जय बोकाराज !
१९ असोज २०८१
•
६ मिनेट पाठ
जय बोकाराज !
बोकाराज अर्थात् बोकाको ताण्डवनाच।




बाँदर, सर्प र भालु नचाउने जादुखेला त पुरानै हो। बालकको मुख छोपेर भनेअनुसार रहस्यका कुरा बकाउने या तासका पत्ति फिटेर उल्टोसुल्टो देखाउने जादु पनि देखिआएकै हो तर यो बोकाको ताण्डव भन्ने चाहिँ कुन ड्याङको उटपट्याङ खेला रहेछ भनेर एक छिन भुलभुलैयाको फेला पर्न सक्छौं तपाईं–हामी सबै।

खाण्डव दाहपछि पाण्डवहरूले पनि यो ताण्डव देखे देखेनन् शङ्कै छ। लङ्का पुगेका रामचन्द्रले भने अवश्य देखे हुनन् भन्ने अड्कलसम्म काट्न सकिन्छ। साँच्चि नै यो अरूभन्दा झनै कडा र चक्मा दिने खालको जादु जो परेछ। उसै त छुस्स दारीमा झुसेबाली फैलिएको टाँगन बिर्साउने सुपर बोको इन्द्रजाली मास्टर बनेर कतिबेर उफ्रिन्छ, कुद्छ, उवातात्त वात्त गर्दै बाख्रीको पछि लाग्छ, ठेगानै नहुने।

अरू काम नपाएकाले गर्भाधानको सिजन आउनुपर्दैन, सबै सिजन उसका लागि रिजनफुल जो बनिदिन्छ। आङमा लुगा भिर्दैन, मानो कुराका चुचुराले नै उसको लाज छोपिन्छ। यानेकि जो छ सो दिगम्बर भएर या नग्नतामा नै ऊ रमाउँछ।

उता बोकाको दाइँ भन्ने पनि उहिल्यैदेखि सुनिआएकै कुरा हो। असमर्थलाई समर्थवान् बनाएर गरिने राइँदाइँँ भन्ने बुझिन्थ्यो। शब्दसंहितालाई भ्रामक व्याख्याको उझिन्डोमा झुन्ड्याएर फितलो र नचाहिँदो कुराका रूपमा लिने गरिन्थ्यो तर यहाँ त दाइँ मात्र होइन, रजाइँकै बात पो भइरहेको छ। जो प्राणी जन्मजात बैगुनी, गुनिलो, अहङ्कारी, साधु अनि घमन्डी र परोपकारी पनि ठानिन्छ, बहुचरित्रको छत्रिधारी पनि भएकाले उही राजा ? जसलाई आफ्ना भाकल पूरा गर्न बलि चढाएर मार हान्ने गरिन्छ, उही राजा।

बाघको छाला ओडेर स्याल नै जंगलको राजा बन्ने यो देशमा बाख्रीपुत्र बोकाले मात्रै श्रमिक जनको छाला काढेर त्यसैमाथि ढलीमली रजाइँ नगर्नु भन्ने कहाँ चाहिँ लेख्या छ र ? आकाश–पाताल जोरेर फट्याइँका फटकिरी चबाउँदै वातवात मात्रै गर्नुपर्छ ताजा। अनि त बेरै नलाग्ने बन्नलाई पशुवालीको राजा। तब त पछि पनि लागि पो हाल्छन् सुकुमारी पठ्याङ्ग्री ताजा ताजा।

बाख्रीबुढीका सुपुत्र एकाएक पशुराज मात्र होइन, मुसा–छुचुन्द्राका सिकन्दर याने कि सम्राट नै बन्न पुगिसकेपछि त्यो देशको हविगत पनि त एकाएक नसप्रिने त कुरै रहेन। गरिब गुरुवा सर्वहाराको रगतपसिना हाकाहाकी लामो हात गर्नु अर्कै कुरा हो तर जसले जति नै थर्काएर कुरा गरे पनि आफू हजुर लुटपाट ठगीका खतबातमा पर्ने त कुरा नै रहेन।

लामा पाँसुला सधैं लम्किने या कतै लुटलाटमा बोकाज्यूको हात साथ रहेर रंगेहात भेटिए पनि पुलिसज्यूले आफ्ना जब्बर दन्तलहरले माकमुक टोकटाक परेर या अचानोमा राख्तै कम्मरकै खुकुरीले बजाएर त्यस्ता दसी–प्रमाण वा बाधाबन्धनजति छेउटुप्पै छिनाली दिने भएकाले बोका हजुरको साम्राज्य निस्कन्टक रहनेमा अन्टसन्ट सन्देह रहने कुरै भएन।

भारेभुरे बाथकै शैलीमा अरू जति आउट ! केवल उहाँको सस्वर गाना गाउने काम नै राष्ट्रिय अजेन्डा बनेपछि अरू उनाउ सब नाउँबेगरका हन्डा–चिन्डा साबित भइदिँदा बोकाज्यूको छवि पनि ज्यानमा बोसो र पाइन रहेसम्मलाई सधैं क्रिस्टल याने निश्छल, स्वच्छ, सफा र अझ बासनादार रहने कुरालाई कुकुरा सम्झनुपर्ने अवस्था, व्यवस्था अवश्य आउन्न, जोजस्ता बैरीले जेजति गरून् न ध्याउन्न !

उहिले देउता र दानवले आफ्ना देश–प्रदेशमा राज्य गर्थे अरे तर धेरथोर साँध मिच्ने दुब्लालाई तल पारेर बलियाले थिच्नेसम्म त भइरहन्थे। यसअतिरिक्त दानव र देवताहरू अर्काको राज्यमा कूटनीतिको जाल बिछ्याउँथे, आआफ्ना गरिमाको हल्ला मच्चाउँथे। शासक फेरिँदा गडबडी पनि भइरहन्थ्यो।

दानवले सकेजति देवतामाथि जाइलागेर लुटपाट मच्चाउँथे। ऊँट–खच्चरमा लोड गरेर जितको धनमाल अमाल कचहरीबेगर नै आफ्नो राज्यमा भित्र्याउँथे। यो मच्चाउने र मच्चिने कुराको नसामा परेपछि सच्चिने कुरा सबै भुलिदिन्थे। आफ्ना पाल्तु घोडा, भैंसी, सुँगुरलगायत जनावर छाडा छोडेर उताको बालीमा हुलिदिन्थे। सबै नियम–विनियम नीति–औकात र साँधसीमा भुलिदिन्थे। अहिले यो बोकाराजमा पनि सोही कुरो लागु हुँदैछ भन्ने सुनिँदैछ।

प्रागैतिहासिक गुफा कन्दरा नगरमा मम्मथ डिनोसारले साम्राज्य चलाउँथे तर अहिले उल्टो सुन्नुपर्‍यो। मम्मथ डिनोसारहरू आआफ्ना वंशविनाशको प्रलयमारमा परेर बैता लागेपछि कसले खोजखबर गर्ने खै ? जो गए गए, नआउने बाटा लागेपछि इतिहासका घुइरो घुइरो काल्पनिक पात्र मात्र बाँकी रहे। यतिबेर उल्टासुल्टा सबै बात जो हुन थाले। आगन्तुक बोकाले पाउ जमाएर राजपाठ समातेपछि रैथाने भेडाबाख्रा सब जिल्लाराम परे।

कुराको प्रसङ्गलाई सप्रसङ्ग गेडो छोडाएरै भन्नुपर्दा सोझा सन्त जनताले आवाद गरिआएको एकादेशको हिमाली राज्यमा एकाएक नयाँ–नौला बोकाज्यू देखा परे। आगन्तुक बोकाबारे विभिन्न थरी चर्चा विश्लेषण हुन थाले। युरोप–अमेरिका डुलिभ्याएर फर्किएका विद्वत् जनहरूले नयाँ प्रजातिको देखिने बोकाबारे आआफ्ना उपबुज्रुकीपूर्ण जानिफकारी प्रकट गरे।

थिंकट्यांक भनिने ट्याम्काहरूले पट्याङपुटुङ बजेर औतारी बोकाज्यानको जयघोष गरे। कसैले अनुहारको लक्षणले नै यो मौका पर्दा बटारिएका सिङ निकालेर अरूलाई दबेट्ने साइबेरियन या बबेरियन गोट हो भन्ने अनुमान गरे। कसैले सिङ चाहिँ लामा लामा, ज्यान भने मल्यान्द्रो लाग्ने पानीआन्द्रे इन्डियन गोट भनेर परिलगाए।

कसैले भुत्ला सुँडो हेरेर अलास्काली गोटकै खलक हो भन्ने अठोट लगाए। कसैले अल्लाहका लागि बकर इदमा बलिदान गर्न पालिने अरेबियन बकरीको भाइछोरा भन्ने अनुमान लगाए। अरू अरूले अरू नै अनुमान भजाए र आफ्ना सन्देह भगाए। अप्रत्यासित रूपमा आँगनमा आइपुगेको घोर्ले बोको देखेपछि मान्छेपिच्छेका चर्चा चले, चल्ने नै भए।

अनेक थरीका चर्चा विश्लेषण हुन थालेपछि बोकाज्यूको पनि ह्वात्तै भाउ बढेर हाउगुजी बन्न पुग्यो। कतिले चानचुने बोको नभएर खाटी मेक्सिकन नस्लको बाख्रीपुत्र भन्ने अनुमान गरेर तारिफको पर्चा छरे। कतिले नर्डिक वंशको च्याङ्ग्राको औरस सन्तान भन्ने अनुमान गरे, कतिले युरेसियन गोट फ्यामिलीमा पर्ने विकासे बोको भन्ने अनुमान गरे।

अब यसले देशविदेशबाट सहायता राशि ल्याएर काशीवासको साटो सिधै स्वर्गवासमा उकालिदिन्छ भन्ने आशामा रनभुल्ल परेर भुिलए ज्येष्ठ नागरिक जति। भएभरका बाख्राजतिले बोकाबाट के के न विदेशी सौगात पाएर आफ्नो औकात हलहली बढाउने आशामा पछि लाग्ने निधो गरे।

त्यति मात्रै कहाँ हो र ? भौतिक रूपमै पनि बोकाज्यूको हैसियत साउनका लाब्रे किरा बनेर हलहली बढ्यो। ठाडा रौंमाथि तेर्सा झुस पलाए। अलास्काली भेडालाई उछिनेर लुकाउन र देखाउन मिल्ने बटारिएको लम्बेतान सिङ पनि पुर्पुराकै छेउ पारेर उम्रियो। सहकारी खेती बारीमा सप्रिएको हरियो बन्सो हसुरेर बोसो भरियो।

आङमाथि बोसोसँगै मासु थुप्रिएर जुरो ठडियो। पुच्छर लम्बियो। अलि दिनपछि फेरि गिनेरीको सेउला खाइसेछ र हो कि मेक्सिकन बोकाकै पाराले जिउ छोटो सिङ लामा देखिएपछि बौलाएर बक बक गर्न पनि थालिसेको थियो।

बोकाज्यूले जादुको शिक्षा पनि उतैतिरबाट लिएर आइसेछ। यो देशमा पदार्पण गर्दै लाब्रे किराको अवतार लिएर केटाकेटी बुढाबुढी अशक्त र लोभीपापी जतिलाई लोभलालचका जालमा पारेर दङ्ग्याइस्यो। रोजा रोजा पठ्याङ्ग्रीहरू कुनै पुच्छरको फेर समातेर पछि लागे, कुनै गर्दनका लामा रौं समातेर हलगोरुको शैलीमा नारिए।

कुनै फिलाका झ्यापुल्ले फेर समातेर जारी खर्च असुल्ने बबाल गर्न थाले। सहकारी खेतीमा जनताले उमारेका पोसिला पालुवा चरेर बोकाज्यूको जिउज्यान पनि ठोक्रे बनेर घोक्रियो। ‘हामी भोका–नाङ्गा मनुवा हजुरकै लागि बलि चढ्न जन्मिएका हौं’ उनीहरू बकपत्र गर्न थालेपछि बोकाज्यूका जुँगामाथि ताउ चडे। उनका छरछिमेकी, अगुवा–पछुवाका भाउ बढे।

सक्नेले जोजसलाई पनि लुट्न पाइने आफ्नै भाषण वर्षाले असिनापानी बिर्साउने गरी जनतालाई चुट्न पाइने के मजाको हो त नि यो बोकाराज्यको संसार पनि ? उत्तरी ध्रुवको भालु बिर्साउने र गुरुत्वाकर्षण थ्योरीलाई मुक्का हानेर भिरालो चट्टान चढ्ने अफ्रिकी गोटलाई समेत माथ गर्दै फट्याइँका विस्फोटनले सबलाई बेहोस पारिदिने शक्ति पलाएछ बोकाज्यूमा। त्यसैले अब सबैले भनौं–जय बोकाराज  ! 
अर्को समाचार
त्यो रुन्चे सुमनको ‘कमेडी’ यात्रा
११ भदौ २०८१
•
१० मिनेट पाठ
त्यो रुन्चे सुमनको ‘कमेडी’ यात्रा
“तँ त साह्रै रुन्चे थिइस्, अहिले कसरी बोलेरै मान्छे हँसाउने भइस है?”




ठूलो बुबाकी छोरी (दिदी) को यो प्रश्नले सुमनलाई अझै लज्जित बनाउँछ। आजभन्दा २३–२४ वसन्तअघि गाउँलेहरू शौच गर्न बाँसको झ्याङ, खोलाखोल्सी र कान्लातिर धाउँथे। सरसफाइ नहुँदा पखालाले गाउँलेका धेरैको ज्यान लिन्थ्यो।

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–२ बाक्साको ठूलाबारी गाउँ। गाउँभन्दा तल सुसाइरहने दूधकोसी। गाउँको सिरानमा उभिएको बडेमान लिब्जु डाँडा। बाक्सामा भर्खरै एउटा अभियान चलेको थियो, ‘घरमा चर्पी बनाउने, चर्पीमा शौच गरिसकेपछि र खाना खानुअघि साबुनपानीले हात धुने। नङ काट्ने, दाँत माझ्ने।’ यो अभियान बालबालिकामा केन्द्रित थियो।

प्रत्येक साता गाउँको चोकमा केटाकेटी जम्मा पारिन्थ्यो। यी सबै नियम पूरा गर्नेले कापीकलम पाउँथे। त्यही लहरमा साबुनपानीले हात मिचेर, नङ सफा चट पारी, दाँत माझिसकेपछि इँ गर्दै ङिच्च दाँत देखाउन पुगेका थिए सुमन कार्की। उनले पनि कापी कलम पाए। फुरुङ्ग भए। सङ्कट त त्यतिबेला आइलाग्यो जब अगाडि उभ्याएर उही दिदी (ठूलो बुबाकी छोरी) ले स्वास्थ्य अभियानबारे केही बोल्न लगाए।

सुमनलाई सुरुमा त बोल्ने साहस जागेको थियो। सधैं तँतँ, मम गर्ने गाउँकै साथीहरुको अघिल्तिर उभिइसकेपछि त सबै पराइझैं लाग्यो। मुटु चिसो भयो र कोखा घोच्यो। फोक्सोको आकार बढेर छातीभित्र अटेन। शरीर काँप्न थाले। वाक्य बन्द भयो। शरीरमा पसीनाको मूल फुट्यो थाल्यो। अनि एक्कासि भक्कानो छुट्यो। बोल्नुको साटो क्वाँक्वाँ रुन थाले। अनि वक्ताको जिम्मेवारीबाट सुमनले उन्मुक्ति पाए। “भयोभयो नरो”, दिदीले भनिन्, “तैँले बोल्नु सकिनस्।”

तर यो घटनाले सुमनलाई झन्डै एक साता सतायो। बाख्रा चराउन जाँदा समेत साथीभाइले देख्लान् कि भनेर लुक्नुपरयाे। कारण केही थिएन, थियो त  साथीभाइले जिस्काउँछन् भन्ने लाज। विद्यालयमा त झन् निहुरमुन्टीमै केही दिन बित्यो।

हो त्यही सुमन कार्की अहिले युवा पुस्ताका उम्दा हास्यकलाकार (कमेडियन) छन्। हुन त उनी ‘करिअर’को यात्रामै छन्। थाहा छैन शिखरमा पुग्छन् या पुग्दैनन्। तर, नेपाली हास्यव्यङ्ग्य क्षेत्रको आधार शिविर टेकिसकेका छन्। दर्शकसामु परिचित भइसकेका छन्। “म सानो छँदा बुबालाई किन झिसमिसेमै निद्राले छोडेको होला जस्तो लाग्थ्यो”, सुमनले भने, “त्यो त जिम्मेवारीले पो रहेछ। अहिले आएर बुझें।”

एक दशकअघिका सुरुआती दिनमा सुमनलाई आनन्दै थियो। “हुन्छ भने हुन्छ, हुँदैन भने केही गरौंला भन्ने लाग्थ्यो। अब त अर्को क्षेत्र रोज्न पनि गाह्रो। ‘करिअर’को यो चरणमा दबाब महसुस हुने रहेछ। आफूलाई ‘अपग्रेड’ गर्दै यही क्षेत्रमा टिक्नुपर्ने चुनौती छ”, उनी भन्छन्।

सुमनका बुबा बल उमेर हुन्जेल मजदुरीका लागि भारततिर धाइरहन्थे। सुमनलाई पनि बालखैमा केही वर्ष भारत लगे। उताबाट फर्केपछि गाउँकै मनकामना माविमा एकैचोटि ३ कक्षामा भर्ना गरे। खानलाउनै नपुग्ने पहाडका पाखा रेखा छाडेर सुख खोज्दै कक्षा ४ पढिसकेपछि बुबाले मोरङको रतुवामाई नगरपालिका–९ मा बसाइँ लगे।

सुमनका एक दाजु र एक बहिनी छन्। पढाइमा सामान्य सुमनले २०६५ सालमा फलामे ढोका एलएलसी पार गरे। अनि त्यहींको कलेजबाट १० जोड दुई पढे। त्यतिबेला रेडियोको लोकप्रियता धेरै थियो। रेडियोमा फोन गर्ने श्रोतासमेत चर्चित हुन्थे। गाउँमै रेडियो सुनाखरी सञ्चालन हुने तयारीबारे सुनेपछि सुमनको खुट्टा एकै सेकेन्ड भुइँमा अडिएन। रेडियोसम्बन्धी तालिममा सहभागी भए।

तालिम सकिएपछि १० जना छनोट गर्ने प्रक्रियामा सामेल भए। तर उनी छनोटमा परेन। छनोटमा नपरे पनि उनले रेडियो स्टेसन धाउन छाडेनन्। “मचाहिं त्यत्तिकै धाइरहेँ घरबाट साइकल पेलेर। मलाई विज्ञापनमा बोल्न पो दिहाल्छन् कि, नाटक खेल्न पो दिन्छन् कि भनेर आश लाग्ने नि त”, हालैको एकदिन अनामनगरस्थित मण्डला थियटरमा कफीको चुस्की लिंदै सुमनले विगत सम्झे, “रेडियोमा गइरहेपछि सबैले चिन्नुभयो। पछि काम गर्न बोलाउनुभयो।”

त्यसपछिका तीन वर्ष सुनाखरी रेडियोको माइक्रोफोनसँग बित्यो सुमनको। गाउँको रेडियोमा ‘अलराउन्डर’ भूमिका। जेनेरेटर चलाउनेदेखि, प्राविधिक, कार्यक्रम प्रस्तोता, समाचारवाचक, विज्ञापन बनाउने लगायत सबै।

रेडियोको ‘क्रेज’ क्रमशः ओरालो लाग्दै थियो। सुमनले स्नातक उत्तीर्ण गरे। मूल सपना कलाकार बन्नु थियो, दर्शकमाझ चिनिनु थियो। त्यसका लागि एकपटक सङ्घीय राजधानीमा पाइला राख्नै थियो।

कलाकार बन्ने धोको

सुमनका हजुरबुबा भारतीय गोर्खा सैनिक। भर्तीबाटै ल्याएका थिए रेडियो। झिसमिसेमा चराचुरुङ्गीको चिरबिरसँगै रेडियो ‘अन’ हुन्थ्यो। रेडियो नेपालको शङ्ख ध्वनिले सुमनको निद्रा भाग्थ्यो। रेडियोमा सुनेका नाटक, विज्ञापनका संवादहरू जस्ताको तस्तै सुनाउँदा साथीहरू हाँस्थे। नाटकका संवाद हुन् या कृषि कार्यक्रमको ‘हरि शरणम्’ ठ्याक्कै पार्थे सुमन।

यो रेडियोमा कसरी बोल्ने होला? कस्ता मान्छेले बोल्ने होला? यस्ता जिज्ञासाको जवाफ पाउनचाहिँ सुमनले दशकौँ कुर्नुपर्‍यो। काकाको बिहेमा वाक्सादेखि ओखलढुङ्गा सदरमुकाम जन्ती जाँदा पहिलोपटक टिभी देखेका थिए। तर त्यो पनि कार्टुनभित्र। टिभीमा मान्छे देखिन्छ रे भन्ने सुन्दा कस्तो देखिन्छ होला भन्ने हुटहुटीले पोलिरहन्थ्यो।

सानोमा उटपट्याङ उत्तिकै आउने सुमनलाई। गोठालो जाँदा गाउँलेको गोरु जुधाउनेदेखि भाले जुधाउनमा माहिर। जसरी भए पनि कसैले मलाई चिनोस् भन्ने मनमा लाग्नु नै सायद सुमनको कलाकार बन्ने अदृश्य चाहना थियो। त्यही चाहनाले सुमनलाई आज यहाँसम्म डोर्‍याएको हुनुपर्छ।

बुबाआमाले तराई झारेपछि पनि घरमा टिभी किन्ने आर्थिक हैसियत थिएन। छिमेकी वा गाउँले कहाँ गएर हेर्नुपर्ने। “एकाएक निखिल उप्रेतीको ‘ब्लाइन्ड फ्यान’ भइयो”, सुमन सुनाउँछन्, “निखिल जस्तो बन्न भित्ता, छानामा झुन्डिनेदेखि खेतको कुनै आली बाँकी रहेन उल्टी सुल्टी जिन्म्यास्टिक हान्ने कामले।”

निखिल लगायत कलाकार भेट्न एसएलसी पास गर्नेबित्तिकै एउटा झोला भिरेर काठमाडौं हानिए। उनलाई लाग्थ्यो काठमाडौं कत्रो होला र? बढीमा विराटगर जत्रो त होला। त्यत्रो फिल्म खेल्ने कलाकार त काठमाडौंमा बाटोमै छ्यापछ्याप्ती भेटिएलान्। भेट्ने हो, कुरा गर्ने हो, फोटो खिच्ने हो। सके फिल्म खेल्ने प्रस्तावै गरौंला। तर, काठमाडौं टेकिसकेपछि थाहा भयो, काठमाडौं र मोरङका शहर बिचको भिन्नता। महिनौंसम्म कुनै सडक र गल्लीमा उनले टेलिभिजनका पर्दामा देखेको कलाकारको छायाँसम्म भेटेनन्। कलाकार भेट्ने भूत ओर्लियो र फेरि उही रतुवामाई फर्किए।

रेडियो सुनाखरीमा उनले एउटा कमेडी कार्यक्रम प्रस्तुत गर्थे। उनी रेडियोमा मात्र सीमित हुन्थेन। माइक भेटिने जति कुनै कार्यक्रम बाँकी नराख्ने। गाउँका पुराणदेखि पशुचौपायासम्बन्धी शिविरमा समेत केही न केही सुनाएर मान्छे हँसाउने।

“पूर्वमा राष्ट्रिय कलाकार सहभागी हुने सांस्कृतिक कार्यक्रममा त ‘ओपनिङ’ मा सानो प्रस्तुति राख्न पाए मात्रै संसार जितेझैं लाग्ने। अझ कुनैकुनै आयोजकले पोस्टरमा सानो फोटो राखिदिंदा खुसीको सीमा नहुने”, कफीको अन्तिम सुर्को तानेपछि उनले भने।

स्थानीय रेडियोमा काम गर्ने रहर पूरा भएपछि अब स्नातकोत्तर पढ्ने र सकिएमा कलाकारिता गर्ने सोचले उनले काठमाडौँ जाने योजना बुने। तर काठमाडौँमा उनका आफन्त कोही थिएनन्। कहाँ जाने? कहाँ बस्ने? योजना सुनाइरहँदा एकदिन इटहरीस्थित सप्तकोसी एफएममा कार्यरत सन्दीप भट्टले काठमाडौंमा गएर रेडियो अडियोमा काम गर्न सुझाए। सुझाव मात्र दिएन उनले रेडियो सञ्चालक दीपेन्द्र खनियालाई टेलिफोन गरेर संवाद गराए।

विसं २०७२ को भूकम्पपछि उनी काठमाडौँ आए। खनियालाई भेट्न रेडियो अडियोमा गए। उनको प्रस्तुतिहरु सुनिसकेपछि नभन्दै खनियाले जागिर दिए। काठमाडौँमा टिक्नकै लागि भए पनि उनले फेरि रेडियोमा बोल्न थाले। तर यहाँको रेडियोको प्लेटफर्म र रतुवामाईको प्लेटफर्मबीचमा आकाश जमिनको भिन्नता थियो। यहाँ राष्ट्रियस्तरका कलाकारहरुसँग दैनिक भेट भइरहन्थ्यो । चिनजान हुन थाल्यो।

यही क्रम चलिरहँदा २०७४ सालको वैशाखमा एकाएक वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले टेलिफोन गरेर उनलाई एउटा कामको प्रस्ताव गरे।

सुमनलाई उक्त प्रस्ताव सपना हो कि विपना भनेर छुट्याउन आफैंलाई चिमोट्नुपर्‍यो। आचार्यको उपन्यास ‘हरिबहादुर’ विमोचनमा एउटा प्रहसन गर्नु थियो। यसमा पत्रकार ऋषि धमलाको अभिनय सुमनले गर्नुपर्ने थियो। आचार्यले दीपेन्द्र खनियालाई सोध्दा सुमनको नाम सिफारिस गरेछन्। त्यसपछि हरिवंशले सुमनलाई पुस्तक विमोचनको दिन नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा र पछि देश दौडाहामा सँगै लगे।

“त्यो क्षण मेरा लागि एउटा कलाकारले ओस्कार अवार्ड पाएभन्दा ठूलो थियो”, कफी सकिएपछि कालो चिया मगाउँदै उनले भने, “पहिलो दिन डबलीमा हरिवंश दाइसँग अभिनय गर्दा त मैले पूरै बेहोसीमै गरेँ। अहिले पनि त्यो भिडियो हेर्दा त्यतिबेला म होसमा थिएँ जस्तो लाग्दैन।”

तर हरिवंश आचार्यसँगको त्यो कामले उनलाई धेरै कुरा सिकायो। अनुशासन, दर्शकलाई गर्नुपर्ने व्यवहार, विनम्रता, हास्यव्यङ्ग्य प्रस्तुति र लेखनमा ध्यान दिनुपर्ने विषय आदि सिक्न पाए।

त्यसपछि उनी ‘कमेडी च्याम्पियन’ नामक प्रतियोगितामा सहभागी भए। विजेता हुन नसके पनि प्रतियोगिताले परिचय थप फराकिलो बनाइदियो। पछि ‘डान्सिङ स्टार’ नामक ‘रियालिटी शो’को प्रस्तोताको भूमिका पनि निर्वाह गरे। ‘कमेडी क्लब विथ च्याम्पियन’ नामक टेलिभिजन शोमा विभिन्न भूमिकामा देखिए। केही चलचित्रमा अभिनय गरे। उनकै भनाइमा आफूले थाहा पाउने गरी धेरैवटा र दर्शकले थाहा पाउने गरी दुईवटामा अभिनय गरिसकेका छन्। ती दुई चलचित्र ‘दिमाग खराब’ र ‘महजात्रा’ हुन्।

सामाजिक विषयमा व्यङ्ग्य

हास्यका विविध विधा छन्। त्यसमध्ये सुमन सामाजिक विषयवस्तुमा व्यङ्ग्य गर्छन्। उनी प्रहसन, ‘मिमिक्री’, ‘स्ट्यान्ड अप’ कमेडी गर्छन्। उनको कमेडी पुरानो पुस्ताका कमेडियनभन्दा आधुनिक छन्। तर अहिलेका युवा पुस्ताको झैं  उत्तर आधुनिक पनि हैन।

“अहिलेका युवा र पुरानोको बीचमा परियो। म अलि पुरानो पुस्ताको कमेडियन हेरेर हुर्किएँ। कमेडीको विभिन्न फर्म्याट छन्। मैले मह जोडीको प्रहसन, दीपक दीपा, जितु नेपालको सिरियल हेरेर हुर्किएको हुँ”, उनी भन्छन्,  “अहिलेको ‘योङ जेनेरेसन’को कमेडीचाहिं पूरै युवाले मात्र मन पराउने शहरीया र विदेशी किसिमको देखिन्छ।”

उनले सामाजिक विषयवस्तुमा कमेडी गर्न मनपर्ने बताए। “मलाई सामाजिक विषय मनपर्छ। म गाउँको मान्छे। यही समाजमा हुर्केको भएकाले मलाई यही विषय थाहा हुन्छ। धेरैजसो दर्शक पनि यही समाजका भएकाले यही मन पराउँछन् जस्तो लाग्छ। नजानेको विषयमा कमेडी त गर्नु पनि सक्दिन होला। सामाजिक विषयमा त मैले देखिरहेको पात्रहरु हुन्छन्”, उनले थपे।

त्यसो त उनलाई हास्य मात्रै नभएर गम्भीर प्रकृतिका अभिनय गर्ने इच्छा पनि छ। तर अहिले ‘करिअर’को मध्ये अवस्थामा धेरैले आफूबाट हँसाउने अपेक्षा राखेको उनको अनुभव छ। कुनै दिन अवसरमा मिलेमा ‘कमिक क्यारेक्टर’ मात्र नभइ ‘सिरियस क्यारेक्टर’ गर्ने धोको पनि छ उनमा।

उनलाई अझै लेखन सिक्ने भोक छ। सदाबहार प्रकृतिका कमेडी गर्न मन छ। “जसरी मह जोडीको पुरानो प्रहसनहरू हेर्दा अझै उस्तै लाग्ने खालको छन्, त्यस्तै, लामो समय जीवन्त हुने कमेडी गर्नु मन छ”, सुमन भन्छन्, “हास्यव्यङ्ग्यले हँसाउने मात्र हैन नि यसबाट अरूले बोल्न नसकेका विषय उठान गर्न सकिन्छ।”

सकेसम्म विवादित चीजहरू आफ्ना प्रस्तुतिबाट नआऊन् भनी सधैँ कामना गर्छन् उनी।

कलाकारितामा आफूलाई ‘अपडेट’ र ‘अपग्रेड’ गर्नुपर्ने चुनौती छ। अबको पाँच वर्षपछि यस्तै कमेडी चल्छ कि चल्दैन? दर्शक पनि अपग्रेड हुन्छन्। इन्टरनेटको दुनियाँ छ। आफूलाई दर्शकले हेर्ने बन्न आफैँ गतिलो हुनुपर्छ। कस्तो हास्यव्यङ्ग्य दर्शकले मन पराउँछन् होला?

उनी भन्छन्, “म यही क्षेत्रमा टिक्नु सक्छु कि सक्दिन होला भन्ने चिन्ता प्रमुख हो।”

कमेडी, कलाकारिता र अभिनयबाट जीविका चलाउन भने सहजै छ। केही महिनाअघि मात्र अमेरिकाको विभिन्न राज्यमा १२ वटा कार्यक्रम गरी दुई महिना बिताएर फर्किएका उनी यही भदौ १३ गते युरोप टुरका लागि उड्ने तयारीमा छन्। भदौको १५ गते पोल्यान्डबाट सुरु हुने कार्यक्रम एक महिनामा  सकिन्छ। यसपटकको युरोप यात्रामा पोल्यान्ड, बेल्जियम, जर्मनी, फ्रान्स, फिनल्यान्ड, स्पेन, माल्टा, पोर्चुगल, नर्वे र डेनमार्कमा १२ वटा कार्यक्रम छन्।

विदेश यात्राको सुरुआत कमेडी च्याम्पियनले पहिलोपटक दुबई लगेर गराएको थियो। विशेष कार्यक्रम र यात्राको क्रममा उनी ‘भ्लगिङ’ पनि गर्छन्। भ्लगिङ गर्दा अपडेट हुने, संस्मरणका रुपमा रहने उनको अनुभव छ। अलिअलि फोन खर्च पुग्ने पैसा नि युट्युबबाट प्राप्त हुने उनले बताए।

“मेहनत गरियो, आफूसँग कन्फिडेन्स छ र भाग्यले नि साथ दियो भने कमेडीबाट राम्रो कमाइ हुने रहेछ”, उनले भने, “तर अति उत्साही भइहाल्नु नि हुन्न, धेरै कुरामा ख्याल गर्नुपर्छ। कलाकारिता पेसा त्यति सहज पनि छैन।”

हाँस्नु जति सजिलो छ, हँसाउनु उत्तिकै गाह्रो काम हो। बरु कसैलाई भावुक बनाएर रुवाउन सजिलो होला तर कसैलाई आत्मादेखि हँसाउनु कठिन हुन्छ। आफैंभित्रका हजारौं दुःख लुकाएर पनि हास्यव्यङ्ग्य कलाकारहरूले दर्शकहरूलाई हँसाइरहेका हुन्छन्।

विश्वचर्चित कवि पाब्लो नेरुदाले भनेका छन्, ‘हाँसो आत्माको भाषा हो।’ कुनै बेलाको एउटा रुन्चे बालक सुमन अहिले नेपाली दर्शकको आत्माको भाषा बुझ्ने लहरमा दौड्दै छन्।

-कुम्भराज राई/रासस 
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस