नग्न फेसनको होडबाजीले जस्तो जन्मेको त्यस्तै पार्यो’
‘हास्य कवि’ उपनामले चिनिएका गीताराम निरौलाको रोचक र आकर्षक प्रस्तुतिमा दर्शक–श्रोता त्यसै पनि तानिन्छन्। उनका शब्दमा धेरै हाँस्छन् तर त्यत्तिकै गम्भीर पनि बन्छन्, मन्त्रमुग्ध हुन्छन्। त्यही मेसो पक्डिएर निरौला सामाजिक यथार्थ चित्रणसहित कसैको ‘सापटी’ सिर्जना पस्किहाल्छन्–
‘कलम रोए शब्द बन्छ कवि रोए कविता
धनी मरे समवेदना, गरिब मरे रमिता’
हरेक बिहान भाले नडाक्दै झुल्केघाम, संसार ढाकेझैं वनजंगलको सौन्दर्य र लहरै दाँतझैं टल्किने हिमाल हेर्न पर्यटक भेला हुने सिद्धिथुम्का चुलीमा बुधबार भने साहित्यकार र साहित्य प्रेमी उक्लिए।
सिर्जनशील मनबीचको भलाकुसारी साहित्य बन्यो अनि साहित्य नै उनीहरूबीचको संवाद। स्कुले बालबालिकादेखि ८० वर्ष छेउछाउका देउमाई नगरवासी सिद्धिदेवीलाई ‘साक्षी’ राखेर धमाधम सिर्जना पोख्न थाले।
पर्यटकीय सिद्धिथुम्कामा संगिनी नाचियो, साकेला देखाइयो अनि छाडिएनन् अरू–अरू सांस्कृतिक झाँकी पनि। खेतमा लहलह झुलेको ‘मंसिरे चटारो’ एकछिन बिसाएर भएपनि किसान र मजदुरसमेत त्यही चुलीमा साहित्यको रस पिउन जोडिए, रमाए।
किसोरी विनीता बराइलीको ‘प्रतिकार’ ले साहित्यिक माहोलमा अर्काे ‘आगो’ दन्कियो। कानुनले बर्जित गरे पनि समाजमा व्याप्त विभेदको पीडा उनका शब्दअंशले नै छताछुल्ल पारिदिँदा सहभागी कतिका आँखा रसाए, कतिले ‘घाउ’ मा मलम अनुभूत गरे–
‘म जूनसँग खेल्दै थिएँ ताराको बगैंचामा
छुट्टै अस्तित्व, छुट्टै संसार
र, हरियाली प्रकृतिमा
जिन्दगी निकै रंगीन थियो
सोचें– म आफैं इन्द्रेणी हुँ
महसुस गरें
यदि मैले हेर्ने आकाश यति स्वतन्त्र छ भने
ओहो ! यो धर्ती पनि पक्कै समतल छ
तर, उत्रिनँ मैदानमा
जब दैलो पार गरें धाराको पानी अछुत भयो
दियो अँध्यारो भयो
शरीर योग्य तर सिँदुर अयोग्य बन्यो’
जिल्ला सदरमुकामभन्दा निकै टाढा अनि पालिकाको केन्द्रभन्दा पनि टाढा। सिद्धिथुम्का चुलीमा साहित्यिक जमघट आफैंमा ‘केन्द्रीकृत’ मानसिकताविरुद्धको गतिलो आवाज त थियो नै, यहाँ ओकलिएका शब्द अझ तिख्खर र विद्रोही। बेला–बेला कार्यक्रम सञ्चालक सुमन लुहागुन स्पष्ट पार्दैथिए– ‘सत्ताको प्रमुख प्रतिपक्षी साहित्यकार नै हुन्छन् र हुनुपर्छ पनि।’ अनि, उनी पनि किन सक्थे र आफ्नो जोस थाम्न ! सुनाइहाले एक टुक्रा–
‘कहिले थोर गरेर सफर कहिले धेर गरेर
पाइला चल्छ उकाली ओराली हेरफेर गरेर
त्यही रफ्तारमा चुम्नु छ सफलताको शिखर
म जन्मिएको छु मृत्यु पत्रमा हस्ताक्षर गरेर’
आयोजक संस्थाको नाम नै ‘परिवर्तनका लागि आवाज’। देउमाई नगरका साहित्य प्रेमी युवाको समूह हो यो। दबिएका आवाज साहित्यमार्फत् उजागर गर्न डेढ वर्षदेखि गाउँका ‘अर्ग्यानिक क्यानभास’ चहारिरहेका छन् यसमा आबद्ध युवा सुजन बाँस्तोला, चेतन अञ्जान, टीका कटवाल, सुमन लुहागुन र अरू कम्तीमा २० जना। सामाजिक विकृति, विसंगतिदेखि पछिल्लो समय राजनीतिका नाममा मौलाएको कमिसनखोर प्रवृत्ति अनि त्यसमा पिल्सिएका सर्वसाधारणको पीडा ‘दमदार’ रूपमा ओकल्दैछन् उनीहरू।
त्यही रफ्तारमा युवा कवि सुजन बाँस्तोला सरकारमाथि प्रश्न सोझ्याउँछन्–
‘मेरी वृद्धा आमाको कर कति हो सरकार ?
मेरा बेपत्ता बाको कर कति हो सरकार ?
मेरो धान फल्ने खेतमा पहिरो दौडिन्छ,
बाको लालपुर्जाको कर कति हो सरकार ?
म दिन तयार छु, झुपडीको पनि आयकर,
यहाँ पानी चुहिने छानाको कर कति हो सरकार ?’
मनका पीडा अक्षरमा पोखेर सन्तुष्ट हुनु मात्रै देउमाईका सचेत युवाको उद्देश्य होइन। उनीहरू सिर्जनामा मिसाइएको कलाका माध्यमबाट परिवर्तनको सपना बुन्दैछन्। र, परिवर्तनका लागि शब्दकै हतियार उठाउनुपर्छ भन्ने चेतना नगरभर जागृत गर्दैछन् । अभियन्ता टीका कटवाल साहित्य, सिद्धान्त, सत्ता, समाज र सहअस्तित्वको लामो बयान सकिएपछि ‘परिवर्तनका लागि आवाज’ को निष्कर्षबारे सुनाउँछन्– ‘प्रतिरोधी चेत नै सबाल्टर्नको आवाज हो।’
यही सपना जीवन्त बनाउन युवामात्र होइन, बालबालिकामा समेत साहित्यिक लहर चलाउन प्रयास गरेको आयोजक संस्थाको अध्यक्षसमेत रहेका बाँस्तोला सुनाउँछन्। त्यही प्रयासमा यहाँ आयोजित कार्यक्रममा पनि विद्यालय तहमा अध्ययनरत बालबालिकाबीच चाहिँ कविता प्रतियोगिता नै सञ्चालन गरियो। प्रतियोगितामा शुभेच्छा दाहाल पहिलो, मिराक फियाक लिम्बू दोस्रो र नेहा लिम्बू तेस्रो भए। आठ बाल प्रतियोगीले कविता नै सुनाइदिए।
सिद्धिथुम्का चुलीमा भेला भएकामध्ये गजलले परिचित युवक चेतन अञ्जानदेखि प्रकाश खनाल, तुलाराम पुरी, कोषवल्लभ रेग्मी, राम क्षेत्री, बुद्धिसागर न्यौपाने, भीमसेन लिम्बू, विमल अधिकारी, आरके एलन मुखिया, इलामे नानीलगायतले रचना सुनाए। रचना सुनाउन चाहने तर समय नपुग्ने अनगिन्ती नै थिए।
‘झापाबाट यहाँको साहित्यमा रम्न यहीँ आइपुगेका त्रिविक्रम नेपाल भन्दै थिए, ‘सदरमुकामभन्दा टाढा गाउँका बालबालिकादेखि युवा र वृद्धसम्म साहित्यमा जमेको, विद्रोही सिर्जनामा रमाएको दृश्य साँच्चीकै लोभलाग्दो हुँदो रहेछ।’
देउमाईका युवाको परिवर्तन सपनामा जाँगर भर्दै व्यवसायी अशोक विश्वकर्मा धराने, प्रकाश श्रेष्ठ, पत्रकार माधव चौंलागाईं, पर्वत पराजुलीलगायतले चाहिँ कार्यक्रमलाई यथाशक्य आर्थिक टेवा पुर्याइदिएछन्। स्थानीय खान्द्रुङ माविका शिक्षक र विद्यार्थीले कार्यक्रम सफल पार्न सघाए। आयोजक अध्यक्ष बाँस्तोला भन्छन्, ‘हामी साहित्य मात्र होइन, क्रसमः सबैखाले प्रतिभाको खोजीमा छौं, उनीहरूको पहिचान र प्रस्फुटनको प्रयास गर्दैछौं।’
संस्थाले यसअघि पनि देउमाईका विभिन्न स्थानमा साहित्यिक कार्यक्रम, बहसलगायत सञ्चालन गरिरहेको छ। ‘सेमिनार हलभित्र प्रोजेक्टर राखेर गरिने कार्यक्रमभन्दा प्राकृतिक मञ्चतिर आयोजना गरिने कार्यक्रम चाहिँ निकै प्रभावकारी र जीवन्त बन्छन्,’ उनले भने, ‘हामी कुनै पनि कार्यक्रमलाई केन्द्रमा सीमित नगरी सबैको पहुँचसम्म पुर्याउने र सबैसँग पुग्ने अभ्यास गरिरहेका छौं। यसमा नगर वासी सबैले सहयोग गर्नुभएकाले पनि हामीमा उत्साह थपिएको छ।’
काठमाडौँ। रमेशप्रसाद तिमल्सिनाकाे ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।
‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन लाेकार्पण गरेका हुन्।
कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्श समेत गरियो।
लाेकार्पित पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन्। पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ।
सञ्चारकर्मी दाहालले लोकतन्त्र जीवनपद्धति भएकाले हाम्रा अभ्यास र व्यवहारले अझै प्रश्नको घेरामा रहेको बताए।
ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोडदिए।
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित नगरी घरघरको व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्नेमा जोड दिए।
जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समयसमयमा समीक्षाको आवश्यकता औँल्याए। गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र त्यसको उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने प्रतिक्रिया दिए।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...