पलायन-उन्मुख सकारात्मकता
१३ वैशाख २०८२
•
५ मिनेट पाठ
पलायन-उन्मुख सकारात्मकता
म खुबै चाख लिएर सुनिरहेको थिएँ, गजलकार प्रदीप रोदनको गजल–वाचन।




‘अरू कुनै बहाना पाएन छिमेकीले झगडा गर्ने मैले कुखुरा छोडेको थाहा पाएर बिस्कुन सुकाएको छ...’

यी पंक्तिको समाप्तिसँगै राधिकाले बडो गहन प्रश्न गरिन्– ‘यो लेखक भन्ने कस्ता जातका हुन् ?’  प्रश्नले गजल–वाचनप्रतिको मेरो मुग्ध एकाग्रता अचानक खलबलियो, ‘कस्तो प्रश्न हो यो ? के अर्थमा सोधेकी ?’

‘हैन, सकारात्मकता भन्ने सोच नै आउँदैन तपाईंहरू मनमा ?’ प्रतिप्रश्न गरिन् उनले।

‘कुन सन्दर्भमा ?’

झट्टै भनिहालिन् उनले - ‘तपाईंले जुन गजल सुनिराख्नुभएको छ, म पनि काम गर्दै सुनिरहेकी छु।’

‘के छ र यसमा त्यस्तो नकारात्मकता?’

‘छिमेकीप्रति वितृष्णा पोखिएको छ यसमा,’ उनले गहन विश्लेषण गरिन्– ‘छिमेकी भनेको परम दुस्मन हुन्छ भन्ने तथ्यको नकारात्मक पुष्टि गर्न खोजिएको छ।’

गजल सुनेर मनोरञ्जन लिइरहेको म, बडो नराम्रोसँग रन्थनियो मेरो मस्तिष्क। मनमनै थपडी बजाइरहेको मेरो मन जिल्ल पर्‍यो। ओहो ! जसलाई मैले मिठो गजल भनिरहेको थिएँ, त्यसलाई यस्तो तरिकाले पनि बुझ्न सकिँदो रहेछ।

जिल खाइरहेको मलाई उनले अर्को वाक्य प्रहार गरिन्– ‘के बिस्कुन सुकाएकै देखेर छिमेकीले कुखुरा छोड्छ ? जसले बिस्कुन सुकाएको छ, उसले पनि त छिमेकीले कुखुरा छोड्ने समय पारेर निहुँ खोज्नका लागि बिस्कुन सुकाएको हुन सक्छ नि ! सक्दैन र?’

प्रश्नबाट सम्पूर्ण गजलकारतर्फसँगै मेरो लेखकीय धर्मसमेत डगमगाएको महसुस भयो। उनले अझै थपिन्– ‘बिस्कुन सुकाउनेको मन सफा थियो भने छिमेकीलाई भन्न सक्नुपर्थ्याे – एई छिमेकी ! मैले बिस्कुन सुकाएको छु। कुखुराहरू नछोड्नू है, आज दिनभरलाई खोरमै थुनेर राख्नू !’

समाजमा भट्किँदै गएको विसङ्गति÷विकृतिहरूको पक्षपोषण गर्ने काममा लेखकले अझै मद्दत पुर्‍याइरहेको छ भन्ने सम्भवतः उनको दोषारोपण थियो यो, त्यसकै अभिव्यक्ति थियो यो आक्रोश। यतिबेला, राधिकाको प्रश्नका कारण मभित्र थुप्रै पूरक प्रश्नहरू उब्जिएका छन्– लेख्नुको नाममा के लेखकहरूले समाजमा व्याप्त कुरीतिहरूको मात्रै बखान गाउने हो र ? हो, लेखक–कविहरू पक्कै संवेदनशील हुन्छन्। तर, संवेदनशील हुनुको अर्थमा दुःख–पीडा, आँसुलगायतका नराम्रा देखिने विषयको मात्रै गीत गाउने ठेक्का लिएर बसेका हुन्?

राधिका भन्छिन्– ‘समाजमा सकारात्मक विषय पनि छन्, तीप्रति तपाईंहरूका कलम किन मौनप्रायः देखिन्छन् ?’ यो प्रश्नको सहज जवाफ फर्काएँ– ‘आजको समाज दोस्रोमाथि व्यङ्ग्य गर्न रुचाउँछ, अरूको आँसुमा पौडी खेल्न रमाउँछ। यसलाई लेखकले जेजसरी देख्छ, त्यसैलाई जस्ताको तस्तै वर्णन गर्छ। बरु यो महत्त्वपूर्ण कुरा हो, यसलाई लेखकले आफ्नो कर्तव्य निभाएको सम्झनुपर्छ।’ 

उनले फेरि प्रश्न दोहोर्‍याइन्– ‘यसको मतलब समाजबाट मान्छेको हाँसो–मुस्कान हराइसकेको हो ? के समाजभित्र अब अलिकति पनि खुसी बाँकी छैन ? यस्ता कुराका वर्णन गर्नबाट चाहिँ लेखक–कवि किन विमुख ?’

प्रश्न जति सजिलै सोधियो, जवाफ फर्काउन मलाई उति कठिन थियो, तैपनि शिथिल जवाफ दिएँ– ‘तर, मान्छेलाई जति–जे कुराले छुन्छ, त्यो सबै दुःखकै कुरा हुन्छ। कवि–लेखकले यसैलाई बढी नोटिस गर्छ।’

हुन पनि खुसीका कुराहरूले मान्छेलाई उतिसाह्रो छुँदैन कि कुन्नि ! मैले मान्छेहरू खुलेर खुसीसाथ हिँडेको रमाएको देखेको छैन। बालकहरूको अनभिज्ञताको कुरो अर्कै हो। कसैले किनेर चकलेट दिए पनि खुसी हुन्छन् तिनीहरू, अर्को बच्चासँग खोसेर दिए पनि खुसी हुन्छन्, तिनलाई केवल चकलेटको गुलियोसँग सरोकार हुन्छ। तर, केही बुझ्ने भइसकेको उमेरमा पुगिसकेपछि कसैमा पनि खुसीको भाव प्रायः देखिन्न नै।

‘जति देखिन्छ, त्यति त लेख्न सक्छन् होला नि कविहरूले ! कि त मान्छेको दुःख–पीडा, समाजमा व्याप्त विसङ्गति, अपराधीकरणहरूको तस्बिर लेखेर देखाउने मात्रै लाइसेन्स उनीहरूले लिएका छन् ?’ राधिकाको आक्रोश अझै थामिएको थिएन।

सोचमग्न भएँ म, के अरूको संवेदनशीलतामा रमाउने विशेषता बोकेको हुन्छ लेखक–कविहरूको चरित्रले ? वास्तवमै साहित्यले यही तथ्यको नै त पुष्टि गर्छ। बुझ्दै जाने हो भने लेखकहरूले पाठकको मनोविज्ञानलाई निकै गहिरोसँग बुझेको महसुस हुन्छ। लेखकलाई थाहा छ– पाठकको माग के हो? पाठकले के चाहिरहेका छन्? के रुचाउँछन् उनीहरू?

तर, लेखकप्रति खतरनाक प्रश्न उभिएको छ– ‘पाठकले माग्यो भन्दैमा के लेखकहरूले घाँस काटेर खान दिने ?’

लेखकको धर्म त पक्कै त्यो होइन होला। लेखकले त भात नै पस्केर दिनुपर्ला नि ! लेखकजस्तो चेतनशील प्राणीले नबुझेको होलान् र– भोक मेटाइदिने बहानामा आफ्नो कर्तव्यबाट च्यूत भएर कुकर्म गर्नुहुन्न भन्ने कुरा। तर पनि, आजको लेखन सम्पूर्ण नराम्रा र नमिठा लाग्ने खालका भएर पनि फेरि त्यही प्रवृत्तिका छन्, जसलाई ताली पिटिपिटीकन पाठकहरूले पढिरहेका छन्, सुनिरहेका छन्, सुनाइरहेका छन्। यहाँ एउटा प्रसङ्ग जोड्न चाहन्छु म। करिब अढाई दशकअघि, ‘घुयेँत्रो’ नामक साहित्यिक पत्रिका प्रकाशित गरेर बिक्रीका लागि दिने क्रममा केही प्रति पत्रिका लिएर म एउटा पत्रिका पसलमा पुगेँ। बिल्कुल नयाँ नामको पत्रिका पहिलो पटक देखेर पत्रिका पसलेले एक प्रति हातमा लिए र चम्किला आँखाले पत्रिकाको आवरण नियाले। वास्तवमै आवरण निकै आकर्षक थियो– पहेँलो रङमा बुद्धको शान्त आकृति थियो त्यहाँ। त्यसपछि निकै रुचाएजस्तो गरेर त्यसका प्रायः सबै पृष्ठहरू पल्टाएर हेरिसकेपश्चात् उनले पत्रिकाको आवरणलाई फेरि निकै घोरिएर हेरे र मलाई फिर्ता गर्दै भने– ‘पत्रिका निकै आकर्षक छाप्नुभएको रहेछ। एकदम राम्रा र ठुला साहित्यकारहरूको रचना रहेछ तर...।’

‘के तर... ?’ मैले पसलेलाई आँखैले सोधेँ।

उनले बडो सहजतापूर्वक भने– ‘कभर पनि यति राम्रो छ। तर, यस्तो कभर पाठकहरूले रुचाउँदैनन्।’

मैले सोधेँ– ‘किन, के खराबी छ यो कभरमा ?’ उनले केही अश्लील भावमा भने– ‘कुनै युवतीको ब्लोअप राख्नुभएको भए काइदा हुन्थ्यो नि सर !’

यसको अर्थ थियो– साहित्य भनेर पत्रिका पढ्ने पाठकले पनि भित्र छापिएको साहित्यलाई नभई पत्रिकाको आवरणलाई प्राथमिकता दिँदो रहेछ।

तर, सम्पादक हुनुको नाताले माथि लेखकका तर्फबाट भनिए जस्तो– घाँस काटेर खुवाउन नैतिकताका हिसाबले कहाँ सकिन्थ्यो र। मैले त्यही बेहोराको जवाफ दिएँ उनलाई। समग्रमा, सत्य यही हो कि मानवीय प्रवृत्ति भनौं या यसलाई दुष्प्रवृत्ति भनौं, आफ्नो सुख होइन, अर्काको दुःख देखेर रमाउने प्राणी हो– मनुष्य। उसको दिमागले प्रायः नकारात्मक हुनलाई नै प्रेरित गरिरहन्छ। सायद, यसैकारण भनिएको होला– मान्छे बस्ने समाजमा असल कर्महरू हुन्थे भने मान्छेलाई ‘ईश्वर’को नाममा पुकारिहालिन्थ्यो, मान्छे रहने समाज ‘स्वर्ग’ भइहाल्थ्यो। यसको अर्थ, समाजमा सकारात्मक सोच राख्नेहरू जन्मँदै जन्मँदैनन् भन्ने कदापि होइन। तर, तुलनात्मक रूपले तिनको गन्ती अत्यन्तै न्यून छ।

अन्तमा, भन्नुपर्ने निचोड यही नै हो कि– आत्मरतिमा रमाएका हुन् वा चर्चित भनेर कहलिएका कथित लोकप्रिय लेखकहरू हुन्, कलम लिएर लेख्न बसिसकेपछि समाजको वर्णन गर्दा यो पनि ख्याल राख्न जरुरी छ– जीवन उत्सव पनि हो, यो उत्सवलाई अझ महोत्सव बनाउने कर्म गरौं।
अर्को समाचार
लघुकथाहरूकाे सुन्दर पुञ्ज ‘एकालाप’
१० साउन २०८२
•
९ मिनेट पाठ
लघुकथाहरूकाे सुन्दर पुञ्ज ‘एकालाप’
लघुकथाको क्षेत्रमा खेमराज पोखरेल कुनै अपरिचित नाम होइन। सामाजिक माध्यम खासगरी फेसबुक पेजहरू जसले उनलाई लघुकथाको क्षेत्रमा स्थापित गर्न मेरुदण्डको काम गरेको छ भन्दा अतिशयोक्ति नहोला। लघुकथाबाट नेपाली साहित्याकासमा उदाएका पोखरेललाई लघुकथाकार, आख्यानकार, समीक्षक मात्र होइन परदेशी भूमिमा रहेर पनि नेपाली साहित्यको सेवामा लागिपर्ने साहित्यकारका रूपमा नेपाली साहित्यिक जगतले स्विकारिसकेको छ। यसका बलियो प्रमाण हुन् -उनले सम्पादन गरेका करिब तीन दर्जन पुस्तक। यसका साथै उनले नेपाली साहित्यको श्रीवृद्धि गरेबापत थुप्रै सम्मान तथा पुरस्कार पनि पाइसकेका छन्। उनको साहित्यिक यात्राको निरन्तरताको शुभकामना दिंदै यहाँ भने उनको पछिल्लो कृति एकालापको मात्र चिरफार गरिएको छ।




विषय प्रवेश

एकालाप पोखरेलकाे लघुकथाको सातौं कृति हो। लघुकथा लेखनबाहेकको उनले निबन्ध, कथा, पाठ्यपुस्तक, साहित्यिक पुस्तक सम्पादन गर्दै आइरहेको देखिन्छ। उनको लगाव लघुकथामा बढी देखिन्छ। एकहत्तर लघुकथा सङ्ग्रहित “एकालाप” का सबै लघुकथाका शीर्षकहरू “एक” शब्दबाट सुरु भएका छन्।

यस सङ्ग्रहमा एक शब्दको पछाडि अर्को शब्द थपेर दुई पदीय शीर्षक राखेर उनले आफ्नाे पृथक् शैली प्रस्तुत गरेका छन्। उनले कृतिको शीर्षक एकालाप राख्ने कारणबारे यस्तो लेखेका छन्, “जिन्दगीभित्रका अनगिन्ती धारावाहिक पाटाहरू रहेका हुन्छन्। यो भने मैले जीवनसँग गरेको एक आलाप मात्र हाे तर न त जीवनले मेरो आलाप सुन्यो न मैले आलाप गर्न छोडे। परिणति एकालाप हो।” 

उक्त कथनबाट यो कृतिको शीर्षकले स्वत: सार्थकता पाएको बुझिन्छ। आवरण कलामा एक व्यक्ति मेचमा बसेर एकालाप गरिरहेको बुझ्न पाठकलाई हम्मे पर्ने छैन। मोलुङ फाउन्डेसन कोटेश्वर काठमाडौंले प्रकाशनमा ल्याएको यो पुस्तकको आवरण कला राजेन्द्र तारकिणीको रहेको छ भने लेआउट केदार आचार्यले गरेका छन्। हिमालयन एकेडेमी प्रेस कुपन्डोल, काठमाडौंले मुद्रण गरेको यो लघुकथासङ्ग्रहको शुद्धाशुद्धि पाठ बिमल अधिकारी, कोलोराडो अमेरिकाको रहेको छ। २०८१ भदाैमा प्रकाशित पुस्तक किनेर पढ्ने, सङ्कलन गर्न वा अनुसन्धानका लागि प्रयोग गर्ने जो काेहीको पनि मूल्य भने असुल हुने देखिन्छ।

पाेखरेलले लघुकथाविज्ञ डा. हरिप्रसाद भण्डारीलाई भूमिका लेख्न दिएर पुस्तकलाई थप आधिकारिकता प्रदान गरेका छन्। “उम्दा लघुकथाहरू” अन्तर्गत आफ्नाे धारणा राख्दै डा. भण्डारीले लेख्छन्, “पछिल्लो समय नेपाली लघुकथाको अभियानमा खेमराज पोखरेलको नाम अग्रपङ्क्तिमा आइरहेको छ। लघुकथाका सैद्धान्तिक आधारमा हेर्दा उनी कतै चुकेका छैनन्।” डा. भण्डारीको यो कथनले पाठकलाई लघुकथा पढ्न उत्प्रेरित गरेको छ।

लेखकको भनाइ पुस्तकको सुरुमा राख्ने शास्त्रीय शैली तोड्दै उनले लघुकथासङ्ग्रहको अन्त्यमा आफ्नाे परिचय, भनाइ र प्रकाशित/सम्पादित पुस्तकहरूको विवरण राखेका छन्। यो प्रयोगले उनलाई समयसापेक्ष चल्न सक्ने लेखकको रूपमा परिचय गराउन मदत मिलेको छ।

एक सूर्यदेखि एक सम्भोगसम्म

एक सूर्य शीर्षकको लघुकथाबाट सुरु गरिएको यो लघुकथासङ्ग्रह एक सम्भोग शीर्षकको लघुकथामा पुगेर अन्त्य गरिएको छ। लघुकथाकार पोखरेलले यस सङ्ग्रहको पहिलो लघुकथामा आप्रवासनको विषय समेटेका छन्। पोखरेलले आप्रवासी पुस्ता र अमेरिकामा नै जन्मिएका पहिला सन्तान पुस्ताको द्वन्द्व कौशलपूर्ण कथानकमा उतारेका छन्। लघुकथा पढ्दा यस्तो लाग्छ, यो कुनै कथा होइन यथार्थ हो।

उक्त लघुकथामा पाकिस्तानी पात्र खडा गरिएको छ। अन्य देशको आप्रवासीको ठाउँमा नेपाली आप्रवासीलाई नै पात्रको रूपमा ल्याउन सकेको भए यो लघुकथाले अझ नेपालीत्व पाउँथ्यो।

सम्भोग यो लघुकथासङ्ग्रहको अन्तिम लघुकथा हो। म नेपाली पात्र र जेसिका अमेरिकी पात्रका वीजको कथा बुनेर यस लघुकथामा नेपाली र अमेरिकीको प्रेम र सम्भोगप्रतिको दृष्टिकोण देखाउन खोजीको छ।

समीक्षक रुद्र अधिकारी ‘निर्दोषी’
यौन विषय नेपालमा सङ्कुचित भए पनि अमेरिकीहरू भने खुला छन् भन्ने देखाइएको छ। लघुकथाको अन्तिम वाक्यमा भनिएको छ, “म तिमीलाई साथीको रूपमा प्रेम गर्छु। सेक्स पार्टनरका रूपमा होइन। मेरो प्रेमी अर्कै छ, जससँग म दैविक आनन्दमा सम्भोग गर्छु।”

उक्त वाक्य आफैंमा लामो त छँदै छ, यसले पाठकलाई झट्का दिन पनि सफल भएको देखिंदैन। यद्यपि लघुकथाले प्रेम र सम्भोग फरक विषय हुन भन्ने पाठ सरल भाषामा पाठकहरूलाई सिकाएको छ। यो लघुकथाबाहेक उनले एक अस्तित्व, एक वरदान, एक भर्जिन, एक पीडा, एक आन्नद, एक माया, एक रखौटी, एक स्टायल, एक यन्त्र, एक जेनेरेसन र एक अलगाव जस्ता थुप्रै पारपाचुके, श्रीमान् श्रीमती विवाद र यौन सम्बन्धी लघुकथा लेखेका छन्।

उत्कृष्टताका नमुनाहरू

लघुकथा लेखन र समीक्षामा पारङ्गत पोखरेलका केही लघुकथा उत्कृष्टताका नमुनाहरू हुन भन्दा फरक नपर्ला। उदाहरणको रूपमा एक समय, एक लास, एक आरक्षण, एक अप्राप्ति, एक युद्ध, एक दान, एक नियम, एक चस्मा, एक आकाङ्क्षा, एक याचना, एक गोरु, एक परिवर्तन, एक डस्टविन, एक रगत, एक भेट्रान, एक आसन, एक दुदानी, एक अपाङ्ग, एक मूर्च्छना, एक मुक्ति र एक फर्मुला लगायतलाई लिन सकिन्छ।

यी लघुकथाले सामाजिक यथार्थता र मनोविज्ञानको मात्र चित्रण गरेका छन् आदर्शको स्वाद पनि पाठकलाई चखाउन सफल भएका छन्। त्यसैले पोखरेलका लघुकथाहरू आदर्श र यथार्थताको संयोजनले भरिपूर्ण उत्कृष्टताका नमुनाहरू हुन भन्ने दुई मत देखिंदैन !

खेम पात्रको पृथकता

पोखरेल आफ्नै नाम खेमलाई पात्रको रूपमा प्रयोग गरेर पृथक् शैली अपनाएका छन्। एक भेद, एक समय, एक राष्ट्रियता, एक वरदान, एक युद्ध, एक भ्यागुतो, एक साथी र एक मूर्च्छना लगायतका लघुकथामा “खेम” लाई पात्र बनाइएको छ। कतिपय लघुकथा “म” पात्रको पनि प्रयोग गरिएको पाइन्छ जुन अरू लेखकले पनि प्रयोग गर्दै आइरहेका छन्। मानव र मानवेतर दुवै पात्रको प्रयोगले लघुकथामा रोचकता थपेका छ।

कृतिको शीर्षक नै एकालाप भएर होला कतिपय लघुकथामा उनले आफ्नाे मनमा आएका विषय र प्रसंगको आलाप गरेका छन्। उदाहरणको रूपमा एक युद्धलाई लिन सकिन्छ। यस लघुकथामा उनी मसानसँग संवाद गरिरहेका हुन्छन्। मसानले भन्छ, पढेको हुँ भन्छस्। यत्ति कुरा पनि बुझ्दैनस्? आखिरी मान्छेले जिन्दगीलाई युद्ध ठानेपछि युद्धले दिने त विनाश त हो, तनाव त हो नि, खेम।

यसैगरी एक भ्यागुतो शीर्षकको लघुकथामा उनले नागरिकता र आप्रवासनबारे आलाप गरेका छन् भने एक साथी लघुकथामा असल साथीलाई आलापबाटै चिनाएका छन्। पात्रमा मात्र होइन कतिपय लघुकथामा पनि पृथक्ता भेट्न सकिन्छ। सबै लघुकथाको नाम एकबाट सुरु हुनु , एक कथा शीर्षकको लघुकथामा जन्मदिनबारे कलात्मक कथा बुन्नु, प्रश्नाेत्तर शैली अपनाउनु, मनोवाद वा नाटक शैलीमा लघुकथा लेख्नु यी र यस्ता धेरै सन्दर्भ र प्रसंगहरूले पोखरेललाई पृथक्ता प्रदान गरेका छन्।

अन्योल, बिस्तार र निराशा

पोखरेलका लघुकथाहरू सन्देश, विषय छनौट, पात्र चयन र कथानक पक्षमा अब्बल हुँदा हुँदै पनि कतिपय अवस्थामा उनी चुकेको देखिन्छ। उदाहरणको रूपमा एक पुल, एक सिर्जना, एक पीडा, एक वरदान, एक भर्जिन, एक बुझाइ, एक रखौट, एक रुवाइ र एक स्वतन्त्रतालाई लिन सकिन्छ। एक वरदान लघुकथाको अन्तिम वाक्य झड्का दिने हुनुपर्ने र त्यसपछि बिस्तार गर्नु नपर्ने मान्यतामा लेखक चुकेका हुन् कि? लेखक बोल्नु लघुकथामा राम्रो मानिंदैन।

उक्त लघुकथामा बिस्तार भएको देखिन्छ। एक सिर्जना आफैंमा सकारात्मक शीर्षक भए पनि लघुकथा पढ्दा धेरै निराशा भेट्न सकिन्छ। एक रङ्को प्रश्न उत्तर शैलीमा लेखिएको लघुकथा पहिलो र मध्य भागमा राम्रो हुँदा हुँदै पनि अन्यमा नेता र जनतालाई रङ्गसँग तुलना गरिएको प्रसंग अकस्मात आएको छ जसको माथि कुनै सम्बन्ध छैन। उनका नगण्य लघुकथामा एकभन्दा बढी आयामको प्रयोग गरेको पाइन्छ। उदाहरणको रूपमा एक मुक्ति र एक पूजालाई लिन सकिन्छ।

सैद्धान्तिक पक्ष

पोखरेल लघुकथाकार मात्र नभई एक कुशल समीक्षक पनि भएकाले उनकाे अधिकांश लघुकथामा सैद्धान्तिक पक्ष मजबुत देखिन्छ।

प्रायजसो सङ्गृहीत लघुकथाहरूको कौतूहलपूर्ण र आकस्मिक उठान गरिएको छ भने कथाको बुनोटमा द्वन्द्व पनि सिर्जना गरिएको छ। उनका लघुकथा पढिरहँदा एक वाक्यमा उठान र अन्त्य गर्ने मान्यता अलि खुकुलो भएको आभास हुन्छ। विषयवस्तुको प्रष्टता, संवादको प्रयोग र पात्रहरूबीच वार्तालाप प्राय: सबै लघुकथामा भेटिन्छन्। अधिकांश लघुकथा एक समय, एक स्थान, एक घटनामा सीमित रहे पनि केही भने कालखण्डरहित हुन सकेका छैनन्। शब्द सीमामा उनी कटिबद्ध मात्र देखिंदैनन् उनका सबै लघुकथा एउटा कुमालेले साँचोमा राखेर बनाएका एउटै आकारका भाँडाकुँडा जस्ता देखिन्छन्।

लघुकथा समापनमा विद्युतीय झड्का दिनुपर्ने मान्यतामा उनी समर्पित देखिएको भए पनि कतिपय लघुकथा बिस्तार भएको देखिन्छ। कम पात्रको प्रयोग उनको विशेषता नै रहेछ भन्दा फरक नपर्ला।

समग्रमा उनका लघुकथाहरूको सैद्धान्तिक पक्ष सबल भएकाले एकालाप पाठक, अनुसन्धानकर्ता, समीक्षक र लघुकथाबारे रुचि राख्ने जो कोहीका लागि पनि सङ्ग्रहणीय सामाग्री हुन सक्छ।

निष्कर्ष

निष्कर्षमा भन्नु पर्दा पोखरेलको एकालाप लघुकथासङ्ग्रह एक उत्कृष्ट कृतिको रूपमा आएको छ। अधिकांश लघुकथाको विषयवस्तु नेपाली र अमेरिकी समाज छ। स्वदेशी तथा विदेशी परिवेश पस्कनु उनको विशेषता नै देखिन्छ। कला, संस्कृति, चालचलन, रीतिरिवाज, विकृति, विसंगति, मानवीय भावना, श्रीमानश्रीमतीको सम्बन्ध, पारपाचुके, यौन, सामाजिक, आर्थिक र राजनैतिक विषयवस्तुलाई उनले विदेशी र स्वदेशी कोणबाट प्रस्तुत गरेका छन्।

यो लघुकथासङ्ग्रह कुनै दस्तावेजभन्दा कम छैन। कतिपय कथनमा पात्रले स्थानीय भाषाको प्रयोग गर्नुपर्ने सन्दर्भमा पनि नेपाली भाषाको प्रयोग गरिएको छ भने कतिपय नेपाली शब्द हुँदा हुँदै अन्य भाषाको प्रयोग गरिएको छ।

सरल भाषाशैली, स्वत: स्फूर्त कथन र स्थानीय लवजको समिश्रणले कथालाई काल्पनिक नभएर यथार्थको नजिक रहेको पुष्टि गरेको छ। प्रस्तुतिगत विशिष्टताले भरिपूर्ण लघुकथाहरूको बुनोट, विषय, स्वरूप, तत्त्व र सैद्धान्तिक पक्ष बलियो देखिन्छ। यद्यपि लघुकथा क्षेत्रको सैद्धान्तिक दृष्टिकोणले बामे सरिरहेको वर्तमान निरपेक्षमा लघुकथाका पाठकले पोखरेलका लघुकथाहरूलाई नमुना र आदर्श ठान्नु अस्वाभाविक होइन। तसर्थ उनका लघुकथाहरू पढ्नेले उनीबाट ठूलो अपेक्षा मात्र राखेका हुँदैन “म उहाँको जस्तो लघुकथा लेख्छु” भनेर आदर्श व्यक्तिको रूपमा पनि मान्यता दिइरहेका हुन्छन्।

पाठकको उक्त अपेक्षा ख्याल गर्दै आगामी दिनमा आकर्षक छोटो वाक्यबाट लघुकथाको सुरुवात गर्ने, श्रीमान् श्रीमती, पारपाचुके, यौन र अन्य सामान्य विषयभन्दा पनि अलि फराकिलो र गम्भीर विषय छनौट गर्ने, स्थानीय भाषालाई सोही भाषा र लवजमा उद्धरण दिएर उल्लेख गर्ने, कथालाई अलमल नगरी टुङ्ग्याउनु, छोटो र बिस्ताररहित झड्केदार समापन गर्न र नेपालीबाहेक अन्य भाषाको कम प्रयोग गर्न सके उनका लघुकथाहरूले सगरमाथा चुम्ने थिए।

आदर्श र दर्शनका विषय र प्रसंगहरू उनका लघुकथाहरू विशिष्ट छन् भन्ने बलियो प्रमाण हुन्। धेरै राम्रा र सामान्य सबै खाले लघुकथा यस सङ्ग्रहमा अटाएकाले अग्रज, समकालीन र नवआगन्तुक सबै खाले लघुकथाप्रेमीका लागि उनको एकालाप सङ्ग्रहणीय पुस्तक हुन सक्छ। लघुकथाको उन्नयनमा लामो समयदेखि योगदान पुर्‍याउदै आएका पोखरेललाई उनले नेपाली साहित्य र लघुकथाको क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै अनवरत साहित्यिक यात्राको शुभकामना!
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस