साँझपख झनै चम्कन्छ भानुचोक
२८ असोज २०८३
•
५ मिनेट पाठ
साँझपख झनै चम्कन्छ भानुचोक
<br>
चाडपर्व नजिकिएसँगै गाउँ फर्किने यात्रुको भीडले बिहानैदेखि व्यस्त बन्ने धरानको भानुचोक साँझपख भने खाजा पसल, साना ठेलाको व्यापार र किनमेल गर्ने सर्वसाधारणको चहलपहलले थप रौनकपूर्ण बन्छ।




खोटाङ, भोजपुर, धनकुटा, ताप्लेजुङ, पाँचथर, विराटनगर र झापा लगायतका जिल्लातर्फ जाने आउने यात्रुको आवतजावतले दिनभर व्यस्त रहने भानुचोकमा साँझपख फरक दृश्य देखिन्छ।

ठूला सवारीसाधनको चाप घट्दै जाँदा सडकछेउमा ठेलागाडा राखेर मःम, चाउमिन र अण्डारोल लगायत खाजा बेच्ने व्यापारीको चहलपहल बढ्छ।  खाजा खान आउने र किनमेल गर्ने सर्वसाधारणको भीडले चोकको वातावरण थप रमाइलो बनाउँछ।

धरान–८ की अनिता राई १० वर्षदेखि साँझपख भानुचोकमा ठेलामा मःम,चाउमिन र अण्डारोल बेच्दै आएकी छन्। दिनभर घरको काम सकेर खाजाका सामग्री तयार पार्ने उनी साँझ ५ः०० बजे ठेला लिएर भानुचोक पुग्छिन् र राति ९ः३० बजेसम्म व्यापार गर्छिन्। उनलाई छोरीले व्यापारमा सहयोग गर्दै आएकी छन्।

“दिनभर घरको काम सकेर खाजाका सामग्री तयार पार्छु।  साँझ ५ः०० बजे भानुचोक आएर ९ः३० बजेसम्म व्यापार गर्छु।  छोरीले पनि सहयोग गर्छिन,” राईले भनिन्।

विगतका दैनिक प्रतिप्लेट ३५–४० देखि मःम, चाउमिन बिक्री गर्न थालेको अहिले ७० रुपैयाँ पुगेको छ। यही व्यवसायबाट छोराछोरीको पढाइ र घरखर्च धान्न सहज भएको उनले बताइन्। राई जस्तै धरान–१५ की निरा मगरले पनि  नौ वर्षदेखि साँझपख भानुचोकमा मःम, चाउमिन र अण्डारोल बिक्री गर्दै आएकी छन्।

खाजाको व्यापार सुरु गर्नुअघि चार वर्ष मकै पोल्ने र आलु चप बेच्ने काम गरेको उनी सुनाउँछिन्। त्यसबाट सोचे जस्तो आम्दानी नभएपछि खाजाको व्यापार सुरु गरेको उनले बताइन्। “महिला भएर साँझपख ठेला लिएर सडकमा निस्कँदा सुरुमा डर लाग्थ्यो, अप्ठ्यारो पनि हुन्थ्यो। अहिले बानी परिसक्यो। चाडपर्व सुरु भएकाले व्यापार पनि राम्रो भइरहेको छ,” मगरले भनिन्।

दिनभर घरमै खाजाका सामग्री तयार पारेर साँझ ६ः०० बजेतिर भानुचोक पुग्ने उनी राति १०ः०० बजेसम्म व्यापार गर्छिन्।  चाडपर्वका बेला ग्राहकको चहलपहल बढ्दा व्यापार राम्रो हुने गरेको उनको भनाइ छ।

साँझपख भानुचोकका सडकछेउमा रहेका साना चिया पसल र ठेलामा खाजा खाने, कुर्सीमा बसेर चिया गफ गर्ने तथा किनमेल गर्ने सर्वसाधारणको भीड देखिन्छ। साँझपख ठेला व्यापारी र ग्राहकको चहलपहल बढेसँगै भानुचोकमा ट्राफिक व्यवस्थापनमा चुनौती थपिने गरेको छ। चाडपर्व नजिकिएसँगै बिहानैदेखि यात्रुको भीड बढ्ने भएकाले यात्रुको सुरक्षा र सवारी व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरीक्षक अनिल माबोहाङले लिम्बुले बताए।

“चाडपर्व सुरु भएकाले बिहानैदेखि अत्यधिक भीडभाड हुने भानुचोकलाई विशेष प्राथमिकतामा राखेर ट्राफिक व्यवस्थापन गरिरहेका छौँ,” उनले भने।

गाउँ फर्किने सर्वसाधारणको सुरक्षाका लागि यात्रुले टिकट पाए नपाएको र सवारीसाधनको व्यवस्थापनको अवस्थाबारे सोधपुछ तथा जाँच गर्ने गरिएको उनले बताए।

साँझपख ठूला सवारीसाधनको चाप कम भए पनि मोटरसाइकल, ट्याम्पो र सफारीको आवतजावत तथा जथाभावी पार्किङका कारण सडक साँघुरिदा समस्या हुने गरेको उनको भनाइ छ।

ट्राफिक व्यवस्थापन सहज बनाउन वडा कार्यालय तथा नगरपालिकासँग समन्वय गरी व्यावस्थापन गरिँदै आएको उनको भनाइ छ।

दिनभरको गर्मी, धूलो, कोलाहल र हतारबाट थाकेका मानिसका लागि साँझपख भानुचोक भेटघाट र साथीभाइ रमाइलोको गफगाफ गर्ने ठाउँ  बन्ने गरेको छ। सडकछेउका चिया पसल र फुटपाथमा राखिएका कुर्सीमा बसेर खाजा खाँदै गफिने सर्वसाधारणको दृश्य साँझपख सामान्य बनेको छ।

चोकमा साँझपख युवाको जमघट बढ्ने गरेको छ।  कोही मोबाइलबाट भिडियो खिचिरहेका हुन्छन्, कोही फोटो खिच्दै रमाइरहेका हुन्छन् भने कोही गीत गाएर मनोरञ्जन गरिरहेका देखिन्छन्।  झिलीमिली बत्तीले उज्यालिएको चोक आफैँमा मनमोहक देखिन्छ।

धरान उपमहानगरपालिका–२ धरानको मुख्य बजार भानुचोक व्यापारिक चहलपहलको केन्द्र मात्र नभई ऐतिहासिक महत्त्व बोकेको स्थान पनि हो। धरान–२ का स्थानीय बिर्खलाल तामाङ भन्छन्, “चोकमा भानुभक्त आचार्यको शालिक राखिएका कारण यस स्थानको नाम भानुचोक रहन गएको हो। ”

चोकमा भानुभक्तको सालिक छ। जनआन्दोलनका बेला नाराबाजी, र्‍याली तथा राजनीतिक र साहित्यिक गतिविधिका लागि चोक प्रमुख स्थल जस्तै थियो। “केही दशकअघि सम्म भानुचोकको आसपास क्षेत्रमा टिनले बेरेका साना घर मात्र थिए। जहाँ चिया पसल थिए। चिया पिउँदै राजनीतिक तथा सामाजिक विषयमा छलफल गर्ने चलन थियो। त्यतिबेला अहिले जस्तो ठेलामा खाजा बेच्ने प्रचलन नै थिएन,” उनी सम्झिन्छन्।

भानुचोकको इतिहाससँगै यसको स्वरूप पनि समयक्रममा बदलिँदै गयो। धरानमा लामो समयदेखि पत्रपत्रिका बेच्दै आएका ७५ वर्षीय कृष्णभक्त श्रेष्ठ भन्छन्, “विगतको तुलनामा अहिले चोक फेरियो ठूला ठूला घर बने मानिस र सवारीसाधनको चाप उल्लेख्य बढ्दै गयो।”

विसं २०४५ को भूकम्पपछि हङकङ र मकाउमा रहेका नेपालीको पहलमा ५६ लाख रूपैयाँको लागतमा भानुचोकको छेवैमा घण्टाघर निर्माण सुरु भयो। विसं २०४८ मा निर्माण सम्पन्न भएको घण्टाघरले यस क्षेत्रको पहिचान थप स्थापित गर्न सहयोग पुर्‍याएको श्रेष्ठले बताए। घण्टाघर बनेपछि चोकको रौनक बढ्न थाल्यो। वरपर व्यापारिक गतिविधि बढे र सहरको चहलपहल पनि यही क्षेत्रमा केन्द्रित हुन थाल्यो।

दैनिक हजारौँ मानिसको आवतजावत हुने भानुचोक धरानका विभिन्न स्थान तथा बाहिरी जिल्लातर्फ जाने सवारीसाधनका लागि प्रमुख केन्द्र हो। “पहिले पत्रिका बेच्न धरानको छाताचोकतिर जानुपर्थ्याे, अहिले बिहानदेखि साझँसम्म भानुचोकमै ग्राहक भेटिन्छन्। पहिलेको तुलनामा अहिले यहाँ मानिसको चाप र चहलपहल निकै बढेको छ” उनले भने।

साँझपख ठेला तथा साना व्यवसायमा हुने चहलपहलले स्थानीय आर्थिक गतिविधि बढाउन र साना व्यवसायीको जीविकोपार्जनमा सहयोग पुर्‍याएको सुनसरी उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष किसन मास्केको भनाइ छ।  
अर्को समाचार
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
११ घण्टा अघि
•
१ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
चितवन। गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पितृमुक्ति महायज्ञ हुने भएको छ। 




मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथबाबा) को सत्सङ्कल्पमा यही मङ्सिर १ गतेदेखि यहाँ सञ्चालन भइरहेको अष्टाचल धनधान्यञ्चल विराट महायज्ञ अन्तर्गत दिवङ्गत पितृहरूको मुक्तिको कामना गर्दै यही मङ्सिर २० गतेदेखि तीन दिनसम्म सो महायज्ञको आयोजना गरिएको हो।

वैदिक शास्त्रको पाठपारायण, जप, ध्यान, हवन, पाँच करोड २५ लाख दीप प्रज्वलन, १०८ कन्याको पूजनसहित विशेष धान्याञ्चल अनुष्ठान गरिने सो महायज्ञमा दिवङ्गत आत्माहरूको उद्धार, मुक्ति र शान्तिको कामना गर्दै पितृमुक्ति महायज्ञ गर्न लागिएको मुक्तिनाथ बाबाले जानकारी दिए। यस अन्तर्गत पितृहरूको सामूहिक प्रार्थना, भागवत पाठपारायण, तिलाञ्जली, एकाहा पाठ, वर्षदिन पुगेका पितृहरूको तर्पण र नारायणबलि लगायतका कार्य हुने छन्। 

स्वामी कमलनयनाचार्यले भने, 'भोटेकोशी बाढीले सबै नेपालीलाई जस्तै मलाई पनि ठूलो पीडा दिएको छ। त्यसैगरी अन्य बिपत्ति, महामारी आदिमा कैयौँ नेपालीको अकालमै ज्यान गएको छ। त्यसैले सबै दिवङ्गत आत्माहरूको मुक्ति, शान्ति र सद्गतिको कामनास्वरुप यही विराट महायज्ञमै विशेष पितृमुक्ति अनुष्ठानको सङ्कल्प गरेका हौँ।' 

सामूहिक रूपमा गरिने यस विशेष अनुष्ठानमा दिवङ्गत पितृहरूका आफन्त कर्ताका रूपमा आफैँ सहभागी भएर कर्म गर्ने तथा उक्त कार्यका लागि पितृहरूको नाम, गोत्र, तस्बिर आदि उपलब्ध गराउन सकिने व्यवस्था गरिएको सो विराट महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिए। 

यही मङ्सिर १ गतेदेखि नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) मा विराट महायज्ञ सुरु हुनुअघि पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा देशका प्रमुख धार्मिकस्थलहरूको परिक्रमा गर्दै त्यहाँ आइपुगेको थियो। 

सो विराट महायज्ञ एउटा धार्मिक उत्सव मात्र नभएर नेपालमा वैदिक विश्वविद्यालय स्थापनाका साथै हाम्रो सभ्यताको पहिचान र नयाँ पुस्तामा हस्तान्तरण गर्न, नेपालका तीर्थस्थलको प्रचार गरी नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको विश्व केन्द्रका रूपमा स्थापित गर्न आयोजना गरिएको मुक्तिनाथ बाबाले जानकारी दिए।

उनले यी महत्वपूर्ण धार्मिक अनुष्ठानहरूमा प्रत्यक्ष सहभागी भएर पुण्य आर्जन गर्न पनि समस्त वैदिक सनातन धर्मावलम्बीहरूलाई आग्रह गरेका छन्। रासस
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
यो पनि पढौँ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस