अन्तरङ्गमा ‘सनेस’ लघुकथा सङ्ग्रह
०८ साउन २०८१
•
६ मिनेट पाठ
अन्तरङ्गमा ‘सनेस’ लघुकथा सङ्ग्रह
आफन्त भेट्नका खातिर जुरमुराएर मेरो हातमा परेको यो कोसेली स्वरूपको उपहार खोल्न पाउँदा म साह्रै खुसी भएँ। यो सौगात एउटा कुरो भनेझैँ गरी अर्को कुराको अपेक्षामा संरचित छ भन्ने सुइँको बाहिरी गाताले दिएको छ।




अब यसभित्र केके कुराको छनक छ त? त्यही विषयलाई छोटकरी रूपमा यहाँ खोतल्ने प्रयास गरिएको छ। विसं २०१३ श्रावण १७ गते बुधबारका दिन शिवसताश्री नपा-९, दुधे झापामा तुलसादेवी र गणेशप्रसाद दाहालका सुपुत्रका रूपमा जन्म लिएका उमानाथ दाहाल अर्थशास्त्रमा स्नातकोत्तर गर्ने व्यक्ति हुन्। प्रध्यापन पेसामा आबद्ध दाहालले कथा, कविता, गीत, लेख र लघुकथाबाट साहित्यलाई अगाडि बढाएको देखिन्छ।

कथाकार दाहाल २०७९ देखि लघुकथामा अन्तरघुलन भई हाल सनेस लिएर पाठकसमक्ष उपस्थित भएका छन्। यो उनको लघुकथामा पहिलो र प्रकाशित कृतिमा पाचौं कृति हो। सर्वप्रथम उनी ‘चुनाव’ लघुकथा लिएर लघुकथामा देखापरेका हुन्।

लघुकथा एउटा सलाईको काँटी हो, त्यसलाई सट्ट बारुदमा रगेटिन्छ, झ्वाप्पै सल्केर दनदनी बल्छ अनि झ्याप्पै निभ्छ। लघुकथाको विषय झ्वाट्ट उठान हुन्छ। त्यसमा थाेरै पात्रका माध्यमबाट विषयलाई कार्यव्यापारतर्फ लगिन्छ। परिवेशगत आधारमा लघुकथाको विकासात्मक अवस्था तुरुन्तै चरमोत्कर्षतर्फ लाग्छ अनि सन्देश प्रवाह गर्दै आकस्मिक तरीकाले व्याङ्ग्यार्थ ढङ्गबाट समापन हुन्छ। अब यस लघुकथासङ्ग्रह सनेसले कुनकुन विषयलाई आत्मसात् गर्दै लघुकथाको संरचनात्मक ढाँचालाई कसरी अङ्गिकार गरेको छ त। यसले केही सुधारात्मक पक्षको अपेक्षा गरेको छ कि छैन भन्ने कोणबाट सनेस लघुकथासङ्ग्रलाई हेरिएको छ।

‘सनेस’ सताक्षीधाम साहित्य सङ्गमबाट प्रकाशित लघुकथासङ्ग्रह हो। यस लघुकथासङ्ग्रहमा भगवान्देखि पेन्सनसम्म गरी जम्मा ६२ लघुकथा छन्।

विविध विषयवस्तुलाई बोकेर आएको सनेसमा मूलतः सामाजिक यथार्थका विषयवस्तु बढी मात्रामा रहेको देखिन्छ। विषयवस्तुगत हिसाबले हेर्दा उनका कथामा समकालीन र परम्परागत सामाजिक विषयवस्तु, शैक्षिक क्षेत्रमा देखापरेका विषयवस्तु, राजनीतिक स्तरका विषयवस्तु, पारिवारिक तथा सांस्कृतिक विषयमा आधारित विषयवस्तु, सामाजिक तथा वर्गीय विभेदका विषयवस्तु, साहित्य, स्वास्थ्य, कुसंस्कार, विकृति तथा विसङ्गतिका विषयवस्तु रहेको देखिन्छ।

कथालाई कथावस्तु वा कथानकका आधारमा हेर्दा उनका कथा सामाजिक यथार्थताको नजिक देखिन्छन्। समाजभित्रको राजनीति, परम्परा, संस्कार संस्कृति, विभेद, शिक्षा, स्वास्थ्य, साहित्य, बेरोजगार, राष्ट्र र राष्ट्रियता, अध्यात्मकता, विद्रोह आदि विषयलाई वर्णनात्मक शैलीमा यथार्थपरक ढङ्गबाट प्रस्तुत गरिएको छ।

संरचनात्मक दृष्टिले हेर्दा सनेस लघुकथासङ्ग्रह शब्द संख्या, आदि मध्य र अन्त्य, लघुकथाको उठान, विकास, उत्कर्ष, ह्रास र अन्त्यका हिसाबले धेरै लघुकथा सबल रहेका देखिन्छन्।

केही लघुकथा त्यसको संरचनामा उनिने प्रयासमा छन्। लघुकथासङ्ग्रहमा रहेका लघुकथा १५ शब्ददेखि ३ सय शब्दसीमा भित्र अडिएका छन्। १५ शब्दको ‘एउटा गल्ती’ शीर्षकको लघुकथा संरचनात्मक हिसाबले अथवा लघुकथाको मर्मअनुरूप बन्न सके अनि ३९ शब्दमा संरचित भाग लघुकथाको विकास र उत्कर्षको तालमेल मिल्न गए लघुकथा लघुकथामा फुल्न सक्छन्।

पात्रको चयन, पात्रको भूमिका अनि पात्रले विषयवस्तुलाई जाग्दो, जिउँदो, भरिलो, रसिलो, कसिलो र विषयवस्तुलाई कार्यव्यापारात्मक बनाउन तत्पर रहेको देखिन्छ। आफ्नो भूमिका निर्वाह गर्न र स्तरीय बनाउन भूमिका अनुसार पात्र उपस्थित भएका छन्। पात्र परिवेश सुहाउँदा छन्। एकाध लघुकथामा विषयले मागेभन्दा बढी देखिए पनि त्यसमा सचेतता अपनाइएको देखिन्छ। अल्प विषय अनि ज्यादा थारै शब्दसंख्या भएका लघुकथामा विषय विस्तार र पात्रको खाँचो देखिन्छ जुन उदाहरणका लागि माथि १५ शब्दे लघुकथालाई लिन सकिन्छ।

उमानाथको सनेस लघुकथाले बोकेको परिवेश एउटै खालको देखिंदैन। परिवेशमा फरकपन छन्। यस सङ्ग्रहमा ग्रामीण र शहरीया परिवेशमा लघुकथा जगाइएको छ, फक्राइएको छ र बिस्तार गरिएको छ। परिवेशले उनका लघुकथाई सार्थक र सफल बनाएका छन्। विषयवस्तु सुहाउँदो परिवेश छ। परिवेश सुहाउँदा पात्र पनि रहेका देखिन्छन्। यसलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशमा हेर्दा दुवै परिवेशको प्रयोग भएको देखिन्छ। समयगत हिसाबले हेर्दा उनका लघुकथा लघुकथागत समयगत परिवेश बोक्ने खालका छन्।

उद्देश्यगत आधारमा हेर्दा ‘सनेस’ लघुकथासङ्ग्रहले विविध सन्देश बोकेर आएको छ। जसले समाजभित्रका सामाजिक विषयमा विविधता देखाई त्यसमा रहेका सबल पक्षको आत्मसात गर्दै समाजमा रहेका विकृति, विसङ्गति, दमन, अन्याय, अत्याचार, देखावटी प्रवृत्तिको अन्त्य गनुपर्ने सन्देश प्रवाह गरेका छन्।

त्यस्तै केही लघुकथाको माध्यमबाट भौतिक सम्पत्तिको मोहमा आफ्नो संस्कार, संस्कृति अनि बुबाआमाप्रतिको गलत चिन्तनलाई उठाउँदै त्यसप्रति सचेत रहनुका साथै समाज परिवर्तनका लागि सन्देश प्रदान गरेका छन्।

समाजमा विद्यमान रहेका चाडपर्व, दानदक्षिण, फजुल खर्च र अरूको सिको गरी आफ्नोपन गुमाउँदै जाने प्रवृत्तिप्रति सचेत गराई त्यसमा सुधार गरी आफ्नोपन बनाउने सन्देश दिइएका छन्। महिला अधिकार, शिक्षा, स्वास्थ्य, रोजगार आदिका समस्यालाई इङ्कित गर्दै त्यसको सही समाधान र सुधारको बाटो देखाउने सन्देश दिएका छन्।

भाषाशैलीगत आधारमा पनि लघुकथालाई हेर्नु उपयुक्त हुन्छ। भाषाशैलीभित्र, भाषिक संरचना, शुद्धता, प्रतीकात्मकता, बिम्बात्मकता, आलङ्कारिकता, प्रस्तुति शैली आदि कुरा रहन्छन्।

सनेस लघुकथालाई भाषाशैलीका आधारमा हेर्दा शब्द, वाक्य, भावका आधारमा अर्थयुक्त ढाँचामा रहेको देखिन्छ तर वर्णविन्यागत आधार, पदयोगको आधारबाट हेर्दा पूर्ण सुधारको बाटो खोजेको देखिन्छ। केही मात्रामा चिह्नको उपयुक्त स्थानमा प्रयोग गर्नुपर्ने देखिन्छ। कुनै कथाले शब्दमा सुधार खोजेको देखिन्छ। जसमा उदाहरणका लागि देश प्रेम र परिवर्तनलाई हेर्दा त्यसको प्रमाण पाउन सकिन्छ।

शीर्षकीकरणका आधारमा हेर्दा सनेसमा रहेका आधिकांश शीषर्क सार्थक, सफल, उपयुक्त र कसिला खालका देखिन्छन्। पछि, कीलो, भाग, हुँदैन जस्ता केही शीर्षकको ओझ अझ दरिलो बनाउन पाउँदा लघुकथाले बलियो आधार बनाउन सक्छन्।

सनेस लघुकथासङ्ग्रहमा रहेका भगवान्, नामसारी, सहिद बस्ती, आशय, देश प्रेम, परिवर्तन, परिणाम, नियति, बुद्धि, गुरु पूर्णिमा, अभाव, व्यवसाय, हौसला मूल्य, आगो, कर्मको प्रसादी, समानता, मित्र, मतलबी, छेपारे, नैतिकता, सम्पत्ति, अलपत्र, चिन्ता, मिलाप, परिस्थिति, उदाहरण, कर्मको फल, सन्देश, नीति, नाटक, आरक्षण, सहन, असर, कर्तव्य, प्रशंसा, जिम्मेवारी, सोच, इच्छा, फरक, कीलो, कुर्सी, स्वार्थी, हुँदैन, प्रयास, माली, विवशता, एउटा गल्ती, भाग, परालको आगो, रोजगारी, ३६४ दिन, पछि, साहित्य, संरक्षण, महसुस, माला, स्मरण, दिवस, सक्षम, जन्मदिन, पेन्सन लघुकथाहरू रहेका छन्।

लघुकथामा अभाव, आगो, नाटक, ३६४ दिन, जन्मदिन, पेन्सन जस्ता कथाले लघुकथाको उच्चता देखाएका छन्। एउटा गल्ती, भाग, पछि, माला जस्ता केही लघुकथा थोरै सुधारको खोजीमा छन्। सनेस लघुकथासङ्ग्रहका आधारमा उमानाथ दाहाललाई हेर्दा उनमा सामाजिक यथार्थता देखाउनु, समाजका विकृति, विसङ्गतिलाई देखाउनु, राजनीतिक विषयवस्तु प्रस्तुत गर्नु, राष्ट्र र राष्ट्रियता देखाउनु, महिला विभेदलाई देखाउनु, रोजगारी र वैदेशिक अवस्थाको चित्रण गर्नु, पारिवारिक विषयवस्तुलाई प्रत्यक्ष रूपमा उतार्नु जस्ता विशेषताहरू देखिन्छन्।

कथाले दिने विषयवस्तु, पात्र चयन, परिवेश, उद्देश्यका आधारमा कथा सफल छन्। भाषाशैलीका आधारमा लघुकथासङ्ग्रहले केही सुधारको अपेक्षा गरेको देखिन्छ।
अर्को समाचार
अलबिदा साथी!
२२ मंसिर २०८१
•
७ मिनेट पाठ
अलबिदा साथी!
बिदाइ प्रायः दुःखद नै हुन्छ। आफ्नो सन्तानलाई पढ्नका लागि विदेश पठाउँदाको बिदाइ होस् वा छोरीलाई राम्रो ज्वाइँसाथ पौंचाउँदाको बिदाइ। त्यस्तै लामो समय अध्यापन गरेका गुरुलाई विद्यालयबाट बिदाइ गर्दा होस् वा विख्यात खेलाडीले खेलजीवनबाट सन्न्यास लिँदाको क्षण। जीवनसाथीसँग औपचारिक रूपमा सम्बन्ध विच्छेद गरेर छुट्टिँदाको क्षण अत्यन्त कष्टप्रद हुन्छ। आफन्तलाई इहलीलाबाट बिदा गर्दाको क्षण कति दुःखद हुन्छ भन्ने त कुरै गर्नुपरेन।




टेनिसका विश्वप्रसिद्ध खेलाडी रोजर फेडेररले टेनिस खेलेरै सबै चिज प्राप्त गरे, नाम, दाम, प्रतिष्ठा, सम्मान सबै सबै। एक पटक खेल जीवनबाट बिदा हुनु नै थियो। खेलाडीको यस्तो सफलतापछिको बिदाइको क्षण सुखद हुनुपर्ने हो किनभने उनले गर्नुपर्ने कर्म र पाउनुपर्ने परिणाममा कुनै कमि थिएन।

यस्तो बिदाइलाई पनि मनले सुखद मानेन। त्यो बिदाइको क्षणमा चिर प्रतिद्वन्द्वी राफेल नाडाल, जोकोभिचलगायत सबै डाँको छोडेर रोए। अझै फेडेररसँग कैयौंपटक फाइनल भिडेका राफेल नाडालले त भने– ‘जब फेडेरर सक्रिय टेनिसबाट अलग भए, मेरो जीवनको अभिन्न अंग पनि अलग भयो।’

यस्ता बिदाइका अन्तर्यमा सुखानुभूतिको अंश रहे पनि मनमा बिदाइको दुःख सलबलाइरहेकै हुन्छ।

यस्तै बिदाइको दुःखद अनुभूति मैले आज मात्र सँगालेको छु। १३ वर्षदेखिको आत्मीय सहयात्रीलाई कठोर मन बनाएर सदाका लागि बिदा गरेर आउँदैछु। मन गह्रुङ्गो भएको छ। यात्रा गर्न रुचाउने म, यात्रामा सधैं साथ दिने सहयात्रीको बिदाइ थियो त्यो। मैले यात्राको अनवरत साथीलाई अपमान गर्दै बिदा गरेको थिएँ।

अपमान पनि अनौठो थियो। मैले साथीलाई तैंले मलाई बोक्न सकिनस्, तँ पटक पटक बिरामी हुन थालिस्, उपचार खर्च पनि महँगिँदै गयो, तँलाई खाना धेरै चाहिन थाल्यो, कहिलेकाहीं यात्रामा आराम नगर् भन्दा पनि जबर्जस्ती आराम गर्न थालिस्, हेर्दा पनि बुढो र नराम्रो देखिन थालिस्, उकालोमा त हिँड्नै नसक्ने भइस् भन्दै कैयौंपटक गाली गरेको छु। यस्तो गाली उसले तीनचार वर्ष लगातार खायो।

मैले जति गाली गर्दा पनि जवाफ भने कहिल्यै फर्काएन। सकी नसकी मेरो आदेश सधैं मानिरह्यो। उसको पनि ज्यान न हो, जति जीर्ण हुँदै गयो, काम गर्ने ऊर्जामा पनि कमी आउने नै भयो। उसको ऊर्जा जति घट्दै गयो, मेरो अपमानको पारो झन्झन् बढ्दै गयो। सहनशील थियो सहयात्री। सहिरह्यो वर्षौंवर्ष। लामो समय अपमानको पीडा दिएर आज साथीको बिदाइ गरेर आएँ। बिदाइको क्षण ज्यादै नमिठो हुँदो रहेछ।

बिदाइ गरिसकेपछि पो मलाई लाग्दै छ– बिचरा, जीर्ण शरीर भएको इमानदार सहयात्रीलाई मैले त्यसरी काममा नलदाएको भए हुने, बिरामी हुँदा बेलैमा उपचार नगरी किन उसलाई काममै लगाइरहेँ होला, नसक्ने भएपछि गाउँको गोरुलाई जंगलमा छोडेझैं उसलाई परित्याग नै गर्ने निर्णय नगरेको भए पनि हुने।

भित्री रूपमा कमलो संयन्त्र भएको मान्छे हुँ म। यद्यपि, आज किन यति कठोर भएँ ? आफैंलाई थाहा थिएन। १३ वर्षसम्म बिना हिचकिचावट बोकेर ठाउँ ठाउँ पुर्‍याउने वाहनलाई तँ कमजोर भइस् भन्दै थोरै पैसामा बेचिदिने सामथ्र्य ममा कसरी आयो ? आखिर ऊ गुनैगुनले भरिएको प्रिय साथी नै थियो। समय पुगेपछि सबै चिज जीर्ण हुन्छन्। समयले लगाम लगाएपछि जीवन पनि चूर्ण हुँदै जान्छ। यो नियमित प्रक्रिया नै हो। यति धेरै वर्ष साथ दिने साथी आखिर त्यस्तो बैगुनी नै त थिएन।

समयले हो वा बाध्यताले, आज मान्छे झनै कृत्रिम र स्वार्थी बन्दै छ। मान्छे भन्नु नै स्वार्थको पर्याय हो भने पनि हुन्छ। आफ्नो स्वार्थ पूरा गर्न नसक्ने भएपछि मान्छेले प्रियजन अर्थात् प्रिय वस्तुलाई पनि हाँसीहाँसी बिदाइ गरेका धेरै उदाहरण हामीले देख्दै आएका छौं। आफ्नो स्वार्थ पूरा भएपछि वा पूरा नहुने अवस्था आएपछि आफूलाई जन्म दिने आमाको समेत अपमान गर्न मान्छे पछि पर्दैन।

श्रीमती ल्याएपछि आमाको अपमान गर्ने छोराहरूको कमि छैन यहाँ। स्वार्थ पूरा नहुने भयो भने सम्पन्न घरघडेरी भएका सन्तानहरूले वृद्ध भएका आफ्नै आमाबुबालाई वृद्धाश्रम पुर्‍याउन बेर लगाउँदैनन्। सामाजिक सञ्जाल यस्तै स्वार्थ प्रकाशन गर्ने भित्तो बनेको छ। आमाकै कारण प्रसिद्धि पाएका व्यक्तिहरूसमेत यस्ता भित्ता आमाकै आलोचना गर्दै रङ्ग्याएका पनि हामीले देखेकै छौं।

मलाई सम्झना छ, मेरो जन्मथलोभन्दा उत्तरतिरको डाँडोपारि घना जंगल छ। आमाहरू घरबाट हाराहारी एक घण्टा उकालो चढेर त्यही जंगलबाट घाँसदाउरा ल्याउनुहुन्छ। एक दिन घरमाथिको बाटोबाट पारि गाउँका दुईजना छिमेकीले एउटा बुढो गोरुलाई डोर्‍याएर उकालो चढाउँदै थिए। त्यो त्यही गोरु थियो, कहिलेकाहीं हामीहरूको खेतबारी जोत्न समेत ल्याउने गरिन्थ्यो।

‘बिचरा ! हाम्रो खेत जोत्ने गोरु त बुढो पो भइसकेछ। कहाँ लाँदै हुनुहुन्छ गोरुलाई ?’ मैले सोधेँ। उनीहरूले डाँडापारिको गाउँमा बेचेकाले उतै पुर्‍याउँदै छौं भन्ने जवाफ दिए। जोत्न नसक्ने बुढो गोरुलाई किन बेच्दैछन् भन्ने जिज्ञासा मेरो मनमा उब्जियो। अन्य जनावर भएको भए काटेर मासु खान्थे होलान्, तर गोरुको मासु खान नेपालमा वैधानिक मान्यता छैन। मेरो मनमा बुढो गोरुको हालत देखेर दया लागिरह्यो। गोरु आफ्ना मालिकका पछिपछि उकालो लाग्दै थियो।

विडम्बना ! उनीहरूले गोरुलाई डाँडापारि जंगलमा छोड्न लगेका रहेछन्। यो कुरा केही दिनपछि जंगलमा घाँस काट्न गएका आमाहरूले भनेपछि थाहा भयो। उमेर हुने बेलासम्म गाउँको खेत जोत्ने बुढो गोरुलाई बिचजंगलमा बाघले खाएको कुरा आमाले देख्नुभएको रहेछ। जंगलमा छोडिएको गोरुलाई झन्डै एक सातापछि बाघले खाएछ।

मान्छेको मन कति कठोर हुँदै छ भन्ने उदाहरण हो यो। मान्छेले जीवनभर दुहुन्छ, जब गाई बुढो हुन्छ अनि भिरबाट धकेलेर मार्छ। मान्छेले जीवनभर घरको सुरक्षा दिएको कुकुरलाई सुरक्षा दिन नसक्ने भएपछि टाढा सडकमा पुर्‍याएर छोडिदिन्छ। कतिपय देशमा भोका व्वाँसाहरूमाझ मान्छेलाई फालिदिएर मृत्युदण्ड दिइएका समाचार हामीले पढेसुनेकै छौं। ती जीवजन्तुलाई जंगलमा छोड्नु, भिरबाट धकेल्नु भनेको त्यसै प्रकृतिको मृत्युदण्ड हो। आज मान्छेको मन, स्वभाव अनि व्यवहार कठोरतर बन्दै छ।

मेरो बुढो सहयात्री मोटरसाइकललाई बिदाइ गर्दा यस्ता धेरै कुरा मनमा खेलिरहे। १३ वर्षदेखिको यो सहयात्रीलाई बिदाइ गरेर चिटिक्कको नयाँ साथीलाई घरमा भित्र्याएको थिएँ। सहयात्रीले वर्षौं लगाएको गुन सम्झेर मन भने तरङ्गित भइरह्यो।

‘होन्डा साइन बा. ४५ प ६८३८’ न्वारान गरिएको त्यो त्यस्तो सहयात्री थियो, जसले कहिल्यै साइकल पनि नचलाएको यो ज्यानलाई मोटरसाइकल सिकाएर काठमाडौंको व्यस्त सडकमा निर्धक्क कुद्ने बनाएको थियो। त्यही सहयात्रीकै कारण ‘हेलमेट टिचर’ उपाधि पाएको थिएँ।

बिहान दिउँसो गरेर गोडा चारेक कलेजका झन्डै एक दर्जन कक्षाकोठाका सेता पाटीमा काला अक्षर पोत्न भ्याएको थिएँ। मलाई ‘हेलमेट टिचर’ भन्दा भित्रैदेखि आनन्द आउँथ्यो। पत्रकारिता कर्म सकेर मध्यराततिर वासस्थान पु¥याउने निर्विकल्प साथी पनि त्यही थियो। मोटरसाइकल जति नयाँ थियो, कलेजमा दिने समय र ऊर्जा पनि नवीन नै थियो।

आखिर समय न हो, घर्किंदै गयो, मोटरसाइकल पनि पुरानो हुँदै गयो। मोटरसाइकल मात्र कहाँ हो र, मेरो मन पनि जीर्ण हुँदै रहेछ क्यारे, त्यही मोटरसाइकललाई बहाना बनाएर कतिपय समयमा काममा ढिलासुस्ती समेत गर्न थालियो। जीर्ण मोटरसाइकल नै आफ्ना कमजोरी ढाक्ने साधनसमेत बन्न थाल्यो। बिहान उठ्न ढिला भयो भने ‘चिसोमा मोटरसाइकल स्टार्ट नै भएन, मोटरसाइकल पन्चर्ड भयो, तेल लिग भएछ, तेलको लाइनमा छु, थोत्रो मोटरसाइकलले दुःख दियो’ जस्ता बहाना बनाउन सजिलो हुन थाल्यो।

म प्रायः यो सहयात्रीलाई बाहिर छोडेर ठुला ठुला पार्टीमा घण्टौंसम्म हराउँथेँ। म पेटभर मिष्ठान्न भोजन गरेर मध्यरातमा बाहिर आउँदा प्रिय सहयात्रीले कुरिरहेकै हुन्थ्यो। कहिलेकाहीं त भित्रबाट केही खानेकुरा ल्याएर वाहन साथीलाई दिऊँ कि जस्तो पनि लाग्थ्यो। यद्यपि निर्जीव तर इमानदार साथीले त्यस्ता भोजन ग्रहण गर्ने कुरा आउँदैनथ्यो। यो त मेरो मनको भावना मात्र न थियो।

एकपटक पुसको जाडोमा मेरो मोटरसाइकल काठमाडौंको धोवीखोलाछेउको सडकमा भुलवश रातभरि छोडेछु। बिहान काम विशेषले निस्कँदा मोटरसाइकल आफ्नो वासस्थानमा थिएन। मोटरसाइकल चोरी भयो भनेर मन भुटभुटियो। एकैछिनपछि हिजो मोटरसाइकल घरमा नराखी बाहिर सडकमै छोडेको सम्झना भयो। खोलाछेउमा मोटरसाइकल बसिराखेको थियो।

मनमा लाग्यो– यो शून्य डिग्रीको चिसोमा बिचरा मोटरसाइकल खोलाछेउमा बसेर कुरिराखेको छ। मोटरसाइकलको इमानदारी सम्झेर मन कुँडियो। मोटरसाइकल उमेरदार हुँदा यस्ता भावना बढी आउँथे। अझ भर्खर घरमा भित्रिएका बेला त साह्रै माया लाथ्यो यस सहयात्रीको। जब सहयात्री पुरानो हुँदै गयो, वृद्ध हुँदै गयो, मेरो मायामा पनि फिकापन थपिँदै आयो। वृद्धावस्थासँगै सहयात्रीको तन जीर्ण बन्दै थियो, यता सहयात्रीको जीर्णपन देखेर मेरो मन कठोर बन्दै थियो।

हुन त यहाँ आएपछि एक दिन जानु नै पर्छ। उमेर हुन्जेल सधैं यस्तै ऊर्जा रहिरहन्छ भन्ने मिथ्या भ्रमले छोपे पनि यथार्थ भिन्न छ। सजीव–निर्जीव सबै वस्तुको यात्रा उस्तै हो। कुनैमा क्षणिक समयका लागि प्राण भरिएको हुन्छ, कुनै निष्प्राण हुन्छन्।

आखिर फरक यत्ति हो। क्षणिक प्राणप्राप्त काय पनि एक दिन निष्प्राण बन्ने नै हो। अर्थात् जीवन्त वा निर्जीवन्त जस्तो यात्रा भए पनि आगमन भइसकेपछि बिदाइ अनिवार्य हुन्छ। यद्यपि मैले नबुझेको कुरा– जीवन्त–निर्जीवन्त समस्त चिजबिजबाटै ब्रह्माण्ड बनेको हो तर बिदाइपश्चात् यी सबै जान्छन् चाहिँ कहाँ? पृथ्वीमै, ब्रह्माण्डको कुनै अर्को कुनामा वा ब्रह्माण्डभन्दा पनि पर?
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस