

दुवै बसेर कलेजका कुरा, मायाका कुरा, कमलाको विवाहपछिका दिनहरू, डाक्टर पढ्दाका संघर्ष अनि कमलाको प्रेरणाले आफू डाक्टर बनेकोसम्मका धेरै कुरा आदेशले सुनाए।

जब उनीहरूका कुरा सकिए, कमला झसंग भइन्। उनका आँखा घडीमा पुग्यो– साँझको सात बजिसकेको थियो। उनी हतारिँदै उठिन्– ‘ओहो ! ढिला भइसक्यो, म अब जान्छु।’

त्यतिबेलासम्म आदेशको अनुहारको रङ फेरिइसकेको थियो। उनलाई अझै धेरै कुरा गर्न मन थियो। भावविह्वल आँखाले उनी कमलालाई हेरिरहे। कमला पनि बसिरहन चाहन्थिन् किनकि धेरै वर्षपछि उनले आफ्नो जीवनमा यति धेरै शान्ति महसुस गरेकी थिइन्। उनलाई आफ्नो अधुरो जीवन फेरि पूरा भएजस्तो लागेको थियो।

अझै पनि आदेशका लागि कमला केवल माया मात्र होइनन्, जीवन नै थिइन्। आदेशबाट कमला कहिल्यै टाढिन सक्दिनन् भन्ने भावना उनको मनमा अझै जीवित थियो तर सत्य यही थियो - अब कमला उनकी थिइनन्।

कमला हतारिँदै घर फर्किइन्। आदेश अझै पनि उनको सम्झनामा थिए। उनको मन अलिअलि कताकता खुसी थियो– अब आफ्नो मायासँग सधैं भेट हुनेछ भन्ने आशाले।

दिन बित्दै गइरहेको थियो। कमला र आदेशको सधैं भेट हुन्थ्यो। रामले कमलाको दैनिक जीवनमा चित्त दुखाउँदा, आदेशले उनलाई यति धेरै माया दिन्थे। घरका हरेक चित्त दुखेका कुरामा उसलाई सम्झाउँथे, सहयोग गर्थे। यसरी दिनहरू खुसी–खुसी बितिरहेका थिए।

दैवले पनि सधैं खुसी मात्र कहाँ दिन्छ र?

एकदिन हतार–हतार अस्पताल जाँदै गर्दा कमलालाई मोटरसाइकलले ठक्कर दियो। त्यसपछि उनलाई केही थाहा भएन। जब होस आयो, एक हप्ता बितिसकेको थियो। उनी उठ्न खोज्दै थिइन् तर शरीरले साथ दिएन। यसो फर्किन खोज्दा उनले छटपटाएर महसुस गरिन्– उनको एउटा खुट्टा अब रहेनछ।

त्यो थाहा पाउनेबित्तिकै उनी चिच्याएर रोइन्। संसार नै अन्धकार बनेजस्तो लाग्यो ।

एकातिर आदेश थिए, अर्कातिर कमला नजिकै उनका छोराछोरी बसेका थिए। त्यही बेला रामले उनको हात समात्दै भने– ‘नआत्तिनु कमला, हामी सबै तिमीसँगै छौं। डाक्टर आदेशलाई धन्यवाद देऊ, तिम्रो यो जीवन उनकै देन हो। अब तिमी ठिक छौ। जीवनभरि म तिम्रो सारथी भएर रहनेछु। अब म तिमीलाई एकछिन पनि छोड्दिनँ। मैले गरेका गल्ती सबै बुझेको छु। मलाई माफ गर कमला!’

रामको आँखाबाट निरन्तर आँसु झरिरहेको थियो। उनी फेरि बोले– ‘अब परिवार र तिमीबाट टाढा हुन सक्दिनँ। मेरो पहिलो प्राथमिकता अब तिमीहरू नै हौ।’

त्यो क्षण उनीहरू एकअर्काको अँगालोमा बाँधिएका थिए।

आदेश चुपचाप ती दृश्य हेरिरहेका थिए। हल्का मुस्कान लुकाउँदै उनले भने - ‘म  अहिले जान्छु...।’

रामको माया देखेर कमला केही असहज भइन् तर कताकता त्यो यथार्थले उनको मनलाई पनि छोइरहेको थियो। उनका आँखाबाट पनि आँसु बगिरहेको थियो।

अर्को दिन कमलाले आदेशलाई एउटा सन्देश पठाइन् -‘केही प्रेमहरू जीवनमा पूरा हुनका लागि होइनन्, सम्झनाका लागि आउँछन्। जीवनमा हाम्रो प्राथमिकता के हो भन्ने कुरा हामीले बुझ्नुपर्दोरहेछ। म माफी चाहन्छु। म फेरि आफ्नो जीवनमा फर्किंदै छु। तिम्रो जीवनलाई शुभकामना!’
अर्को समाचार
गाजामा मारिएका पत्रकार शरिफका अन्तिम शब्दहरू
२७ साउन २०८२
•
४ मिनेट पाठ
गाजामा मारिएका पत्रकार शरिफका अन्तिम शब्दहरू
अल जजिराका संवाददाता, अनस अल–शरीफ। आइतबार राति इजरायली हवाई आक्रमणमा मारिए। यो उनले आफ्ना परिवारका लागि लेखेको सन्देश र संसारलाई गाजालाई नबिर्सन गरेको अपिल हो।




तलको आलेख गाजासिटीको अल–शिफा अस्पताल नजिक पत्रकारहरूका लागि बनाइएको टेन्टमा भएको आक्रमणपछि मृत्यु भएका पत्रकार अनस अल–शरीफको एक्स खातामा मरणोपरान्त प्रकाशित गरिएको हो।  

टेलिभिजन च्यानल अल जजिराका अनुसार यस आक्रमणमा कुल सात जनाको मृत्यु भएको थियो, जसमा अल–शरीफ, अल जजिराका संवाददाता मोहम्मद कुरेक, क्यामेरा अपरेटर इब्राहिम जाहेर, मोहम्मद नौफल र मोआमेन अलीवा पनि थिए ।

**

यो मेरो इच्छा र मेरो अन्तिम सन्देश हो। यी शब्दहरू तपाईंसम्म पुगे भने थाहा पाउनुहोस् – इजरायलले मलाई मार्न र मेरो आवाज थुन्न सफल सफल भएको छ।

प्रथमतः तपाईंलाई शान्ति, अल्लाहको दया र आशिर्वाद प्राप्त होस। अल्लाहलाई थाहा छ, जबालिया शरणार्थी शिविरका गल्ली र गल्छेणामा जीवनमा पहिलो पटक मैले आँखा खोलेदेखि नै जनताको आवाज बन्न र उनीहरुलाई साथ दिन मैले आफ्नो सम्पूर्ण शक्ति र प्रयास प्रदान गरेको छु।

मेरो आशा थियो– अल्लाहले मलाई लामो आयु दिनुहुनेछ ताकि म आफ्नो परिवार र प्रियजनलाई भेट्न कब्जामा लिइएको हाम्रो जन्मभूमि अस्कलान (अल–मज्दाल) फर्कन सकूँ। तर अल्लाहको इच्छा पहिलो हुन्छ र उहाँको निर्णय अन्तिम हुन्छ ।  

मैले पीडाको सबै रूप भोगेको छु, दुःख र क्षतिको स्वाद पटक–पटक चाखेको छु। तर मैले सत्यलाई बिना तोडमोड जस्तो छ, त्यही रूपमा सुनाउन कहिल्यै संकोच गरिन। यसो गर्दा हाम्रो हत्यालाई स्वीकार गर्ने, हाम्रो श्वास रोक्न चाहने र हाम्रा बालबालिका र महिलाका छरिएका टुक्रा देख्दा समेत प्रभावित नहुने कठोर हृदय भएका र डेढ वर्षभन्दा बढी समयदेखि हाम्रा जनतामाथि भइरहेको संहार रोक्न केही नगर्नेहरूका विरुद्ध अल्लाह साक्षी रहून भन्ने मेरो चाहना हो।

म तपाईंलाई प्यालेष्टाइनको जिम्मा सुम्पन्छु – जुन मुस्लिम संसारको मुकुटको रत्न हो र संसारका हरेक स्वतन्त्र व्यक्तिको मुटुको धड्कन हो। म तपाईंलाई यसका जनताको जिम्मा सुम्पन्छु – ती निर्दोष र पीडित बालबालिकाहरू जसलाई कहिल्यै सपना देख्ने वा सुरक्षित र शान्त जीवन बिताउने समय दिइएन। उनीहरूका पवित्र शरीरहरू हजारौँ टन इजरायली बम र मिसाइलमुनि कुल्चिएका छन्, चुँडिएका छन् र भित्ताभित्तामा छरिएका छन्।

म तपाईंलाई अनुरोध गर्छु – न त कुनै तालाले तपाईंको आवाज बन्द गरोस्, न त सीमाले तपाईंलाई रोकून्। यो पवित्र भूमिको र यसका जनताको मुक्तिको  पुल बन्नुहोस्, जबसम्म सम्मान र स्वतन्त्रताको घाम हाम्रो लुटिएको मातृभूमिमा उदाउँदैन।

म तपाईंलाई मेरो परिवारको जिम्मा पनि सुम्पन्छु। म तपाईंलाई मेरी प्रिय छोरी शाम, जसलाई मैले हुर्किदै गर्दा हेर्ने अवसर पाइँन्, तिनलाई तपाईंको जिम्मा लगाउँछु। म तपाईंलाई मेरा प्रिय छोरा सलाहलाई जिम्मा सुम्पन्छु – जसलाई म जीवनभर साथ दिन र उसलाई बलियो बनाएर मेरो बोझ उठाउने र यो अभियान अगाडि बढाउने क्षमता दिन चाहन्थें। म तपाईंलाई मेरी आमाको जिम्मा सुम्पन्छु – जसको पवित्र प्रार्थनाले मलाई यहाँसम्म पुर्‍यायो, जसको आशिर्वाद मेरो सुरक्षा कवच बन्यो र जसको उज्यालोले मेरो बाटो देखायो। म प्रार्थना गर्छु अल्लाहले उहाँलाई शक्ति दिनुहोस् र मेरो तर्फबाट सबैभन्दा उत्तम प्रतिफल दिनुहोस्।

त्यस्तैगरी, म तपाईंलाई मेरी जीवनसाथीको जिम्मा सुम्पन्छु – मेरी प्रिय पत्नी उम्म सलाह (बयान), जसबाट युद्धले मलाई धेरै दिन र महिना टाढा राख्यो। तर उनले हाम्रो सम्बन्धलाई दृढतापूर्वक थामिराखिन् – नझुक्ने जैतुनको रुखको फेदझैँ अटल भई, धैर्यपूर्वक, अल्लाहमाथि भरोसा गर्दै, र मेरो अनुपस्थितिमा सबै जिम्मेवारी साहस र आस्थाका साथ पूरा गरिन्। म अनुरोध गर्छु तपाईं उनीहरूको साथमा रहनुहोस्, अल्लाहपछि उनीहरूको सहारा बन्नुहोस्।

म मरेँ भने, म आफ्ना सिद्धान्तमा अटल रही मर्छु। म अल्लाहका सामु वयान दिन्छु– म उहाँको निर्णयमा सन्तुष्ट छु। मै उहाँलाई भेट्नेमा निश्चित छु र उहाँसँग भएको कुरा नै उत्तम र शाश्वत हुन् भन्नेमा ढुक्क छु।

हे अल्लाह, मलाई सहिदहरूको समूहमा स्वीकार गर्नुहोस्। मेरा अघिल्ला र पछिल्ला पाप माफ गर्नुहोस् र मेरो रगतलाई मेरो जनता र परिवारका लागि स्वतन्त्रताको बाटो देखाउने उज्यालो बनाइदिनुहोस्। म कहीं चुकेको छु भने मलाई माफ गर्नुहोस् र मेरो लागि दयाको प्रार्थना गर्नुहोस्, किनकि मैले आफ्नो वाचा पूरा गरें र कहिल्यै बदलिइनँ वा धोका दिइनँ।

गाजालाई नबिर्सनुहोस् र मलाई पनि क्षमा र स्वीकृतिको लागितपाईंको सच्चा प्रार्थनामा नबिर्सनुहोस्।

गार्जियनबाट
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस