बुहारीको तिलहरी
०६ माघ २०८०
•
११ मिनेट पाठ
बुहारीको तिलहरी
नाम पनि बाले नै जुराइदिए। वा, भनूँ रोजे ‘सोमती’। पल्लाघर तिलोकराम काकाकी छोरी सङ्क्रान्ति बजारमा माल खेप्ने ट्रक ड्राइभरसँग चम्पट कसेपछि आफ्नी छोरीले पनि नाकमा ‘गु’ दल्ने भई भनेर त्राहिमाम् भएका मैपति भट्टराईले छोरीको नाम नामैले सपार्छ भनेर ‘सोमती’ राखिदिए सानैमा।  




मैपति भट्टराई गाउँभरिका गफाडी हुन्। उमेरमा आसाम पुगेर देश खाई शेष भएकोदेखि हिन्दुस्तानका कटियार, पटनासम्म चहार्दा रिक्सा तान्ने देशी भाइको ठग्ने चाला बेलैमा बुझेर दुई गोर्खे लबटो हानिदिएको जस्ता पौरुषार्थका कुरा मेला, मलामी, पूजा, बाटो, चियापसल जहाँसुकै कहिल्यै नछुट्ने गफ हुन्।

मैपतीका सँगैका दौंतरीहरू कोही एसएलसीसम्म, कोही आइएसम्म पढेर ऊबेला सजिलै पाइने मास्टरी जागिर खाएर, हुलाकी जागिर खाएर गाउँमा ‘सर’को परिचयले हिँडडुल गरेर खान्छन्। मैपतिले भने खासै पढेनन् स्कुले विद्या।

तैपनि गुणरत्नमाला, सयपत्रीको थुँगो आदि आफ्ना बेलाका चलेका सिलोकका किताब पढेर जीवनोपयोगी ज्ञान र विद्या लिएका छन् उनले। उस्तै परे ती पुस्तकका दुईचार सिलोक मुखाग्रे भट्याउँदै ठाउँ ठहर मिलाएर ठुला कुरा गर्ने, टिमुर्किएका कुरा गर्ने ठेट्ना, बकेर्ना ‘अचेलका मान्छे’लाई दनक दिइहाल्छन् उनी।  

धानखेत, बारीको पाटो, गाई भैंसीको गोठ यस्तैमा बित्छ उनको दिन। अहिले त सहकारीले ‘बिउ बहर’ किनेर उनलाई पाल्न, पोस्न दिएको पनि छ। एउटा फोन पनि सहकारीले नै किनिदिएको छ मैपतीलाई। त्यो फोनमा सात गाउँका गाईधनीको फोन आउँछ, साँढे ल्याइदिनुपर्‍यो गोठमा भनेर। एउटा गाईलाई साँढे लगाएको हजार तोकिदिएको छ सहकारीले।

त्यसमा मैपतीलाई साँढेको खानाखुराक र परिश्रमबापतको छ सय, सहकारी कोषलाई चार सय जान्छ। तर गाई भएका ठाउँमा साँढे आफैं पुर्‍याउने माग आयो भने दुरी हेरी उनलाई नै दाम तोक्न पाउने अधिकार दिएकाले मैपती १५०० सम्म ठटाउँछन् साँढे घरघर लगेको। त्यसो गर्न पाए उनको कमाइ बढेर एउटै ‘प्रकरण’बाट हजारमाथि गोजीमा आउँछ।

दिनमै दुईतीन गाईगोठसम्म गौमाता-साँढेको मिलन गराउन पुग्छन् भट्टराई कहिले त। यसरी उनको कमाइ पढेका मास्टर, सरहरूको भन्दा धेरै हुन थालेको छ साँढेबालीबाट। उता खेतबालीको आयस्ता त छँदै छ। मनग्य आम्दानी दिए पनि मैपतीलाई साँढेबाली इलमको एउटै बिस्मात चाहिँ के भने छँदाखादाको नाम मैपतीको साटो मान्छे उनलाई ‘साँढे भट्टराई’ भन्न थालिसके  

वारिपारि गाउँमा।

यिनै भट्टराईकी कान्छी छोरी हुन् सोमती। उसको न्वारानको नाम त ‘खिनमाया’ नै थियो। घरमा त अझै आमाले न्वारानकै नामले बोलाउँछिन्। स्कुल, साथीभाइमा चाहिँ सोमती। खानलाउन खेतबारी भएकै भट्टराई परिवारमा जन्मिएकी भए पनि अन्नपातको कंगाल घरमा जन्मिएकी जस्ती धरमभाट दुब्ली भएकीले उसलाई घरमा त ‘लुते’ पनि भनेर बोलाए रिस उठेका बेला ऊमास्तिरकी दिदी, मुनिको भाइ र बाउआमाले। घरमा पाहुनापासा, नौलोपौलो कोही आएको बखत चाहिँ आमा ‘खिनमाया’, ‘खिनु’ आदि भनेर अलिक चेपारो धसेर काम अह्राउँथिन्। नत्र त सबैकी ‘खिने’ हो सोमती।  

सोमतीलाई त आफ्नो नाम ‘निरु’ राखूँ लाग्यो अलिक जान्ने भएपछि। मेहन्दी पोतेर र डटपेनले कोरेर कतिपल्ट ‘निरु’ उतारी उसले आफ्नो नाडीमा। तर के गर्नु बाको मर्जी चल्यो उसको नाममा। सोमतीमै हुर्केर गई ऊ।  

नौ क्लास उक्लेर दसमा टेकेकी मात्रै थिई सोमतीले। पढाइ त्यस्तो विधि नर्स, डाक्टर हुने पाराको थिएन उसको। एक दुई, एक दुई विषय दागी लाग्दैवर्दै बल्लतल्ल उक्लेकी हो दस कक्षासम्म पनि। हेरिनसक्नुकी फुकीढल दुब्ली नि। पोहोरदेखि त अलिक जिउ लिन थालेर हेर्न हुने भएकी थिई ऊ। 

जुँगाका रेखी बस्न थालेकाहरूले देख्दा सारै ‘छि’ भन्नुपर्ने देखिन्न ऊ अचेल। डिलमुनि कान्छीका बिहेमा जन्ती आएका पारी तमाखेका लर्केठिटा मौरीझैं भनभनी घुमे रे सोमती वरिपरि। जन्तीलाई खुवाउने भतेरमा सर्बत बाँड्न उभिएकी सोमतीसँग तिर्खा नलागे पनि सर्बत मागेर खाने तोर्पेहरूको भिड थामिसक्नु थिएन रे, बिहेपछिको गाइँगुइँअनुसार।

बिहेघर खाइसकेकी सोमतीकी जेठी दिदी पुनेले आफ्ना मामाससुरा सिमलडाँडे संजेलका कान्छा छोरासँग मिल्छ खिनेको जोडी भनेर कुरो ल्याई। संजेल पुत्र कान्छो यसै दसैंमा साउदीबाट छुट्टी आउने निधो पनि पुनेले नै ल्याई।

बा हौसिए। छोरी भनेकै बिहे गर्न र अर्काको दैलो पोत्न जन्मेकी भनेर जानीबुझी र बेहोरी आएकी आमा डिलमाया भट्टराई त झन् कुरो मिल्छ र नाडी जुध्दैन भने किन नाइँ भन्थिन्।  

मैपती उर्फ ‘साँढे भट्टराई’का सम्धी हुने सम्भावना बोकेका सिमलडाँडे संजेल अर्का ‘एक किसिम’का आदमी हुन्। मकैको खोस्टो भेटे खोस्टो, कटुसको पात भेटे पात, भुराको कापीको पानो भेटे त्यसैमा कंकड बेरेर फुइँ लगाएको लगाई गर्नुपर्छ छिनछिनमा सिमलडाँडेलाई।

गाउँमा कोही सिग्रेट बोकेको मान्छे आयो भने चाहिँ एउटा मागेर काजी पाराले नस लिएर तान्दै औंला पड्काएर खरानी झार्छन् उनी। चिया पसलमा सिग्रेट तान्न पाएका बेला कुरा पनि अलिक गर्मी निकाल्छन्। जस्तै, अर्काले दिएको सिग्रेट पड्काउन पाए भने ‘बिपीका छेउमा गिरिजा त गन्तीमै आउँदैन नि’ भनेर कुरो झिक्छन्।

गाउँमा कसका घरमा बाख्राका पाठापाठी कति जन्मिए, बोका कत्रा भए, कुन पर्वलाई कसका घरका खोरमा माल किन्न पाइन्छ, गाउँभरिको लेखो राखेका हुन्छन् सिमलडाँडे। गाउँ पसेर एउटा खसी घिसार्दै ल्याएर दोकानडाँडामा खसी काट्ने उर्दी चलाएर माहोल निकाल्न उस्तै सिपालु छन् संजेल। 

उनको खसी मार हान्ने उर्दीले भेला भएका गाउँलेहरूले नहुँदा पनि स्थानीय पसलमा दुईचार पला चिया, केही पुरिया बिस्कुट, केही बट्टा खुकुरी सिग्रेट, मरमसला किनेर दोकानेका ग्राहक भइदिन्छन्। उस्तै झ्वाँक्की परे भने दुईचार बोतल बियर र खसीको भुटुवा चिया दोकानेलाई भुट्न लगाएर तासको खाल जमाएर दिनभरि बसिदिन्छन्। सिमलडाँडेको ‘एक खसी कटाइ, दस व्यापार’को इकोसिस्टम बुझेका छन् दोकानेले। त्यही भएर दोकानेहरू संजेललाई खसी काट्न उक्साइरहन्छन्।  

कुरामा कुरा, एकदिनको कुरा।  

‘निरोला पिउनलाई आधा किलो, गने काकालाई एक किलो’ चिया दोकानको बेन्चीमा बसेर संजेल कापीमा उतार्न मात्रै के थालेका थिए, मासु खानेहरूको सम्भावित भागजोख, निरोला पिउन बुरुक्क उफ्रेर कड्किए।  

‘के रे के रे, संजेल दाइ, आधा किलो रे? हाम्रा चैं केटाकेटी छैनन्, तीनको मुख छैन? किलो लेख्नु त्याँ खुरुक्क, हामी चैं के सुँघ्ने मात्रै हौं? अरू चैं खाने हुन्? सारै सेपेर कुरा नगर्नू मान्छेलाई।’ चार भुरा र दुई बाउआमा गरेर छ जनाको परिवार भएको घरलाई मान्छेका मुखेन्जी ‘आधा किलो गोस’ भनेर घोषणा गर्दा निरोला पिउनको सधैंभरि दबेको स्वाभिमान एकाएक विष्फोट भएर आयो।  

‘होइन, दुई किलो नै लेखूँला झैं गर्छन् त निरोला दाइ त !’ आफूलाई एक किलो लेखाएको सेतुमान कार्कीले उल्यायो निरोलाको वर्गीय हैसियतलाई।  

‘दसैं हो र दुईदुई किलो लेख्नलाई’ दुर्गे सोडारीले हान्यो अर्को पन्च फेरि। निमुखा निरोला पिउन नबोली बसे।  

हाँस्दै हाँस्दै, सिमलडाँडेले एक किलो नपारी धरै पाएनन् निरोला पिउनलाई।  

खेतबारीको काम नभएको बेला यस्तै उस्तै इलम गरेर दिन काट्छन् संजेल। गाउँमा नाम र हल्लीखल्ली भएका यिनै सिमलडाँडे संजेलको कान्छो छोरो हो सोमतीको कुरा चलेको केटो।  

संजेल कान्छाको जुरेको नाम त कुमार हो। तर, ऊ त्यो नाममा अडिएन ‘छोरीमान्छे’ सोमतीजस्तो। अथवा, अड्याउने प्रयासै गरिएन। न त उसको नाम कसै अरूले जुराइदिने हिम्मत नै गरे। उसले नाम फेरेर ‘क्रिस’ बनायो। स्कुल नदेखेकी आमा पार्वती संजेलले कान्छाको नाम भन्न नजानेर हाम्रो ‘किरिस’ भन्थिन्। छोरो न छोरी, भान्जो न भतिजो, एकलखे त लाउनैपर्ने हाम्रो समाज। त्यसैले ऊ ‘किरिसे’ पनि हुने नै भयो।  

‘हाम्रो किरिसे पनि दसैंमा आउँछ रे, बिहे गरेर बुहारी घरमा राखेर पठाउने भन्या मान्ने हो कि होइन,’ पार्वतीले सँधियार र बचत समूहका दौंतरीसँग चुटिन् गफ।  

‘बिहे गर्दिएपछि तिम्रो किरिसे स्वास्नी छोड्न नसकेर बा नफर्किने पो हो कि, मान्छे अलिक झिल्के नै हो किरिसे,’ गाउँका महिला झिमिक्क आँखा पार्दै पार्वतीसँग इतरिए।  

‘आफ्नै स्वास्नी छोड्न नसकेर घरै बसो भने बसो नि, अर्काका स्वास्नी छोड्न नसकेर विदेश फर्केन भने पो पिर,’ पार्वतीलाई मान्छेले हेप्न, उल्याउन खोजे भने मुखतोड ‘पन्चलाइन’ हान्न नि आउँछ परेको बेलामा।  

नभन्दै क्रिस आयो दसैंमा कालो चस्मा ढल्काएर। लट्टीपट्टी पारेर कुरो छिनिहाले। सोमतीको मतले पानी भन्न पनि पाएन। दुलही भएर निगालेका मैपति भट्टराईका घरद्वार छिरी सोमती।  

क्रिस र सोमतीले घुमे सेल्फीडाँडा, टिकटक घुम्ती र अन्य केही रैथाने भाइरल ठाउँ। एकले अर्काको आँखामा हेरेर कतै सेल्फी खिचे त कतै आँखा आँखामै भविष्यका कल्पना र सपना नियालेर आलिंगनमा बाँधिए। अनि यसो ओल्टो, कोल्टो, ओझेल, सियाँल, एकान्त हेरेर जुगजमानामुताबिक बिहेअघि बस्न नपाएको डेटिङ पनि बसे।

‘म फर्केपछि के गरेर बस्छ्यौ त घरमा? कि ब्याइफ्रेन बनाएर टाप कस्छ्यौ? क्रिसले जिस्क्याउन हो कि साच्चीकै डरले हो,’ फ्याट्ट भन्यो।

‘हो नि, हाम्रो त कामै ब्वाइफ्रेन पक्रिँदै हिँड्दै गर्ने हो। किन बसिन्थ्यो उसै त,’ सोमतीले पनि तौजी मिलाएर बात फिराई।

‘बाख्रालाई घाँस काटेर त बस्ने होला नि अब म त। पढ्न जान दिने होइनन् होला,’ मरेको आसमा फेरि बोली सोमती।

‘तिम्रो बुढो त अरबमा भेडा चराउँछ, तिमी के पढ्छ्यौ अब। बरु बाख्रा पाल, बाआमालाई खुसी पार बस्। म पैसा कमाएर आउँछु अनि सहर पसेर बिज्नेस गर्नुपर्छ,’ क्रिसले घर सल्लाह ग¥यो।

‘पैसा कति उब्रेका छन्? अलिअलि छन् भने एउटा छड्के तिलहरी लगाउन पाए हुन्थ्यो, गाउँमा बिहे, कार्जे, तीज आउँदा काम लाग्ने थियो,’ सोमतीले डराउँदै डराउँदै धोको खोली।  

‘पैसा छैनन्, अलिबारमा बाले किन्दिने रे तिलहरी तिमीलाई,’ क्रिसले तिलहरीको गुह्य खोल्यो।

०००

सिमलडाँडे गाउँ पसेर घर फर्किंदा दोकानडाँडामा थामिए सधैंझैं। चिया पसलमा अलिक नौलोपौलो मान्छेको चहलपहल देखेर उतै ढल्किए र बेन्चीमा बसेर मैलो, धुन बितेको सुरुवाल भिरेका खुट्टाको उप्परखुट्टी बनाए।

‘होइन, कुले होइन? कहिले आइस् फौजीबाट? फौदे नेम्वाङको छोरो गोर्खा राइफल कुलमान उर्फ ‘कुले’लाई चिनेर सोधे।

‘हिजो आ’को काका। अहिले दार्जिलिङमा तालिम प¥यो कि अनि यता छे दिनलाई कुदी आएको पो,’ कुले लाउरेले भन्यो।  

‘कहाँ पटनामा छस्?’ उनले जानेकै पटना, जे हुन्छ पटनामै हुन्छ भनेझैं गरेर सोधे।

‘होइन, पल्टन त देहरादुनमा छ, यता तालिम मात्रै।’

‘अनि सिग्रेट ल्याइस् होला।’

‘खाने हो त,’ बगलीमा हात हाल्दै कुले बोल्यो र एक बट्टा झिक्यो अनि लम्कियो संजेलतिर।

‘अब सिग्रेट मात्रै त के फुक्नु लाउरेको, एक कप च्या पनि मगा याँ काकालाई,’ लाउरेको जेबलाई एक अर्को भार थपेर संजेल सिग्रेट पड्काउन थाले र बेन्चमा बसीबसी गफ दिन थाले।

‘ए कुलमान, सुन ल्याइनस् पल्टनबाट? ल्याइस् भने मलाई एक तोला चाइया छ है, बेच्छस् भने। सुनको भाउ नि के विधि बढेको हो, ब्वारीलाई एउटा छड्के तिलहरी किन्दिनुछ, दाम छोइसक्नु छैन,’ फौजी सिग्रेटको खरानी पड्काउँदै संजेल बोले।

‘कहाँ ल्याउनु काका। हतारमा पो आ’को। तपाईंकी ब्वारीले कसोई गरी एक रातलाई भा पनि आइज भनेर मोर्न लाग्यो र कुदी आएको हतारमा,’ लाउरेले झिमिक्क आँखा सन्काउँदै भन्यो। सुन्नेजति मुखामुख गरेर हाँसे।

‘अनि ब्वारीलाई तिलहरी किन्दिने काका? कति, चारानीको?’ चिया दोकाने रनेकी श्रीमती चन्द्राले संजेललाई चियाको गिलास थमाउँदा घुमाएर दिँदै सोधी।

‘हेर नानी, सारै चिम्टी चाहिँ गरिँदैन। चारानीको नि तिलहरी हुन्छ? आफ्नो दानी बानी देखाएर हालिन्छ नि एक तोलाकै नयाँ ब्वारीलाई, तिम्र ैससुराझैं गर्नुपर्छ र मैले नि?’ संजेलले पनि मेख मारेर जवाफ दिए चन्द्रालाई।  

०००

क्रिस उड्यो मायाको चिनो जालेरुमाल साटेर। सोमती घाँस काट्न थाली। कोदो–मकै गोड्न थाली। सोमतीको परिश्रम र पसिनाले खोरमा भएका साना पाठा बढेर बडेमानका खसी भए।

ससुराबा मैपतिले खोरका चार खसीको दाम गोटाको २५ हजारले कबोलेर बैना बुझिसकेको पत्तै थिएन सोमतीलाई।

‘हाम्रा ससुरा बाले तिलहरी किन्दिने कुरा छ मलाई नि तीजअघि नै। यसपालि तीजमा त ढल्काइएला हौ,’ तल्लाघरे छड्के तिलहरीवाल बुहारीसँग उसले पनि साटी मनको रहर।

नभन्दै तिलहरी आयो, खोरका चार जखमले गए।

सोमतीले तिलहरी दाहिने छड्काएर लगाई अनि गर्व, आँट र धमासले नाच्न निक्ली तीज। घरी काँधमा तेर्साएर लगाउँछे, घरी पछाडि ओझेल परेको तिलहरी हत न पत अघिल्तिर पारेर फोटो खिच्नेका हारमा सार मिलाउँछे सोमती। बल्ल उसलाई जोरपाटीका अघि निस्कन लायक बनाएको ठान्छे तिलहरीले।  

‘हाम्रा नि ससुराबा त मान्छे असल हुन्, यी किन्दिए नि तिलहरी मलाई नि,’ बचत समूहको बैठक बस्न भेला हुँदै बसेका बेला उसले भाग्यमानी बुहारी भएझैं गरेर खुसीले उम्लिन खोज्दै डम्मरी काकीलाई भनी।

‘लाटी, झरी–खडेरी नभनी बाख्रालाई घाँस काट्ने तिमी, खोले, दाना, भकारो गर्ने तिमी, साना मरन्च्याँसे पाठालाई हुर्काएर त्यत्रा घोर्ले खसी बनाउने तिमी अनि तिम्रो पौरख र आर्जन बेच्ने बेलामा दाम समाएर हैकम जमाउने ससुराबा। त्यही तिम्रो कमाइ कब्जा गरेर किन्देको तिलहरी ससुराबाले किन्देको हुन्छ त?’ कुरा सुनिरहेकी गाउँकी मानव अधिकारकर्मी मेडमले छर्लंग पारिन् सोमतीको दिमाग।

सोमतीले कुरो त बुझी तर बोल्न नसकेर घुटुक्क थुक मात्रै निली।

मिटिङ सकेर घर जाँदा पो मानव अधिकारकर्मीका कुरालाई ‘इस्’ पार्दै उनै डम्मरी काकीसँग साउती मिलाई सोमतीले, ‘आफू सधैं पोइ मरेको विधवाजस्तो भएर हिँडेकी छन्। न नाकमा फुली छ, न गलामा पोते, न सिन्दूर लाउनु छ। तिनका लोग्ने कार्की सरले नि कसरी फुक्का छोड्देका हुन् खोइ ! खुब अर्काका छोरी, ब्वारीका तिलहरीको आरिस्। असल ससुरा पाएको त देख्नै नहुने मान्छेले।’

‘तबैतारे, तिम्रा ससुराले नकिनिदिए तिनका बाले किनिदिएका हुन् कि त !’ डम्मर सिंहकी जहान धनसराले बारीका डिलमा उभिएर सार मिलाइन् र सोमतीसँग छुटेर ओरालो कुदिन् घर जान।
अर्को समाचार
अब एसएलसी कक्षा १२ मा
०६ फागुन २०७७
•
३ मिनेट पाठ
अब एसएलसी कक्षा १२ मा
सरकारले शिक्षा नियमावली २०५९ संशोधन गरी शिक्षा (सातौं संशोधन) नियमावली २०६९ मा हाल कक्षा १२ लाई विद्यालय शिक्षाको अन्तिम खुट्किलो कायम गरेको छ। मूल नियमावलीको नियम ४७(क)मा संशोधन गरी नियमावलीको नियमन (४७) कमा रहेको ‘कक्षा १० मा’ भन्ने शब्दावलीको सट्टा ‘कक्षा १२ मा’ भन्ने शब्दावली राखिएको छ। जसले गर्दा अब विद्यार्थीको स्कुल लिभिङ सर्टिफिकेट अर्थात् (एसएलसी) कक्षा १२ मा कायम भएको राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए।  




परीक्षा नियन्त्रक खकुरेलले यो वर्ष सरकारले समयमै निर्णय गर्न नसक्दा बोर्डअन्तर्गत एसइई परीक्षा सञ्चालन हुने तय भए पनि आगामी वर्ष कक्षा १० को परीक्षा प्रदेशबाटै सञ्चालन हुने जानकारी दिए। संशोधित नियमावलीअनुसार अब माध्यमिक शिक्षा कक्षा ९ देखि १२ सम्म कायम भएको छ। नियमावली संशोधनअघि कक्षा १० मा विद्यार्थी भर्ना हुन पाउँदैनथे। उनीहरूले कक्षा ९ मा जुन स्कुलमा भर्ना र रजिस्ट्रेसन फारम भर्थे, सोही स्कुलबाट एसइई परीक्षा दिनुपर्ने व्यवस्था थियो। कक्षा १० मा छात्राको बिहे, अभिभावकको बराइँसराइ र विद्यार्थी बिरामी भएको अवस्थामा मात्र स्थानान्तरण दिनुपर्ने व्यवस्था थियो। अब संशोधित नियमावलीले यी सबै व्यवस्था खारेजी गरेको छ। साथै विद्यार्थीले जुनसुकै विद्यालयमा कक्षा १० मा भर्ना तथा स्थानान्तरण पाउने भएका छन्।  

‘विगतमा विद्यार्थी कक्षा ९ मा जुन स्कुलमा भर्ना भए, कक्षा १० पनि सोही स्कुलबाट परीक्षा दिनुपर्ने शिक्षा ऐन तथा नियमावलीमा व्यवस्था थियो। स्थानान्तरण कक्षा १० मा पाउँदैनथे,’ परीक्षा नियन्त्रक खकुरेलले नागरिकसँग भने, ‘अब संशोधित नियमावलीअनुसार कक्षा १० मा पनि विद्यार्थीले स्थानान्तरण पाउने भए। उनीहरू जुनसुकै स्कुलमा पनि कक्षा १० मा भर्ना हुने बाटो खुल्यो।’ उनले थपे, ‘अब एसएलसी कक्षा १२ कायम भयो। विद्यार्थी जुन स्कुलमा कक्षा ११ मा भर्ना हुन्छन् सोही स्कुलबाट कक्षा १२ पास हुनुपर्छ।’

शिक्षासचिव गोपीनाथ मैनालीले संशोधित शिक्षा नियमावलीले मुख्य तीन विषय समेटेको जनाए। कक्षा १० मा स्थानान्तरणको व्यवस्था र कक्षा १२ लाई एसएलसी कायम, विपद् तथा महामारीको समयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र आफैंले तोक्न सक्ने र कार्यालयहरूको रूपान्तरण गरेको छ। ‘हाल रहेको एसइई परीक्षा कार्यालयले पुराना प्रमाणपत्र व्यवस्थापनको काम गर्छ,’ सविच मैनालीले भने, ‘नियमावलीअनुसार कक्षा १२ विद्यालय तहको अन्तिम शिक्षा कायम भएको छ। अब विद्यार्थीले स्कुल लिभिङ प्रमाणपत्र कक्षा १२ उत्तीर्णपछि पाउनेछन्। विश्वविद्यालयको प्रवेश बिन्दु कक्षा १२ कायम भएको छ।’  

उनले थपे, ‘शिक्षा ऐनमा व्यवस्था भएपछि कक्षा ८ स्थानीय तहको, कक्षा १० प्रदेश सरकारको र कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डको जिम्मेवारीमा हुनेछ।’ सचिव मैनालीले संशोधित शिक्षा नियमावलीले व्यवस्था गरेअनुसार विपद् तथा महामारीमा मन्त्रालयले नै शैक्षिक सत्र तोक्ने अधिकार कायम गरिदिएकाले कोरोना महामारीका कारण चालु शैक्षिक सत्रअनुसार गते सुरु हुने र जेठभित्र विद्यालय तहका सबै परीक्षाहरू सक्नुपर्ने मन्त्रालयले तय गरेको उनले जनाए। यसैगरी संशोधित नियमावलीले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा सहभागी हुन कक्षा १० मा कम्तीमा ७५ प्रतिशत हाजिरी भई नियमित रूपमा अध्ययन गरेको विद्यार्थी मात्र माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ। तर दूर शिक्षाको माध्यमबाट अध्ययन गर्ने विद्यार्थीको हकमा दूर शिक्षासम्बन्धी निर्देशिकामा व्यवस्था भएअनुसार हुनेछ।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस