विश्वकप फुटबलको उत्साहले मेक्सिको सिटीलाई छोपिरहेको बेला हजारौं समर्थकहरूको मन जित्ने पात्र कुनै स्टार खेलाडी, प्रशिक्षक वा आधिकारिक मस्कट बन्न सकेको छैन।
उद्धार गरिएको एउटा आठवर्षे कुकुर ‘ओसिटो’ नै अहिले विश्वकपकै सबैभन्दा चर्चित अनुहारमध्ये एक बनेको छ। मेक्सिकोको उद्घाटन खेलका समर्थकहरू रंगशालातर्फ जाँदै गर्दा ओसिटो आफ्नो मालिक जर्ज रेन्गलको कार्गो साइकलको पछाडि आरामसँग बसेको थियो।
मेक्सिकोको राष्ट्रिय टोलीको जर्सी, आकर्षक चस्मा र टोपी लगाएको ओसिटोले केही समयमै सबैको ध्यान खिच्यो। समर्थकहरूले उसलाई हेर्न, फोटो खिच्न र भिडियो बनाउन भीड नै लगाए। केही घण्टामै ओसिटोका तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भए। अन्तर्राष्ट्रिय टेलिभिजन प्रसारणमा समेत उसको चर्चा हुन थाल्यो। ५० वर्षे रेन्गेलका लागि भने यो लोकप्रियता सामाजिक सञ्जालको चर्चाभन्दा धेरै ठूलो कुरा हो। ओसिटो रेन्गलको घर पालुवा जनावर होइन।
उनको जीवनकै अभिन्न साथी मान्छन्। ‘ऊ मेरो लागि कुकुरभन्दा धेरै हो, मेरो दैनिक सहयात्री हो,’ रेन्गल भन्छन्। पछिल्ला दुई वर्षदेखि ओसिटो रेन्गेलसँगै मेक्सिको सिटीका सडकमा घरायसी सामग्री वितरणको काममा निस्किने गरेको छ।
विशेष रूपमा परिमार्जन गरिएको कार्गो साइकलको पछाडि बसेर ओसिटो सहर यात्रा गर्छ। बाटोमा भेटिने मानिसहरूलाई शान्त भावले हेर्ने र मुस्कान बाँड्ने उसको बानीले धेरैको मन जित्ने गरेको छ। यो यात्रा संयोगबाट सुरु भएको थियो।
एक दिन रेन्गलले सामान वितरणका लागि प्रयोग हुने बाकसभित्र ओसिटोलाई राखेर छोटो साइकल यात्रा गराए। कुकुरले त्यसलाई रमाइलो मानेपछि उनले बाकसलाई थप सहज बनाउँदै लगे। बिस्तारै लामो यात्रामा पनि साथ लैजान थाले।
आज ओसिटो सडकमा निस्किँदा बालबालिका उसलाई भेट्न दौडिन्छन्। अपरिचितहरू तस्बिर खिच्न रोक्छन्। धेरै समय स्थिर बसेर यात्रा गर्ने भएकाले कतिपयले सुरुमा ओसिटोलाई खेलौना कुकुरसमेत ठान्छन्। ‘उसको स्वभाव निकै शान्त र मिलनसार छ। सबै जना उसलाई भेट्न चाहन्छन्,’ रेन्गलले भने।
विश्वकप सुरु भएपछि रेन्गलले ओसिटोलाई अझ ठूलो दर्शकमाझ पुर्याउने अवसर देखे। विश्वकपअघि नै ओसिटोका लागि रेन्गलले विशेष सामान जुटाए। ओसिटोकै कारण फुटबलका उत्साही समर्थकमा थप खुसीले भरियो। कुकुरको अनुहारअनुसार चस्मा, राष्ट्रिय टोलीको जर्सी र सजिएको साइकल रेन्गलले तयार बनाएका आकर्षण हुन्। जहाँ प्रतिक्रिया उनको कल्पनाभन्दा धेरै ठूलो रह्यो।‘मैले सोचेकोभन्दा धेरै बढी माया पाएँ,’ उनले भने।
‘सानो भालु’ भन्ने अर्थ लाग्ने ओसिटोको लोकप्रियताको मूल कारण उसको पोसाक वा भाइरल भिडियो होइन। मानिसहरूलाई सबैभन्दा धेरै छोएको पक्ष भनेको रेन्गल र ओसिटोबीचको आत्मीय सम्बन्ध हो। रेन्गलले जीवनको कठिन समयमा ओसिटोलाई अपनाएका थिए। ‘ओसिटो मेरो जीवनमा आएपछि मात्रै मैले जनावरलाई प्रेम गर्न सिकें,’ उनले भने।
उनीहरू प्रायः हरेक दिन सँगै बिताउँछन्। यदि रेन्गल ओसिटोलाई घरमै छोडेर बाहिर निस्किए भने ऊ भुक्दै आफ्नो असन्तुष्टि व्यक्त गर्छ। सडकमा भेटिने धेरै मानिसहरूले ओसिटोलाई देखेर आफ्नो तनावपूर्ण दिन केही खुसीमय बनेको बताउने गरेका छन्। कतिपयले मुस्कान बाँडिदिएकोमा धन्यवादसमेत दिने गरेका छन्।
विश्वकपको उत्सव जारी रहँदा ओसिटोका भिडियोहरू अझै सामाजिक सञ्जालमा फैलिरहेका छन्। तस्बिर खिच्नेहरूको भीड पनि उस्तै छ तर हरेक बिहान रेन्गल र ओसिटो फेरि आफ्नो साइकलमा चढ्छन्। मेक्सिको सिटीका सडकतर्फ लाग्छन् र फुटबल समर्थकलाई खुसी बाँड्छन्।
काम गर्दै नयाँ मानिसहरूसँग भेट्दै र ससाना खुसीका क्षण बाँड्नु उनीहरूको पछिल्ला समयको दिनचर्या बनेको छ। रेन्गल आफ्नो जीवनको सुखद पक्ष नै यही क्षणलाई लिन्छन्। टेलिभिजनमा देखिनु वा भाइरल बन्नु सुखद अनुभव भए पनि एक मानिस र उसको कुकुरबिचको स्नेह देख्न पाउनु नै उनको लागि सबैभन्दा ठूलो उपलब्धि बनेको छ।
दशौँ राष्ट्रिय खेलकुद पौडी प्रतियोगिता तथा २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपमा बागमती प्रदेश च्याम्पियन बनेको छ।
बागमतीले सर्वाधिक १६ स्वर्ण, ९ रजत र १० कांस्य गरी कुल ३५ पदक जित्दै च्याम्पियन बनेको हो। दोस्रो स्थानमा रहेको एनआरएन टोलीले १२ स्वर्ण, ४ रजत र ४ कांस्य गरी कुल २० पदक जित्न सफल भएको छ।
नेपाल आर्मी क्लबले ७ स्वर्ण, १५ रजत र १७ कांस्य गरी कुल ३९ पदकसहित तेस्रो स्थान हासिल गरेको छ। नेपाल पुलिस क्लब ६ स्वर्ण, १४ रजत र १६ कांस्य गरी कुल ३६ पदकसहित चौथो, कोशी प्रदेश ३ स्वर्णसहित पाँचौँ र सुदूरपश्चिम प्रदेश २ स्वर्ण, ४ रजत र १ कांस्य गरी कुल ७ पदकसहित छैटौँ स्थानमा रहेका छन्। यसैगरी, प्रतियोगितामा पुरुषतर्फ बागमती र महिलातर्फ एनआरएन टोली च्याम्पियन बनेका छन्।
प्रतियोगिताको अन्तिम दिन पुरुष २०० मिटर बटरफ्लाईमा तीन खेलाडीले पुरानो राष्ट्रिय कीर्तिमान भंग गरेका छन्। नेपाली पौडीमा एउटै इभेन्टमा तीन खेलाडीले राष्ट्रिय कीर्तिमान भंग गर्नु पनि नयाँ कीर्तिमान हो। यसअघि उक्त इभेन्टमा अशिम भण्डारीको नाममा २ मिनेट २१.८७ सेकेन्डको कीर्तिमान थियो। शुक्रबार सुदूरपश्चिमका अर्थभ सिंहले २ मिनेट १८.३० सेकेन्डमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। रजत पदक जित्ने आर्मीका सौरेन बहादुर सिंहले २ मिनेट १९.८१ सेकेन्ड र कांस्य पदक जित्ने आर्मीकै अशिम भण्डारीले २ मिनेट २०.११ सेकेन्डमा दूरी पूरा गरेका थिए।
पुरुष ८०० मिटर फ्रिस्टायलमा आफ्नै पुरानो कीर्तिमान सुधार गर्दै पुलिसका काल्किन श्रेष्ठले राष्ट्रिय कीर्तिमान बनाउने क्रममा स्वर्ण पदक जिते। उनले ९ मिनेट ०३.२१ सेकेन्डमा दूरी पूरा गरे। सुदूरपश्चिमका अर्थभ सिंहले १० मिनेट ०१.९६ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा पुलिसका रचित बुढाथोकीले १० मिनेट ३३.६८ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते। यस इभेन्टमा यसअघि काल्किनकै नाममा ९ मिनेट ०३.२१ सेकेन्डको कीर्तिमान थियो।
महिला २०० मिटर बटरफ्लाईमा एनआरएनकी लिलीले स्वर्ण जित्ने क्रममा २ मिनेट ३३.२० सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी छन्। यसअघि डुआना लामाको नाममा २ मिनेट ३५.२९ सेकेन्डको कीर्तिमान थियो। आर्मीकी डुआनाले २ मिनेट ३९.९४ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा पुलिसकी देभान्सी जोशीले ३ मिनेट ०३.१३ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जितिन्।
महिला ४०० मिटर फ्रिस्टायलमा एनआरएनकी लिली बोहराले ४ मिनेट ४३.११ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन्। आर्मीकी डुआना लामाले ४ मिनेट ५२.६२ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा एनआरएनकी मिखा काया थापाले ५ मिनेट ०२.७६ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जितिन्।
पुरुष २०० मिटर इन्डिभिजुअल मिड्लेमा बागमतीका अभिभ प्रधानले २ मिनेट १६.९६ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते। पुलिसका इर्भिन श्रेष्ठले २ मिनेट २०.१६ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा पुलिसकै काल्किन श्रेष्ठले २ मिनेट २२.०९ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते।
महिला १०० मिटर ब्रेस्टस्ट्रोकमा आर्मीकी डुआना लामाले १ मिनेट १९.९२ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन्। एनआरएनकी लिलीले १ मिनेट २२.५५ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा बागमतीकी रोयल प्रजापतिले १ मिनेट २४.१८ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जितिन्।
पुरुष १०० मिटर ब्रेस्टस्ट्रोकमा कोशीका विकास कुमालले १ मिनेट ०८.२५ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते। आर्मीका जाडेन श्रेष्ठले १ मिनेट ०८.६४ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा बागमतीका आरिक कर्माचार्यले १ मिनेट १६.६४ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते।
महिला ५० मिटर फ्रिस्टायलमा एनआरएनकी मिखा काया थापाले २९.१५ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन्। बागमतीकी आर्या महर्जनले २९.४९ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा बागमतीकै रोयल प्रजापतिले ३०.०९ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जितिन्।
पुरुष ५० मिटर फ्रिस्टायलमा पुलिसका इर्भिन श्रेष्ठले २५.६२ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते। बागमतीका अभिभ प्रधानले २४.६८ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा आर्मीका अल्भि महर्जनले २५.०२ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते।
महिला ४ गुणा १०० मिटर फ्रिस्टायल रिलेमा बागमती प्रदेशले ४ मिनेट २८.८६ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जित्यो। आर्मीले ४ मिनेट ३१.०६ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा पुलिसले ४ मिनेट ४४.४० सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते।
पुरुष ४ गुणा ५० मिटर फ्रिस्टायल रिलेमा बागमतीले १ मिनेट ४१.९२ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जित्यो। पुलिसले १ मिनेट ४४.२६ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा आर्मीले १ मिनेट ४४.४७ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जित्यो।
महिला ४ गुणा ५० मिटर मिड्ले रिलेमा बागमतीले २ मिनेट १६.०१ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जित्यो। पुलिसले २ मिनेट १९.७६ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा आर्मीले २ मिनेट २०.०१ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जित्यो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...