राष्ट्रिय खेलकुदको मर्ममाथि प्रश्न
०८ मंसिर २०८३
•
९ मिनेट पाठ
राष्ट्रिय खेलकुदको मर्ममाथि प्रश्न
पाँच पटक मिति सारेर हुन लागेको दसौं राष्ट्रिय खेलकुदको प्रतिस्पर्धा मंगलबार कर्णालीबाट सुरु हुँदै छ। चार दशक पार गरिसकेको राष्ट्रिय खेलकुदको दसौं संस्करणको उद्घाटन भने कर्णाली प्रदेशकै सुर्खेतमा मंसिर १६ गते हुनेछ। आयोजनास्थलमा बासस्थान समस्या भएपछि धेरै अघि नै खेल प्रतिस्पर्धा सुरु गरिएको हो।




दसौं खेलकुदको प्रतिस्पर्धा सुरु हुन लाग्दा नेपाली खेलाडी निकै उत्साहित छन्। २०८१ सालमै हुनुपर्ने यो आयोजना अन्ततः सुरु हुनु नेपाली खेलकर्मीका लागि खुसीको विषय हो। तर यो आयोजना राष्ट्रिय खेलकुदको मर्म र उद्देश्यअनुरूप हुँदै छ कि छैन भन्ने प्रश्न भने उठिरहेको छ।

यो अवस्थाले खेलकुदको कमजोर व्यवस्थापन र पूर्वाधार अभावलाई उजागर गरेको छ। यसै पनि राष्ट्रिय खेलकुद नियमित र व्यवस्थित हुन सकेको छैन। यसले खेलाडीमाथि अन्याय गरेको छ। आवश्यक पूर्वाधार नहुँदा दीर्घकालमा यो आयोजना सबै क्षेत्रबाट खेल विकासको आधार बन्न सक्दैन।

यसपल्ट पनि आवश्यक पूर्वाधारबिना नै राष्ट्रिय खेलकुद हुँदै छ। आयोजना अभावकै कारण कर्णाली प्रदेशबाहिर नै खेल आयोजना गरिँदै छ। यो खेलकुद विकासप्रतिकै बेवास्ता हो। नेपाली खेलकुदको सबैभन्दा ठुलो खेल महोत्सव हो– राष्ट्रिय खेलकुद। यसको सुरुआत २०३८ सालबाट भएको थियो।

देशका हरेक कुनाबाट प्रतिभालाई राष्ट्रिय स्तरसम्म ल्याउने उद्देश्य राखेर राष्ट्रिय खेलकुदको सुरुआत भएको हो। दुई वर्षको अन्तरमा यो आयोजना गर्ने गरी यसको सुरुआत भएको थियो तर त्यसअनुरूप भने हुन सकेन। नेपाली राजनीतिको स्वार्थमा नेपाली खेलकुदकै ठुलो खेल महोत्सव अन्योलमा पर्ने गरेको छ। दसौं संस्करणको पनि पाँच पटकसम्म मिति सारिएको थियो।

आयोजना हुनुलाई मात्र खेल विकासको आधार मान्न सकिन्न। यसको आयोजनाले दीर्घकालसम्म सकारात्मक प्रभाव पार्छ या पार्दैन भन्नु महŒवपूर्ण पक्ष हो। दसौं आयोजना सुरु हुँदै गर्दा यसले खेलकुद विकासको उत्साहभन्दा पनि नेपाली खेलकुदको अव्यवस्था, कमजोर पूर्वाधार र राजनीतिक हस्तक्षेपको पुरानै कथा दोहोर्‍याएको छ।

२०३८ सालमा काठमाडौंमा पहिलोपटक सुरु भएको राष्ट्रिय खेलकुद हरेक दुई वर्षमा आयोजना गर्ने परिकल्पना गरिएको थियो। त्यसअनुसार अघि बढेको भए अहिले नेपाली खेलकुदले २२औं संस्करणको तयारी गरिरहेको हुन्थ्यो तर चार दशकभन्दा लामो इतिहास बोकेको राष्ट्रिय खेलकुद अहिलेसम्म दसौं संस्करणसमेत पूरा गर्न सकेको छैन। यो अन्तराल आफैंमा नेपाली खेलकुदको विकास र व्यवस्थापनको कमजोर अवस्थाको प्रमाण हो।

राष्ट्रिय खेलकुद पदक जित्ने र हार्ने प्रतिस्पर्धा मात्र होइन, देशभरका प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्ने, उनीहरूको क्षमता परीक्षण गर्ने र आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी पहिचान गर्ने महत्त्वपूर्ण अवसर हो। जिल्ला र प्रदेशस्तरका प्रतिस्पर्धाबाट छनोट भएका खेलाडीले राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रमाणित गर्ने अवसर पाउँछन्।

त्यसैले राष्ट्रिय खेलकुदलाई नेपाली खेलकुद विकासको मेरुदण्ड मानिन्छ तर यसको नियमित आयोजना हुन नसक्दा सबैभन्दा ठुलो मार खेलाडीमाथि परेको छ। खेलाडीले वर्षौंसम्म गरेको प्रशिक्षण, त्याग र मिहिनेतको मूल्यांकन हुने महत्त्वपूर्ण मञ्च नै अनिश्चित बन्दा उनीहरूको तयारी र करिअर प्रभावित हुन्छ।

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट र क्षमता मूल्यांकन गर्ने आधारसमेत कमजोर हुन्छ। खेलकुदमा निरन्तरता र प्रतिस्पर्धा महत्त्वपूर्ण हुन्छ तर राष्ट्रिय खेलकुद नै कहिले हुने भन्ने निश्चित नहुँदा खेलाडीले आफ्नो लक्ष्यअनुसार तयारी गर्न पाउने अवस्था छैन।

राष्ट्रिय खेलकुदको इतिहास हेर्ने हो भने सुरुआत राम्रै छ। पहिला तीन संस्करण दुई वर्षको अन्तरालमै भए। २०३८ सालमा काठमाडौं, २०४० सालमा पोखरा र २०४२ सालमा वीरगन्जमा राष्ट्रिय खेलकुद भएका थिए। त्यसपछि भने राष्ट्रिय खेलकुदले नियमितता पाएन। चौथो संस्करणले आयोजनाका लागि १३ वर्ष कुर्नुपर्‍यो। राजनीतिक व्यवस्था परिवर्तनको सिकार राष्ट्रिय खेलकुद बन्यो।

२०५५ सालमा नेपालगन्जमा चौथो संस्करण सम्पन्न भयो। पाँचौं राष्ट्रिय खेलकुदका लागि पनि नेपाली खेलकुदले लामो प्रतीक्षा गर्नुप¥यो। यो आयोजना त इतिहासकै खराब बन्यो। त्यतिबेला यो आयोजना टुँडिखेलमै पाल टाँगेर गरिएको थियो। यो आयोजनाले भ्रष्टाचारको व्यापक आरोपसमेत खेप्नुपर्‍यो। सुरुमा यो सुदूरपश्चिममा आयोजना गर्ने भनिएको थियो तर पूर्वाधार अभाव देखाउँदै काठमाडौंमा सारियो। तथापि पूर्वाधारबिना नै राष्ट्रिय खेलकुद मर्मविपरीत काठमाडौंमा यसको आयोजना हुन पुग्यो। पटकपटक मिति परिवर्तन भएपछि २०६५ मा मात्र पाँचौं संस्करण सम्पन्न भयो।

छैटौं संस्करण २०६८ मा सुदूरपश्चिममा आयोजना भयो। तत्कालीन नेकपा माओवादीका लडाकुका पिएलएले नै यो आयोजनामा सहभागिता जनाएका थिए। तर पिएलए खेलेपछि आर्मीले त्यो आयोजना खेल्न आफ्ना खेलाडीलाई रोकेको थियो। यो आयोजना पनि राजनीतिक छायामा पर्दा केही खेलाडी खेल्नबाटै वञ्चित भए।

त्यसपछि सातौं संस्करणले फेरि चार वर्ष कुर्नुपर्‍यो। पूर्वाञ्चलमा आयोजना गर्ने निर्णय भएको प्रतियोगिता पटकपटक स्थगित हुँदै २०७२ मा मात्र विराटनगरलाई केन्द्र बनाएर सम्पन्न भयो। सातौं संस्करणको समापनमै नेपालगन्जलाई आठौं राष्ट्रिय खेलकुदको जिम्मेवारी दिइएको थियो। तर नेपालगन्जले झन्डा लिएको दुई वर्षभन्दा बढी समयपछि मात्र २०७६ मा आठौं संस्करण आयोजना गर्न सक्यो।

नवौं राष्ट्रिय खेलकुद सम्पन्न हुन पनि तीन वर्ष कुर्नुप¥यो। गण्डकी प्रदेशमा २०७९ सालमा सम्पन्न नवौं संस्करणले कर्णालीलाई दसौं राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी दिएको थियो। २०८१ मंसिरमै आयोजना गर्ने तय भएको दसौं संस्करण पनि निर्धारित समयमा हुन सकेन। खेलकुदभित्रको आन्तरिक विवाद, राजनीतिक अस्थिरता र प्रदेश सरकारसँगको समन्वय अभावले प्रतियोगिता प्रभावित भयो। आयोजनाप्रति कर्णाली प्रदेशका तत्कालीन मुख्यमन्त्री यामलाल कँडेलको असहमतिले समेत राष्ट्रिय खेलकुदको तयारीमा असर परेको थियो। अन्ततः पाँचपटक मिति परिवर्तन भएपछि प्रतियोगिता सुरु हुने अवस्थामा पुगेको छ तर आयोजना हुनु मात्र यसको सफलता होइन।

राष्ट्रिय खेलकुद आयोजना गर्नुको मूल उद्देश्य देशका विभिन्न भागमा खेल पूर्वाधार निर्माण गर्नु र खेलकुदलाई विकेन्द्रीकरण गर्नु हो। जुन प्रदेशले प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी पाउँछ, त्यहाँ खेल पूर्वाधार विकास हुने र त्यसको दीर्घकालीन लाभ स्थानीय खेलाडीले प्राप्त गर्ने अपेक्षा गरिन्छ तर दसौं राष्ट्रिय खेलकुदले यो उद्देश्य पूरा गर्न सकेको देखिँदैन। यसपटक ३२ खेलमा प्रतिस्पर्धा हुँदै छ। तीमध्ये २८ खेल कर्णाली प्रदेशमा र चार खेल लुम्बिनी प्रदेशमा सञ्चालन हुनेछन्। पौडी र सुटिङ नेपालगन्जमा तथा खोखो र टेनिस लुम्बिनी प्रदेशका अन्य स्थानमा हुनेछन्।

कर्णालीको राजधानी सुर्खेतमै पर्याप्त पूर्वाधार नहुँदा प्रतियोगिताका खेल अर्को प्रदेशमा सञ्चालन गर्नुपर्ने अवस्था आएको छ। सुर्खेतमा २३ खेल आयोजना हुने भए पनि प्रदेशको राजधानीमै सबै खेल सञ्चालन गर्न आवश्यक पूर्वाधार तयार नहुनु गम्भीर र दुर्भाग्यपूर्ण विषय हो।

पूर्वाधार अभावकै कारण प्रतियोगिताका खेल अन्य प्रदेशमा सारिनुले राष्ट्रिय खेलकुद आयोजना गर्नुको औचित्यमाथि प्रश्न उठाउँछ। एउटा प्रदेशलाई आयोजनाको जिम्मेवारी दिनुको अर्थ त्यहाँ प्रतियोगिता सञ्चालन गर्नु मात्र होइन, यो आयोजना खेल संरचना विकास गर्नु पनि हो।

प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माणमा समयमै ध्यान दिएको भए कर्णालीले आफ्नो क्षमताअनुसार सबै खेल आयोजना गर्ने अवसर पाउन सक्थ्यो। तर प्रतियोगिताको मिति सार्ने र अन्तिम समयमा व्यवस्थापन मिलाउने प्रवृत्तिले खेलकुद विकासको दीर्घकालीन योजनालाई कमजोर बनाएको छ।

दसौं राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीले प्रतिस्पर्धा गर्दै छन्। आठौं संस्करणदेखि एनआरएनएको सहभागिता सुरु भएको हो। यसले विदेशमा रहेका नेपाली खेलाडीलाई पनि राष्ट्रिय खेलकुदमा आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गरेको छ। यो सकारात्मक पक्ष हो। यसले प्रतियोगिताको दायरा र सहभागिता विस्तारलाई देखाउँछ। साथै यसको व्यवस्थापन, पूर्वाधार र नियमिततामा पनि त्यहीअनुसार सुधार आउनुपर्ने हुन्छ तर त्यसअनुरूप हुन सकेको छैन।

तत्कालीन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव शरदचन्द्र शाहले २०३८ सालमा यसको परिकल्पना गरेका थिए। राष्ट्रिय खेलकुदको उद्देश्य प्रतिभा पहिचान र खेल विकास थियो। त्यसको मर्म अहिले पनि उत्तिकै सान्दर्भिक छ तर चार दशक बितिसक्दा पनि राष्ट्रिय खेलकुदलाई नियमित र व्यवस्थित बनाउन नसक्नु विडम्बना हो। राजनीतिक नेतृत्व परिवर्तनसँगै खेलकुदका प्राथमिकता बदलिने, खेलभित्रको आन्तरिक द्वन्द्वले प्रभावित हुने र आयोजनाको जिम्मेवारी पाएको प्रदेशले आवश्यक तयारी गर्न नसक्ने प्रवृत्ति अन्त्य हुन सकेको छैन।

राष्ट्रिय खेलकुदलाई नियमित बनाउने जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय, प्रदेश सरकार र सम्बन्धित खेल संघ सबैको हो। आयोजना हुने वर्ष मात्र बजेट छुट्याउने र प्रतियोगिताको मिति नजिकिएपछि हतारमा तयारी गर्ने प्रवृत्तिले समस्या समाधान हुँदैन।

आयोजनाको जिम्मेवारी पाएको प्रदेशमा आवश्यक पूर्वाधार निर्माण, बजेट सुनिश्चितता र व्यवस्थापकीय तयारी समयमै हुनुपर्छ। संघ, प्रदेश र स्थानीय सरकारबिच प्रभावकारी समन्वय आवश्यक छ। राष्ट्रिय खेलकुदको अर्को महत्त्वपूर्ण पक्ष यसको निरन्तरता हो।

प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी पाएको प्रदेशमा सरकार परिवर्तन हुँदैमा राष्ट्रिय खेलकुदको भविष्य अन्योलमा पर्नुहुँदैन। यो कुनै दल वा सरकारको प्रतिष्ठाको विषय होइन, राष्ट्रिय खेलकुदको विकास र खेलाडीको भविष्यसँग जोडिएको विषय हो। त्यसैले राष्ट्रिय खेलकुदलाई राजनीतिक खिचातानीबाट अलग राख्नुपर्छ। प्रत्येक दुई वर्षमा प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धतालाई व्यवहारमै लागु गर्नुपर्छ।

दसौं राष्ट्रिय खेलकुद सुरु हुनु आफैंमा सकारात्मक उपलब्धि हो तर प्रतियोगिताको सफलताको मापन उद्घाटन समारोहको भव्यता, खेलाडीको सहभागिता वा पदक तालिकाले मात्र गर्दैन। यसले कर्णालीको खेल पूर्वाधारमा कति सुधार ल्यायो, नयाँ प्रतिभा कति पहिचान गर्‍यो र आगामी संस्करणका लागि कस्तो आधार तयार गर्‍यो भन्ने विषय महत्त्वपूर्ण हुन्छ। प्रतियोगिता सकिएपछि पूर्वाधार अलपत्र हुने नियति दोहोरिँदै छ।

राष्ट्रिय खेलकुदका प्रतिस्पर्धाले खेलाडीको भविष्य सुनिश्चित गर्नुपर्छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडीको भविष्यलाई सुनिश्चित गर्न सकेको छैन तर राखेपले प्रतियोगिता आयोजनाको औपचारिक जिम्मेवारी मात्र पूरा गर्दै आइरहेको छ। यो निकाय यसको उद्देश्य र मर्मअनुसार दीर्घकालीन योजना बनाउनुपर्छ।

चार दशकभन्दा लामो यात्रा पार गर्दा यो आयोजनाको महŒव बढाउन सक्नुपर्नेछ। राष्ट्रिय खेलकुदलाई राजनीतिक स्वार्थ, प्रशासनिक कमजोरी र पूर्वाधार अभावको बन्धक बनाइराख्नुहुँदैन नत्र यसको औचित्य कमजोर हुँदै जानेछ। राष्ट्रिय खेलकुदको मर्म जोगाउन नियमित, व्यवस्थित र पूर्वाधारमैत्री खेलकुद बनाउनैपर्छ। तब मात्र यसले खेलाडीको मिहिनेतको सम्मान र नेपाली खेलकुदको भविष्य उज्वल बनाउन सक्छ।
अर्को समाचार
दशौं राष्ट्रिय खेलकुद: पौडीमा बागमती च्याम्पियन, एनआरएन टोली बन्यो दोस्रो
१० घण्टा अघि
•
४ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद: पौडीमा बागमती च्याम्पियन, एनआरएन टोली बन्यो दोस्रो
दशौँ राष्ट्रिय खेलकुद पौडी प्रतियोगिता तथा २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपमा बागमती प्रदेश च्याम्पियन बनेको छ।




बागमतीले सर्वाधिक १६ स्वर्ण, ९ रजत र १० कांस्य गरी कुल ३५ पदक जित्दै च्याम्पियन बनेको हो। दोस्रो स्थानमा रहेको एनआरएन टोलीले १२ स्वर्ण, ४ रजत र ४ कांस्य गरी कुल २० पदक जित्न सफल भएको छ।

नेपाल आर्मी क्लबले ७ स्वर्ण, १५ रजत र १७ कांस्य गरी कुल ३९ पदकसहित तेस्रो स्थान हासिल गरेको छ। नेपाल पुलिस क्लब ६ स्वर्ण, १४ रजत र १६ कांस्य गरी कुल ३६ पदकसहित चौथो, कोशी प्रदेश ३ स्वर्णसहित पाँचौँ र सुदूरपश्चिम प्रदेश २ स्वर्ण, ४ रजत र १ कांस्य गरी कुल ७ पदकसहित छैटौँ स्थानमा रहेका छन्। यसैगरी, प्रतियोगितामा पुरुषतर्फ बागमती र महिलातर्फ एनआरएन टोली च्याम्पियन बनेका छन्।

प्रतियोगिताको अन्तिम दिन पुरुष २०० मिटर बटरफ्लाईमा तीन खेलाडीले पुरानो राष्ट्रिय कीर्तिमान भंग गरेका छन्। नेपाली पौडीमा एउटै इभेन्टमा तीन खेलाडीले राष्ट्रिय कीर्तिमान भंग गर्नु पनि नयाँ कीर्तिमान हो। यसअघि उक्त इभेन्टमा अशिम भण्डारीको नाममा २ मिनेट २१.८७ सेकेन्डको कीर्तिमान थियो। शुक्रबार सुदूरपश्चिमका अर्थभ सिंहले २ मिनेट १८.३० सेकेन्डमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। रजत पदक जित्ने आर्मीका सौरेन बहादुर सिंहले २ मिनेट १९.८१ सेकेन्ड र कांस्य पदक जित्ने आर्मीकै अशिम भण्डारीले २ मिनेट २०.११ सेकेन्डमा दूरी पूरा गरेका थिए।

पुरुष ८०० मिटर फ्रिस्टायलमा आफ्नै पुरानो कीर्तिमान सुधार गर्दै पुलिसका काल्किन श्रेष्ठले राष्ट्रिय कीर्तिमान बनाउने क्रममा स्वर्ण पदक जिते। उनले ९ मिनेट ०३.२१ सेकेन्डमा दूरी पूरा गरे। सुदूरपश्चिमका अर्थभ सिंहले १० मिनेट ०१.९६ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा पुलिसका रचित बुढाथोकीले १० मिनेट ३३.६८ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते। यस इभेन्टमा यसअघि काल्किनकै नाममा ९ मिनेट ०३.२१ सेकेन्डको कीर्तिमान थियो।

महिला २०० मिटर बटरफ्लाईमा एनआरएनकी लिलीले स्वर्ण जित्ने क्रममा २ मिनेट ३३.२० सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी छन्। यसअघि डुआना लामाको नाममा २ मिनेट ३५.२९ सेकेन्डको कीर्तिमान थियो। आर्मीकी डुआनाले २ मिनेट ३९.९४ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा पुलिसकी देभान्सी जोशीले ३ मिनेट ०३.१३ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जितिन्।

महिला ४०० मिटर फ्रिस्टायलमा एनआरएनकी लिली बोहराले ४ मिनेट ४३.११ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन्। आर्मीकी डुआना लामाले ४ मिनेट ५२.६२ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा एनआरएनकी मिखा काया थापाले ५ मिनेट ०२.७६ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जितिन्।

पुरुष २०० मिटर इन्डिभिजुअल मिड्लेमा बागमतीका अभिभ प्रधानले २ मिनेट १६.९६ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते। पुलिसका इर्भिन श्रेष्ठले २ मिनेट २०.१६ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा पुलिसकै काल्किन श्रेष्ठले २ मिनेट २२.०९ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते।

महिला १०० मिटर ब्रेस्टस्ट्रोकमा आर्मीकी डुआना लामाले १ मिनेट १९.९२ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन्। एनआरएनकी लिलीले १ मिनेट २२.५५ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा बागमतीकी रोयल प्रजापतिले १ मिनेट २४.१८ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जितिन्।

पुरुष १०० मिटर ब्रेस्टस्ट्रोकमा कोशीका विकास कुमालले १ मिनेट ०८.२५ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते। आर्मीका जाडेन श्रेष्ठले १ मिनेट ०८.६४ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा बागमतीका आरिक कर्माचार्यले १ मिनेट १६.६४ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते।

महिला ५० मिटर फ्रिस्टायलमा एनआरएनकी मिखा काया थापाले २९.१५ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन्। बागमतीकी आर्या महर्जनले २९.४९ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा बागमतीकै रोयल प्रजापतिले ३०.०९ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जितिन्।

पुरुष ५० मिटर फ्रिस्टायलमा पुलिसका इर्भिन श्रेष्ठले २५.६२ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते। बागमतीका अभिभ प्रधानले २४.६८ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा आर्मीका अल्भि महर्जनले २५.०२ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते।

महिला ४ गुणा १०० मिटर फ्रिस्टायल रिलेमा बागमती प्रदेशले ४ मिनेट २८.८६ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जित्यो। आर्मीले ४ मिनेट ३१.०६ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा पुलिसले ४ मिनेट ४४.४० सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते।

पुरुष ४ गुणा ५० मिटर फ्रिस्टायल रिलेमा बागमतीले १ मिनेट ४१.९२ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जित्यो। पुलिसले १ मिनेट ४४.२६ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा आर्मीले १ मिनेट ४४.४७ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जित्यो।

महिला ४ गुणा ५० मिटर मिड्ले रिलेमा बागमतीले २ मिनेट १६.०१ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जित्यो। पुलिसले २ मिनेट १९.७६ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा आर्मीले २ मिनेट २०.०१ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जित्यो।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ७ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस