खेमराज पोखरेल
उसले मलाई भनेको थियो – ‘हेर रुद्रे, अब म बिहे गर्छु !’
ऊ भनेको रञ्जिते हो ।
हामी कुरकुरे बैँसका उच्छवासमा रमाएका हुन्थ्यौँ । स्वप्निल संसारमा तरङ्गित हुन्थ्यौँ । परीको कल्पना गरिरहेका हुन्थ्यौँ । एउटा नभोगेको सुखको कल्पनामा डुबुल्की मार्थ्यौं ।
ऊ भन्थ्योः ‘केटी अलि डल्ली डल्ली दोहोरा जिउकी हुनुपर्छ । ज्यादै गोरी पनि कफल्ला हुन्छन् । अग्ली टिङ्रिङे त वाइह्यात । अलि काली काली श्यामवर्णका सेक्सी हुन्छन् । म त छानेर बिहे गर्छु । भो बरु मलाई पढेकी चाहिएन, बुझिस् !’
उसले भनेजस्ती एउटी केटी ‘फाइनल’ गरयो ।
ऊ सुनाउँथ्यो । अत्यन्त खुसी थियो । ‘भाग्यले पाएँ’ भन्थ्यो । जीवन सार्थक भयो भन्थ्यो । म सुन्थेँ । कौतूहल हुन्थेँ । उत्तेजित हुन्थेँ । रोमाञ्चक हुन्थेँ ।
आखिर मेरो पनि बिहे भयो मेरा बाबुआमाले खोजिदिएकीसँग । मेरी केटी मलाई मन त परेको थिएन । पटक्कै मन परेको थिएन । ‘नाइँ ’ भन्दिऊँजस्तो लागेको थियो ।
मेरी केटी रञ्जितेलाई देखाएँ । ऊ त भन्न थाल्योः ‘त्यस्ती पिलन्धरे केटी पनि कसैले बिहे गर्छ पिटिक्क जालाजस्तो !’
मैले उसलाई भनेको थिएँः ‘के गर्ने त बाबुआमाको कुरा म काट्न सक्तिनँ । काटेँ भने फेरि कहिले हो कहिले ? आ होस् जे भए पनि केटी त हो, म त बिहे गर्छु !’
ऊ रिसाया र भन्यो – ‘मर साला रुद्रे !’
०००००००
‘बाबु, म तपाईँसँग एक थोक माग्छु दिनु हुन्छ ?’ यसो भनिरहँदा भाउजूलाई मैले निकै चिन्तित देखेको थिएँ ।
‘भाउजू कस्तो कुरा गर्नु हुन्छ ? तपाईँ मेरो रञ्जितेकी श्रीमती हुनुहुन्छ, मेरी भाउजू हुनुहुन्छ, ल मसँग भएको जे माग्नु हुन्छ, दिन्छु’
‘पक्का दिनु हुन्छ नि ?’ भाउजूको बोली थरथर कामिरहेको थियो ।
‘पक्का दिन्छु’
‘बाबु, मलाई तपाईँले सुटुक्क बिउ दिएर मेरो जीवन बचाइ दिनुहोस् न’
भाउजूका कुराले म अचम्मित भएँ । यस्तो भन्नु होला भन्ने मैले कल्पना गर्ने कुरै थिएन । भाउजूतिर हेरेँ, भाउजूको आँखाले भल बगाएका थिए । कान्तिपूर्ण अनुहार सुस्केरा हालिरहेको थियो ।
‘भन्नुस् न बाबु । किन न बोलेको ?’ भाउजू निकै सोचमा हुनुहुन्थ्यो । निकै उदाशीमा बोलिरहनु भएको थियो ।
मैले भनेँः ‘के भन्नु भएको भाउजू तपाईँले ? माग्ने कुरा माग्नु भएको हो ? भन्ने कुरा भन्नु भएको हो ?’
भाउजू एकछिन् चुप लाग्नु भयो । आकाशतिर हेर्नुभयो । भुईँ कोट्याउनु भयो, लामो श्वास फेर्नु भयो, आँशु पुछ्नु भयो र भन्न थाल्नु भयोः
‘हेर्नुस् बाबु, लगभग तपाईँको र हाम्रो बिहे सँगै भएको हो । तपाईँका छोरा र छोरी भइसके । मेरो भएन । तपाईँको साथी नपुंशक छ । उसले तपाईँमाथि शङ्का गर्दैन । मैले घर खान सन्तान जन्माउनै पर्छ । नत्र भने अर्को बिहे गर्ने तयारी गर्दै छन् । तपाईँलाई थाहा हुन पर्छ । अर्को बिहे गरे भने मलाई लखेट्छन् । म घरकी न घाटकी हुन्छु । मेरो दुर्दिन सुरु हुन्छ । मलाई यो दुर्दिनबाट जोगाइ दिनहोस्’
भाउजूले साँच्चै कुरा भन्नु भएको थियो । यो कुरा मलाई पनि थाहा थियो । मैले रञ्जितेलाई भनेको पनि थिएँः ‘यसो औषधीमुलो गरा न लट्ठु, बच्चा भइहाल्छ नि’
उसले जवाफ दिएको थियोः ‘हेर् न मेरी स्वास्नीलाई, पट् बैला देखिन्छे, थारी देखिन्छे । यसको पाठेघरमा बोसो जमिसक्यो । यस्ता दोहोरा जिउ हुनेहरू सेक्सी त हुन्छन् तर धेरैजसो थारी हुन्छन्’
मैले उसलाई हप्काएँः ‘यस्तो जान्दो रहिछस्, किन दोहोरा जिउकी बिहे गरेको त ?’
उसले उत्तर दिएथ्योः ‘म के जान्नु त ऊ नै बैला बस्छे भनेर’
०००००००
मैले भाउजूले भनेको मानिनँ । मान्ने कुरै थिएन । रञ्जितेकी श्रीमतीलाई कसरी विर्यदान गर्नु , उफ । भाउजूलाई देख्दा डर लाग्न थाल्यो । मानौ भाउजू घाइते बघिनी हुन् । तर तत्क्षण भाउजूलाई नियालेर हेरेँ । विवश थिए भाउजूका आँखा । एउटा ठूलो आँधी आउनुअगाडिको कालोमैलोजस्तो शान्त थियो भाउजूको शरीर । उनी यौनातुर पनि थिइनन् । कामातुर पनि थिइनन् । मृत्यु थाहा पाएको क्षण भएको थियो भाउजूको । मृत्युसँग जोगिने उपक्रम मात्र थियो ।
तर, म भागेँ । भाउजूसँग भागेँ । रञ्जितेसँग भागेँ । परिवेशसँग भागेँ । आफ्नी श्रीमतीलाई लिएरै घरपायक जागिरबाट सरुवा गराएर अर्को शहरतर्फ भागेँ ।
जति भागे पनि रञ्जितेको घरको खबर थाहा पाइहाल्थेँ । भाउजूलाई यातना दिन थालेका छन् । दुर्दिनहरू सुरु भइसकेका छन् । कामले हुर्मत लिन थालेको छ । हेपाइस सुरु भएको छ । वचन सुरु भएको छ ।
घरका मात्र होइन परका पनि भाउजूलाई भन्न थालेका छन्ः
‘थारोलाई हरियो घाँस त कसैले दिँदैन नि, हरियो खाने भए बियाउनुपर्छ, पियाउनुपर्छ !’
म सुन्थेँ । द्रवीभूत हुन्थेँ । पग्लन्थेँ । ग्लानि हुन्थ्यो । मलाई मनले धिक्कार्दै भन्थ्योः ‘तँ पाजी होस् । भाउजूको दुर्दिनको कारक होस् । दुभाग्यको सुरुवातकर्ता होस् । लाक्षी होस् । नामर्द होस् । विश्वासघाती होस् । भगुवा होस् ।’
मैले सुने कि भाउजूलाई कुटेर लघारे । घरबाट घिसारेरै बाहिर निकाले र धपाए । त्यहाँ भाउजूका लागि बोलिदिने कोही थिएनन् । भाउजूका आर्तनादहरू हावाले उडाइलगे होलान् । भाउजूका रुवाइहरू क्षितिजमा हरायो होला ।
रातो तुल ओछ्याएर भाउजू त्यो घरमा आएकी थिइन् । फूलहरू हाँसेका थिए । कोपिलाहरू फक्रेका थिए । घर रौसेको थियो । बाटो चम्केका थिए । बाजा बजेका थिए । मान्छे नाचेका थिए । बिरबिर पानी परेको थियो । मान्छे भन्थेः ‘लच्छिनकी छन् यी बुहारी, बिरबिर पानी परयो । ’
मान्छे बराम लागेका थिए । केही न केही सगुन राखेरै मुख हेर्थे ।
अहिले उनी लघारिएकी छिन् । निसहाय भएकी छिन् । घामले पोलेर विरोध गरेको छ । फूलले ओइलाएर शोक मनाएका छन् । कोपिला चाउरिएर सुकेका छन् । भाउजूको एकहाते माली गाई दाम्लो चुडाउँलाजस्तो उफ्रिरहेको छ । काले कुकुर पनि सहायतामा भुकिरहेछ । मान्छे त्यसैगरी बराम लागेका छन् । तर कोही बोल्दैनन् । बोले पनि भाउजूका पक्षमा बोल्दैनन् । झूठ भएको छ मान्छे । दुष्ट भएको छ मान्छे । कृतघ्न भएको छ मान्छे ।
पल्लाघरे हिँड्न नसक्ने बूढी आमै भन्छिन्ः ‘कठै आइमाईको कर्म !’
भाउजू माइतका शरणमा गइन् । माइतमा पनि उपेक्षित हुन थालिन् । अपहेलित भइन् । मानौ उनी यो घरमा जन्मेकी होइनन् । मानौ यी रुखबिरुवा, बाटाघाटाले उनलाई चिन्दैनन् । मानौ यो घरमा उनको केही योगदान छैन । मानौ उनी एकदम अपरिचता हुन् । मानौ उनी यो घरकी दुस्मन हुन् । उनले आफ्नो हत्केला हेरिन । यो घर बनाउँदा काठ, बाँस बोक्दा उठेकोे ठेला अझै सकिएको थिएन । घाउको टाटा अझै थिए । पानी बोक्ता बोक्ता गलेका हातमा अझै तागत आइसकेको थिएन ।
एकदिन उनकी आमाले नै भनिन्ः ‘के गर्ने ठूली ? घर खान सकिनस् । तेरो भाग्य नै कमजोर रहेछ । अब आफ्नो भाग्य खा !’
भाउजूले हेरिन् । गाईगोठ त्यही थियो । घर त्यही थियो । पानी बोक्ने गाग्रो त्यही थियो । इनार त्यही थियो । आमा त्यही थिइन् । बाबु त्यही थिए । भगवान बस्ने तुलसाको मोठ उही थियो । तुलसी उस्तै थिए । बाटाहरू त्यही थिए । सूर्य त्यसैगरी उदाउँथ्यो । त्यसैगरी अस्ताउँथ्यो । चन्द्रमा उस्तै थियो, आकाश उस्तै थियो । उनी उस्तै थिइन् । तर मान्छे भन्थेः ‘ ठूली अर्काकी रे ! ’ कसरी भई अर्काकी ! के विवाहिताको माइतीको माटो त्यति कृतघ्न हुन्छ ! के भाउजूजस्ता महिलाको जीवन नबिराएको अभिशप्तता हो
रञ्जिते भाउजूसँग गएर पारपाचुकेको कागजमा सही गराउन खोजिरहेको रहेछ ।
भाउजूले भनिछन्ः ‘पारपाचुके त यसै पनि छ, उसै पनि छ, मुटु टुक्रिएपछि यसै पनि जोडिन्न, उसै पनि जोडिन्न । तर मैले सही गरेबापत के पाउँछु ?’
रञ्जितेले भनेछः ‘के लिने ?’
‘के दिने ?, तिमीसँग के छ र ?, माया छैन, दया छैन, जिम्मेवारी छैन, विवेक छैन, । कृतघ्न छौ । जुन मान्छेलाई मैले कठिन परिस्थितिमा जोगाएको सग्लो स्वः बुझाएँ, सर्वस्व सुम्पिएँ, त्यो आफ्नो भएन भने त्यही मान्छे तिमी मलाई के दिन सक्छौ र ? तर पनि पारपाचुकेमा सही गरेबापत म तिमीसँग त्यही मागिरहेकी छु, जो तिमीसँग छैन । दिन्छौ ?’
उसले हतारहतार भनेछः ‘दिन्छु’
‘तिमी अब जसलाई बिहे गर्छौ, त्यसलाई माया गर, संसार मायाको हुन्छ । काया जीवन होइन । जीवनमा माया मात्र हुन्छ । बच्चा पाइन भनेर उसलाई मलाईजस्तो जीवनको एकलासमा एक्लै नछोडिदेऊ ।’
०००००
भाउजू माइतबाट पनि हिँडिन् भन्ने मैले सुनेको थिएँ । कुनै एउटा स्कुलमा आयाको काम गर्न थालिन् रे भन्थे मान्छे । मैले चासो राखिनँ । सायद रञ्जितेले पनि चासो राखेन होला । उसको स्वार्थ सकिएको थियो । ऊ किन पनि चासो राख्थ्यो र ? तर पनि कुरौटे मान्छे कहिलेकाहिँ सुनाउँथेः ‘रञ्जितकी जेठी त पढ्दै पनि छ रे, हा हा हा हा हा, बुढो सुगाले के पढ्दो हो ! यहाँ कति पढेका त जागिर नपाएर हलो जोतिरहेका छन् । त्यो त झन् आइमाई । ’
यी मान्छेलाई किन हो उँधो लागेको मान्छे देख्न हुन्न । धपाएको धपाएकै गर्छन् । उँभो लागेको देख्यो भने उकासेको उकासै गर्छन् । विधाताले विनाकारण दिएको दुःखमा पनि मान्छे कठै भन्दैन ।
दिनहरू बितिरहेका थिए । भाउजूले पढेर मास्टरी गर्दै गरेको सुनिन थालेको थियो । त्यही पनि मान्छे हाँस्न छोडेका थिएनन् । तर म फेरि अर्को सहरमा सरुवा भएपछि भने भाउजूका बारेमा कुनै कुरा सुनिएका थिएनन् । मैले पनि सम्भवत भाउजूलाई बिर्सिसकेको थिएँ ।
०००००
यो शहरमा रञ्जिते मलाई भेट्न आएको थियो । सायद ऊ जीवनमा उसले भोगेका जिजिविषा मलाई सुनाउन खोज्थ्यो होला । ऊ एकतमासको भएर मेरी श्रीमतीलाई हेर्थ्यो । मेरा साना छोराछोरी खेलेको हेर्थ्यो । सायद व्यतिरेक हुन्थ्यो होला । ऊ निकै उदास थियो । रञ्जितेले दोस्रो बिहे गरेको तीन वर्ष भइसकेको थियो । सन्तान भएका थिएनन् । रञ्जितेका बाबुआमा फेरि अर्को बिहे गराउने ताकमा थिए ।
उसले मलाई राति भनेको थियोः ‘यार, सन्तान भएनन् । म दुःखी छु । मेरा बाआमा दुःखी हुनुहुन्छ । आफन्त दुःखी छन् । परिवेश नै दुःखी छ । मेरी अर्की स्वास्नीले पनि बच्चा पाइन । म के गरूँ ?’
मैले उसलाई धेरै सम्झाएको थिएँः ‘यार, अब बिहे नगर, अघिल्लो भाउजूबाट त भएनभएन, दोस्रीबाट पनि नभएपछि आफ्नो पनि कमजोरी हुन सक्छ । संसारमा धेरै मान्छेका छोराछोरी छैनन् । तँ एक्लो होइनस् । बरु अनाथालयबाट एउटा बच्चा ल्याएर धर्मपुत्र बना न ।’
उसले निकै उदास हुँदै थियो । एकछिन चुप लाग्यो र भन्योः ‘मलाई त सत्ते जोगी भएर हिँड्न मन छ । न हरहर न कचकच । के गर्ने बाबुआमा बूढा भइसक्नुभयो । म एक्लो छोरो । सन्तान नदेखी मर्ने भयौँ भन्नुहुन्छ । अनाथालयबाट ल्याऊँ न भन्दा उहाँहरू भन्नुहुन्छच अर्काको पाप ल्याउन हुन्न, तल्ला घरे रिजालबाका बाजेले सातवटा बिहे गरेपछि सन्तान भा’थ्यो भन्नुहुन्छ । ज्योतिषी मुर्दार पनि भनिदिन्छः ‘तिम्ल्याहा ग्रह छ तपाईँको । तेस्रो श्रीमतीबाट सन्तान लेखेको छ बाबु तपाईँको ।’
मैले उसलाई भनेथेँः ‘के भएको होलास् तँ पाजी रञ्जिते । त्यस्ता पाखण्डीको पनि विश्वास गर्ने हो त ? बाबुआमालाई सम्झा, अनाथालयबाट बच्चा ल्या ।’
उसले ‘हस’ भनेको थियो । तर ऊ उदास हुँदै सुतेको थियो ।
भोलिपल्ट साँझमा ऊ र म तरकारी किन्न चोकतिर गएका थियौँ । तरकारी बजारमा एउटा बच्चा च्यापेर उभिएकी महिलाले मेरा पाखुरामा च्याप्प समाइन् । मैले उनलाई हेरेँ । मेरो मुखबाट अनायास निस्क्योः ‘आबुई, भाउजू !’
उनले मलाई अँगालो मारिन् । बच्चा काटिकुटी भाउजूकै अनुहारको थियो ।
भाउजूले एउटा अर्को मान्छेसँग परिचय गराइन्ः ‘मेरो श्रीमान् !’
यसो भनिरहँदा भाउजूको अनुहारमा लाली चढेको थियो ।
तत्काल मैले रञ्जितेतिर हेरेँ । ऊ त्यहाँ थिएन । हरायो । ऊ खोई जीवनसँग भाग्यो कि , बुद्धिसँग भाग्यो कि, परिवेशसँग भाग्यो कि, कर्मसँग भाग्यो तर भाग्यो । कुलेलम ठोक्यो ।