प्लानिङ ब्वाइज युनाइटेड काठमाडौंले २६ औं संस्करणको अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
शनिबार धरान रंगशालामा सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलमा लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई १-० गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले पहिलो सहभागितामै ऐतिहासिक सफलता हात पारेको हो।
उपाधिसँगै प्लानिङ ब्वाइजले नगद १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता बनेको चर्च ब्वाइजले ५ लाख रुपैयाँमा चित्त बुझाउनुपर्यो।
चर्च ब्वाइज अघिल्लो संस्करणमा पनि उपविजेतामै सीमित भएको थियो।
प्लानिङ ब्वाइजको जितमा प्रतापसिंह राई नायक बने। खेलको दोस्रो हाफको १८ औं मिनेटमा उनले गरेको गोल नै निर्णायक सावित भयो।
उत्कृष्ट प्रदर्शन गरेका प्रताप खेलको ‘म्यान अफ दि म्याच’ सँगै प्रतियोगिताकै ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए। उनले पुरस्कारस्वरूप डियो स्कुटर प्राप्त गरेका छन्।
घरेलु दर्शकको उल्लेख्य समर्थन पाएको चर्च ब्वाइजले खेल अवधिभर गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन। प्लानिङ ब्वाइजले सेमिफाइनलमा लालीगुराँस फुटबल क्लब पोखरालाई २-१ ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो।
उता, चर्च ब्वाइजले दोस्रो सेमिफाइनलमा झापा ११ लाई टाइब्रेकरमा ३-१ ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको थियो।
गत माघ २२ गतेदेखि सुरु भएको प्रतियोगितामा साविक विजेता एनआरटी, सातदोबाटो युथ क्लब, नेपाल पुलिस क्लब, पोखराको लालीगुराँस एसोसिएसन, झापा ११, प्लानिङ ब्वाइज काठमाडौं, भारतको जर्जियन क्लब, भुटानको रोयल थिम्पु र आयोजक धरान फुटबल क्लब गरी कुल १० टिमको सहभागिता रहेको थियो।
सुर्खेत। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ। लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश सेमिफाइनल प्रवेश गरेको हो।
सुदूरपश्चिम, गण्डकी, मधेश र कोशी प्रदेशले समान दुई-दुई अंक प्राप्त गरेको भएपनि रनरेटका आधारमा सुदूरपश्चिम सेमिफाइनल प्रवेश गरेको हो।
यसअघि त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेश सेमिफाइनल प्रवेश गरेका थिए।
टस जितेर पहिले व्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा पाँच विकेट गुमाएर ११७ रन बनाएको थियो। गण्डकीका लागि सिमाना केसीले सर्वाधिक ४० रनको योगदान दिइन्। ३४ बल खेलेकी सिमानाले तीन चौका प्रहार गरिन्। यस्तै सम्झना पौडेलले नटआउट ३८ रनको योगदान दिइन्।
ओपनर दिपिका सापकोटा शून्यमै आउट हुँदा श्रेया शाहले १५ रन बनाइन्। रेखा तामाङ चार रन बनाएर आउट हुँदा चन्द्रमाया बराल र कुशुम गोदारले एक एक रन थपे। सुदूरपश्चिमकी स्नेहा महराले दुई विकेट लिइन भने अनु कठायत, करिष्मा थापा र यशु पाण्डेले एक-एक विकेट लिए।
सुदूरपश्चिमलाई विताउन अनु कडायतले महत्वपूर्ण पारी खेलिन्। ३३ बलको सामना गरेकी अनुले दुई छक्का र सात चौका प्रहार गरिन्। यस्तै मनिषा बोहराले २५ रन बनाउँदा यशु पाण्डेले ११, ऋतु कनौजीयाले आठ स्नेहा महराले दुई र ममता बोहराले एक रन बनाए। गण्डकीका लागि दिपिका सापकोटाले चार तथा चन्द्रमाया बरालले एक विकेट लिए।